इलाम भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि
काठमाडौं । इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो ३ वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो । पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । जिल्लाका दर्जनौँ पर्यटकीयस्थल घुम्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको छ । झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकल रोङको तथ्याङ्कअनुसार पछिल्लो समय इलाम घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको हो । चालु आर्थिक वर्ष २०८०/८१ छ महिनामा ८५ हजार ३२६ जना पर्यटक इलाम भित्रिएका हुन् । गत साउन १ देखि पुस मसान्तसम्म ७४ हजार सात सय ७७ आन्तरिक र १० हजार ५४९ जना विदेशी पर्यटक इलाम भित्रिएको पर्यटन सूचना केन्द्रका सूचना अधिकारी गगन घिमिरेले राससलाई जानकारी दिए । गत साउनमा १ हजार २८९, भदौमा ९१८, असोजमा २ हजार १४५, कात्तिकमा १८ हजार ३०३, मङ्सिरमा २६ हजार ५४८ र पुसमा ३६ हजार १२२ जना पर्यटक इलाम घुम्न आएको सूचना अधिकारी घिमिरेले जानकारी दिए । पर्यटन सूचना केन्द्रका अनुसार जोरकलश हुँदै गत आव २०७९/८० मा एक लाख ३३ हजार ४४५ जना पर्यटक भित्रिएका थिए । त्यसअघि आव २०७८/०७९ मा १ लाख २९ हजार ५८१ जना पर्यटक इलाम घुम्न आएका थिए । कोरोना सङ्क्रमण बेला आव २०७७/७८ मा २९ हजार ८११ मात्र इलाम घुम्न आएको पर्यटन सूचना केन्द्रको तथ्याङ्क छ । “उल्लिखित तथ्याङ्क जोरकलश प्रवेशद्वारबाट जिल्ला भित्रिएका पर्यटकको मात्र हो । जिल्लाका अन्य क्षेत्र माई नगरपालिकाको सुखानी, माङसेबुङ गाउँपालिकाको बाँझो, सूर्योदय नगरपालिकाको पशुपतिनगरबाट पर्यटक भित्रिने गरेका छन्”, सूचना अधिकारी घिमिरेले भने, “कोरोनाकालपछिको पछिल्लो ३ वर्ष जिल्ला भित्रिने पर्यटकहरुको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।” इलामका पर्यटकीय क्षेत्रहरु कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कल, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङजस्ता क्षेत्रमा बर्सेनि आन्तरिक र बाह्य पर्यटकहरु घुम्न आउने गरेका छन् ।
लमजुङमा मह उत्पादन बढ्यो
काठमाडौं । लमजुङमा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष १११.३ टनले मह उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्र कार्यालय लमजुङका सूचना अधिकारी विजयी पौडेलका अनुसार यस वर्ष १३ हजार ८५० मौरीका घारबाट सो परिमाणमा मह उत्पादन भएको हो । गत वर्ष १० हजार २५ मौरीका घारबाट ३२ टन मात्र मह उत्पादन भएको थियो । यस वर्ष प्रतिकिलो मह ९ सयदेखि १ हजार रुपैयाँसम्ममा बिक्री भएको छ । मह बिक्रीबाट रु नौ करोडभन्दा बढी आम्दानी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । विसं २०७८ मा ११ हजार ५ सय मौरीका घारबाट ३० टन मह उत्पादन भएको थियो । त्यस्तै २०७७ सालमा ११ हजार सय वटा मौरीका घारबाट ३८ टन मह उत्पादन भएको थियो । विसं २०७६ मा ९ हजार ५ सय मौरी घारबाट ३४ टन तथा २०७५ सालमा ५ हजार ९ सय मौरीका घारबाट ३२ टन मह उत्पादन भएको केन्द्रले जनाएको छ । जिल्लामा उत्पादित मह काठमाडौँ, पोखरा, चितवनलगायत र जिल्लाभित्रकै सहरबजारमा खपत हुँदै आएको छ । जिल्लाका कृषकले आधुनिक मौरी घार र आधुनिक प्रविधिको प्रयोगबाट मह उत्पादन गर्न थालेका छन् । नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखा लमजुङको अनुसार जिल्लाको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार नगरपालिका, बेँसीसहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका छन् । शाखामा जिल्लाका तीन सय ८२ जनाभन्दा बढी मौरीपालक किसान आबद्ध छन् ।
