विकासन्युज

सेरेसको नयाँ स्टेट द अफ आर्टसोरुम नक्सालमा

काठमाडौं । नेपालका लागि सेरेस इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट सोरुम संचालनमा ल्याएको छ । सेरेसका डिपुटी जनरल म्यानेजर जिया झु र एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले सेरेसका प्रतिनिधि जुन सि र यी पांग तथा अटोमोबाइल क्षेत्रका विशिष्ट अतिथिहरुको उपस्थितिमा बिहीबार नयाँ सोरुम उद्घाटन गरेका हुन् । नयाँ सोरुमले नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरिय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभुत गर्छ । उद्घाटन समारोहमा एमएडब्लु वृद्धिले सेरेस ३ ले हिमाली क्षेत्रमा रहेको कोरोला पासको कठिन भूगोलमा पुगेको इन्ट्रो भिडियो पनि देखाएको थियो । सेरेस ३ समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाइमा अवस्थित कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयुभी हो । नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरिय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभुत गर्न यो कदम महत्वपूर्ण छ । काठमाडौंको मुटुमा अवस्थित नयाँ सोरुमले ग्राहकलाई सेरेस इलेक्ट्रिक भेहिकलको संसारको आभाष दिलाउनेछ । ग्राहक अनुभवलाई केन्द्रमा राखि डिजाइन गरिएको यो सोरुममा विशाल एलइडी डिस्प्ले, सेरेसका पछिल्ला इभी मोडेल र परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुनेछ । नेपालमा सेरेसको उपस्थिति बलियो बनाउन र इभीको बढ्दो मागलाई पुर्ति गर्न यो सोरुमको महत्वपूर्ण भूमिका हुनेछ । ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापना गरेर सेरेसले विक्री र विक्रीपछिको सेवा उपलब्ध गराएर सेरेसले नेपालको हरित यात्रालाई गति दिनेछ । सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौबाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ । निकट भविष्यमा सेरेसले विर्तामोड, विराटनगर, नेपालगञ्ज, , चितवन र भक्तपुरमा पनि सोरुम खोल्दैछ ।  

उतारचढावबीच दोहोरो अंकले बढ्यो सेयर बजार, पिपुल्स हाइड्रोमा लाग्यो सर्किट

काठमाडौं । बिहीबारको सेयर कारोबारमा तीव्र उतारचढाव देखियो । दिनभर उतारचढाव देखिएको बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक १३.५१ अंकले बढेको छ । बुधबारको तुलनामा बिहीबारको परिसूचक ०.६७ प्रतिशतले बढेर २०३०.५५ बिन्दुमा पुगेको छ । बजारमा परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । बुधबार ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबारको कारोबार भने ३ अर्ब १९ करोडमा सीमित भएको छ । बिहीबार कारोबारमा आएका कम्पनीमध्ये नेपाल रिइन्स्योरेन्सको सबैभन्दा बढी रकमको संस्थापक सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ५६ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । बजारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्य घटेको छ । सेयर मूल्य बढ्नेमा पिपुल्स हाइड्रोपावर अगाडि रहेको छ । कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशत अर्थात ३१.८० रुपैयाँले बढेर प्रतिकित्ता ३४९.८० रुपैयाँ पुगेको छ । बिहीबार तीन समूह राता देखिएका छन् भने बाँकी समूहमा हरियाली छाएको छ । राताम्मे देखिनेमा होटल्स एण्ड टुरिजम, म्यूचुअल फण्ड र ट्रेडिङ समूह रहेका छन् ।

हामीबाट धोका हुँदैन, छोडेर नजानुहोला प्रचण्ड : चौधरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले आफूहरुले प्रचण्डलाई धोका नदिने तर, उनले पनि धोका नदिन आग्रह गरेका छन् । बिहीबार संसदमा बोल्दै सांसद चौधरीले तिर्खाएकाहरु कुवा खोज्ने गर्नेमा कुवा नै भाग्ने अवस्था नगर्न उनले प्रचण्डलाई भनेका छन् । ‘हामीले त धोका दिँदैनौं तर, तपाईंले पनि हामीलाई पनि धोका नदिनुहोला’, चौधरीले भने, ‘एमाले जस्तो लामो इतिहास भएको पार्टीको साथ पाउनुभएको छ, रास्वपा जस्तो राइजिङ पार्टीको साथ पाउनुभएको छ, अरुले पनि धोका दिँदैनन् तपाईंले पनि धोका नदिनुहोला ।’

काठमाडौंको व्यवसाय छाडेर कागती खेतीमा रमाउँदै रामबहादुर

पर्वत । उमेरले ७० वर्ष पुगिसकेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता दिलाउन स्थानीय वडा कार्यालयले सिफारिस गरिसकेको छ । तर पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ७० वर्षीय रामबहादुर पौडेल क्षेत्रीको जोश जाँगर भने २०/२२ वर्षे तन्नेरीको जस्तै छ । बिहान उठेदेखि राति अबेरसम्म उनी कागती बगानमा मेहनत गरिरहन्छन् । घर वरिपरि रहेको २० रोपनी क्षेत्रफलमा लगाइएका कागती गोडमेल गर्ने, काँटछाट, मल बीउ हाल्ने र फल टिप्ने तथा बेच्ने काममा उनलाई भ्याइनभ्याइ छ । कटुवाचौपारी धानबालीका लागि जिल्लाकै अब्बल भूमि हो । समथर भुभागमा रहेको यो ठाउँ तराईजस्तै छ । तर उनले विगत १० वर्षदेखि धान रोप्न छाडेर एक हजार बिरुवा कागती लगाए । नगदे बालीको रुपमा रहेको कागती र जिल्लामै पहिलोपटक व्यावसायिक रुपमा आफैँले थालेको कुरिलो खेतीबाट वार्षिक १० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । लामो समय काठमाडौंमा बसेर व्यापार गरेका क्षत्री ६० वर्षको उमेरमा काठमाडौं छाडेर गाउँ फर्किएका थिए । गाउँ फर्केपछि व्यावसायिक रुपमा कृषि पेसामा लागेका हुन् । काठमाडौं बस्ने क्रममा बोटानिस्ट डा खेमराज भट्टराईसँग भेट भयो । डा भट्टराईले कटुवाचौपारीको भौगोलिक अवस्थाका बारेमा रामबहादुरसँग सोधपुछ गरेपछि त्यहाँको माटोमा केही गर्न प्रेरणा दिए । पुर्खाले आर्जेको माटोमा आफैँ नङ्ग्रा खियाउने अठोटका साथ रामबहादुरले काठमाडौंको व्यवसाय छाडेर गाउँमा फर्किए । विसं २०७० मा रामेछापको मन्थलीबाट बिरुवा ल्याएर रोप्नुभएका क्षत्रीको बगैँचामा कागतीका करिब एक हजार बोट छन् । कागती उत्पादन फार्म सञ्चालन गरेर व्यवसाय थालेका क्षत्रीले सुरुमा बिरुवा हुर्कनको लागि समय लागेको, फाटफुट रूपमा बिक्री भएको भए पनि पछिल्ला तीन वर्षयता ४० क्विन्टलको हाराहारीमा कागती बिक्री वितरण गर्दै आएका छन् । उनले प्रतिकिलो दुई सय खुद्रा र होलसेलमा एक सय ८० रुपैयाँमा बिक्री गर्ने गरेको बताए । अहिले बजारको समेत समस्या नरहेको र घरबाटै बिक्री हुने उनले बताए । गत वर्ष भने असिनाले कागतीमा क्षति गरेकाले यस वर्ष उत्पादन केही घटेको उनको भनाइ छ । आफ्नो बगैँचामा कुनै प्रकारको रासायनिक पदार्थ ९विषादी मल० को प्रयोग नगरेको बताउने क्षत्रीले कागतीका बिरुवासमेत उत्पादन गर्न थालेका छन् । काँचो रस बिक्री नभए पकाएर चुक बनाएर बेच्ने । यसको बोक्राबाट स्वादिलो क्यान्डी बन्छ । उनले गत वर्ष मात्रै कागतीका चार हजार बिरुवा बिक्री गरेका थिए । यस वर्ष १४ हजार बिरुवा तयार गरेको उनले बताए । कृषि ज्ञान केन्द्र पर्वतले कागतीको स्रोत केन्द्रको रुपमा उनको फार्मलाई छनोट गरेको छ । कागतीसँगै क्षत्रीले २०७५ सालबाट कुरिलो खेती सुरु गरेका छन् । कागतीका बोटका बीचमा रोप्दा पनि हुने भए पछि उनले