विकासन्युज

जाजरकोट भूकम्प : रूकुमपश्चिममा २९ हजार लाभग्राहीले पाए पहिलो किस्ता

  त्रिवेणी । जाजरकोट भूकम्पबाट पीडित रुकुमपश्चिमक २९ हजार एक सय ३३ लाभग्राहीले अस्थायी आवास निर्णाण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार कूल ३१ हजार छ सय २० लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम निकासा भइसकेको छ । जिल्लाका छवटै पालिकाका २९ हजार एक सय ३३ लाभग्राहीले पहिलो किस्ताबापत रु २५ हजारका दरले रकम प्राप्त गरेका हुन् । उहाँका अनुसार सबै भन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा एक हजार पाँच सय ४७ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका हन् । त्यस्तै सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय ६१, त्रिवेणी गाउँपालिकामा चार हजार एक सय १५, चौरजहारी नगरपालिकामा छ हजार दुई सय ७९ र बाँफीकोट गाउँपालिकामा एक हजार ६ सय ९९ लाभग्राहीले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम प्राप्त गरेको उनको भनाइ छ । उनका अनुसार छवटै स्थानीय तहमा हालसम्म रु २५ हजारका दरले रु बहत्तर करोड ८३ लाख २५ हजार रकम लाभग्राहीले प्राप्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापन कोषबाट भने ३१ हजार ६ सय २० लाभग्राहीको लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा रु ७९ करोड पाँच लाख पठाएको छ । जिल्लामा हालसम्म २४ हजार सात सय २६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् भने पाँच हजार नौ सय ७६ अस्थायी आवास निर्माणको चरणमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिए । जिल्ला अझै दुई हजार चार सय ८७ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी छ । रासस

स्वस्तिमा खड्का शाओमीको ब्रान्ड एम्बास्डरमा नियुक्त

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बास्डरको रुपमा नियुक्त गरेको छ । स्वस्तिमा खड्का आफ्नो अभिनय क्षमताको लागि पछिल्लो समय निकै लोकप्रिय अभिनेत्री हुन् । यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीज्युले भने, ‘नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हाम्रो सहकार्यले शाओमीले अझ उचाई लिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’ यस्तै नवनियुक्त ब्रान्ड एम्बास्डर स्वस्तिमा खड्काले भनिन्, ‘शाओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा म निकै गौरवान्वित छु । अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरु र एआइओटी प्रोडक्टहरु प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ । मलाई यो अवसर दिएकोमा शाओमीप्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्याउनेछ।’

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेकालाई रिहा गर्ने आदेशप्रति उपप्रधानमन्त्री श्रेष्ठको असन्तुष्टि

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलगायतका ३ जनालाई रिहा गर्ने अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आईतबार प्रतिनिधि सभा अन्तर्गतको राज्यको व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले जिल्ला अदालत काठमाडौंमा २ दिनको म्याद दिएर अनुसन्धान नै गर्न नदिई गरिएको सो फैसला नेपालको न्यायिक इतिहासकै पहिलो फैसला भएको जिकिर समेत गरे । उपप्रधानमन्त्री श्रेष्ठले नेपाल प्रहरीले अपराध अनुसन्धान विभागले म्याद थप गर्न पाउने भएपनि त्यसको समय नदिएर त्यतिधेरै रोजगारी दिएको भन्ने जस्ता भाषा अदालतको फैसला आएको कुरालाई सम्बन्धित निकायले समिक्षा गर्नुपर्ने समेत बताए । सरकारले अदालतको निर्णय मान्ने भएकाले त्यसको कार्यान्वयन पूर्ण रुपमा हुने पनि बताए । अदालतको सो निर्णयको कार्यान्वयन गर्ने र सरकारले त्यो मुद्दालाई अघि बढाउने जानकारी दिए । ‘राज्यको कार्यकारी अंग सरकार हो । तर त्यसमा हामीले हस्तक्षेप गर्न मिल्दैन । कतिपय कुरा अदालतले निर्णय गरेका कुरा भन्दा हामीले गरेको भनेर अनुभुति पनि गरिराखेका हुन्छौं । तर अदालतले गरेको निर्णय लागू गर्नु बाहेक हामीले अरु केही गर्न सक्दैनौं ।  अदालतको सम्बन्धित निकायहरुले समिक्षा गर्ला वा सोच्ला भन्ने हामी चाहन्छौं । तर अदालतको निर्णय हामी कार्यान्वयन गर्छौं । अब रह्यो अदालतले अहिले पुर्पक्षमा नराख्ने भनेर न छोडेको हो । तर हामीले मुद्दा छोडेको छैन’, उनले भने । उपप्रधानमन्त्री श्रेष्ठले सो मुद्दामा संलग्न जोकोहीलाई पनि कारबाही गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । गत २२ माघमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक समिति सदस्य अरुण चौधरी, अध्यक्ष सञ्जय ठाकुर र तत्कालिन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई २ दिनभित्र रिहा गर्न आदेश दिएको थियो ।

लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न अर्थमन्त्री डा. महतको निर्देशन

झापा । अर्थमन्त्री डा. प्रकाशशरण महतले काँकरभिठ्ठा, भद्रपुर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालय भद्रपुरको निरीक्षणसँगै वर्तमान अवस्थाको जानकारी लिएका छन् । दमक उद्योग वाणिज्य सङ्घले आजदेखि सुरु गरेको १५ दिने पाँचौँ दमक महोत्सवको उद्घाटन गर्न झापा आउनु भएका अर्थमन्त्री महतले भन्सारको निरीक्षणसहित व्यवसायीहरुसँग भेटघाट गरेका हुन् । निरीक्षणपछि मेची भन्सार कार्यालयमा आयोजित कार्यक्रममा उनले दुवै भन्सार कार्यालयलाई मासिक रुपमा कार्यालयले लिएको लक्ष्यअनुरुपको राजस्व सङ्कलन गर्न निर्देशन दिए । उनले सीमा क्षेत्रबाट हुने चोरी, पैठारी नियन्त्रणका लागि भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व कार्यालयलाई एकताबद्ध भएर कडाइका साथ लाग्न आग्रह गरे । ‘राजस्व घटेमा देशको आम्दानीको स्रोत घट्छ’, अर्थमन्त्री महतले भने, ‘राजस्व घटेमा शिक्षा, स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रमा लगानी गर्नुपर्ने ठाउँमा सरकारले लगानी गर्न सक्दैन । राजस्व चुहावट रोक्न सबै क्षेत्र क्रियाशील बन्नुपर्छ ।’ उनले मेची भन्सार मुलुककै महत्वपूर्ण भन्सारमध्ये एक रहेको बताए । उनले एशियन राजमार्गको विस्तारसँगै यसको महत्व झन् बढ्ने बताउँदै व्यवसायीलाई समेत निराश नहुन आग्रह गरे । सो अवसरमा मेची भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद रेग्मीले विगतको तुलनामा राजस्व सङ्कलन कम हुँदै गएको, मुख्य नाका भए पनि काँकरभिठ्ठा मन्त्रालयबाट छाँयामा परेको बारेमा अर्थमन्त्री डा महतको ध्यानाकर्षण गराए । निरीक्षणका क्रममा भद्रपुर भन्सार कार्यालयको भौतिक संरचना अझै निर्माण हुन नसकेको र अधिग्रहण गर्न लागेको जग्गाको बाँकी रहेको मुआब्जा रकम तत्काल उपलब्ध गराइदिने भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, उद्योगी तथा व्यवसायीले अर्थमन्त्रीसँग माग गरेका थिए ।

