डियरहोल्ड नेपालमा एमच्यामको ‘इन्फर्मेटिभ लर्निङ’
काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्ना सदस्य डियरहोल्ड नेपालमा ‘इन्फर्मेटिभ लर्निङ’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपालमा डियरवाक अन्तर्गतका कम्पनी र डियरहोल्डले सफ्टवेर विकास, स्कुल तथा कलेज सञ्चालन, कर्पोरेट तथा आइटी तालिम, अटो सर्भिस एवं पर्यटन क्षेत्रमा काम गर्दै आइरहेको कम्पनीका संस्थापक रुद्रराज पाण्डेले बताए । कम्पनीका संस्थापक पाण्डेले नेतृत्व विकास र कम्पनीको बारेमा अनुभव साटेका थिए । सचिन कारन्जितले डियरहोल्ड नेपालको सञ्चालनको, डियरवाक स्कुल र कलेजको बारेमा बिजय श्रेष्ठ र डियरवाक कम्पवेरको बारेमा यज्ञ लम्सालले जानकारी दिएका थिए । आफ्ना सदस्यहरूमा सिकाई श्रृङ्खला अन्तर्गत एमच्यामले अन्तर्क्रियासँगै काठमाडौंको सिफलमा रहेको डियरहोल्ड र डियरवाक ग्रुपको परिसर भ्रमण गराएको हो । कार्यक्रमले सदस्यहरूबीच मित्रता बढाउने र एक अर्काको व्यवसायको बारेमा थप बुझ्न मद्दत गर्ने एमच्याम नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले बताए । कार्यक्रममा सहभागीहरूले डियरहोल्ड र डियरवाक ग्रुप अन्तर्गत सिफल स्कुल, डियरवाक कलेज, डियरवाक कम्पवेर अवलोकन गरेका थिए । कार्यक्रममा एमच्यामका निवर्तमान अध्यक्ष अजित शाह सदस्य सामर्थ मोघा र अमेरिकी दूतावासका आर्थिक तथा वाणिज्य विशेषज्ञ तथा आर्थिकरवाणिज्य अधिकृत डरिन क्रिस्टेनसेन लगायत ४० जना सहभागी थिए । एमच्याम नेपालमा अमेरिकी लगानीका ४० भन्दा बढी व्यवसायिक संस्था आवद्ध भैसकेका छन् । स्थापनाको २ वर्षमै एमच्याम नेपालले युएस च्याम्बर्स अफ कमर्सको आवद्धता पाइसकेको छ । यस संस्थाको उद्देश्य पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा केन्द्रित नेपालका लागि वैदेशिक लगानी (एफडीआई) समावेश गरी दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि भएको एमच्याम नेपालले जनाएको छ ।
विनोद चौधरीको पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम बन्ने, लागत १७ करोड रुपैयाँ
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीको विशेष पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम स्थापना हुने भएको छ । बजेट व्यवस्थापन, परियोजना निर्माण ठेक्का लगायतका गृहकार्यपछि शुक्रबार उक्त औद्योगिक ग्रामको शिलान्यास भएको छ । चालू आर्थिक बर्षमा उक्त ग्रामका लागि बजेट विनियोजनसँगै स्थानीय तहमा तयारी समेत अगाडि बढेपछि नवलपरासीका लागि यो महत्वपूर्ण परियोजनाका रुपमा अगाडि बढेको छ । सांसद चौधरीले निर्वाचनको क्रममा नवलपरासीमा औद्योगिक विकासका लागि नमूना औद्योगिक ग्राम स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए । आफु निर्वाचित भएको एक बषमै उनले उक्त प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याएका छन् । नमुना औद्योगिक ग्राम नवलपरासी जिल्लाकै एकिकृत सुविधा उपलब्ध हुने नमूना औद्योगिक ग्रामका रुपमा स्थापना गर्न लागिएको छ । यस ग्राममा स्थानीय युवाका श्रृजनशिल उद्यमशिलता र स्थानीय कच्चा पदार्थमा आधारित सिपलाई उपयोग गर्ने लक्ष्य राखिएकाले यसलाई साना तथा मझौला उद्योग (एसएमई) भिलेजका रुपमा पनि चिनिनेछ । बर्दघाट नगरपालिका वडा नं ५, खजुरा खोला क्षेत्रमा करिब १८ विगाहा क्षेत्रफलमा यो ग्रामको निर्माण हुँदैछ । यस परियोजनाका लागि १७ करोड रूपैयाँ खर्च हुने अनुमान छ । यो परियोजना बहुबर्षिय परियोजनाका रुपमा आगामी तीन बर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सांसद चौधरीको विशेष पहलमा चालु आर्थिक बर्षका लागि ४ करोड रूपैयाँ यस परियोजनाका लागि निकासा भई टेण्डर भईसकेको छ । रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभिले निर्माणको जिम्मा पाएको छ । यस बर्ष पूर्वाधारका कामहरू सम्पन्न गरिनेछन् । कार्य प्रगती राम्रो रहेमा यसै आर्थिक बर्षभित्र थप बजेट निकासा भई थप काम गर्न सक्ने अवस्था छ । यस परियोजनालाई प्रभावकारी रुपमा अगाडि बढाउन परियोजनालाई कुनै आर्थिक भार नपर्ने गरि चौधरी फाउण्डेसनका इन्जिनियरहरूले प्रत्यक्ष रुपमा सहयोग गर्नेछन् । तीन बर्षभित्र नमूना औद्योगिक ग्राम तयार गरि नवलपरासीलाई औद्योगिक विकासको मूल प्रवाहमा जोड्ने सांसद चौधरीको लक्ष्यअनुसार उनको सचिवालयका अधिकारीहरूले पनि परियोजनाको निरन्तर अनुगमन गर्नेछन् । उक्त परियोजनाको एक समारोहवीच शुक्रवार शिलान्यास गरिएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाल र सांसद चौधरीले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरेका हुन् । उक्त अवसरमा बोल्दै मन्त्री रिजालले पश्चिम नवलपरासीमा निर्माण हुने नमूना औद्योगिक ग्रामले यस क्षेत्रको औद्योगिकीकरण र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको र औद्योगिक विकासका लागि नीतिगत रुपमा सुधार गर्न आफुले पहल गर्ने पनि मन्त्री रिजालले बताए । शिलान्यास कार्यक्रममा बोल्दै सांसद चौधरीले आफुले निर्वाचनका बेला सार्वजनिक गरेका प्रतिवद्धताहरूलाई एक एक गरि पूरा गर्ने शिलशिलामा नमूना औद्योगिक ग्राम सोही प्रतिवद्धता कार्यान्वयनको अर्को महत्वपूर्ण चरण भएको बताए । ‘म आर्थिक विकासका काममा कसैले राजनीति नगरोस् भन्ने चाहान्छु । तर, यहाँ त्यहि भईरहेको छ । म एकपछि अर्को विकासका परियोजना कार्यान्वयनमा व्यस्त छु तर हाम्रा कतिपय मित्रहरू मैले गरेका कामहरूलाई विकास हैन राजनीति हो भनिरहेका छन् । मेरो आग्रह छ, सक्नुहुन्छ भने तपाईँहरु पनि यस्तै विकासको राजनीति गर्नुस् । आर्थिक विकासको अध्यायलाई अगाडि बढाउने काममा जोडिनुस् । चौराहाका चिया पसलमा गफ गरेर राजनीति गर्ने जमाना अब सकिए । एसएमई भिलेज उद्यमशिलताको नमूना बन्ने र नवलपरासीका युवाहरूलाई उद्यमी बनाउन यस परियोजनाको ठूलो महत्व रहनेछ भन्ने मेरो विश्वास छ, सांसद चौधरीले भने । ‘अब साना तथा मझौला उद्यमी र यस्तो उद्यमको सोंच राख्ने युवाहरुका लागि एकिकृत सुविधा उपलब्ध रहने औद्योगिक ग्रामले स्वागत गर्नेछ । यसले यहाँका युवाहरूका नयाँ सोंच, नवप्रवर्तनका कार्यक्रमहरूलाई अर्को तहमा पु¥याउनेछ भन्ने मेरो विश्वास छ’, सांसद चौधरीले भने, ‘हामीले युवाहरूका लागि युवा उद्यमशिलता तालिम अगाडि बढाईरहेका छौँ । र उनीहरुका लागि विउ पँुजीको व्यवस्था गर्न पनि आवस्यक पहल लिनेछौँ ।’ यस परियोजनालाइ सम्पन्न गर्न आफु र आफ्नो टिमले निरन्तर सहयोग र अनुगमन गर्ने पनि उनले जानकारी दिए । उद्योग ग्राम खोलेर मात्रै हुदैन जीवन्त बनाउनुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ । विशेष औद्योगिक क्षेत्र (सेज) र अन्य ग्रामजस्तो यस ग्रामलाई उद्योगविहिन हुने अवस्था आउन दिइनेछैन । सांसद चौधरीले जोड दिए । प्रथम चरणको कार्य आगामी ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभीमा कार्यरत प्राविधक रवीन्द्र शाहले जानकारी दिए । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणले उक्त नमुना औद्योगिक ग्राम निमार्णको आवश्यक सहजीकरण गर्दै आएको छ । कार्यक्रममा बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले नगरपालिकामा नमूना औद्योगिक ग्राम बन्नु अत्यन्तै सुखद रहेको बताए ।
माउन्टेन ग्लोरीले आईपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा एलएस क्यापिटल