कुरिलोका लागि नयाँ जग्गा प्रयोग गर्नुपरेन । कुरिलोको डेढ किलो बीउलाई नौ हजारमा ल्याएका उनले त्यो बीउबाट पाँच हजार बिरुवा तयार बनाए । उनको बगैँचामा अहिले कुरिलोका १५ हजार बिरुवा पुगेका छन् भने यही वर्ष १० हजार बिरुवा थप गर्ने योजना रहेको क्षत्रीले बताए । कुरिलो बिक्री गरेर प्रत्येक छ महिनामा सन्तोषजनक आम्दानी भइरहेको उनको भनाइ छ । सुरुमा आयुर्वेदिक औषधि निर्माण गर्ने काठमाडौंका कम्पनीमा कुरिलोको जरा बिक्री गरेका उनले आजभोलि भने कुरिलोको टुसा घरबाटै बिक्री गर्दै आएका छन् । जति धेरै टुसा निकाल्न सक्यो उति नै नयाँ टुसा पलाउँदै जाने भएकाले बगैँचामा जति समय दिन सक्यो उति नै धेरै आम्दानी बढ्दै जाने उनको भनाइ छ । पोखरा–काठमाडौंका बजारमा धेरै मूल्यमा टुसा बिक्री हुने गरेको भए पनि आफूले प्रतिकिलो रु एक हजारका दरमा बिक्री गर्दै आइरहेको पौडेलले बताए । कागतीलाई गरेको गोडमेलले नै कुरिलोको पनि स्याहार हुँदा दुवै खेती फस्टाएकाले पनि आफूलाई यसमा प्रेरणा मिलिरहेको उनले बताए । काममा उनलाई श्रीमती र छोराले पनि सघाउँदै आएका छन् । उनले जमिन बाँझो राख्नेलाई यस्तै नगदे बाली लगाएर आम्दानी गर्न सुझाव दिए । पौडेलले गत वर्षदेखि ८० हजार रुपैयाँको लगानीमा दश वटा मौरीका घारबाट मौरीपालन पनि सुरु गरेका छन् । कागतीको फूल मौरीका लागि उपयुक्त हुने र कागतीको परागसेचनका लागि मौरी उपयुक्त हुने भएकाले मौरीपालन पनि सुरु गरेको उनले बताए । मौरीका लागि मात्रै भनेर कुनै नयाँ मिहिनेत गर्नु नपरेको र महको बजार र मूल्य राम्रो भएकाले पनि मौरी पाल्न थालेको पौडेलले बताए । क्षत्रीको उत्पादनलाई जोगाउन गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ५० प्रतिशत अनुदानमा १० लाख ‘कोल्ड स्टोर’ निर्माणका लागि सहयोग गरेको छ । क्षत्रीले घर नजिकै कोल्ड स्टोर निर्माण गरेर उत्पादित कागती भण्डारण गर्न थालेका छन् । बेमौसममा बिक्री गर्नका लागि कागती र मुस्ताङबाट स्याउ खरिद गरेर भण्डारण गरेको उनले बताए । खेतबारीमा नियमित परिश्रम गर्ने हो भने बुढेसकालमा पनि अरुको भर पर्नुपर्दैन उनले भने, ‘एकातिर स्वास्थ्य राम्रो हुने, अर्कोतिर आम्दानी पनि हुने ।’ उनले आफूले थालेको व्यवसायलाई अझै बढाउँदै जाने सोच रहेको बताए । रासस

बीमा बजार ठूलो छ, पुराना कम्पनीको व्यवसाय खोस्नै पर्दैन : सीईओ रिमाल

नेपाल बीमा प्राधिकरणले बीमाको दायरा र पहुँच विस्तार गर्न विभिन्न ७ कम्पनीलाई लघुबीमाको लाइसेन्स प्रदान गरेको छ । लघुबीमा कम्पनीहरूले लाइसेन्स पाएको एक वर्षभन्दा बढी समय भए पनि बीमा व्यवसाय सुरू गरेको केही समयमात्रै भएको छ । यतिबेला कम्पनीहरू देशभरि शाखासञ्जाल विस्तारमा छन् । बीमा कारोबार गरिरहेका लघुबीमा कम्पनीहरूमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले भने उत्साहजनक व्यवसाय गरिरहेको देखिन्छ । गरिब, विपन्न वर्ग र कम आम्दानी भएका वर्गले बीमा गर्ने भएकाले सचेतनासँगै बीमा व्यवसाय गरिरहेको बीमाकर्मीहरू बताउँछन् । सुरुवाती चरणमा भएकाले लघुबीमा व्यवसाय गर्दा केकस्ता काम गरिरहेका छन् भन्ने विषयमा केन्द्रित रहेर नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमालसँग विकासन्युजका सीआर भण्डारीले गरेको कुराकानीको अंशः लघुबीमा कम्पनीहरूले कस्तो पर्फमेन्स गरिरहेका छन् ? सरकारले माइक्रो इन्स्योरेन्स ल्याउने भनेर २०७५ सालमै योजना बनाएको थियो । तर, एक वर्षअघि मात्रै त्यो