सिउरी न्यादीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
काठमाडौं । सिउरी न्यादी पावरले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ निष्काशनको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धी माघ २२ गते दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता–पत्रमा सिउरी न्यादी पावरका तर्फबाट कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँ तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् । हाल अधिकृत तथा जारी पूँजी ६ अर्ब १९ करोड ६० लाख रुपैयाँ उक्त हाइड्रोपावरले जारी पूँजीको ४९ प्रतिशत अर्थात् ३ अर्ब ३ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्दै छ । कम्पनीले प्रतिअंकित मूल्य एक सय रुपैयाँ दरका ३ करोड ३ लाख ६० हजार ७८४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा गएका नेपालीहरु, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीहरु तथा सर्वसाधारणमा तोकिए अनुरुप जारी गर्ने छ । नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाईने कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँले बताएका छन् । ४०.२७ मेगावटको उक्त आयोजनाको हालसम्म करिब ५५ प्रतिशत भौतिक निर्माण कार्य सम्पन्न भइसकेको तथा सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तीव्र गतिमा निर्माण कार्य भइरहेको छ ।
मुक्तिनाथ कृषि कम्पनीको सञ्चालक बनिन् पूर्व मिस नेपाल सुगारिका केसी
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त भएकी छन् । माघ २२ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले केसीलाई सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । रिक्त रहेको सञ्चालक पदमा कम्पनी ऐनको दफा ९० को उपदफा ३ र मुक्तिनाथ कृषि कम्पनीको नियमावलिको नियम २७ को उपनियम ४ बमोजिम केसीलाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरि नियुक्ति गरिएको कम्पनीले जानकारी गराएको छ । कृषिमा आधारित अर्थतन्त्र भएको नेपालमा केसीको नियुक्तिले आम कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, लगानीकर्ता र सम्पूर्ण सरकारी तथा गैरसरकारी सरोकारवालाहरुमा कृषि क्षेत्रप्रति थप आकर्षण र सकारात्मक सन्देश प्रवाह हुने कम्पनीको अपेक्षा छ ।
त्रिविको वेबसाइट ‘ह्याक’ बारे छानबिन गर्न तीन सदस्यीय समिति गठन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ‘ह्याक’ भएको विषयमा अध्ययन गर्न छानबिन समिति गठन भएको छ । गत शुक्रबार नै इन्जिनियरिङ अध्ययन संस्थान (आईओएम) का डिन प्रा.डा. शशीधर राम जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो । त्रिविका निमित्त रजिष्ट्रार कृष्णप्रसाद बस्यालका अनुसार उक्त संगठित समितिलाई १५ दिनको समय दिइएको छ । यससँगै उक्त समितिले वेबसाइट ह्याक हुनुको कारण, ह्याक हुन नदिने उपाय र चुनौतीको विषयमा सुझावसहित प्रतिवेदन पेश गर्ने उनले जानकारी गराए । त्रिुभवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीका प्रमाणपत्रहरु अनलाइनबाटै दिने निर्णय गरी गत माघ १५ गतेबाट सेवा सुरु गरेको थियो । तर सेवा सुरु पहिलो दिनमै वेबसाइट ह्याक भएको थियो । जुन हालसम्म सञ्चालन हुन सकेको छैन । ‘यस विषयमा ह्याकर’ रोहित रोकायाले वेबसाइटमा ‘बग’ भेटिएकोले सचेत गराउनका लागि तथ्यांकलाई असर नगरी ‘ह्याक’ गरेको बताउँदै आएका छन् ।
इच्छाराज तामाङले कहाँबाट तिर्छन् ९ अर्ब रुपैयाँ ?
