विकासन्युज

प्रधानमन्त्रीलाई नगरप्रमुखको ज्ञापनपत्र, कटारीमा मेडिकल कलेज स्थापना गर्न माग

कटारी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उदयपुरको कटारी नगरपालिकामा मेडिकल कलेज स्थापनाको माग गर्दै सोमबार ज्ञापनपत्र बुझाइएको छ । सरकारले विगतमा सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता जनाए अनुसार कोशी प्रदेशको कटारीमा कलेज स्थापनाको माग गरिएको हो । प्रधानमन्त्रीको कार्यालयमा पुगेर सर्वदलीय, सर्वपक्षीय टोलीले ज्ञापनपत्र बुझाएको हो । ‘यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित अध्ययन टोलीले समेत कटारी-३ मा अध्ययन गरिसकेको छ’, ज्ञापनपत्र बुझाउँदै कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले भने, ‘भौगोलिक, जनसङ्ख्या तथा अन्य जिल्लासँगको अवस्थाले कटारी नगरपालिका मेडिकल कलेज स्थापनाका लागि उपयुक्त स्थान देखिन्छ ।’ सो अवसरमा प्रधानमन्त्री दाहालले मेडिकल कलेज स्थापना गर्न आफू सकारात्मक भएको जानकारी दिएका नगरप्रमुख श्रेष्ठले बताए । कटारी-३ मा मेडिकल कलेज स्थापनाका लागि सो टोलीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई समेत ज्ञापनपत्र बुझाएको थियो । पत्र बुझ्दै राईले मेडिकल कलेज स्थापनाका लागि आवश्यक प्रक्रियाका कामको अवस्थाका बारेमा जानकारी लिएका थिए । कटारीमा मेडिकल कलेज स्थापनाका लागि सिन्धुली, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बुका सांसदले समेत समर्थन गरेको जनाइएको छ । सिन्धुलीका सांसद राजन दाहाल, ओखलढुङ्गाका सांसद रामहरि खतिवडा, खोटाङका सांसद रामकुमार राईलगायत प्रदेश सभासदस्य, पालिकाका प्रमुखलगायतले समर्थन रहेको बताइएको छ । कटारीमा मेडिकल कलेज स्थापना भए सबै जिल्ला लाभान्वित हुने भएकाले समर्थन जनाएको सांसद अम्बरबहादुर रायमाझीले बताए । कटारी-३ मा मेडिकल कलेज स्थापना गर्न उपयुक्त हुने स्थान र पर्याप्त जग्गासमेत भएकाले कलेज स्थापनाका लागि आवश्यक सबै तयारी पालिकाले गर्ने कटारी उपप्रमुख गीता खड्काले बताइन् । यसका लागि सर्वदलीय, सर्वपक्षीय मेडिकल कलेज स्थापना समितिसमेत गठन गरी जग्गालगायतका अध्ययनका काम भइरहेको छ ।

