सरकारी वकिल कार्यालय लगियो महरालाई
काठमाडौं । पूर्व सभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिल कार्यालय लगिएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । म्याद थपका लागि अनुमति लिन अदालत लैजानुअघि उनलाई सरकारी वकिलको कार्यालय, रामशाहपथ पुर्याइएको हो । सोमबार भेपमार्फत गरिएको करिव ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा प्रहरीले महरालाई कपिलवस्तुबाट पक्राउ गरेको थियो । यसअघि पनि सोही प्रकरणमा महराले सीआईबीमा उपस्थित भएर बयान दिएका थिए । उनका छोरा राहुल महरा पूर्पक्षका लागि थुनामा रहेका छन् ।
चीनको सम्पत्ति विकास लगानी दुई महिनामा ९ प्रतिशतले गिरावट
चीन । चीनको सम्पत्ति विकासमा लगानी सन् २०२४ को पहिलो दुई महिनामा वार्षिक आधारमा ९ प्रतिशतले घटेर ११ खर्ब ८४ अर्ब २० करोड युआन (करिब एक खर्ब ६७ अर्ब अमेरिकी डलर) भएको राष्ट्रिय तथ्याङ्क विभाग (एनबिएस) ले सोमबार बताएको छ । यसै अवधिमा नवनिर्मित सम्पत्तिको बिक्री पनि वार्षिकरूपमा २० दशमलव पाँच प्रतिशतले घटेर ११ करोड ३६ लाख ९० हजार वर्गमिटरमा आएकाले यस क्षेत्रमा लगानीमा घट्ने प्रवृत्ति कायम रहेको छ । मूल्यको हिसाबले वार्षिकरूपमा नवनिर्मित सम्पत्तिको बिक्री २९ दशमलव तीन प्रतिशतले घटेर १० खर्ब ५६ अर्ब ६० करोड युआनमा झरेको तथ्याङ्कले देखाएको छ । यस वर्षको पहिलो दुई महिनामा देखिएको गिरावट सन् २०२३ को सोही अवधिमा नौ दशमलव छ प्रतिशतको गिरावटको तुलनामा शून्य दशमलव छ प्रतिशतले कम भएको एनबिएसका प्रवक्ता लिउ आइहुवाले पत्रकार सम्मेलनमा बताए । सम्पत्ति बिक्री र घरको मूल्य दुवैको तथ्याङ्कका आधारमा चीनको सम्पत्ति बजार अझै समायोजन र रूपान्तरणको प्रक्रियामा रहेको उनले बताए । नयाँ सहरीकरणको विकास प्रवृत्ति र रियल इस्टेट बजारमा आपूर्ति र मागमा आएको परिवर्तनलाई अपनाएर चीनले घरजग्गाका लागि नयाँ विकास मोडेललाई बढावा दिने उनको भनाइ थियो । रासस
ओमोडाले आयोजना गर्यो ‘वेटिङ क्यान बी फन’ कार्यक्रम
काठमाडौं । ओमोडा नेपालले ‘वेटिङ क्यान बी फन’ कार्यक्रम सम्पन्न गरेको छ । गत शनिबार ओमोडा शोरुम, उत्तरढोकामा सफलतापूर्वक सम्पन्न सो कार्यक्रमले गुणस्तरीय सवारी साधनसँगै आफ्ना मूल्यवान ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू प्रदान गर्ने ओमोडाको उद्देश्यलाई सार्थक बनाएको कम्पनीको भनाइ छ । मनोरञ्जन र अन्तरक्रियाको लागि उत्सुक ओमोडा ग्राहकहरुका निम्ति कार्यक्रमको आयोजना गरिएको थियो । रमाइलो स्ट्यान्ड–अप कमेडीले कार्यक्रमलाई हास्यप्रद बनाएको थियो । सो अवसरमा सन्दीप क्षेत्रीले हसाएका थिए भने ज्योवन भुजुको लाइभ म्युजिकले रोमान्चक बनाएको थियो । साथमा प्रत्यक्ष संगीतले न्यानो र रमाइलो वातावरण सिर्जना गर्यो । अन्तरक्रियात्मक खेलहरू बास्केटबल, फुसबल र भिआर अनुभवले प्रतिस्पर्धा र उत्साह थपेको बताइएको छ । सुरक्षा र असाधारण उत्पादनहरु प्रति ओमोडाको प्रतिबद्धताको लागि उपस्थितहरु प्रति प्रशंसा गदै कार्यक्रम एक सकारात्मक विन्दुमा समापन भएको थियो । अतिथिहरूले ओमोडासँग जोडिने, नेपालले बहुमूल्य ज्ञान प्राप्त गर्ने र दिगो सम्झनाहरू सिर्जना गर्ने अवसरको अनुभव प्राप्त गरेको प्रतिक्रिया दिएका थिए ।
टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रूपमा डाटा प्रयोग गर्न सकिने
काठमाडौं । नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रुपमा मोबाइल डाटा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिदा त्यसै अनुसारको मोबाइल डाटा उपलब्ध हुन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न प्याकेज मध्ये वार्षिक एफटीटीएच कम्बो प्याकेज र एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरुले यो सुविधा उपयोग गर्न सकिन्छ । वार्षिक एफटीटीएच कम्बो प्याकेज अन्तर्गत ५० एमबीपीएस र १०० एमबीपीएस डाटाका साथै १ एनटीटीभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिक रुपमा आफ्नो मोबाइलमा क्रमशः ६०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई पनि त्यसै अनुसार मोबाइलमा समेत डाटा प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ । यस अनुसार ५० एमबीपीएस, ७५ एमबीपीएस र १०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ६०० एमबी, ७०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्नु हुन्छ भने १५० एमबीपीएस र २०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ९०० एमबी र १००० एमबी डाटा प्रयोग गर्न सकिन्छ । आफूलाई आवश्यकता अनुसार उपयुक्त स्पिडको इन्टरनेट चलाउन, टेलिफोन गर्न, टेलिभिजन हेर्न र मोबाइलमा डाटा समेत चलाउन सकिने भएकाले नेपाल टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर सेवा हाल लोकप्रिय बन्दै गएको टेलिकमले जनाएको छ । एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीहरुले १९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ । त्यसपछि कम्पनीका प्रतिनिधिले आवश्यक जानकारी दिने व्यवस्था गरिएको छ ।
अडानी समूहले कूल लगानीको ७० प्रतिशत हरित ऊर्जामा लगानी गर्ने
भारत । भारतको अडानी समूहले आफ्नो कूल लगानीको ७० प्रतिशतभन्दा धेरै हरित ऊर्जामा लगानी गर्ने अपेक्षा गरिएको स्रोतहरूले बताएका छन् । यसमा नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन र हरित निकासी प्रसारण लाइन समावेश छ । समूहले गुजरातको खावडामा विश्वको सबैभन्दा ठूलो नवीकरणीय पार्क बनाइरहेको छ । यो पाँच सय ३० वर्गकिलोमिटरभन्दा बढी भागमा फैलिएको छ । स्रोतका अनुसार अडानी समूहले मुलुकको पूर्वाधार विकासमा ११ वटा सूचीबद्ध कम्पनीहरूको आफ्नो पोर्टफोलियोमार्फत आर्थिक वर्ष २०२४/२५ मा १४ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । चालु आर्थिक वर्ष २०२३/२४ मा गरेको लगानीको तुलनामा यो अनुमानित पूँजीगत खर्च ४० प्रतिशतले बढी हो । यो १० अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ । नवी मुम्बई विमानस्थल, गङ्गा एक्सप्रेसवे, खावडामा विश्वको सबैभन्दा ठूलो नवीकरणीय पार्क र मुन्द्रा बन्दरगाहजस्ता ‘सोकेस’ परियोजनाका साथ भारतको सबैभन्दा ठूलो पूर्वाधार यस समूहले आगामी सातदेखि १० वर्षमा एक खर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । उक्त लगानीले भारतको ऊर्जा र यातायात परिदृश्यलाई परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । स्रोतका अनुसार कूल लगानीको एउटा ठूलो हिस्सा आफ्नो तीव्ररूपमा बढिरहेको विमानस्थल र बन्दरगाहहरूको व्यवसायको विस्तार र विकासका लागि छुट्ट्याइएको छ । आगामी नवी मुम्बई विमानस्थल र १४ वटा घरेलु बन्दरगाहसहित आठवटा विमानस्थलको पोर्टफोलियोसँगै अडानी समूहले यी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउन चाहेको छ । डिसेम्बरको त्रैमासिकमा समूहले वार्षिकरूपमा ६३ दशमलव छ प्रतिशतको रेकर्ड त्रैमासिक इबिआईटिडिए (ब्याज, कर, मूल्यह्रास र ऋणमुक्तअघिको आम्दानी) वृद्धि हासिल गरेको छ । यसबाट क्यालेन्डर वर्ष २०२३ को १२ महिनाको इबिआईटिडिए नौ अर्ब ५० करोड अमेरिकी डलरको सर्वकालीन उच्चस्तरमा पुगेको छ ।
घट्दो बजारमा दुई कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट
काठमाडौं । सोमबारको बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार बन्द हुनुअघि नै सप्तकोशी डेभलपमेन्ट बैंक र पिपुल्स पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३१५.८० रुपैयाँसम्म पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता २८.७० रुपैयाँले बढी हो । त्यस्तै, हाइड्रोपावर समूहअन्तर्गतको पिपुल्स पावरको पनि सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३७६.२० रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ३४.२० रुपैयाँले बढी हो । बजारमा सप्तकोशी डेभलपमेन्टको ६ करोड १५ लाख र पिपुल्स पावरको ६ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । हालसम्म सेयर मूल्य मापक नेप्से परिसूचक निरन्तर घटी रहेको छ । करिब साढे २ बज्दा परिसूचक ७.३४ अंकले घटेर २०६२.९१ बिन्दुमा झरेको छ । हालसम्म २ अर्ब एक करोड बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये गोर्खाज फाइनान्स सर्वाधिक कारोबार गर्नेको शीर्ष स्थानमा रहेकको छ ।
घर छाडेर सहर पस्नेभन्दा विदेशिने दोब्बर
