विकासन्युज

एकनारायण अर्याललाई गृह मन्त्रालयमा सरुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी वैशाख २० देखि २३ सम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एशियाली विकास बैंकको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वर्षमान पुनको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने भएको छ । मन्त्रिपरिषद्को सोमवार(फागुन २८ गते) बसेको बैठकले आगामी वैशाख २० देखि २३ सम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एशियाली विकास बैंकको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वर्षमान पुनको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउन स्वीकृति दिएको हो । बैठकले कालीगण्डकी रिडी १३२ के.भी. प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र सदस्य तोक्ने निर्णय पनि गरेको छ । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्र कोरियामा आगामी चैत २८ मा हुने २२ औँ नेशनल एसेम्ली इलेक्शनको पर्यवेक्षणमा निर्वाचन आयोग, नेपालका निर्वाचन आयुक्त सगुन शमशेर जबरालाई सहभागी हुन स्वीकृति दिएको पनि बताइन् । उनले संयुक्त राष्ट्र संघका मानव अधिकार परिषद्को सन् २०२७–२०२९ र सामाजिक तथा आर्थिक परिषद्को सन् २०२९–२०३१ अवधिको लागि सदस्य पदमा नेपालको उम्मेदवारी पेश गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिएको पनि बताइन् । मन्त्री शर्माले नेपाल सरकारको नाममा दर्ता रहेको हुम्ला जिल्लाको जग्गा नाम्खा गाउँपालिकाको १५ शैय्याको आधारभुत अस्पतालको भवन निर्माणको लागि र प्रशासकिय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय भएको पनि जानकारी दिइन् । त्यस्तै अप्पर मादी जिरो खोला जलविद्युत आयोजना(४३ मेगावाट) निर्माणको लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको मादी गाउँपालिकामा रहेको राष्ट्रिय वनको कुल जम्मा १६.९३ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय भएको पनि उनले उल्लेख गरिन् । मन्त्रिपरिषद्ले खानी खोला–१ जलविद्युत आयोजनाले प्रयोग गरेको सरकारी वनक्षेत्र बराबरको निजी जग्गा गौरीशंकर संरक्षण क्षेत्रको आसपासमा खरिद गरी विभागको नाममा रजिष्ट्रेशन पास गर्ने प्रयोजनको लागि सट्टा भर्ना गर्ने समयावधि ६ महिना थप गर्न स्वीकृति पनि दिएको छ । त्यस्तै हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको मन्त्री शर्माले बताइन् । मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एकनारायण अर्याललाई गृह मन्त्रालयको सचिव पदमा र गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी सो ठाउँमा नयाँ व्यक्तिहरुलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस समेत गरेको छ । बैठकले मधेस प्रदेशको प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशको प्रमुखमा डिल्लीराज भट्ट र सुदुरपश्चिम प्रदेशको प्रमुखमा नजिर मियाँलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकि प्रवक्ता शर्माले जानकारी दिइन् । त्यस्तै मन्त्रिपरिषद्का विभिन्न समितिहरु समेत बनाइएको छ । मन्त्री शर्माले राजनीतिक समितिको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइएको बताइन् । त्यस्तै आर्थिक पूर्वाधार समितिमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, विधेयक समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, प्रशासन समितिमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र सामाजिक समितिमा उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई संयोजक तोकिएको पनि जानकारी दिइन् ।

लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक बैंकको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा लुम्बिनी विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो । बैंकको ४ प्रतिशत बोनस अर्थात् १३ लाख ५३ हजार १२८.५१ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । बैंकको पुष २६ गते सम्पन्न १६औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कूल ८.५० प्रतिशत लाभांश पारित गरेको थियो ।

