रिलायन्स स्पिनिङ्गको आईपीओमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन
काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा बोलपत्र आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । माघ १० गतेदेखि बुक बिल्डिङ्ग विधिमार्फत बिक्री खुला गरेको कम्पनीको आईपीओमा योग्य संस्थागत लगानीकर्ताहरूले आज माघ १४ गतेसम्म बोलकबोल पेश गर्न सक्ने छन् । कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६ सय कित्ता सेयर बुक बिल्डिङ्ग मार्फत बिक्री गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयरको न्यूनतम मूल्य ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँ तोकिएको छ । नेपाल स्टक एक्सचेञ्जले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरू सहभागी गराई बिक्री मूल्यको सीमा भित्र रही बोलकबोल मार्फत सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । योग्य संस्थागत लगानीकर्ताहरुले नेप्सेको कार्यालयमा गई आज माघ १४ गतेसम्म गोप्य बोलपत्र पेश गर्न सक्ने छन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ ।
लाभांश पारित गर्न यूनाइटेड अजोडले डाक्यो ३०औँ साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३०औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा फागुन ७ गते अनमोल ब्याङ्क्वेट शंखमूल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद गरी कूल १०.८० प्रतिशत लाभांश पारित गर्नेछ । बोनस सेयर वितरणपश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्रको नियमावली संशोधन गर्नेछ । संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समितिको गठन गर्नेछ । साथै, संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्नेछ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि माघ २२ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा दिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा दिन परमादेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले एयरलाइन्सको माग अनुसार रिटमा परमादेश जारी गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा अदालतले परमादेश जारी गरेको हो । सर्वोच्चले आदेशको पूर्ण पाठ भने सार्वजनिक गरेको छैन । सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले निवेदकको माग दाबी अनुसार परमादेश जारी भएको बताए । उनले भने, ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङको विवादमा इजलासबाट परमादेश भएको छ ।’ विमान कम्पनीले आफ्नो हकमा ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था अनुसार प्राधिकरणले २०७७ असोजमा सुविधा पाएको थियो । तर पर्यटन मन्त्रालयले एयरलाइन्स कम्पनीको प्राविधिक पक्षसमेत विश्लेषण गरेर मात्र निर्णय कार्यान्वयनको निर्देशन प्राधिकरणलाई दिएपछि सुविधा कार्यान्वयन रोकिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान
काठमाडौं । सरकारले दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि सरकारले दरखास्त आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक सूचना प्रकाशन गर्दै अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो । ३० वर्ष पुरा भई ६५ बर्ष ननाघेका व्यक्तिले ७ दिन अर्थात् माघ २१ गतेभित्र आवेदन पेश गर्नु पर्नेछ । मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव भएको, तर सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौँ तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव प्राप्त व्यक्तिले आवेदन दिन सक्ने छन् । उम्मेदवारले पेश गरेको व्यावसायीक कार्ययोजना, त्यसको प्रस्तुतिकरण र अन्तरवार्ता, शैक्षिक योग्यता र अनुभवको मुल्यांकन गरि नियुक्तिका लागि सिफारिस गरिने सूचनामा उल्लेख छ । पुरुषोत्तम खनालले राजीनामा दिएपछि अध्यक्ष पद रिक्त रहेको छ । खनाल २०७६ साल साउन ९ गतेदेखि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयका सचिव कृष्ण बहादुर राउतको संयोजकत्वमा समिति गठन गरिने भएको छ । प्राधिकरणका सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको विम्मेवारी दिइएको छ ।
