विकासन्युज

वल्फ लिण्डाको विवाह र नेपालको सत्ता गठबन्धन

पूर्वपतिहरूको फोटो देखाउँदै वल्फ लिण्डा काठमाडौं । कहिले एउटा र कहिले अर्कै राजनीतिक दलसँग गठबन्धन गरेर सत्ता सम्हाल्ने विषय नेपाली राजनीतिक दलका लागि नयाँ होइन । यसमा उनीहरू आफू पनि अभ्यस्त भइसकेका छन् भने अब सर्वसाधारणले पनि त्यसलाई सहजरूपमा लिन थालिसकेका छन् । यहाँ सिद्धान्त, मूल्य, मान्यता, राष्ट्रिय आवश्यकता, देशको मुलभुत समस्या समाधान केन्द्रीत नभई मात्र केवल नेतृत्वको आकांक्षा र व्यक्तिगत सुविधाका नयाँ सम्बन्ध वा सम्बन्ध विच्छेद भइरहेका छन् । सत्ता गठबन्धनमा फेरवदल आउँदा सत्ताबाट बाहिरिएकाे मुख्य पार्टी नेपाली काँग्रेसको कार्यकर्ता पंक्तिमा व्यापक निराशा देखियो । तर, सत्तामा भित्रिएको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका कार्यकर्ता पंक्तिमा कुनै उत्साह देखिएन । नयाँ गठबन्धनमा सरकार बन्दै गर्दा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधीश, प्रधानसेनापति लगायत सरकारको मुल नेतृत्व यथावत रहनेछ । राज्य सञ्चालनको लागि महत्वहीन रहेको राष्ट्रिय सभाको अध्यक्षमात्र फेरिँदैछ, जुन परिवर्तनको समय नै भएको हो । नयाँ गठबन्धनसँगै केही मन्त्रीहरू फेरिएका छन् तर प्रवृतिमा कुनै परिवर्तन छैन । सरकारको नीति, कार्यक्रम, बजेटमा खास परिवर्तन हुने छैन । एउटा सम्भावना निश्चित छ, जेठ १५ गते सार्वजनिक गरिने बजेटमा करका दर वृद्धि गरिनेछ । करका दर वृद्धि हुनुपूर्व सातै प्रदेश सरकारहरूमा टुटफुट निश्चित छ, त्यसको सुरुवात पनि भैसकेको छ । केन्द्रमा झै प्रदेशमा पनि मन्त्रिपरिषद् फेरबदल हुँदैछ । अबको करिब एक महिनासम्म राजनीतिक विधाका पत्रकारहरू दलहरूले मन्त्री पदका लागि गर्ने दावी र मन्त्रीहरूको फेरबदलका समाचार छिनछिनमा ब्रेक्रिङ गर्न व्यस्त हुनेछन् । रुखको पात झर्ने र पलाउने जस्तै मन्त्री खुस्कने र बन्ने महत्वहीन विषयमा सञ्चारकर्मीहरूले धेरै समय बिताउने छन् । सरकार बन्नु र भत्कनु नेपाली समाजको लागि नौलो विषय बन्न छोडेको छ । जनसरोकारको विषयमा सरकारको भूमिका देखिन छोडेसँगै सरकार गठन, विघटन, एउटा दल सरकारबाट बहिर्गमन, अर्को दल सरकारमा आगमनले सर्वसाधारणमा कुनै फरक पार्न छोड्दै गएको छ । सरकार परिवर्तन केवल सरकारी सेवामा दलाली गरेर अबैध आर्जनको पेशामा रहेका दलाल र राजनीतिक विचौलियाको लागि मात्र चासोको विषय बन्दैछ । र, राजनीतिक विधामा समाचार लेख्ने पत्रकारको लागि समाचारको विषय बन्ने गरेको छ । अरुको लागि सरकार परिवर्तन घाम उदाउनु र अस्ताउनु बराबर हुँदैछ । सत्ता गठबन्धन परिवर्तनपछि थोरै मानिसको अनुहारमामा खुशी देख्न सकिन्छ । आम मानिसहरू बेचैन छ । बेचैन हुनुमा केही आधारहरू छन् । राजनीतिक अस्थिरता झनै बढ्यो । नयाँ संविधानले राजनीतिक स्थायित्व दिन सकेन । राजनीतिक नेतृत्वले बारबार गल्ती स्वीकार गर्छ तर सच्चिनेतर्फ कुनै संकेत समेत दिएन । २०४७ सालको परिवर्तनको १२ वर्षमा धेरै राजनीतिक अस्थिरता भएको थियो । त्यसको अपजस दलहरूले राजा र दरवारियालाई दिन्थे । त्यतिबेला भन्दा गणतन्त्र आएपछिको राजनीतिक अस्थिरता झनै बढेको छ । मुल कारणबारे सचेत नागरिक जानकार छन् कि -राजनीतिक दलका नेताहरू चरम स्वार्थी हुनु, व्यक्तिवादी हुनु, राष्ट्रिय आवश्यकता नबुझ्नु, दूरदर्शीता नहुनु, विचारको राजनीति छोड्नु । नेतृत्वले इमान, जमान, अडान सबै लत्याउँदै जानु । सरकारले दिने