१८ रुपैयाँमा भाँडा माझ्ने जयराम बने ३०० करोडका मालिक

काठमाडौं । जयराम बनान सागर–रत्न रेष्टुरेन्टका मालिक हुन् । बुवाले कुट्ने डरले उनी घर छाडेर हिँडेका थिए । त्यसपछि उनले धेरै दुःख पनि पाए । तर, हार स्वीकारेनन् । उनले निरन्तर कडा मिहिनेत गरे । अहिले उनले करोडौंको फुड चेन खोलेका छन् । त्यसबाट वर्षेनी करोडौं रुपैयाँ आम्दानी हुन्छ । भारत मंगलौर (कर्नाटक) नजिकै रहेको ‘उडुपी’ गाउको एक साधारण परिवारमा जन्मेका जयरामका बुबा ड्राइभर थिए । जयरामका बुबा अलि क्रोधित स्वभावका थिए । त्यही कारणले उनी आफ्नो बुबासँग धेरै डराउँथे । जयराम स्कुलको परीक्षामा फेल भएपछि बुवाले आफूलाई नराम्रोसँग कुट्छन् भन्ने महसुस गरे । बुबाले कुट्ने डरले १३ वर्षको उमेरमा उनी घरबाट भागेका थिए । घरबाट भाग्नुअघि उनले बुबाको खल्तीबाट केही पैसा निकाले र मंगलौरबाट मुम्बईको बसमा चढे । जयराम सन् १९६७ मा मुम्बई आएका थिए । जयराम मुम्बई त आए तर उनीसँग कुनै काम थिएन । त्यहाँ उनको एकजना चिनजानका मान्छे थिए जो रेस्टुरेन्ट चलाउँथे । जयरामले उनकै रेस्टुरेन्टमा काम गर्न थाले ।उनको उमेर पनि सानै भएकाले उनलाई धेर केही आउँदैनथ्यो । यस्तो अवस्थामा उनले रेस्टुरेन्टमा जुठा भाँडा धुने काम गरे । यो कामका लागि उनले मासिक १८ रुपैयाँ पारिश्रमिक पाएका थिए । उनले ६ वर्ष भाँडा माझ्ने काम गरे । जयरामको परिश्रम देखेर उनलाई पहिले वेटर र पछि रेस्टुरेन्टको म्यानेजर बनाइयो । योसँगै उनको तलब मासिक दुई सय रुपैयाँ पुग्यो । त्यसपछि सन् १९७४ मा जयराम दिल्ली आए । सुरुमा उनले आफ्नै व्यवसाय गर्ने सोच बनाए । उनी दिल्लीमा आफ्नै रेस्टुरेन्ट खोल्न चाहन्थे। यहाँ उनले गाजियाबादको सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडको क्यान्टिन चलाउन थाले । साथीभाइबाट ऋण लिएर र आफ्नै बचतबाट उनले यो काम सुरु गरेका हुन् । त्यसपछि सन् १९८६ मा उनले दक्षिण दिल्लीको डिफेन्स कालोनीमा आफ्नो पहिलो रेष्टुरेन्ट खोलेका थिए जसको नाम सागर थियो । पहिलो दिनमै उनले यस रेस्टुरेन्टबाट ४०८ रुपैयाँ कमाए । त्यसपछि जयरामको मिहिनेतले प्रतिफल दिन थाल्यो । जयरामको रेष्टुरेन्टमा मानिसको भीड पनि बढ्न थाल्यो । उनको रेस्टुरेन्टमा पाइने साउथ इन्डियन परिकारलाई मानिसहरूले निकै रुचाएका थिए । त्यसपछि उनले दिल्लीको लोधी मार्केटमा पनि पसल खोलेर २० प्रतिशत बढी मूल्यमा त्यही गुणस्तरको खाना दिन थाले । यसरी उनले आफ्नो स्टार्टअप ‘सागर–रत्न’ सुरु गरे । आज दिल्लीमा मात्रै यसको ३० भन्दा बढी रेस्टुरेन्टहरू छन् । जबकि उत्तर भारतमा यसको संख्या बढेर ६० पुगेको छ । आज उनको क्यानडा, सिङ्गापुर, बैंककजस्ता देशहरूमा पनि आउटलेटहरु छन् । यी सबैका कारण उनीहरूको वार्षिक कारोबार ३०० करोडभन्दा माथि पुगेको छ । सागर–रत्न बाहेक उनले सन् २००१ मा स्वागत नामको अर्को रेष्टुरेन्ट चेन सुरु गरेका थिए । आज उनका विश्वभर करिब १०० रेस्टुरेन्ट छन् । वर्तमान अवस्थामा जयरामले वार्षिक करोडौं रुपैयाँ कमाउँछन् ।

