सर्वोत्तमको आईपीओ : १० लाख बढीले भरे, १९ अर्ब ३५ करोडको आवेदन
काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा १० लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्रीको अन्तिम दिनसम्ममा १० लाख १२ हजार ३८४ जनाले आवेदन दिएका हुन् । सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएससी)का अनुसार फागुन १६ गते साँझ ५ बजेसम्ममा उक्त आवेदकले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताको लागि आवेदन दिएका हुन् । उनीहरुबाट १९ अर्ब ३५ करोड ६५ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले गत फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्काशन तथा बिक्री गरेको थियो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित सो मात्राको सेयर बिक्रीमा राखेको थियो । उक्त सेयर किन्नको लागि लगानीकर्ताले प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले आवेदन दिनुपर्ने व्यवस्था थियो । र, उक्त सेयरमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाएका थिए ।
अदानचुली गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाई योजनामा अनियमितता गरेको भन्दै अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सवइन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत निर्माण कार्य गरी गराई, झुट्टा नापी किताब, उपभोक्ता समिति सम्बन्धि बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी गराई सोही झुट्टा बिल भरपाई र कागजातको आधारमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी ४२ लाख २९ हजार रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरी सरकारी रकम हानिनोक्सानी पुर्याएको आयोगको दावी छ । यससँगै निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिमको कसुर भएको हुँदा निजहरु उपर ४२ लाख २९ हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम जरिवाना र कैद गरी विगो असुल उपर हुन मागदाबी लिइएको आयोगले जानकारी गराएको छ । त्यसैगरी अदानचुली गाउँपालिकाका उप-प्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मान बहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटाले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण योजनाको अनुगमन गरी फिल्डमा वास्तविकभन्दा बढी काम सम्पन्न भएको भनि गलत प्रतिवेदन पेश गरेको भेटिएको छ । साथै, ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीले अदानचुली गाउँपालिका, हुम्लासँग भएको सम्झौता विपरित काम गरेको पाइएको छ । उनीहरुले फिल्डमा वास्तविक भएकोभन्दा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्याङ्कन गराई ४२ लाख २९ हजार रुपैयाँ भुक्तानी माग गरी सरकारी रकम हानीनोक्सानी पुर्याएको अख्तियारको ठहर छ । अख्तियारले उनीहरुविरूद्ध ४२ लाख २९ हजार ३५८ रुपैयाँ जरिवाना र कैद माग दाबी गरेको छ ।
विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधारसम्बन्धी सुझाव सरकार र संसदीय समितिसमक्ष पेश
काठमाडौं । नेपाल उद्योग परिसंघ, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनीज्ले विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधारसम्बन्धी सुझाव सरकार र संसदीय समितिसमक्ष पेश गरेका छन् । परिसंघसहित तीन संस्थाले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र संसदीय शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति सभापति भानुभक्त जोशीलाई छुट्टाछुट्टै भेट गरी प्रस्तावित विधेयकमा गरिनुपर्ने सुधारसम्बन्धी तीन महलेसहितको सुझाव पेश गरिएको हो । परिसंघको सूचना प्रविधि परिषद् सभापति अजित विक्रम शाहसहितको टोलीले मंगलबार मन्त्री शर्मासँग भेट गरी विद्युतीय व्यापारसम्बन्धी व्यवस्था ल्याइनु सकारात्मक भए पनि विधेयकको परिभाषा, विद्युतीय व्यापार सम्बद्द पक्षहरुको दायित्व, सजायको व्यवस्था, अन्तर्राष्ट्रिय बजारमा पहुँचजस्ता प्रमुख पक्षहरुमा स्पष्ट गर्न आग्रह गरेको छ । साविकमा भएको व्यवस्था, संशोधन गर्न प्रस्ताव गरिएको व्यवस्था र संशोधन गर्नुपर्ने कारणसहित खुलाई तीन महले ढाँचामा सुधार गर्नुपर्ने सुझावहरु