विकासन्युज

माघ २५ देखि ‘क्यान इन्फोटेक २०२४’ हुँदै, तयारी अन्तिम चरणमा

काठमाडौं । आउँदो माघ २५ देखि २९ गतेसम्म राजधानीमा २९औं संस्करणको ‘क्यान इन्फोटेक २०२४’ आयोजना हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले क्यान इन्फोटेकको तयारीबारे जानकारी दिएको हो । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना गर्दै आएको क्यान महासंघले जनाएको छ । २९औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एस पावर बीपीई प्राइभेट लिमिटेड र सह-प्रायोजकमा एचएमसी दहुआ रहेको छ । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘’एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुवा रहेको छ  । त्यस्तै क्यान इन्फोटेक २०२४ प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फोडेभलपर्स प्रालि र मर्कन्टाइल अफिस सिस्टम प्रालि रहेका छन् । त्यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रालि, हिमकम एनटेक र पीएनवइ रहेका छन् । प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया नेटवर्क प्रालि, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन् । त्यस्तै फुड एन्ड बेभरेज पार्टनरमा र्याकेट बार एन्ड इभेन्ट्स प्रालि, भर्चुअल एक्जिबिसिन पार्टनरमा मण्डला सिस्टम प्राइभेट लिमिटेड, स्मार्ट गेट पार्टनर बारकोट नेपाल, सीसीटीभी पार्टनरमा एचएमसी दहुआ र एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि रहेका छन् । प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), सुबिसु केबलनेट लगायतका संस्थाले सहयोग गरेका छन् । नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने बताउँदै क्यान महासंघका अध्यक्ष रणजीत पोदारले डिजिटल नेपाल निर्माणमा यसबाट सहयोग पुग्ने बताए । ‘प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएका छौं,’ पोदारले भने । त्यस्तै महासंघका महासचिव चिरञ्जीवी अधिकारीले क्यान इन्फोटेकमा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरे । सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२३ मा इन्फोटेकको २८औं संस्करण सफलता पूर्वक सम्पन्न भएको थियो । यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ । यस अन्तर्गत सर्वसाधारणका लागि १०० रूपैयाँ र विद्यार्थीका लागि ५० शुल्क तोकिएको छ । जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निस्शुल्क प्रवेश व्यवस्था छ । विगत ६ वर्षदेखि क्यान महासंघ नेपालले लर्ड बुद्ध एजुकेसन फाउण्डेसनसँगको सहकार्यमा नेपालभरका जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई बीएस्सी आईटी डिग्रीका लागि प्रत्येक वर्ष २ करोडको छात्रवृत्ति प्रदान गर्दै आएको छ । यो छात्रवृत्ति यस वर्ष पनि उपलब्ध गराइने र यो क्यान इन्फोटेक २०२४ को पहिलो दिन घोषणा गरिनेछ । त्यस्तै नेपाल रोबोटिक्स एकेडेमीले क्यान महासंघसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ मा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी’ रोबटको बेटा संस्करण सार्वजनिक हुने कार्यक्रम छ । यस पटकको क्यान इन्फोटेकमा एनपी सर्ट र सीएसआरआईको पहलमा साइबर सेक्युरिटी हेल्प डेस्क समेत सञ्चालन गरिनेछ । सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । यो प्रर्दशनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो हुने क्यानको विश्वास छ । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ । इन्फोटेक अवधिभर सूचना प्रविधि सम्बन्धी अन्तर्क्रियातमक छलफलका कार्यक्रम हुनेछन् । क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ, स्टार्टअप तथा इनोभेसन पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ  । यसपटक पनि नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवद्र्धन गरिएको छ । नेपालमै अनुसन्धान र विकासमार्फत तयार भएका प्रडक्ट र सलुसनलाई प्राथमिकता दिइने छ । यसअन्तर्गत  इनोभेटिभ तथा स्टार्टअप पेभिलियनका लागि नेपाली स्टार्टअपलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ । क्यान इन्फोटेकमा विगत २ दशकभन्दा बढी समयदेखि नेपालमा प्रविधि अनुासन्धान गरिरहेका चर्चित नेपाली अनुसन्धानकर्ताहरु रामलक्ष्मण संलग्न रहेको कम्पनीले विकास गरेको “कताहो” डिजिटल ठेगाना प्रणालीको पनि उद्धाटन हुनेछ । यस प्रणालीले नेपालको ठेगाना प्रणालीलाई व्यवस्थित गर्ने, घर ठेगानाको प्लेट पाँच मिनेटमा नै तयार गर्न सकिने छ । त्यस्तै मण्डला सिस्टमसँगको सहकार्यमा क्यान इन्फोटेक २०२४ लाई अनलाइनमार्फत पनि प्रत्यक्ष अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । यसअन्तर्गत  इन्फोटेककाे वाेबसाइट मा रेजिस्ट्रेसन गरी भर्चुअल अवलोकन गर्न सकिनेछ । क्यान इन्फोटेक २०२४ का लागि हालसम्म ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको छ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा छ । राजधानीमा माघ २५ देखि ५ दिनसम्म देशकै ठूलो सूचना प्रविधि समापन भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुनेछ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रुपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार र मातहतका निकायहरु, सूचना प्रविधि व्यवसायी, नीति निर्माता एवं विज्ञ समूह, शिक्षण संस्था, सञ्चारकर्मी एवं प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले अनुरोध गरेको छ ।