१८ वर्षपछि स्वदेश फर्केर बाख्रापालन, विदेशभन्दा राम्रो कमाई हुने

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीँखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन् ।  भारत, सिङ्गापुर, मलेसिया, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्किएपछि उनले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् । परम्परागत रूपमा बाउबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित गुरुङले अढाई वर्षपहिले पाँच लाख रुपैयाँ लगानी गरेर कृष्टिना गुरुङ बोयर बाख्रा तथा कृषि पशुपक्षी फार्ममार्फत १२ बाख्राबाट व्यवसाय सुरु गरेका थिए । गुरुङले २०७८ सालमा म्याग्दीबाट एक लाख ५० हजार बोयर बाख्राको पाठो र चापकोटबाट एक लाख २० हजार रुपैयाँ बोयर माउ ल्याएर बाख्रापालन थालेको बताए । ‘बाख्रापान गर्दै जाँदा रु सात लाख लगानी गरेर आधुनिक खोर बनाएँ,’ उनले भने, ‘फार्ममा अहिले ५६ बाख्रा छन् ।’ गुरुङको फार्म चरन क्षेत्र, घाँसे बारी, खोरसहित १५ रोपनी क्षेत्रफलमा फैलिएको छ । ‘लामो समय विदेश बस्दा पनि खासै उपलब्धि हुन सकेन, अलिअलि कमाएको पैसाले बाख्रापालन गरेर परिवारसँग बस्छु भन्ने सोच थियो, युट्युब हेर्दै जाँदा नेपालमा बोयर बाख्राको राम्रो सम्भावना रहेको देखेँ’, उनले भने, ‘हाम्रोजस्तो ठाउँमा सिधै बाहिरबाट ल्याएको शुद्ध बोयर राम्रो नहुने भएकाले खरी जातका बाख्रामा बोयर क्रस गरेर बाख्रा पाल्दै आएको छु ।’ गुरुङले खोर निर्माण, घाँस रोपण, चरन क्षेत्र व्यवस्थापनलगायत संरचनामा अहिलेसम्म १८ लाख रुपैयाँ लगानी पुगेको सुनाए । उनले खरी जातका बाख्रामा बोयर क्रस गर्दै शुद्ध बोयर बनाउने लक्ष्यका साथ बाख्रापालन सुरु गरेको बताए । ‘हाल मेरो फार्ममा ७५ प्रतिशत, ६२ प्रतिशत र ५० प्रतिशतका बोयर बाख्रा रहेका छन्’, उनले भने, ‘आगामी तीन वर्षमा शत्प्रतिशत बोयर बाख्रा बनाउने उद्देश्य छ ।’ गुरुङले कोरोनाकालमा लकडाउनले गर्दा बाख्रापालन व्यवसायलाई सोचेअनुसार गति दिन नसकेको गुनासो गरे । ‘स्वदेश फर्केर बाख्रापालन गर्छु भन्ने सोचले रकम जम्मा पारेको थिएँ’, उनले भने, ‘स्वदेश फर्किएपछि लकडाउन भयो, सोचेजस्तो लगानी गर्न सकिएन, लगानीको अभावमा व्यवसाय विस्तारमा अल्लि ढिला भयो ।’ अहिले व्यवसाय राम्रो हुँदै गएको उनले बताए । ‘उत्पादन गर्न सके बजार पनि राम्रो छ’, गुरुङले भने, ‘प्रतिकिलो रु नौ सय ५० मा वालिङ बजारमै काटेको मासु बिक्री गर्दै आएको छु, उत्पादन कम भएकाले बाहिरको माग धान्न सकिरहेको छैन ।’ खोर अग्लो भएका कारण जाडो मौसममा समस्या देखिने गरेको सुनाउँदै उनले हालसम्म विभिन्न रोगका कारण ४४ बाख्रा मरेको बताए । गुरुङले पशुपक्षीमा स्वास्थ्य समस्या आएमा गल्याङ नगरपालिकाको पशु स्वास्थ्य समूहले तत्काल सेवा दिँदा आफूलाई सहज भएको बताए । जिल्ला पशु विज्ञबाट खोर सुधार कार्यक्रमअन्तर्गत एक लाख ५० हजार रुपैयाँ र नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत  ३३ हजार रुपैयाँ अनुदान दिएको उनले सुनाए । गाउँमा गरेको व्यवसाय फस्टाउँदै गएपछि गाउँलेहरू र विभिन्न सामाजिक व्यक्तित्वले व्यवसायलाई थप विस्तार तथा व्यवस्थित गराउन सुझाव दिने गरेको उनले बताए । उनले चरन क्षेत्रको पनि राम्रो सुविधा भएको बताए । ‘बाख्रापालन गर्दा घाँसको व्यवस्थापन गरेर पाल्न सकियो भने उत्पादन लागत मूल्य घट्न जान्छ’, गुरुङले भने, ‘मैले स्थानीय जातका घाँसबाहेक उन्नत जातका १२ प्रकारका घाँस लगाएको छु ।’ उनले करिब चार सय बोट सुन्तला पनि लगाएका छन् ।  उनका सुन्तला बगैँचामा केहीले उत्पादन दिएका छन् भने केहीले निकट भविष्यमै उत्पादन दिने बताए । गुरुङ बिहान ४ः३० देखि साँझ छ बजेसम्म नै बाख्राको स्याहारसुसार र रेखदेखमा खटिने गर्छन् । उनको कामलाई श्रीमती भीमकुमारी गुरुङले पनि राम्रो साथ दिँदै आएकी छिन् । उनका एक छोरी पनि छिन् । गुरुङलाई १८ वर्ष विदेश बसेकामा पछुतो छ । उनले विदेशको श्रम स्वदेशमा गर्ने हो भने विदेशभन्दा राम्रो कमाई गर्न सकिने अनुभव सुनाए । गुरुङले आफूले गर्ने कामको प्राविधिक ज्ञान लिएर निरन्तर काम गर्न सकेमा सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । उनले कृषकलाई आधुनिक प्रविधिसहितका तालिमको व्यवस्था निरन्तर गरिदिन सरोकारवालासँग आग्रह गरे । रासस

