विकासन्युज

विदेशी बैंक हाँकिरहेका नेपाली बैंकर

काठमाडौं ।  कुनै समय नेपालमा बैंक स्थापना गर्नु पर्‍यो भने विदेशीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाउनु पर्ने बाध्यता थियो । तर, त्यो बाध्यताको अन्त्य भएर नेपाली बैंकर विदेशी बैंकको नेतृत्व गर्ने अवस्थामा पुगेका छन् । विदेशी बैंकको नेतृत्व गर्ने मध्येका एक नेपाली बैंकर हुन् भेषराज खतिवडा । कुनै बेला खतिवडा नेपाली बैंकमै का गर्थे । तर, अहिले उनको परिचय परिवर्तन भएको छ । उनी म्यानमारको सिटिजन्स बैंकको सीईओ भएर काम गरिरहेका छन् । करिब तीन दशक नेपाली बैंकमा काम गरेर अनुभव हाँसिल गरिसकेका उनी अहिले म्यानमारको सिटिजन्स बैंकको कमाण्ड सम्हालिरहेका छन् । उनले सन् १९९३ मा आइकम पढ्दापढ्दै नबिल बैंकमा जागिर सुरु गरे । नबिल बैंकमा करिअर सुरु गरेको पाँच वर्षपछि उनी एनआईसी एसिया बैंकमा पुगे । सन् २०१० मा तत्कालीन तत्कालीन किष्ट बैंकको चिफ अपरेटिङ अफिसर बने । सन् २०१८ मा किष्ट बैंक प्रभु बैंकमा मर्ज भएसँगै उनी साविक सिभिल बैंकमा गए । तर, दुई वर्षपछि सिभिलका सहायक सीईओ बनेका उनी पुनः एनआईसी एशिया बैंक फर्किए । २७ वर्ष नेपाली बैंकिङ क्षेत्रमा काम गरेका उनले त्यसपछि विदेशी बैंकमा काम गर्ने योजना बनाए । सन् २०२१ को अगष्टमा म्यानमारको सिटिजन्स बैंकमा चिफ अप्रेटिङ अफिसर भएर काम गर्न थाले । त्यसको दुई वर्षपछि उनी सोही बैंकको सीईओ बने । म्यानमारमा बैंकको सीईओ बन्न त्यति सहज छैन । म्यानमार सिटिजन्स बैंकमा सरकारी लगानी भएका कारण झनै सीईओको नियुक्तिलाई सरकारले समेत अनुमोदन गर्नु पर्ने हुन्छ । तर, खतिवडा सो बैंकको सीईओ बन्न सफल भए । ‘बैंकको बोर्डले निर्णय गरेर मात्रै हुँदैन, केन्द्रिय बैंकले पनि अनुमोदन गर्नुपर्छ, सरकारको पनि लगानी भएकाले सरकारले पनि स्वीकृति दिनुपर्छ, यी सबै प्रक्रियाका बाबजुद पनि सिटिजन्स बैंकको सीईओ बनेँ,’ खतिवडाले विकासन्युजसँग खुसी साँटे । उदयपुरको भिमाङ र कटारीको बिचमा नेपालटार भ्याली छ । भेषराज खतिवडाको त्यही नेपालटारमै जन्म भयो । एउटा सामान्य कृषकको परिवार । उपत्यका बाहिरै बसेर