काठमाडौं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहरिएसँगै आइतबार तीन वर्षका लागि जेल चलान भए । पूर्वसांसद समेत रहेका सिभिल ग्रुपका अध्यक्ष तामाङसँगै उनकी श्रीमती सिर्जना शाक्य तामाङ, इच्छाराजका मामा ससुरा केशबराज श्रेष्ठलाई पनि विशेष अदालतले जेल चलान गरेको छ । अदालतले सिर्जना र केशबलाई डेढ वर्ष कैद सजाय सुनाएको छ । जेल सजायसँगै विशेष अदालतले इच्छाराजलाई १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ, सिर्जनालाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार रुपैयाँ र केशबलाई २५ करोड ६५ लाख ८६ हजार रुपैयाँ जरिवाना तोकेको छ । उनीहरूले जेलमुक्त हुनका लागि अब कुल ३ अर्ब १ करोड ६४ लाख ८८ हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने हुन्छ । १६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा विशेष अदालतले इच्छाराज तामाङलाई दोषी ठहर गर्दै कसुर निर्धारणका लागि २१ माघ आइतबारका लागि इजलास तोकेको थियो । सिभिल बचत तथा ऋण सहकारी संस्थामा पैसा बचत गरेकाहरूले आफ्नो रकम फिर्ता नपाएको भन्दै तामाङविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी गरेका थिए । १ हजार ५०३ जनाको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गरेर ५ अर्ब ६७ करोड बिगो माग दाबीसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाएको थियो । अनुसन्धानपछि प्रहरीले तामाङलाई ठगी गरेर संगठित अपराध गरेको कसुरमा मुद्दा चलाउन माग गरेको थियो । सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । २०७८ असोज १८ गते पक्राउ परेका तामाङमाथि ५ अर्ब ६७ अर्ब ५५ लाख रुपैयाँ बिगो र ८ वर्षको कैद सजाय दाबीसहित ०७८ मंसिर १७ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जुन मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ । विशेष अदालतले तोकेको ३ अर्ब १ करोड रुपैयाँ जरिवना तिर्न सकेमा उनी आगामी एक वर्षभित्रै जलेमुक्त हुनेछन् । तर, उनले त्यतिमा मात्रै सुख पाउने छैनन् । उनले बचतकर्ताको अर्बौं रकम ठगेको मुद्दा अदालतमै छ । सरकारी वकिल कार्यालयले माग गरेको बिगोका आधारमा उनलाई जरिवाना गरिएमा उनले थप ५ अर्ब ६७ करोड रुपैयाँ तिर्नु पर्ने हुन्छ । उनले विशेष अदालतले तोकेको ३ अर्ब बढी जरिवाना र बचतकर्ताको ५ अर्ब ६७ करोड गरेर कुल ८ अर्ब ६८ करोड रुपैयाँ तिर्नु पर्ने हुन्छ । अदालतले यसमा थप जरिवाना पनि गर्न सक्नेछ । बचतकर्ताको रकम तिर्ने दायित्व आफ्नो नभएको भन्दै पन्छिएका बरु जेल जान बाध्य भएका तामाङले अब यति धेरै रकम कसरी तिर्लान् भन्ने चासो पनि बढेको छ । उनी ३ अर्ब जरिवाना तिरेर जेलमुक्त हुने भएसँगै सहकारीका बचतकर्ताको बचत के हुन्छ ? बचतकर्ताले आफ्नो पैसा पाउँछन् वा पाउँदैनन् ? पाए भने कसरी पाउँछन् ? यी र यस्तै चासो आम जनमानसमा बढेको छ । तर, विशेष अदालतले यस विषयमा पनि स्पष्ट पारेको छ । विशेष अदालतले इच्छाराजको सम्पत्ति जफत गरेर बिक्री गर्ने र सम्पत्ति बिक्रीबाट आएको पैसा