खगेन्द्र नवजीवन केन्द्रको बेथिति, अपाङ्ग कल्याण कोषबाट पदाधिकारीलाई गाडी
काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आश्रित दृष्टिविहीन ५४ वर्षीय न्हुच्छेबहादुर माझी मुटुरोगसँग लडिरहेका छन् । दृष्टिविहीन हुँदा झेल्नुपरेको सङ्घर्ष छँदै थियो । त्यसमाथि मुटुको रोग पनि थपिएको छ । चिकित्सकले २०७७ सालमै मुटुको भल्भ फेर्नुपर्ने सल्लाह दिए पनि स्वास्थ्यमा सामान्य सुधार आएपछि उनी नियमित स्वास्थ्य परीक्षण र औषधी सेवन गरिरहेका छन् । २०३६ सालदेखि खगेन्द्र नवजीवन केन्द्रमै रहेका माझीलाई अहिले स्वास्थ्योपचारमा निकै सकस बेहोर्नुपरिरहेको छ । दुई वर्षसम्म केन्द्रले गाडीको व्यवस्था गथ्र्यो । अहिले त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आउजाउ गर्न माइक्रोबस प्रयोग गर्नु पर्छ । उनले भने, ‘पहिले कार्यालयकै गाडीमा लाने गरेको थियो । अहिले अध्यक्षले माइक्रोबसमा जानु, गाडी छैन भन्छन् । दुई वटा गाडी फेरेर जान साह्रै समस्या हुन्छ ।’ माझी मात्रै होइन, नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिले उपचारका लागि निकै सकस र तनाव झेलिरहनुपरेको गुनासो गरेका छन् । अपाङ्गता भएका व्यक्तिका लागि बनाइएको अपाङ्ग सहायता कोषका लागि आएको रकम पदाधिकारीलाई महँगो गाडी किन्न खर्च गरिएपछि केन्द्रमा आश्रित नागरिकका लागि एम्बुलेन्स छैन । बा १६ च ६३४ नम्बरको महिन्द्रा स्कोर्पियो गाडी सङ्घका अध्यक्ष र महासचिवले प्रयोग गर्दै आएका छन् । आर्थिक वर्ष २०७३र७४ मा सङ्घका पदाधिकारीका लागि स्कोर्पियो गाडी खरिद गरिएको छ । सङ्घ परिसरमै रहेको नेपाल अर्थोपेडिक अस्पतालले वार्षिक रूपमा १२ लाख रुपियाँ दिने गरे पनि झन्डै चार वर्षको एकमुष्ट लिएर र अपुग २० लाख रुपियाँ सङ्घकै कर्मचारी उपदान कोषबाट लिएर उक्त गाडी खरिद गरिएको हो । सङ्घका तत्कालीन अध्यक्ष मोहन महर्जनले भने, ‘अर्थोपेडिक अस्पतालले कोषमा जम्मा गर्ने रकम गाडी किन्न चाहिएपछि दिएर स्कोर्पियो कार किनेका हौँ । ५८ लाख रुपियाँमा त्यो गाडी किनिएको हो ।’ उनी २०७१ सालदेखि पाँच वर्ष छ महिना सङ्घको अध्यक्ष थिए। उनले सङ्घको कर्मचारी उपदान कोषबाट १० लाख रुपैयाँ निकालिएको बताए पनि त्यति बेलाको निर्णयमा २० लाख रुपैयाँ निकासा भएको कागजातमा देखिएको छ । उक्त रकम हालसम्म पनि शोधभर्ना गरिएको छैन । धेरै भएकाले आफूले बिर्सेको बताउँदै केन्द्रका तत्कालीन अध्यक्ष महर्जनले भने, ‘केन्द्रका आश्रितका लागि एम्बुलेन्स आफ्नै अस्पतालको छ । हाडजोर्नीसँग सम्बन्धित रोगको उपचार त्यहीँ हुन्छ । हामीलाई बाहिर जान गाडी चाहियो । त्यसैले किनेका थियौँ ।’ गैरनाफामूलक रूपमा प्रयोग गर्ने गरी कोष खडा गर्न र अपाङ्गता भएका र अशक्त व्यक्तिका लागि आएको अनुदानकै रकम दुरुपयोग गरी महँगो सवारीसाधन (स्कोर्पियो) खरिद गरिएको छ । उक्त गाडी सङ्घका अध्यक्ष साम्देन लामा र महासचिव शिवचन्द्र साहले प्रयोग गरिरहेका छन् । अपाङ्गता भएका व्यक्तिले बिरामी भएर अस्पताल जाँदा व्यक्तिगत खर्चमै अपाङ्गतामैत्री व्यवस्था नभएका सार्वजनिक यातायातमा जानुपर्ने बाध्यता छ । अध्यक्ष लामाले सबैलाई गाडी दिएर सम्भव नहुने जिकिर गर्दै भने, ‘मलाई केही थाहा छैन, म चढ्छु मात्रै । वास्तै गरेको छैन । व्यस्त छु, बुझेर खबर गर्छु । अध्यक्ष भएर मैले केही गरेकै छैन ।’ अध्यक्ष लामाले साह्रै अशक्त बिरामीलाई अर्थोपेडिक अस्पतालकै एम्बुलेन्समा लाने ल्याउने गरेको दाबी गरे। उनले यस्तो दाबी गरिरहँदा केन्द्रमा आश्रित दृष्टिविहीन माझीसहित धेरैलाई एम्बुलेन्सको पहुँच उपलब्ध छैन । माझीले भने, ‘निकै गाह्रो नभई एम्बुलेन्स छुन पनि पाइँदैन । हामी समस्यामा छौँ ।’ अध्यक्ष लामाले अर्थोपेडिक अस्पतालकै एम्बुलेन्समा बिरामी पठाउने गरेको दाबी गरे। उनले भने, ‘अस्पतालकै एम्बुलेन्स प्रयोग हुन्छ, हामीलाई त चाहियो नि, यत्रो काम गर्छौं ।’ आजको गोरखापत्रमा समाचार छ ।
धुलिखेलमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन हुँदै, १५० विश्वविद्यालयका उपकुलपति आउने
काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) ले भोलि बिहीबारदेखि ‘अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन’को आयोजना गरेको छ । केयूले नेपालको शैक्षिक इतिहासमा पहिलोपटक तीन दिने सो सम्मेलन आयोजना गर्न लागेको हो । नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा विश्वविद्यालयको सम्बन्ध स्थापित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलनको आयोजना गरेको केयूका उपकुलपति प्रा.डा. भोला थापाले जानकारी दिए । उनका अनुसार भारतीय विश्वविद्यालय सङ्घको आयोजना एवं काठमाडौं विश्वविद्यालयको व्यवस्थापनमा आयोजित सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, मलेसिया, थाइल्याण्डलगायत एक सय ५० देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्को उपस्थिति रहने छ । सम्मेलनमा विश्वले उच्च शिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुने उपकुलपति थापाले बताताए । सम्मेलनमा दुई सय २७ सहभागीले सहभागिता जनाउने निश्चित गरेको विश्वविद्यालयले जनाएको छ । सम्मेलनमा अधिकांश सहभागी भारतीय विश्वविद्यालयबाट हुनेछन् भने दक्षिण पूर्वी एसियाली क्षेत्र, युरोप र अफ्रिकाका विश्वविद्यालयका प्रतिनिधिसमेत सहभागी हुनेछन् । सम्मेलनमा उच्च शिक्षण संस्थामा भूमण्डलीकरणबारे नयाँ खोज–अनुसन्धान, अन्तर्राष्ट्रिय सहयोग तथा अनुभाव आदानप्रदानलाई प्रोत्साहित गर्ने, साझा सञ्जाल निर्माण, उत्तम साझेदारी अभ्यास, तथा पारस्परिक सहयोग आदानप्रदान गर्ने विषयमा केन्द्रित हुने जनाइएको छ । केयूको प्रवक्ता एक्कुमाया पुनले सम्मेलनमा उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिबारे छलफल, देश-देशका विद्यार्थीबीच अनुसन्धानका अनुभव तथा पाठ्यक्रम विकाससहितका विषयमा समेत बृहत् छलफल हुने बताइन् । यस्तै सम्मेलनमा उच्च शिक्षामा