न्यायिक सेवाप्रति सर्वसाधारणको विश्वास गुम्दो छ । प्रहरीले दिने सुरक्षाप्रति सर्वसाधारणको विश्वास गुम्दो छ । शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर खस्कदै गएको छ । सहरका सडक भत्कदै गएका छन् । गाउँमा सडक पूर्वाधार बन्न छोडेका छन् । बनेका विमानस्थलमा जहाज आउँदैन । बनेका धारामा पानी झर्दैन । जहाँ सरकारको उपस्थिति छ, त्यहाँ अस्तव्यस्तता चरम छ । कतिसम्म भने सरकारी कर्मचारीहरूले तलब नपाएकाे गुनासो पत्रकारसँग गर्न थालेका छन् । कलेज पास गर्नेले काम पाउँदैनन् । रोजगारी पाउनेले पनि नियमित तलब पाउन छोडेका छन् । उद्योग व्यवसायमा लगानी गर्नेले प्रतिफल पाउने छोडेका छन् । सेयर र घरजग्गामा लगानी गर्नेहरू गुमेको सम्पत्तिको हिसाव गरेर बसिरहेका छन् । ऋण प्रवाह गर्ने बैंकहरूले कर्जाका किस्ता फिर्ता पाउन छोडेका छन् । सहरमा घर बनाउनेले भाडा पाउन छोडेका छन् । गोलभेडा वा उखु वा अन्य बाली लगाउने किसानले उत्पादनको उचित मूल्य पाउँदैनन् । दुध किसानले भुक्तानी पाउँदैनन् । अर्थतन्त्र डामाडोल भएको छ । उद्योगहरू ४० प्रतिशतभन्दा कम क्षमतामा चलेका छन् । व्यापारमा उच्च गिरावट भएको छ । सहरका सटरहरू भटाभट बन्द भैरहेका छन् । निजी क्षेत्र नियमित रूपमा कर्मचारीको तलब खुवाउन र बैंकको किस्ता तिर्न असफल हुँदै गएको छ । सरकार आफ्नै कर्मचारीलाई नियमित तलब खुवाउन, सार्वजनिक ऋणको किस्ता तिर्न र सामाजिक सुरक्षा भत्ता खुवाउन नसक्ने अवस्थामा फस्दैछ । सरकारी बजेटमा आधारित निर्माणको काम ठप्प नै भएको छ । देशको अवस्था बिग्रदै जाँदा काम गरिखाने वर्ग कि देशबाट पलायन भएको छ कि निराश भएर, विरक्तिएर बसेको छ । उत्पादनमुलक उद्योगहरू क्रमशः बन्द हुदै गएका छन् । अन्तर्राष्ट्रिय व्यापार घाटा बढ्दै गएको छ । युवा पुस्ता गुणस्तरीय शिक्षा र रोजगारीका लागि देश छोड्न बाध्य भईरहेको छ । विदेश पलायन र नैराश्यता देशको लागि सबैभन्दा ठूला समस्याको रूपमा फैलिएको छ । वल्फ लिण्डा यी यावत समस्या समाधान गर्नेतर्फ राजनीतिक नेतृत्वको सिर्जनात्मक सोच, छलफल, योजना केही छैन । एउटा नेताले अर्को नेतालाई गाली गर्न जानेको छ । विपक्षीमा हुनेले सत्ता पक्षलाई धम्क्याउन जानेको छ । समाजलाई पुरै निराश तुल्याउने गरी संसदमा वा सार्वजनिक मञ्चमा समस्याको चाङ देखाउन राजनीतिक नेतृत्व माहिर छ । तर, उसँग समास्याको समाधान छैन । मात्र सत्ता चाहिएको छ, मात्र पद चाहिएको छ, मात्र कुर्सी चाहिएको छ, मात्र निजी स्वार्थ र आसेपासेको स्वार्थ पूर्ति गर्नु परेको छ । नेपालको सत्ता गठबन्धनको नयाँ श्रृंखलाले वल्फ लिण्डाको विवाहलाई स्मरण गराएको छ । गिनिज वल्ड रेकर्डका अनुसार लिण्डाले २३औं पटक विवाह गरेर विश्वको सबैभन्दा बढी विवाहको रकर्ड कायम गरेकी रहिछन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अमेरिकी नागरिक लिण्डाको निधन ८७ वर्षको उमेरमा सन् २०२२ मा भयो । २४औं विवाह गर्न नपाएकोमा उनी मर्नुअघि पनि असन्तुष्ट थिइन् । वल्फ लिण्डा पत्रकार एवं लेखक हुन् । चरम यौन इच्छा भएकी लिण्डाले धेरै पुरुषसँग विवाह गरिन् । उनका पतिहरूको सूचीमा अदालतबाट दोषी ठहर भएका व्यक्तिदेखि मेकानिक, प्रचारक, बारमेन, प्लम्बर, संगीतकारसम्म थिए । र, विवाहित पुरुषसँग उनको सम्बन्ध कम्तिमा ३६ घण्टा र बढीमा ७ वर्ष रहेको थियो । शुभेच्छा व्यक्त गरौं नेपालको सत्ता गठबन्धन वल्फ लिण्डाको विवाहको लहड जस्तो नबनोस् ।