स्थायी बसोबास गर्न एक वर्षमा ७१ हजार नेपाली गए विदेश

फाइल फोटो काठमाडौं । नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोवासको लागि गएका छन् । आईतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो । विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोवास गर्नको लागि विदेश जाने नेपालीको संख्या ७० हजार ९१५ जना रहेको जानकारी दिएको हो । समिति बैठकमा बोल्दै अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताए । उनले पछिल्लो एक वर्षमा विदेश गएकामध्ये ३ लाख ४० हजार ३६९ जना नेपाली विदेशमा नै बसेको बताए । नेपालबाट विदेशमा बसेका छोरा छोरीकोमा नातासम्बन्ध भिसामा १ लाख ६७ हजार ४८५ जना नेपाली विदेशमा रहेको बताए । भ्रमण तथा धार्मिक प्रयोजनको लागि १ लाख ४ हजार ५१५ नागरिक नेपालबाट विदेश गएको तथ्याङ्क विभागसँग रहेको बताए । ‘सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेशिँदा १२ लाख ६३ हजार ४६९ भित्रिए । ३ लाख ४० हजार ३६९ जना नेपाली विदेशमा नै बसेका छन् । नेपालमा विद्यमान भिसालाई परिवर्तन र थप गरी सरलीकृत गर्न आवश्यक छ । भ्रमण भिसामा भित्रनेपछि कामदार भिषामा परिमार्जन गर्नुपर्ने अवस्था छ । अध्ययन भिसामा आएर कामदार भिसामा परिवर्तन गर्ने, भ्रमण भिसामा आउनेहरु अध्ययन भिसामा बस्ने परिवर्तन भइरहेको छ । अध्ययन भिसा, कामदार भिसा, रिटायरमेन्ट भिसा, मेडिकल, भिसा, धार्मिक भिसा, खेलकुद भिसा लगायत अन्य प्रकारका भिसाहरु थप्नुपर्ने अवस्था छ’, उनले भने । उनले सन् २०२३ मा विभिन्न कारणबाट ४५९ विदेशी नागरिकलाई नेपालबाट निस्काषन गरिएको बताए । सन् २०१७ मा ५५९, २०१८ मा ६७८, २०१९ मा ६७१,२०२० मा ३३२, २०२१ ३०८ र २०२२ मा ५७० जना विदेशी नागरिकलाई विभिन्न कारणबाट नेपालबाट निस्काषन गरिएको बताए । गैरआवसीय नेपाली नागरिकता लिएका नेपाली मुलका विदेशीहरुको भिसा शुल्क सम्बन्धमा स्पष्ट नभएकाले समस्या आएको जानकारी दिए ।

रवि लामिछानेको प्रश्न : विनोद चौधरीलाई किन अनुसन्धानको दायरामा ल्याइएन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली काँग्रेसका सांसद विनोद चौधरीलाई किन बयान नलिएको भनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेको छन् । आईतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले बाँसवारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीको जति नै सांसद विनोद चौधरीको पनि शेयर देखिएको भन्दै उनलाई किन अनुसन्धान नगरिएको भनि प्रश्न गरेका हुन् । उनले अनुसन्धानको दायरामा राखेर विनोद चौधरीलाई किन बयान लिइएन भनि प्रश्न गरे । उनले पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतिक थापा बारे के पत्ता लाग्यो र खोज्ने प्रक्रिया कहाँ पुग्यो भनि प्रश्न समेत गरे । त्यस्तै इन्द्रजित राईका छोरा निरजबारे पनि उनले प्रश्न गरे । ‘बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीलाई केही दिन अगाडी हिरासतमा राखिएको देखियो । तर अनुसन्धानको दायरामा राखेर बयान त लिन सकिन्थ्यो होला । बयान लिइयो कि लिइएन ? अरुण चौधरीको जति कित्ता शेयर छ त्यति नै कित्ता अन्यको पनि छ । पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार रहेका छोरा प्रतिक थापाबारे केही पत्ता लाग्यो कि लागेन ? इन्द्रजित राईका फरार रहेका छोरा निरजबारे केही पत्ता लाग्यो कि लागेन ? मुद्दा चलिरहेका विचौलियाहरुले नाम पोलेका पूर्व गृहमन्त्री रामबहादुर थापाको श्रीमति नैनकला थापाको अनुसन्धानबारे के भयो ? यसबारे पनि केही अपडेट छन् भने अपडेट दिनुहोला’, उनले भने । उनले मुद्दा चलिरहेका विचौलियाहरुले पूर्वगृहमन्त्री रामबहादुर थापाको श्रीमति नैककला थापाको पनि नाम पोलेको भन्दै उनीाथि अनुसन्धान भए/नभएको जानकारी गराउन समेत माग गरे ।