विमानस्थलको ड्युटी फ्री सप सञ्चालन गर्न शुन्य आवेदन, रक्सी बेच्न रोक्नु मुल कारण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्री सप सञ्चालनको लागि गरेको बोलपत्र आह्वानमा कुनै व्यवसायीले चासो देखाएनन् । विमानस्थल कार्यालयले खुला प्रतिस्पर्धाका आधारमा ड्युटी फ्री सप सञ्चालनका लागि ४ मंसिर २०८० मा ३० दिने सूचना प्रकाशित गरेकोमा सो अवधिभित्र कसैले पनि आवेदन नगरेपछि कार्यालयले पुस ४ मा १५ दिन र पुस १९ मा ३० दिन समयावधि राखेर सूचना प्रकाशित गर्दा पनि कसैले आवेदन नहालेका हुन् । त्यसपछि कार्यालयलले माघ १९ गते पनि ३० दिने म्याद राखेर नयाँ सूचना प्रकाशन गरेको छ ।   नागरिक उड्ड्यन कार्यालयले विमानस्थलभित्र प्रस्थानतर्फ पहिलो तलामा २६.११ वर्गमिटर र आगमनतर्फ अध्यागमन नजिकै ७८.८ वर्गमिटर गरी कुल १०९.९१ वर्गमिटर क्षेत्रफलमा पाँच वर्षका लागि ड्युटी फ्री सप सञ्चालन गर्न बोलपत्र आह्वान गरेको हो । सूचनाअनुसार उक्त ड्युटी फ्री सपको न्यून न्यूनतम भाडा १५ करोड १५ लाख २१ हजार २५७ रुपैयाँ तोकिएको छ । तर, पटकपटकको म्याद थपिएको सूचनामा पनि कसैले बोलपत्र पेश नगरेपछि ठेक्का नै रद्द हुनसक्ने अवस्थामा पुगेको देखिएको छ । किन आउन सकेन ठेक्का ? नाफा न्यून हुने सम्भावनाका कारण ड्युटी फ्री सप सञ्चालनको लागि प्रकाशित गरेको सूचनामा ३ पटकसम्म म्याद थप गर्दा पनि कोही व्यवसायीले चासो नदेखाएको हुनसक्ने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् । सरकारले ड्युटी फ्री सपमा रक्सी र चुरोट बिक्री गर्न नदिने भनेपछि नाफा कम हुने देखेर व्यवसायीहरुले चासो नदेखाएको हुनसक्ने उनको अनुमान छ । ‘भाडा महँगो भन्ने भयो की, ड्युटी फ्री मा पहिले मदिरा र धुम्रपान बिक्री हुन्थ्यो त्यो अहिले रोकिएको छ, त्यही कारणले नआएका हुन की’, उनले भने, ‘बढी मुनाफा हुने मदिरा र धुम्रपानमा हो त्यो नेपाल सरकारले प्रतिबन्ध नै गरेकाले नआएका हुन की भन्ने हाम्रो अनुमान हो ।’ उनका अनुसार यसपपटकको सूचनामा पनि कसैले आवेदन नगरेमा त्यसको प्राधिकरणले सो बोलपत्रको विषयमा समीक्षा गर्नेछ ।

