बैंकहरूको १० अर्ब बक्यौता भुक्तानीको उपाय खोज्दै राष्ट्र बैंक, कस्तो आउँदैछ मौद्रिक नीतिको समीक्षा ?
काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा जुटेको छ । चालु आर्थिक वर्ष २०८०/८१को ६ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक भएसँगै राष्ट्र बैंक अब मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा जुटेको हो । राष्ट्र बैंकका अनुसार मौद्रिक नीतिको समीक्षा सार्वजनिकका लागि अझैं केही समय लाग्ने देखिन्छ । राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले ढिलोमा फागुनको पहिलो सातासम्म मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी भइरहेको बताए । चालु आर्थिक वर्षको पुससम्मको अर्थतन्त्रका सूचकहरू सार्वजनिक भएका छन्, अब त्यसलाई नै आधार बनाएर समीक्षा हुन्छ, तर सबै आधार भने त्यो तथ्यांक होइन, हामीले अन्य केही आधार पनि हेर्नुपर्छ,’ उनले भने, ‘फागुन पहिलो सातासम्म मौद्रिक नीतिको समीक्षा सार्वजनकि हुन्छ भन्ने अपेक्षा गरौं ।’ उनका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् ठूलो नीतिगत परिवर्तन हुने अवस्था छैन । अहिले अर्थतन्त्रका सूचकहरू लयमै रहेकोले राष्ट्र बैंकले ठूलो चेञ्ज गर्नु पर्ने अवस्था देखेको छैन । उनले बैंकहरूले यसअघि नै व्यवसायीलाई प्रदान गरेको सहुलियतपूर्ण कर्जाको बक्यौताको विषयमा केही विशेष उपायसहितको राय राष्ट्र बैंकले सरकारलाई दिनेछ । सरकारले उत्पादनशील अर्थतन्त्र निर्माणका लागि उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकास गर्न सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी गरेको थियो । सोही कार्यविधिअनुसार ०७५ कार्तिक २० मा राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको थियो । बैंकहरूले राष्ट्र बैंकको सोही व्यवस्था अनुसार सहुलियत कर्जा प्रदान गरेका थिए । सो व्यवस्था अनुरुप कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिने नीति सरकारको थियो । तर, बैंकले सरकारको नीतिअनुरुप सहुलियतपूर्ण कर्जामार्फत्को रकम पाउन सकेका छैनन् । सोही ब्यक्यौता भुक्तानीका लागि राष्ट्र बैंकले विभिन्न समयमा अर्थमन्त्रालयलाई आग्रह गर्दा पनि अर्थमन्त्रालयले बक्यौता भुक्तानी गर्न सकेको छैन । सरकारले तिर्नु पर्ने १० अर्ब रुपैयाँ भुक्तानीका लागि अब राष्ट्र बैंकले विशेष उपायसहितको राय सरकारलाई मौद्रिक नीतिको समीक्षामार्फत् दिने तयारी गरेको छ । सो रकम भुक्तानीका लागि यसअघि पटक-पटक आग्रह गर्दा पनि अर्थमन्त्रालयले कुनै चासो नदिएको धारणा राष्ट्र बैंकका अधिकारीहरूको छ । यस्तै, अहिले बैंकहरू अधिकत तरलता भएर पनि कर्जा लगानी गर्न सक्ने अवस्थामा छैनन् । बैंकहरूसँग पुँजीको अभावले अपेक्षाकृत ढंगबाट लगानी गर्न सकिरहेका छैनन् । राष्ट्र बैंकको नियमअनुसार बैंकहरूको जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पुँजी अनुपात कम्तीमा ८.५ प्रतिशत हुनुपर्छ । चालु आर्थिक वर्षको असारदेखि बैंकहरूले ९ प्रतिशतको पुँजीकोष कायम गर्नु पर्ने राष्ट्र बैंकले यसअघि नै निर्देशन दिइसकेको छ ।
अब राष्ट्र बैंकले ५० करोड बढीका सहकारी हेर्नै पर्ने, घरजग्गा कारोबारमा नयाँ व्यवस्था
काठमाडौं । बुधबार प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई पारित गर्दै आर्थिक क्षेत्रको नियमन सम्बन्धी कानुनी व्यवस्थामा व्यापक फेरबदल गरेको छ । विधेयक पारित भएसँगै वैदेशिक व्यापार, जग्गा कारोबार, नेपाल राष्ट्र बैंक देखि सहकारी लगायतका २० वटा क्षेत्रका व्यवस्थामा नयाँ कानुनी व्यवस्था लागू हुने भएको हो । पारित विधेयकसँगै निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३, पानी जहाज दर्ता ऐन, २०२७, मालपोत ऐन, २०३४, पर्यटन ऐन, २०३५, भवन ऐन, २०५५ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ का केही व्यवस्थामा संशोधन