काठमाडौं । माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको माउन्टेन ग्लोरीले आईपीओ निष्काशन गर्ने भएको छ । उक्त सेयर निष्काशनको लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता पत्रमा कम्पनीको तर्फबाट अध्यक्ष शुनिलभक्त श्रेष्ठ र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । विगत ८ वर्षदेखि पोखराको दोभिल्लास्थित रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको कम्पनीले एक सय रुपैयाँ दरको ४० लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । माउन्टेन ग्लोरीमा हाल जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पामा एशियन लाइफ इन्स्योरेन्सको ४० प्रतिशत लगानी रहेकाे छ । एशियन लाइफ इन्स्योरेन्सले पछिल्लो समय पर्यटन, जलविद्युत, पूर्वाधार, बैंकिङ लगायतको क्षेत्रमा लगानी विस्तार गर्दै गएको छ । पोखराको दोभिल्लास्थित करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठासहित विषेश सुविधा सम्पन्न रिसोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालनमा छ । निकट भविष्यमा सेयर निष्काशन पश्चात कोठाहरु थप गर्ने, विदेशी होटलसँग अनुबन्धन हुने र पाँच तारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।
नेपाल वायुसेवा निगमले सुर्खेतबाट उडान गर्ने
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रक्षा मन्त्रालयमा छलफल गरेको छ । छलफलका क्रममा उपप्रधानमन्त्री खड्काले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्ला जुम्ला, हुम्ला, सिमिकोट, ताल्चा, डोल्पालगायतका गन्तव्यको उडान प्रारम्भ गर्न प्राथमिकता दिएर चाँडो भन्दा चाँडो रफ्तारकासाथ काम गर्न आग्रह गरे। छलफलमा नेपाल वायुसेवा निगमका अध्यक्षसहित सुर्खेतबाट हवाई सेवा दिने व्यवस्था मिलाउन गठित समितिका पदाधिकारीहरूको समेत सहभागिता थियो । छलफलमा उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट अन्य जिल्लामा हवाई सेवा दिने नेपाल एयरलाइन्सको दीर्घकालीन व्यावसायिक योजनामा आफ्नो, सङ्घीय सरकार र प्रदेश सरकारको साथ, सहयोग र समर्थन रहेको बताए । नेपाल वायुसेवा निगमका अधिकारी र उपप्रधानमन्त्री खड्काबीच चाँडै सुर्खेतबाट हवाई सेवा सुरु गर्न र त्यसको तयारीका लागि सुर्खेतमा नेपाल एयरलाइन्सको कार्यालय यथाशीघ्र स्थापना गर्ने बिषयमा समेत छलफल भएको थियो। निगमका कार्यकारी अध्यक्ष अधिकारीले सुर्खेतबाट उडानको तयारी भइरहेको बताए । ‘यसका लागि समिति पनि गठन गरिएको छ’, अध्यक्ष अधिकारीले भने, ‘हामी सुर्खेतबाट हवाई सेवा दिन तयारी गरिरहेका छौँ ।’ उपप्रधानमन्त्री खड्कासँगको छलफलको क्रममा गठित समितिका सदस्य सचिव दीपेश पुनले माघभित्र तयारी पूरा गरी फागुनदेखि सुर्खेतबाट उडान गर्ने लक्ष्यका साथ काम अघि बढाउने बताए । उनले थप प्रष्ट पार्दै भने, ‘कर्णाली प्रदेशका अन्य जिल्लालाई हवाई उडानमार्फत सुर्खेतमा जोड्ने गरी काम गरिरहेका छौँ ।’ सो अवसरमा उपप्रधानमन्त्री खड्काले निगमलाई हाल उपलब्ध सबै विमान उपयोग गरी देशभित्र र विश्वका विभिन्न गन्तव्यहरुमा उडान विस्तार गर्न रणनीतिक योजनाका साथ अघि बढ्न सुझाव दिए । ‘नेपाल एयरलाइन्सले हाल भइरहेका विमानको पूर्ण क्षमतामा सञ्चालन गरी अधिकतम लाभ लिन सक्नुपर्छ’, उनले भने । छलफलको निष्कर्षमा उपप्रधानमन्त्री खड्काले पुनः जोड दिँदै निगम अधिकारीलाई सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेशका विभिन्न जिल्ला र पायक पर्ने छिमेकी जिल्लाहरुमा समेत नेपाल एयरलाईन्सले नियमित हवाई सेवा संचालन गरी त्यहाँका जनताको वर्षौंदेखिको हवाई सेवा प्राप्त गर्ने आकाङ्क्षा पूरा गर्न विशेष जोड दिए । रासस
फेरि उँभो लाग्दै छ नेपालको ‘वाइल्डलाइफ टुरिज्म’