नेपालमा पहिलो पटक ‘सहकारी डिजिटल कन्क्लेभ’ हुँदै

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा यही चैत १ र २ गते याक एण्ड यति होटलमा हुने ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’को तयारी अन्तिम चरणमा पुगेको छ । ‘डिजिटाइजिङ को–अपरेटिभस्, एटेन्डिङ भिजन २०३०’ भन्ने थिमका साथ नेपालको सहकारी अभियानको इतिहासमा नै पहिलो पटक डिजिटल कन्क्लेभ हुन लागेको हो । प्रविधिहरूको रणनीतिक अवलम्बनमार्फत परम्परागत सहकारी कार्यस्थल परिवर्तन गर्न र महत्वाकांक्षी सहकारी भिजन २०३० सँग डिजिटलाइजेसनको शक्ति प्रयोग गरी सहकारीको रुपान्तरण गर्न कार्यक्रम कोशेढुङ्गा सावित हुने महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताईन । कन्क्लेभको आन्तरिक तयारी पुरा भएको समेत उनले बताईन । सहकारीमा डिजिटलाईजेसन प्रक्रियामा बाधा पु¥याउने नीगित खाडलहरु पहिचान गरी सम्बोधन गर्न, डिजिलटल सहकार्यका लागि सरोकारावालाबीच सहमति निर्माण गर्नका लागि पनि कन्क्लेभले महत्वपूर्ण दिशानिर्देशक गर्ने महासंघका नायव महाप्रबन्धक सुरेश थापाले जानकारी दिए । डिजिटलाइजेसनसँग आउने चुनौतीलाई पनि सँगसँगै सम्बोधन गर्नुपर्छ भन्ने मान्यताका साथ सहकारीका लागि अनुकूल साइबर सुरक्षा प्रणालीहरूका विषयमा पनि महत्वपूर्ण सिकाई हुने थापाले बताए । कन्क्लेभमार्फत अग्रणी आइसीटी विशेषज्ञहरु, नीति निर्माताहरु र टेक्नोलोजी सेवा प्रदायकहरुसँग सहज अन्तक्रिया हुने भएकाले यसले नेपालको सहकारी अभियानलाई डिजिटल रुपान्तरणको यात्रामा पुलको काम गर्ने महाप्रबन्धक सुब्बाले बताईन । कन्क्लेभको मुख्य बक्ताको रुपमा पूर्वअर्थमन्त्री डा युवराज खतिवडा रहेका छन् । खतिवडाले सन् २०३० मा सहकारीको पुर्नपरिकल्पना शीर्षकमा महत्वपूर्ण दिशानिर्देश गर्नेछन् । कार्यक्रमलाई इन्फो डेभलपर्स प्रा. लि. र भैरव टेक्नोलोजी प्रा. लि.ले प्रायोजन गरेको छ । आकाश डिजिटल, मोरु डिजिटल वालेट, सिटिजन लाइफ इन्स्योरेन्स, एमफाइनान्स र एमबैंकले सहयोग छ । सम्मेलनमा पाँच वटा महत्वपूर्ण विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । नेपालमा सहकारीलाई डिजिटलाइज गर्ने विगतका अनुभव र भविष्यको रोडम्याप, सहकारी डिजिटाइजेसनको लागि डिजिटल समाधान, साइबर