बचतकर्तालाई फिर्ता गर्न सकिने बताएको छ । ‘यी प्रतिवादीहरू उपर काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा कसुर ठहर भएमा पीडितको बिगो भराउने गर्ने कार्यले नै प्राथमिकता पाउने ठहर्छ,’ विशेष अदालतको आदेशमा भनिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार कसुर निर्धारण गर्दै उक्त टिप्पणी गरेको हो । यस्तै, सहकारी विभागका उपरजिष्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्याय पनि सरकारले उनको सम्पत्ति जफत गरी सम्पत्ति बिक्री गर्ने र बिक्री गरेको पैसाले बचतकर्ताको बचत फिर्ता हुने बताउँछन् । ‘सरकारले उनीसँग के–कति सम्पत्ति छ भनेर अनुसन्धान गर्छ, त्यो सम्पत्ति जफत गरेर दायित्व फरफार गर्छ,’ उपाध्यायले भने, ‘बचतकर्ताले यस विषयमा चिन्ता लिनुपर्दैन ।’ कति छ सम्पत्ति ? एउटा समान्य व्यवसायी एकाएक अर्बपति बन्ने व्यक्ति हुन् इच्छाराज । उनी सहकारी संस्थामा एकलौटीरूपमा हाबी हुँदा समस्यामा परेका व्यवसायीमध्येमा पर्छन् । उनी घरजग्गा व्यवसायबाटै उदय भएका व्यवसायी हुन् । तर, उनको घरजग्गा व्यवसाय नफापेपछि सहकारीको पैसा घरजग्गामा डुब्यो । तामाङको सहकारीमा एकलौटी राज थियो । उनको निर्णय नै सहकारीको निर्णय हुन्थ्यो । उनी सहकारीमा आफैं साहु र आफै ऋणी बने । सिभिल सहकारीका बचतकर्ताको पौने ६ अर्ब बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । अहिले उनको व्यवसाय तहसनहस बनेको छ । उनले सहकारीकै पैसा प्रयोग गरेर लगानीमा विविधिकरण पनि गरे । उनले उच्च ब्याजको लोभ बचतकर्तालाई देखाउँदै अर्बौंको सहकारी खडा गरे । सहकारीमा बचत गर्नेलाई सुनको सिक्का उपहारसम्मको योजना ल्याउनसम्म भ्याए । तर, त्यतिखेर घरजग्गा क्षेत्र समस्यामा परेपछि उनी पनि त्यसको प्रत्यक्ष मारमा परे । परिणामस्वरूप उनको व्यवसायिक साम्राज्य ढल्यो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानमा इच्छाराजको विभिन्न २२ वटा कम्पनीमा लगानी रहेको खुलेको थियो भने विभिन्न कम्पनीमा एक अर्ब बढी सेयर रहेको बुझिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अध्ययनले पनि उनीसँग १० अर्ब बढी सम्पत्ति रहेको खुलेको थियो । तर, त्यसमध्ये उनको अधिकांश सम्पत्ति यो बिचमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लिलाम गरिसकेका छन् । यदि जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर्याएर ५ अर्ब ६७ करोड रुपैयाँ जरिवाना गरेमा उनको कुल सम्पत्ति जरिवाना र बचत फिर्तामै सकिनेछ । एकताका अर्बपति व्यवसायीकारूपमा महलमा बसेका इच्छाराज तामाङको जीवन त्यसपछि सडकमा हुने निश्चित छ । सम्बन्धित सामग्री: जसलाई सहकारीले अर्बपति बनाएर सडकमा पुर्यायो सहकारी खोलेर रातारात अर्बपति, संस्था डुबाएर नातेदारलाई नेतृत्व हाई प्रोफाइल व्यवसायी आर्थिक संकटमा पर्दा बैंकरलाई तनाव, २२ अर्ब ऋण डिफल्ट भीआईपी व्यवसायी : जो आफू पनि डुबे, बैंकलाई पनि फसाए सहकारी ठग्ने अर्बपतिको नक्कली डिभोर्स, सदस्य दम्पत्तिहरुको दुःखदायी बिच्छेद कमल, राजेन्द्र, सुधिरपछि इच्छाराजको नजिरः रातारात अर्बपति बनाउँदै जेल पठाउँदै घरजग्गा व्यवसाय