भएको छ । त्यस्तै, संसदले दामासाही सम्बन्धी ऐन, २०६३, धितोपत्र सम्बन्धी ऐन, २०६३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ र कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० का केही व्यवस्थालाई पनि परिमार्जन गरेको छ । पारस्परिक कानूनी सहायता ऐन, २०७०, संगठित अपराध निवारण ऐन, २०७०, विद्युत नियमन आयोग ऐन, २०७४, मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४, सहकारी ऐन, २०७४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ र बीमा ऐन, २०७९ का केही व्यवस्थालाई पनि संसदले एकमुष्ठ रुपमा संशोधन गरेको छ । अन्तर्राष्ट्रिय व्यापारको पारदर्शिता हेर्न सचिवको अध्यक्षतामा इकाई गठन हुने संसदले पारित गरेको विधेयकसँगै अब अन्तर्राष्ट्रिय व्यापारको पारदर्शिता हेर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवको अध्यक्षतामा व्यापार सहजिकरण तथा पारदर्शिता इकाई गठन हुनेछ । जसमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, अर्थ मन्त्रालयका सहसचिव, कानून मन्त्रालयका सहसचिव, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक र उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक सदस्यको रुपमा रहने छन् । उक्त इकाईले व्यापारिक पारदर्शिता कायम राख्न भूमिका खेल्ने पारित विधेयकमा उल्लेख गरिएको छ । घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजत लिनुपर्ने बुधबार संसदले पारित गरेको सम्पत्ति सुद्धिकरण सम्बन्धी विधेयकले अब व्यवसायीहरुले घरजग्गा सम्बन्धी कारोबार गर्दा इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । इजाजत नलिई घरजग्गाको कारोबार गरेमा २५ लाख रुपैयाँ र ६ महिनासम्म कैद सजायको व्यवस्था हुने पारित विधेयकमा उल्लेख गरिएको छ । ५० करोड बढी पुँजी भएका सहकारीको नियमन राष्ट्र बैंकले गर्न सक्ने संघीय व्यवस्थासँगै सहकारीको नियमनको महत्वपूर्ण जिम्मेवारी स्थानीय तहमा पुगेकोमा संसदले विधेयक पारित गरेसँगै ५० करोड बढी पुँजी भएका र वार्षिक ५० करोड भन्दा बढीको कारोबार गर्ने सहकारीलाई अब सहकारी विभागको अनुरोधमा नेपाल राष्ट्र बैंकले नियमन, निरीक्षण तथा सुपरिवेक्षण नेपाल राष्ट्र बैंकले गर्न सक्ने भएको छ । ‘पचास करोड रुपैयाँभन्दा बढी शेयर पुँजी भएको वा सो रकम बराबरको वार्षिक कारोबार गर्ने सहकारी संस्थाको वित्तीय सुशासन तथा जोखिमको आधारमा विभागको अनुरोधमा त्यस्ता संस्थाको नियमन, निरीक्षण तथा सुपरिवेक्षण नेपाल राष्ट्र बैंकले समेत गर्नेछ’, पारित विधेयकमा भनिएको छ । साथै, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन, निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धमा नेपाल राष्ट्र बैंकले मापदण्ड बनाई जारी गर्न सक्ने व्यवस्था विधेयकमा उल्लेख छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० [pdf id=462783] संसदले पारित गरेको संशोधित प्रतिवेदन [pdf id=462786]
चन्द्रागिरी हिल्सको सीईओमा प्रधान नियुक्त, बिहीबारदेखि नै लागू हुने
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अरुण प्रधान नियुक्त भएका छन् । माघ २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रधानलाई सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले माघ २५ गते (बिहीबार) देखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् ।
जलवायु न्यूनीकरणका लागि डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीच साझेदारी