अन्तर्राष्ट्रिय सहयोग र साझेदारीका विषयमा विज्ञ–विशेषज्ञबाट अनुसन्धान साझेदारी, विद्यार्थी आदानप्रदान कार्यक्रम, संयुक्त डिग्री कार्यक्रम र प्राज्ञिक साझेदारीका फाइदा, उच्च शिक्षाको विश्वव्यापी नीति, नियमन तथा समान मानक, विद्यार्थी गतिशीलता र त्यसको विविधतामा अन्तर्राष्ट्रिय अनुभवका बारे कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ । साथै सम्मेलनमा नेपाल चिनाउन विभिन्न जातजातिको सांस्कृतिक झाँकी, नेपाली सङ्गीत चिनाउन केयू स्कुल अफ आर्टस्का साथै कुटुम्ब ब्याण्ड तथा नेपाल प्रहरीको सांस्कृतिक टोलीले नेपालको सातै प्रदेश, हिमाल, तराई, पहाडको नाचगान र संस्कृतिबारे नेपाली लोकबाजा प्रस्तुति रहेको जनाइएको छ । केयूले यसअघि पुस दोस्रो साता एकेडेमिया इण्डष्ट्री को–ओपरेशनले ‘एकेडेमिया इण्डष्ट्री मिट–२०२३’ को आयोजना गरेको थियो । नेपालमा पहिलोपटक आयोजना गरेका उक्त मिटमा सरकार, उद्योग र प्राज्ञिक संस्थालाई एकै छातामुनि आबद्ध गराई देश विकासमा सहकार्य गर्ने उद्देश्यले तीन क्षेत्रका बौद्धिक व्यक्तित्वलाई मिटमा सहभागी गराएको थियो । उक्त कार्यक्रममा देशको शिक्षा, उद्योग र नीति–निर्माणमा रहेका विद्यमान समस्याको पहिचान गरी समाधान, अनुसन्धान र उद्योगबीच सहकार्य बढाउँदै औद्योगिक विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने तथा राज्यको नीतिलाई रोजगारमुखी र औद्योगिकमैत्री बनाउने विषयमा बृहत् छलफल तथा अन्तर्क्रिया भएको थियो । उपकुलपति थापाका अनुसार उक्त सम्मेलनमा पछिल्लो समय नेपालको उच्च शिक्षामा देखापरेको समस्या, चुनौती तथा विद्यार्थीको बाहिरिँदो क्रमलाई रोक्न र रोजगार सिर्जनाका लागि नयाँ विकल्पबारे महत्त्वपूर्ण छलफल भएको थियो । उनका अनुसार यस्तो सम्मेलनलाई आवश्कयतानुसार निरन्तरता दिइने योजना बनाइएको छ । रासस
महिला राइडरलाई रोयल इन्फिल्डको सडक सुरक्षासम्बन्धी प्रशिक्षण
काठमाडौं । रोयल इन्फिल्डले महिला चालकका लागि सडक सुरक्षा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘रोयल इन्फिल्ड लेडी राइडस् रोड सेफिटी राइड ट्रेनिङ’को आयोजन गरेको हो । यस प्रशिक्षण कार्यक्रममा २१ जनाको सहभागी रहेका थिए । कार्यक्रममा ललितपुर प्रहरी प्रमुख सीताराम हाछेथु र रोयल इन्फिल्ड टोलीले सडक सुरक्षासम्बन्धी जानकारी दिएको थियो ।
महालक्ष्मी विकास बैंकले १०.९९ प्रतिशतमा कर्जा दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले सस्तो व्याजदरमा ऋण योजना ल्याएको छ । बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायीक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) माआकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरु ल्याएको हो । सो योजना अन्तर्गत महालक्ष्मी घर कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मात्र ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने जनाइएको छ । तिनै प्रकारको कर्जाहरुमा