बागलुङ नगरपालिकाद्वारा बाँझो जग्गामा फलफूलखेती
गलकोट । बसाइँरसाइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोगको अभियान थालेको छ । नगरपालिकाले बाँझो जग्गामा रहेका कुकाठ हटाइ सुक्खा फलफूलखेतीका लागि स्थानीयलाई प्रेरित गर्दै आएको छ । फलस्वरुप नगरपालिकाका तित्याङ, मालिका, सिगाना र रायडाँडालगायतमा ओखर र किबीखेती सुरु गरिएको हो । बसाइँसराइलगायतका कारणले जनशक्ति अभावसँगै खेतीयोग्य जमिन बाँझिदै गएको छ । बाँझो जग्गामा उम्रेका रुख तथा झाडी हटाएर ओखर र किबीखेती गर्न थालिएको हो । वडा नं ९ तितङमा दुई वर्षदेखि फलफूल प्रवद्र्धनात्क कार्यक्रम गर्दै आएको नगरपालिकाले यसवर्ष ओखर खेती सुरु गरेको हो । तित्याङको ४२ रोपनी खेतीयोग्य जग्गामा ओखरखेतीका लागि दुई सय ५० बिरुवा लगाइसकिएको नगरपालिकाले जनाएको छ । साथै सिगाना, मालिका र रायडाँडामा कूल एक सय ५० रोपनी जग्गामा पहिलो चरणमा ओखरखेती सुरु गरिएको नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । ‘पहिलो चरणमा ओखरखेती गरिएको र दोस्रो चरणमा किबीखेतीका लागि स्थानीयलाई बिरुवा वितरण गर्ने नगरपालिकाको योजना छ’ प्रमुख श्रेष्ठले भने, ‘यसको उद्देश्य बाँझो जग्गा सदुपयोगसँगै स्थानीयवासीलाई आयआर्जनमा जोड्नु हो ।’ चालु आर्थिक वर्षमा २० लाख ४० हजार रुपैयाँ बजेटबाट ओखर र किबीखेती विस्तार गर्न थालिएको नगरपालिकाका आर्थिक विकास समितिका संयोजक नारायण शर्मा पौडेलले बताए । सिँचाइको समस्या रहेका स्थानमा फलफूलखेती राम्रो गर्न सकिने भएकाले स्थानीयलाई त्यसतर्फ अग्रसर गराइएको नगरपालिकाका कृषि प्राविधिक राहुल केसीले बताए । ‘गाउँमा धेरै जग्गा बाझिँदै गएको छ, बाँझो जग्गामा फेरि खाद्यबाली लगाउन समस्या हुन्छ, उब्जानी थोरै हुनेभएपछि किसान खाद्यबालीमा आर्कषित छैनन्’, उनले भने, ‘फलफुलखेतीमार्फत स्थानीयलाई गाउँमै टिकाउने प्रयास पनि हो ।’ फलफूल प्रबद्र्धन तथा ड्राइफ्रुट खेती विस्तार अभियान अन्तर्गत ७० प्रतिशत नयाँ बिरुवा लगाउने र ३० प्रतिशत पुरानो बगैँचा व्यवस्थापन गर्न सकिने केसीको भनाइ छ । नगरपालिकाले यसवर्ष लगाउने भनेको एक हजार पाँच सयमध्ये दुई सय ५० बिरुवा लुम्बिनी वल्र्ड पिस फोरमले उपलब्ध गराएको हो । तित्याङमा दुई सय ५० ओखरका बिरुवा लगाइएको छ भने मालिकामा पाँच सय ओखरका बिरुवा लगाउन पठाइएको छ । ओखरका विरुवा सुक्खा फलफुल विकास केन्द्र बैतडीबाट ल्याइएको केसीको भनाइ छ । सुक्खा फलफूल खेती अभियान प्रत्येक वडामा क्रमशः लागू हुने नगरपालिकाले जनाएको छ । प्रत्येक वडाको भूगोल र हावापानी सुहाउँदो फलफूलका बिरुवा रोप्ने कार्यक्रम अन्तर्गत समुद्र सतहदेखि एक हजार पाँच सय मिटरभन्दा माथिल्लो भागमा सुक्खा फलफूलखेती गर्न थालिएको छ । ओखरले पाँच वर्षमा उत्पादन दिन थाल्ने कृषि प्राविधिक बताउँछन् । रासस
सवारी दुर्घटनाको कहाली लाग्दो तस्वीर