सहकारीले उद्योग खोलेर केराको थामबाट रेसा उत्पादन
कैलाली । कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो । यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ । सहकारीले उत्पादन गरेको कच्चा पदार्थ बिक्री गर्न काठमाडौँ पठाइने भएको छ । सहकारीले काठमाडौँको एक कपडा उत्पादन गर्ने उद्योगसँग कच्चा पदार्थ बिक्री गर्ने सहमतिअनुसार उद्योग स्थापना गरिएको धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चौधरीले जानकारी दिए । केराको रेसा उत्पादनका लागि सहकारीले हाल प्राविधिकसहित दुई कर्मचारी राखेर काम थालेको छ । रेसा उत्पादन गर्ने मेसिनको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले हालै उद्घाटन गरे । केराको थामबाट रेसा उत्पादन गर्ने सुदूरपश्चिमा पहिलो उद्योग भएको व्यवस्थापक चौधरीको दाबी छ । ‘केराको थाम पाउन समस्या छैन, उनले भने । सहकारीले भवन बनाउने, आम्दानी गर्ने, सहकारी बलियो हुने मात्र नभई समुदायमा रोजगारीको वातावरणसमेत सिर्जना गर्ने काम गरेको छ । सहकारीले रेसा उत्पादन गर्ने उपकरणसँगै रेसा पकाउने मेसिन र धागो बनाउने चर्खासमेत जडान गर्ने भएको छ । केराको धागो र रेसा बनाउन सहकारीको रु दुई लाख र दुई लाख रुपैयाँ दिगो विकास समाज भजनीले लगानी गर्न लागेको व्यवस्थापक चौधरीले बताए । खेर गइरहेको केराको थाम प्रयोग गरेर आम्दानी गर्न सकिने भएकाले केराको रेसा निकाल्ने मेसिन सञ्चालनमा ल्याएको उनले बताए । सहकारी आफैंले तालिम सञ्चालन गरी शेयर सदस्यलाई सीप सिकाएर हाते ब्याग, गुन्द्री, टोपीलगायतका सामग्री उत्पादन गरेर आम्दानी लिने उद्देश्य राखेको छ । वि.सं २०६८ मा स्थापना भएको सो सहकारीले शेयर सदस्यलाई आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।
मुहार फेर्दैछन् रुकुमपश्चिमका सडक, आवागमनमा सहज
त्रिवेणी । राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुमपश्चिमका विभिन्न सडकखण्ड धमाधम स्तरोन्नति गर्न थालिएका छन् । सडक स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो । राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका-४ सोलावङबाट मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने शीतलपोखरीसम्म सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको बसचालक रिमबहादुर पुनले बताउनुभयो । उक्त सडकखण्डमा सडक चौडा, मोड सुधार र कालोपत्र गरिएको छ । ‘पहिले सडक साँघुरो थियो, साँघुरो सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै हुुन्थ्यो, अहिले सडक स्तरोन्नति भएपछि मोडमा पनि सजिलै यातायातका साधन चलाउन सहज भएको छ’, उनले भने । राप्ती राजमार्गअन्तर्गत सल्यानको जलेखर्कबाट रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–९ नुवाकोटको झक्ते खोलासम्म १० किलोमिटर, रुकुमपश्चिमको मुसीकोट नगरपालिका-४ सोलावाङबाट शीतलपोखरीसम्म ६ किलोमिटर र सोलावाङबाट भित्री सडकखण्ड राउखेतसम्म ६ किलोमिटर सडक स्तरोन्नति भइरहेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । तीनवटै ठाउँमा सडक कालोपत्र, मोड सुधार र सडक चौडा बनाउने काम भइरहेको छ । राप्ती राजमार्गअन्तर्गत पर्ने सल्यानको जलेखर्कबाट रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-९ नुवाकोटडाँडा झक्ते खोलासम्मको १० किलोमिटर सडक निर्माण गर्न २१ करोड रुपैयाँमा सम्झौता भएको छ । उक्त सडकखण्डको काम २०७८ चैतदेखि सुरु भएको हो । सडकखण्डको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको प्रमुख शर्माले जानकारी दिए । उक्त सडकखण्ड २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । त्यस्तै राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका–४ सोलावाङबाट भित्री सडकखण्ड राउखेतसम्म ६ किलोमिटर सडक कालोपत्रको काम धमाधम भइरहेको छ । विसं २०७९ फागुनदेखि सडक निर्माणको काम सुरु भएको हो । हालसम्म ७० प्रतिशत प्रगति भएको छ । सडकखण्ड स्तरोन्नतिका लागि २१ करोड रुपैयाँ विनियोजन गरिएको छ । सदरमुकाम नजिकको मुसीकोट नगरपालिका-४ शीतलपोखरीबाट सोलावाङसम्मको ६ किलोमिटर सडकखण्डको मोड सुधार, सडक चौडा तथा पहिरो खसेको ठाउँमा तारजाली हाल्ने काम जारी छ । उक्त सडकखण्ड निर्माण गर्न छ करोड रुपैयाँमा ठेक्का दिइएको छ । सो सडकखण्डको ५० प्रतिशत प्रगति भएको छ । रासस
पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन
इलाम । इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा एक करोड ३४ लाख १३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६९.९६ प्रतिशत हो । आव २०८०/८१ मा भन्सारले एक करोड ९१ लाख ७१ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । यसैगरी आव २०७७/७८ मा एक करोड ८९ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले एक करोड दुई हजार रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख प्रवीन सुब्बाले जानकारी दिए । यस्तै आव २०७८/७९ मा दुई करोड ५३ लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८७ लाख ३८ हजार रुपैयाँ सङ्कलन भएको थियो । कार्यालय प्रमुख सुब्बाका अनुसार आव २०७९/८० मा दुई करोड ५० लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा दुई करोड ७१ लाख ८२ हजार रुपैयाँ सङ्कलन गरिएको थियो । अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको हो । पशुपतिनगर भन्सारअन्तर्गत आठ छोटी भन्सार कार्यालय रहे पनि ती सबै बन्द छन् । ‘हरियो तरकारी, छुर्पी, दूध, चिया, घ्यू, चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको छ,’ उनले भने । नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या भएको कार्यालय प्रमुख सुब्बाले बताए । खुला सीमानाका भएका कारण चोरी पैठारी रोक्न कठिनाइ भएको उनको भनाइ छ ।
विमानस्थलमा विदेशी लगानी खुलाउन प्राधिकरणको पत्र, गौतम अडानीका लागि बाटो खुल्दै
काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सञ्चालनमा निजी क्षेत्रले प्रवेश पाउने सम्भावना बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नसक्ने भएपछि नयाँ मोडेलको विषयको खोजीमा स्वयं प्राधिकरण अगाडि बढेको हो । पुस २० गते प्राधिकरण बोर्डको बैठकले निजगढमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेर सञ्चालन गर्ने विषयमा नयाँ मोडेल अपनाउनुपर्ने भन्दै सरकारलाई सो विषयमा आवश्यक निर्णय लिन अनुरोध गरेको छ । प्राधिकरका प्रवक्ता जगन्नाथ निरौलाले प्राधिकरण बोर्डको बैठकले भएका तीनवटा विमानस्थल सञ्चालन तथा विस्तार गर्न र नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सार्वजनिक–निजी साझेदारी वा अन्य विकल्पको विषयमा निर्णय गर्न प्राधिकरण बोर्डले निर्णय गरेर मन्त्रालय पठाएको बताए । २२ अर्ब बढी लागतको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र ३२ अर्ब बढी लागतको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले व्यवसाय गर्न नसकेपछि निजगढमा थप अन्तर्राष्ट्रिय विमानस्थल बनाउन र विमानस्थलहरुको सञ्चालन गर्न विद्यमान