श्री एयरलाइन्सले थप्यो दुई जहाज, १० जहाजसहित सेवा विस्तारमा आक्रामक
काठमाडौं। श्री एयरलाइन्सले थप २ वटा नयाँ जहाज खरिद गरेको छ । यससँगै श्री एयरलाइन्सका जहाज १० वटा पुगेका छन् । कम्पनीले क्यानडाको तत्कालीन बम्बार्डियन अर्थात् हालको डी हाभिल्यान्ड अफ क्यानडामा निर्मित ८० सिटका २ जहाज खरिद गरेको हो । यससँगै कम्पनीसँग ८० सीट क्षमताकाे ६ वटा जहाज सञ्चालनमा रहेका छन् । यसअघि संयुक्त राज्य अमेरिकाको होराजन एयर तथा अलास्का एयरले सञ्चालन गरेको थियो । कल साइन नाइन एन–एओके र नाइन एन–एओएल रहेका उक्त जहाज मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार पाइलटले अमेरिकाको पोर्टल्याण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसल्याण्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुँदै जहाजहरू काठमाडौं ल्याएका हुन् ।अमेरिकाबाट २५ घण्टाको उडानपछि यी जहाज काठमाडौं ल्याइएको कम्पनीले जनाएको छ । श्रीले सन् २०१७ देखि ५० सिट क्षमताको २ वटा सीआरजे २०० तथा ७० सिट क्षमताको २ वटा आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको हो । सुरुमा काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढीसहितका विमानस्थलमा उडान थालेको कम्पनीले त्यसयता जहाज थप्दै गन्तव्य विस्तार गरिरहेको छ । सन् २०१९ देखि २ वटा र सन् २०२२ मा थप २ गरी ४ वटा ८० सिट क्षमताका जहाज ल्याएको कम्पनीले अहिले पोखरा, सुर्खेत, जनकपुर तथा सिमरामा समेत सेवा विस्तार गरिसकेको छ ।
श्रीलंकाको केन्द्रीय बैंकद्वारा ब्याजदर नियन्त्रण
कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर) ५० आधार अङ्कले घटाएर क्रमश : ८.५० प्रतिशत र ९.५० प्रतिशतमा झार्ने निर्णय गरेको छ । केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति भने मध्यम अवधिमा पाँच प्रतिशतको वाञ्छित सिमामा कायम राख्ने प्रयास गरिएको छ । अर्थतन्त्रलाई निर्धारित लक्ष्यमा पुर्याउन आन्तरिक तथा वाह्य आर्थिक घटनाक्रमको विस्तृत मूल्याङ्कन पछि केन्द्रिय बैङ्कले सोमबार यस्तो निर्णय गरेको हो । यस्तो निर्णय गर्नुका पछाडि कमजोर माग, मुद्रास्फीतिको अवस्था, बाह्य क्षेत्रको दबाब, र ब्याज दरलाई हेरिएको बैंकले जनाएको छ । आर्थिक गतिविधि निर्धारित लक्ष्यभन्दा तल रहने अनुमान गरिएकाले केन्द्रिय बैंकले अगामी दिनमा मुद्रास्फीतिबाट आउने सम्भावित जोखिमलाई हेरेर विश्लेषण गरिएको जनाइएको छ । केन्द्रिय बैंकको बोर्डले न्युन ब्याज दर, कर्जा विस्तारमा सहजिकरण,वाञ्छित सीमा भित्रको मुद्रास्फीतिलगायत मौद्रिक उपकरणहरूको प्रयोगबाट अर्थतन्त्रलाई सहज बनाउने नीति लिएको छ । बढ्दो मुद्रास्फीतिको सामना गर्न श्रीलंकाले सन् २०२२ मा ब्याज दरमा उल्लेखनीय वृद्धि गरेको थियो भने सन् २०२३ मा पटक पटक दरहरू घटाएको थियो । रासस
कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओइसीडिको संयोजनमा हरेक वर्ष मार्च महिनामा सप्ताह मनाउने गरिन्छ । उक्त सप्ताह यो वर्ष मार्च १८ मा सुरुवात भई मार्च २४ मा सम्पन्न भएको छ । बैंकले यस अवसरमा विद्यार्थी, युवाहरु, तथा विभिन्न संघ/संस्थामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान तथा सीप विकास गराउने उद्धेश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जाल मार्फत विभिन्न सचेतनामूलक सामाग्रीहरु प्रसारण गरेको छ । बैंकको सातै प्रदेशद्धारा देशका विभिन्न जिल्लाका स्थानिय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमहरुमा स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरि पुँजी निर्माण गर्न सकिने, वचतको विकासले गर्दा दैनिक जिवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल कारोवारहरु तथा यसका अवसर र चुनौतीका विषयमा छलफल भएको थियो । उक्त कार्यक्रमहरुमा बैंकिङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवार, यसका अवसर तथा चुनौतीहरुको बारेमा जानकारी प्रदान गरिएको थियो । आजको युग डिजिटल युग भएको र यस डिजिटल युगमा अनेक अवसर भएता पनि डिजिटल माध्यमबाट नै धेरै ठगी हुने भएको भन्दै बुटवल क्षेत्रमा आयोजना गरिएको डिजिटल वित्तीय साक्षरता कार्यक्रममा अनलाईन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा प्रस्तुतीकरण गरिएको थियो । र्बैकको कुन विभागमा के–कस्तो कार्यहरु हुन्छ भन्ने जिज्ञासाका लागि बैंकको केन्द्रीय कार्यालय तथा सातवटै प्रदेशमा विभिन्न शाखाले विद्यार्थीहरुलाई बैंकको भ्रमण गराइएको थियो । त्यस्तै, बैंकले उक्त सप्ताहको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारी सहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले आफ्नो सामाजिक संजाल मार्फत सुरक्षित भविष्यको लागि बजेट, बचतको महत्व, कर्जाको सदुपयोग र समयमा भुक्तानी, अज्ञात लिङ्कमा क्लिक नगरी सचेत रहन तथा ओटिपी/पिन गोप्य राख्ने गरी ग्लोबल मनी विक सफलतापूर्वक सम्पन्न गरेको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।
माथिल्लो इङवा जलविद्युत आयोजन सम्पन्न, राष्ट्रिय प्रसारण लाईनमा जोड्न सफल
काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी शनिबार राष्ट्रिय प्रसारण लाईनमा जोड्न सफल भएको छ । यस आयोजनाले आफ्नो विद्युत गृहको प्राडगणमा समुदघाटन समारोह आयोजना गरि स्थानियहरुको वाक्लो उपस्थितिमा सम्पन्न गरेको यस कार्यक्रममा कम्पनीका सम्पुर्ण संचालकहरुको उपस्थिमा भएको छ । पाचँथर तथा ताप्लेजुङ् जिल्लाको सिमाना भई बहने इङवा खोलामा ९.७ मेगावाटको विद्युत शक्ति उत्पादन गरेर १६ किलोमिटर लामो ३३ केभि ट्रान्समिसनलाईनको माध्यमबाट कम्पनीको पावरहाउस आँपडाडावाट हिलिहाङ गाँउपालिका वडा नं १ मा रहेको नेपाल विद्युत प्राधिकरण को अमरपुर सवस्टेशनमा जडान गरिएको छ । २०७८ साल श्रावण २३ गतेवाट कम्पनीले यो आयोजना निमार्ण कार्य थालनि गरी मिति २०८० साल चैत्रमा निमार्ण कार्य पुुरा गरेको छ । यो आयोजना निर्माण सम्पन्न गर्नका लागि जम्मा १९४ करोड लागत लागेको छ जसमध्ये संथापक तथा सर्वसाधारणको सेयर लगानी वाट ३० प्रतिशत लगानी र वाँकी ७० प्रतिशत नविल वैक लिमिटेडको एकल लगानी बाट सम्पन्न गरिएको छ । यो आयोजना याँङवारक गाँउपालिका वडा नं २ मा वाँधस्थल र वडा नं ३ मा पावरहाउस रहेको छ । यस आयोजनाको नेट हेड १८९ मिटर रहेको छ र यसमा ४.