सुरक्षाको खतरा र न्यूनीकरणका रणनीति, डिजिटलाइजेसनका नीतिगत फ्रेमवर्क र सन् २०३० सम्म सहकारीलाई पूर्ण डिजिटलाइजेसन गर्ने एजेण्डाहरुका विषयमा प्रस्तुती हुने महासंघले जनाएको छ । त्यसैगरी अभियान, सरकार, प्रविधि सेवा प्रदायक र विज्ञबीच महत्वपूर्ण विषयहरुमा प्यानल छलफल गरेर निस्कर्ष निकालिने महासंघले जनाएको छ । प्यानल छलफलका विषयहरु डिजिटाइजिङ को अपरेटिभः बाधा, समस्या र सिकाइ, सन् २०३० सम्म सहकारीको डिजिटलाइजेसनका लागि आवश्यक प्रविधि र समस्या समाधान, सहकारीको डिजिटलाइजेसनका नीतिगत खाडल र सम्बोधन, समृद्ध नेपालका लागि डिजिटल सहकारीको रोडम्याम रहेका छन् । यो कार्यक्रम सहकारीका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापकका लागि संस्थामा प्रविधि अवलम्बन गर्नका लागि निर्णय लिन सहज हुने गरी तय गरिएको महाप्रबन्धक सुब्बाले बताईन । ‘डिजिटलाइजेसनको विषयमा मानसिकता परिवर्तन गर्न, सहकारी सेवाहरूलाई समर्थन गर्ने आइसीटी नीतिहरू निर्माणका लागि नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरूसँग छलफलको वातावरण सिर्जना गर्न र डिजिटल रूपान्तरण प्रक्रियाको वैचारिक जागरूकतालाई बढावा दिँदै शुसासनमैत्री सहकारी सफ्टवेयर र बलियो साइबर सुरक्षा प्रणालीको कार्यान्वयनको लागि आधार निर्माण गर्न यस सम्मेलनले महत्वपूर्ण योगदान गर्ने हामीले विश्वास लिएका छौं’ महाप्रबन्धक सुब्बाले भनिन् ।

फेब्रुअरीमा १४ लाखभन्दा बढी पर्यटकले सिङ्गापुर भ्रमण गरे

सिङ्गापुर । गत फेब्रुअरी महिनामा १४ लाखभन्दा बढी पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् । सिङ्गापुर टुरिजम बोर्ड (एसटीबी) ले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा १४ लाख ४४ हजार पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् । कुल ३ लाख २७ हजार चिनियाँ पर्यटकले यस अवधिमा सिङ्गापुरको भ्रमण गरेका छन् । सिङ्गापुरपछि इन्डोनेसिया, मलेसिया, अष्ट्रेलिया र बेलायबाट क्रमशः धेरै पर्यटक यहाँ आइपुगेको तथ्याङ्क छ । चीन र सिंगापुरले फेब्रुअरीमा आपसी ३० दिने भिसामुक्त यात्रा लागू गरेका थिए। एसटीबीले यस वर्ष अन्तर्राष्ट्रिय आगन्तुकको आगमन १ करोड ५० लाखदेखि १ करोड ६० लाख पुग्ने अनुमान गरेको छ । रासस