कार्यान्वयनमा आयो । नेपाल बीमा प्राधिकरणले ४ वटा निर्जीवन बीमा र ३ वटा जीवन बीमा गरी ७ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ । लघुबीमा कम्पनीले व्यवसाय सुरु गरेको ७/८ महिना मात्रै भएको छ । ग्रामीण क्षेत्रमा सीमान्तकृत वर्गको बीमा गराउने उद्देश्यले लघुबीमा कम्पनीलाई लाइसेन्स दिइएको हो । लघुबीमाका ग्राहकहरू सहरभन्दा ग्रामीण क्षेत्रका जनता हुन् । माइक्रो इन्स्योरेन्सका लागि धेरै सम्भावना छन् । ठूला बीमा कम्पनी (१४ वटा निर्जीवन बीमा)ले पनि लघुबीमा गरिरहेका थिए । तर, वृहत रूपमा जान चाहेका कारण लघुबीमा कम्पनीलाई अनुमति दिएको हो । लघुबीमा कम्पनीहरू गाउँगाउँसम्म पुगोस् भन्ने अपेक्षा सरकारको हो । पुराना बीमा कम्पनीहरूले सम्हाल्न वा समेट्न नसकेको क्षेत्रलाई लघुबीमाले समेटोस् भन्ने हो । निर्जीवन बीमा कम्पनीले गर्ने सम्पत्ति बीमा, कृषि बीमा, उद्योग व्यवसाय लगायतलाई लघुबीमा कम्पनीले समेट्छन् । यदि ग्रामीण क्षेत्रमा जान सक्ने हो भने लघुबीमाका लागि प्रशस्त बजार छ । लघुबीमालाई ५० लाख रुपैयाँसम्मको बीमा गर्न अनुमति दिएको छ । त्यसैले ठूल्ठूला बीमा कम्पनीले समेट्न नसकेको क्षेत्र हामीले समेटिरहेका छौं । लघुबीमा कम्नीले सबै व्यवसाय गरिरहेको छ । कृषि प्रडक्ट बाहेक नेपाल बीमा प्राधिकरणबाट अनुमति पाएका सबै प्रडक्ट बजारमा ल्याइसकेका छन् । कृषिको प्रडक्ट आउने तर्खरमा छ । लघुबीमा कम्पनीले सम्पत्ति, घर, फायर (आगलागि), इन्जिनियरिङ, दुर्घटना लगायत सम्पूर्णको बीमा गरिरहेका छन् । साथै, बैंक वित्तीय संस्था, सहकारी, लघुवित्तसँग सहकार्य गरेर व्यवसाय गरिरहेका छौं । कृषि बीमा प्रडक्ट ल्याउन किन ढिलाइ भएको हो ? सरकारले कृषि बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिएको छ । निर्जीवन बीमा कम्पनीहरूले बीमा गर्दै आएका छन् । ८० प्रतिशत अनुदानको आधारमा किसानहरू बीमा गरिहरेका छन् । बीमा कम्पनीहरूले कृषि बीमा गरेवापत २ अर्ब रुपैयाँ भुक्तानी पाएका छैनन् । यो अन्यौलको स्थिती श्रृजना भएकाले लघुबीमा कम्पनीहरू कृषि बीमा गर्नबाट हिचकिचाएका छन् । लघुबीमा कम्पनीलाई लाइसेन्स दिँदा धेरै विरोध भएको थियो । सञ्चालनमा आइसकेपछि लघुबीमा आवश्यक जस्तो लाग्छ कि नभएपनि हुँदो रहेछ भनेर महसुस भएको छ ? सीमान्तकृत वर्गलाई समेट्न ठूला कम्पनीले सकेनन् । ग्राहो समयमा लघुबीमा आएर पहुँच बढाउन ठूलो भूमिका निर्वाह गरिरहेका छन् । सीमान्तकृत वर्गमा बीमा पुर्याउन लघुबीमा कम्पनीले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । प्रादेशिकस्तरमा लाइसेन्स पाएका भएपनि सबै लघुबीमा कम्पनीले सबै ठाउँमा काम गरिरहेका छन् । कम्पनी सञ्चालनमा आइसकेपछि सीमान्तकृत वर्ग बीमामा समेटिएका छन् । लघुबीमा आइसकेपछि बीमा बजारमा नयाँ के देख्न पायौं ? बीमा बजारमा बीमा सम्बन्धि जागरण अझै पुगेको छैन । सबै बीमा कम्पनीहरूले बीमा जागरण गर्न जरूरी छ । र, उहाँहरूलाई लघुबीमा हाम्रो लागि आएका हुन् । अन्य बीमा भन्दा सस्तो छ । हाम्रो सम्पत्तिको सुरक्षा गर्न बीमा कम्पनी आएका हुन् भनेर सन्देश दिन जरूरी छ । तुलनात्मक रूपमा ठूला बीमा कम्पनीभन्दा लघुबीमाको प्रिमियम कम छ भनेर जानकारी गराउन जरूरी छ । अझै कृषि बीमा प्रडक्ट आयो भने झनै कम प्रिमियम हुन्छ । लघुबीमा कम्पनीले कृषि बीमाको प्रिमियम अझै घटाउने तयारी गरिरहेका छन् । अधिकांशले लघुवित्त र लघुबीमा एउटै हो भन्ने धारणा बनाएका छन् । हामीले