विकासन्युज

चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ

मकवानपुर । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौं तहमा कार्यरत रामचन्द्र अर्याललाई बिहीबार प्रहरीले हेटौँडाबाट पक्राउ गरेको हो । अर्याल यातायात कार्यालय काठमाडौँ ठूलो भर्‍याङबाट सरुवा भएर अर्याल बागमती प्रदेशसभा सचिवालयमा आएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिए । अर्याललाई काभ्रे जिल्ला प्रहरी कार्यालय पठाइएको रिजालले बताए । अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ । अर्यालसहितका कर्मचारीमार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा अर्याल नायव सुब्बाको रुपमा कार्यरत थिए । उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले अनुसन्धान गरिरहेको छ । काभ्रे प्रशासनबाट २०७४ पुस २० मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अर्याल २०७५ सम्म काभ्रे प्रशासनमा कार्यरत थिए । दावाले निमा तामाङका नाममा र वाङले पासाङ तामाङका नाममा नागरिकता लिएको अनुसन्धानबाट खुलेको थियो । नागरिकता सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल रहेको आधारमा उनीहरुमाथि अनुसन्धान भइरहेको हो । उपसचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाही सिफारिस गरिएको थियो । रासस

ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, पाँचहजारको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो । मुलुकका विभिन्न जिल्लाका ४१ स्थानमा सञ्चालित कार्यक्रममा ५,००० भन्दा बढी व्यक्तिहरुलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ । बैंकले कोशी प्रदेशको झापा जिल्ला, दमक नगरपालिका र मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिकामा आयोजना गरेका कार्यक्रमहरुमा २५० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो । मधेश प्रदेशअन्तर्गत सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा गरिएको कार्यक्रममा १०० भन्दा बढिको सहभागिता थियो । बागमती प्रदेशअन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाँउपालिका, मन्थली नगरपालिका, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, धादिङ जिल्लाको गल्छी गाँउपालिका, रसुवा जिल्लाको कालिका गाँउपालिका र गोसाईकुण्ड गाँउपालिकामा आयोजित कार्यक्रमहरुमा १,२०० भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको थियो । त्यसैगरी, गण्डकी प्रदेशअन्तर्गत स्याङजा जिल्लाको वालिङ्ग नगरपालिका, नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका, विनयी–त्रिवेणी गाँउपालिका, लमजुङ जिल्लाको बेशीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका र तनहूँ जिल्लाको भानु नगरपालिकाको कार्यक्रममा ९०० भन्दा बढी स्थानीयहरुको सहभागिता रहेको थियो । लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु जिल्लाको महराजगंज नगरपालिका, बाणगंङ्गा नगरपालिका, दाङ जिल्लाको दंगीशरण गाँउपालिका, राप्ती गाँउपालिका, गुल्मी जिल्लाको मालिका गाँउपालिका, मुसीकोट नगरपालिका, चन्द्रकोट गाँउपालिका, नवलपरासी जिल्लाको रामग्राम नगरपालिका, पाल्पा जिल्लाको पूर्वखोला गाँउपालिका, रोल्पा जिल्लाको रोल्पा नगरपालिका, रुपन्देही जिल्लाको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रोहिणी गाँउपालिका, सिद्धार्थनगर नगरपालिका, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा आयोजित कार्यक्रममा २,५०० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो । साथै, सुदूरपश्चिम प्रदेशअन्तर्गत बैतडी जिल्लाको डिलासैनी गाँउपालिका, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाको कार्यक्रममा २०० भन्दा बढी लक्षितवर्गहरुको सहभागिता थियो । यससँगै ग्लोबल आइएमई बैंकले ७६ शाखा कार्यालयहरुबाट ९,००० भन्दा बढी लक्षित वर्गहरुलाई विभिन्न सचेतनात्मक तथा वित्तीय सुरक्षासम्बन्धी जानकारी प्रदान गरी बैंकिङ्ग कारोबार गर्न उत्प्रेरित गरेको छ । यस आर्थिक वर्षमा बैंकले आफ्ना ३५० भन्दा बढी शाखाहरुमार्फत यस्ता लक्षित वर्गको सहभागितामूलक कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