नवलपुरका पहाडी क्षेत्रमा कफीखेती विस्तार हुँदै, राम्रो आम्दानी

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाका कमला गुरुङले चार वर्षदेखि कफीखेती गर्दै आएका छन् । व्यावसायिक रूपमा आफ्नै पाखापखेरामा करिब तीन सय कफीका बिरुवा लगाएका उनी राम्रो आम्दानी गर्न सफल भएका छन् । विगतको भन्दा यस वर्ष कफीखेती राम्रो रहेकाले यस वर्ष आम्दानी पनि बढ्ने अनुमान गरेको गुरुङले बताए । ‘पहाडी क्षेत्रमा कफीखेती राम्रो हुन्छ भन्ने सुनेका थियौँ, पछि थोरै सङ्ख्यामा बिरुवा लगाएर विचार गर्दा राम्रो उत्पादन भएपछि अहिले यसैलाई व्यावसायिक रूप दिएका छौँ,’ उनले भने । जिल्लाकै हुप्सेकोट गाउँपालिकाका तुलीसरा राना मगरले पनि दुई सय कफीका बिरुवासहित कफीखेती गरेका छन् । पहाडी क्षेत्रको त्यो पनि चिसो ठाउँमा कफी लगाउन सकिने र कफीबाट मनग्य आम्दानी समेत लिन सफल भएपछि आगामी वर्ष आफूले कफी खेती विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । ‘कफीखेती विस्तार हुने क्रम बढ्दो छ, यसको बजार राम्रो भएकाले अन्य छिमेकी पनि यसका बारेमा सोधखोज गर्न थालेका छन्’, उनले भने, ‘अहिले गरिरहेको क्षेत्रलाई विस्तार गरी काम गर्ने सोच बनाएका छौँ ।’ नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी भेगका गाउँमा कमला र तुलीसरा जस्तै कफीखेती गर्ने किसान बढ्दै गएका छन् । सामान्य कफीखेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक रूपमा खेती गर्न थालेका छन् । यसको उत्पादनसमेत राम्रो हुँदै गएकाले कफीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएको किसान बताउँछन् । जिल्लाको हुप्सेकोट, बुलिङटार र बौदीकाली गाउँपालिकामा अहिले किसान कफीखेतीतर्फ आकर्षित हुन थालेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘जिल्लामा करिब पाँच सय किसानले ११ हेक्टरमा व्यावसायिक कफीखेती गर्दै आएको तथ्याङ्क छ’, उनले भने, ‘यहाँ प्रतिहेक्टर शून्य दशमलव आठ मेट्रिकटन कफी उत्पादन हुने गरेको छ ।’ कफीखेती प्रवद्र्धनका लागि सरकारले विभिन्न सहुलियतका कार्यक्रमसहित निर्यात प्रवद्र्धन गर्ने योजना अगाडि बढाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीले बताए । राष्ट्रिय चिया तथा कफी विकास बोर्डकाले स्थानीय तहसँग सहयोग र समन्वयका साथ उत्पादन अभिवृद्धिका कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको उपसचिव जोशीले सुझाव दिए । ‘स्थानीय तहसँग सहकार्य गर्दा नेपाली कफीको उत्पादन बढाउन सहज हुने देखिन्छ’, उनले भने, ‘पहाडी गाउँमा कफीखेतीतर्फ किसानको आकर्षण बढ्दो छ ।’ नेपालमा ४२ जिल्लामा करिब तीन हजार छ सय ५५ हेक्टरमा कफीखेती हुने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा नेपालमा कफीको उत्पादन करिब तीन सय ९४ मेट्रिकटन रहेको सरकारी तथ्याङ्क रहेको छ । सोही आर्थिक वर्षमा नेपालले  १३ करोड चार लाख ४१ हजार रुपैयाँ मूल्य बराबरको ७७ मेट्रिकटन कफी निर्यात गर्दा ३२ करोड ५८ लाख ६६ हजार रुपैयाँ मूल्य बराबरको चार सय ५० मेट्रिकटन कफी आयात गरेको थियो । रासस

नेप्से ५८.५८ अंकले बढ्यो, ४ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर नेप्से परिसूचक ५८.५८ अंकले बढेर २,१११ अंकमा पुगेको छ । आज कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ । कुल २ सय २० कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । जीवन बीमा समूह सबैभन्दा धेरै ५.४४ प्रतिशत तथा माइक्रोफाइनान्स समूहको ५.०५ प्रतिशतले बढेको छ । धेरै मूल्य बढेका कम्पनीमा माइक्रोफाइनान्सहरू छन् । जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य, विन नेपाल, स्वाभिमान, जाल्पा लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ । यस्तै, हिमालयन ८०.२० को सेयर मूल्य ३.५७ र मोलुङ हाइड्रोपावर कम्पनीको २.५३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, सननेपाल लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र माउन्टेन इनर्जी क्रमशः अगाडि छन् ।