डा. सन्दुक रुइत, महाप्रसाद अधिकारी र चन्द्रप्रसाद ढकाल अभिनन्दित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार आयोजित एक कार्यक्रममा नेपालका विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पुर्याउनुभएका तीन विशिष्ठ व्यक्तित्वलाई सम्मान गरेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सङ्घ (एक्यान) को बिहीबार यहाँ आयोजित राष्ट्रिय सम्मेलनका अवसरमा राष्ट्रपति पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र वरिष्ठ चिकित्सक डा सन्दुक रुइतलाई सम्मान प्रदान गरेका हुन् । गभर्नर अधिकारीलाई नेपालको केन्द्रीय बैंकको गभर्नरका रुपमा रहेर मुलुकको अर्थतन्त्रका क्षेत्रमा पुर्याएको योगदान वापत सम्मान गरिएको हो । साथै महासङ्घका अध्यक्ष ढकालले सानो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरी मुलुकको सबैभन्दा ठूलो करदातासम्म पुगी देशमा उद्यमशीलताको विकासमा योगदान पुर्याएको तथा डा रुइतले नेपालको चिकित्सा क्षेत्र विशेषगरी आँखा उपचारका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप सो सम्मान प्रदान गरिएको एक्यानले जनाएको छ । उक्त सम्मेलनमा मुलुकको समृद्धि र आर्थिक विकासका विषयमा छलफल एवं बहसको पनि आयोजना गरिएको छ । सो बहसमा नेपालका अर्थशास्त्री, उद्योगी, बैंकर्स र विभिन्न क्षेत्रका नीति निर्मातालगायतको सहभागिता छ ।
सूर्यकुण्ड हाइड्रोलाई आईपीओ निष्कासन गर्न विद्युत नियमन आयोगको स्वीकृति
काठमाडौं । विद्युत नियमन आयोगले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको लागि पूर्व स्वीकृति प्रदान गरेको छ । कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजार को प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको हो । प्राथमिक सेयर निष्काशन (आईपीओ) को लागि कम्पनी र कुमारी क्यापिटलबीच सम्झौता सम्पन्न भई कार्य अघि बढीसकेको छ । सेयरको प्रत्याभूतिको कार्य नेपाल एस.वि.आई क्यापिटलबाट हुनेछ । कम्पनीले ११ मे.वा क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । कुमारी बैंक लिमिटेडको अगुवाईमा नेपाल एस.वि.आई बैंक सँगको सहवित्तिय कर्जाबाट आयोजनाको निर्माण कार्य भईरहेको छ । आयोजनाको करिव ७० प्रतिशत कार्य सम्पन्न भएको छ । नुवाकोटको दुप्चेश्वर गाऊँपालिकामा तादि खोलामा यो आयोजनाको निर्माण कार्य भईहरेको छ । यस कम्पनीमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको र आयोजना निर्माण पश्चात अपि पावर कम्पनीका सेयरधनिहरुलाई थप मुनाफा दिने कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए । यस आयोजनाको निर्माण कार्य २०८१ साल माघ महिना भरिमा सम्पन्न गर्न कम्पनी लागि परेको समेत न्यौपानेले बताए । आयोजनाबाट उत्पादित विद्युत शक्ति ८ किलोमिटर लामो ३३ के.भि ट्रान्सिमिसन लाईनबाट ने.वि.प्राको समुन्द्रटार सबस्टेशनमा जडान गरि काठमाडौंको लागि अझ भरपर्दो विद्युत प्रदान गरिनेछ । आयोजनामा फोल्वेल इनर्जे भारतको अत्पाधुनिक मसिन जडान गरिनेछ ।
त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य