उनले एमबिएसम्मको अध्ययन गरे । उनी रोजगारीको सिलसिलामा सन् २००८ मा काठमाडौंका छिरेका हुन् । ‘खान लगाउन दुख थिएन । तर, आफैंले काम गर्नुपर्छ भन्ने लाग्थ्यो, परिवारका सबै सदस्यले काम गर्थ्यौ,’ पारिवारिक माहोल सुनाउँदै उनले भने, ‘म यहाँसम्म पुग्नुमा मेरो परिश्रम र परिवारको योगदान छ ।’ ‘त्यो बेलामा अधिकांश विद्यार्थीलाई जागिर खान पाए हुन्थ्यो भन्ने लाग्थ्यो, बैंकर नै बन्छु भन्ने पनि थिएन, जुन क्षेत्रमा पहिलो पटक जागिर गर्याे त्यही क्षेत्रमै स्थापित हुने थियो योजना थियो, मेरो पनि बैंकिङ क्षेत्रमै करिअर बनाउँछु भन्ने पनि थिएन,’ उनले विद्यार्थी जीवन सुनाउँदै भने । उमेरले पाँच दशक पुरा भएका उनले वि.सं २०४५ सालमा एसएलसी (हालको एसईई) पास गरे । सरकारी विद्यालयमा पढेको विद्यार्थीले विदेशी बैंकको नेतृत्व गर्नु आफैंमा ठूलो संघर्ष गर्नुपर्छ । त्यो संघर्ष खतिवडाले पनि गरे । त्यसैले त उनी अहिले विदेशी बैंक हाँकिरहेका छन् । साढे चार हजारदेखि लाखौं तलब नबिल बैंकमा असिस्टेन्ट पदबाट बैंकिङ करियर सुरु गरेका उनको सुरुवाती तलब मासिक ४ हजार ६ सय रुपैयाँ थियो । त्यसपछि उनी अनुभव बटुल्दै गए । बैंकिङ बुझ्दै गए । पदसँगै पैसा पनि बढ्यो । एकपछि अर्को बैंकबाट कामका लागि अफर आउन थाल्यो । नबिल बैंकमा ५ वर्ष काम गरेपछि उनी एनआईसी एशिया बैंकमा गए । ‘नबिलबाट एनआईसी एशिया बैंकमा प्रवेश गर्दा जुनियर असिस्टेन्ट बनेँ, बैंक अनुसारको पद सिर्जना गरिएको हुनाले एनआईसी एशियामा दुई पद बढुवा भएर गएँ, पढाइलाई पनि निरन्तरता दिएँ,’ उनले सुनाए । उनले काम र पढाइसँगै अगाडि बढाए । हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसबाट आइकम र बिरगन्जको हरि बोधन क्याम्पसबाट बिकम पास गरे । एमबिए विराटनगरको डिग्री क्याम्पसबाट पुरा गरे । काम र पढाइलाई एकैपटक अगाडि बढाउँदा चुनौती थपिने धारणा राख्छन् उनी । ‘सबैलाई २४ घण्टाको समय हुन्छ । तर, समय कसरी व्यवस्थापन गर्ने आफूमा निर्भर हुन्छ,’ उनी भन्छन् । २०५६ सालमा एमबिए पढ्दै गर्दा उनको क्लासमेटसँगै प्रेम बस्यो । त्यसपछि उनले विवाह गरे । चार हजार रुपैयाँबाट