विकासन्युज

सूर्यज्योति लाइफको नाफामा ६३ प्रतिशत छलाङ, जीवन बीमा कोष साढे ३० अर्ब पुग्यो

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ६३ प्रतिशत बढेर २३ करोड ६६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ नाफा गरेको थियो । पुस मसान्तसम्म कम्पनीको कुल बीमा शुल्क आर्जन ५९.७३ प्रतिशत बढेर ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ६८ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । ६ महिनाको अवधिमा कम्पनीले १ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ६२ करोड २६ लाख रुपैषँ दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ, रिटेन्ड अर्निङ १ अर्ब १८ करोड रुपैयाँ, महाविपत्ति कोष ३३ करोड १३ लाख रुपैयाँ र जीवन बीमा कोष ३० अर्ब ५१ करोड रुपैयाँ रहेको छ । कम्पनीको नाफा नाफा बढेसँगै प्रतिसेयर आम्दानी ४.०२ रुपैयाँ बढेर १०.४१ रुपैयाँ पुगेको छ । कम्पनीको नेटवर्थ प्रतिसेयर १६५.१५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५१.८७ गुणा छ । यस अवधिमा कम्पनीको कुल लगानी २९.२४ प्रतिशत बढेर ३३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

चिलिमे हाइड्रोको विद्युत बिक्री आम्दानी र नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा चिलिमे हाइड्रोपावर कम्पनीको खुद नाफा ५.५१ प्रतिशत घटेर ३७ करोड ८१ लख रुपैयाँ गरेको छ । गत वर्षके सोही अवधिमा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा गरेको थियो । ६ महिनामा कम्पनीको विद्युत बिक्री आम्दानी २ प्रतिशत घटेर ६१ करोड २० लाख रुपैयाँ गरेको छ । गत वर्याको सोही अवधिमा कम्पनीले ६२ करोड ४८ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो । पुस मसान्तसम्म कम्पनीको वित्तीय आम्दानी १०.१५ प्रतिशत ८ करोड २० लाख रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ९ करोड १२ लाख रुपैयाँ थियो । यस्तै, कम्पनीको सञ्चालन नाफा ४ प्रतिशत घटेर ४० करोड ६४ लाख रुपैयाँ छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १० प्रतिशत बढेर ७ अर्ब ९८ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्ग २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । नफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १.५६ रुपैयाँ घटेर ९.५० रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.८० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५५.२० गुणा रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगाले फागुन १ गतेदेखि ४.४० अर्बको ऋणपत्र बिक्री गर्ने, १० % ब्याज दिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकले फागुन १ गतेखेदि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९०’ ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये ४० प्रतिशत अर्थात् १६ लाख १६ हजार कित्ता सर्वसाधारणलाई र ६० प्रतिशत अर्थात् २४ लाख २४ हजार कित्ता विभिन्न व्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार ८ सय कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । बैंकको ऋणपत्रमा छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।

