‘रूस जाँदा ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरिएको छ’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कूटनीतिक प्रयास अघि बढाइएको स्पष्ट पारे । प्रधानमन्त्री दाहालले रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपू्र्ति उपलब्ध गराउने र युक्रेनी सेनाले बन्धक बनाएका नागरिकलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा सम्बन्धित देशका अधिकारीसँग संवाद भइरहेको जानकारी गराए । ‘पछिल्लो समयमा क्षतिपूर्ति र बीमा रकम नेपाली राजदूतावासको खातामा जम्मा गरी कन्सुलर सेवा विभागमार्फत् पीडित परिवारलाई उपलब्ध गराउन रूस सरकार सहमत भएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘अध्ययन छात्रवृति तथा पेसा व्यवसायमा संलग्नबाहेकका नागरिकले रूस यात्रा गर्नु परे ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरिएको छ ।’
सरकार पुनर्गठनसँगै बालकुमारी घटनाको विषय सम्बोधन भयो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिवर्तन भएसँगै बालकुमारी घटनाको विषय असान्दर्भिक भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दल प्रतिपक्षमा हुँदा बालकुमारी घटनाका विषयमा पटक–पटक मन्त्रीको राजीनामा र बर्खास्तको माग गरिएको थियो । प्रधानमन्त्री प्रचण्डले सरकार परिवर्तन गरेर जवाफ दिइसकेको बताए । ‘बालकुमारी घटनाको सम्बन्धमा भनिएको विषय सरकारको पुनर्गठनसँगै एक हदसम्म सम्बोधन भएको छ,’ प्रधानमन्त्रीले भने । सदनप्रति आफू उत्तरदायी नभएको भन्ने आरोप सत्य नभएको उनको भनाइ छ । उक्त सम्बोधनमा प्रधानमन्त्रीले नेपाली कांग्रेसले सरकारमाथिको विश्वासको मत फिर्ता लिइसकेकाले फेरि विश्वासको मत लिने क्रममा आफूले संसदमा विशेष सम्बोधन गर्नेसमेत प्रष्ट पारे ।
मन्त्रिमण्डल बिस्तारसँगै बढ्यो सिंहदरबारमा चहलपहल
काठमाडौं । मन्त्रिमण्डल विस्तारसँगै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बढेको छ । पछिल्लो राजनीतिक घटनाक्रमपछि दुई-तीन दिन सुनसान बनेको सिंहदरबार मन्त्रिमण्डल बिस्तारसँगै चहलपहल बढेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका १६ मन्त्रीको नियुक्ति र शपथ र कार्यभार नतोकिएका तीन मन्त्रीको कार्यभार तोकिएपछि बुधबार साँझदेखि नै विभिन्न मन्त्रालयमा कर्मचारी, सम्बन्धित पार्टी र मन्त्रीका समर्थक र सञ्चारकर्मीको भीड बढेको हो । सहरी विकासमन्त्रीबाहेक नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरुले बुधबार राति नै आफ्ना मन्त्रालयमा पुगेर पदबहाली गरिसकेका छन् । आज बिहान ९ः३० बजेदेखि नै कतिपय मन्त्रीहरु कार्यकक्षमा पुगेर सचिवलगायत कर्मचारीबाट ब्रिफिङ लिन सुरु गरिसकेका छन् । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले यही फागुन २१ गते नेपाली कांग्रेससमेतको गठबन्धन तोडेर नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसँग नयाँ गठबन्धन गरेपछि नयाँ मन्त्रीमण्डल बिस्तार भएको हो । रासस
शतप्रतिशत हकप्रद जारी गर्न बाराही हाइड्रोले पायो अनुमति
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकले शतप्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगको अनुमति पाएको छ । आयोगको फागुन २३ गतेको निर्णयले हाइड्रोले मागेको अनुमति बमोजिम अर्थात एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । आयोगको अनुमति पाएपनि नेपाल धितोपत्र बोर्डको प्रकृया भने बाँकी नै रहेको छ । बोर्डले अनुमति दिएपछि मात्रै कम्पनीले सो मात्राको हकप्रद सेयर निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद पश्चात हाइड्रोको चुक्ता पुँजी ५० करोड रुपैयाँ नाघ्ने छ ।
सानिमा बैंकको चाडपर्व विशेष योजना सार्वजनिक
काठमाडौं । सानिमा बैंकले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याए संगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकहरुले आफूले महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ । यो योजना फागुन २५ देखि लागू हुनेछ । छुट प्राप्त गर्नका लागि ग्राहकले महाशिवरात्री, ग्याल्पो ल्होसार र होली मनाएको फोटो युक्त कार्डका लागि चैत १५ गतेसम्म आवेदन दिनुपर्नेछ । घोडे जात्रा र नयाँ वर्ष मनाएको फोटो युक्त कार्डका लागि बैशाख ५ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त कार्डका लागि ग्राहकहरुले सानिमा बैंकको आधिकारिक वेबसाइट वा सानिमा मोबाइल बैंकिङ्ग एप मार्फत आफूले इच्छाएको फोटो अप्लोड गरी आवेदन दिन सक्नेछन् । सानिमा बंैकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न अस्पताल, शपिङ आउटलेट, होटल, रेष्टुरेन्ट तथा अन्य मर्चेन्टहरुमा आकर्षक छुटको व्यवस्था मिलाएको छ ।