सञ्चारमन्त्री रेखा शर्माले नै पाइन् सरकारको प्रवक्ताको जिम्मा

काठमाडौं । सरकारले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई तोकेको छ । बिहीबार बसेको पुनःगठित मन्त्रीपरिषद्को पहिलो बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले सरकारले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औं सत्रमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको पनि बताइन् । साथै, उनले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने समेत बताइन् ।

गरिमा विकास बैंकको एक्सटेन्सन काउण्टर स्याङ्जाको भुम्रेमा

काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन फागुन २३ गते भएको हो । सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्नेछन् । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रचण्डले राजनीतिक बेइमानी गरे : नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले माओवादीले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । बिहीबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले आफूहरुले गठबन्धनको संस्कृतिअनुसार इमान्दारिता निभाएको तर माओवादीले भने राजनीतिक बेइमानी गरेको आरोप लगाएको हो । ‘हामीले गठबन्धनका मूल्य मान्यता र गठबन्धनमा रहँदा हाम्रा बीचमा भएका सहमतिहरुलाई अक्षरसः पालना गरेर हामी प्रतिबद्ध रह्यौं र तदनुरुप हामीले काम गर्यौं’, उनले भने, ‘तर, पछिल्लो समयमा गठबन्धनकै तर्फबाट प्रधानमन्त्री बन्नुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माननीय पुष्पकमल दाहालजीले गठबन्धनलाई हामीलाई विश्वासघात गर्नुभो र गठबन्धन भत्काउनुभो ।’ लेखकले प्रचण्डले बाहिर गठबन्धन भत्कनुको कारणबारे भनेका कुराहरु तथाकथित र काल्पनिक भएको भनेर पनि आरोप लगाएका छन् ।