पाथीभरामा केबलकार निर्माण गर्न स्थानीय जनप्रतिनिधिको माग, पर्यटकको सङ्ख्या बढ्ने

ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधिहरुले यहाँस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा जतिसक्दो धेरै धार्मिक पर्यटक भित्र्याउन केबलकार निर्माण हुनुपर्ने बताएका छन् । केबलकार निर्माणपछि यहाँ आउने भक्तजन एवं आन्तरिक तथा बाह्य पर्यटकका कारण यस जिल्लाको मात्र नभएर पाँचथर, इलाम हुँदै सिङ्गो कोशी प्रदेशकै विकासमा ठूलो टेवा पुग्ने भएकाले विकास निर्माण नरोकी जतिसक्दो चाँडो अघि बढाउनुपर्ने उनीहरुले बताएका हुन् । केबलकारसँगै यहाँ अन्य पर्यटकीय पूर्वाधार निर्माण भए आर्थिक रुपमा समग्र जिल्लालाई फाइदा पुग्ने यहाँका स्थानीय सरकारका प्रमुखहरुको धारणा छ । उनीहरुले पाथीभरामा केबलकार निर्माण गर्न सकिएमा आन्तरिक एवं भारतीय धार्मिक पर्यटकका साथै कञ्चनजङ्घा आधार शिविर आउने विदेशी पर्यटकको सङ्ख्या बढ्ने बताएका छन् । अहिले यहाँ देवीको दर्शन गर्न तथा पर्यटकका रुपमा वार्षिक तीनदेखि चार लाखसम्म धार्मिक पर्यटक एवं तीर्थालु आउने गरेकामा केबलकार बनेपछि कम्तीमा १५ लाखसम्म पर्यटक यहाँ आउने उनीहरुको आकलन छ । त्यसैले उनीहरुका लागि होटल, रेष्टुरेन्ट एवं यातायातजस्ता आधारभूत पर्यटकीय पूर्वाधारको निर्माण समेत हुने भएकाले यो बृहत आयोजनाले ताप्लेजुङको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुको भनाइ छ । यहाँको फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरा देवीको मन्दिरमा जाने प्रयोजनका लागि बन्न लागेको प्रस्तावित केबलकारबाट जिल्लाको मात्र नभएर सिङ्गो कोशी प्रदेशमा नै विकासको बाटो खुल्ने भएकाले यो बृहत आयोजनालाई जतिसक्दो चाँडै अघि बढाउनुपर्ने बताउँछन् । आफू त्यसका लागि लागिपरेको र अर्बौं रुपैयाँको यो ‘मेगा प्रोजेक्ट’ यहाँ भित्र्याउन सकिएमा यसले आफ्नो पालिकामात्र नभएर जिल्लाकै आर्थिक विकासमा ठूलो योगदान दिन सक्ने उनको भनाइ छ । पाथीभरा देवीको मन्दिर फुङलिङ नगरपालिका, सिरीजङ्घा गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाको सङ्गममा पर्दछ । “यहाँ केबलकार बनेपछि वर्षमा कम्तीमा १५ लाख मानिस यहाँ आए भने हामीलाई रोजगारीमात्र नभएर स्थानीय उत्पादनको बजार र यहाँको जीवनस्तर विकासमा ठूलो सहयोग पुग्नेछ । त्यसैले हामी प्रस्तावित यो ‘मेगा प्रोजेक्ट’लाई जतिसक्दो चाँडै सम्पन्न गर्नुपर्छ भनेर लागिपरेका छौँ”, उनले भने । प्रमुख मादेनले केबलकार निर्माण कम्पनीले मन्दिरलाई पर्खाल लगाएर संरक्षण गर्ने र यसको ऐतिहासिकता र सौन्दर्यमा कुनै असर नपर्नेगरी मन्दिरबाट करिब आठ सय मिटर तल केबलकारको टप स्टेसन राखेर त्यहाँबाट हिँडेर जानेगरी निर्माण प्रस्ताव गरेको जानकारी दिए । अर्बौं लगानीको यो अवसरलाई हामीले छोड्यौँ भने ताप्लेजुङवासीको भाग्य पनि फुत्किन्छ भनेर आफू लागिपरेको र यसका लागि सबै जिल्लाबासी नै लाग्नुपर्ने उनले बताए । सो केबलकार निर्माणका विषयमा कतिपयले विरोध पनि गरिरहेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “अहिलेको युगमा आएर पनि मेरो मन्दिर, मेरो बाटो भन्नेजस्ता कुरा गरेर कहाँ हुन्छ रु मन्दिर सबैका लागि खुला सम्पदा