कानून र संरचनाबाट सम्भव नभएको निष्कर्षमा प्राधिकरण पुगेको देखिन्छ । प्राधिकरणका प्रवक्ता निरौलाले भएका विमानस्थल सञ्चालन गर्न र नयाँ विमानस्थल बनाउन सो निर्णय गर्नुपरेको बताए । ‘तीनवटा निर्माण भइसकेका विमानस्थल सञ्चालन र विस्तार गर्नुपर्ने भए विस्तार गर्ने र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल समेत विस्तार गर्नका लागि पब्लिक–प्राइभेट पार्टनरसिप वा कुनै उपयुक्त विकल्पमा निर्माण गर्न वा सञ्चालन गर्न नेपाल सरकारले निर्णय गर्नुपर्छ भन्ने हिसाबले प्राधिकरण सञ्चालक समितिको बोर्डको बैठकले निर्णय गरेर मन्त्रालयमा पठाएको छ’, प्रवक्ता निरौलाले विकासन्युजसँग भने । प्राधिकरण बोर्डले गरेको निर्णय मन्त्रालयमा आइसकेपछि मन्त्रालय एक्लैले सो विषयमा निर्णय गर्न नसक्ने देखेपछि आवश्यक निर्णय गर्न मन्त्रिपरिषदमा पठाइएको मन्त्रालयका एकअधिकारीले विकासन्युजलाई बताए । राष्ट्रिय महत्व र नेपालको अर्थराजनीतिमा नै दीर्घकालिन प्रभाव पार्नसक्ने विषय भएकाले उक्त प्रस्ताव क्याबिनेटमा पठाएको उनले बताए । ‘भएका विमानस्थल पनि सञ्चालन गर्नुपर्यो, हामीसँग भएका यी तीनवटा विमानस्थल पनि पूर्ण क्षमताका होइनन्’, उनले भने, ‘पूर्ण क्षमताको विमानस्थल बनाउको लागि निजगढमा बनाउने भनिएको छ, त्यसको लागि ठूलो रकम खर्चिनुपर्ने हुन्छ, नेपाल सरकारको स्रोतबाट निर्माण गर्न समस्या भएकाले दुईवटा विमानस्थल सञ्चालनमा पनि ल्याउने निजगढ विमानस्थल पनि निर्माण गर्ने साझेदारी अवधारणाबाट अगाडि बढ्ने भनेर निर्णय गरेको हो ।’ सरकारले आगामी वैशाखमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्ने घोषणा गरिसकेको छ । सो सम्मेलनलाई लिएर स्वयं अर्थमन्त्री प्रकाशशरण लगायत विभिन्न सम्बन्धित निकायका व्यक्तिहरुले यतिवेला विश्वस्तरमा सम्बन्ध विस्तार गर्ने वातावरण निर्माण गर्ने अभियान सञ्चालन गरिरहेका छन् । नेपालमा लगानी गर्नको लागि आवश्यक वातावरण निर्माण गर्ने सवालमा पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको विमानस्थललाई ठूला लगानीकर्तासँगको साझेदारीमा सञ्चालन गर्दा सफल पनि हुने र विदेशी लगानी पनि भित्र्याउन सकिने रणनीतिमा सरकार अगाडि बढ्न खोजेको देखिन्छ । प्राधिकरणका अनुसार नेपालमा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल र ५२ वटा आन्तरिक विमानस्थल रहेका छन् । जसमध्ये ३५ वटा विमानस्थलहरु आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन् । त्यस्तै, ३० वटा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनी र १९ वटा आन्तरिक वायु सेवा कम्पनीहरुले अहिले नेपालमा क्रियाशील रहँदै आएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्ष (आव) ०७९/८० मा १३ अर्ब ५१ करोड ३ लाख आम्दानी गरेको थियो । पुँजीगत सञ्चालन खर्च कटायर सो आवमा प्राधिकरणले ३ अर्ब ४९ करोड १५ लाख नाफा आर्जन गरेको थियो । सम्भावित नाफा आर्जनको तुलनामा कम भएपनि नाफा आर्जन भइरहेको अवस्थामा थप लगानी भित्र्याउन र आधुनिक व्यवस्थापन सहित अन्तर्राष्ट्रिय स्तरमा सहज पहुँच बनाउने उद्देश्यले प्राधिकरणले गरेको निर्णय समसामयिक रुपमा सकारात्मक भएको र सो निर्णयलाई सरकारले आवश्यक निर्णय गर्ने सम्भावना भएको मन्त्रालयका एक अधिकारीले बताएका छन् । अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई लिएर नेपालमा लगानी गर्न विशेषगरी भारतीय पुँजीपति गौतम अडानीले अर्थमन्त्री डा महतसमक्ष राखेको सकारात्मक धारणाले पनि नेपालको विमानस्थलको आधुनिक व्यवस्थापनमा विदेशी लगानीकर्ताको सहभागिताको विषयमा सरकारले निर्णय गर्न सकेमा भारत र अन्तर्राष्ट्रिय बजारमा समेत नेपालको राम्रो व्यवसाय हुन सक्ने अनुमान विज्ञहरुले गरेका छन् ।