५ किलोमिटर लामो फलामको पेनस्टक पाइपको माध्यमबाट पावरहाउसमा पानि खसालि विद्युत उत्पादन गरिएको छ । आयोजनाको सिभिल निर्माणको कार्य मध्ये पावरहाउसको काम लटिनाथ कन्सट्रसन कम्पनी (प्रा) लिमिटेड र इन्टेक तथा पाईप एलाईनमेण्ट मकालु डेभलपर्स लिमिटेडले गरेको हो भने आयोजनाको हाइड्रोमेकानिकलको काम अपि हाईड्रोमेकानिकल लिमिटेडले सम्पन्न गिरेको हो । यस आयोजनामा जडित इलेक्ट्रोमेकानिकल तर्फका मेसिन तथा उपकरणहरु यूरोपियन प्रविधिको छनौट गरी जेपट हाईड्रो अस्ट्रियाबाट खरिद गरिएको कुरा कम्पनीका कार्यकारी संचालकसतिस न्यौपानेले जानकनरी दिए । जेपट हाईड्रो अस्ट्रियावाट आयात गरिएको टर्वाइन र गामेशा स्पेनवाट आयात गरिएको जेनेरेटर राखिएको छ भने कन्ट्रोल रुममा राखिएका प्यानलवोर्डहरु क्रोएसीयाको प्रो–इन्ट्रीगिस कम्पनीवाट आयात गरिएको समेत न्यौपानेले जानकारी गराए । यो कम्पनीमा अपी पावर कम्पनी लिमिटेडको वहुमत शेयर लगानी रहेको छ भने गुरु प्रसाद न्यौपानेको अगुवाईमा प्रवद्र्धन गरिएका न्यौपाने समूहको अगुवाईमा रहेका आयोजनाहरुको संख्या आ १६ पुगेका छन् । यो उत्पादित विद्युत अमरपुर सवस्टेशनमा जडान गरी आरपुर–दमक १३२ के.भि.ट्रान्समिसनलाईन मार्फत नेपाल अधिराज्यभर आपूर्ति भएको छ ।
गाउँबाट दुई सय रुपैयाँ लिएर चितवन झरेका गजुरेल करोडौंका मालिक
चितवन । पहाडबाट दुई सय रुपैयाँ लिएर चितवन झरेकाका रामप्रसाद गजुरेल तीन दशकको सङ्घर्षले करोडौँका मालिक भएका छन् । चितवन झरेर साइकलमा प्लास्टिक बेचेर सुरु भएको उनको सङ्घर्षले आज सफलताको शिखर चुमेको छ । अहिले गजुरेलको पाइप उद्योग, पानी ट्याङ्की उद्योग, सौराहामा होटल, नारायणगढको क्षेत्रपुरमा फिटनेस सेन्टर (जिम हाउस) लगायत थुप्रै ठाउँमा लगानी छ । यो सफलता त्यसै हात लागेको भने होइन । विसं २०२९ मा नुवाकोटको पीपलटारमा जन्मिएका गजुरेल बुबा गोपीचन्द्र र आमा पुतलीका जेठा छोरा हुन् । एक भाइ र तीन बहिनीसँगै परिवारको जिम्मेवारी उनको काँधमा थियो । निम्नवर्गीय किसान परिवारमा हुर्किएका गजुरेलको विद्यालयको पढाइ खर्च आफैँले तरकारी लगाएर नजिकैको सेनाको ब्यारेकका ठेकेदारलाई बेचेर चलाए । विसं २०४७ मा प्रवेशिका उत्तीर्णसँगै अध्ययन र उपार्जनका लागि उनी चितवन झरे । उनका साथी यहाँको नीलकमल प्लास्टिक उद्योगमा काम गर्थे । त्यही उद्योगमा उनले मासिक नौ सय रुपैयाँ पाउने गरी सहयोगीको जागिर पाए । चार महिना काम गर्दै गर्दा एक साँझ आफ्नो कामको पालो नपरेको बेला साथीले काम गरिरहेको हेर्ने क्रममा उनको हात मेसिनमा पुग्यो । दुईवटा औँला मेसिनले काट्यो । यो उनको जीवनको निकै सङ्घर्षको समय रह्यो । त्यसपछि उनी गाउँ फर्किए । केही महिनापछि फेरि चितवन झरे । साइकलमा प्लास्टिक बेचेको उनले देखे । त्यही उद्योगका सञ्चालकको प्लास्टिक पसल थियो । बिहान नारायणगढस्थित बालकुमारी क्याम्पस पढ्ने र दिउँसोमा साइकलमा पसल–पसलमा प्लास्टिक पुर्याएर बिक्री गर्ने काम उनले थाले । नवलपरासी र चितवनका सबै सहरी क्षेत्रमा उनी साइकलमै पुग्थे । बिदाको अघिल्लो दिन टाढाटाढा पुगेर त्यही रात बिताएर भोलिपल्ट फर्किन्थे । अठार वर्षको त्यो उमेरमा बिहानदेखि साँझ अबेरसम्म उनी साइकलमै खटिन्थे । विसं २०४८ माघदेखि आफैँले काठमाडौंबाट प्लास्टिक ल्याएर यहाँ बिक्री गर्न थाले । यतिबेला उनले दैनिक १२ हजार रुपैयाँसम्मको प्लास्टिक बिक्री गरे । यससँगै उहाँको जीवनयापन केही सहज बन्दै गयो । विसं २०४९ मा एक साथीसँग मिलेर नारायणगढको मेनरोडमा ३५ हजार रुपैयाँमा चितवन प्लास्टिक ट्रेडर्स पसल किने । पसल किन्न मामाघरको हजुरबुबाले १० हजार रुपैयाँ दिए । यो रकम उनको जीवनको व्यावसायिक यात्राका लागि महत्वपूर्ण बन्यो । इमान्दार भएकै कारण साहुहरुले उधारो पनि पत्याउन थाले । यतिबेला पनि उनी साइकलमा प्लास्टिक बिक्री गर्न छाडेका थिएनन् । विसं २०५३ मा उनले पसललाई बढाउँदै थोक बनाए । त्यहीँबाट गोरखा, धादिङ, तनहुँ प्लास्टिकजन्य सामग्री जान थाल्यो । उनले भने, ‘मैले निरन्तर १५ वर्ष बिहान ६ देखि राति १० बजेसम्म साइकलमा प्लास्टिक बेचेको छु ।’ थोक पसलमा कतिपटक त रातको समयमा समेत सुत्न नपाएको उनको स्मरण छ । राति अबेरसम्म सामान लोड गर्दै जाँदा बिहान ५ बजेको र त्यसपछि मुख धोएर निरन्तर काम गरेको उनी अनुभव सुनाउँछन् । विसं २०५४ मा विवाह गरेपछि उनलाई काममा साथ मिल्यो । विसं २०५८ सालमा उनले १८ लाख रुपैयाँमा लिलाचोकमा पुरानो घर किने । त्यही घरमा उनको पसल सुरु भयो । सुरुमा सँगै रहेका साझेदारलाई अर्को पसल खोलेर आफूले एक्लै व्यापार थाले । विसं २०६५ सालमा भारतको दिल्लीमा प्लास्टिक एक्स्पोमा उनी पुगे । त्यहाँ देखेपछि उनी नेपाल फर्किएर प्लास्टिकको पाइप उद्योग सुरु गरे । अर्को वर्षदेखि उनले चितवन पोलीपाइप उद्योग सुरु गरे । सो उद्योगमा पाइपसँगै प्लास्टिकका झोलालगायत सामग्री पनि उत्पादन हुने गर्दछ । भरतपुर महानगरपालिका–४ मा दुई वर्षअघि नै नौ कट्ठा जग्गा उनले किनेका थिए । त्यही जग्गामा उद्योग सुरु भयो । त्यसपछि २०७० सालमा आकाश प्लास्टिक उद्योग खोले भने २०७४ सालमा प्लास्टिकका ट्याङ्क उत्पादन गर्ने उद्योग सुरु भयो । पुरानो उद्योग नजिकै १५ कट्ठा जमिन लिएर उनले यो उद्योग सुरु गरेका हुन् । चितवन राइनो ट्याङ्कीका रुपमा उनको उत्पादन बजारमा छ । दुई वर्षपछि २०७६ भदौमा सौराहामा रोयल टाइगर लग्जरी रिसोर्ट उनले सुरु गरे । यसैगरी, भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा राइनो फिटनेस हव यही वर्षको मङ्सिरबाट सञ्चालनमा छ । यसबीचमै उनले जिल्लामा चलेको सञ्जु इलेक्ट्रोनिक पसल खरिद गरे । इलेक्ट्रोनिक्स, होटल र फिटनेस सेन्टर उहाँका २५ वर्षे छोरा आकाशले हेर्दै आएका छन् । उनीसँगै भाइ सुन्दर व्यावसायिक क्षेत्रमा सँगसँगै छन् । परिवारले दिएको साथ उनको सफलताको अर्को पक्ष हो । उनले गरेको आम्दानी र बैङ्कको साझेदारीमा उद्योग र व्यवसाय फस्टाएको उनी बताउँछन् । व्यावसायिक सफलतासँगै उनी सामाजिक क्षेत्रमा क्रियाशील हुन थालेका छन् । विसं २०७५ देखि २०७९ सम्म उनी प्लास्टिक व्यवसायी सङ्घ चितवनको अध्यक्ष हुन् भने उद्योग वाणिज्य सङ्घ चितवनको कार्यसमिति सदस्य समेत भएर काम गरे । इमान्दारीपूर्वक निरन्तरको सङ्घर्षले नै आफूलाई सफलता मिलेको उनको भनाइ छ । कामलाई सानोठूलो नभनी निरन्तर त्यसैमा लाग्यो भने एक दिन सफलता मिल्ने बताउँदै उनी भन्छन्, “मेरैजस्तै सङ्घर्ष र मिहेनत गर्न सके युवा विदेश पलायन हुनु पर्दैन । रासस