एकल महिला भन्छन् : सामाजिक सुरक्षा भत्ताले मात्रै पुगेन, रोजगारी चाहियो

टीकापुर । कैलालीको टीकापुरकी साहुनी बुढाका श्रीमानको गत वर्ष मृत्यु भयो । कमाइ गर्ने श्रीमान् बितेपछि साहुनीको जीवन दुःखदायी भएको छ । टीकापुरको एकतानगर बस्तीमा बस्ने उहाँको घरमा कमाउने कोही नभएपछि जीवन कष्टकर भएको हो । श्रीमान् बितेपछि साहुनीले बालबच्चाको भोक मेटाउन नसकेर दुई छोराछोरी अनाथाश्रममा राख्नुभएको छ । एक छोरी आफूसँग छिन् । उनलाई खर्च जुटाउन निकै समस्या भएको छ । ‘मेरो शारीरिक अवस्था कमजोर छ, दिनभरि कडा श्रम गर्नुपर्ने काम गर्न सक्दिनँ, अरु कमाउने कोही छैन’, साहुनीले भनिन्, ‘बच्चा पाल्न सकिनँ, दुई बच्चा अनाथाश्रममा राखेकी छु । एउटा छोरी साथमा छिन्, उनलाई पनि शिक्षादीक्षा दिन समस्या भएको छ । घरमा खानेकुरा छैन ।’ कौशिल्ला कामीका श्रीमानसमेत बितेपछि उनलाई समस्या छ । ७० वर्षकी कौशिल्लाको स्वास्थ्य पनि राम्रो छैन । उनलाई पनि कठिनाइ भएको छ । ‘केही काम गर्न सक्दिनँ, घरमा छोरी छन्, छोरीले पकाएर दिए खान पाउँछु’, उनले भनिन्, ‘रोगले सताएको छ । उपचारमा धेरै रकम खर्च हुन्छ, कुन दिन भोकै मर्नुपर्छ भन्ने पिरले सताउने गरेको छ ।’ एकल महिलामा पनि ज्येष्ठ एकल महिलालाई घरव्यवहार चलाउन, खर्च जोहो गर्न र बालबालिकाका आवश्यकता पूरा गर्न कठिनाइ हुने गरेको छ । बाटु कामी पनि शारीरिकरूपमा अशक्त हुँदै गएकी छिन् । उनलाई पनि सामाजिक सुरक्षा भत्ताले मात्र खर्च धान्न नपुग्दा समस्या भइरहेको छ । उनी सरकारले निःशुल्क उपचार गरिदिएको भए हुन्थ्यो भन्ने आशामा छिन् । ‘सामाजिक सुरक्षा भत्ता पाउँछु, एक किस्तामा आठ हजार रुपैयाँ पाइन्छ, महिनामा दुई हजार रुपैयाँसम्मको औषधि खान्छु, त्यो रकमले पुग्दैन’, उनी भन्छिन्, ‘ममात्र होइन, मजस्ता एकल महिलाका समस्या थुप्रै छन् । श्रीमानको मृत्युपछि बेरोजगार रहेका सबै महिलालाई घर चलाउन आर्थिक कठिनाइले सताएको छ ।’ ५६ वर्षीया सरस्वती ओड पनि एकल महिलाका थुप्रै समस्या रहेका बताउँछिन् । सामाजिक सुरक्षा भत्ताको रकमले घर खर्च चलाउन निकै कठिन रहेको, रोजगारी केही नभएकाले समस्या भइरहेको ओड बताउँछिन् । ‘हामी केही काम पाएको भए गर्न सक्थ्यौं, सरकारले रोजगारीका अवसर दिएको भए हाम्रो जीवन सहज हुने थियो’, ओड भन्छिन्, ‘हामी जवान छौं, हामीलाई प्रधानमन्त्री रोजगारजस्ता कार्यक्रममा रोजगारीका अवसर स्थानीय सरकारले दिनुपर्छ । अन्य सीपमूलक तालिम, अनुदानजस्ता सहयोग गरेर हाम्रो जीवन सहज बनाइदिनुपर्छ ।’ देवी परियारका पनि साना बालबच्चा छन् । उनी खाउलाउ भन्ने उमेरमा श्रीमान् गुमाएका महिलालाई आर्थिक समस्याले झेलेकाले सरकारले रोजगारीका अवसर सिर्जना गरिदिएको भए हुन्थ्यो भन्छिन् । ‘जग्गाजमिन भएको भए खेतीपाती गर्ने थियौं, हामीलाई बालबच्चा पाल्न गाह्रो हुन थाल्यो’, देवीले भनिन्, ‘हामी रोजगारी पाए जुनसुकै काम पनि गर्न सक्छौं, हामीलाई सरकारले उत्पादनमूलक रोजगारीका अवसर देओस् ।’ ज्येष्ठ एकल महिला विजा कामीका श्रीमान् बिते । श्रीमान् बितेको केही समयपछि छोरा पनि बितेपछि तीन टुहुरा नातिनातिनी पालेर बसेकी छिन् । उनलाई बालबच्चालाई खुवाउन, पालनपोषण गर्न कठिन भएको छ । ‘श्रीमान् र छोरा कमाउने उमेरका मानिस रहेनन्, साना तीन नातिनातिनी मैले स्याहार्नुपरेको छ’, उनले भनिन्, ‘बच्चा भोकभोकै छन्, कहिलेकाहीँ राति उठेर रुन्छन्, मैले कसरी सम्हाल्नु । उनीहरूलाई के खुवाएर पेट भरौँ ?’ टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक एकल महिला छ सय २६ रहेका छन् । विधवा महिला एक हजार पाँच सय ७० छन् । महिला बालबालिका शाखा संयोजक सङ्गीता शाहले नगरपालिकाले एकल महिलाको सशक्तीकरणका क्षेत्रमा पालिकाले तालिम, गोष्ठी, बाख्रा, बङ्गुर वितरणजस्ता कार्य गर्दै आएको बताइन् । ‘एकल महिलाका समस्या धेरै छन्, त्यसैलाई ध्यान दिएर हामीले हरेक कार्यक्रम गर्दा एकल महिलालाई प्राथमिकता दिने गरेका छौं’, उनले भनिन्, ‘पालिकाले वडास्तरमा बाख्रा वितरण, बङ्गुर वितरणजस्ता कार्यसमेत गर्दै आएका छन् ।’ रासस

फोनपेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा सुरु गर्यो ‘सक्षम नारी’ अभियान

काठमाडौं । नेपालको भुक्तानी नेटवर्क फोनपेले ‘सक्षम नारी’ नामक अभियान सुरु गरेको छ । देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले फोनपेले उक्त अभियान सुरु गरेको हो । यस अभियानद्वारा फोनपले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरुले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीहरुलाई डिजिटल भुक्तानीका माध्यममा शशक्त बनाउने प्रयास गरेको छ। फोनपेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो । माघ २६ गतेदेखि सुरु भएको यो अभियान फागुन २८ गतेसम्म चल्नेछ । अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ एप मार्फत अभियान अवधिभर कुनै पनि फोनपे सेवाहरू फोनपे क्यूआर, फोनपे डाइरेक्ट र फोनपे बिल प्रयोग गरि कम्तिमा ३ वटा कारोबार गर्नुपर्ने रहेको छ । नबिल बैंकका एकजना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि बालाजी डायमण्डबाट उत्कृष्ट हीरा सेट पाउनेछन् । साथै सानिमा बैंक र नबिल बैंकका १०० महिला प्रयोगकर्ताहरूले एक हजार रुपैयाँको ग्यारेन्टी टप-अप जित्नेछन् । फोनपेका चिफ स्ट्रयाटेजी अफिसर सुबोध शर्माले भने, ‘सक्षम नारी अन्य नियमित अभियानहरू भन्दा फरक छ, यो महिलाहरूमा प्रविधि अपनाउन प्रोत्साहित गर्ने पहल हो। हाम्रो तथ्याङ्कले डिजिटल माध्यमबाट महिलाहरु माझ भुक्तानीको प्रयोग कम भएको देखिएको छ र यो अभियान मार्फत हामी यो स्वरुप परिवर्तन गर्न चाहन्छौं। हामी आशा गर्दछौं कि यो अभियानले सबै क्षेत्रका महिलाहरूको जीवनमा सकारात्मक प्रभाव पार्नेछ।’

प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ, ऋण हिनामिना गरेको आरोप

काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । उनी सेञ्चुरी बैंकमा हुँदा ऋण हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । उनी तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सीईओ थिए । उनीसँगै सेञ्चुरी बैंकका पूर्वसीईओ तुल्सीराम गौतम पनि पक्राउ परेका छन् । उनीहरूसँगै १० जनालाई सीआईबीले नियन्त्रणमा लिएको छ । नेपाल राष्ट्र बैंकले उनलाई पक्राउ गर्नका पत्राचार गरेपछि सीआईबीले पक्राउ गरेको बुझिएको छ । उनीहरूले कमसल धितो राखेर बैंकिङ कसुर गरेको बताइएको छ ।  सेञ्चुरी बैंक र प्रभु बैंकबीच मर्जर भएपछि उनी डीसीईओ बनेका हुन् ।

