यती एयरलाइन्सले भित्र्याएका दुई वटा विमानले एक साताभित्रै उडान गर्ने
फाइल फाेटाे काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका २ ‘एटिआर–७२–५००’ विमान भित्र्याएको छ । दुवै विमान बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यतीले एकैपटक दुई विमान थपेको हो । यो सँगै यतीसँग एटीआर–७२ विमान सात पुगेको छ । बिहीबार थपिएका दुई जहाजको क्रमशः ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ नेपाली दर्ता नम्बर रहेको छ । एक साताभित्रै विमानले उडान गर्ने जनाइएको छ ।
ऋण घटाउँदै नाफा बढाउँदै माण्डु हाइड्रो, जगेडा कोषमा ३७ करोड रुपैयाँ
काठमाडौं । माण्डु हाइड्रोपावरको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ११.७८ प्रतिशत बढेर १७ करोड ५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो । ६ महिनाको अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४ प्रतिशत घटेर ४१ करोड ५२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड २७ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो । पुस मसान्तसम्म कम्पनीको वित्तीय खर्च २३.२८ प्रतिशत घटेर १२ करोड ९ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १३.६४ प्रतिशत बढेर १ अर्ब ३६ करोड रुपैयाँ, जगेडा कोष ४०.३२ प्रतिशत बढेर ३७ करोड १९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कर्जा तथा सापटी रकम २२.७६ प्रतिशत घटेर २ अर्ब १२ करोड रुपैयाँमा झरेको छ । साथै, कम्पनीको प्रतिसेयर आम्दानी २५.०२ रुपैयाँ रहेको छ भने नेटवर्थ प्रतिसेयर १३९.७९ रुपैयाँ रहेको छ ।
६ महिनामा १ हजार १३७ जनाको मृत्यु, यसकारण हुन्छन् सवारी दुर्घटना
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा देशभर भएका सवारी दुर्घटनामा १ हजार १३७ जनाले ज्यान गुमाएका छन् । चालु आवको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा १ हजार १३७ ले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा पुरुष ८५४, महिला २०९, बालक ५० र बालिका २४ रहेका प्रहरी केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा १६ हजार ३३५ जना घाइते भएका छन् । ३ हजार २१३ गम्भीर र १३ हजार १२२ जना सामान्य घाइते भएका ढकालले बताए । “डिजिटल प्रविधि, सिसिटिभी जडान, ट्राफिक लाइट, मापसे चेकिङलगायतलाई प्रहरीले प्राथमिकता दिएको छ । योसँगै प्रहरीले दुर्घटना कम हुने विश्वास लिएको छ”, उनले भने । प्रवक्ता ढकालका अनुसार सो अवधिमा देशभर १२ हजार ८५६ वटा सवारी दुर्घटना भएका छन् । काठमाडौं उपत्यकामा ५ हजार ८६५, कोशी प्रदेशमा १ हजार ६३९, मधेसमा ३ हजार १९०, बागमतीमा ७०६, गण्डकीमा १९५, लुम्बिनीमा ६०६, कर्णालीमा ४९५ र सुदूरपश्चिम प्रदेशमा १६० सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १० हजार ३५३ वटा सवारी साधनमा क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीको तथ्याङ्क हेर्दा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ । तीव्र गति, यात्रुले बाटो काट्दा, मापसे र लापसे, ट्राफिक नियम उल्लङ्घन, सवारी चालक अनुमतिपत्र प्राप्त नहुनु, ओभरटेक, ओभरलोड, ब्रेक फेल, मोबाइल फोनको प्रयोग, यान्त्रिक गडबडी, झुण्डिएर यात्रा गर्नु, जीर्ण तथा कच्ची सडक, उकालो ओरालो, हुस्सुकुहिरो, बाढीपहिरो र चौपायलगायत कारणले दुर्घटना हुने गरेको प्रवक्ता ढकालको भनाइ थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दुर्घटना बढी हुने स्थानमा निरन्तर चेकजाँच गर्ने, सचेतनामूलक चिह्न राख्नेलगायत काम गरिरहेको बताए । उपत्यकाका साँघुरा सडकमा तीव्र गतिमा सवारी साधन चलाउँदा बढी दुर्घटना हुने गरेको उनको भनाइ छ ।
सौर्य ऊर्जाबाट ८ लाख युनिट विद्युत् उत्पादन, ८७ करोड खर्च
काठमाडौं । झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जीले आठ लाख युनिट विद्युत् उत्पादन गरेको छ । निर्माण सम्पन्न भएपछि सौर्य ऊर्जा उत्पादन थालेको झापा इनर्जीले ३५ दिनको अवधिमा ८ लाख युनिट विद्युत् उत्पादन गरेको हो । कोशी प्रदेशको ठूलो सौर्य ऊर्जा परियोजना मानिएको उक्त परियोजनाको पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको सञ्चालक सुवास भट्टराईले जानकारी दिए । उनका अनुसार परियोजनाबाट उत्पादित विद्युत् मेन ग्रीडमा जडान भइसकेको छ । हालसम्म परियोजनामा करिब ८७ करोड खर्च भएको भट्टराईले बताए । ऊर्जा उत्पादनतर्फका काम सकेर सौन्दर्यकरणको काम भइरहेको परियोजना कार्यालयले जनाएको छ । सौर्य ऊर्जा उत्पादनसँगै पर्यटनसँग जोड्ने उद्देश्यले काम थालिएको झापा क्षेत्र नं ४ का सांसद एलपी साँवाले बताए । परियोजना र प्राधिकरणबीच विसं २०७८ मङ्सिर १२ गते विद्युत् खरिद, बिक्रीका विषयमा सम्झौता भइसकेको छ भने उत्पादित विद्युत्को मूल्य हाल प्रतियुनिट ७.३० रुपैयाँ कायम गरिएको छ । मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउन निजी क्षेत्रको प्रयासका रुपमा सुरु भएको परियोजनाको शिलान्यास विसं २०७८ मा तत्कालीन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए । नेपाल विद्युत प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले परियोजनाबाट हाल ६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जानकारी दिए । उनले जाडो मौसममा कम उत्पादन भए पनि मौसम सफा भएपछि १० मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिए । विद्युत् उत्पादनसँगै भोल्टेजको समस्यासमेत समाधान हुने उनको भनाइ छ ।