महानगरद्वारा ४२२ वटा बोलपत्र मूल्याङ्कन, ६ अर्ब बढी राजस्व संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ४२२ वटा बोलपत्र मूल्याङ्कन गरेको छ । मूल्याङ्कन गर्न बाँकी बोलपत्रको संख्या २७ छ । बुधबार केन्द्रीय कार्यालय रहेको काठमाडौं प्लाजाको सभा कक्षमा सम्पन्न अर्धवार्षिक समीक्षा यस सम्बन्धी जानकारी दिइएको हो । यस अवधिमा ६ अर्ब ३ करोड ५९ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै सञ्चित कोषबाट लक्ष्यको २४ प्रतिशत खर्च भएको छ । गएको असारमा सम्पन्न महानगरपालिकाको १३औँ नगर सभाबाट यस बर्ष सञ्चित कोषबाट २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बजेट पारित भएको छ । यसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ छ । यस अवधिमा १२.३६ किलोमिटर सडक कालोपत्रे र ५.६५ किलोमिटर सडक गरिएको छ । ३.७१ किलोमिटर ढल निर्माण, ६.१३ किलोमिटर सडकमा ब्लक छापिएको छ । ९७८ वर्गकिलोमिटर सडकमा ढुङ्गा छापिएको छ । १.४७ किलोमिटर रिटेनिङ् पर्खाल बनाइएको छ । ३ वटा वडा कार्यालय भवन निर्माण गरिएको छ । अन्य ९ वटा भवन निर्माण गरिएका छन् । ३ वटा पार्क बनाइएका छन् । यस अवधिमा १०९ वटा योजना निर्माण सम्पन्न भइसकेका छन् । महानगरपालिकाभित्र रहेका १ हजार ९३५ वटा सहकारीमध्ये करिब ५० प्रतिशत निष्क्रिय छन् । स्वीकृत भएका १६ वटा कानुन स्थानीय राजपत्रमा प्रकाशित भएका छन् । १६ हजार ५९३ जना सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा (लिखत, परामर्श र अन्य) उपलब्ध गराइएको छ । सूचना अधिकारीसमक्ष सूचना माग गर्दै दर्ता भएका भएका ७१ निवेदनमध्ये ६७ वटालाई सूचना उपलब्ध गराइएको छ । कानुनी सल्लाहकारहरुबाट १०४ वटा, कानुन तथा मानव अधिकार विभागबाट १५२ वटा राय दिइएको छ । ३६३ वटा विषय खुलाएर पठाइएको छ । सम्पदा तथा पर्यटन विभागबाट २४ वटा योजना सम्पन्न गरिएका छन् । ३७ वटा योजना निर्माणाधीन र ६८ वटा योजना ड्रइङ् डिजाइनको अवस्थामा छन् । ८ वटा योजना खरिद प्रक्रियामा छन् भने २ वटा खरिद मूल्याङ्कन प्रक्रियामा छन् । अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्नका लागि ५२ वटा विभिन्न संघसंस्थाहरुलाई अनुदान रकम उपलब्ध गराइएको छ । यस बर्ष मूर्त सांस्कृतिक सम्पदातर्फ १६१ वटा र अमूर्त सांस्कृतिक सम्पदातर्फ ३२ वटा कार्यक्रम छन् । त्यस्तै चालु क्रमागततर्फ ८९ वटा कार्यक्रम छन् । स्वास्थ्य क्षेत्रका कार्यक्रमअन्तर्गत लक्षित वर्गको निःशुल्क उपचार प्रणाली कार्यान्वयनमा आएको छ । स्वास्थ्य प्रवर्धन केन्द्र र बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । ११९ वटा स्वास्थ्यका कार्यक्रममध्ये ६२ प्रतिशत भौतिक प्रगति भएको छ । स्वास्थ्य विभागले ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ महानगर गौरवको योजना कार्यान्वयनमा ल्याएको छ । यसमा १० वटा कार्यक्रम छन् । ‘सुलभ फार्मेसी’, ‘स्च्छ भान्छा कार्यक्रम’ र ‘आरोग्य जीवन’ स्वर्णिम योजनामा क्रमशः ३०, १० र ३७.५ प्रतिशत भौतिक प्रगति भएको छ । महानगरपालिकाभित्र ५२ वटा निजी अस्पताल, १० वटा सरकारी अस्पताल, एउटा प्राथमिक उपचार केन्द्र, ३२ वटा स्वास्थ्य प्रवर्धन केन्द्र, ६ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र छन् । ५५८ जना महिला स्वास्थ्य स्वयमसेविकाले समुदाय स्तरमा परिवार नियोजन, खोपसहितका आधारभूत स्वास्थ्य सेवा प्रवर्धनका लागि काम गरिरहेका छन् । यस अवधिमा महानगरपालिकाभित्र २ हजार ३४४ जनाको जन्म दर्ता र १ हजार २३५ जनाको मृत्यु दर्ता भएको छ । १ हजार ७७० जनाको विवाह दर्ता भएको छ भने २८२ जोडीको सम्बन्ध विच्छेद भएको छ । १ हजार १२२ परिवारबाट ३ हजार १८० जना बसाइँ सरेर आएका छन् भने ६२० परिवारका १ हजार ६०९ जना बसाइँ सरेर गएका छन् । सामुदायिक विद्यालयहरुमा पुस्तकविहिन शुक्रबारका कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकको रुचि बढेको छ । हरित विद्यालय, सुन्दर विद्यालयलगायतका कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । मंसिर १ गतेदेखि सरसफाइका लागि ३ सय जना जनशक्ति थप भएपछि दैनिक ८० देखि १ सय मेट्रिक टनसम्म फोहोरको मात्रा थपिएको छ । विगतमा दैनिक ६ सय मेट्रिक टन फोहोर व्यवस्थापन हुँदै आएको थियो । भवन निर्माण इजाजत लिँदा घरधनीहरुको बायोमेट्रिक लिन थालिएको छ । इबीपीएसलाई कर र बैंकिङ प्रणालीसँग आवद्ध गरिएको छ । समीक्षापछि बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘योजना र कार्यक्रमको मात्र होइन, समीक्षामा सेवाको स्तरका बारेमा पनि छलफल गर्नुपर्छ । आन्तरिक समन्वय बलियो बनाउनुपर्छ । सार्वजनिक कोषबाट गरिएको खर्चबाट कस्तो स्तरको काम भयो, गुणस्तर पनि मापन गर्नुपर्छ ।’ वित्तीय सुशासनका लागि इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (इएफटी) प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताए । वित्तीय प्रगति कम देखिन सक्छ । योजना कार्यान्वयनमा गएको तर भुक्तानी नभएको हुन सक्छ । परियारले भने, ‘आन्तरिक नियन्त्रण निर्देशिका तर्जुमा गरेर कार्यान्वयन गरिनेछ । बैशाखबाट इअफिस (अनलाइन प्रक्रिया प्रणाली) कार्यान्वयनमा ल्याइनेछ ।’ योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले समीक्षा आयोजना गरेको थियो । कार्यक्रममा विभाग, सचिवालय, कार्यक्रम तथा आयोजनाबाट कार्यक्रमबाट प्राप्त उपलब्धी, लक्ष्य प्राप्त गर्न देखिएका समस्या र समस्या समाधानका लागि थालिएको प्रयासका बारेमा छलफल गरिएको थियो । यस्तै, महानगर गौरव योजना र स्वर्णिय योजनाको कार्यान्वयनको अवस्थाका बारेमा छलफल गरिएको थियो ।