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले आइतबार विभिन्न चारवटा प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालको जनसङ्ख्या, घर तथा परिवारको अवस्था, अपाङ्गता र राष्ट्रिय जनगणना २०७८ र सञ्चारमाध्धम प्रतिवेदन गरेको हो । राष्ट्रिय जनगणना २०७८ का क्रममा सङ्कलित तथ्याङ्कलाई विस्तृत विश्लेषणसहित चारवटा प्रतिवेदन तयार पारिएको कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिए । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको मुलुकको जनसङ्ख्याको आर्थिक संरचना विवरणअनुसार दश वर्ष वा सोभन्दा माथि उमेर समूहको कुल जनसङ्ख्याको लगभग दुई तिहाइ अर्थात् ६५ दशमलव छ प्रतिशत आर्थिक रुपमा सक्रिय छन् । आर्थिक रूपमा सक्रिय पुरुष ७१ प्रतिशत र महिला ६० दशमलव चार प्रतिशत छन् । प्रदेशगत रूपमा हेर्दा कर्णालीमा आर्थिक रूपमा सक्रिय जनसङ्ख्या सबैभन्दा बढी ७२ प्रतिशत छ भने त्यसपछि कोशीमा ७१ दशमलव एक प्रतिशत छ । आर्थिक रुपमा सक्रिय जनसङ्ख्या सबैभन्दा कम मधेस प्रदेशमा ५७ दशमलव तीन प्रतिशत छ । प्रतिवेदनअनुसार नेपालमा १० वर्ष वा सोभन्दा माथिका जनसङख्यामा १२ महिनामा छ महिना वा सोभन्दा बढी समय काम गर्ने वा काम खोज्ने आर्थिक रूपमा सक्रिय व्यक्ति ९३ प्रतिशत छन् । रोजगारीको अनुपात सबै भौगोलिक क्षेत्र, पालिकाहरू र प्रदेशहरूमा लगभग समान रहेको कार्यालयले जनाएको छ । प्रतिवेदनअनुसार ८६ प्रतिशत परिवार आफ्नै स्वामित्व भएको आवासमा बसिरहेका छन् भने १२ दशमलव आठ प्रतिशत परिवारहरु भाडामा लिइएको आवासमा बस्ने गरेका छन् । बाँकी करिब एक प्रतिशत परिवारको बसोबास सरकारी वा संस्थागत कार्यालय र अन्य प्रकारको आवासीय एकाइमा रहेको तथ्याङ्क कार्यालयले जनाएको छ । बसोबासको स्थानका आधारमा सहरी क्षेत्रमा रहने ८९ दशमलव पाँच प्रतिशत परिवार पक्की आवासमा बस्ने गरेका छन् भने करिब आठ प्रतिशत जनसङ्ख्या अर्धपक्की घरमा बसोबास गर्छन् । पक्की आवासमा बस्ने परिवारहरु सहरोन्मुख क्षेत्रमा ६२ दशमलव नौ र ग्रामीण क्षेत्रमा ७९ दशमलव आठ प्रतिशत रहेको तथ्याङ्क छ । घरको तलाअनुसारको बनोटलाई विश्लेषण गर्दा सबैभन्दा बढी करिब ६० प्रतिशत घरहरू एकतले छन् । त्यसैगरी २९ प्रतिशत घरहरु दुईतले, नौ प्रतिशत तीनतले र २ प्रतिशत चार वा सोभन्दा बढी तलाका छन् । मधेस प्रदेशका ८४ प्रतिशतभन्दा बढी घरहरु एकतले मात्रै छन् । यो सङ्ख्या कोशीमा ६४ र लुम्बिनी प्रदेशमा ६३ प्रतिशत छ । एकतले मात्र घरको अनुपात कर्णाली प्रदेशमा सबैभन्दा कम २९ प्रतिशत छ । घर निर्माण भएको समयावधिको आधारमा घरहरुलाई वर्गीकरण गर्दा नेपालका कुल घरमध्ये करिब ४२ प्रतिशत घरहरु विसं २०७२ को भूकम्पपछि निर्माण भएको पाइएको छ । त्यसैगरी २१ दशमलव छ प्रतिशत घरहरू आठदेखि १४ वर्षअघि र १८ प्रतिशत घरहरु १५ देखि २४ वर्षअघि बनेका देखिन्छन् । आवासीय घर निर्माणका लागि १२ प्रतिशत परिवारले आंशिक वा पूर्णरुपमा सरकारी निकायबाट अनुदान पाएको देखिएको छ । हिमाली क्षेत्रका करिब एक तिहाइ अर्थात् ३२ दशमलव दुई प्रतिशत परिवारमा घर बनाउन सरकारी निकायबाट अनुदान उपलब्ध