बैंकिङ करिअर सुरु गरेका भेषराज अहिले विदेशी बैंकको नेतृत्व गरेर लाखौं तलब खान्छन् । उनी यसलाई परिश्रमको फलका रूपमा बुझ्छन् । तर, म्यानमारमा सीईओको तलब भने सार्वजनिक हुँदैन । ‘नेपालमा पारदर्शी छ, कुन सीईओले कति तलब लिएका छन् भनेर वार्षिक प्रतिवेदनमा उल्लेख हुन्छ, तर, म्यानमारमा कुन बैंकका सीईओको तलब कति हुन्छ भनेर जानकारी हुँदैन,’ उनी भन्छन्, ‘नेपालका सीईओ र म्यानमारका सीईओहरूको तलब उस्ताउस्तै हुन्छ होला ।’ विदेशी बैंकमा काम गर्ने अवसर नेपाली बैंकिङ क्षेत्रमा करिब तीन दशक काम गरेपछि उनले विदेशी बैंकमा काम गर्ने योजना बनाइरहेका थिए । जतिबेला उनी एनआइसी एसिया बैंकमा कार्यरत थिए । हाल कृषि विकास बैंकका सीईओ गोविन्द गुरूङ त्यतिबेला म्यानमार सिटिजन्स बैंकका सीईओ थिए । गुरूङसँग कुराकानी भएपछि उनी म्यानमार पुगेका हुन् । गुरूङसँग सिभिल बैंकमा काम गर्दा उनको राम्रै सम्बन्ध थियो । त्यसकारण पनि उनले विदेशी बैंकमा काम गर्ने अवसर पाएको सुनाउँछन् । ‘आवश्यकता तथा योग्यताका हिसाबले म्यानमारमा सीईओ हुनु र नेपालमा सीईओ हुनु एउटै हो, जस्तो भारत, अमेरिकाका बैंकमा सीईओ हुनका लागि अझै बढी अनुभव खोज्छ । तर, म्यानमार र नेपालमा हुनु उस्ता उस्तै हो,’ उनले भने । उनी आफ्नो पदभन्दा पनि परिश्रमलाई सर्वोपरि ठान्छन् । ‘म सीईओ बन्छु भनेर बैंकमा प्रवेश गरेको होइन, आफूले बेस्ट दिने हो, बेष्ट दिने क्रममा सीईओको जिम्मेवारी पाएको हुँ,’ उनले भने । उनले बैंकमा जागरि सुरु गरेपछि धेरै देश घुमिसकेका छन् । चीन, सिंगापुर, मलेसिया, बैंकक, दुवई, भारत लगायतका देश घुम्ने अवसर उनले पाएका छन् । नेपाली बैंकको पनि नेतृत्व गर्ने चाहना बैंकर खतिवडालाई फेरि देशमै फर्किएर नेपाली बैंकको नेतृत्व गर्ने चाहना पनि छ । ‘अहिले म्यानमारमै काम गरिरहेको छु, त्यताको अवधि सकिएपछि स्वदेशमै फर्किन्छु, त्यतिबेला कुनै नेपाली बैंकबाट अवसर आयो भने काम गर्न तयार हुन्छु,’ उनले आफ्नो योजना सुनाए । उनको सिटिजन्स बैंकको सीईओको रूपमा अवधि सकिएपछि एक वर्षको कुलिङ पिरियड लाग्छ । उनी भन्छन्, ‘सायद त्यसपछि म स्वदेशमै फर्किन्छु ।’

