विकासन्युज

आधुनिक विकास र सुविधाको खोजिमा रित्तिदै ‘कुइनेखानी’ गाउँ

म्याग्दी । गुजमुञ्ज घरहरु लहरै मिलेर बसेको गाउँ । जहाँ आजसम्म नयाँ आधुनिक भौतिक पूर्वाधार बनेका छैनन् । परम्परागत तरिकाले ढुङ्गाले छाएका घर रहेको कुइनेखानी आफैँमा सुन्दर गाउँको रुपमा परिचित छ । भौगोलिक रुपमा दुर्गम र सेवा सुविधाको अभाबले हिमाली गाउँको रुपमा चिनिने म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा अवस्थित यो कुइनेखानी गाउँ रित्तिदै गएको छ । केही वर्ष अघिसम्म ९५ घरधुरीको बसोबास रहेको कुइनेखानीमा अहिले ४५ घरधुरीमा मात्रै बसोबास गर्दछन् । बसाइँसराइको कारण गाउँ युवाविहीन अवस्थामा पुग्न थालेको छ । गाउँमा मोटरबाटो पुगे पनि अन्य सुविधा पुग्न नसक्दा हरेक वर्ष गाउँबाट बसाइँ सर्ने बढेको स्थानीय टोल सुधार समितिका अध्यक्ष तुल छन्त्यालले बताए । ‘विकास भनेको यही मोटरबाटो हो, यो पनि आएको जम्मा दुई वर्ष भयो, सडक आए पनि अरु विकास गाउँमा आउँदैन, यो लेकमा कस्ले हालिदिन्छ र बजेट, यसअघि त सदरमुकाम जान पनि दिनभर पैदल हिँड्नुपर्ने बाध्यत थियो,’ उनले भने। गाउँमा कच्ची सडकको पहुँच पुगे पनि यो स्तरीय छैन । गाउँबाट सदरमुकाम बेनी पुग्न एकतर्फी रु एक हजार २०० भाडा लाग्छ । गाउँको शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्लगायतको सुविधा भरपर्दो र गुणस्तरीय छैन् । भौगोलिकरुपमा विकटता रहेको र छरिएका गाउँ बस्तीको कारण रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ८ कुइनेमङ्गलेलाई ‘म्याग्दीको कर्णाली’को उपमा दिने गरिन्छ । यस वडामा एक गाउँबाट अर्को गाउँमा जान दिनभरकै पैदल यात्रा गर्नुपर्छ । छरिएर रहेकै गाउँबस्तीका कारण यस वडाको अहिले पनि सम्पर्क कार्यालय सदरमुकाम बेनीबाटै सञ्चालन हुँदै आएको छ । स्थानीय तह कार्यान्वयनमा आएसँगै गाउँमा भौतिक पूर्वाधारको क्षेत्रमा विकासका गतिविधि अघि बढे पनि बसाँइसराइ रोकिएको छैन । विकास गाउँ भित्रदै छ, तर कुइनेखानी गाउँ रित्तिने क्रम बढ्दै गएको छ । आधारभूत स्वास्थ्य सेवा लिनसमेत दिनभरको पैदलयात्रा गर्नुपर्ने बाध्यता स्थानीय तह कार्यान्वनयमा आएसँगै हटेको छ । गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सामान्य बिरामी हुँदा आधारभूत उपचार पाउने सुविधा गाउँमा भित्रिएको छ । अहिले गाउँ छाड्ने अधिकांश बालबालिकाको शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहर झर्नुपरेको बताउँछन् । मुख्यगरी गाउँमा शिक्षाको अवस्था कमजोर रहेको छ । वैदेशिक रोजगारमा गएकाले आफ्ना बालबच्चा र परिवारलाई सहरमा राख्न थालेसँगै गाउँमा विद्यालय खाली हुँदै गएको छ । कक्षा ८ सम्म पठनपाठन हुने कुइने आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या नभएकै कारण अघिल्लो शैक्षिक सत्रदेखि तह घटाएर ५ कक्षासम्म मात्रै पठनपाठन गराउन थालिएको छ । स्तरीय शिक्षाका लागि बालबालिकालाई सहरी क्षेत्रमा लैजाने प्रचलन बढेसँगै गाउँको स्कुल खाली हुँदै गएको रघुगङ्गा गाउँपालिका–८ का वडासदस्य चबहादुर छन्त्यालले बताए । विद्यालय व्यवस्थापन समितिमा जनप्रतिनिधिको तर्फबाट सदस्यसमेत रहेका छन्त्यालले अङ्ग्रेजी माध्ययमको शिक्षा लिने लहडले आर्थिकरूपमा सक्षम भएका परिवारले सहरमा पठनपाठन गराउने प्रवृत्ति बढेको बताए । ‘आर्थिक अवस्था राम्रो भएकाले बोडिङमै पढाउन लौजान्छन, गाउँको स्कुल भौतिकरूपमा पनि पुरानो र जीर्ण हुँदै गएको छ, स्कुल खाली हुने अवस्था आइसकेको छ,’ उनले भने । यस विद्यालयमा अहिले जम्मा १५ जना बालबालिका अध्ययनरत रहेका छन् । कक्षा ५ मा अध्यन गर्ने विद्यार्थी सङ्ख्या शून्य रहेको छ । केन्द्रीय विद्युतीकरण नपुगेको यस गाउँमा स्थानीय लघु जलविद्युत्बाट विद्युत् सुविधा उपभोग गर्दै आएका स्थानीयले बाढी पहिरोको कारण निरन्तर झन्झट हैरानी बेहोर्नुपरेको छ । पुख्र्यौली रुपमा खानी खन्ने सिलसिलामा कुइनेखानीमा छन्त्याल समुदायको बसोबास रहन गएको थियो । तामा खानीको प्रख्यात ठाउँको रुपमा चिनिएको कुइनेखानीमा तत्कालीन समयमा तामाको प्रशोधन र बिक्रीका लागि विश्वकर्मा र थकाली जातिको समेत केही घरधुरीको बसोबास रहेको पाइन्छ । खानी खन्ने काम बन्द भएपछि यहाँका स्थानीयको पेसा परिवर्तन भएसँगै गाउँको बसोबास घट्दै गएको स्थानीय नरमान छन्त्यालले बताए । ‘खानी बन्द भएपछिको पुस्ता भारतीय सैनिकमा भर्ती हुने लहर चल्यो, उनीहरुको आर्थिक स्थितिमा सुधार भएपछि अधिकांश लाहुरेले गाउँबाट बेनी, पोखरा, बुटवल, दाङ, भैरहवालगायतका ठाउँमा बसाइ सारेका छन्, गाउँबाट सहरमा सर्नेक्रम अझै छ,’ उनले भने । गाउँमा अहिले बूढापाका र महिला र विदेश जाने प्रयासमा रहेका केही युवा मात्रै छन् । स्वदेशमा रोजगारको अवसर नभएपछि युवायुवती विदेश पलायन हुने र आर्थिकरूपमा बलियो बन्न थालेपछि सहर झर्ने क्रमले गाउँमा वृद्धवृद्धा मात्रै रहने अवस्था आएको स्थानीय ७७ वर्षीय टीकाबहादुर विश्वकर्माले बताए । ‘गाउँ त खाली हुँदै गयो, युवा लाहुर लागे, हुनेखाने सरेर गए, बूढापाका मरेर गए हाम्रो पुस्तापछि गाउँमा को रहलान् र ?,’ उनले भने । गाउँको खेतीयोग्य जमिन बाँझो रहन थालेको छ । आलु, कोदो, मकै, जौ, गहुँलगायतका खाद्यबाली घट्दो क्रममा छ । केही वर्षपछि यहाँका जनताले वनजङ्गल र झाडी भरिएको जग्गाको तिरो तिरेर मात्रै बस्नुपर्ने अवस्था आउने विक बताउछन् । कुइनेखानीबाट पुतलीडाँडा सिङ्कोस बगर हुँदै धौलागिरि आधार शिविर र झिरबारी, भालीचुली, च्यमलीबुकी, रुवाचौर हुँदै आइसफलतर्फको धौलागिरि आधार शिविर पुग्न सकिन्छ । रैथाने परम्परागत जनजीवन र संस्कृतिसँगै यहाँ रहेका पर्यटन सम्भावनाको उजागर गर्न सकेमा कुइनेखानीलाई पर्यटन विकासका माध्यमबाट विकसित, समृद्ध र आत्मनिर्भर बनाउन सकिने स्थानीयवासी बताउँछन् । रासस