पुल्चोक क्याम्पसका ६ जना उत्कृष्ट विद्यार्थीहरुले पाए एनसेल छात्रवृति
काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत शुक्रबार इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ । यो एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मानको १०औं वर्ष हो । यस कार्यक्रम अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिन्छ । छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य कार्यलय एनसेल आईकन, लैनचौरमा आयोजित एक विषेश कार्यक्रममाझ विद्यार्थीका अभिभावकहरु, ईन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापकहरु, एनसेलका व्यवस्थापनका सदस्यहरुको समुउपस्थितीमा प्रदान गरिएको थियो । यस वर्ष अर्थात २०८० का लागि १८ वटा शीर्षकअन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हो । इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राज जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए । त्यसैगरी, एनसेलका चिफ लिगन एन्ड रेगुलेटरी अफिसर विशालमणि उपाध्याय, चिफ कमर्शीयल अफिसर उमेर मोहसिन र एक्टिङ् चिफ टेक्नोलोजी अफिसर लेना केशरी कंसाकारले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए । एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘देशको सबैभन्दा प्रतिष्ठित इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको सँगको सहकार्यमा युवा र विद्यार्थीलाई आफ्नो उत्कृष्टताका लागि प्रोत्साहन प्रदान गर्ने यो कार्यक्रम गर्न पाएकोमा हामी गौरवान्वित छौं । नयाँ पुस्तालाई सशक्त बनाउने एक जिम्मेवारी मात्र नभएर प्रतिबद्धता पनि हो जसले नवीनता, प्रगति र सकारात्मक परिवर्तनलाई बढावा दिन्छ । सम्मानित हुने विद्यार्थीका उपलब्धिहरूले हामी सबैलाई गर्व मात्र प्रदान गर्दैन भावी पुस्ताका लागि प्रेरणाको स्रोत पनि बन्दछ । हामी विश्वास गर्छौं कि हाम्रो सहयोगले विद्यार्थीहरुको भविष्य निर्माणमा सहयोग गर्दछ र आजका विद्यार्थी नै देशको भविष्य हुन् । व्यक्तिगत रूपमा, मलाई २० वर्ष पहिलेको सम्झना छ जब मैले मेरो उपलब्धिको लागि छात्रवृत्ति पाएको थिए र त्यसैको कारणले आज म यहाँसम्म पुगेको छ । आर्थिक रूपमा मात्र होइन, यो महत्त्वपूर्ण सम्मानले सबैलाई राम्रा काम जारी राख्न प्रेरित गर्नेछ । प्रतिभा विकासमार्फत समाजको भविष्यको लागि अनवरत लागि रहनु भएका इन्जिनियरिङ्ग अध्ययन संस्थानका सबैलाई उहाँँहरुको अथक प्रयासका लागि धन्यवाद दिन चाहन्छु ।’ त्यसैगरी एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. जोशीले भने, “हाम्रा विद्यार्थीहरूले पढाईमा मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा समेत हासिल गरेको उपलब्धिका बारेमा सम्झन चाहन्छु । उनीहरुले देश बाहिरपनि धेरै महत्त्वपूर्ण कार्यहरुमा योगदान दिइरहेका छन् र पूर्व विद्यार्थीहरूको सफलताका कथाहरू सुन्न पाउँदा खुसी लाग्छ । जब हाम्रा विद्यार्थीहरू सफल हुन्छन्, मलाई शिक्षाको परिवर्तनकारी शक्ति र विद्यार्थीहरुमा हुने अपार सम्भावनाको सम्झना आउँछ । तपाईं चाहे उद्यमी, प्रोफेसर वा अन्य जुनसुकै पेशामा जानुस् तपाईंको भाग्य तपाईंको जोश र तपाईंले देख्ने सपनामा निहित छ । एनसेल छात्रवृत्ती तथा उत्कृष्टताबाट सम्मानित हुने सबै विद्यार्थीहरुलाई धेरै धेरै, बधाई छ । म तपाईंका उपलब्धिहरूमा धेरै गर्व गर्छु । विगत एक दशकदेखि हाम्रा विद्यार्थीहरूलाई यो प्रदान गर्नु भएको यो सम्मान र सहयोगका लागि एनसेलप्रति म धेरै आभारी छु ।” यसै अवसरमा प्रा.