भएको तथ्याङ्क कार्यालयले जनाएको छ । यो सङ्ख्या तराईमा करिब चार प्रतिशत मात्रै छ । प्रदेशअनुसार बागमती र गण्डकी प्रदेशका क्रमशः ३६ प्रतिशत र १७ प्रतिशत परिवारले आवासीय घर निर्माणमा सरकारी अनुदान लिएका छन् । औसत परिवार सङ्ख्या र परिवारको आकारअनुसार एउटा घरमा सरदर एक दशमलव दुई परिवारले बसोबास गर्ने गरेको र एउटा परिवारको आकार औसतमा चार दशमलव चार जनाको भएको तथ्याङ्कले देखाएको छ । परिवारको आकारका आधारमा सुदूरपश्चिम प्रदेश र तराई क्षेत्रमा बसोबास गर्ने परिवारहरू ठूला आकारका अर्थात् चार दशमलव सात सदस्य प्रतिपरिवार छन् । औसतमा नगरपालिकामा बसोबास गर्ने परिवारको आकार प्रतिपरिवार चार दशमलव तीन जना र गाउँपालिकामा बसोबास गर्ने परिवारको आकार प्रतिपरिवार चार दशमलव पाँच जना छ । घरको जगको बनोटअनुसार एक तिहाइ अर्थात् ३३ प्रतिशत परिवारले बसोबास गरिरहेका घरको जग माटोले जडान गरिएको इँटा ढुङ्गा प्रयोग गरेर बनेका छन् । त्यस्तै, २९ दशमलव आठ प्रतिशत सिमेन्टजडित इँटा ढुड्गा प्रयोग गरेर बनेका र करिब २२ प्रतिशत घरको जग ढलान पिलरसहितको छन् । घरको बाहिरी गारोको बनोटअनुसार परिवारले बसोबासका लागि प्रयोग गरिरहेका घरको गारोमध्ये सबैभन्दा बढी ५२ दशमलव दुई प्रतिशत परिवारले प्रयोग गरिरहेको घरको गारो सिमेन्टजडित इँटा ढुङ्गाबाट बनेको छ । त्यसैगरी, करिब ३९ प्रतिशत सिमेन्टजडित इँटा ढुङ्गाबाट बनेको र ११ दशमलव सात प्रतिशतको बाँसजन्य सामग्रीबाट बनेको पाइएको छ । विगतका तीन जनगणना (विसं. २०५८, २०६८ र २०७८) का तथ्याङ्क विश्लेषण गर्दा एकपछि अर्को जनगणना वर्षमा महिला परिवारमुली भएका परिवारको सङ्ख्या र अनुपात क्रमशः बढ्दै गएको देखिएको छ । विसं २०५८ को जनगणनाअनुसार करिब १५ प्रतिशत परिवारको मुली महिला थिए भने यो अनुपात पछिल्ला दुई जनगणनामा क्रमशः बढ्दै गएर २०६८ मा एक चौथाइभन्दा माथि अर्थात् २५ दशमलव सात र २०७८ सालमा करिब एक तिहाइ अर्थात् ३१ दशमलव पाँच प्रतिशत भएको देखिन्छ । तथ्याङ्क कार्यालयका अनुसार विसं २०५८ को जनगणनामा आफ्नो नाममा घरको स्वामित्व भएका महिलाको सङ्ख्या शून्य दशमलव नौ प्रतिशत मात्र भएकोमा यो सङ्ख्या २० वर्षको अवधिमा बढेर २०७८ सालको जनगणनामा दुई दशमलव तीन प्रतिशत पुगेको छ । जग्गामा स्वामित्व भएका महिलाको सङ्ख्या र अनुपात पनि पछिल्ला वर्षमा वृद्धि भएको देखिन्छ । तथापि, अझै करिब तीन चौथाइ अर्थात् ७४ दशमलव छ प्रतिशत परिवारमा महिलाको घर र जग्गा दुवैमा स्वामित्व नभएको तथ्य जनगणना २०७८ को नतिजाले देखाएको छ । जनगणना २०७८ अनुसार कुनै पनि सरकारी निकायमा दर्ता नगरेका र कुनै पनि तलबी कामदार नराखेका नौ दशमलव चार प्रतिशत परिवारले कृषिबाहेकका साना घरेलु व्यापार व्यवसाय सञ्चालन गरेका छन् । यस्ता साना घरेलु व्यापार व्यवसायमध्ये ५५ प्रतिशत व्यवसाय पुरुषले र ४५ प्रतिशत महिलाले