आज अन्तर्राष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ११४औं अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिका लागि सञ्चालन भइरहेका अभियानमा ऐक्यबद्धता स्वरूप प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा विश्वभरि मनाइन्छ । सोही अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ । यसवर्ष ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय संकल्प साथ नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । यस दिवसको अवसरमा महिला अधिकारका लागि स्थापित विभिन्न सरकारी तथा गैर सरकारी संस्था, राजनीतिक दल, महिला समूहलगायतले संगठित रूपमा विभिन्न खालका सचेतनामूलक एवम् सांस्कृतिक कार्यक्रम गर्ने गर्दछन् । महिलाले सामाजिक, राजनीतिक, आर्थिक र साँस्कृतिकसहितका विभिन्न क्षेत्रमा झेल्नु परेका समस्या र त्यसको अवस्थाका बारेमा वकालत गर्ने र जागरुक बनाउने उद्देश्य अन्तर्राष्ट्रिय महिला दिवसको हो । हरेक वर्ष यही उद्देश्यसहित यो दिवस मनाइन्छ । महिलाको अवस्था र सहभागिता सामाजिक, राजानीतिक, आर्थिक तथा साँस्कृतिक क्षेत्रमा बलियो बनाउँदै लैजानका लागि वकालत गर्ने अर्थात महिलाको सबलिकरणको पक्षमा आवाज बुलन्द गर्ने दिनको रूपमा मार्च ८ लाई लिने गरिएको छ । विश्वमा महिलाका लागि अनन्त सम्भावनाहरु रहेको तर त्यसको प्राप्तिका लागि पहुँचको सवाल कमजोर बनेकाले उद्देश्यपूर्ण सहकार्यबाट महिलाको सबलिकरण सम्भव हुने महिलाको सबलिकरणको पक्षमा काम गर्दै आएका संस्थाले बताउने गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवस सुरुमा सन् १९११ को मार्च १९ मा मनाइएको थियो । पहिलो अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भएको कार्यक्रममा १० लाखभन्दा बढी महिला तथा पुरुषले र्‍याली गरेका थिए ।