लाखौं लगानीको वडा कार्यालय भत्काएर आफ्नै घर नजिक सार्दै वडाध्यक्ष विष्ट

काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शेर बहादुर विष्टले वडा कार्यालय सार्ने निर्णय गरेका छन् । हाल काँकरतोला (जुणेढुङ्गा)मा रहेको वडा नम्बर २ को कार्यालय सारेर विष्टले आफ्नै घर नजिक पर्ने सुङ्ग्रेखाली (कोटीगाउँ)मा सार्ने निर्णय गरेका हुन् । स्थानीयका अनुसार उनले हालको वडा कार्यालय आफ्नो घरभन्दा टाढा रहेको भन्दै एकलौटीरूपमा निर्णय गरेर कार्यालय सार्ने योजना बनाएका हुन् । हालको वडा भवन तीन वर्षअघि मात्रै निर्माण भएको हो । स्थानीय रमेश रावलले तीन वर्षअघि मात्रै ३५/४० लाख रुपैयाँको लगानीमा निर्माण भएको भवन अहिले एक्कासी भत्काउन खोज्दा स्थानीयले विरोध गरिरहेको बताए । उनका अनुसार अहिले स्थानीयहरू वडाअध्यक्ष विष्टविरुद्द नारावाजीमा पनि उत्रिएका छन् । वडाध्यक्ष विष्टले वडा सदस्यहरूसँग हाल रहेको कार्यालयमा खेल मैदान निर्माण गर्ने भनेर झुक्याएर माइन्युटमा हस्ताक्षर गर्न लगाएको एक सदस्यले बताए । ‘हामीले यही भवन नजिक खेल मैदान निर्माण गर्ने भनेर माइन्युटमा हस्ताक्षर गरेका थियौं । तर, उहाँले कार्यालय नै अन्तै सारेर यहाँ खेल मैदान निर्माण गर्ने योजना बनाउनु भएको रहेछ, हामी पनि अहिले यसको विरोधमा छौं,’ ती सदस्यले नाम नराख्ने सर्तमा भने । अहिले स्थानीयले वडा कार्यालयमा ताला समेत लगाएका छन् । उनीहरूले वडाध्यक्ष यो निर्णयबाट पछि नहटे थप कदम चाल्ने पनि बताएका छन् । स्थानीय भानुभक्त रावलले आफूहरू वडा कार्यालय सार्ने निर्णयविरुद्द रहेको बताएका छन् । ‘अहिले सञ्चालन भइरहेको वडा भवन बनेको तीन वर्ष मात्रै भयो, अध्यक्षले वडा सदस्यहरूलाई नै झुटो निर्णयमा हस्ताक्षर गर्न लगाएर अहिलेको भन्दा तीन किलोमिटर पर सार्ने योजना बनाउनु भएको छ,’ उनले भने । वडाध्यक्ष विष्टले वडाभित्रको खानेपानी, बिजुली, सिचाइँ तथा अन्य भौतिक पूर्वाधार निर्माणमा जोड नदिएर आफ्नो गाउँ नजिक पर्ने ठाउँमा वडा भवन सार्नका लागि जोड गरिरहेको गुनासाे उनकाे छ । वडा अध्यक्ष विष्ट भने हालको वडा कार्यालयको भवन मापदण्ड विपरित रहेकोले सार्नु परेको धारणा राख्छन् । उनले आफ्नो घर नजिक सार्न लागेको विषय पनि अस्वीकार गरे । वडा कार्यालयका लागि चार रोपनी जग्गा आवश्यक भएको र अहिलेको ठाउँमा जग्गा अपुग भएपछि आफूले सार्न खोजेको उनको भनाइ छ । ‘हामीले यसअघि जग्गा प्राप्तिको लागि पटक-पटक सूचना निकाल्यौं । तर, जग्गा उपलब्ध भएन, वडा भवन बनाउनको लागि ठूलो बजेट पर्याे भने भवन निर्माणमा बजेट अभाव हुन्छ, अहिलेको ठाउँमा थप जग्गा उपलब्ध नभएकै कारण सार्न लागेका हौं, यसलाई अन्यथा लिनु हुँदैन,’ उनले भने । उनका अनुसार हाल वडा कार्यालय भएको ठाउँमा पनि कुनै व्यक्तिले जग्गा दान दिन चाहेमा त्यहीँ बन्छ । तर, त्यसका लागि कोही तयार नभएको उनको भनाइ छ । तर, स्थानीयहरूले भने हाल कार्यालय भएकै ठाउँमा पनि थप जग्गा दान गर्न तयार भएको बताएका छन् । उनीहरूले संयुक्तरूपमा पत्र बुझाउँदै आफूहरू थप जग्गा दिन तयार भएको तर वडा कार्यालय नसार्न वडाध्यक्ष विष्टलाई आग्रह गरेका छन् । सो वडाका पूर्व अध्यक्ष चक्रबहादुर बिकले अहिलेको वडा कार्यालय रहेको ठाउँमा स्थानीयले जग्गा दिन तयार रहेकाे भएपनि बिष्टको एकलौटी निर्णयले सार्न खोजिएको धारणा राखे । भवन सार्नका लागि नयाँ जग्गा पनि खोजिसकेको उनको भनाइ छ ।

प्रभु महालक्ष्मी लाइफको मिड टर्म बिजनेस समिट सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको नारायणगढमा ‘मिड टर्म बिजनेस समिट २०८०’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गते देखि २१ गतेसम्म ३ दिने बिजनेस समिट कार्यक्रम सम्पन्न गरेको हो । ‘मिड टर्म विजनेस समिट २०८०’को उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यस किसिमका विजनेस समिट कार्यक्रमले कम्पनीमा रहेका कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि, व्यक्तित्व एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले दुईवटा कम्पनीको मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी दिनमा कर्मचारी, बीमित, तथा सरोकारवालाहरुमा थप उर्जा, जोस, उत्साह प्रदान गर्ने बताए । उनले थपे, ‘एकताले नै समृद्धि हासिल हुन्छ । हाम्रो एकताले समृद्धिको सन्देश दिने छ । हाम्रो लक्ष्य प्राप्ती एवं सफलता हासिल टिम वर्कले नै सम्भव छ, त्यसैले हामी टिम वर्कमा काम गरौं ।’ कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले अन्डरराइटिङ्गका बारेमा तालिम दिँदै सो सम्बन्धमा आएका जिज्ञासा माथि समेत प्रष्ट पारे । प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरले सम्बोधन गर्दै जीवन बीमा व्यवसाय र व्यवसाय बृद्धिका सुत्रहरुका बारेमा प्रष्ट पारे । नेपाल बीमा प्राधिकरणबाट प्राप्त निर्देशिका अनुसार कम्पनीले भर्खरै ल्याएको जीवन किरण सावधिक बीमा योजना (बालबालिका) बारेमा कम्पनीका प्रोडक्ट एण्ड रिसर्च डेभलपमेन्ट विभाग प्रमुख प्रयास श्रेष्ठको विस्तृत प्रस्तुति रहेको थियो ।