हो । यहाँ केबलकार बन्नु भनेको पनि सबै तीर्थालुकै सजिलोका लागि हो । अनि केबलकार निर्माण गर्दा जिल्ला र प्रदेशकै कायापलट हुन्छ भने केहीले विकास निर्माण गर्नै दिन्नौँ भन्दैमा कहाँ हुन्छ ?” केही स्थानीयले मन्दिरको सौन्दर्य बिग्रिने र मौलिकता हराउन सक्ने भन्दै निर्माणको विरोध गरे पनि स्थानीय तहका प्रतिनिधिहरु तथा निर्माण कम्पनीले मन्दिरको आसपासमा कुनै पनि संरचना नबन्ने, केबलकारको टप स्टेसन पनि करिब आठ सय मिटर तलै राखिने र अहिलेकै पदमार्ग हुँदै पाथीभरा मन्दिरको वर्तमान प्रवेशद्वारबाटै भक्तजनहरु जान सकिनेगरी निर्माणको प्रस्ताव भएकाले केबलकार निर्माणको विरोधको कुनै अर्थ नरहेको बताएका छन् । प्रमुख मादेन भन्छन् “यो हाम्रो सभ्यता र पवित्र मुन्धुम थलो हो । अहिलेको जमानामा आएर पनि तेरो र मेरो धर्म भन्ने कुरा हुँदैन । देवीप्रति आस्था राखेर आउने सबैलाई स्वागत गर्नुपर्छ । अनि विरोधका कुरा पनि सबैका सुन्नुपर्छ । तर कुनै पनि बहानामा विकासको काम रोक्नु हुदैन । एक पटक विनाश र विरोध नभई विकास पनि त हुँदैन । त्यसैले हाम्रो अधिकार हो, केबलकार बनाउने नै हो ।” पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा पर्दछ । यहाँ बर्सेनि करिब तीनदेखि चार लाखसम्म धार्मिक पर्यटक पुग्ने गर्दछन् । धेरै उचाइमा मन्दिर रहेकाले यहाँ पुग्न तीर्थालुलाई गाह्रो पर्ने गरेको छ । त्यसैले केबलकार निर्माण गर्न सकिएमा यहाँ जाने धार्मिक पर्यटकलाई सजिलो होस् भनेर गएको दशकदेखि नै यहाँ केबलकार निर्माण सुरु गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । यहाँ पाथिभरा मुकुम्लुङ केबलकार निर्माण कम्पनीले केबलकार निर्माणको प्रक्रिया सुरु गर्न लागेको छ । स्थानीयहरुले भने कम्पनीलाई चाँडै काम थाल्न भनेका छन् । उनीहरुले देशका विभिन्न धार्मिक पर्यटकीय स्थानहरुमा धमाधम केबलकारदेखि अन्य पर्यटन पूर्वाधारहरु बनिरहेका बेला पाथीभरामा पनि जतिसक्दो चाँडै काम थाल्न भनेका हुन् । उनीहरु इलामको एक चिया बगानमा त बर्सेनि लाखौँ मानिस जान्छन् भने यहाँ केबलकार बन्दा ताप्लेजुङ मात्र नभएर छिमेकी पाँचथर, इलाम जिल्लाको पनि उन्नति हुने तथा प्रसिद्ध कञ्चनजङ्घा जाने पदयात्रीको पनि बाटो छोटो र सोझो हुने भएकाले आन्तरिक धार्मिकका अतिरिक्त विदेशी पर्यटक भित्र्याउन पनि सघाउ पुग्ने स्थानीयको भनाई छ । केबलकार बन्ने भएपछि यहाँ आउने करिब १५ लाख पर्यटकका कारण स्थानीयले रोजगारीका साथै कम्पनीको पनि १० प्रतिशत शेयर पाउने, यहाँको उत्पादनले बजार पाउने तथा स्थानीय उपजले सहजै बजार पाउने भन्दै स्थानीय भने चाँडो केबलकार र अन्य पर्यटकीय पूर्वाधार निर्माणका लागि लाग्न आग्रह गर्दछन् । यहाँ केबलकार र यसका कारण सडक यातायात पनि बन्ने भएकाले विदेशी पर्यटकका लागि कञ्चनजङ्घाको पदमार्ग थप सजिलो हुनुका साथै देवीको दर्शन गर्न भारतको पश्चिम बङ्गाल, दिल्ली, बिहारका समेत गरी लाखौँ धार्मिक पर्यटक भित्रिने अनुमान स्थानीय तहको छ । सिरीजङ्घा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले पाथीभरामा तीर्थयात्रीको सङ्ख्या वृद्धि गर्न र यहाँको विकास अघि बढाउन केबलकार बन्नुपर्नेमा जोड दिएका छन् । केबलकार बनेमा समग्र जिल्लाकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भन्दै मन्दिरको संरचना र ऐतिहासिकतामा असर नपुग्ने गरी केबलकार निर्माण गर्दा राम्रो हुने उनको सुझाव छ । पर्यटकको आगमन बढ्दा आर्थिक रुपमा जिल्लालाई फाइदा पुग्ने भएकाले स्थानीय तहलाई समेत सम्बोधन गरेर निर्माण हुनुपर्ने उनले बताए । यता फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले जिल्लाबासीका सुझाव एवं मागलाई उचित रुपमा सम्बोधन गरेर निर्माण अघि बढाउन सुझाउँछन् । विवादबीचमा निर्माण सुरु गर्नुभन्दा यहाँका स्थानीय नागरिकका कुरा सुनेर र विवाद समाधान गरेर अघि बढ्नु उचित हुने उनको भनाइ छ । मन्दिरको प्राकृतिक स्वरुप र ऐतिहासिकतामा असर नपुग्ने गरी निर्माण गरिने प्रतिबद्धता आएकाले यस कुरालाई स्थानीयसँग बसेर विश्वास कायम गरी निर्माण अघि बढाउन उचित हुने उनले बताए । यहाँ केबलकार बन्दा पर्यटन प्रवद्र्धनका लागि भौतिक विकासका गतिविधिले सहयोग पु्ग्ने उनको भनाइ छ । यसैबीच केबलकार निर्माणको विरोधमा रहेका केही स्थानीयसँग छलफल गर्न सोमबार बैठक पनि आह्वान गरिएको छ । निर्माणप्रति असहमति जनाइरहेको पक्षसँग समन्वय गर्नका लागि यसअघि जिल्ला समन्वय समितका प्रमुख छिरिङ लामाको संयोजकत्वमा गठित समितिले सोमबार छलफलको आयोजना गरेको हो । “केबलकार निर्माणको विरोधमा रहेको पक्षसँग सोमबार छलफलको तयारी भएको छ, हामीले लिखितरुपमा आफ्ना माग लिएर आउनुहोस भनेका छौँ, उचित र सम्बोधन गर्न सकिने मागका सम्बन्धमा छलफल गरेर निर्माण प्रक्रिया अघि बढाउने वातावरण बनाउछौँ”, जिल्ला समन्वय समितिका प्रमुख लामाले भने,  “हामी विकास निर्माणको कामलाई अघि बढाउनुपर्छ भन्नेमा छौँ र यसबारेमा भोलिको बैठकमा आवश्यक छलफल गर्नेछौँ ।” यता केबलकार खारेजी संयुक्त संघर्ष समितिले भने पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न नुहने अडान कायमै राखेको छ । ऐतिहासिक मुन्धुमी स्थलमा केबलकार निर्माण भए ऐतिहासिकता मेटिनुका साथै जल जमिन र जङ्गलको बिनास हुने उनीहरुको जिकिर छ । यहाँ केबलकार निर्माण गर्ने चर्चा करिब दश वर्षअघिदेखि भए पनि निर्माण भने हुन सकेको छैन । त्यसैले यसपटक केबलकार निर्माणका क्षेत्रमा अनुभवी कम्पनी पाथीभरा ९मुक्कुमलुङ० दर्शन केबलकार प्रालिले निर्माणको अनुमति पाएकाले निर्माणको वातावरण बनाउनुपर्नेमा जिल्लाका सबै राजनीतिक दल र जनप्रतिनिधि छन् । यसअघिका छलफलमा यहाँका प्रमुख राजनीतिक दलहरुले केबलकार निर्माणलाई चाँडै अघि बढाउन माग गरेका थिए । आन्तरिक रुपमा देखिनसक्ने सबै प्रकारका विवादको समाधान गरेर जिल्लाको पर्यटन प्रर्वद्धनका लागि केबलकार र यससहितका पर्यटन पूर्वाधार निर्माणका कामलाई अघि बढाउन दलहरु सकारात्मक देखिएका हुन् । रासस

काठमाडौंको सडक डिभिजन कार्यालयमा आगलागी

काठमाडौं । काठमाडौंको बबरमहलस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ । आइतबार दिउँसो करिब २ बजेतिर आगलागी भएको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार हाल हाल भने आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । केही सामानहरूमा क्षति पुगेको छ भने पूर्ण क्षतिको विवरण भने आउन बाँकी रहेको उक्त स्रोतले जनायो ।