काठमाडौं । नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ । बुधबार यहाँ आयोजित एक समारोहबीच ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारीलाई पछ्याउँदै ती दुई संस्थाले रणनीतिक साझेदारीको थालनी गरेका हुन् । नेपालजस्ता विकासोन्मुख देशहरुमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र मौसमसम्बन्धी प्रकोपलाई सम्बोधन गर्न तथा जलवायु सङ्कटको प्रकृतिमा आधारित समाधानबाट लाभ उठाउने उक्त साझेदारीको उद्देश्य रहेको छ । कार्यक्रममा डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले जलवायु सङ्कटको सामना गर्न वन्यजन्तु र जैविक विविधताको संरक्षण आवश्यक रहेकामा जोड दिँदै यसले मानिस र प्रकृतिको भविष्यसमेत सुनिश्चित रहने धारणा व्यक्त गरे । साथै उनले दुई संस्थाबीचको यस सहकार्यले संयुक्त प्रयासलाई सार्थक तुल्याउने बताए । नेपाल स्थित आइएफआरसीका देशीय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले जलवायु सङ्कटको सामना गर्न जैविक विविधता र वन्यजन्तुको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै यसले भावी पुस्तालाई दिगो बनाउन महत्वपूर्ण हुने बताए । साथै उनले दुई संस्थाबीचको सहकार्य अन्य साझेदार निकायलाई सहयोगका लागि आह्वान गर्ने ठूलो अवसर भएको समेत उल्लेख गरे । नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइकाले जलवायु परिवर्तले निम्त्याएका जोखिमलाई कम गर्न सामूहिक रुपमा मिलेर काम गर्न आग्रह गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले जलवायु परिवर्तले निम्त्याएका विपद्लाई न्यूनीकरण गर्न सोसाइटीले कार्ययोजना बनाइ काम गरिरहेको जानकारी दिए । डब्लुडब्लुएफ नेपाल र आइएफआरसीबीचको साझेदारी र संयुक्त विशेषज्ञताले नेपालमा भइरहेको जलवायु सङ्कट, उदीयमान जोखिम, र सामाजिक चुनौती सम्बोधन गर्न योगदान हुने विश्वास गरिएको छ । दुबै संस्थाले सरकार, साझेदार निकाय, विकास साझेदार र निजी क्षेत्रसँगको स्थानीय कार्य र सहयोगमार्फत जलवायु अनुकूलन रणनीतिमा प्रकृतिलार्ई एकीकृत गर्ने लक्ष्य राखेका छन् । डब्लुडब्लुएफ वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रका कार्यरत सन् १९६१ मा स्थापना भएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो भने आइएफआरसी १९१ राष्ट्रिय समाजमार्फत एक करोड ६० लाख भन्दा बढी संकटासन्न जनतामा पुग्ने विश्वको ठूलो मानवीय सहायता सञ्जाल हो । रासस
पाँच लाख घुससहित रङ्गेहात पक्राउ परेका वडाध्यक्ष कार्कीविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जितपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पाँच लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ परेका वडाध्यक्ष कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । आयोगले वडाध्यक्षकार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० देहाय ९घ० बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा ९१० अनुसार बिगोबमोजिम जरिवाना सजायसमेत हुन माग दाबी लिइ आरोपपत्र दायर गरेको आयोगले जनाएको छ । रासस
अर्काको नागरिकतामा ज्वाइँको फोटो टाँसेर लाखौं ठगी गर्ने पक्राउ
काठमाडौं । अरुको नागरिकतामा फोटो टाँसेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाउने बहानामा रकम असुल्दै आएका थिए । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका घर भई ललितपुर बस्दै आएका पक्राउ पर्नेमा सरोज यादव, सर्लाहीका रामेश्वर सिंह र धनुषाका रामसेवक सिंह रहेका छन् । उनीहरुले ५५ जनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने भन्दै प्रतिव्यक्ति रु सात लाखका दरले रकम असुल्दै आएका पाइएको छ । मासिक रु एक लाख ५५ हजार तलब पाइने भन्दै तीनैजनाले पीडितबाट रु ६३ लाख ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । रकम लिएपछि सम्पर्कविहीन भएको भनी परेको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा तीनैजनालाई यही माघ २३ गते साँझ ललितपुरबाट पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । अनुसन्धानका क्रममा रामेश्वर सिंह बजाज ओभरसिसमा २०७४ सालदेखि कर्मचारीको रुपमा एक वर्ष काम गरी वैदेशिक रोजगारीसम्बन्धी काम सिकेर भेरी ओभरसिज किनेर