त्यसलाई चिरिरहेका छौं । लघुवित्तले लगानी गर्छ भने लगानीलाई सुरक्षित गर्ने काम लघुबीमाले गर्छ भनेर जानकारी गराइरहेका छौं । बीमाको दायरा नपुगेको क्षेत्र दूरदराजसम्म बीमाको पहुँच पुर्याउन लघुबीमालाई लाइसेन्स दिइएको थियो । तर, ठूला बीमा कम्पनी जहाँ थिए, लघुबीमा कम्पनीहरू पनि सोही क्षेत्रमा मात्रै सीमित भएका देखिन्छन् नी ? कम्पनीको जन्म भइसकेपछि हुर्किन समय लाग्छ । लघुबीमा कम्पनीहरू बामे सर्दै छन् । कम्पनीहरूले आफ्नो प्रारम्भिक लगानी (चुक्ता पुँजी ७५ करोड)लाई सुरक्षित राख्दै व्यवसाय गर्ने र ग्रामीण क्षेत्रमा रहेका सीमान्तकृत वर्गलाई बीमाको पहुँचमा ल्याउने गरी काम गरिरहेका छन् । हामीले विभिन्न ठाउँहरूमा गएर बीमा सम्बन्धि जागरण कार्यक्रमहरू गरिरहेका छौं । साथै, स्टेकहोल्डरहरूसँग सँगसँगै अघि बढेका छौं । किसान, उद्यमी, बैंकर्स, उद्योग वाणिज्य संघ, स्थानीय निकायहरूलाई सँगै राखेर जागरण अभियान चलाएका छन् । प्रारम्भिक चरणमा अवश्य पनि कठिन हुन्छ । लघुबीमा कम्पनीहरूले विभिन्न जिंगल, मेला महोत्सव, घरदैलोमा गएर बीमा सम्बन्धि सचेतना दिएका छन् । पुराना बीमा कम्पनीहरूको व्यवसाय खोसेको आरोप लघबीमा कम्पनीहरूमाथि लागेको छ नी ? हामीले पुरना बीमा कम्पनीहरूको व्यवसाय खोसेका छैनौं । बीमा कम्पनीहरूले समेट्न नसकेको ठूलो बजार छ । हामीलाई ठूला कम्पनीको व्यवसाय खोस्नै पर्ने स्थिती छैन । किनभने बीमामा नसमेटिएको बजारमा हामीले व्यवसाय गरिरहेका छौं । सहरमा गएर ठूल्ठूला बीमा गर्न लघुबीमालाई लाइसेन्स दिएको होइन । सीमान्तवर्गसम्म जाँदाखेरि विभिन्न माध्यम प्रयोग गरेको मात्रै हो । जनतालाई बीमाप्रति उत्साहित गराएर आफै ंबीमा गराउन लघुबीमाले काम गरिरहेका छन् । ठूला कम्पनीहरूको भन्दा लघुबीमा कम्पनीहरूको प्रिमियम दर पनि सस्तो छ । विभिन्न ठाउँमा गएर सस्तो प्रिमियम दरमा बीमा पोलिसी खरिद गर्नुहोस् भनिरहेका छौं । बीमा गर्दा तपाईहरूको सुरक्षा हुन्छ भनेर जनतालाई भनिरहेका छन् । साथै, बैंक तथा वित्तीय संस्थाहरूसँग पनि लघुबीमा कम्पनीहरूले सहकार्य गरेर अगाडि बढेका छन् । लघुबीमा कम्पनीहरूको प्राथमिकता पहुँच बढाउने हो की व्यवसाय विस्तार गर्ने हो ? दुईटै हो । किनभने व्यवसाय नभई कुनैपनि कम्पनी सञ्चालन हुँदैनन् । प्यारालल्ली लिएर अघि बढ्ने हो । कम्पनीले व्यवसायसँगै सेवा पनि दिने हो । सेवा नभई कम्पनीको व्यवसाय पनि हुँदैन । व्यवसायलाई छाडेर पहुँचलाई मात्रै प्राथमिकता दिने हो भने कम्पनी चलाउन सकिँदैन । त्यसैले हामी सेवासँगै व्यवसाय पनि विस्तार गर्छाैं । कम्पनी बचाउन व्यवसाय चाहिन्छ । बीमाको माध्यमबाट व्यवसाय गर्दै जाने हो । तर, लघुबीमा कम्पनीहरूले व्यवसायमा फोकस गरेको भन्ने आरोप लागेको छ नी ? जरूर होइन । किनभने लघुबीमा कम्पनीहरू प्रारम्भिक चरणमा छन् । आएको व्यवसायलाई हामीले छोड्ने कुरा हुँदैन । कोही हामीकहाँ आउनु हुन्छ भने नाई भनेर फर्काउन मिल्दैन । तर, हामी सहरी क्षेत्रमा मात्रै बसेर व्यवसाय गर्ने र ग्रामीण क्षेत्रलाई बेवास्ता गरेको भने होइन । ग्रामीण क्षेत्रका लागि कार्यक्रम तालिका बनाएर अघि बढिरहेका छौं । अभिकर्ताको आवश्यकता छ कि छैन ? निर्जीवन लघुबीमा कम्पनीहरूलाई जीवन बीमा कम्पनीको जस्तो अभिकर्ता आवश्यकता छैन । प्रत्यक्ष रूपमा हामी अघि बढिरहेका छौं । यदि अभिकर्ताको माध्यमबाट जानु पर्ने स्थिती आयो भने पनि हामी तयार छौं । जनतामा बीमाको बुझाई कस्तो पाउनु भएको