चेम्बर एक्स्पो २०२४ भृकुटीमण्डपमा सुरु
काठमाडौं । नेपाल चेम्बर एक्स्पो २०२४ काठमाडौंको भृकुटीमण्डपमा बिहीबाट सुरु भएको छ । स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो आयोजना भएको हो । सातौं संस्करणको चेम्बर एक्सपोको उद्घाटन नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गरे । एक्सपोको उद्घाटन गर्दै श्रममन्त्री अर्यालले कठिन अवस्थामा रहेको अर्थतन्त्रलाई स्वदेशी उत्पादन पर्वद्धनले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक, सामाजिक क्षेत्रको विकासका लागि चेम्बर एक्स्पो २०२४ आयोजना गरिएको बताए । ‘मुलुकभित्रका यस्ता आर्थिक क्रियाकलापल देशमा उत्पादन भएका वस्तुलाई निर्यात साथै प्रवर्द्धन गर्नमा मद्दत पुर्याउने छ,’ उनले भने, ‘यस एक्सपोमा अन्तर्राष्ट्रि क्षेत्रको सहभागिताले त्यहाँ भइरहेका आर्थिक क्रियाकलाप, नवीतम प्रवधिको उपयोग एवं व्यापार व्यवसायका नयाँ आयामहरू नियाल्न नेपाली उद्योगी व्यवसायीलाई सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु ।’ उनले देश आयातमुखी भएकाले देशमा नै उत्पादित वस्तुको प्रवर्द्धन र निर्यात गर्न अति आवश्यक भएको पनि उनले बताए । प्रर्दशनीमा हस्तकलाका वस्तु, जडिबुटी, स्वास्थ्य सामग्री, घर–जग्गा व्यवसायी, खाद्य एवम् पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, सवारी साधन, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू रहेका छन् । एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका अध्यक्ष मल्लले जानकारी दिए । एक्सपो फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।
खल्ती र गरिमा विकास बैंकबीच डिजिटल रुपान्तरणका लागि रणनितिक सम्झौता
काठमाडौं । खल्ती र गरिमा विकास बैंक लिमिटेडबीच डिजिटल भुक्तानीका लागि रणनितिक सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत अब गरिमा विकास बैंकका ग्राहकहरुले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन् । यो साझेदारी सँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्टबैंक एप– गरिमा डिजिटल बटुवा बाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत लिन सक्नेछन् । ग्राहकहरूले खल्ती प्रयोग गरि सहजै मुभी, इभेन्ट लगायतको टिकट खरिद सँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूको लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ । बैंकबाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकहरुले खल्ती बाट गरिमा विकास बैंकको खातामा सजिलै पठाउन पनि सक्नेछन् । उक्त सम्झौताको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भने, ‘डिजिटल नेपालको उदेश्यमा प्रतिबद्धताका साथ अघि बढिरहेको खल्तीले हाल सम्म ५० बैंक सँग हाते मालो गर्दै ग्राहक वर्गमा सरल र सहज भुक्तानीको सेवा सुविधा उपलब्ध गराउँदै आईरहेका छ । यसै अनुरूप गरिमा विकास बैंक सँगको यो साझेदारीले डिजिटल नेपाल को यात्रामा बलियो योगदान दिने कुरामा हामी विश्वस्त छौँ ।’
होण्डाले १५० करोडको लगानीमा नेपालमै शुरु गर्यो उत्पादन प्लान्ट
काठमाडौं । होण्डाका दुइ पाङ्ग्रे सवारीको असेम्बल अब नेपालमै हुने भएको छ । भैरहवामा १५० करोडको लागतमा बनेको उक्त प्लान्टको उद्घाटन होण्डा मोटरसाइकलको मूख्य बिजनेस युनिटका भाइस प्रेसिडेन्ट मिनोरु कटोले गरेका हुन् । उक्त उद्घाटन कार्यक्रममा स्वदेशी तथा विदेशी प्रतिनिधिहरूको उपस्थिति थियो। दुई लाख स्क्वायर फुटको क्षेत्रफलमा रहेको उक्त प्लान्टले एक लाख वटा मोटरसाइकल र स्कुटरको उत्पादन क्षमता राख्ने कम्पनीले बताएको छ । होण्डाको नेपालका लागि अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी रहेको छ । त्यस्तै, स्याकार ट्रेडिङ्गको सहायक कम्पनी हिमाल मोटो प्रा.लिले एसेम्बल गर्ने छ । यससँगै कम्पनीको उत्पादनको बिक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्बिसिङ्गको सेवा थप सहज र सुलभ हुने कम्पनीको दावी छ ।