चौधरी पक्राउ सम्बन्धमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अपिल

काठमाडौं । व्यवसायी अरुण चौधरीलाई कुनै ठोस प्रमाण र आधार विना नै नेपाल प्रहरीले छानविनका नाममा पक्राउ गरेकोमा सरकारले गरेको त्यस कार्यको नाडाले घोर भत्सना गरेको जनाएको छ । चौधरी नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सदस्य, सीजी होल्डिङ्गसका अध्यक्ष, प्रवन्ध निर्देशक तथा देशको ठूलो औद्योगिक घरानासँग सम्बद्ध छन् । ‘सम्बन्धित विषयकाे गहिरो अध्ययन र अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई नाडाले आग्रह समेत गरेको छ । प्रहरीले गिरफतारी तत्पश्चात मात्र समस्या पहिल्याउने प्रबृत्तिले व्यवसायीहरुलाई थप हतोत्साहित मात्र बनाएको छैन यसले आउदै गरेको लगानी सम्मेलनलाई समेत नकारात्मक प्रभाव पार्ने देखिएको छ’ विज्ञप्तीमा बताइएको छ । पहिला आवश्यक छानविन र सत्यतथ्य यकिन गरेर मात्र कानूनी प्रकृयालाई अघि बढाउन सरकारलाई आग्रह गरिएको समेत नाडाको भनाइ छ ।