सञ्चालन गरेकामा दुई सय जनाबाट रु तीन करोड ठगी गरेर एक वर्ष ६ महिना जेल सजाय भोगेको पाइएको छ । उनले भेरी ओभरसिजमा विदेश जान पेस गरेकामा सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नागरिकताको प्रमाणप्रत्रमा आफ्नो ज्वाइँ नातापर्ने रामसेवक सिंहको फोटो टाँसी विराट कन्सलटेन्सी विर्तामोड, गडीमाई कन्सलटेन्सी काठमाडौं र कमलामाई कन्सलटेन्सी दर्ता गरी ४८ जनाबाट रोमानिया, जर्मनी, अफगानिस्तान र क्रोएसिया पठाउने भनी प्रतिव्यक्ति रु सात लाखसम्म रकम उठाएको पाइएको प्रहरीले जनाएको छ । सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नाममा कुमारी बैंक, एनआइसी एसिया बैंक र कामना विकाश बैंकमा खाता खोली कारोबार रामसेवक सिंहबाट गर्ने गरेको पाइएको छ । सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादव धनुषामै रहेका र उनीहरुलाई आफ्नो नागरिकता दुरुपयोग भई धेरै व्यक्ति ठगिएको बारेमा जानकारी नभएको प्रहरी उपरीक्षक केसीले बताए । पीडितहरुले सरोज यादव, नागेन्द्र यादवका विरुद्धमा वैदेशिक रोजगार विभागमा जाहेरी दिएकामा यस कार्यालयबाट निजहरुलाई खोज्ने क्रममा अनुसन्धान गर्दै जाँदा ठगी कार्यमा रामेश्वर सिंहले आफ्नो ज्वाइँ नाता पर्ने रामसेवक सिंहको फोटो टाँसी उल्लेखित व्यक्तिको नागरिकता दुरुपयोग गरेको खुल्न आएको छ । रामेश्वर सिंहलाई २०७४ सालमा ठगी मुद्दामा एक वर्ष ६ महिना कैद भएको, २०७८ सालमा ठगी मुद्दामा फरार रहेको, २०७९ सालमा सिन्धुलीमा लागुऔषध मुद्दा चली २४ दिन कैद र रु दुई हजार जरिवाना भोगेको पाइएको छ । उनीहरुको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको रु ६० लाख बराबरको २५ थान चेक र नौ सिमकार्ड फेला परेको छ । तीनैजनामाथि ठगी, कीर्ते जालसाजी, बैंकिङ कसुरलगायत अपराधमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । रासस
प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुधबार काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले अभिकर्ता बिच आपसी साथ, सहयोग र सद्भाव कायम गर्न कम्पनीले यस अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले यस किसिमका अन्तरक्रिया कार्यक्रमले अभिकर्ताहरुमा काम गर्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे । प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धकसोन बहादुर मगरले सम्बोधन गर्दै बीमाका बिक्रिकला तथा व्यवसायी जीवनमा आफूले भोगेका अनुभव सुनाए । एजेन्सी विभाग प्रमुख प्रभात शिवाकोटीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । यस्तै उपत्यकाबाट कार्यक्रममा उपस्थित भएका एमडिआरटि २०२४ मा छनोट भएका अभिकर्ताहरुलाई केक काटी विशेष सम्मान गरिएको थियो । अभिकर्ता स्कीम अन्तर्गत लक्की ड्र मार्फत स्कुटर विजेता पाटन शाखामा कार्यरत एजेन्सी म्यानेजर पवन कुमार शाहीलाई स्कुटर हस्तान्तरण गरिएको थियो ।
भारतको पर्यटन मेलामा नेपालको सहभागिता
काठमाडौं । भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट (ओटिएम) मेलामा नेपालले सहभागिता जनाएको छ । यसअघि नेपाल पर्यटन बोर्डले सहभागिता जनाउँदै आएको उक्त पर्यटन मेलामा यस वर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले भाग लिएको हो । तीनदिने मेलामा टानमा आबद्ध टानसहित २५ व्यवसायी कम्पनीले सहभागिता जनाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए । नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले ओटिएममा टानले सहभागिता जनाएको महासचिव सापकोटाले बताए । महासचिव सापकोटाले आगामी फागुन १० देखि १२ सम्म भारतमा हुन लागेको दक्षिण एशियाको ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साट्टे) मा पनि टानले सहभागिता जनाउन लागेको बताए । नेपालको पर्यटन क्षेत्रमा ४५ वर्ष अनवरत क्रियाशील टानमा हाल दुई हजारभन्दा बढी व्यवसायी आबद्ध छन् ।