उपलब्ध गराइएको छ । सो अवसरमा नेपालमा ठूला लगानीकर्ताले सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने वातावरण बनाउन पनि आग्रह गरिएको छ । मन्त्री शर्माले सुझावका लागि धन्यवाद दिइन् । उनले सरकार सूचना प्रविधि र साइबर सुरक्षालगायतका आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको बताइन् । सरकारको नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रका सम्बन्धमा सरकारलाई लिखित सुझाव दिन आग्रह गर्दै उनले आगामी लगानी सम्मेलनमा प्रस्तुत गर्न सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी क्षेत्रलाई आग्रह गरिन् । यसैगरी बुधबार संसदीय शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति सभापति जोशीलाई विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधारका लागि सुझाव पेश गरिएको छ ।
नयाँ आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युटका १२० जना विद्यार्थी दीक्षित
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा (नयाँ आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट) नामीमा दीक्षान्त समारोह सम्पन्न भएको छ । बेलायतको युनिभर्सिटी अफ नर्थह्याम्पटनबाट सम्बन्धन प्राप्त गरेको नामीले मंगलबार स्नातक तहको दीक्षान्त समारोह आयोजना गरेको हो । उक्त समारोहमा स्नातक तहमा २०२० मा भर्ना भएका विद्यार्थीहरु दीक्षित भएका छन् । दीक्षान्तमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेटिभ (बीबीए), बीएस्सी इन्भायरोन्मेन्ट साइनस, बीएस्सी कम्प्युटिङ, सफ्टवेयर इन्जिनियरिङ र नेटवर्क इन्जिनियरिङका १२० विद्यार्थी सहभागी भएका थिए । दीक्षित विद्यार्थीलाई समारोहका प्रमुख अतिथि नेपालका लागि मित्रराष्ट्र बेलायतका राजदूत रब फेन्नले स्नातक उपाधि हस्तान्तरण गरेका थिए । दीक्षान्त समारोह कलेजका चेयरपर्सन डा. आरजु राणा देउवाको सभापतित्वमा सम्पन्न भएको थियो । नामीमा अध्ययन गर्ने विद्यार्थीले विश्वका उत्कृष्टमध्येमा पर्ने बेलायती विश्वविद्यालयको शैक्षिक कार्यक्रममा सहभागी भई डिग्री हासिल गर्न पाउँछन् । नामीमा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको प्लस टू, जीसीई ए लेभल, बिएस्सी कम्प्युटिङ, एमएस्सी कम्प्युटिङ, बीएस्सी सफ्टवेयर इन्जिनियरिङ, बीएस्सी इन्भायरोन्मेन्टल साइन्स, बीबीए, बिएस्सी नेटवर्क इन्जिनियरिङ जस्ता शैक्षिक कार्यक्रम सञ्चालित छन् ।
सिटिजन्स बैंकले सुरु गर्यो क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा, भारतीय एपबाट भुक्तानी गर्न सकिने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले क्रसबोर्डर व्यवसायिक भुक्तानी सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु पस्कने उद्धेष्यले फोनपे नेटवर्कसँगको सहकार्यमा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको हो । उक्त सेवाअन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंकमार्फत क्यूआर भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारतीय एपमार्फत भुक्तनी गर्न सकिने भएको छ । हाललाई यस्तो सेवा भारतीय एप भिम र फोनपे एपमार्फत नेपाल स्थित सिटिजन्स बैंकका फोनपे क्यूआरमार्फत गर्न सकिने भएतापनि भविष्यमा बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत भारतमा समेत कारेवार गर्न मिल्ने व्यवस्था गर्न लागिएको बैंकले जानकारी दिएको छ । यसका साथै सिटिजन्स बैंककै मोबाइल बैकिंङ्ग प्रयोग गरि भारतमा र भारतबाट सिटिजन्स बैंकका खातामा समेत रकमान्तर गर्न मिल्ने गरि कार्य भइरहेको बैंकले जनाएको छ ।
अल्फाबिटाको ‘एक्स्ट्रा डे, एक्स्ट्रा सेभिङ’ अफर
काठमाडाैं । अल्फाबिटाले लिप इएर अफरअन्तर्गत ‘एक्स्ट्रा डे, एक्स्ट्रा सेभिङ ’ अफर गर्ने भएको छ । चार वर्षको एकपटक मनाइने यो अफरमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिइने अल्फाले जनाएको छ । फेब्रुअरी २९ तारिख अथवा फागुन १७ गते एक दिनका लागिआयल्टस्, पीटीई, टोफेल, स्याट, जीआरई र स्टडी अब्रोड प्रोसेसिङ विषयमा ५० प्रतिशत छुट हुने छ । हरेक फेब्रुअरी २८ दिनको हुन्छ तर, यो वर्षको फेब्रुअरी २९ दिनको भएकाले अतिरिक्त कक्षा सञ्चालन गर्न लागेकाले मौकाको फाइदा उठाउन अल्फाले विद्यार्थीलाई अनुरोध गरेको छ । अल्फाबिटा वैदेशिक अध्ययनका लागि परिचित र भरदपर्दो परामर्श सेवा प्रदायक संस्था हो ।