सञ्चालन गरेका देखिएको छ । नेपालका कुल परिवार सङ्ख्यामध्ये ६१ दशमलव चार प्रतिशत परिवारमा कम्तीमा एकजना सदस्यको नाममा बैङ्क वा वित्तीय संस्थामा खाता रहेको तथ्याङ्क कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यसैगरी कुल जनसङ्ख्याको २५ दशमलव छ प्रतिशतले कुनै बैङ्क वा वित्तीय संस्थामा खाता खोलेका छन् । कुल जनसङ्ख्याको एक चौथाइभन्दा केही बढी अर्थात् २५ दशमलव छ प्रतिशत परिवारले बैङ्क तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको देखिएको छ । करिब १३ प्रतिशत परिवारका कम्तीमा एक सदस्यले कुनै न कुनै किसिमको प्राविधिक शिक्षा वा व्यावसायिक तालिम लिएको देखिएको छ । नगरपालिकामा बसोबास गर्ने परिवारहरुमध्ये १३ दशमलव चार प्रतिशत परिवारका कम्तीमा एक व्यक्तिले यस्तो तालिम लिएको देखिएको छ भने गाउँपालिकामा यो सङ्ख्या १० दशमलव आठ प्रतिशत छ । विसं २०७८ सालको जनगणनाअनुसार नेपालमा रहेको परिवारको सङ्ख्या ६६ लाख ६० हजार आठ सय ४९ छ । जसमध्ये १३ दशमलव चार प्रतिशत परिवारको कम्तीमा एक सदस्य देशभित्रै अन्य कुनै ठाँउमा बसोबास गरिरहेका छन् भने २३ दशमलव चार प्रतिशत परिवारबाट कम्तीमा एक सदस्य विदेशमा बसोबास गरिरहेको देखिएको छ । राष्ट्रिय जनगणनाको तथ्याङ्कअनुसार देशमा हाल बसोबास गर्ने करिब आधा परिवार अर्थात् ४९ प्रतिशतसँग खेतीयोग्य जमिन र पशुधन छ । कृषि तथा खेतीयोग्य जमिन भएको तर पशुधन नभएको परिवार सङ्ख्या नौ दशमलव सात प्रतिशत छ । त्यसैगरी नौ दशमलव तीन प्रतिशत परिवारमा पशुधन मात्र भएको तर खेतीयोग्य जमिन नभएको देखिएको छ । करिब एकतिहाइ अर्थात् ३२ प्रतिशत परिवारको भने आफ्नो स्वामित्व वा भोगचलनमा खेतीयोग्य जमिन र पशुधन दुवै नभएको तथ्याङ्क कार्यालयको विवरणबाट देखिन्छ । नेपालमा कुल परिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको तथ्य पनि कार्यालयले सार्वजनिक गरेको छ । कृषक परिवारमध्ये ९६ दशमलव आठ प्रतिशत कृषक परिवार खेतीपाती मात्र भएका र तीन दशमलव दुई प्रतिशत कृषक परिवार पशुपन्छी मात्र भएका छन् । पछिल्ला वर्षहरुमा सञ्चारमाध्यमका रुपमा रेडियो प्रयोग गर्नेको सङ्ख्या घटेको र टेलिभिजन प्रयोग गर्नेको सङ्ख्या बढेको पनि तथ्याङ्क कार्यालयको अध्ययनबाट देखिएको छ । रेडियो प्रयोग गर्ने परिवारको संख्या २०६८ सालमा ५९ दशमलव सात प्रतिशत रहेकोमा २०७८ सालसम्ममा ३४ दशमलव दुई प्रतिशतमा झरेको देखिन्छ । टेलिभिजन भएका र प्रयोगमा ल्याउने परिवार भने पछिल्लो १० वर्षमा ३७ प्रतिशतबाट बढेर ४९ दशमलव चार प्रतिशत पुगेको छ । त्यसैगरी, ल्याण्डलाइन टेलिफोन प्रयोगकर्ता घरपरिवारको अनुपात झण्डै एक चौथाइ अर्थात् २४ दशमलव पाँच प्रतिशतले घटेको देखिन्छ भने मोबाइलफोन प्रयोगकर्ताको सङ्ख्या बढेर ७३ दशमलव प्रतिशत पुगेको छ । जनगणना २०६८/२०७८ बीच १० वर्षको अन्तरालमा कार, जिप