चालु आर्थिक वर्षको छ महिनामा देशभर भएका सवारी दुर्घटनामा १ हजार १३७ जनाले ज्यान गुमाएका छन् । चालु आवको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा १ हजार १३७ ले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा पुरुष ८५४, महिला २०९, बालक ५० र बालिका २४ रहेका छन् । साथै यस अवधिमा भएका दुर्घटनामा परी १६ हजार ३३५ जना घाइते भएका छन् । ३ हजार २१३ गम्भीर र १३ हजार १२२ जना सामान्य घाइते भएका छ । सो अवधिमा देशभर १२ हजार ८५६ वटा सवारी दुर्घटना भएका छन् । काठमाडौं उपत्यकामा ५ हजार ८६५, कोशी प्रदेशमा १ हजार ६३९, मधेसमा ३ हजार १९०, बागमतीमा ७०६, गण्डकीमा १९५, लुम्बिनीमा ६०६, कर्णालीमा ४९५ र सुदूरपश्चिम प्रदेशमा १६० सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १० हजार ३५३ वटा सवारी साधनमा क्षति पुगेको छ । सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ । दुर्घटनामा भएको मानविय क्षति मात्र कुनै ठूलो महामारी वा प्रलयमा भएको क्षति जस्तो देखिन्छ । त्यसभित्रको आर्थिक पक्ष हेरिएको छैन । सवारी दुर्घटना हुँदा हुने आर्थिक क्षतिबारे रिपोटिङ गर्ने अभ्यास छैन । यदि आर्थिक नोक्सानीको पनि हिसाव राख्ने हो भने अर्बौ रुपैयाँ बराबरको नोक्सान भएको रिपोर्ट बन्ने थियो । यस वर्ष मात्र होइन, हरेक वर्ष सवारी दुर्घनाको ग्राफ बढ्दो छ । सडक सञ्जाल विस्तार, सवारी संख्या वृद्धिसँगै सवारी दुर्घटना वृद्धिलाई सरकारी निकायले सामान्यकरण गर्न खोजेको पाइन्छ । अधिकांश ठूला दुर्घटना खराव सडक भएको कारण हुने गरेको छ । कच्ची सडक, जीणर् सडक, ज्यादा उकालो ओरालो भएको सडक ज्यादा घुम्ती भएको सडकमा बढी दुर्घटना हुने गरेको छ । यस्ता दुर्घटना हुुनुमा सरकारी निकाय नै मुख्य जिम्मेवार हुन्छ । ट्राक खोलेपछि सवारी गुड्न दिने तर वर्षौसम्म त्यसको स्तरवृद्धि नगर्ने, पुराना सडक जीणर् हुँदा, जताततै खाल्टखुल्टी हुँदा, सडक बनाउने तर खोला नदिमा पुल नबनाउने जस्ता लापारवाहीका कारण पनि धेरै सडक दुर्घटना हुने गरेका छन् । सवारी चालकलाई प्रयाप्त तालिम तथा सिकाई नहुनु, तीव्र गतिमा सवारी चलाउने जस्ता चालकका कमजोरी, जहाँबाट मन लाग्यो त्यहिबाट बाटो काट्ने यात्रुको जीवनशैली पनि सवारी दुर्घटनाको अर्को प्रमुख कारण हो । मादक पदार्थ सेवन तथा लागु पदार्थ सेवन गरी सवारी चलाउने जस्ता लापरवाहीले पनि धेरै दुर्घट्ना हुने गरेका छन् । ट्राफिक नियम उल्लङ्घन, सवारी चालक अनुमतिपत्र विना सवारी चलाउँदा हुने दुर्घट्नाले पनि ठूलो नोक्सान हुने गरेको छ । ओभरटेक, ओभरलोड, ब्रेक फेल, मोबाइल फोनको प्रयोग तथा यान्त्रिक गडबडी पनि दुर्घटना हुन्छ । झुण्डिएर यात्रा गर्नु, हुस्सुकुहिरो, बाढीपहिरो र चौपायलगायत कारणले दुर्घटना हुने गरेको छ । यस्ता प्रकृतिको दुर्घटना कम गर्न सरकारी प्रयास मात्र काफी छैन । जनस्तरका चेतना फैलाउने, जीवनशैलीमा सुधार ल्याउने, सडकमा निस्कदा यात्रु र चालक दुबै पक्ष जिम्मेवार बन्ने बनाउनेतर्फ सबैको ध्यान जानुपर्छ ।
रेड्मी नोट १३ सिरिजले ल्यायो तीन मोडलका स्मार्ट फोन, कुनको मूल्य कति ?