पहिलो १ वर्षको लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशत सम्म छुट प्रदान गर्न सकिने बैंकले जनाएको छ । साथै आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको ३ कार्य दिन भित्र नै कर्जा प्रवाह गरिनेछ । उक्त योजना अनुसार आवासीय/व्यापारिक घर/जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न महालक्ष्मी घर कर्जा अन्तर्गत न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधि रहने गरी रु. ५ करोड सम्मको कर्जा प्रदान गरिने बैंकले जनाएको छ । साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्ष देखी १५ वर्षको अवधि सम्मको लागि १०.९९ प्रतिशतमा व्यवसायिक कर्जा प्रदान गर्ने योजना ल्याएको छ । त्यसै गरी, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिनेछ । सवारी कर्जा (व्यक्तिगत) को न्यूनतम अवधि २ वर्ष र अधिकतम अवधि ५ वर्ष सम्म रहनेछ । विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा र अन्य सवारीमा कोटेशन मूल्यको ५० प्रतिशत सम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।
ग्लोबल आइएमईमा दुई हजारमा आजिवन डिम्याट र मेरो सेयर नविकरण गर्न सकिने
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलमा दुई हजार रुपैयाँमा नै आजिवन डिम्याट र मेरो सेयर नविकरण गर्न सकिने भएको छ । क्यापिटलले मंगलबार देखि लागु हुने गरी हितग्राही खाता र मेरो सेयरको आजिवन नविकरण गर्ने नयाँ योजनाको शुभारम्भ गरेको छ । बैंकका अनुसार ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई बैंकको नेपालभरको शाखा कार्यालयहरुबाट यो योजना सञ्चालन हुने र हितग्राही खाता खोलिसकेका एवं अब उप्रान्त नयाँ खाता खोल्ने हितग्राहीहरुको लागि डिम्याट र मेरो सेयर खाता खोल्दा एकमुष्ठ २ हजार जम्मा गरी बाँचुञ्जेल आजिवन नविकरण गरिरहनुपर्ने झन्झटबाट मुक्त भई यस योजनाबाट लाभान्वित हुन सकिनेछ । हाल हितग्राही खाता खोल्ने र मेरो शेयर सेवा लिने ग्राहकहरुले प्रत्येक वर्ष क्रमशः १०० रुपैयाँ र ५०रुपैयाँ भुक्तानी गरी नविकरण गर्नुपर्ने व्यवस्था रहेको छ । यदि ग्राहकले प्रत्येक वर्ष नविकरण नगरेको अवस्थामा हितग्राही खाता फ्रिज भई दोस्रो बजारमा कारोबार गर्न नसकिने एवं मेरो शेयर नविकरण हुन नसकेमा अनलाइन प्रणाली प्रयोग गर्न नपाउने विद्यमान व्यवस्था रहेको सन्दर्भमा ग्राहकहरुको हित र सुविधालाई मध्यनजर गरी क्यापिटलले यस्तो सुविधा ल्याएको हो । यस योजनामा एकपटक २ हजार रुपैयाँ जम्मा गरी योजनामा आबद्घ हुन सकिनेछ । साथै, ३ वर्षभित्र हितग्राही खाता बन्द गर्नुपरेमा २०० रुपैयाँ कट्टा गरी एक हजार ८०० रुपैयाँ फिर्ता, ३ वर्ष वर्षपछि हितग्राही खाता बन्द गरेमा सम्पूर्ण रकम २ हजार फिर्ता गरिने र योजनामा आबद्घ हितग्राहीले पिएमएस सेवा लिन चाहेमा ५० प्रतिशत शुल्क छुट पाइने बैंकले जनाएको छ । साथै, यस अघि मिति २०७८ साउन १४ गतेदेखि लागु रहेको आजिवन डिम्याट खाता र मेरो सेयर सेवा सञ्चालन सम्बन्धी योजनालाई बन्द गरी ग्राहकहरुको लागि अझ बढी सरल बनाउँदै परिष्कृत तथा परिमार्जित गरी यो नयाँ योजना सञ्चालन गरिएको छ ।