प्यालेस्टाइन सरकारका प्रधानमन्त्रीद्वारा राजीनामा

एजेन्सी । प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमवार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताउनुभएको छ । उनले फेब्रुअरी २०, २०२४ मा राष्ट्रपति महमुद अब्बासलाई सरकारको राजीनामा बुझाएको बताए । सोमवार लिखित रुपमै राजीनामा बुझाएको उनको भनाइ छ । यो निर्णय गाजा पट्टीमा प्यालेस्टिनी जनता बिरुद्धको आक्रमणसँग सम्बन्धित राजनीतिक, सुरक्षा र आर्थिक घटनाक्रमसँग सम्बन्धित रहेको बताए । शतायेहको सरकार अप्रिल २०१९ मा राष्ट्रपतिको आदेशद्वारा गठन गरिएको थियो । प्यालेस्टाइनी मेलमिलाप र चुनावको तयारीको जिम्मा दिइएको थियो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव देवेन्द्र कोइरालाले जानकारी दिए । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने छ ।

यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो

काठमाडौं । मुलुकमा उत्पादन हुने बहुमूल्य जडीबुटीका रूपमा रहेको यार्चागुम्बाको निर्यात दोब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) ६० करोड ६१ लाख ८५ हजार रुपियाँ बराबरको एक हजार २४६ किलो यार्चागुम्बा निर्यात भएको छ । गत वर्ष सो अवधिमा ३१ करोड ४७ लाख ३४२ हजार रुपियाँ बराबरको ५०७ केजी निर्यात भएको थियो । गत वर्षको तुलनामा चालु आवको सात महिनामा दोब्बरले यार्चागुम्बा निर्यात भएको विभागको तथ्याङ्कले देखाएको छ । नेपालको हिमाली जिल्लामा उत्पादन हुने यार्चागुम्बा बहुमूल्य जडीबटीका रूपमा रहेको छ । नेपालमा उत्पादन भएको यार्चागुम्बा महँगो मूल्यमा विदेश निर्यात हुने गरेको छ । आन्तरिक बजारमा खपत न्यून भए पनि अधिकांश उत्पादित यार्चागुम्बा विदेशमै निर्यात हुने गरेको छ । यार्चागुम्बा औषधीका रूपमा प्रयोग गरिन्छ । चीन, अष्ट्रेलिया, इटाली, जर्मनी, फ्रान्स, कम्बोडिया, मलेसिया, मङ्गोलिया, सिङ्गापुर, अमेरिका, भियतनामलगायतका देशमा यार्चागुम्बा निर्यात हुने गरेको छ । विभागका अनुसार चालु आवको सात महिनामा सबैभन्दा धेरै यार्चागुम्बा कम्बोडियामा चार करोड २० खाल रुपियाँ बराबरको ८४ किलो यार्चागुम्बा निर्यात भएको छ । यस्तै हङकङमा ३९९ केजी २६ करोड २४ लाखको निर्यात भएको छ । यार्चागुम्बा जडीबुटी, औषधी तथा महँगो किसिमको रक्सी बनाउनमा प्रयोग हुने गरेको छ । नेपालमा पाइने सात सयभन्दा बढी औषधिजन्य जडीबुटीमध्ये सबैभन्दा मूल्यवान् औषधी यार्चागुम्बा पनि हो । हाल नेपालका डोल्पा, दार्चुला, जुम्ला, हुम्ला, मुगु, कालीकोट, बझाङ, बाजुरा, जाजरकोट, रुकुम, रोल्पा, बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ, गोर्खा, धादिङ, रसुवा, सिन्धुपलाञ्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ गरी २५ जिल्लाका उच्च हिमाली क्षेत्रबाट यार्चागुम्बा सङ्कलन हुने गरेको छ । गाेरखापत्रबाट ।