एआईको डाटा चोरी गरेको आरोपमा गुगलका इन्जिनियर पक्राउ

काठमाडौं । अमेरिकाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को व्यापारसम्बन्धी महत्वपूर्ण डाटा चोरी गरी दुई चिनियाँ कम्पनीका लागि गोप्यरूपमा काम गरिरहेको आरोपमा गुगलका एक पूर्वसफ्टवेयर इन्जिनियरलाई पक्राउ गरेको छ । लियोन डिङ भनेर चिनिने चिनियाँ नागरिक लिनवेई डिङलाई क्यालिफोर्नियामा पक्राउ गरिएको बीबीसीले जनाएको छ । उनले ५ सयभन्दा बढी गोप्य फाइलहरू चोरेको आरोप छ । दोषी प्रमाणित भएमा उनलाई १० वर्ष कैद र प्रति कसुर २ लाख ५० हजार डलर जरिबानाको सजाय हुने बताइएको छ । डिङलाई गुगलले २०१९ मा एआईसम्बन्धी सफ्टवेयर विकास गर्ने जिम्मेवारी दिएर काममा लगाएको थियो । उनले गुगलको नेटवर्कमा भण्डारण गरिएको महत्वपूर्ण जानकारीहरु मे २०२२ देखि एक वर्ष लगाएर आफ्नो व्यक्तिगत गुगल खातामा अपलोड गर्न थालेको पाइएको बीबीसीले जनाएको छ । बीबीसी

सैनिक मञ्च टुँडीखेलमा सेना दिवस मनाइँदै

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । त्यस अवसरमा नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुती हुनेछ । जङ्गीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिनेछ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना कानुनको परिधिभित्र रही स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीको सङ्गठन रहेको बताएका छन् । सङ्गठन स्थापना दिवसका अवसरमा सकल दर्जालाई सम्बोधन गर्दै उनले सदैव व्यक्तिभन्दा संस्थामाथि रहने पक्ष स्मरण गराँउदै पदभन्दा प्रतिष्ठा ठूलो हो भन्ने कहिल्यै नविर्सन सुझाव दिए । सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल छ । सैनिक वीरपूर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र र एकताको भावना उच्च संस्कार रहन्छ । नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले सेना सबैको फुलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ५० हजार आठ सय ९१ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ । विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ७३ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६८ सैनिक घाइते भएका छन् । विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा ६ सय ६२ महिलासहित पाँच हजार आठ सय ९० नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा नेपाल पहिलो स्थानमा छ । विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक निरन्त सहभागीले यसलाई पुष्टि गरेको छ । विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रूपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौं–तराई मधेस द्रुतमार्गको काम भइरहेको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउँछन् । रासस