‘नो ड्याम’ को सट्टामा ‘हाई ड्याम’, नागमती बाँधको औचित्यमा वन मन्त्रालयकै प्रश्न
काठमाडौं । नागमती बाँध निर्माणका लागि प्राकृतिक रूपमा बनाउन सकिने ‘नो ड्याम’ विकल्पलाई अस्वीकार गर्दै ‘हाई ड्याम’ बाँधलाई नै प्रमुख विकल्पका रूपमा प्रस्तुत गरिएको पाइएको छ । कम जोखिम मोलेर बनाउन सकिने बाँध बढी जोखिम मोलेर बनाउन खोजिएको कुरा वन तथा वातावरण मन्त्रालयले गराएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)मा उल्लेख छ । नागमती बाँध आयोजनाले प्रतिवेदन मन्त्रालयमा दिएलगत्तै मन्त्रालयले गत वर्ष भदौ १८ गते सूचना प्रकाशन गरी सार्वजनिक रूपमा सुझाव माग गरेको थियो । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ मा बन्ने सो बाँधले संरक्षित क्षेत्रका रूपमा रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको ६५.३०४ हेक्टर जमिन ओगट्छ भने ०.२९५ हेक्टर निजी जग्गा पर्ने देखिएको जनाइएको छ । तल पिँधमा सात मिटर चौडाइ रहने गरी ९४.५ मिटर अग्लो र ५५४ मिटर चौडाइको बाँध निर्माण हुने प्रस्तावित प्रतिवेदनमा उल्लेख छ । वातावरण संरक्षण नियमावलीलाई टेकेर वन तथा वातावरण मन्त्रालयले सो आयोजनाको औचित्यमाथि नै प्रश्न उठाएको छ । मन्त्रालयले सोको जवाफ संशोधित प्रतिवेदनमा चित्त बुझ्ने गरी दिन भनेको छ । प्रतिवेदनका सवालमा सुझाव समितिको बैठकले झन्डै ४५ बुँदामा विभिन्न प्रश्नको उत्तर माग गरेको छ । मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले सुझाव सामेल गरेर संशोधन प्रतिवेदन आएपछि त्यो पारित गर्ने नगर्ने भन्नेबारे पुनः छलफल हुने बताउनुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका पालामा तीन वर्षअघि एसियाली विकास बैङ्कसँग सम्झौता गरेपछि आयोजनाको काम अगाडि बढेको हो । प्रस्तावित इआइए प्रतिवेदन हेर्नेबित्तिकै वन मन्त्रालयले आयोजनाको उद्देश्यमाथि नै प्रश्न उठाएको हो । बागमतीमा ४५० लिटर प्रतिसेकेन्ड पानी फाल्नकै लागि त्यति ठुलो ऋणमा पोखरी बनाउनुपर्ने वा नपर्ने प्रश्न समितिको बैठकमा उठेको छ । ऋणको मामिलामा सरकारले आयोजनाको औचित्य तथा आर्थिक अध्ययन सरकारले गर्नुपर्ने सुझाव दिइने भएको छ । सोधिएको प्रश्नमा चित्तबुझ्दो जवाफ नआएमा सो विषयमा अझ विस्तृत सुझाव माग गर्ने तयारी मन्त्रालयले गरेको छ । वातावरण प्रभाव मूल्याङ्कन शाखा अधिकृत मधु घिमिरेले बाँध फुट्दा आउने जोखिमबारे दीर्घकालीन र अल्पकालीन समाधानका उपाय प्रस्ट उल्लेख नगरिएको बताए । उनका अनुसार अर्को विषय भनेको नागमती बाँध संरक्षित क्षेत्रको कोर एरिया उजाड बनाउने गरी बन्दै छ । त्यसलाई वन मन्त्रालयले निकै संवेदनशील रूपमा लिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
दा अफगानिस्तान बैंकले स्थानीय मुद्रालाई स्थिर बनाउन साढे १ करोड अमेरिकी डलर लिलामी गर्ने
काठमाडौं । अफगानस्तानको केन्द्रीय बैंक दा अफगानिस्तान बैंकले आइतबार राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने निर्णय गरेको छ । बैंकले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार अफगानिस्तानको मुद्रा, विदेशी मुद्राहरू, विशेष गरी अमेरिकी डलरको तुलनामा पछिल्ला दुई हप्ताहरूमा निकै खस्किरहेको छ । गत साता १ अमेरिकी डलरको विनिमयदर ६९.९ अफगानी थियो भने शनिबार स्थानीय विनिमय बजारमा ७३.४ अफगानी पुगेको थियो । विगत केही महिनाहरूमा, केन्द्रीय बैंकले विदेशी मुद्राको तुलनामा अफगानीको अवमूल्यनलाई रोक्नका लागि देशको विनिमय बजारहरूमा लाखौं अमेरिकी डलर प्रवेश गराएको छ । एजेन्सी
यौन दुर्व्यवहारको अभियोगमा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई साढे ८ करोड डलर जरिवाना