५१२ जीबी मेमोरी भएको अनन एक्स८बी लन्च हुँदै

काठमाडाैं । ५१२ जीबी मेमाेरी भएकाे अनरकाे एक्स८बी लन्च हुने भएकाे छ । मोबाइल वर्ल्ड कांग्रेस अर्थात् एमडब्लुसी टेक्नोलोजी र इन्नोवेशन लागि सबैभन्दा ठूलो इभेन्टमा अनरले म्याजिक सिक्स सेरिज र म्याजिक भी२ सेरिज र म्याजिकबुक प्राे १६ लन्च गर्ने भएकाे हाे । अनरले एमडब्लुमा आफ्नो नयाँ टेक्नोलोजी लन्च गरेर स्मार्ट्फ़ोन जगतमा एक कदम अगाडि बढेकाे दाबी गरेकाे छ । अनब्रेकेबल स्मार्टफोन अनर एक्स९बीकाे भव्य लन्च भएपछि अनर नेपालले अनर एक्सबी८बीका सेरिज नेपालमा भित्रयाउने भएकाे हाे । विशाल ५१२ जी बि स्टोरेज भएको अनर एक्स८बीलाइ कम्पनीले कम्प्युटरकाे लेभल स्टाेरेजकाे ट्यागलाइन दिएकाे छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले अनर एक्स८बीकाे प्रि-बुकिङ २६ फेब्रुअरीबाट सुरु भएको घोषणा गरेको छ । जुन ३ दिनसम्म जारी रहने र २८ फेब्रुअरीमा समाप्त हुने जनाइएकाे छ ।