सेल्सवेजले एक वर्षमै २५ प्रतिशतले बढायो व्यापार, गर्यो पौने तीन अर्ब बढी आम्दानी
काठमाडौं । सेल्स बेरी डिपार्टमेन्ट स्टोर र सेल्स बेरी एक्स्प्रेस सञ्चालन गर्दै आएको सेल्सवेज क्यास एण्ड क्यारी प्रा.लि. (एससीसी) ले एक वर्षमा २५.४० प्रतिशतले आफ्नो व्यापार बढाएको छ । गत आर्थिक वर्ष २०२२ को तुलनामा आर्थिक वर्ष २०२३ मा कम्पनीको आम्दानी २५ प्रतिशत अर्थात ५७ करोड १० लाख रुपैयाँले बढेको हो । कम्पनीको अपरिस्कृत विवरण अनुसार २०२३ मा सेल्सवेजले २ अर्ब ८१ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकी कम्पनीले २०२२ मा २ अर्ब २४ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०२१ मा यस्तो आम्दानी २ अर्ब रुपैयाँ मात्रै थियो । सेल्सवेज एक रिटेल कम्पनी हो, जसले सेल्स बेरी डिपार्टमेन्ट स्टोर र सेल्स बेरी एक्स्प्रेसको ब्राण्डबाट ३१ वटा डिपार्टमेन्ट स्टोर्सहरु सञ्चालन गर्दै आएको छ । उक्त स्टोर्सहरु काठमाडौं, ललितपुर र पोखरा गरी तीन जिल्लामा रहेका छन् । सन् २०१४ मार्चमा एउटा प्राइभेट कम्पनीको रुपमा स्थापना भएको कम्पनी हो, सेल्सवेज । जसको प्रमुख सेयरधनीको रुपमा सुशीलमान प्रधानाङ्ग र सृजना श्रेष्ठ रहेका छन्, जसको क्रमशः ५१ र ४९ प्रतिशत सेयर रहेको छ । साथै, प्रधानाङ्ग कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत हुन् । कम्पनीले हालै २ अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको कर्जाको लागि इक्रा नेपालमा रेटिङ्ग गराएको छ । इक्रा नेपालले दीर्घकालिन अवधि अर्थात एक अर्ब ४४ करोड २४ लाख रुपैयाँको कर्जाको लागि इक्राएनपी एलबी प्लस रेटिङ्ग दिएको छ भने बाँकी एक अर्ब एक करोड कर्जा (अल्पकालिन अवधि) को लागि इक्राएनपी एफोरको रेटिङ्ग दिएको छ । यसअघि पनि कम्पनीले एक अर्ब ७० करोड ५४ लाख रुपैयाँ बराबरको कर्जाको लागि रेटिङ्ग गराएको थियो ।
सञ्चालकहरूको नियतका कारण सहकारीमा समस्याः सीईओ दाहाल
काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशबप्रसाद दाहालले सञ्चालकहरूको नियतका कारण सहकारीमा समस्या देखिएको बताएका छन् । बागमती प्रोस्कूनले बुधबारदेखि आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’ मा कार्यपत्र प्रस्तुत गर्दै दाहालले एउटा सहकारीमा समस्या उत्पन्न हुँदा छिमेकी सहकारीमा पनि समस्या देखिएको धारणा राखे । ‘सहकारीमा वर्तमान समस्याका कारणहरू’ विषयकमा कार्यपत्र प्रस्तुत गर्दै दाहालले निजी व्यवसायसरह एकाघर सदस्यहरू, व्यवस्थापक तथा पदाधिकारी बन्दा सहकारी संस्थाहरूमा समस्या देखिएको बताए । दाहालले पल्र्स अनुगमन प्रणालीलाई अंहगिकार गर्न, सदस्यको बचतलाई गैर सहकारी क्रियाकलापमा लगानी गर्दा, संस्थाहरू अन्धाधुन्ध दर्ता हुँदा र कमजोर नियमन प्रणाली हुँदा सहकारीमा समस्या देखिाएको स्पष्ट पारे । ‘सहकारीमा बाह्य कारणले पनि प्रभाव पारेको छ, राज्यले कानुन कार्यान्वयनमा सुस्तता देखाउँदा पनि केही समस्या देखियो, गलत गर्नेलाई राजनीतिक संरक्षण हुँदा र गलत गर्नेलाई समयमै कारबाही नहुँदा समस्या बल्झिएको हो’, उनले भने । यस्तै, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सदस्य धेरै बनाउने, वित्तीय विवरणलाई ठूलो बनाउने अभ्यास बढाउँदा अहिलेको समस्या सिर्जना भएको धारणा राखे । दाहालको कार्यपत्रमा टिप्पणी गर्दै अधिकारीले सहकारीको सुदृढिकरणका लागि सबै संघ संस्थाहरूले सहकार्य गर्नु पर्ने पनि बताए । बचत तथा ऋण सहकारी संस्थाहरूले सहकारीका सैद्धान्तिक पक्षहरूलाई मात्रै जोड नदिई वित्तीय मापदण्डलाई समेत प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्ने बताए । ‘सहकारीहरू सामाजिक मान्यतासँग जोडिएका छन्, सहकारीकर्मीबीच एकता र सहकार्य हुन नसक्दा एकअर्काबीच विश्वासको वातावरण हुन नसक्दा अभियान नै कमजोर बन्यो,’ उनले भने । उनका अनुसार सहकारी संस्थाले सामाजिक र साँस्कृतिक कामलाई प्राथमिकता नदिएर वित्तीय कारोबारमा मात्रै ध्यान दिँदा समस्या उत्पन्न भएको बताए ।