छ ? स्वस्फूर्तरूपमा बीमा गर्न आउने अभ्यास कस्तो छ ? सहरिया वर्गमा बीमा सचेतना छ । जहाँ बीमा रकमको आकार पनि अनलिमिटेड, ठूला ठूला व्यवसाय, उद्योगहरू, गाडीहरूको बीमा गर्नु पर्ने हुन्छ । सहरि क्षेत्रमा बीमा गर्न त्यति धेरै गाह्रो छैन । तर, ग्रामीण क्षेत्रमा जाँदा कृषि क्षेत्र गाईपालन, भैसीपालन, बाख्रापालन गर्छन् । बैंकको लगानी भएका व्यवसायमा बीमासम्बन्धि सचेतना छ । जो नयाँ ग्राहक हुनुहुन्छ, उहाँहरूलाई कन्भिन्स गराउन प्रयासरत छौं । भर्जिन लाइनमा जाँदा प्रिमियम दर कम छ भनेर पनि जानकारी दिनु परेको छ । उहाँहरूलाई कन्भिन्स गराउन सकस छ । कतिपय त बीमा भनेर पनि आइरहनु भएको छ । लघुबीमा कम्पनीले सीमान्तकृत वर्गको बीमा गराउने हो । तर, उहाँहरूको आर्थिक अवस्था निकै कमजोर हुन्छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरू प्रिमियम कसरी तिर्नु हुन्छ ? कसरी बीमा गर्नु हुन्छ ? अहिले आर्थिक संकट छ । देशमा मन्दी आएको बेला सबैमा क्षेत्रमा समस्या देखिन्छ । व्यवसाय, कलकारखाना राम्रो चल्यो भने बीमाको व्यवसाय पनि राम्रो हुने हो । अहिले मन्दीबाट माथि उठ्ने गरी विभिन्न प्रयासहरू भइरहेका छन् । पक्कै पनि यस्तो अवस्थामा हामी जुन ठाउँमा पुग्नु पर्ने त्यो ठाउँ पुग्न गाह्रो छ । जुन गतिले अगाडि बढ्नु पर्ने त्यो गतिमा गाह्रो छ । भूकम्पबाट पीडित, स्वास्थबाट पीडित भएका वर्गलाई विभिन्न निकायको सहयोगमा बीमा गरिहेका छन् । राउटे, चेपाङ जातिको स्वास्थ्य बीमा गर्ने तयारी भइरहेको छ । साथै, अन्य पिछडीएको क्षेत्रका जनताको पनि बीमा गर्ने तयारी भइरहेको छ । जसले प्रिमियम तिर्न सक्दैनन् उनीहरूलाई सरकार आफैले बीमा गर्नुपर्छ । हामीले प्रपोजल तयार बनाएका छौं । जस्तो कर्णाली प्रदेश सरकारले आफ्ना सबै नागरिकको बीमा गरेको छ । जाजरकोटमा भूकम्प जाँदा त्यहाँका नागरिकले दाबी भुक्तानी पाए । लघुबीमा कम्पनीहरू पनि त्यसैगरी अघि बढ्न खोजिरहेका छन् । एकैपटक मुलुकभरि नै बीमा गर्न सकिँदैन भने स्थानीय सरकारले आफ्नो पालिकाको कभर गर्न सकिन्छ । स्वास्थ्य, भूकम्प, कृषि लगायतको बीमा गराएर आफ्ना जनताको सुरक्षा सरकारले गर्न सक्छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले के गरिरहेको छ ? आगामी तीन वर्षमा कम्पनी कस्तो हुन्छ ? नेपाल माइक्रोइन्स्योरेन्सले हालसम्म ९ वटा शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको छ । पूर्वमा इटहरीदेखि पश्चिममा नेपालगन्जसम्म शाखा कार्यालय खोलिसकेको छ । निकट भविष्यमा महेन्द्रनगर र बिर्तामोडमा शाखा खोल्ने तयारी छ । लघुबीमा भएकाले थोरै मान्छेले धेरै सेवा दिने लक्ष्य हो । हाईफाई गरेर धेरै अफिस खोलेर धान्नै नसक्ने गरी हामी अघि बढ्दैनौं । सानो अफिसले नै चारैतिर धान्नेगरि काम गरिरहेका छौं । एकातिर जाँगरण अभियान चलाएका छौं भने अर्काेतिर व्यवसाय विस्तारमा जोड दिएका छौं । जहाँ आवश्यक छ त्यहाँ काउन्नटर विस्तार गर्ने योजना छ । एउटा बाटोमा हिडेपछि कम्पनीलाई दीर्घकालिन बनाउने गरी काम गरिरहेका छौं । हामी आफ्नै गतिमा हिडिरहेका छौं । व्यवसाय गर्दा सकारात्मक प्रतिक्रिया आएका छन् । जसले गर्दा हामी उत्साहित भएका छौं । कम्पनीका लगानीकर्तालाई पनि उच्च प्रतिफल दिने गरि व्यवसाय गरिरहेका छौं । र, सरकारको उद्देश्य पनि परिपूर्ति गर्न लघुबीमा कम्पनी लागिरहेका छन् । अहिले हामी बजार विस्तारमा छौं । ग्राहक बनाउने मात्रै नभई जोगाइराख्ने हाम्रो