राजनीतिको अखडा बनेको बोर्ड नीति र नेतृत्वविहीन
काठमाडौं । नेपाल पर्यटन बोर्ड दुई महिनादेखि नेतृत्वविहीन छ । माघ तेस्रो साता पदावधि सकिएर बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट डा. धनञ्जय रेग्मी बाहिरिएसँगै बोर्ड नेतृत्वविहीन भएको हो । सरकारले पर्यटन बोर्ड सञ्चालक समितिमा रिक्त तीन सदस्य नियुक्त गर्न पनि सकेको छैन । यसरी सीईओ र सञ्चालक समिति सदस्यहरू नियुक्त गर्न नसक्दा पर्यटन बोर्डले दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनका कुनै पनि गतिविधि तथा कार्यक्रम गर्न सकेको छैन । यसअघिका सीईओ रेग्मीले विभिन्न स्वार्थका कारण कार्यकाल एक वर्ष बाँकी हुँदादेखि नै अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका कुनै पनि गतिविधि गरेका थिएनन् । जसको कारण अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन छवि धुमिल हुनुका साथै नकारात्मक सन्देश प्रवाह भएको थियो । निर्वतमान सीईओ रेग्मीले बेलायतको लन्डनमा आयोजित वर्ल्ड ट्राभल मार्टमा नेपालको सहभागिता नगराएपछि उनी थप विवादित भएका थिए । रेग्मीको उक्त कदमको विरोध गर्दै पर्यटन व्यवसायीहरूले पर्यटन बोर्ड छाडेर आफैं उक्त मार्टमा सहभागी भएका थिए । बोर्ड नेतृत्वविहीन भएपछि तत्कालीन पर्यटनमन्त्री सुदन किराँतीले नयाँ सीईओ नियुक्तिका लागि तयारी थालेका थिए । तर, त्यसको केही समयपछि नै सत्ता गठबन्धन परिवर्तन भयो । सरकार परिवर्तन भएसँगै हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने । उनी मन्त्री भएको पनि महिना पुग्न लागिसकेको छ । तर, पर्यटन बोर्डका लागि सीईओ छनोट प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन । एक महिनाअघि पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढाको संयोजकत्वमा सीईओ नियुक्तिका लागि समिति गठन गरिएको थियो । तर, अहिलेसम्म पनि उक्त समितिले सीईओको आवेदन खुलाएको छैन । सीईओ छनोटका लागि मदन आचार्य, मिलन देवकोटा र महानिर्देशक बुढासहित तीन सदस्यीय समिति गठन गरिएको थियो । पर्यटन बोर्डमा पनि ‘चरम राजनीति’ घुसेका कारण नेतृत्वविहीन रहेको व्यवसायीहरू बताउँछन् । सीईओ नियुक्त नहुनु लज्जास्पद पर्यटन व्यवसायी प्रकाश श्रेष्ठ पर्यटन प्रवर्द्दनको क्षेत्र हेर्ने संस्था दुई महिनादेखि नेतृत्वविहीन हुनु यो क्षेत्रका लागि सुखद संकेत नभएको बताउँछन् । ‘नेतृव हाँक्ने लिडर नै नभएपछि संस्थाको अवस्था अस्तव्यस्त हुने नै भयो नि,’ उनी भन्छन्, ‘त्यहीमाथि पर्यटन बोर्डलाई राजनीतिले धेरै नै बिगार्यो ।’ बोर्डमा पर्यटनका विभिन्न निकायमा भएका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने मान्छे हुनुपर्ने उनी बताउँछन् । पर्यटन बोर्डले गर्नुपर्ने र गर्न सक्ने धेरै विषय भएको उनको भनाइ छ । ‘पर्यटन बोर्डले खाली सेल्स र मार्केटिङ मात्रै नहेरेर प्रडक्ट डेभलपमेन्टतिर पनि हेर्नुपर्छ,’ उनी भन्छन्, ‘हाम्रो एयरपोर्टमा भिसा प्रोसेस गर्न पनि १ देखि २ घण्टासम्म लाग्छ, एयरपोर्टको सिनारियो र अवस्था हेर्दा कुनै पनि पर्यटक नआउने खालको छ अझै पनि, हामीले सुधार्नुपर्ने धेरै कुरा छन् ।’ कुनै पनि संस्थामा एउटा लिडरलाई काम गर्न दिइएन वा उसले कामै गर्न सकेन भन्ने विषयले महत्वपूर्ण भूमिका खेल्ने श्रेष्ठको भनाइ छ । ‘राइट मान्छे नेतृत्वमा आउनुपर्यो, उसलाई काम गर्ने वातावरण पनि सिर्जना गर्नुपर्यो,’ उनी भन्छन्, ‘त्यसैले बोर्डमा चाँडै नै सीईओ नियुक्ति गरेर नेपालको बिग्रेको छवि सुधार्न काम गरिहाल्नुपर्छ ।’ अर्का पर्यटन व्यवसायी विश्वेश श्रेष्ठ अहिले पर्यटन बोर्ड नेतृत्वविहीन हुँदै पूरै वेवारिसे अवस्थामा पुगेको बताउँछन् । पछिल्लो समय पर्यटन बोर्डले कुनै पनि प्रवर्द्धनका काम नै नगरेको उनको भनाइ छ । ‘५० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्ने सरकारले पर्यटन बोर्डमा सीईओ नियुक्त गर्न नसक्नु लज्जाकै विषय हो,’ उनी भन्छन्, ‘नयाँ मन्त्री नियुक्त भए पनि पर्यटन क्षेत्रको अवस्था सकारात्मक भने छैन ।’ उनका अनुसार पर्यटन बोर्ड अहिले नेतृत्वविहीन भएको हो, तर योभन्दा अगाडि पर्यटन बोर्डको कार्यविधिका कारणले विदेशमा पर्यटन प्रवर्द्धनका प्रचारप्रसार गर्ने काम रोकिएको छ । ‘आजभन्दा एक वर्ष अगाडि पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनमा केही काम गरेको छैन,’ उनी भन्छन्, ‘त्यसमा पनि नयाँ नेतृत्व आयो भने त्यो कार्यविधिलाई परिवर्तन गरेर काम गर्छ भन्ने व्यवसायीमा झिनो आशा छ ।’ होटलएसोसिएसन (हान) का अध्यक्ष विनायक शाह पर्यटन बोर्डमा बजेट भएको तर कार्यान्वयन गर्ने पक्ष नहुँदा विभिन्न कार्यक्रम प्रभावित भएको बताउँछन् । ‘अब त्यहाँ सञ्चालक समिति (बोर्ड) पनि कम्प्लिट छैन,’ उनी भन्छन्, ‘मुख्य कुरा कार्यकारी अधिकृत नै नभएपछि कसले लिने जिम्मेवारी ?’ के भन्छ पर्यटन बोर्ड ? पर्यटन बोर्डका निर्देशक मणि लामिछाने अहिले सीईओ नियुक्तिका लागि कुनै प्रक्रिया अगाडि नबढेको बताउँछन् । ‘सीईओ पद जनवरी १५ तारिखबाट खाली नै छ, अस्थायी रूपमा निमित्त कार्यकारी प्रमुख भनेर तोकिएको छ,’ उनी भन्छन्, ‘अहिले व्यवस्थापन समूहले चलाइरहेको छ, अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका काम भने अहिले ठप्प नै भइरहेको हो, अस्तिको बोर्ड बैठकले पनि यसलाई हल्का खुलाइदिने काम गरेको छ, अब धमाधम काम हुन्छ ।’ अहिले बोर्डमा तीन जना सदस्यको पद खाली छ । ‘तत्कालीन पर्यटनमन्त्री किराँतीको कार्यकालमा बोर्ड सदस्य छान्नका लागि कमिटी गठन भएको थियो,’ उनी भन्छन्, ‘केही दिनमै सरकार परिवर्तन भइहाल्यो, अब नयाँ पर्यटनमन्त्रीले पनि पर्यटन प्रवर्द्धनका विषयमा चासो, चिन्ता राख्नुभएको छ, केही दिनमा अगाडि बढ्छ होला ।’ यस्तै, पर्यटन मन्त्रालयका प्रवक्ता हेमराज तामाङ भने सीईओ नियुक्तिको प्रक्रिया धमाधम अघि बढिरहेको बताउँछन् । ‘नियम अनुुसार सञ्चालक समिति गठन गरेर सञ्चालक समितिले बोर्डको सीईओ नियुक्ति गर्ने प्रक्रिया सिफारिस गर्ने भन्ने हुन्छ,’ उनले भने, ‘त्यो प्रक्रिया धमाधम अघि बढिरहेको छ ।’ सीईओ नियुक्त हुन कति समय लाग्छ भनेर यकिन भन्न भने नसकिने उनले बताए । पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच, नेपाल सरकारले मनोनित गर्ने पाँच जना र सीईओ गरी ११ जना सञ्चालक समिति रहने व्यवस्था छ ।