पर्यटनमन्त्रीले गरे वायुसेवा निगमको निरीक्षण
काठमाडौं । नेपाल वायुसेवा निगमको पछिल्लो अवस्थाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी लिएका छन् । मन्त्री किरातीले आज नयाँ सडकस्थित निगमको केन्द्रीय कार्यालयमा पुगेर सेवा प्रर्वाहबारे निरीक्षण गरेका हुन् । उनले निगमका टिकट बिक्री कक्ष तथा प्रशासनिक कार्यकक्षको स्थलगन अनुगमन गरेको निगमका प्रवक्ता रमेश पौडेलले राजानकारी दिए । सो अवसरमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराएका थिए । उक्त अवसरमा मन्त्री किरातीले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै नडराइकन इमान्दारीपूर्वक कार्य गर्न कर्मचारीलाई निर्देशन दिए। निरीक्षणका क्रममा पर्यटनमन्त्री किरातीले निगमका गतिविधि, उडान, कर्मचारी, व्यवस्थापनलगायत विद्यमान समस्या तथा समाधानका उपायबारे छलफल गरेका थिए ।
एक गर्भवती र एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार
काठमाडौं । सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवैजनाको उद्धार गरिएको हो । पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया विना मगर र खाँदबारी नगरपालिका–११ खर्तुवाकी गर्भवती सपना राईको हेलिकप्टरमा उद्धार गरिएको हो । दुवैजनालाई काठमाडौं लगिएको छ । सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकप्टरमा निःशुल्क उद्धार गर्दै आएको छ । गर्भवती राईको गर्भमै शिशुको मृत्यु भएको थियो । अत्यधिक रक्तस्राव भएपछि उनलाई थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत विकास आर्चायले जानकारी दिए । त्यसैगरी, सुत्केरी मगर र उनको शिशुको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो । जिल्लामा हालसम्म १९ भन्दा बढी सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
२० प्रतिशत लाभांश गायब पारेको युनिक नेपाल लघुवित्तको खराब कर्जा १० प्रतिशत पुग्यो
काठमाडौं । २० प्रतिशत लाभांश गायब पारेको युनिक नेपाल लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा झण्डै १० प्रतिशत पुगेको छ । पुस मसान्तसम्मको तथ्याङ्क अनुसार लघुवित्तको एनपीएल ३४.६० प्रतिशत बढेर ९.९२ प्रतिशत पुगेको हो । गत वर्षको पुसमा ७.३७ प्रतिशत एनपीएल थियो । यस अवधिमा लघुवित्तको कस्ट अफ फण्ड ९.०४ प्रतिशत, आधार दर १३.४८ प्रतिशत, इन्ट्रेस्ट रेट स्प्रेडदर ५.९१ प्रतिशत रहेको छ । पुस मसान्तसम्मका लघुवित्तको खुद ब्याज आम्दानी ११.८२ प्रतिशत घटेर ११ करोड ८१ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ४० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । ६ महिनामा लघुवित्तले ३ करोड ३२ लाख रुपैयाँ खुद नाफा, ४ करोड ५९ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १४ करोड ८५ लाख रुपैयाँ र जगेडा कोष १८ करोड २५ लाख रुपैयाँ छ । यस अवधिमा लघुवित्तले २ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । लघुवित्तले गत भदौ ३० गते सेयरधनीहरूलाई बोनस सेयर र नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर, ३ महिनापछि उक्त लाभांशको एजेण्डा बिनै वार्षिक साधारण सभा सम्पन्न आह्वान गरी सम्पन्न गरिसकेको छ । यस विषयमा नियामक निकाय मुकदर्शक बनेका छन् । युनिक नेपाल लघुवित्तको २० प्रतिशत लाभांश गायब युनिक नेपाल लघुवित्तविरुद्ध अदालत जाने लगानीकर्ताको चेतावनी, अध्यक्ष हमाल भन्छन् : कारबाही गर्छौं
कुमारी क्यापिटलले माघ २८ गतेदेखि १ अर्बको कुमारी सबल योजना बिक्री गर्दै
काठमाडौं । कुमारी क्यापिटलले माघ २८ गतेदेखि कुमारी सबल योजना नामक म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन १ अर्ब रुपैयाँको १० वर्ष अवधिको बन्दमुखी योजना बिक्री गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुला गर्नेछ । जसमध्ये १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटल, १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंक र बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई छुट्याइएको छ । क्यापिटलको उक्त फण्डमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा पर्याप्त आवेदन परेन भने फागुन १३ गतेसम्म आवेदन समय लम्बिनेछ । लगानीकर्ताहरूले फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन सक्ने छन् । फण्डको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।