विमानस्थल विस्तारको सपना ६ वर्षमा पूरा भयो : प्रमुख दाहाल

चितवन । बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौँबाट फोन गयो । फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा रहेछ । प्रमुख दाहाल आफ्नो कुर्सीबाटै जुरुक्क उठिन् र हर्षित हुँदै धन्यवाद व्यक्त गरिन् । काठमाडौँबाट फोनमा थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चितवनमा महानगर प्रमुख दाहाल । सम्वाद बाबुछोरीको थियो । हामीले फोनबाट सुनेको धन्यवाद पनि उनले आफ्ना पिता दाहाललाई नै दिएकी थिइन् । तर यो संवादले भरतपुर विमानस्थललाई ठूलो जहाज बस्नेगरी विस्तार गर्ने सरकारको निर्णयको खुसीको खबर बोकेको थियो । जुन काम महानगरप्रमुख दाहालको अघिल्लो कार्यकालदेखिकै सपना थियो । त्यसैले महानगर प्रमुख दाहालले प्रधानमन्त्रीसहित नेपाल सरकारलाई विशेष धन्यवाद ज्ञापन गरेकी थिइन् । निर्णयपछि कार्यकक्षमा पुगेका सञ्चारकर्मीसँग महानगर प्रमुख दाहालले भनिन्, ‘मैले पहिलो कार्यकालको सुरुआतमै राखेको ‘एजेन्डा’ थियो यो । आज सरकारले निर्णय गरेपछि आफ्नो वाचा र चितवनका जनताको माया अकस्मात सम्झिएँ र निकै खुसी भएँ ।’ निरन्तर लागेर छ वर्षपछि मन्त्रिपरिषद्बाट निर्णय गराउन सफल हुँदा निकै खुसी लागेको उनले बताइन् । उनले भनिन्, ‘नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोर स्थानान्तरण गरेर विमानस्थलको धावनमार्ग विस्तार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । अब यो निर्णयलाई साकार पार्न यसअघि र अहिलेजस्तै चितवनका सबै नागरिकको साथ र सहयोग आवश्यक छ ।’ हालका पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहित ६ वर्षमा छजना मन्त्रीसँग विमानस्थल विस्तारका लागि छलफल गरेको महानगर प्रमुख दाहालले सुनाइन् । उनले आफ्नो मोबाइलमा तस्बिर देखाउँदै भनिन्, ‘जिल्लाका सरोकारवालालाई जम्मा गरेर धेरै पटक बैठक बसियो । कहिले निराशा त धेरै आशा नै पलाएको हो । मलाई लाग्छ त्यसैले आज यो निर्णय हुन सकेको छ ।’ विमानस्थल विस्तार भएपछि ठूला जहाज उडान भर्न सक्नेछन् । रात्रिकालीन उडानसमेत हुनेछन् । यससँगै सस्तो मूल्यमा यात्रुले टिकट पाउनेछन् । अहिले भरतपुर–काठमाडौँको हवाई टिकट रु चार हजार आठ सय हाराहारी पर्दछ । यकिन नभए पनि ठूला जहाज उड्दै गर्दा रु तीन हजार हाराहारीमा टिकटको मूल्य झर्ने अनुमान छ । प्रमुख दाहालले भनिन्, ‘बिहान काठमाडौँ गएर दिनभरि काम गरेर साँझ फर्किन सकिन्छ ।’ दुई साताअघि भरतपुरस्थित नेपाली सेनाको ब्यारेकमा आएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रमुख दाहाललाई बोलाएका थिए । संयोग त्यतिबेला दाहाल काठमाडौँ थिइन् । उनले विमानस्थल विस्तारका लागि सकारात्मक पहल गर्न प्रमुख दाहाललाई बोलाएका थिए । प्रमुख दाहालले निरन्तररुपमा विमानस्थल विस्तारका लागि पहल गरिरहँदा प्रधानमन्त्री प्रचण्ड यसलाई सार्थक बनाउन लागिपरेका थिए । रक्षा मन्त्रालय, नेपाली सेना, पर्यटन मन्त्रालय सबैलाई समेटेर यो काम गर्नुपर्ने अवस्था थियो । प्रमुख दाहालले भने, ‘धेरै पटक म महानगरपालिकाको निर्णय बोकेर मन्त्री र प्रधानमन्त्री कार्यालयमा पुगेकी छु’, उनले अगाडि थपिन्, ‘पर्यटन र रक्षा मन्त्रालयमा धेरै पटक छलफल गयौँ ।’ भरतपुर विमानस्थलमा टर्मिनल भवन बन्दै गरेकाले अबको केही समयमै नयाँ टर्मिनल र ठूला जहाज अवतरण हुने विमानस्थल बन्ने उनी बताउछिन् । यसैले पनि यथासक्य छिटो विमानस्थल विस्तार गर्नुपर्नेमा प्रमुख दाहालको जोड थियो । उनले भनिन्, ‘चितवनबासी मात्रै होइन, छिमेकी जिल्लाका बासिन्दालाई पनि विमानस्थल विस्तार हुँदै गर्दा प्रत्यक्ष फाइदा पुग्छ ।’ नवलपरासीको दाउन्ने पूर्वदेखि हेटौँडासम्मका बासिन्दाको पायक विमानस्थल यही नै हो । त्यसो त तनहुँ, गोरखा, लम्जुङ, धादिङबासीका लागि पनि यो विमानस्थल उपयोगी छ । देशकै तेस्रो पर्यटकीय गन्तव्य भएकाले चितवन आउने पर्यटकका लागि विमानस्थल महत्वपूर्ण हुने प्रमुख दाहाल बताउछिन् । उनले भनिन्, ‘हामीले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बनाउँदैछौँ, देश विदेशका खेलाडी र दर्शक यहाँ आउँछन् । त्यसका लागि पनि विमानस्थल विस्तार आवश्यक थियो ।’ भरतपुरको नेपाली सेनाको ब्यारेक विमानस्थलसँग जोडिएको छ । ब्यारेकमा ७० बिगाहा आठ कठ्ठा चार धुर जग्गामध्ये १९ बिगाहा चार कठ्ठा चार धुर विमानस्थल विस्तारका लागि आवश्यक पर्ने देखिएको छ । यससँगै यहाँको घोडा प्रजनन केन्द्रलाई जिल्लाकै कालिका नगरपालिकाको शक्तिखोरस्थित ब्यारेक हाताभित्र स्थानान्तरण गरिने उनले बताइन् । यो विमानस्थल २०१५ सालमा स्थापना भएर २०१८ सालदेखि सञ्चालन हुँदै आएको हो । विमानस्थलको हाल कूल क्षेत्रफल ६२ बिगाहा रहेको छ जसमा एक हजार दुई सय मिटरमात्र धावनमार्ग छ । यो विमानस्थलबाट अहिले काठमाडौँ र पोखरा उडान हुँदै आएको छ । छोटो धावन मार्गका कारण साना जहाज दिउँसोमा मात्रै उडान हुँदा महँगो भाडा तिर्नुपर्ने बाध्यता छ । रासस