भ्यान, मोटरसाइकल, स्कुटरआदिको स्वामित्व भएका र प्रयोग गर्ने परिवारको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको तथ्याङ्क कार्यालयले जनाएको छ । यो अवधिमा मोटरसाइकल स्कुटर भएका परिवारको सङ्ख्या पाँच लाख १९ हजार पाँच सय ७० अर्थात् कुल जनसंख्याको नौ दशमलव आठ प्रतिशतबाट बढेर १८ लाख १६ हजार एक सय २१ अर्थात् २७ दशमलव तीन प्रतिशत पुगेको छ । राष्ट्रिय जनगणना २०७८ मा प्राप्त विवरणअनुसार नेपालका आधाभन्दा बढी अर्थात् ५३ दशमलव एक परिवारमा बिजुली पङ्खा, झण्डै एक चौथाइ अर्थात् २३ दशमलव सात प्रतिशत परिवारसँग रेफ्रिजेरेटर, चार प्रतिशत परिवारमा वासिङ मेसिन र एक प्रतिशतभन्दा कम परिवारमा एयरकण्डिसनको सुविधा छ । तथ्याङ्क कार्यालयकाअनुसार ५७ प्रतिशत परिवारमा धारा पाइपबाट वितरण हुने पानीको पहुँच छ । करिब ३० प्रतिशत परिवारले हातेकल, ट्युबवेल, बोरहोलको पानी प्रयोग गर्छन् भने करिब पाँच प्रतिशत परिवारले परिवार पिउनका लागि जार बोतलको पानीमा निर्भर छन् । प्रदेशअनुसार हेर्दा खानेपानीको मुख्य स्रोतका रूपमा धारा पाइपको प्रयोग गर्ने परिवारको सङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा बढी ८५ दशमलव एक प्रतिशत र त्यसपछि कर्णाली प्रदेशमा ८० दशमलव नौ प्रतिशत छ । लुम्बिनी प्रदेशका करिब ५८ प्रतिशत परिवार यो सुविधाको पहुँचमा छन् । धारा पाइप प्रणालीबाट वितरण गरिने पानीको पहुँच मधेस प्रदेशमा सबैभन्दा कम २२ दशमलव छ प्रतिशत परिवारमा मात्र देखिन्छ । पछिल्लो २० वर्ष अवधिमा देशमा शौचालयको पहुँच भएका परिवारको अनुपातमा बढोत्तरी भएको तथ्य राष्ट्रिय जनगणना २०७८ ले देखाएको छ । फ्लस शौचालय भएका र प्रयोग गर्ने परिवारको अनुपात विसं २०५८ मा २३ प्रतिशत रहेकोमा वृद्धि भएर विसं २०७८ सम्म आइपुग्दा करिब दुईतिहाइ अर्थात् ६५ प्रतिशतको हाराहारीमा पुगेको छ । नेपालमा चार दशमलव पाँच प्रतिशत परिवारमा अहिले पनि शौचालयको पहुँच नरहेको तथ्याङ्क कार्यालयले जनाएको छ । जनगणना २०७८ अनुसार देशका ५१ प्रतिशत परिवारले खाना पकाउने मुख्य इन्धनको रूपमा दाउरा प्रयोग गर्ने गरेका छन् । दाउरापछि ४४ दशमलव तीन प्रतिशत परिवारले खाना पकाउन मुख्य इन्धन वा ऊर्जाको स्रोतमा सिलिण्डर ग्यास ९एलपीजी० प्रयोग गर्ने गरेको देखिएको छ । प्रदेशअनुसार कर्णालीका ८२ दशमलव दुई प्रतिशत परिवारले खाना पकाउन परम्परागत इन्धन दाउराको प्रयोग गरेको देखिन्छ । यो अनुपात सुदूरपश्चिम प्रदेशमा ७० दशमलव तीन र मधेस प्रदेशमा ५८ दशमलव छ प्रतिशत रहेको देखिन्छ । मधेस प्रदेशका १० प्रतिशतभन्दा बढी परिवारमा अझै गाईभैंसीको गोबरबाट बनाएको गुँईठा खाना पकाउने इन्धनको मुख्य स्रोतको रूपमा प्रयोग भइरहेको देखिन्छ । प्रतिवेदनअनुसार नेपालमा ९२ प्रतिशतभन्दा बढी परिवारले घरमा बत्ती बाल्ने स्रोतका रूपमा बिजुली बतीको प्रयोग गर्ने गरेको