उद्देश्य हो । अहिलसम्मको तथ्याङ्क हेर्दा नेपाल माइक्रो इन्स्योरेन्सको अग्रस्थानमा छ । ठूला कम्पनीले पनि लघुबीमा गर्दै आएका छन् । अब लघुबीमा आईसकेपछि ठूला कम्पनीलाई लघुबीमा गर्न रोक लगाउनु आवश्यक छ ? जुन उद्देश्यले नियामकले लघुबीमालाई लाइसेन्स दिएको हो, सोही प्रयोजनामा जानुपर्छ । लघुबीमालाई ५० लाखसम्मको मात्रै बीमा गर्न दिइएको छ । तर, ठूला बीमा कम्पनलाई साना र ठूला दुइटै बीमा गर्न दिइएको छ । त्यसैले नियामकले हामीलाई जन्माइसकेपछि हुर्काउने दायित्व पनि हो । ठूलासँग प्रतिस्पर्धा गरेर हामी अघि बढ्न सक्दैनौं । जनतालाई सुविधा दिन हामीलाई जोगाउन नियामकले सोच्नुपर्छ ।

महानगरले पुनःसुरु गर्‍यो स्रोतमै फोहर वर्गीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्रोतमा नै फोहर वर्गीकरणको काम पुनःसुरु गरेको छ । कामपा–१० मा आजदेखि वडामा उत्पादन हुने सबै किसिमका फोहर स्रोतमा नै वर्गीकरणको अभ्यास थालनी गरेको हो । करिब दुई वर्षअघि कामपाले ३२ वटै वडाबाट स्रोतमा फोहर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडामा लाने काम सुरु गरे पनि प्रभावकारी नभएपछि आजदेखि पुनः सुरु गरेको हो । लामो समयदेखि कामपा वडा नं १० को फोहर सङ्कलन गरिरहेको निजी संस्था एक्सन वेष्ट र मेट्रो सिटी वेष्ट म्यानेजमेन्टलाई परिचालन गरेर अभ्यास थालिएको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्रोतमा वर्गीकरण गरिएका फोहर सङ्कलन गर्ने सवारीसाधनमा कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै राख्न कोठा बनाइएका छन् । ‘स्रोतमा फोहर छुट्याएर कुहिने फोहरलाई घरमै मल बनाउन प्रोत्साहन गरेका छौँ’, प्रमुख श्रेष्ठले जानकारी दिए । कामपाले यस वडामा मात्रै नभई ३२ वटै वडामा क्रमिकरुपमा स्रोतमा नै फोहरको वर्गीकरण र व्यवस्थापनको तयारी गरेको छ । अब चाँडै २९ वडामा उक्त कार्य सुरु गरिने उनको भनाइ छ । घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने अभ्यासलाई वडा नं २७ मा माघ २१ देखि थालिएको हो । वडामा घरघरबाट वर्गीकरण गरिएको फोहर छुट्टाछुट्टै सङ्कलन गर्ने गरिएको छ । कुहिने फोहरलाई टेकु ट्रान्सफर स्टेशनमा ल्याएर जैविक मल बनाउने कार्य कामपाले सुरु गरिसकेको छ । के हो, फोहर वर्गीकरण ? ‘भान्छामा कुहिने र नकुहिने गरी दुई खालका फोहर निस्कन्छन् । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । नकुहिने फोहर उत्पादक आफँैले बेच्न सक्छन् । कुहिने फोहर आफैँले पनि मल बनाउन सकिन्छ’, विभागका प्रमुख श्रेष्ठले भने । उनका अनुसार मल बनाउन सकिएन भने कामपाको फोहर सङ्कलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ । तरकारी (साग सब्जी), बढी भएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पातलगायत कुहिने फोहर हुन् । त्यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतलहरु, फलामलगायत वस्तु नकुहिने फोहर हुन् । यससँगै सेनेटरी प्याड, डाइपर, विषादीको खाली बोटल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोसाक (पिपिइ), पञ्जा, फुटेका सिसा, घर आँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहरका रुपमा सङ्कलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा सेनटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहरको मात्रा बढ्दै गएको छ । यस्तो फोहर कुहिने र नकुहिने फोहर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्ने कामपा वातावरण व्यवस्थापन विभागको भनाइ छ । रासस

शिवरात्रिमा पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन गरिने, हेलिकप्टरको भाडामात्रै ११ लाख

कैलाली । ऐतिहासिक महत्व बोकेको धनगढी उपमहानगरपालिका-१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा हेलिकप्टरद्वारा पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन गरिने भएको छ । मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा माहाशिवरात्रिका अवसरमा हुन लागेको पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन कार्यक्रमको तयारी भएको आयोजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पद्मराज जोशीले जानकारी दिए । हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलो पटक हेलिकप्टरबाट पुष्प वर्षा गरिन लागिएको उनले बताए । कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचारप्रसार गर्न हेलिकप्टरबाट पुष्प वर्षा गराउन लागिएको आयोजकको भनाइ छ । शुक्रबार महाशिवरात्रिको दिन बिहान ११ देखि मध्याह्न १२ बजेको समयमा हेलिकप्टरबाट पुष्प वर्षा गराइने र अपराह्न ४ बजे सवा दई करोड बत्ती प्रज्वलन गरिने आयोजकले जनाएको छ । पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टोलीले १४ लाख नौ हजार रुपैयाँ सङ्कलन गरिसकेको छ । पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत ११ लाख रुपैयाँ र तीन क्विन्टल फूलको दुई लाख गरी जम्मा १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ । पुष्प वर्षासँगै महाशिवरात्रिमा भक्तजनका लागि महाभण्डारासमेत चलाउने र उपस्थित सम्पूर्ण भक्तजनलाई निःशुल्क खाना र पानीको व्यवस्था गरिने बताइएको छ । बेहडाबाबा धाममा भक्तजनलाई जान आउनदेखि दर्शन तथा पूजापाठ गर्नसम्मका लागि सम्पूर्ण तयारी गरिएको छ । आवतजावतका लागि बसको व्यवस्था र कडा सुरक्षाकोेसमेत व्यवस्था गरिएको छ । त्यस्तै यस बेहडाबाबा मन्दिरमा लाग्ने महाशिवरात्रिमा दर्शनका लागि छिमेकी मुलुक भारतबाटसमेत दर्शनार्थी आउने गरेका छन् । बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतका लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायत विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेको मन्दिर व्यस्थापन समितिका अध्यक्ष जोशीले बताए । रासस

महालक्ष्मी विकास बैंकद्वारा नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यामिक विद्यालय धनगढी, केलालीमा अध्यनरत छात्रा हिरा कुमारी जोशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व.नबराज बहादुर सिंहको स्मृतिमा स्थापित नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिल कुमार नेपालले छात्रा हिरा कुमारी जोशीलाई हस्तान्तरण गरेका हुन् । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पु¥याउने उद्देश्यले पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बोल्दै बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिल कुमार नेपालले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको कुरा व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक भूपाल सिंह खड्काले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पु¥याउने कुरा जानकारी गराउदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गरे । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्वता जनाएको छ ।