पूर्वाधार विस्तारमा लगानी बढाउन विद्युत प्राधिकरणबाट एआइआइबीलाई आग्रह
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)लाई आग्रह गरेको छ । एआइआइबी सञ्चालक समितिका सदस्य आर. एम. पी. रथनायके नेतृत्वमा नेपाल भ्रमणमा रहेको बैंक सञ्चालक समितिका सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्रसारण र वितरणतर्फका पूर्वाधार सुधार तथा विस्तारमा सस्तो ब्याजदरमा लगानी बढाउन आग्रह गरे । नेपालको ऊर्जा क्षेत्रको रुपरेखा तथा लगानी आवश्यकता सम्बन्धी जानकारी प्रतिनिधिमण्डललाई गराउँदै कार्यकारी निर्देशक घिसिङले पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत् आपूर्ति, छिमेकी देशहरुसँगको विद्युत् व्यापार विस्तारका लागि उत्पादन, प्रसारण र वितरणतर्फका संरचना निर्माण गर्न ठूलो लगानी आवश्यक रहेको बताए । ‘ऊर्जा मन्त्रालयले अगाडि बढाएको सन् २०३५ सम्मको ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनका लागि विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुका लागि झण्डै ६० अर्ब अमेरिकी डलर (निजी क्षेत्रलाईसहित) लगानी चाहिन्छ, यसका लागि एआइआइबीजस्ता बहुपक्षीय निकायहरुबाट सस्तो ब्याजदरमा सहुलितपूर्ण ऋण आवश्यक छ’, कार्यकारी निर्देशक घिसिङले भने । घिसिङले भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चिता, ऊर्जा सङ्क्रमण तथा दक्षता, विद्युत् निर्यात बृद्धि, मौसमी विद्युत् उत्पादनको असन्तुलन न्यूनिकरणका लागि जलाशययुक्त आयोजनाहरुको निर्माण, वितरण तथा प्रसारण सञ्चाल विस्तार तथा सुधारलगायतका क्षेत्रमा हाल काम भइरहेको एआइआइबीको प्रतिनिधिमण्डललाई जानकारी गराए । प्रतिनिधिमण्डले ऊर्जा क्षेत्रका लागि आवश्यक पर्ने लगानी गर्न बैंक इच्छुक रहेको बताएको थियो । प्रतिनिधिमण्डबाट हाल एआइआइबीको लगानीमा निर्माणाधीन आयोजनाहरुको प्रगति, वातावरणीय तथा सामाजिक सुरक्षणका विषयहरु, ऊर्जा क्षेत्रको पुर्नसंरचना, विद्युत निर्यातका लागि बजार सुनिश्चितालगायतका विषयमा जिज्ञासा राखिएको थियो । नेपालकोतर्फबाट एआइआइबी सञ्चालक समितिका सदस्य एवम् अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले ऊर्जा क्षेत्रको विकासका लागि बैंककातर्फबाट सस्तो ब्याजदरमा सहुलितपूर्ण ऋण उपलब्ध गराइनु पर्नेमा जोड दिएका थिए । एआइआइबीले हाल विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार परियोजना कार्यान्वयनका लागि ११ करोड २३ लाख डलर सहुलितपूर्ण ऋण नेपाललाई उपलब्ध गराएको छ । परियोजनामार्फत प्राप्त सहुलितपूर्ण ऋण लुम्बिनी प्रदेशका दाङ, बाँके बर्दिया तथा रोल्पा र कर्णाली प्रदेशका ८ जिल्लाको विद्युतीकरण तथा वितरण प्रणाली विस्तार र सुधारमा खर्च गरिंदैछ । परियोजनाबाट १९ वटा ३३/११ केभी वितरण सबस्टेसन, ३५० किलोमिटर ३३ केभी लाइन,१७९८ किलोमिटर ११ केभी लाइन, ३१५९ किलोमिटर एलटी लाइन निर्माण र १०४५ वटा वितरण ट्रान्सफर्मर जडान गरिने छ । उक्त परियोजना कार्यान्वयनका लागि ठेक्का सम्झौता र परियोजनाको डिजाइन सम्पन्न भइसकेका छन् । एआइआइबीले कोरियाली कम्पनीहरुको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ४ करोड डलर ऋण प्रवाह गरेको छ ।
नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल
नेपालगञ्ज । बाँकेकाे धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन् । वाटरपार्कको पुनःनिर्माणसँगै मोटरबोट सञ्चालन भएपछि त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताए । ‘यो हाम्रो वडाको मात्रै नभएर जिल्लाकै प्रमुख पयर्टकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ,’ नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका रिजालले भने, ‘वाटरपार्क पर्यटन प्रवर्द्धनसँगै उपमहानगरपालिकाको आन्तरिक स्रोत संकलनको माध्यम पनि बन्दै गएको छ ।’ नेपालगञ्जमा गर्मी सुरु भएसँगै वाटरपार्क घुम्न, साँझ शीतलमा रमाउन, दिनभरिको कामको बोझ र थकान मेटाउन आन्तरिक पर्यटक पुग्ने गरेका छन् । आसपासमा खुला चौर भएकाले पनि शीतल हावा आउँछ । चुच्चे आकारको फराकिलो वाटरपार्कको सौन्दर्यमा समय बितेको पत्तै नहुने स्थानीय प्रजुन गिरीले बताए । विसं २०६५ मा सुरु भएको वाटरपार्क योजनाअनुसार त्यहाँ आकर्षक फूलबारी, बाल उद्यान, व्यापारिक प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिँदैछ । वरिपरि पक्की सडक निर्माण भइरहेको छ । पन्ध्र वर्ष पुरानो वाटरपार्क योजनाअन्तर्गत ६५ बिघा क्षेत्रफलमध्ये १० बिघामा तलाउ छभने बाँकीमा बसोबासको पूर्वाधारयुक्त आधुनिक बस्ती बसाउने योजना छ । उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार वाटरपार्क क्षेत्रभित्र छदेखि १८ मिटरसम्मको पक्की सडक निर्माण भएको छ । नेपालगञ्जको सुर्खेतरोडबाट बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडकलाई पनि वाटरपार्कसँग जोड्ने योजना छ । वाटरपार्कमा सेवा प्रदायक कम्पनी बोटेबोराले मोटरबोट सेवा सञ्चालन गरेको छ । एक करोड आठ लाखको लागतमा व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आगामी वैशाखदेखि औपचारिक रूपमै सञ्चालन गर्ने तयारी गरेको कम्पनीका सञ्चालक विष्णु ढकालले बताए । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेको छ । तालमा मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए । कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरेवापत नेपालगञ्ज उपमहानगरपालिकालाई वार्षिक रु २५ लाख बुझाउने सम्झौता भएको ढकालले बताए । पर्यटकले मोटरबोट चढ्न रु दुई सय ५० तिर्नुपर्छ । बाह्र सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै चार किलोमिटर शयर गर्न सक्नेछन् । वाटरपार्कमा जेटस्कि, पाँचवटा पावरस्पोर्ट्स, फ्लोटिङ रेष्टुरेण्ट, अपोजिट बन्जी, साइक्लिङ, जिपलाइनलगायत सेवा विस्तार गर्ने योजना रहेको ढकालले बताए । रासस