विदेशी बैंक हाँकिरहेका नेपाली बैंकर

काठमाडौं ।  कुनै समय नेपालमा बैंक स्थापना गर्नु पर्‍यो भने विदेशीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाउनु पर्ने बाध्यता थियो । तर, त्यो बाध्यताको अन्त्य भएर नेपाली बैंकर विदेशी बैंकको नेतृत्व गर्ने अवस्थामा पुगेका छन् । विदेशी बैंकको नेतृत्व गर्ने मध्येका एक नेपाली बैंकर हुन् भेषराज खतिवडा । कुनै बेला खतिवडा नेपाली बैंकमै का गर्थे । तर, अहिले उनको परिचय परिवर्तन भएको छ । उनी म्यानमारको सिटिजन्स बैंकको सीईओ भएर काम गरिरहेका छन् । करिब तीन दशक नेपाली बैंकमा काम गरेर अनुभव हाँसिल गरिसकेका उनी अहिले म्यानमारको सिटिजन्स बैंकको कमाण्ड सम्हालिरहेका छन् । उनले सन् १९९३ मा आइकम पढ्दापढ्दै नबिल बैंकमा जागिर सुरु गरे । नबिल बैंकमा करिअर सुरु गरेको पाँच वर्षपछि उनी एनआईसी एसिया बैंकमा पुगे । सन् २०१० मा तत्कालीन तत्कालीन किष्ट बैंकको चिफ अपरेटिङ अफिसर बने । सन् २०१८ मा किष्ट बैंक प्रभु बैंकमा मर्ज भएसँगै उनी साविक सिभिल बैंकमा गए । तर, दुई वर्षपछि सिभिलका सहायक सीईओ बनेका उनी पुनः एनआईसी एशिया बैंक फर्किए । २७ वर्ष नेपाली बैंकिङ क्षेत्रमा काम गरेका उनले त्यसपछि विदेशी बैंकमा काम गर्ने योजना बनाए । सन् २०२१ को अगष्टमा म्यानमारको सिटिजन्स बैंकमा चिफ अप्रेटिङ अफिसर भएर काम गर्न थाले । त्यसको दुई वर्षपछि उनी सोही बैंकको सीईओ बने । म्यानमारमा बैंकको सीईओ बन्न त्यति सहज छैन । म्यानमार सिटिजन्स बैंकमा सरकारी लगानी भएका कारण झनै सीईओको नियुक्तिलाई सरकारले समेत अनुमोदन गर्नु पर्ने हुन्छ । तर, खतिवडा सो बैंकको सीईओ बन्न सफल भए । ‘बैंकको बोर्डले निर्णय गरेर मात्रै हुँदैन, केन्द्रिय बैंकले पनि अनुमोदन गर्नुपर्छ, सरकारको पनि लगानी भएकाले सरकारले पनि स्वीकृति दिनुपर्छ, यी सबै प्रक्रियाका बाबजुद पनि सिटिजन्स बैंकको सीईओ बनेँ,’ खतिवडाले विकासन्युजसँग खुसी साँटे । उदयपुरको भिमाङ र कटारीको बिचमा नेपालटार भ्याली छ । भेषराज खतिवडाको त्यही नेपालटारमै जन्म भयो । एउटा सामान्य कृषकको परिवार । उपत्यका बाहिरै बसेर उनले एमबिएसम्मको अध्ययन गरे । उनी रोजगारीको सिलसिलामा सन् २००८ मा काठमाडौंका छिरेका हुन् । ‘खान लगाउन दुख थिएन । तर, आफैंले काम गर्नुपर्छ भन्ने लाग्थ्यो, परिवारका सबै सदस्यले काम गर्थ्यौ,’ पारिवारिक माहोल सुनाउँदै उनले भने, ‘म यहाँसम्म पुग्नुमा मेरो परिश्रम र परिवारको योगदान छ ।’ ‘त्यो बेलामा अधिकांश विद्यार्थीलाई जागिर खान पाए हुन्थ्यो भन्ने लाग्थ्यो, बैंकर नै बन्छु भन्ने पनि थिएन, जुन क्षेत्रमा पहिलो पटक जागिर गर्याे त्यही क्षेत्रमै स्थापित हुने थियो योजना थियो, मेरो पनि बैंकिङ क्षेत्रमै करिअर बनाउँछु भन्ने पनि थिएन,’ उनले विद्यार्थी जीवन सुनाउँदै भने । उमेरले पाँच दशक पुरा भएका उनले वि.सं २०४५ सालमा एसएलसी (हालको एसईई) पास गरे । सरकारी विद्यालयमा पढेको विद्यार्थीले विदेशी बैंकको नेतृत्व गर्नु आफैंमा ठूलो संघर्ष गर्नुपर्छ । त्यो संघर्ष खतिवडाले पनि गरे । त्यसैले त उनी अहिले विदेशी बैंक हाँकिरहेका छन् । साढे चार हजारदेखि लाखौं तलब नबिल बैंकमा असिस्टेन्ट पदबाट बैंकिङ करियर सुरु गरेका उनको सुरुवाती तलब मासिक ४ हजार ६ सय रुपैयाँ थियो । त्यसपछि उनी अनुभव बटुल्दै गए । बैंकिङ बुझ्दै गए । पदसँगै पैसा पनि बढ्यो । एकपछि अर्को बैंकबाट कामका लागि अफर आउन थाल्यो । नबिल बैंकमा ५ वर्ष काम गरेपछि उनी एनआईसी एशिया बैंकमा गए । ‘नबिलबाट एनआईसी एशिया बैंकमा प्रवेश गर्दा जुनियर असिस्टेन्ट बनेँ, बैंक अनुसारको पद सिर्जना गरिएको हुनाले एनआईसी एशियामा दुई पद बढुवा भएर