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी नोट १३ सिरिज अन्तर्गतका तीन वटा मोडलका फोन सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै शाओमीले रेड्मी नोट १३ सिरिज अन्तर्गतका शाओमीले रेड्मी नोट १३ प्रो प्लस फाइभ जी, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको हो । नयाँ फिचर र स्मार्ट लुक्ससहित आएका यी तीनै मोडेलका स्मार्ट फोनबाट ग्राहकहरूले नयाँ अनुभव पाउन सक्ने कम्पनीले बताएको छ । नयाँ फोन सार्वजनिक गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले यी स्मार्टफोन धेरै ग्राहकको रोजाइमा पर्ने विश्वास लिएको बताए । ‘ग्राहकहरूलाई अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने उद्देश्यले यी नयाँ स्मार्टफोनहरू सार्वजनिक गर्न पाउँदा हामी निकै खुसी छौं, हाम्रा सबै ग्राहकहरूलाई उच्च गुणस्तरको प्रविधि प्रदान गर्न चाहन्छौं, आशा छ, हाम्रा ग्राहकहरूले यी नयाँ मोडेलहरूलाई मन पराइदिनुहुनेछ,’ उनले भने । आधुनिक डिजाइन र स्मार्ट लुक्स भएको सो फोन सार्वजनिक भएसँगै नेपालभर उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कुन फोनमा के छन् विशेषता ? रेड्मी नोट १३ प्रो प्लस फाइभ जि यो फोनमा स्टाइलिश डिजाइन र क्रिस्टल क्लियर डिस्प्ले पाउन सकिन्छ । रेड्मी नोट १३ प्रो प्लस फाइभ जिको मोटाई ८.९ एमएम र तौल २०४.५ रहको छ । कम्पनीका अनुसार यसको ६.६७ इन्चको क्रिस्टल रेस एमोलेड कर्भ १.५ के डिस्प्लेमा २७१२८/१२२० को रिजोल्युसन र १२० हर्जको रिफ्रेस रेट रहेको छ । आइपि ६८ डस्ट र वाटर रेसिस्टेन्स रेटिङको साथ आउने यो स्मार्ट फोन हेर्दा जति स्टाइलिश छ त्यत्ति नै टिकाउ पनि रहेको कम्पनीको दाबी छ । उक्त फोनले मिडियाटेक डाइमेन्सिटी ७२०० अल्ट्रा चिपसेट र ४ एम अक्टा-कोर प्रोसेसरले फास्ट पर्फर्मेन्स दिन्छ । कम्पनिका अनुसार सो फोनमा २०० मेगापिक्सेलको क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा र २ मेगापिक्सेलको म्याको क्यामरा रहेको छ । जसले ग्राहकहरुले फोटोग्राफीको नयाँ अनुभव लिन सक्ने कम्पनीको भनाइ छ । यसले १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले आकर्षक सेल्फीहरू निकाल्दछ भने ओआइएस, शाओमी प्रो कट र शाओमी इमेजिङ सिस्टमले मोबाइलको फोटोग्राफीलाई नै परिवर्तन गरिदिएको छ । रेड्मी नोट १३ प्रोप्लस फाइभ जिमा ५००० एमएचको ब्याट्री रहेको छ । उक्त ब्याट्री एक पटक फुल चार्ज गर्दा दिनभर चलाउन सकिने कम्पनीले बताइएको छ । यसमा १२० वाटको हाइपरचार्जर उपलब्ध रहेकाले चार्ज पनि छिटो हुने बताइएको छ । रेड्मी नोट १३ प्रो कम्पनीका अनुसार रेड्मी नोट १३ प्रोमा स्टाइलिश एमोलेड डिस्प्ले रहेको छ । ७९८ एमएमको स्लिम डिजाइन र १८८ ग्राम तौल भएको यस स्मार्ट फोन स्टाइल र कम्फर्ट रहेको बताइएको छ । ६.