मुद्दा चलिरहेको व्यक्तिलाई गृहमन्त्री बनाएकोमा आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले सहकारी घोटालाको आरोपमा मुद्दा चलिरहेको व्यक्तिलाई देशको उपप्रधान एवं गृहमन्त्री बनाउने कुरा अस्वभाविक भएको बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आपत्ति प्रकट गरेको हुन् । उनले मन्त्रीमण्डल बिस्तार गर्ने क्रममा अदालतमा मुद्दा चलिरहेको व्यक्तिको मुद्दाको किनारा नलागेका व्यक्तिलाई गृहमन्त्री बनाउनुपर्ने कुरा आश्चर्यजनक रहेको बताए । उनले ‘प्रधानमन्त्रीले कसको दबाबमा सत्ता समीकरण परिवर्तन गर्नुभएको हो ?’ भन्दै प्रश्न गरे । ‘भर्खरै नयाँ समीकरणबाट नयाँ सरकार बनेको छ । यो नयाँ सरकारले जनताका जल्दाबल्दा समस्याहरु समाधान गर्नको लागि भुमिका खेलोस् । तर बनेको यो गठबन्धन सरकारको बारेमा अलिकति फरक विचार छ । हिजो जुन गठबन्धन बनेर देशको नेतृत्व हाँकेको थियो । मन्त्रीमण्डल बिस्तार गर्ने क्रममा जुन व्यक्तिको उपर अदालतमा मुद्दा चलिरहेको छ । त्यो मुद्दाको किनारा लागेको छैन, नागरिकता, दोहोरो पासपोर्टका सवालहरु छन् । सहकारीमा घोटाला भएका मुद्दाहरु जीवितै छ । स्वयं उही व्यक्तिलाई गृहमन्त्रालय सुम्पिने काम भएको त्यो स्वभाविक रुपमा स्वीकार्न सकिने कुरा होइन । यसमा हाम्रो पार्टीको आपत्ति छ’, उनले भने । उनले नयाँ सरकारले जनताका जल्दाबल्दा समस्याहरु समाधान गर्नको लागि भुमिका खेल्न सुझाव दिए ।

‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रममा ह्वाइट हाउस कलेजले सहकार्य गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रममा काठमाडौं पुतलीसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशल कजेजले सहकार्य गर्ने भएको छ । काठमाडौं महानगरपालिकासँग द्विपक्षीय सम्झौता गर्दै महानगरपालिकाले सञ्चालन गर्ने ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमसँग सम्बन्धित विभिन्न तालिम गराउने र दक्ष जनशक्ति उपलब्ध गराउने भएको हो । महानगरले गौरवको कार्यक्रमको रुपमा सञ्चालन गरिरहेको ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत कलेजले सफ्टवेर डेभलपमेन्ट, कन्ट्रक्सन लेवर तथा मिस्त्री, रेन वाटर हार्वेस्ट तथा रिभर, फास्ट फूड चाइनिज इन्डियन कुक, कौसी, वारिष्टा, बार टेन्डर वेटर, होम एप्लाएन्स तथा मर्मत, प्रोफेसनल अकाउन्टिङ, डिजिटल मार्केटिङ, मार्बल फिटर र एल्मुनियम युपीभीसी फेब्रीकेसन सम्बन्धी तालिम प्रदान गर्ने सम्झौता भएको छ । साथै, साइबर सेक्युरिटी, प्लान्ट टिस्यु कल्चर र अर्गानिक फर्टिलाइजर सम्बन्धी तालिम प्रदान गर्ने सम्झौता भएको कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले बताएका छन् । सम्झौता अनुसार कलेजले तालिमको लागि प्राविधिक सामग्री, जनशक्ति र स्थान उपलब्ध गराउने छ । सो सहकार्य तीन वर्षसम्म हुने सम्झौतामा उल्लेख गरिएको छ । काठमाडौं महानगरले ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमका लागि १२ करोड रुपैयाँ विनियोजन गरेको छ । बिहीबारसम्म महानगरले सञ्चालन गर्ने विभिन्न तालिमका लागि ७ हजार बढीले आवेदन गरेको जनाइएको छ ।