पर्यटकका पर्खाइमा तमोर नदी क्षेत्र

धनकुटा । धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो । तर पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई बेलाबखत स्वतः हुने जलयात्रा (र्याफ्टिङ), फिसिङ, क्याम्पफायर, वनभोजबाहेक जिल्लाका स्थानीय तहले तमोर नदी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रयोग गर्न सकेका छैनन् । जिल्लाको छथर जोरपाटी,सहिदभूमि,साँगुरीगढी, चौबिसे गाउँपालिका सहित धनकुटा नगरपालिका भएर तमोर नदी बगेको छ । होटल एशोसिएसन भेडेटारको तथ्याङ्कानुसार भेडेटार र तमोर नदी नजिक रहेको नमस्ते झरनामा दैनिक एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म पर्यटक आउने गरेका छन् । तर पूर्वकै पर्यटकीय नगरी भेडेटार र झरनाको नजिकै कोशी राजमार्गस्थित धरान–धनकुटा सडकको पहुँचमा रहेको तमोर नदी क्षेत्रमा पर्यटकको आगमन ज्यादै न्यून छ । स्थानीय सरकारले यसको उपयोग गर्ने नीति तथा कार्यक्रम नल्याउँदा अथाह पर्यटनको सम्भावना बोकेको तमोर क्षेत्र पर्यटकविहीन बनेको धनकुटा नगरपालिका वडा नं १० मूलघाटका होटल व्यवसायी मोहन बान्तावाको भनाइ छ । पचास लाखको लागतमा गएको एक दशकअघिबाट तमोर नदी क्षेत्रमा आउने पर्यटकलाई लक्षित रिसोर्ट सञ्चालन गर्दै आएका उनले पर्यटकको आवागमनमा वृद्धि नहुँदा व्यवसाय छाड्ने अवस्थामा पुगेको जानकारी दिए । साँगुरीका अध्यक्ष जितेन्द्र रुम्दाली राई पर्याप्त लगानीको अभाव हुँदा नदीजन्य पर्यटन र यसमा आधारित पर्यटन गतिविधिको सम्भावना त्यसै टरेर गएको बताए । अहिले भारतको जोगवनीबाट चीनको ओलाङ्चुगोला जोड्न सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्म तमोर करिडोर निर्माणाधीन रहेको छ । यस करिडोरको पूर्णतासँगै अबका दिनमा तमोर क्षेत्रमा पर्यटकको आवागमन क्रमशः बढ्ने चौबिसेका अध्यक्ष राजकुमार लिम्बूको भनाइ छ । तमोर क्षेत्रलक्षित पालिकाको कुनै ठोस योजना नभए पनि तमोर करिडोर भएर आउने पर्यटकलाई लक्षित गरेर सो क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा पालिकाले लगानी गरिरहेको उनले जानकारी दिए । तमोर नदी क्षेत्रमा पर्यटक आएर घुम्ने उचित सडक सञ्जाल नहुँदा पनि पर्यटकको आवागमनमा कमी आएको सहिदभूमिका अध्यक्ष मनोज राईले जानकारी दिए । पर्यटक आइहाले पनि नदी क्षेत्रमा घुम्ने, बस्ने र रमाउनका लागि यहाँ हुनुपर्ने आन्तरिक व्यवस्थापन गर्न नसक्दा तमोर नदी क्षेत्रमा पर्यटक भित्र्याउन नसकिएको उनले बताए ।

काठमाडौं चन्द्रागिरिमा ढक, तराजु दर्ता तथा नवीकरण शिविर

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले प्रमाणित ढक , तराजु प्रयोग गर्न व्यवसायीलाई आह्वान गरेको छ । अप्रमाणित ढक तथा ,तराजुको प्रयोगले उपभोक्ता ठगिने जनाउँदै यसलाई पूर्ण निस्तेज बनाउन नगरपालिकाले यस्तो आग्रह गरेको हो । यसका लागि नगरपालिकाले चन्द्रागिरि नगर उद्योग वाणिज्य सङ्घको सहकार्यमा बुधबारदेखि ढक तराजु दर्ता तथा नवीकरण शिविर आयोजना गर्ने भएको छ । यही फागुन १६ देखि २१ गतेसम्म सञ्चालन हुने सो शिविरमा नेपाल गुणस्तर तथा नापतौल कार्यालयका टोलीले प्राविधिक सहयोग गर्नेछन् । व्यवसायीलाई सहज बनाउन उनीहरूलाई पायक पर्ने स्थानमा नै ढक, तराजु दर्ता नवीकरण शिविर आयोजना गर्न लागेको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘शिविर सञ्चालनपछि व्यवसायीले मापदण्डबमोजिम दर्ता र नवीकरण नगरी ढक, तराजु प्रयोग गरेको पाइएमा कारबाही गरिनेछ । अतः ढक, तराजु दर्ता एवं नवीकरण गरेरमात्र प्रयोग गर्न म व्यवसायीलाई आग्रह गर्दछु ।’ उनका अनुसार शिविर थानकोट (साझा घर), लाछिटोल (सतुङ्गल), चौपाया खरिद केन्द्र (दहचोक), विष्णुदेवी मन्दिर परिसर र चन्द्रागिरि नगरपालिका प्रागङ्गण (बलम्बु)मा सञ्चालन हुनेछ । शिविरमा आउँदा नागरिकता, व्यवसाय दर्ताको प्रमाणपत्र, ढक तराजु खरिद गरेको ३५ दिन ननाघेको भएमा खरिद गरेको बिल तथा नाघेको भए ढक तराजु ल्याउन तथा डिजिटल तराजुसँगै क्षमताको १० प्रतिशत ढक अनिवार्य ल्याउन व्यवसायीलाई नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले यस्तो शिविर हरेक वर्ष सञ्चालन गर्दै आएको छ ।