काठमाडौं । कुनै बेला वन्यजीवन पर्यटन (वाइल्डलाइफ टुरिज्म) का लागि संसारमा अफ्रिकापछि नेपालको नाम आउँथ्यो । त्यो ‘उपाधि’ ले मुलुकको पर्यटन उद्योगलाई एउटा राम्रै उचाइमा पुर्याएको थियो । तर, यो उचाइलाई नेपालले केही दशकमात्र कायम राख्न सक्यो । जब चितवन राष्ट्रिय निकुञ्ज भित्रबाट सात उत्कृष्ट रिसोर्टलाई सरकारले बाहिर निकाल्यो, त्यसपछि भने नेपालको वाइल्डलाइफ टुरिज्ममा एकखालको ‘सेटब्याक’ आइलाग्यो । अहिले भने बिस्तारै त्यही उपाधि उचाल्न नेपालले वाइल्डलाइफ टुरिज्ममा भरमग्दुर प्रयास जारी राखेको छ । यसमा सरकारदेखि निजी पर्यटन व्यवसायी दिलोज्यानले लागिपरेका छन् । आखिर, नेपालको वाइल्डलाइफ टुरिज्मको ताजा अवस्था कस्तो छ त ? यसबारे विस्तृतमा चर्चा गरौं । अहिलेलाई भने वाइल्डलाइफ टुरिज्ममा केही आशाका किरण पलाएका छन् । पछिल्लो समय वाइल्डलाइफ टुरिज्ममा सुधार देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा सन् १९६४ मा खुलेको टाइगर टप्स होटलले वाइल्डलाइफ टुरिज्म भित्र्याएको थियो । टाइगर टप्स होटल चितवन राष्ट्रिय निकुञ्ज स्थापना हुनुअघि नै सञ्चालनमा आएको थियो । देशभरि राष्ट्रिय निकुञ्ज, आरक्षजस्ता संरक्षित क्षेत्र स्थापना भएपछि वाइल्डलाइफ टुरिज्मका लागि एउटा बिलयाे आधार स्तम्भ खडा भएको हो । अहिले नेपाल घुम्न आउने करिब ६० प्रतिशत पर्यटक वाइल्डलाइफ टुरिज्माा संलग्न हुन रूचाउँछन्। वाइल्डलाइफ टुरिज्मअन्तर्गत जीप सफारी, हात्ती सफारी, जङ्गलमा पैदल यात्रा, मचानमा बसेर वन्यजन्तु अवलोकन, चरा अवलोकन, डुङ्गा सफारी र शासनिक शिकार (ट्रफि हन्टिङ) पर्छन् । चितवनमा रहेको मचान वाइल्डलाइफ रिसोर्ट सञ्चालक प्रकाश श्रेष्ठ वाइल्डलाइफ टुरिज्ममा अहिले धेरे ठूलो परिवर्तन आएको बताउँछन् । उनका अनुसार पहिले वाइल्डलाइफ टुरिज्म राष्ट्रिय निकुञ्जभित्र मात्रै केन्द्रित थियो । अहिले निकुञ्ज वरिपरि धेरै होटल तथा रिसोर्ट निर्माण भएका छन् । ‘अहिलेको अवस्थामा वाइल्डलाइफ टुरिज्म क्वान्टिटी होइन, क्वालिटीमा जानुपर्छ,’ होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ भन्छन्, ‘पहिले जब सातवटा होटल राष्ट्रिय निकुञ्जभित्र थिए, तब हामी अफ्रिकाको वाइल्डलाइफ टुरिज्म पहिलो र हामी दोस्रो स्थानमा थियौं । पछिल्लो समय ती होटलहरूको लिज रिन्यू हुन सकेन । र, त्यसपछि भित्रका होटल बाहिर आए । त्यसले पनि त्यहाँको टुरिज्ममा प्रभाव पार्यो ।’ श्रेष्ठकै मचान वाइल्डलाइफ रिसोर्ट पनि निकुञ्जबाट बाहिर निकालिनेमा परेको थियो । विगतमा ठूलो संख्यामा पर्यटक व्यवस्थापन गर्ने पहिलो स्थानमा चितवन सौराहा थियो । ‘मास टुरिज्म’ व्यवस्थापन गर्नेमा राष्ट्रिय निकुञ्ज वरिपरि वाइल्डलाइफ टुरिज्म गतिविधि सञ्चालन भएका होटल तथा रिसोर्ट हुन् । त्यसबेला सौराहामा नारायणी सफारीसहित सात होटल चितवन राष्ट्रिय निकुञ्जभित्र थिए । बढी पैसा लिएर सञ्चालन गर्ने एउटा रिसोर्ट भने राष्ट्रिय निकुञ्जभित्र थियो । तर, अधिकांश पर्यटकको खर्च चाहिँ सौराहामा हुन्थ्यो । त्यो त्यसरी नै चलिरहेको थियो । ‘जब निकुञ्जभित्रका होटलहरूको लिज रिन्यू हुन सकेन, त्यसपछि भित्रका होटल बाहिर आए,’ श्रेष्ठ भन्छन, ‘अरू विभिन्न ठाउँ जस्तै मेघौली, जगतपुर, सौराहा र नवलपरासी साइडमा पनि धेरै होटलहरू आए । एक किसिमले यो पनि ठिकै हो ।’ अहिले अरू पर्यटन जस्तो वाइल्डलाइफ टुरिज्म ‘मास’ मा व्यवस्थापन गर्न नसकिने श्रेष्ठ बताउँछन् । ‘जति होटल बाहिर खोले पनि ती होटलमा पुग्ने पर्यटक जाने त निकुञ्जभित्र हो, अब सौराहामै २ सय बढी होटल छन्,’ उनी थप्छन्, ‘मास टुरिज्मलाई थेग्न निकुञ्जले सक्दैन, किनभने त्यहाँ गाडी चल्नुपर्यो, डुंगा चल्नुपर्यो, मान्छे पनि हिँड्नुपर्यो, त्यसले गर्दा कन्ट्रोल मेकानिज्म सरकारले गर्नुपर्ने हुन्छ ।’ श्रेष्ठका अनुसार निकुञ्जबाट होटल बाहिर आइसकेपछि त्यसको प्रभाव अहिलेसम्म परिरहेको छ । ‘अलिकति बढी पैसा तिर्ने क्वालिटीको वाइल्डलाइफ टुरिज्म थियो,’ उनी भन्छन्, ‘त्यहाँ भित्रका होटल अन्तर्राष्ट्रिय स्तरका थिए र ती नेपाललाई चिनाउने महत्वपूर्ण गन्तव्य थिए भन्ने कुरा सरकारले बुझेन । यो हाम्रो प्रडक्ट पर्यावरण र वातावराण्मा आधारित थियो ।’ पहिले निकुञ्जभित्रका होटलले जे योगदान गरेका थिए, त्यो अहिलेका जतिसुकै लक्जरी होटलले पनि गर्न नसक्ने उनको भनाइ छ । ‘लक्जरीको कुनै लिमिटेसन नै छैन, संसारभरिका सबै टुरिस्ट यहाँका लक्जरी होटलमा बस्ने भनेर आउँदैनन्,’ श्रेष्ठ भन्छन्, ‘उनीहरू यहाँ आउने भनेको वातावरण र पर्यावरण हेर्न हो । निकुञ्जभित्रैबाट जुन वातावरण देखिन्छ, त्यो कुनै पनि बाहिरका लक्जरी होटलले पूरा गर्न सक्दैनन् ।’ वाइल्डलाइफ टुरिज्मलाई सरकारले छुट्टै स्थान दिनुपर्ने श्रेष्ठ बताउँछन् । उनका अनुसार पहिला पहिला पर्यटकहरू वाइल्डलाइफ टुरिज्म हेरेर पछिमात्रै फुर्सदको समयमा पोखरा, काठमाडौं, लुम्बिनी जाने गर्थे । पहिला वाइल्डलाइफ नेपालको सबैभन्दा ठूलो गन्तव्य थियो । कमजोर पूर्वाधारले समस्या विगतमा वाइल्डलाइफ टुरिज्ममा विदेशी पर्यटकको हिस्सा बढी हुन्थ्यो । तर, अहिले यसमा बिस्तारै परिवर्तन आउन थालेको छ । वाइल्डलाइफ टुरिज्ममा अब स्वदेशी पर्यटक संख्या बढिरहेको छ । पहिलेको हिसाबमा अहिले धेरैमा घुमघाम गर्नुपर्छ भन्ने सोच आइसकेको मचान वाइल्डलाइफ रिसोर्ट सञ्चालक श्रेष्ठ बताउँछन् । विदेशीले तिर्न नसक्ने मूल्य तिरेर स्वदेशीले घुम्ने गरेको श्रेष्ठको भनाइ छ । ‘विदेशी पर्यटक कम देखिनुको कारण हाम्रो पूर्वाधार कमजोर हुनु पनि हो,’ उनी भन्छन्, ‘काठमाडौंबाट पोखरा जान, चितवन जान, चितवनबाट नवलपरासी जान कयौं घन्टा लाग्छ, यतिका वर्षसम्म एउटा राम्रो बाटो बन्न नसकेको अवस्था छ, यसमा बाधक हाम्रो पूर्वाधार देखिएको छ ।’ पहिला निकुञ्जभित्र अवस्थित होटलहरूलाई नै हात्ती सफारी गराउने अनुमति थियो । बाहिरका होटलाई थिएन । तर, अहिले निकुञ्जभित्र हात्ती सफारी गराउन पाइँदैन । ‘त्यहाँका होटलहरू बन्द भएपछि कुनै पनि बाहिरका होटलहरूको हात्ती कहीँ लैजान दिइएको छैन, जुन एक किसिमले हेर्दा ठिकै पनि हो,’ श्रेष्ठ भन्छन्, ‘पहिलो त हात्ती पाल्नु धेरै महँगो हुन जान्छ, अर्को हत्तीलाई चेन गरेर राख्नु हुँदैन भनेर जनावरवादी संस्थाले पनि विरोध गरे, त्यसरी राख्दा यहाँ आउने टुरिस्टले पनि त्यही हिसाबले हेर्छन् र आलोचना हुन्छ, त्यसरी नराखे हात्तीले क्षति पुर्याउँछ ।’ अहिले हात्ती सफारीको सट्टा जीप सफारी, डुंगा सफारी, जंगल वाक गर्न पाइन्छ । वाइल्डलाइफ टुरिज्ममा सरकारले दिएन चासो वाइल्डलाइफ टुरिज्म विकासका लागि सरकारले खासै सहयोग गर्न नसकेको श्रेष्ठको अनुभव छ । ‘सरकारले बुझेकै छैन कि वाइल्डलाइफ टुरिज्म, हामीसँग धेरै ठूलो सामुदायिक वन, राष्ट्रिय निकुञ्ज, हेरिटेज साइट छन्,’ उनी भन्छन्, ‘हरेक प्रकारका पर्यटनको आनन्द लिन पाइन्छ, हामीले व्यवस्थित गर्न सक्ने हो भने वाइल्डलाइफ टुरिज्मबाट नै ठूलो समृद्धि हासिल गर्न सकिन्छ ।’ अहिलेको अवस्थामा वाइल्डलाइफ टुरिज्म ‘डाइर्भट’ हुन लागेको जस्तो देखिने श्रेष्ठ बताउँछन् । ‘जसरी म गाउँमा होटल खोलेर बसेको छु, निकुञ्जभित्रको जुन चार्म छ त्यो मैले चाहेर पनि दिनै सक्दिनँ,’ उनी भन्छन्, ‘यसबारे सरकारले सोच्नुपर्ने हुन्छ, किनभने, अफ्रिकामा एक रातको १५ सय देखि २ हजार डलरसम्म कोठा बिक्री भइरहेको छ, यो भनेको होटलले पाउने फाइदा होइन । सरकारले ट्याक्समा पाउने हो ।’ श्रेष्ठका अनुसार हाम्रो देश जंगलमा अफ्रिकाभन्दा पनि धनी छ । देशमा विभिन्न किसिमका जंगल छन् । हामीकहाँ भन्दा अफ्रिकामा जनावरको संख्या धेरै छ । तर, प्रकृतिले दिएका वस्तुको हामीले राम्रोसँग सदुपयोग गर्न सकेका छैनौं । पहिला वाइल्डलाइफ टुरिज्ममा दोस्रो नम्बरमा गनिने नेपाल अहिले हराइसकेको छ । वाइल्डलाइफ टुरिज्ममा निजी क्षेत्रले लाखौं, करोडौं रुपैयाँ खर्च गरेको श्रेष्ठ बताउँछन् । उनका अनुसार निजी क्षेत्रले होटल बनाउन सक्छ, स्पा, स्विमिङ पुल बनाउन सक्छ । अरू पर्यटनका गतिविधि गर्न सक्ला । तर, पूर्वाधार निर्माण सरकारले गर्नुपर्छ । सरकारले बनाएका नीति नियम पर्यटनमैत्री हुनुपर्छ । सरकारले गर्न सक्ने पनि गरेको छैन । पर्यटनमा निजी क्षेत्रको योगदान सह्रानीय छ । चितवनका पर्यटन व्यवसायी के भन्छन् ? होटल एसोसिएसन नेपाल (हान)-चितवन च्याप्टरका पूर्वअध्यक्ष सुमन घिमिरे कोरोनापछि अहिले विस्तारै वाइल्डलाइफ टुरिज्मले गति लिँदै गएको बताउँछन् । ‘अहिले सिजन सुरु भएकाले राम्रै चलिरहेको छ,’ घिमिरे भन्छन्, ‘समग्रमा भन्नुपर्दा नेपालमा पर्यटक बढिरहेका छन्, यो हिसाबले राम्रो मान्नुपर्छ ।’ चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी पर्यटक संख्यामा उल्लेख्य वृद्धि भएको घिमिरे बताउँछन् । ‘अहिलेको अवस्थामा ७० प्रतिशत स्वदेशी र ३० प्रतिशत विदेशी पर्यटक छन्,’ उनी भन्छन्,’ सफारी टुरिज्ममा पहिला निकुञ्जभित्रका होटलले धेरै प्रचारप्रसार गरेका थिए, निकुञ्जभित्रका होटल बन्द भइसकेपछि विश्वबजारमा यसको प्रचार हुन सकेन भन्ने लाग्छ ।’ उनका अनुसार अहिले जीप सफारी निकुञ्जभित्र साढे ४ घण्टाको हुन्छ । हात्तीलाई निकुञ्जभित्र प्रवेश दिइएको छैन । अहिले बाध्य भएर सामुदायिक वनमा हात्ती सफारी गर्न बाध्य भएको घिमिरेको भनाइ छ । ‘निकुञ्जभित्र पनि जीपहरूको छोटो दुरीका लागि सफारी रुट नभएकाले सामुदायिक वनमा पनि गर्छौं,’ उनी भन्छन्, ‘पर्यटकलाई भने हामी सूचना दिएर नै सामुदायिक वनमा सफारी गराउने गरेका छौं ।’ वाइल्डलाइफ टुरिज्ममा राज्यका पनि धेरै कमी कमजोरी भएको घिमिरे बताउँछन् । सरकारबाट वाइल्डलाइफ टुरिज्मका लागि जति सहयोग हुनुपर्ने त्यो हुन नसकेको उनको भनाइ छ । उनका अनुसार विश्व पर्यटन बजारमा नेपालको पर्यटनलाई हामीले जसरी शो गर्नुपर्ने हो र बजारीकरण गर्नुपर्ने हो त्यो गर्न नसकेका कारण नेपालको स्थान घट्दै गएको छ । हामीसँग प्रशस्त स्रोत साधन हुँदा पनि प्रचारप्रसार गर्न नसकिएको हो । ‘नेपालमा सफारी पर्यटनलाई विकास गर्न सरकारले राष्ट्रिय निकुञ्जहरूमा वाइल्डलाइफ टुरिज्मका गतिविधि बढाउन सहयोग गर्नुपर्छ,’ घिमिरे भन्छन्, ‘हाम्रा हात्ती सफारी, जीप सफारीजस्ता गतिविधिलाई अझै व्यवस्थित बनाउन जरुरी छ ।’ सरकारको आफ्नै भनाइ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकाल नेपाल आउने विदेशी पर्यटकमध्ये दुई तिहाइभन्दा बढीले संरक्षित क्षेत्रमा घुमफिर गर्ने गरेको रेकर्ड रहेको बताउँछन् । उनका अनुसार अहिले काठमाडौं केन्द्रित पर्यटकका हिसाबले अन्नपूर्ण ट्रेकिङदेखि लिएर चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा ट्रेकिङ र नयाँ गन्तव्यका रूपमा बर्दियामा पनि सुरुवात भएको देखिएको छ । सानातिना होमस्टेमा नेपाली पर्यटकको भूमिका रहन्छ । शुक्लाफाँटा सीमा क्षेत्रमा विशेषगरी भारतीय पर्यटकलाई लक्ष्य गरेर केही विकास गरिएको छ तर धेरै राम्रो गर्न नसकिएको उपमहानिर्देशक ढकालको भनाइ छ । ‘मन्दीपछि व्यवसायीहरू क्रमशः रिभाइभ हुँदै हुनुहुन्छ, एकैपटक लगानी ल्याउने भन्ने पनि हुँदैन,’ उनी भन्छन्, ‘पर्यटक भित्र्याउने भनेको कन्ट्याक्टले नै हो, व्यवसायीले आफ्नो लगानी पनि बढाउने र त्यसको स्कोप बढेपछि ट्राभल एजेन्सीमार्फत पर्यटक बढ्ने हुन् ।’ भारतीय पर्यटकलाई लक्ष्य गरेर पर्यटन क्षेत्रमा राज्यले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ । ‘स्थानीय नाका व्यवस्थापन गर्ने, जस्तै कन्चनजंघाको गड्डाचौकी नाका, धनगढी नाका, पर्सासँग जोडिएको वीरगन्ज रक्सौल नाका व्यवस्थापन गर्नुपर्ने देखिन्छ,’ उनी भन्छन्, ‘अर्को भनेकोे मास टुरिज्मलाई पनि पर्यापर्यटकका रूपमा लिनुभएन, सबै आएका टुरिस्टलाई राष्ट्रिय निकुञ्जमा लैजानुपर्छ भन्ने पनि होइन ।’ उपमहानिर्देशक ढकालका अनुसार वातावरणमा इच्छा राख्ने र वातावरणलाई कमभन्दा कम क्षति गरेर त्यसको प्राकृतिक सुन्दरता पनि हेर्छु र त्यसको संरक्षणमा योगदान पनि गर्छु भन्ने हिसाबले पर्यटक जाने गर्छन् । चितवन राष्ट्रिय निकुञ्ज वरिपरिका होटलहरूलाई हेर्ने हो भने तिनीहरूले सिर्जना गरेको जनशक्ति र रोजगारीलाई हेर्यो भने स्थानीय र राष्ट्रिय आयआर्जनमा वाइल्डलाइफ टुरिज्मले धेरै सहयोग गरेको छ । विभाग पर्यटनसँग प्रत्यक्ष नजोडिएको भए पनि संरक्षित क्षेत्रलाई पर्यटन गन्तव्यको रूपमा लिएका कारणले पर्यटन मन्त्रालय र निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढिरहेको उनी बताउँछन् । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिना अर्थात् पुससम्म कुल १ लाख ४८ हजार ३ सय ९१ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । निकुञ्जमा स्वदेशी पर्यटक संख्या उल्लेख्य छ । चितवन राष्ट्रिय निकुञ्जमा पाइने जीवजन्तु, पन्छी, जलचर, वनस्पति हेर्न र निकुञ्ज वरिपरिका आदिवासी थारु, बोटे, कुमाल समुदायका संस्कार, संस्कृति नाँचगानमा रुचि भएका स्वदेशी तथा विदेशी पर्यटक निकुञ्ज घुम्न आउँछन् । निकुञ्ज घुम्नेमध्ये ९० हजार १ सय १४ नेपाली र ४३ हजार ४ सय २५ विदेशी रहेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार यो अवधिमा सार्क राष्ट्रका १४ हजार ८ सय २२ पर्यटकले निकुञ्ज घुमेका छन् । यो संख्यामा अधिकांश भारतीय छन् । गत आर्थिक वर्षको पहिलो ६ महिनामा पनि करिब डेढ लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका थिए ।
खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्नुहोस् : उपप्रमुख डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बालबालिकाका लागि खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गरेकी छिन् । बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन क्यान्डी (मिठाइ) महानगरपालिकाको वडा नं. ७ चावहिल चोकबाट नमूना संकलन गरेर महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले पुस २९ गते राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षणका पठाएको थियो । यसरी पठाइएको नमूनामा ‘रोडामीन बी’ नामक अखाद्य रङ्ग मिसाइएको प्रतिवेदन प्राप्त भएपछि उपप्रमुख डंगोलले, बजार अनुगमन टोलीलाई यस्ता बस्तु बेचिने ठाउँहरुमा तत्काल अनुगमन गर्न निर्देशन दिँदै अभिभावकहरुलाई खानेकुरा किन्दा गुणस्तर हेरेर मात्र किन्न आग्रह गरेकी हुन् । ‘सबैले खानेकुरा गुणस्तरीय हुनुपर्छ । बालबालिकाहरुका सन्दर्भमा उनीहरुलाई के खाने, कस्तो खाने, कति खाने थाहा हुँदैन । हेर्दा आकर्षक देखिने खानेकुरामा लोभिन्छन् । त्यसैले बालबालिकाका खानेकुराको गुणस्तरमा अभिभावकले ध्यान दिनुपर्छ ।’ उपप्रमुख डंगोलले भनिन्, ‘अखाद्य बस्तुको बेचबिखनसहित अनुचित व्यापारिक क्रियाकलाप हुन नदिन महानगरपालिका चनाखो छ । सशक्त भएर काम गर्नेछ ।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालका प्रमुख श्रीराम न्यौपानेका अनुसार यो रङ्ग भएका क्यान्डी खाँदा तत्कालै पनि समस्या देखिन सक्छन् । यसका दीर्घकालीन असर पनि छन् । डंगोलले भनिन्- ‘टाउको दुख्ने, उल्टी हुने तत्कालका समस्या हुन् । कलेजोमा असर गर्ने र क्यान्सरसम्म बनाउन सक्ने यसका दीर्घकालीन असर हुन् ।’ आज नै महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले सूचना जारी गर्दै गुणस्तर नभएका खानेकुरा बेचबिखन गरेको पाइएमा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा ३० ले दिएको अधिकार प्रयोग गरेर ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना गराउने भएकोले यस्ता क्रियाकलाप नगर्न सचेत गराएको छ । खानेकुरा किन्दा उत्पादन मिति, उपभोग्य मिति, अधिकतम मूल्य, खाद्य अनुज्ञा अनुमति पत्र सम्बन्धी जानकारी भएको लेवल हेरेर मात्र खरिद गर्न महानगरपालिकाले उपभोक्तालाई आग्रह गरेको छ ।