६७-इन्चको एमोलेड डिस्प्ले, २४००८/१८०० को रिजोल्युसन र स्विफ्ट १२० हर्ज रिफ्रेस रेटले उत्कृष्ट भिजुअल एक्स्पिरिएन्स प्रदान गर्ने बताइएको छ । यसमा आइपि ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्स उपलब्ध रहेको छ । मिडिया टेक हेलियो अल्ट्रासहित आउने उक्त स्मार्ट फोनमा युजर फ्रेन्डली एक्स्पिरिएन्सको लागि एन्ड्रोइड १३ मा आधारित तथा एमआइयुआइ १४ मा राखिएको छ । यो फोनमा ८ जिबी प्लस २५६ जिबी वा १२ जिबी प्लस ५१२ जिबी स्टोरेज भेरिएन्टमा उपलब्ध छ । २०० एमपी क्यामेरा रहेको यस फोनमा फोटोग्राफीको लागि ८ एमपी अल्ट्रा-वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध रहेको छ । जसले १६ एमपी सेल्फी क्यामेराले सेल्फी-पोर्टेटहरूमा छुट्टै चमक ल्याउने बताइएको छ । रेड्मी नोट १३ प्रोमा ५००० एमएच ब्याट्री रहेको छ । कम्पनीका अनुसार फोनमा ६७ वाट इन-द-बक्स टर्बो फास्ट चार्जर समावेश गरिएको छ । रेड्मी नोट १३ ७.९७ स्लिम र १८८.५ ग्रामको तौलले रहेको यो फोनमा हल्का र हेर्दा स्ल्कि देखिन्छ । फोनमा ६.६७ इन्च एमोलेड डिस्प्ले, २४००८८/१०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभव लिन सकिन्छ । रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्ससहित उपलब्ध छ । स्न्यापड्रागन ६८५ चिपसेट राखिएको एन्ड्रोइड १३ र एमआइयुआई १४ भएको यो डिभाइस बिना कुनै ल्याग चल्ने पनि कम्पनीले जानकारी दिएको छ । प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी याम रोज्न र आफ्नो आवश्यकता अनुसार १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प फोनमा रहेको छ । रेड्मी नोट १३ मा १०८ एमपीको मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । ५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर भएकोले रेड्मी नोट १३ मा दिनभरी भिडियो हेर्न वा अरु काम गर्न मिल्ने कम्पनीले बताएको छ । कुनको मूल्य कति, यस्तो छ अफर ? कम्पनीले रेड्मी नोट १३ को (६/१२८) जीवीमा उपलब्ध हुने मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइसलाई २४ हजार ९९९ र (८/२५६) जीबीमा उपलब्ध हुने फोनलाई २७ हजार ९९९ रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार उक्त फोन किन्दा २,९९९ मूल्यको बड्स ४ एक्टीभ १ हजार ६ सय ९९ को अफरमा पाउन सकिनेछ । यस्तै कम्पनीले रेड्मी नोट १३ प्रो मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा ३४ हजार ९ सय ९९ (८/२५६ जीबी) र ३९ हजार ९९९ (१२/५१२ जीबी) मा उपलब्ध रहेको बताएको छ । रेड्मी नोट १३ प्रो किन्दा २ हजार ९ सय ९९ रुपैयाँको बड्स ४ एक्टीभ मात्र १ हजार ६ सय ९९ रुपैयाँ अफरमा वा ५ हजार ६ सय ९९ रुपैयाँ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र ३ हजार ४ सय ९९ रुपैयाँ अफरमा पाउन सकिने बताएको छ । यसैगरी रेड्मी नोट १३ प्रो प्लस फाइभ जि मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा ४७ हजार ९ सय ९९ (८/२५६ जीबी) रुपैयाँ र ५२ हजार ९ सय ९९ रुपैयाँ (१२/ ५१२ जीबी) मा उपलब्ध हुने कम्पनीले बताएको छ । उक्त फोन किन्दा २ हजार ९ सय ९९ रुपैयाँको बड्स ४ एक्टीभ १ हजार ६ सय ९९ रुपैयाँ अफरमा पाइने छ । कम्पनीले सो फोन किन्दा ५ हजार ६ सय ९९ रुपैयाँको रेड्मी वाच ३ एक्टीभ मात्र ३ हजार ४ सय ९९ रुपैयाँमा पाउन सकिने बताएको छ ।
दूरसञ्चार कम्पनीको नवीकरण शुल्क किस्तामा तिर्न सकिने, एनटीसीको बिजनेस घट्दै गएकोप्रति चिन्ता