अर्थमन्त्रीले सेयर बजारप्रति सकारात्मक धारणा राखेपछि लगानीकर्ता खुसी, हरियाली बजार

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ । अर्थमन्त्रीकारूपमा नियुक्त भएको दोस्रो दिनमा सेयर बजार बढेर अर्थमन्त्री पुनलाई स्वागत गरेको हो । यो समाचार तयार पार्दासाँ नेप्से परिसूचक २२.६७ अंकले बढेर पौने ७ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार अर्थमन्त्री पुनले सेयर बजारप्रति सकारात्मक धारणा राखेका थिए । उनले सेयर बजारमा भएका नीतिगत कुरालाई करेक्सन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । उनले अहिले प्यानिक अवस्थामा रहेका लगानीकर्तालाई केही राहत हुने गरी काम गर्नु पर्ने बताएका थिए । अर्थमन्त्री पुनले आफूले ६० लाख सेयर लगानीकर्ताको हितमा काम गर्ने बताउँदै अहिलेको अवस्थामा लगानीकर्ताको मनोवल बढाउने काम गरेर सेयर बजारलाई विगतमा जस्तो हेरेर नहुने धारणा राखेका थिए । ‘सेयर बजार तलमाथि भइरहन्छ, यसमा भएका समस्याहरूलाई संरचनागत तथा नीतिगत रूपले सुधार गर्नुपर्छ, ६० लाखभन्दा धेरै सेयर होल्डरहरू बजारमा छन्, उनीहरू सबैको हितका लागि काम गर्नुपर्छ,’ उनले भनेका थिए । अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्ने पनि उनको भनाइ थियो । उनको यस्तो अभिव्यक्तिप्रति सेयर लगानीकर्ता पनि खुसी भएका छन् । बिहीबार बजार खुलेदेखि बजार निरन्तर बढिरहेको छ ।

बिहीबारको संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबारको संसदमा सम्बोधन गर्ने भएका छन् । उनले बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्न लागेका हुन् । नयाँ सत्ता समीकरण बनाएपछि प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

सुनको मूल्यमा दैनिक रेकर्ड, यस कारण बढिरहेको छ भाउ

काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार थप १ हजार ५ सय बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको हो । मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको हो । यस्तै बिहीबार तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो । सुनको मूल्य बढ्नुमा विभिन्न कारण छन् । पछिल्लो समय लगानीकर्ताको सुनप्रतिको आकर्षण र भूराजनीतिक अवस्थाले पनि सुनको मूल्यमा प्रभाव पारिरहेको बुझिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार विश्वभरका केन्द्रीय बैंकहरूले उच्च दरमा सुनमा लगानी बढाएका छन् ।