नीति खुकुलो हुँदैछ, नेपालमा लगानी गर्नुहोस् : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुबईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । दुबईमा आयोजित वर्ल्ड गभर्मेन्टस् समिटलाई सम्बोधन गर्दै उनले नेपालले आगामी वर्ष वैशाख १६ र १७ मा आयोजना गर्न लागेको लगानी सम्मेलनबारे जानकारी दिँदै लगानी गर्न आग्रह गरेका हुन् । समिटमा सहभागिहरुलाई उनले सरकारले निजी क्षेत्रको सहभागितामा नेपालमा लगानीको अनुकूल वातावरण बनाउन केही ऐन तथा नियमावलीमा संशोधनको प्रस्ताव गरेको गरेकोसमेत जानकारी दिएका थिए । ढकालले सरकारले द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई अन्तिम रूप दिएको र सम्भावित साझेदार मुलुकसँग छिट्टै सम्झौता गर्ने बताए । ढकालले नेपालको अर्थतन्त्र विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि धारणा राखेका थिए । उनले नेपालको आर्थिक वृद्धि र विकासको सम्भावनाबारे भेलालाई जानकारी गराए। ढकालले नेपाल सरकारले व्यवसायिक प्रक्रियालाई सरल बनाउन, नियामकको बोझ घटाउन र पारदर्शिता अभिवृद्धि गर्नका लागि सुधार कार्यान्वयन गरी व्यवसायिक वातावरण सुधार गर्न पहल गरिरहेको बताए ।
‘उपत्यकावासीलाई बाह्रै महिना पानीको व्यवस्था गर्न सरकार प्रयत्नरत छ’
काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौं उपत्यकावासीलाई बाह्रै महिना पानीको व्यवस्था गर्न सरकार प्रयत्नरत रहेको बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १६औं वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले काठमाडौं उपत्यकावासीलाई बाह्रै महिना पानी उपलब्ध गराउन विभिन्न स्थानीय तहमा रहेका पानीको स्रोत खोजीको प्रयास भइरहेको बताए । ‘काठमाडौं उपत्यकामा दैनिक ५१ करोड लिटर पानीको माग छ । हाल १७ करोड लिटरमात्र उपलब्ध गराउन सकिरहेका छौँ,’ मन्त्री यादवले भने । काठमाडौंवासीलाई स्वच्छ पानी उपलब्ध गराउनका लागि स्थानीय सरकारले स्थानीय स्तरमा पानीको स्रोत पहिचान तथा खोजी गरी संरक्षण गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । खानेपानीमन्त्री यादवले उपत्यकामा रहेको खानेपानीको समस्या समाधान गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुनःसंरचना आवश्यक रहेको बताए । उनले मेलम्ची खानेपानी आयोजना ल्याउने प्रतिबद्धता जनाएको २२ वर्ष बितिसक्दा पनि पर्याप्त पानी उपत्याकामा ल्याउन नसकिएको बताए। भौतिक संरचना, प्राविधिक जनशक्ति, आवश्यक उपकरणलगायत अभावका कारण मेलम्ची खानेपानी आयोजनाले निरन्तरता पाउन नसकेको मन्त्री यादवको भनाइ थियो । उनले जलवायु परिवर्तनको कारण मुलुकका हिमाल पग्लने, पानीका मुहान तथा खोला सुक्ने समस्या देखिएको बताए । जलवायु परिवर्तन र विभिन्न वातावरणीय प्रभावले खानेपानीको उपलब्धतामा चुनौती थपिँदै गएको उनको भनाइ थियो ।
बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रबाट हुने आम्दानी स्थानीय विकासमा लगाउन माग
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिइएको छ । लुम्बिनी बचाउ संघर्ष समितिले सो माग गर्दै लुम्बिनी गुरुयोजनाका लागि जग्गा दिनेदेखि संरक्षण र विकासमा स्थानीयको योगदान अतुलनीय रहेको स्पष्ट पारेको छ । समितिले मायादेवी मन्दिर लगायत अन्य स्थानबाट हुने आम्दानी स्थानीय विकासमा लगानी नभएको जनाएको छ । समितिले लुम्बिनी विकास कोषलाई हालै बुझाएको १९ बुँदे ज्ञापनपत्रमा विकास कोष सञ्चालक समितिमा उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यसचिवसहितका पदाधिकारी र दुईजना सदस्य स्थानीय नै रहने गरी विधान संशोधन गर्न समेत माग गरेको छ । त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख, लुम्बिनी क्षेत्रका सङ्घीय सांसद र प्रदेशसभा सदस्य विधानतः पदेन सदस्य हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । समितिले मायादेवी मन्दिरको स्वरूप र संरचना परिवर्तन नगर्ने तथा गुरुयोजनाविपरीतका अनधिकृत संरचना तत्काल हटाउन माग गरेको छ । त्यसैगरी मायादेवी मन्दिरभित्र नित्य पूजा, सन्ध्या आरती तथा दीप प्रज्ज्वलन कार्यक्रमलाई निरन्तरता दिन र मन्दिर दर्शन–अवलोकनका लागि शुल्क नलाग्ने व्यवस्था तत्काल मिलाउन समितिले कोष समक्ष आग्रह गरेको छ । शान्तिपूर्ण धर्मसभा, प्रवचन तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने खालका कार्यक्रम गर्न पाउने कार्यविधि यथाशीघ्र बनाई अन्तर्राष्ट्रिय सभाहललाई सञ्चालनमा ल्याउन तथा कोषको गुरुयोजनामा उल्लेख भएअनुसार कोष परिसरभित्र एक विद्यालय, एक सुविधासम्पन्न अस्पताल र एक बगैँचाको तत्काल निर्माण थालनी गर्न समितिले माग गरेको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘मायादेवी मन्दिरलाई बिहान ५ देखि बेलुका १० बजेसम्म खुला राखिनुपर्छ । पण्डित गङ्गाप्रसाद पाण्डे विगतमा पुस्तौँपुस्तादेखि मायादेवी मन्दिरको पूजापाठ गर्दै आएकामा निजका सन्तानलाई एक स्थान सुरक्षित राख्नु पर्दछ । कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिइनुपर्दछ र लामो समय काम गरेका कर्मचारीलाई स्थायी बनाउनु पर्दछ । लुम्बिनी अधिग्रहणमा परेका किसानलाई परिचयपत्रको व्यवस्था गर्न, बँदेल निलगाईलगायतका जीवजन्तुबाट भएको बालीनालीको क्षतिपूर्ति प्रदान गर्न , एसियाली विकास बैंकबाट अनुदानमा प्राप्त विद्युतीय बस तथा भ्यान आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी यथाशीघ्र सञ्चालन गर्न तथा गेट नं ४ र ५ को बीचमा साना सवारी राख्ने उद्यान निर्माण गर्न सिमल, पिपल, वर, आदिको संरक्षण गर्न, लुम्बिनीमा अहिलेसम्ममा उत्खननका क्रममा भेटिएका ३९ भन्दा बढी मूर्ति तथा अमूल्य पुरातात्विक वस्तुको अभिलेख राख्न समितिले कोषसमक्ष माग राखेको छ ।