आहा रारा गोल्डकपको सेमि फाइनल र फाइनल म्याच डिशहोम गोमा हेर्न पाइने

काठमाडौं । कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएकोमा अब डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ । सुरुदेखि एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण हुँदै आएकोमा अब टेलिभिजन र एपमा पनि हेर्न पाइने भएको हो । त्यसका लागि डिशहोमकै एप ‘डिशहोम गो’ मा विहीबारको सेमिफाइनल र शनिबारको फाइनल खेल प्रत्यक्ष प्रशारण हुने छ । सेमिफाइनलमा आज ए डिभिजन लिग विजेता चर्च ब्वाइज र विभागीय क्लब त्रिभुवन आर्मी भिड्दै छन् । आजको विजेताले शनिबार थ्रीस्टारसँग उपाधि भिडन्त गर्ने छ । थ्री स्टारले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

अत्यधिक दोहनले सङ्कटमा सिमसार

काठमाडौं । हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसारः मानव हितको आधार’ नाराका साथ मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको दिवसको नाराले सिमसार क्षेत्र र मानव जीवनबीचको अन्तरसम्बन्धलाई पहिचान गरेको छ । यस नाराले कसरी मानव हितका सबै पक्ष संसारको सिमसारको स्वास्थ्यसँग जोडिएका छन् भन्ने विषय उजागर गरेको छ । सिमसार क्षेत्रहरूको द्रुत क्षतिलाई रोक्दै सिमसार संरक्षणका कार्यलाई प्रोत्साहत गर्न जनचेतना जगाउनु दिवसको मुख्य उद्देश्य हो । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसको मूल नाराका साथ जनचेतना फैलाउँदै बबरमहलस्थित वन परिसर प्रवेशद्वारमा रहेको होर्डिङ बोर्डमा नारा अङ्कित ब्यानर अनावरण गरिने जनाएको छ । यसैगरी निकुञ्ज विभाग र वन तथा भू–संरक्षण विभागको सहकार्यमा राष्ट्रियस्तरको गोष्ठी कार्यक्रम गरी दिवस मनाउन लागेको विभागका उपमहानिर्देशक वेदकुमार ढकालले जानकारी दिए। त्यसैगरी, प्रदेशका वन मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयले आ–आफ्नो स्तरमा दिवसका विभिन्न कार्यक्रम गरिरहेका छन् । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नाका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ । विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि) सन् १९७१ मा इरानको रामसार सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फेब्रुअरी २ तारिखलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो । सम्मेलनको खास उद्देश्य सिमसार क्षेत्रका जलपक्षीको संरक्षण गर्नु थियो । रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या एक सय ७२ पुगेको छ । साथै दुई हजार चार सय २२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन्  १९८७  डिसेम्बर १७ मा कोसीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो । सन्धिको पक्षधर भएकाले नेपाल सिमसार संरक्षणका लागि कानुनी रूपमा प्रतिबद्ध छ । रामसार सूचीमा हाल नेपालका कोसीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बिसहजारी तथा आसपासका ताल, रारा ताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड तथा आसपासका ताल, गोक्यो तथा आसपासका ताल, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत रहेको उपमहानिर्देशक ढकालले बताए । यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार पाँच सय ६१ हेक्टर छ । सिमसार संसारको सबैभन्दा जैवविविध बासस्थानमध्ये एक हो, र धेरै लोपोन्मुख प्रजातिको बासस्थान पनि हो । संसारको ४० प्रतिशत वनस्पति र वन्यजन्तु प्रजाति सिमसारमा बस्छन् वा प्रजनन गर्छन् । साथै सिमसारको समृद्ध जैविक विविधताले संसारभरका मानिसको जीवनको गुणस्तर, खाद्य सुरक्षा र पोषणमा समेत टेवा पुग्छ । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो । त्यस्तै नेपालमा पाइने एक सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने आठ सय ७८ प्रजातिका चरामध्ये सिमसारमा एक सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै दुई सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् । जलवायु परिवर्तन र अत्यधिक दोहनको असर सिमसारमा विगत केही समय यतादेखि जलवायु परिवर्तनसँगै नेपालमा सिमसार क्षेत्रका रुपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यान क्षेत्रमा व्यापक परिवर्तन आएको छ । निकुञ्ज विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले प्राकृतिक स्रोतको अधिकतम दोहनले गर्दा सिमसार क्षेत्रमा पानीको अभाव भएर सुक्खाक्षेत्रको वृद्धि भएसँगै सिमसार संरक्षणमा चुनौती थपिएको बताए । सिमसारको अत्यधिक दोहन, भूमि अतिक्रमण, प्रदूषण, जथाभावी पूर्वाधार निर्माण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहँुदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उनले जानकारी दिए । सिमसार क्षेत्रका चुनौतीलाई मध्यनजर गरी मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम तथा नीति अघि बढाएको महानिर्देशक ढुङ्गानाले बताए । विश्वको करिब नौ प्रतिशत र नेपालको करिब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा एक सय ६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् । सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्दछ । पछिल्लो समय पर्यापर्यटनको गन्तव्य बन्दै गएको सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायत प्राकृतिक सौन्दर्यको अनुभव पनि यसले उपलब्ध गराएको छ । रासस

सगरमाथा जलविद्युतको नाफा २२ प्रतिशत बढ्यो

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा २२ प्रतिशत बढाएर ६ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्म कम्पनीको विद्युत बिक्री आम्दानी २.२६ प्रतिशत बढेर १६ करोड ३३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो । ६ महिनामा कम्पनीको वित्तीय खर्च ८.६८ प्रतिशत बढेर ५ करोड ७६ लाख रुपैयाँ गरेको छ । गत वर्ष कम्पनीले ५ करोड ३० लाख रुपैयाँ वित्तीय खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ९६ प्रतिशत बढेर १ अर्ब १२ करोड रुपैयाँ, रिटेन अर्निङ १०८.९० प्रतिशत बढेर १२ करोड ३५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११.७७ रुपैयाँ छ भने नेटवर्थ प्रतिसेयर १११.०३ रुपैयाँ रहेको छ ।

नारायणगढ-मुग्लिन सडक ३ साता बन्द हुने

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो । बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरेको नागढु्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनले अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको बताए । सो सडकमा बनाइनुपर्ने १९ पुलमध्ये चारवटा चार वर्षअघि निर्माण गरिएका थिएभने बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुल निर्माण थालिएको हो ।