गएँ, पढाइलाई पनि निरन्तरता दिएँ,’ उनले सुनाए । उनले काम र पढाइसँगै अगाडि बढाए । हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसबाट आइकम र बिरगन्जको हरि बोधन क्याम्पसबाट बिकम पास गरे । एमबिए विराटनगरको डिग्री क्याम्पसबाट पुरा गरे । काम र पढाइलाई एकैपटक अगाडि बढाउँदा चुनौती थपिने धारणा राख्छन् उनी । ‘सबैलाई २४ घण्टाको समय हुन्छ । तर, समय कसरी व्यवस्थापन गर्ने आफूमा निर्भर हुन्छ,’ उनी भन्छन् । २०५६ सालमा एमबिए पढ्दै गर्दा उनको क्लासमेटसँगै प्रेम बस्यो । त्यसपछि उनले विवाह गरे । चार हजार रुपैयाँबाट बैंकिङ करिअर सुरु गरेका भेषराज अहिले विदेशी बैंकको नेतृत्व गरेर लाखौं तलब खान्छन् । उनी यसलाई परिश्रमको फलका रूपमा बुझ्छन् । तर, म्यानमारमा सीईओको तलब भने सार्वजनिक हुँदैन । ‘नेपालमा पारदर्शी छ, कुन सीईओले कति तलब लिएका छन् भनेर वार्षिक प्रतिवेदनमा उल्लेख हुन्छ, तर, म्यानमारमा कुन बैंकका सीईओको तलब कति हुन्छ भनेर जानकारी हुँदैन,’ उनी भन्छन्, ‘नेपालका सीईओ र म्यानमारका सीईओहरूको तलब उस्ताउस्तै हुन्छ होला ।’ विदेशी बैंकमा काम गर्ने अवसर नेपाली बैंकिङ क्षेत्रमा करिब तीन दशक काम गरेपछि उनले विदेशी बैंकमा काम गर्ने योजना बनाइरहेका थिए । जतिबेला उनी एनआइसी एसिया बैंकमा कार्यरत थिए । हाल कृषि विकास बैंकका सीईओ गोविन्द गुरूङ त्यतिबेला म्यानमार सिटिजन्स बैंकका सीईओ थिए । गुरूङसँग कुराकानी भएपछि उनी म्यानमार पुगेका हुन् । गुरूङसँग सिभिल बैंकमा काम गर्दा उनको राम्रै सम्बन्ध थियो । त्यसकारण पनि उनले विदेशी बैंकमा काम गर्ने अवसर पाएको सुनाउँछन् । ‘आवश्यकता तथा योग्यताका हिसाबले म्यानमारमा सीईओ हुनु र नेपालमा सीईओ हुनु एउटै हो, जस्तो भारत, अमेरिकाका बैंकमा सीईओ हुनका लागि अझै बढी अनुभव खोज्छ । तर, म्यानमार र नेपालमा हुनु उस्ता उस्तै हो,’ उनले भने । उनी आफ्नो पदभन्दा पनि परिश्रमलाई सर्वोपरि ठान्छन् । ‘म सीईओ बन्छु भनेर बैंकमा प्रवेश गरेको होइन, आफूले बेस्ट दिने हो, बेष्ट दिने क्रममा सीईओको जिम्मेवारी पाएको हुँ,’ उनले भने । उनले बैंकमा जागरि सुरु गरेपछि धेरै देश घुमिसकेका छन् । चीन, सिंगापुर, मलेसिया, बैंकक, दुवई, भारत लगायतका देश घुम्ने अवसर उनले पाएका छन् । नेपाली बैंकको पनि नेतृत्व गर्ने चाहना बैंकर खतिवडालाई फेरि देशमै फर्किएर नेपाली बैंकको नेतृत्व गर्ने चाहना पनि छ । ‘अहिले म्यानमारमै काम गरिरहेको छु, त्यताको अवधि सकिएपछि स्वदेशमै फर्किन्छु, त्यतिबेला कुनै नेपाली बैंकबाट अवसर आयो भने काम गर्न तयार हुन्छु,’ उनले आफ्नो योजना सुनाए । उनको सिटिजन्स बैंकको सीईओको रूपमा अवधि सकिएपछि एक वर्षको कुलिङ पिरियड लाग्छ । उनी भन्छन्, ‘सायद त्यसपछि म स्वदेशमै फर्किन्छु ।’

प्यालेस्टाइन सरकारका प्रधानमन्त्रीद्वारा राजीनामा

एजेन्सी । प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले सोमवार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताउनुभएको छ । उनले फेब्रुअरी २०, २०२४ मा राष्ट्रपति महमुद अब्बासलाई सरकारको राजीनामा बुझाएको बताए । सोमवार लिखित रुपमै राजीनामा बुझाएको उनको भनाइ छ । यो निर्णय गाजा पट्टीमा प्यालेस्टिनी जनता बिरुद्धको आक्रमणसँग सम्बन्धित राजनीतिक, सुरक्षा र आर्थिक घटनाक्रमसँग सम्बन्धित रहेको बताए । शतायेहको सरकार अप्रिल २०१९ मा राष्ट्रपतिको आदेशद्वारा गठन गरिएको थियो । प्यालेस्टाइनी मेलमिलाप र चुनावको तयारीको जिम्मा दिइएको थियो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव देवेन्द्र कोइरालाले जानकारी दिए । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने छ ।