‘गर्मी से बेहाल चलो नेपाल’ अभियानले भारतीय पर्यटक बढ्ने अपेक्षा

काठमाडौं । भारतको सीमावर्ती क्षेत्रबाट उल्लेख्यमात्रामा भारतीय पर्यटकले नेपाल भ्रमण गर्ने र गत वर्षको तुलनामा सङ्ख्या पनि दोब्बरले वृद्धि हुने नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरूले आंकलन गरेका छन् । भारतको लखनउमा भएको नेपाल प्रवर्द्धनात्मक कार्यक्रममा सहभागी दुवै देशका पर्यटन व्यवसायीले यो ग्रीष्मयाममा प्रशस्त पर्यटक नेपाल आउने बताएका हुन् । होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा अयोध्या र लखनउ गएको ६० सदस्यीय नेपाली प्रतिनिधिमण्डल कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किएको छ । जनकपुर र अयोध्यालाई जोडेर बढी भन्दा बढी भारतीय पर्यकटक नेपाल भित्राउन सङ्घले लखनउमा पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा लखनउ, कानपुरलगायत क्षेत्रका ५० भन्दा बढी ‘टूर अपरेटर’ र व्यवसायीको उपस्थिति रहेको संघले जनाएको छ । टुर अपरेटरहरुलाई स्वागत गर्दै संघका अध्यक्ष शाहले मुलुकको सातै प्रदेशका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको जानकारी गराउँदै यो वर्षको ग्रीष्म ऋतुमा भारतीय पर्यटकलाई नेपाल घुम्न निम्तो दिए । उनले विवाह र बैठक, सम्मेलन, प्रदर्शनी‘माइस’ पर्यटनका लागि नेपाल उपयुक्त भएकाले भ्रमणमा आउन आग्रह गर्दै त्यसका लागि पर्याप्त संरचना पनि तयार रहेका जानकारी दिए। उनले पर्यटकलाई नेपालका मौलिक खाना खुवाएर नेपाल भ्रमणलाई स्मरणीय बनाइने बताए। भारतीय पर्यटन व्यवसायीको तर्फबाट ट्राभल एजेन्ट्स एशोसिएशन अफ इण्डिया र ट्राभल ट्रेड एशोसिएशन यूपीका अध्यक्षहरुले कार्यक्रमको सराहना गर्दै दुई देशीय पर्यटन प्रवर्द्धनमा यस कार्यक्रमको अझ बढी महत्व रहेको तथा दुई देशको सम्बन्ध मजबुत बनाउन सहयोग पुगेको बताए । साथै उनीहरूले छिमेकी राष्ट्र नेपालमा भारतीय पर्यटकलाई भ्रमण गर्न उत्प्रेरित गरिएको र आगामी दिनमा बढीभन्दा बढी भारतीय पर्यटकले नेपाल भ्रमण गर्ने विश्वास दिलाए । भारतीय पर्यटन व्यवसायीले भारत नेपाल सीमावर्ती पर्यटन प्रवर्द्धनमा नेपाल र भारतीय सीमावर्ती सहरबीच सीधा हवाई उडान तथा सडक सम्पर्कको आवश्यकता रहेको जनाउँदै यस सम्बन्धमा दुवै देशका सरकारलाई आआफ्नो क्षेत्रबाट सहजीकरणका लागि आग्रह गरे । लखनउमा भएको नेपाल प्रवर्द्धन कार्यक्रममा ‘चलिए पोखरा’, ‘घुमिए सौराहा’, ‘चलु जनकपुर’, ‘देखिए बर्दिया’, ‘विराट’ विराटनगरको विशेष प्रस्तुतिसहित ‘ गर्मी से बेहाल चलो नेपाल’ अभियानबारे पनि जानकारी दिइएको थियो ।

पशुपति क्षेत्रमा ४ हजार बढी प्रहरी परिचालन

काठमाडौं । पाशुपति क्षेत्रमा महाशिवरात्रि मेलाका लागि ४ हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ सुरक्षाकर्मी परिचालन गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए । उनीहरू आज राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्तरूपमा उक्त सुरक्षा योजना बनाइ लागू गरेको उनले बताए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटिने छ । सो अवसरमा आपतकालीन उद्धार टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको उनले बताए ।

आज महाशिवरात्रि पर्व मनाइँदै

काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरिका शिवालयहरूमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरमा शिवको पूजा गर्नेहरूको घुइँचो छ । भक्तजनहरूले व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।

महिला फुटबल खेलाडीलाई कृषि विकास बैंकको सहयोग

काठमाडौं । कृषि विकास बैंकले नारी दिवसको अवसरमा नेपाली महिला फुटबल टिमलाई आर्थिक सहयोग गरेको छ । बैंकले नेपाली महिला फुटबल टिमलाई प्रोत्साहनस्वरूप ६ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । हालै साउदी अरबमा सम्पन्न वेस्ट एशियन फुटबल फेडेरेशन (वाफ) वुमेन्स प्रतियोगितामा नेपाली महिला फुटबल टिम उपविजेता बनेको थियो । बैंकका अनुसार उक्त खेलमा सहभागी खेलाडी, प्रशिक्षक लगायत टिममा संलग्न सदस्यहरूलाई प्रोत्साहन गर्न संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट अखिल नेपाल फुटबल संघ (एन्फा)मार्फत नगद रकम प्रदान गरिएको हो । २३ जना खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ, मुख्य प्रशिक्षकलाई १५ हजार रुपैयाँ, प्रशिक्षक ३ जना, टिम म्यानेजर, फिजियोथेरापिस्ट, एन्फा, हेड अफ डेलिगेट्स र अफिसियललाई १०÷१० हजार रुपैयाँ प्रदान गरेको बैंकले जनाएको छ ।