देखिएको छ । प्रदेशअनुसार हेर्दा कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेकका पाँच प्रदेशमा बत्ती बाल्नका लागि बिजुलीको प्रयोग गर्ने परिवारहरु राष्ट्रिय औसत ९२ प्रतिशतभन्दा बढी छन् । कर्णालीमा भने ५० प्रतिशत जनसङ्ख्यामा मात्र विद्युत् सुविधा पुगेको छ । परिवारले बसोबास गरेका घरको आकार, बनोट र संरचना, सुधारिएको पिउने पानी, आधुनिक शौचालय र सुधारिएको ऊर्जाआदिका हिसाबले परिवारको जीवनस्तर मापन गर्दा करिब २८ प्रतिशत परिवार पर्याप्त सेवा सुविधा भएको घरमा बस्ने गरेका छन् । घरायसी सेवा सुविधाका हिसाबले करिब ३४ प्रतिशत परिवार मध्यमस्तरका घरमा, २५ दशमलव छ प्रतिशत सामान्य अवस्थाका घरमा र ११ प्रतिशत यस्ता सेवा सुविधा अपर्याप्त भएका घरमा बस्ने गरेको पाइएको छ । यस्तै एक प्रतिशतभन्दा कम परिवारहरु अति न्यून सेवासुविधा भएका घरमा बस्ने गर्ने गरेको देखिएको छ । बागमती प्रदेशमा ३८ प्रतिशत र गण्डकी प्रदेशमा २६ प्रतिशत परिवार अति उच्च वर्गमा रहेका छन् । यो अनुपात कर्णालीमा चार दशमलव दुई प्रतिशत, सुदूरपश्चिममा आठ दशमलव चार प्रतिशत र मधेस प्रदेशमा आठ दशमलव छ प्रतिशत छ । देशभरका कुल परिवार सङ्ख्यामध्ये तीन दशमलव एक प्रतिशत अर्थात् दुई लाख पाँच हजार पाँच सय ५५ परिवारमा कम्तीमा एक सदस्य अपाङ्गता भएका व्यक्ति रहेका तथ्याङ्क कार्यालयले जनाएको छ । राष्ट्रिय औसतभन्दा बढी अपाङ्गता देखिएका कर्णाली प्रदेशमा चार दशमलव छ प्रतिशत, सुदूरपश्चिममा चार प्रतिशत, गण्डकीमा तीन दशमलव आठ प्रतिशत र लुम्बिनी प्रदेशमा तीन दशमलव तीन प्रतिशत रहेका छन् । रासस
क्रेस्ट माइक्रो लाइफले आईपीओ जारी गर्ने, सञ्चालकमा चार जना निर्वाचित
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । सोको लागि कम्पनीको सभाले संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । हालै सम्पन्न कम्पनीको प्रथम वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान सुर्खेतमा सम्पन्न भएको सभामा संस्थापक समुहबाट चार जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । जसमा ऋषिराज मोर, मृदुला सरिया, रोहित करण बैध र विदुर पुरी रहेका छन् । साथै, कम्पनीले यसअघि नै स्वतन्त्र संचालकमा पवित्र लाल चुकेलाई नियुक्त गरेको थियो । सभाले आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।०८१ को लागि बाह्य लेखापरिक्षको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ । सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तब्य सहित कम्पनीको वार्षिक प्रतिवेदन पेश गरेका थिए । जुन सभाले सर्वसम्वत पारित गरेको छ । प्रथम वार्षिक साधारण सभामा प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले कम्पनीको प्रगतिको बारे जानकारी गराउँदै नव निर्वाचित संचालक सदस्यहरुलाई शुभकामना तथा बधाई दिएका छन् ।