बाजुरामा समयमा नै चामल खरिद र ढुवानी व्यवस्थापन मिलाउने सर्वपक्षीय बैठकको निर्णय

बाजुरा । बाजुरामा खाद्यान्नको थप आपूर्ति बढाइने र वितरणलाई समेत व्यवस्थित बनाइने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो । बैठकले जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका लागि निर्धारण गरिएको कोटाअनुसारको चामल ढुवानी कार्य समयमै गर्न सङ्घीय र प्रदेश कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ । चामलका लागि लाइनमा लाग्नुपर्ने, मागअनुसार ढुवानी नहुने समस्या देखिएकाले तत्काल ढुवानी गराउनेगरी पहल गरिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले राससलाई बताए । उनले ठेकेदारले समयमै चामल ढुवानी नगर्दा स्थानीयले बजारको चामल महङ्गोमा किन्नुपर्ने बाध्यता हुने गरेको आरोप लाग्ने गरेको बताए । संस्थानले केही रुपैयाँ सहुलियत दरमा दिने गर्दा स्थानीयले खाद्यान्नकै चामल रोज्ने गरेका छन् । बजारमा मोटा चामल ६२ देखि ६४ मा बिक्री हुँदा खाद्य संस्थानमा ५९ प्रतिकेजी पाइने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराले जनाएको छ । पर्याप्त बजार क्षेत्र भएर पनि बाजुरामा खाद्यान्न अभाव हुने गरेको सन्देश जाने भएकाले अनुदान दिने मापदण्ड पनि तोकिनुपर्ने र जबर्जस्त अभाव सिर्जना गरिने काम बन्द गरिनुपर्ने दलका प्रतिनिधिले आग्रह गरेका छन् । उनीहरुले भोकमरी नै हुनेगरी बाजुरामा खाद्यान्न अभाव हुने अवस्था नआएको बताए । जिल्लामा स्थानीय उत्पादन भएर जिल्ला बाहिर निर्यात भइरहेकाले भोकमरी नभएर भातमरी भएको बडीमालिकाका पूर्वनगरप्रमुख पदम बडुवालले बताए । बैठकमा जिल्लामा कार्यालय खडा गर्ने, समयमै चामल उपलब्ध नगराउने, उपलब्ध गराउने चामलमा पनि नाममात्रैको अनुदान दिने कुरा गलत भएकाले उद्देश्यअनुसार खाद्य संस्थानले काम गर्न र समयमै चामल आपूर्ति गर्न सुझाव दिइएको छ । बाजुराबाट रु तीन करोड बढी कोदो बाहिर जाने तर खाद्यान्न अभाव भएको सन्देश दिने कुरा सान्दर्भिक र तथ्यपरक नभएकाले सञ्चारमाध्यम र सामाजिक सञ्जाल सञ्चालन गर्नेहरूले सस्तो प्रचारबाजीकै लागि लेख्ने कुराले जिल्लाको बद्नाममात्रै हुने गरेकोप्रति जिल्लाका क्रियाशील राजनीतिक दलले चिन्ता व्यक्त गरेका छन् । बैठकले विपन्न परिवारलाई प्राथमिकतामा राखेर चामल वितरण गर्ने निर्णय गरेको छ । सरकारी कर्मचारी, व्यापारी र गैरसरकारी संस्थासँग आबद्ध रोजगारी भएको घरको तथ्याङ्क सङ्कलन गरी अनुदानको चामल विपन्न परिवारका प्राथमिकतामा राखेर वितरण गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । जिल्लामा गत साउनदेखि हालसम्म दुई हजार क्विन्टलमात्रै चामल आयात गरिएको छ । अघिल्लो वर्षको कोटा हेर्दा १० हजार बढी क्विन्टल चामल आवश्यक हुने अनुमान गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराका प्रमुख उमेश भण्डारीले बताए । सदरमुकाम मार्तडी कार्यालय पनि एक सय ७० क्विन्टल बढी मोटा र एक सय ३० क्विन्टल बढी मसिनो चामल यथावत छ । तर स्थानीयले मोटा चामलमात्रै रोज्ने गरेका छन् । चामलकै अभाव छैन, मोटा चामलको मागमात्रै बढी रहेको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए । बैठकले खाद्य कम्पनीबाट लिइएका चामलको दुरुपयोग भएको हुनसक्ने जनाउँदै निगरानी र अनुगमनलाई तीव्रता दिने निर्णय गरेको छ । नागरिकलाई सहज चामल उपलब्ध गराउने कुरामा संस्थान जिम्मेवार हुनुपर्ने बडीमालिका नगरप्रमुख अमर खड्काले सुझाव दिए । खाद्य संस्थानको चामल बडीमालिका नगरपालिका केन्द्रित बसोबास गर्नेले मात्रै प्रयोग गर्ने गरेको देखिन्छ । बजारको भन्दा सस्तो भएरै चामलका लागि भीडभाड हुने भएकाले राज्यले आपूर्ति बढाउनु उनले आग्रह गरे । सङ्घ र प्रदेशस्तरीय संस्थानका कार्यालयलाई समेत जिल्लामा चामल ढुवानी छिटो गर्न माग गर्ने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय बैठकले गरेको छ । रासस ।