सडेको खाना बिक्री गर्ने होटललाई जरिवाना
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट-९ मा सञ्चालित होटल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो । होटलमा बिक्रीका लागि राखिएको खाद्य सामग्री सडेको अवस्थामा फेला परेपछि कारबाही स्वरुप होटललाई पाँच हजार रूपैयाँ जरिवाना गरिएको गैँडाकोट नगरका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले जानकारी दिए । मुनाल होटलले पकाएको चियामा टमाटर भेटिएको, सरसफाइमा ध्यान नदिएको, खानेकुरा राख्दा समेत खाद्य गुणस्तरमा ध्यान नदिइएको तथा उचित व्यवस्थापन नगरेको पाइएपछि कारबाही गरिएको उनको भनाइ थियो । गैँडाकोटको सडक किनारमा सञ्चालित होटलले अस्वस्थ्यकर खाना खुवाएको जन गुनासो आएपछि गैँडाकोटको कांग्रेसचोक, थुम्सीलगायत क्षेत्रका विभिन्न होटल तथा पसलमा आज अनुगमन गरिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका अखाद्य सामग्री नष्ट गरिएको खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले जानकारी दिए । केही स्थानमा भेटिएका शङ्कास्पद खाद्य पदार्थको गुणस्तर परीक्षण गर्न नमूना सङ्कलन गरिएको भन्दै उनले अनुगमनका क्रममा स्थानीय पसललाई मूल्यसुची राख्न, म्याद गुज्रिएका सामग्री बिक्री नगर्न सुझाव दिइएको बताए । गैँडाकोटमा सञ्चालित अधिकांश किराना पसल तथा होटलहरुमा चिसो पेय पदार्थको म्याद गुज्रिएको अवस्थाका फेला परेका आचार्यले जानकारी दिए । म्याद गुज्रिएका पेय पदार्थ भेटिएको पसलका सञ्चालकले आफूहरुलाई डिलरले झुक्याएर त्यस्ता सामग्री छाड्ने गरेको गुनासो गरेका थिए । मूल्यसूची तथा परलमा साइन बोर्ड नराखेको, व्यवसाय दर्ता र नवीकरण नभएको, किराना पसलमा खाद्य सामग्री र विषादी एकै स्थानमा राखिएको, सरसरफाइमा कमजोरी भेटिएको पाइएकाले व्यवसायीलाई सचेत गराइएको आचार्यले जानकारी दिए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कावासोती, गैँडाकोट नगरपालिका उपभोक्ता हित संरक्षण समिति, इलाका प्रहरी कार्यालय गैँडाकोट र गैँडाकोटको नगर प्रहरीले संयुक्तरुपमा बजार अनुगमन गरेका हुन् । रासस
हुण्डी कारोबारमा संलग्न काठमाडौंका दुई जना पक्राउ
काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न दुई कारोबारीलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरी टोलीले काठमाडौं जिल्लाका दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको अनामनगरस्थित बस्ने ५० वर्षिय युवराज प्रसाईं र हाल काठमाडौंको नयाँवस्तीमा बस्दै आएका ३० वर्षिय विश्वास राई रहेका छन् । राईको स्थायी ठेगाना भने सुनसरी धरान उपमहानगरपालिका वडा नं. १९ हो । प्रहरीले उनीहरुलाई अवैध ३० लाख १८ हजार रुपैयाँ, दुई थान ल्यापटप, पाँच थान मोबाईलसहित पक्राउ गरेको हो । प्रहरीले युवराज प्रसाईको घरमा अवैध रुपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रसाईलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गरेको थियो । सो क्रममा विश्वास राईले भाडामा लिई प्रयोग गरेको सटर कोठाबाट गैह्रकानुनी तवरबाट हुण्डी कारोबार गरिरहेको अवस्थामा फेला पारेको हो । त्यसैले, प्रहरीले निजहरुलाई काठमाडौं जिल्ला अदालत बबरमहलबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।