कीर्तिपुरका वडाध्यक्ष महर्जनको निधन

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । लामो समयदेखि कलेजोको समस्याबाट पीडित ६१ वर्षीय महर्जनको गएराति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको सो नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीले जानकारी दिए । महर्जन विस २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएको थिए। उहाँका श्रीमति र दुई छोरा छन् । वडाअध्यक्ष महर्जनको निधनमा बिहीबार कीर्तिपुर नगरपालिकामा शोक बिदा दिइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले महर्जनको निधनमा दुःख व्यक्त गरेका छन् । उनको आजै कीर्तिपुरमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा कांग्रेसका नेता, कार्यकर्ता तथा वडावासीको सहभागीता थियो । रासस

दुई इन्स्योरेन्ससहित जीवन विकास लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई इन्स्योरेन्ससहित जीवन विकास लघुवित्तको कूल ५५ लाख ९५ हजार ३९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मात्रै हिमालयन एभरेष्ट इन्स्योरेन्स, यूनाइटेड अजोड इन्स्योरेन्स र जीवन विकास लघुवित्तको गरी सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो । जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८.६३ प्रतिशत अर्थात १९ लाख ८६ हजार २२४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, यूनाइटेड अजोड इन्स्योरन्सको १०.२६१२ प्रतिशत अर्थात १९ लाख ५४ हजार ३२० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । साथै, जीवन विकास लघुवित्तको १४ प्रतिशत अर्थात १६ लाख ५४ हजार ८४७ कित्ता बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

नाम बामपन्थी, काम खामपन्थी भयो : चित्रबहादुर केसी

काठमाडौं । नाम बामपन्थी काम खामपन्थी भएको भन्दै जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले बामपन्थी दलहरुलाई लगाएका छन् । बिहीबार संसदमा बोल्दै अध्यक्ष केसीले छातीमा हात राखेर नाम बामपन्थी काम खामपन्थी हो की होइन भनेर प्रश्न गरेका छन् । ‘नाम बामपन्थी काम खामपन्थी हो की होइन, छातीमा हात राखेर भन्नुस त बामपन्थी भन्ने साथीहरुले’, अध्यक्ष केसीले भने । उनले सहकारी ठगीमा आरोपित व्यक्ति नयाँ गठबन्धमार्फत सरकारमा सहभागी भएको आरोप समेत लगाए ।

बरु भ्यागुतालाई जोख्न सकिएला, तर प्रचण्डलाई जोख्न नसकिने भयो : सिके राउत

काठमाडौं । नेपाल जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बरु भ्यागुता जोख्न सकिने तर, प्रचण्डलाई जोख्न नसिकिने बताएका छन् । बिहीबार संसदमा बोल्दै डा राउतले प्रचण्डलाई भ्यागुतासँग तुलना गरेका हुन् । ‘मैले यसलाई भ्यागुते प्रवृति भन्छु,, बरु भ्यागुतालाई समातेर जोख्न सजिलो होला तर, अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यूलाई त्यति कमसल नठान्नुहोला’, उनले भने, ‘कतिखेर कुन विदेशीले धाप मार्छ कतिखेर कर्ता उफ्रिदिनुहुन्छ थाहै हुँदैन ।’ डा राउतले प्रचण्डको उफ्राइले काठमाडौंमा मात्रै नभएर देशैभरीका प्रदेश सरकारहरुमा समस्या देखिएको बताए । ‘यो उफ्राइले गर्दा काठमाडौंमा मात्रै धक्का पराकम्प जाँदा त केही थिएन, सातवटै प्रदेशका सरकार पनि गर्ल्यामगुर्लुम ढल्दिन्छन्’, उनले भने अनि जनताले यातना भोग्नुपर्ने यो देशले यातना खेप्नुपर्ने ?’