इच्छाराजलाई तीन वर्ष जेल र पौने २ अर्ब जरिवाना, श्रीमती सिर्जनालाई डेढ वर्ष जेल

काठमाडौं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ । विशेष अदालतले उनलाई आइतबार सो सजाय सुनाएको हो । अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका तामाङ, उनकी पत्नी सिर्जना र मामा ससुरा केशवराज श्रेष्ठलाई पनि आइतबार सजाय तोकिएको छ । विशेष अदालतले इच्छाराजकी पत्नी सिर्जना शाक्य तामाङलाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकेको छ । इच्छाराजका मामाससुरा केशवराज श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख रुपैयाँ बिगो र त्यति नै बराबरको जरिवाना तोकेको छ ।

‘लिसा’मा ८३ स्थानीय तहले गरेनन् तथ्यांक अद्यावधिक

काठमाडौं । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा ८३ वटा स्थानीय तहले नतिजा अद्यावधिक गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ २१ गतेसम्म ८३ वटा स्थानीय तहले तथ्यांक अद्यावधिक नगरेको जनाएको छ । अहिलेसम्म ६७० वटा स्थानीय तहले संस्थागत क्षमता स्वमूल्यांकन लिसाको प्रणालीमा अद्यावधिक गरेका र बाँकीले नगरेका हुन् । लिसाको नतिजा सार्वजनिक गर्ने प्रणाली माघको २९ गते बन्द हुने भन्दै मन्त्रालयले आफ्नो तथ्यांक सार्वजनिक गर्न स्थानीय तहहरुलाई अनुरोध गरेको छ ।

दोलखाको सहकारीबाट ३२ लाख चोरी, स्थानीय बासिन्दाले गरे उजुरी

दोलखा । दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ । केही दिनअघि दोलखाको मेलुङ गाउँपालिका-१ पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले स्थानीय प्रशासनसमक्ष उजुरी गरेका छन् । चोरी भएको भनिएको हाम्रो सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ३२ लाख ८७ हजार दुई सय ७६ रुपैयाँ हराएको सहकारी सञ्चालकले प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीले सोही सहकारीको बचत सहायक पदमा कार्यरत अहेन्द्र भुजेललाई र घरबेटीलाई पक्राउ गरी सोधपुछपछि छाडेको छ । दोलखाकै मेलुुङ गाउँपालिका-६ मा रहेको ‘गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेड’मा पनि व्यवस्थापकले एक करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै बचतकर्ता आक्रोशित छन् । उक्त सहकारीले त्यसको छानबिन गरिरहेको बताएको छ । हाल गाउँघर साना किसान कृषि सहकारी संस्था लिमिटेडमा रकम हिनामिना गर्ने व्यवस्थापक भूप चापागाईंलाई सञ्चालक समितिले निलम्बन गरी छानबिन गरिरहेको बताएको छ । सहकारीका अध्यक्ष श्रीराज पोखरेलले उनले हिनामिना गरेको रकम असुलउपरका लागि प्रक्रिया प्रारम्भ गरिएको बताए । दोलखाकै कालिञ्चोक गाउँपालिका-६ मा रहेको जनचाहना बचत तथा ऋण सहकारी संस्थामा पनि  रकम हिनामिना भएको बताउँदै स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर गरेपछि आयोगले पालिकालाई छानबिन गर्न पत्र लेखेको छ । स्थानीय बचतकर्ताका अनुसार त्यहाँ पनि २० लाख रुपैयाँभन्दा बढी रकम सञ्चालकले हिनामिना गरेको आरोप छ । सहकारीमा भएको चोरी र रकम हिनामिनाबारे जिल्ला प्रहरी कार्यालयले सूक्ष्म ढङ्गले अध्ययन थालेको दोलखाका प्रहरी प्रमुख दीपक खड्काले बताए । रासस