काठमाडौं । सरकारले दूरसञ्चार सेवा प्रदायक संस्था अर्थात् भ्वाइस कल सेवा प्रदान गर्ने कम्पनीहरूको नवीकरण शुल्कलाई किस्तामा लैजाने तयारी गरेको छ । नेपाल टेलिकमको २०औं वार्षिकोत्सव कार्यक्रममा बाेल्दै नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले टेलिकमहरूको नवीकरण शुल्कलाई किस्तामा लैजाने सिफारिस सरकारसमक्ष गरेकाे जानकारी दिए । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले सेवा सञ्चालनको लागि अनुमति लिँदा र नवीकरण गर्दा ठूलो मात्रामा रकम लिने कानुनी व्यवस्था गरेको छ । सञ्चार मन्त्रालयद्वारा राजपत्रमा प्रकाशित सूचनाअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीले सेवा सञ्चालनको लागि अनुमति लिँदा ३५ करोड ७५ लाख रुपैयाँ बुझाउनुपर्छ भने नवीकरण गर्दा २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । पछिल्लो समय नेपाल टेलिकम र प्रतिस्पर्धी एनसेलको व्यवसाय र नाफामा गिरावट आइरहेको तथ्यांकले देखाएको छ । आगामी वैशाख २८ गते नेपाल टेलिकमको लाइसेन्स अवधि सकिँदैछ । टेलिकम कम्पनीको व्यवसायमा आएको गिरावटलाई आधार बनाएर दूरसञ्चार प्राधिकरणले लाइसेन्सको एकमुस्ट रकमलाई किस्तामा लैजाने सिफारिस सरकारसँग गरेको छ । ‘अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर एकमुस्ट रकम बाहेक आयको निश्चित रकममार्फत् नवीकरण शुल्क बुझाए हुने राय सहितको व्यवस्थाका लागि नेपाल सरकारलाई सिफारिस गरिसकेका छौं,’ प्राधिकरणका कार्यवाहक अध्यक्ष अधिकारीले भने । तर, उनले कम्पनीको आम्दानीको अनुपातमा नवीकरण शुल्क कति किस्तामा लिनको लागि प्राधिकरणले सिफारिस गरेको छ भन्ने बारेमा स्पष्ट खुलाएनन् । अधिकारीले ग्राहक संख्या मात्रै वृद्धिभन्दा पनि गुणस्तरमा ध्यान दिएर आम्दानी बढाउन टेलिकमलाई सुझाव दिएका छन् । साथै उनले प्राधिकरणले टेलिकमलाई फाइभ-जी परीक्षणमा अनुमति दिएर पनि कार्यान्वन नभएको भन्दै गुनासो व्यक्त गरेका छन् । टेलिकमको व्यवसाय घट्दै गएकोप्रति चिन्ता टेलिकमको व्यवसाय घट्दै गएकोमा टेलिकम सम्बद्ध सबै निकायले चिन्ता व्यक्त गरेका छन् । नेपाल टेलिकमको २०औंं वार्षिकोत्सव कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा, सञ्चालक र कर्मचारीहरूले पछिल्लो समयमा कम्पनीको व्यवसाय घटेको भन्दै चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री शर्माले कम्पनीको नवीकरण शुल्क बुझाउने समय आएकाेले नगद मौज्दात थप घट्ने भन्दै कम्पनीको आम्दानी बढाउन आवश्यक काम गर्नुपर्ने धारणा राखिन् । उनले एफटीटीएच, फाइभजी लगायतका सेवा विस्तारमा कम्पनीले आवश्यक काम गर्नुपर्ने बताइन् । साथै, टेलिकमका भएका समस्याहरूको समाधानका लागि आवश्यक छलफल गरेर समाधान निकाल्ने पक्षमा सहयोग गर्न आफू तयार रहेको उनकाे भनाइ छ । कर्मचारीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने शंकर लामिछानेले पनि सरकारले आवश्यक सहयोग गरेमा कम्पनीको आम्दानी बढाउन सकिने बताएका छन् । सरकारले सहयोग गरेमा कार्यसञ्चालन आम्दानीमा वृद्धि गर्न सकिने भन्दै केही आइएसपी प्रदायकले देशभरी नै २५ हजार ठाउँमा हटस्पट सञ्चालन गरेर सेवा दिइरहेको तर, तीनको अनुमति र नवीकरण शुल्क न्यून भएको उनले धारणा राखेका छन् ।