काठमाडौं । न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत ८ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । क्यारोलले मानहानीको लागि क्षतिपूर्ति स्वरूप एक करोड डलरभन्दा बढी माग गरेकी थिइन् । फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपील गर्ने बताएका छन् । तीन घण्टाभन्दा केही कम समयको सुनुवाईपछि अदालतले आफ्नो निर्णय सुनाएको हो । यस मुद्दामा शुरूमा अदालतमा उपस्थित भएका ट्रम्पले बीचमा मुद्दाबारे आक्रामक धारणा सार्वजनिक गरेका थिए तर पछि अन्तिम बहसको लागि अदालती सुनुवाईमा सहभागी भएका थिए । क्षतिपूर्ति र दण्डात्मक क्षतिको स्तर अदालतका क्लर्कले पढ्दा उनी अदालतभन्दा बाहिर (अन्यत्रै) थिए । क्यारोलले भनेकी छन्, ‘यो हरेक महिलाका लागि ठूलो जित हो, जो आफूमाथि आक्रमण भएका समय उठ्नलाई हौसला हुनेछ । महिलालाई तल झार्ने कोसिस गर्ने हरेक धम्कीविरूद्धको यो ठूलो हार हो ।’ न्यायाधीशले आफ्नो गोपनीयताको रक्षा गर्न प्रोत्साहित गरेपछि नौ जना पुरुष र महिलाहरू अदालतबाट बाहिर निस्कँदा एक न्यायाधीश क्यारोललाई हेरी मुस्कुराएका देखिएको थियो । ट्रम्पले क्यारोलको बारेमा सार्वजनिक टिप्पणीमा दुर्भावनापूर्ण कार्य गरेको क्षतिपूर्तिस्वरूप ७३ लाख डलर र प्रतिष्ठामाथिको क्षतिका लागि एक करोड १० लाख ठलर र दण्डात्मक क्षतिपूर्तिको रूपमा छ करोड ५० लाख डलर जरिवाना तोकेको छ । एजेन्सी
ब्याज अझै घट्छ, सेयर बजारमा सुधार हुन्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले राजनीतिक परिवर्तन पछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाल मार्केटिङ एशोसियनले शनिबार आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. महतले अर्थतन्त्र विस्तारै लयमा फर्किएकाले अब पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । ‘देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ, हामीले धेरै राजनीतिक आरोह–अवरोह पार गरिसक्यौं, राजनीतिक पूर्वाधार तयार पारिसक्यौं, अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ, यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं’ मन्त्री डा महतले भने, ‘हाम्रो आर्थिक सूचाङ्क सकारात्मक छन् । मूल्यवृद्धि नियन्त्रणमा छ । ब्याजदर घटिरहेको छ, अझैं घट्छ, सेयर बजारमा सुधार भइरहेको छ, आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको छ ।’ मुलुकलाई आर्थिक गति दिनका लागि स्पष्ट मार्गचित्र बन्दै गएको अर्थमन्त्री महतको दावी छ । अर्थतन्त्रमा शिथिलता देखिएका कारण बजार चलायमान हुन नसक्दा उपभोक्ता तथा निजी क्षेत्रको घट्दै गएको आत्मविश्वास अहिले सुधार हुँदै गएको पनि उनको भनाइ छ । ‘अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नु पर्ने छ, त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ, अहिलेसम्म हामीले धेरै नकारात्मक कुरा गर्यौं, यसले गर्दा हामी आत्मविश्वास कमजोर बन्यो, यथार्थ विषयवस्तुलाई नकारात्मक सन्देशले बल पुग्यो’, मन्त्री डा महतले भने, ‘सकारात्मक सन्देश प्रवाहसँगै हाम्रो व्यापार व्यवसायमा आत्मविश्वास बढ्छ । उपभोक्ताको आत्मविश्वास बढ्छ । उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार व्यवसाय बढ्ने हो । व्यापार व्यवसायमा चलपहल हुनेवित्तिकै लगानी वृद्धि हुन्छ । यसले आर्थिक गतिविधि बढाउँछ ।’ नेपालको विशिष्ट पहिचान बोकेका वस्तु र सेवाको पर्याप्त बजारीकरण हुन नसकेको पनि अर्थमन्त्री महतले बताए । वस्तु तथा सेवाको उत्पादन, बजारीकरण र खपतसँग जोडिएका सबै पक्ष मिलेर नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई बढावा दिन जरुरी रहेको उनले उल्लेख गरे । विशिष्ट खालका वस्तु तथा सेवा उत्पादन गरेर विश्वका विभिन्न देशले आफ्नो पहिचान स्थापित गरेकोमा नेपालले पनि त्यसबाट लाभ लिनसक्नुपर्ने उनको भनाइ छ । ‘नेपालमा युनिक उत्पादन गरेर संसारभरि बजारीकरण गर्न सकिन्छ, उपभोक्ताले जहिले पनि अरुभन्दा फरक रुचाउँछन्, नेपालको सकारात्मक पक्ष भनेको विशिष्ट खालका वस्तुको उत्पादन हो, हाम्रो संस्कार, संस्कृति, जनजाति, वन्यजन्तु र सामाजिक एकता यहाँको विशिष्ट पहिचान हो”, अर्थमन्त्री महतल भने ।