होटल व्यवसाय धरासायी भएकामा सिरहाका व्यवसायी चिन्तित

सिरहा । बैंक तथा वित्तीय संस्थाले तरलताको अवस्था हेरेर कर्जाको ब्याजदर बढाएपछि सिरहाका होटल तथा व्यवसाय संकटमा परेको छ । पछिल्लो समय जिल्लाका होटल तथा व्यवसायमा ३० प्रतिशतले गिरावट आएको जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडाले जानकारी दिए । ‘एकातिर कर्जाको ब्याजदर बढ्नु र अर्कातिर उद्योग व्यवसायमा मन्दी आउनुले यहाँका उद्योग व्यवसाय थप मारमा पर्दै गएका छन्’, उनले भने, ‘वित्तीय क्षेत्रको दोहोरो ब्याजदर वृद्धिबाट प्रभावित व्यवसायी समस्यामा परे । यसको निराकरणका लागि सरकारलगायत सबै क्षेत्रको ध्यान जाओस् ।’ सङ्घले सोमबार लाहानमा एक अन्तक्र्रिया कार्यक्रम गरी उद्योग व्यवसाय धरासायी हुँदै गएकामा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुखमार्फत सरकारको ध्यानाकर्षण समेत गराएको छ । होटल व्यवसाय सञ्चालन तथा सहजीकरणका लागि सबै क्षेत्र र तहबीच समन्वय र सहकार्य हुनुपर्नेमा सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए । त्यस्तै नेपाल–भारत खुला सिमानाका कारण हुने अवैधानिक क्रियाकलापलाई रोक्न प्रशासन र आम नागरिकले हातेमालो गरी यसको न्यूनीकरण गर्नुपर्नेमा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए । वित्तीय क्षेत्रको ब्याजदर वृद्धिले व्यवसाय क्षेत्रमा सिर्जना गरेको समस्या समाधानका लागि सरकारले पहल नगरेका कारण पछिल्लो समय यहाँका होटल तथा व्यवसाय ओरालो लाग्न थालेको होटल तथा पर्यटन व्यवसायी सङ्घ सिरहाका अध्यक्ष रामकुमार गुप्ता, मदिरा व्यवसायी सङ्घ सिरहाका अध्यक्ष वीरेन्द्र साहलगायतले धाराण राखे । रासस ।