डा.जोशीले पुल्चोक क्याम्पसका विद्यार्थीहरूलाई लगातार १० वर्षसम्म एनसेल छात्रवृत्ति र उत्कृष्टता सम्मान प्रदान गरेकोमा एनसेललाई सम्मान स्वरुप इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसले कदरपत्र प्रदान गरको छ । यसअघि दुई पटक एनसेल छात्रवृत्ति प्राप्त गरेका र यो वर्ष ईलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरि एनसेल उत्कृष्टता सम्मान प्राप्त गरेको विवेक खनालले भने, ‘यो अवार्ड मेरो कडा मेहनत र पढाई देखाएको उत्कृष्टताको परिणाम हो । यो एक आर्थिक सहयोग पनि हो तर अझ महत्त्वपूर्ण कुरा भनेको योे वास्तवमै एक ठूलो सम्मान हो र यसले विद्यार्थीहरूलाई एकदम लगनशील भएर आफ्नो पढाईमा लाग्न उत्प्रेरित गर्दछ । यो सहकार्यको लागि म एनसेल र इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई धन्यवाद दिन चाहन्छु ।’ ‘यो खुशीको कुरा हो एनसेलले शिक्षा क्षेत्रमा योगदान पुर्याएको छ । म यो छात्रवृत्रि प्राप्त गर्न पाउँदा गर्व महसुस गरिरहेको छु । यो छात्रवृत्ति सधै सधैं मेरो लागि प्रमुख प्रेरणादायी कारकहरू मध्ये एक थियो । विद्यार्थीहरुलाई परिवारबाट आर्थिक स्वतन्त्रता हुन्न । त्यस्तो अवस्थामा यो छात्रवृत्तिको रकम आफ्नो शिक्षाको लागि लगानी गर्न पनि प्रयोग गर्न सकिन्छ त्यसैले एनसेललाई धन्यवाद छ,’ एनसेल छात्रवृत्ति प्राप्त गर्ने १८ मध्ये एक विद्यार्थी बेन्जिना ढकालले भनिन् । उनले मेकानिकल इन्जिनियरिङ संकाय अन्तर्गत दोस्रो वर्षमा उत्कृष्ट बन्दै यो छात्रवृत्ति पाएकी हुन् । २०७१ सालबाट शुरु गरिएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उदेश्य राखेको छ । प्रत्येक वर्ष एनसेल छात्रवृत्ति इन्जिनियरिङ्ग पाँच संकायमा स्नातक तहको प्रथम, द्घितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्धितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् । कुल १८ जना मध्ये पाँचवटै संकायका छात्राहरुबाट उत्कृष्ट नतिजा ल्याएका द्धितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक/एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन् । यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहको पढाइ सकाएका प्रत्येक संकायका १/१ जना र यी पाँचै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।
कामना सेवा विकास बैंकमा साईबर सुरक्षा सम्बन्धी प्रशिक्षण
काठमाडौं । कामना सेवा विकास बैंकले बैंकका सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखहरुलाई साईबर सुरक्षा सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम गरेको छ । नेपाल प्रहरी, साईबर ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नबिन्द्र अर्यालले बैंकका सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखहरुलाई वर्तमान अवस्थामा साईबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा एसएसपी अर्यालले पछिल्लो समयमा देखिएका विभिन्न किसिमका विद्युतीय ठगी, साईबर अपराध तथा अन्य साईबर सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्न बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा अन्य कर्मचारीहरुले साईबर जोखिमको बारेमा पर्याप्त जानकारी राख्नुपर्ने बताए । उक्त प्रशिक्षणले बैंकका सञ्चालक समिति तथा उच्च व्यवस्थापनहरुको साईबर जोखिम सम्बन्धी ज्ञान अभिवृद्धि गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ ।