विकासन्युज

निजी क्षेत्रको मनोबल बढाउन उद्यमीको माग, अर्थमन्त्री भन्छन् : हतोत्साही हुन दिन्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो शर्त निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताएका छन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँगको भेटवार्तामा बिहीबार अध्यक्ष ढकालले हालको विद्यमान अर्थतन्त्रको विषयमा ध्यानाकर्षण गराउदै साना शहर र गाउसम्म रकम प्रवाह गर्न सरकारले पूजीगत खर्च बढाउनुका साथै पुर्नकर्जा सुविधा विस्तार गर्नुपर्ने बताएका हुन् । सहकारी र लघुवित्तमा देखिएको समस्याले साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न सकेको छैन, उनले भने, त्यसका लागि सरकार र बैंकमा रहेको रकम सर्वसाधारणको हातमा पुग्ने व्यवस्था गर्नुपर्छ । उनले निर्माण व्यवसायीलाई बक्यौता रकम तिर्न पहल गर्न पनि मन्त्री पुन समक्ष आग्रह गरे । ढकालले अर्थमन्त्रीलाई कोभिड समयमा लिएको व्यवसाय निरन्तरता कर्जाको सबै भुक्तानी भैसकेको उदाहरण दिँदै नेपाली व्यवसायी जिम्मेवार रहेको र सरकारले विश्वास गर्नुपर्ने बताए । अध्यक्ष ढकालले मन्त्री पुनलाइ निजी क्षेत्रलाई निर्वाध काम गर्न दिइनुपर्ने बताए । निजी क्षेत्र भन्नाले ठूलो उद्योग देखि गाउँको किराना पसलसम्म हो, अध्यक्ष ढकालले भने, सरकारले अत्याउने, धरपकड गर्ने, निरुत्साहित बनाउने काम हुनु हुँदैन र निजी क्षेत्रको मनोबल बढाउनुपर्छ । यसैगरि राजश्व कम उठिरहेको समयमा धरपकड गरि राजस्व उठाउने गरिएको बारे पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए । चार वर्ष अगाडि राजश्वले टुंग्याएको विषयलाई महालेखा परिक्षकको कार्यालयले खोतल्ने र दण्ड दिने गरेको कुरामा पनि अध्यक्ष ढकालले अर्थमन्त्रीको ध्यानाकर्षण गराए । निजी क्षेत्रले उठाइरहेको मर्यादाक्रमको विषयमा पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराउनु भयो । अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा निजी क्षेत्रको मनोबल अझै बढ्ने जानकारी दिए । सरकारले खर्च नगरि विश्वास बढने यस्ता बिषयमा कन्जुस्याइ गर्नु हुँदैन, उनले भने, यी साना बिषय जस्ता देखिएपनि यसले देशभरका सबै उद्यमी व्यवसायको हौसला बढाउछ । अध्यक्ष ढकालले जुनसुकै पार्टि भएपनि आर्थिक एजेन्डामा एकरुपता हुनुपर्ने माग गर्दै आइरहे को कुरा पनि अर्थमन्त्री लाइ अवगत गराए । उनले अर्थतन्त्र जटिल विषय भएकाले आर्थिक समस्या समाधानका लागि सबै पार्टि र पक्षको प्रतिबद्धता आवश्यक रहेको पनि बताए । अध्यक्ष ढकालले बैंक वित्तिय संस्थामा पनि समस्या देखिएमा अर्थतन्त्रमा थप जटिलता बढनेतर्फ सजग गराउँदै यसको संवेदनशीलता बुझ्न आग्रह गरे । ‘बैंक वित्तीय संस्थाको ऋण तिर्नु नपर्ने भनि गलत प्रचार प्रसार भैरहेको छ, अध्यक्ष ढकालले भने, ‘यसमा सरकार सचेत हुनुपर्छ । भेटवार्ताको क्रममा अर्थमन्त्री पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडी बढ्ने बताए । उनले निजी क्षेत्रसंग सहकार्य गरेर सरकार अगाडी बढ्ने कुरामा आफ्नो प्रतिबद्धता रहेको जानकारी पनि गराए । मन्त्री पुनले कुनै समुदायप्रति अपराधीजस्तो व्यवहार नगरिने बताए । निजी क्षेत्रमाथि धरपकड भैरहेको अध्यक्ष ढकालको प्रश्नमा मन्त्री पुनले पहिले अनुसन्धान पुरा नगरि थुन्ने वातावरण अन्त्य गर्न सम्बन्धित निकायहरुसंग पनि समन्वय गरिने बताए । गल्ती गर्नेले सजाय पाउँछ तर कोही व्यक्तिले गल्ती गर्दैमा पुरै समुदायलाई नराम्रो भन्न नहुने उनको जिकिर थियो । राज्य भनेको नागरिकको सुरक्षा र सेवा दिने निकाय हो भन्दै मन्त्री पुनले उद्यमी व्यवसायीलाई निरुत्साहित हुन नदिने बताए । ‘यो मेरो जिम्मेवारी हो, मन्त्री पुनले भने, ‘म यहाँहरुलाई हतोत्साही हुन दिन्न ।’

पुनर्बीमा कम्पनीमा छिर्‍यो लक्ष्मी सनराइज बैंक, किन्यो सवा ५६ करोडको सेयर

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीकाे सेयर लक्ष्मी सनराइज बैंकले खरिद गरेकाे छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले बिक्रीमा राखेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर लक्ष्मी सनराइज बैंकले खरिद गरेकाे हाे । नेप्सेका अनुसार बिहीबार कम्पनीको २० लाख कित्ता सेयर खरिदबिक्री हुँदा ५६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । उक्त सेयर प्रतिकित्ता २८१ सय रुपैयाँका दरले खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर ब्रोकर नम्बर १६ (प्राइमो सेक्युरिटीज)बाट बिक्री भई ब्रोकर नम्बर ४९ (अनलाइन सेक्युरीटीज)बाट खरिद भएको देखिन्छ । स्रोतका अनुसार पुनर्बीमा कम्पनीको उक्त सेयर खरिद गर्न लक्ष्मी सनराइज बैंकले २८१ रुपैयाँमा आवेदन दिएको थियो । पछिल्लो समय धमाधम संस्थापक सेयरधनीहरू पुनर्बीमा कम्पनीको सेयर बिक्री गरेर बाहिरिन लागेका छन् । तर, लक्ष्मी सनराइज बैंक उक्त कम्पनीको सेयर खरिद गरेर संस्थापक सेयरधनी बनेकाे हाे । ‘बीमा कम्पनीहरू पुँजी पुर्याउन मर्ज भएका छन्,  मर्ज भएका सबै कम्पनीसँग पुनर्बीमा कम्पनीको सेयर दोब्बर भयो, लिलामीमा राखेको सेयर कि पुँजी नपुगेका कम्पनी कि दोब्बर सेयर भएका कम्पनीको हो,’ बैंक स्रोतले भन्यो, ‘बैंक सर्टटर्म ट्रेडर होइन । आज सेयर खरिद गरेर भोलि बिक्री गर्दैन । अर्काे पुनर्बीमा कम्पनी आउने छाँटकाट छैन । त्यसैले पुनर्बीमाको व्यवसाय बढ्दै जान्छ ।’ दोस्रो बजारमा सर्वसाधारणको सेयर कारोबार साढे ७/८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । जस अधारमा कम्पनीको संस्थापक सेयरको मूल्य ४ सय रुपैयाँ हुनु पर्ने बैंक स्रोतको दाबी छ । तर, एकैपटक धेरै कम्पनीले संस्थापक सेयर बिक्रीमा राख्दा मूल्य घट्न पुगेको हो । ‘एकैपटक धेरै कम्पनीले सेयर बिक्री गर्दा सस्तो भएको हो । एउटा कम्पनीले मात्रै बिक्री गरेको भए ४ सय रुपैयाँभन्दा कम मूल्यमा बिक्री नहुनु पर्ने हो,’ स्रोतको भनाइ छ । कम्पनीले दीर्घकालमा राम्रो पफर्मेन्स गर्ने बैंकको दाबी छ । पुनर्बीमा कम्पनीको पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्याे भने १ सय रुपैयाँमा सेयर खरिद गर्न पाउने स्राेतकाे भनाइ छ । ‘अब कम्पनीले हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि गरायो भने बैंकलाई फाइदा नै हुन्छ,’ स्राेतले भन्याे ।

महाशिवरात्रिमा सवारी साधनलाई डाईभर्सन गरिने, यी ६ ठाउँमा गर्न पाइन्छ पार्किङ

काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पवित्र पाशुपत क्षेत्रमा बिहीबार रातीदेखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो-बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिने भएको हो । त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न सम्पुर्ण चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले अनुरोध समेत गरे । १. आवश्यकताअनुसार डाईभर्सन गरिने स्थानहरु : – चाबहिलबाट गौशालातर्फ । – पुरानो बानेश्‍वरबाट गौशालातर्फ । – ज्ञानेश्‍वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ । – द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग । – सिफल चौरबाट जयबागेश्‍वरीतर्फ । – लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ । – गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ । – तिलगंगाबाट गौशालातर्फ । – मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ । – जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ । – सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग । – जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ । तर मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरुका निजी सवारी साधनहरुलाई ट्राफिक चाप र अबस्था हेरी व्यवस्थापन र डाईभर्सन गरिने छ । २. मालबाहक सवारी साधनलाई गरिने डाईभर्सन – कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरु जडिबुटी, काँडाघारी हुँदै बौद्धतर्फ संचालन हुने, – कोटेश्वर तिनकुने हुदैं पशुपती वरपर तर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यबस्थापन गरिने । – महाराजगंज, चावहिल हुदैं पशुपती वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने । – कोटेश्‍वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने । ३. पार्किङ्गको व्यवस्थापन गरिएका स्थानहरु – सिफल चौर (दर्शानार्थीहरुको) – कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु) – भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु) – तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु) – वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु) – गुहेश्‍वरी पारी (तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु) ४. जनशक्ती परिचालन – महाशिवरात्री मेलाको ट्राफिक व्यबस्थापन गर्नको लागी मात्र कुल ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ । – प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाईभर्सन ड्यूटी लगायतमा उक्त ट्राफिक प्रहरी परिचालन गरिने छ । – यस बाहेक बिशिष्ट व्यक्तिहरुको भ्रमण व्यवस्थापन र अन्य स्थानहरुको नियमित गरिने ट्राफिक व्यवस्थापनमा समेत थप जनशक्ती परिचालन गरिने छ ।

अर्थमन्त्रीले बैंकरसँग भने : ऋण तिर्दिनँ भन्न मिल्दैन, सहकार्य गरेर समस्याको समाधान गरौं

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सबैले सहकार्य गरेर वर्तमान समस्या समाधान गर्नु पर्ने बताएका छन् । बिहीबार अर्थमन्त्री र नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुको भेटघाटमा उनले यस्तो कुरा बताएका हुन् । अर्थमन्त्री पुनले बैंक तथा वित्तीय संस्थाहरुले गरेको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नु पर्ने बताए । उनले आर्थिक विकासको लागि बैंकिङ्ग क्षेत्रको अहम भूमिका रहने धारणा राखे ।साथै, उनले बैठकमा ऋण लिएर तिर्दिन भन्न नमिल्ने पनि बताएका छन् । सो अवसरमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पुर्याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समय अर्थतन्त्रमा देखा परेका चुनौतीहरुका विषयमा जानकारी गराएका थिए । संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, राज्यपक्षबाट भएका धरपकडको घटना लगायतको विषयमा अवगत गराउँदै आगामी दिनहरुमा अर्थतन्त्र उकास्न, मुलुकको आर्थिक बृद्धिमा सहयोग गर्न लगातय वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न बैंकिङ्ग क्षेत्र सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।

अर्थमन्त्रीसँग बैंकरको गुनासो : हामीमाथि धरपकड भयो

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नुपर्ने बताए । बिहीबार नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् । साथै, बैंक तथा वित्तीय संस्थाहरुले गरेको योगदानको प्रशंसा गर्दै अर्थमन्त्री पुनले आर्थिक विकासको लागि बैंकिङ क्षेत्रको अहम भूमिका रहने समेत बताए । सो अवसरमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा पुर्याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समय अर्थतन्त्रमा देखा परेका चुनौतीहरूका विषयमा जानकारी गराए । संघका पदाधिकारीहरूले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, राज्यपक्षबाट भएका धरपकडको घटना लगायतको विषयमा अवगत गराउँदै आगामी दिनहरुमा अर्थतन्त्र उकास्न, मुलुकको आर्थिक वृद्धिमा सहयोग गर्न लगायत वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न बैंकिङ क्षेत्र सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश प्रमुखको उपचारका लागि गण्डकी सरकारले दियो १५ लाख

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपचारका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले क्यान्सरको उपचार गराइरहेका गुरुङको उपचारका लागि सो मात्राको सहयोग गर्ने निर्णय गरेको हो । प्रवक्ता सरस्वती अर्याल तिवारीले गुरुङको जटिल रोगको उपचार भइरहेकोले सहयोग दिने निर्णय गरिएको जानकारी दिइन् ।

तालिम सञ्चालन गर्न काठमाडौं महानगरले एकैपटक २० वटा कलेजसँग हस्ताक्षर

काठमाडौं । काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागले सरकारी र निजी गरेर २० वटा क्याम्पसहरुसँग सिपमूलक तालिम सञ्चालन स्थलका लागि सहमति पत्रमा हस्ताक्षर गरेको छ । विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीहरुले सम्झौतामा हस्ताक्षर गरेका हुन् र महानगरपालिकाले चालु आर्थिक बर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा ल्याएको छ । यीमध्ये ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम एउटा हो । यो कार्यक्रममा रोजगारमूलक सिप विकास तालिम सञ्चालन हुन्छन् । यस्ता विविध विधाका तालिम सञ्चालन गर्न सम्झौता भएको हो । सामाजिक विकास विभागले कार्यान्वयन गर्ने यस कार्यक्रममा सिप नजानेका र सिपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सिप सिकाउने तथा सिपको स्तरोन्नति गराइनेछ । १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आवद्ध गराउने कार्यक्रमको लक्ष्य हो । सम्झौताबमोजिम कलेजहरुले कक्षा कोठा (स्थान) र प्रयोगशाला निःशुल्क उपलब्ध गराउनेछन् । प्रशिक्षक तथा जनशक्ति र मर्मत सम्भार खर्च महानगरपालिकाले उपलब्ध गराउनेछ । यसका लागि कलेजहरुले महानगरपालिकामा लागत अनुमान पेश गर्नुपर्नेछ । तालिमको संयोजन र सहजीकरण महानगरपालिकाबाट खटाइएका तालिम संयोजकहरुले गर्नेछन् । सम्झौता अवसरमा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘रोजगारीका लागि सिप विकास तालिम चाहिनेहरु लक्षित वर्ग भएकोले रोजगारी वा आयमूलक काममा आवद्धता यसको नतिजा हो । महानगरको योजनामा सामाजिक उत्तरदायित्व वहन गर्दै कलेजहरुसँगै हुनु सुखद कुरा हो ।’ सहकार्यबाट परिणाम प्राप्त गर्न सहज हुने बताउँदै उनले, कार्यक्रमको सुखद थालनी नतिजामा देखिनुपर्ने धारणा राखिन् । सिपमूलक तालिम लिनका लागि अहिलेसम्म करिब १० हजार व्यक्तिको आवेदन प्राप्त भइसकेको छ । सूचना प्रविधिमा आधारित तालिममा धेरै व्यक्तिहरुको चासो छ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले कार्यक्रमका बारेमा प्रस्तुतिकरण गर्दै भने, ‘६९.७ प्रतिशत पुरुष र ३०.३ प्रतिशत महिला आवदेकमध्ये ४७.९ प्रतिशत बागमती प्रदेशबाट हुनुहुन्छ । यस्तै मधेश प्रदेशबाट १२.१, कोशी प्रदेशबाट १२ प्रतिशत, सुदुरपश्चिमबाट ८.५ प्रतिशत हुनुहुन्छ । उहाँहरुमध्ये पनि ८०.६ प्रतिशत बागमती प्रदेशमा बसोबास गरिरहनुभएको छ ।’ १२ कक्षा उत्तीर्ण शैक्षिक योग्यता भएका आवेदकको संख्या सबैभन्दा धेरै ४८.२ प्रतिशत छ । निरक्षर ३० प्रतिशत, एसईई वा एसएलसी उत्तीर्ण ९.८ प्रतिशत, स्नातकोत्तर ८.३ प्रतिशत छन् । २४.१ प्रतिशतले यसअघि नै तालिम लिइसकेका छन् भने ७५.९ प्रतिशतले कुनै तालिम लिएका छैनन् । तालिम लिनेमध्ये १ बर्षभन्दा धेरै तालिम गरिसक्नुभएका आवेदकको संख्या १५.५ प्रतिशत छ । १८.९ प्रतिशतले १ महिनाभन्दा कम अवधिको, १९.१ प्रतिशतले ३ महिनादेखि १ वर्षसम्मको, ९.५ प्रतिशतले ६ महिनादेखि १ बर्षसम्मको तालिम लिनुभएको झाले जानकारी दिए । विभागका निमित्त प्रमुख कोइरालाका अनुसार महानगरपालिकामा बसोबास गरिरहेका (स्थायी, अस्थायी बसोबासी तथा करदाता समेत) व्यक्ति, फोहोर व्यवस्थापन हुँदै आएको ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा प्राथमिक लक्षित वर्ग छन् । बेरोजगार, युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेकाहरु, विदेशवाट सिप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका) व्यक्तिलाई सबैलाई तालिमको अवसर प्रदान गरिनेछ । महानगरपालिकाभित्र १०५ वटा व्यवस्थापन र १२५ वटा प्राविधिक धारका क्याम्पसको नामावली प्राप्त भएको छ । कार्यक्रमका फोकल पर्सन शान्ता पहाडी भन्नुहुन्छ, ‘तालिम सञ्चालन गर्नु अघि हामीले उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरिसकेका छौँ । यसपछि उद्योग क्षेत्रमा चाहिने आवश्यक जनशक्तिको पहिचानका लागि सरोकारवालासँग छलफल गर्नेछौँँ ।’ महानगरपालिकासँग शैक्षिक संघसंस्थाहरुले अनुसन्धानमूलक, ढाँचा निर्माणलगायत विविध क्षेत्रमा सहकार्यं गर्न सकिन्छ । हामी यसका लागि उत्साहित छौँ । इञ्जिनियरिङ् अध्ययन संस्थान, थापाथलीको अनुसन्धान तथा विकास एकाइ प्रमुख प्रदिप अधिकारीले भने, ‘नविनतम सोचलाई सामाजिक रुपमा अभ्यस्त गराउन हामीजस्ता शैक्षिक संस्थाहरुले योगदान दिन सक्छौँ ।’ तालिम लिन कसरी फाराम भर्ने ? चालु आर्थिक बर्षबाट कार्यान्वयनमा आएको यो कार्यक्रममा सहभागी हुन गएको असोज २२ गते सार्वजनिक सूचनाबाट इच्छुक व्यक्तिहरुलाई फाराम भर्न आव्हान गरिएको छ । अनलाइन फाराममा आफूले तालिम लिन चाहेको विधा छान्न सकिन्छ । अनलाइनमा पहुँच नहुनेका लागि अन्य विधाका तालिम लिन वडा कार्यालयमा गएर फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ । फाराममा इच्छुक व्यक्तिले नाम थर, शैक्षिक योग्यता, हाल सम्लग्न पेशा, तालिम लिएको भए विवरण, अनुभव कुन क्षेत्रमा छ, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि वा कर्मचारीको परिवार हो कि होइन, ल्याण्डफिल साइट प्रभावित क्षेत्रको बासिन्दा हो कि होइन, महानगरपालिकामा स्थायी बसोबास गर्नुहुन्छ कि हुन्न, महिलाहरुका हकमा एकल हो कि होइन, जस्ता विवरण भर्नुपर्छ । शारीरिक अपाङ्गता छ भने कस्तो खालको अवस्था हो जस्ता विवरण, फारामबाट माग गरिएका छन् । फाराम भर्नेले यी बिधामध्ये आफूलाई रुचि लागेको क्षेत्रलाई १ त्यसपछिको रुचिको क्षेत्रलाई क्रमशः २, ३, ४ र ५ नम्बर दिनुपर्नेछ । तालिमका विधाहरु १) प्रोफेसनल कम्प्युटर हार्डवेयर नेटवर्किङ् तथा सीसीटिभी क्यामरा जडान तथा मर्मत तालिम २) सफ्टवेयर डिभलपमेन्ट तालिम ३) प्रोफेसनल इलेक्ट्रिसियन एण्ड प्लम्बिङ् तालिम ४) सिलाइ कटाइ तथा फेसन डिजाइनिङ् तालिम ५) कन्स्ट्रक्सन लेवर तथा मिस्त्री तालिम ६) व्युटी पार्लर तथा सैलुन तालिम ७) मोटरसाइकल रिपेयर मेन्टिनेन्स तालिम ८) लाइट भेहिकल मेन्टिनेन्स तालिम ९) कार्पेन्टर तथा इन्टेरियर डिजाइनिङ् तालिम १०) हस्तकला तथा मूर्तिकला तालिम ११) आकाशे पानी संकलन तथा रिजर्व वोरिङ् तालिम १२) सरसफाइ तथा माली तालिम १३) कौसी खेती (भर्टिकल फार्मिङ्) तालिम १४) हेभी इक्वीपमेन्ट अपरेटर (ब्लाक व्हो, लोडर, एक्साभेटर) तालिम १५) फास्टफुड/चाइनिज र इन्डियन कुक तालिम १६) बारिस्ता/बेकरी तालिम १७) बार ट्रेण्डिङ्/वेटर/वेट्रिस तालिम १८) होम एप्लाइन्सेस मर्मत तालिम १९) अनलाइन रोजगार (जब) तालिम २०) सम्पदा निर्माण तथा मर्मत तालिम २१) प्रोसेसनल अकान्टिङ् तालिम २२) रिसेप्सनिष्ट तथा क्यासियर तालिम २३) मार्केटिङ् तथा डिजिटल मार्केटिङ् तालिम २४) ग्राफिक्स डिजाइन भिडियोग्राफी तथा भिडियो इडिटिङ् २५) एल्मुनियम, युपीभीसी, फेब्रिकेसन तालिम २६) टुटिस्ट गाइड तालिम २७) सेक्युरिटी गार्ड तालिम २८) स्पा तथा थेरापी तालिम २९) लघु उद्यम विकास सहजकर्ता तालिम ३०) जुत्ता बनाउने तालिम ३१) सहकारी व्यवस्थापक तालिम ३२) गरगहना बनाउने तालिम ३३) विभिन्न खेलकुदका लागि ३४) साइबर सेक्युरिटी ३५) अन्य तालिमका लागि तालिममा भाग लिन चाहनेहरुले वडा कार्यालयमा सम्पर्क गरेर वा अनलाइन फारामबाट आवेदन दिन सक्नेछन् ।