काठमाडौं । त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ । विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो । विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्णय गरिसकेको छ । त्रिविका रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालले विश्वविद्यालयलाई प्रतिस्पर्धी, स्तरीय र विश्वकै महत्वपूर्ण शैक्षिक गन्तव्यको रुपमा विकसित गर्न तत्काल विश्वविद्यालयले भोगिरहेका शैक्षिक, प्रशासनिक, आर्थिक एवं व्यवस्थापकीय समस्याको दिगो र भरपर्दो समाधानका लागि पहल थालिएको बताए। विश्वविद्यालयको दृष्टिकोण २०३० र उपकुलपतिज्यूको सोचपत्रबीच तादात्म्य कायम गरी विश्वविद्यालयमा नीतिगत एकरुपता सुनिश्चित गर्न त्रिवि सेवा अयोगका पूर्वअध्यक्ष प्रा डा लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति पनि गठन गरिएको उनले जानकारी दिए । विश्वविद्यालयको उपकुलपतिमा गत फागुन १० मा प्रा डा बराल र चैत ३० गते शिक्षाध्यक्षमा प्रा डा खड्ग केसी र रजिष्ट्रारमा डा रिजाल नियुक्त भएका थिए । रासस
गुगल सीईओ सुन्दर पिचाईकी सहपाठी शर्मिष्ठाले आईटीमा मचाइन् धुम
काठमाडौं । शर्मिष्ठा दुबे जमशेदपुरकी बासिन्दा हुन् । लोयोला स्कुलमा पढेपछि उनले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) खडगपुरबाट बीटेक गरिन्। गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाई उनका सहपाठी थिए । त्यो समूहमा उनी एक्ली महिला थिइन् । हालै आईआईटी खडगपुर दीक्षान्त समारोहको ती दिनहरूको एक तस्वीर पनि सोसल मिडियामा भाइरल भएको थियो जसमा शर्मिष्ठा पिचाईसँग देखिन्छिन् । यो तस्वीर अनन्या लोहानी नामकी एक सफ्टवेयर इन्जिनियरले सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा सेयर गरेकी हुन् । अनन्याका बुबा आईआईटी खडगपुरमा सुन्दर पिचाईको ब्याचमा थिए । यसरी भयो करियर सुरु शर्मिष्ठा दुबेले धेरैलाई प्रेरणा दिन्छिन् । कडा परिश्रम र लगनशीलताले हरेक सपना पूरा गर्न सकिन्छ भन्ने उदाहरण हुन् उनी । दुबेले आफ्नो व्यावसायिक यात्रा सन् १९९८ मा टेक्सास इन्स्ट्रुमेन्ट्समा इन्जिनियरको रूपमा काम गरेर सुरु गरेकी थिइन् । त्यसपछि उनी सप्लाई चेन म्यानेजमेन्ट सफ्टवेयर कम्पनी i2 टेक्नोलोजीमा सामेल भइन् । सन २००६ मा शर्मिष्ठा म्याच डट कममा जोडिइन् । उनले त्यहाँ म्याच ग्रुप अमेरिकाको अध्यक्ष, प्रमुख उत्पादन अधिकारी र प्रिन्सटन रिभ्यु ईभीपी लगायत भूमिकामा काम गरिन् । दुबेले २०१३ देखि १४ सम्म टुर डटकमका लागि कार्कारी उपाध्यक्ष (ईभीपी) का रूपमा पनि काम गरिन् । २०१७ मा शर्मिष्ठा टिन्डरको प्रमुख सञ्चालन अधिकृत (सीओओ) नियुक्त भइन् । त्यसपछि मार्च २०२० मा उनी यसको सीईओ भइन् । उनले कोरोना महामारीका बेला ३० खर्बभन्दा बढी मूल्यका कम्पनीको समूहको नेतृत्व गरेकी थिइन् । १ जनवरी २०१८ मा शर्मिष्ठालाई म्याच समूहको अध्यक्ष नियुक्त गरियो । २०१९ मा उनी यसको सञ्चालक समितिमा सामेल भइन् । त्यसपछि १ मार्च २०२० मा शर्मिष्ठालाई यस समूहको सीईओ बनाइयो । उनले म्यान्डी गिन्सबर्गलाई प्रतिस्थापन गरिन् । त्यसपछि गिन्सबर्गले व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए । शर्मिष्ठाले कोभिड-१९ महामारीले अमेरिकालाई असर गरिरहेको अवस्थामा म्याच ग्रुपको सीईओको रूपमा आफ्नो भूमिका निर्वाह गरिन् । पिचाई र शर्मिष्ठा आईआईटीको १९९३ ब्याच मे २०२२ मा शर्मिष्ठा दुबेले म्याच ग्रुपको सीईओ पदबाट राजीनामा दिइन् । त्यसपछि बर्नार्ड किमले यो पद सम्हालेका थिए । दुबेले म्याच ग्रुपमा निर्देशकको रूपमा काम गर्न जारी राखिन् । म्याच ग्रुप टिन्डर र ओकेक्युपिड जस्ता विभिन्न डेटिङ एपहरूको मूल कम्पनी हो। पिचाई र दुबे दुबै आईआईटी खडगपुरमा धातु विज्ञानमा बीटेकको १९९३ ब्याचका थिए । सिलिकन भ्यालीमा पिचाईको सफलतालाई भारतीयहरूका लागि सफलताको कथा मानिन्छ । यद्यपि, शर्मिष्ठा आईआईटीमा उनको एकमात्र महिला सहपाठीको कथा पनि कम प्रेरणादायक छैन । उनी अनलाइन डेटिङ गेमलाई पुनः आविष्कार गर्नका लागि परिचित छन् ।
नेपालमा काेकाकाेलाकाे व्यापार ४ अर्ब ५९ कराेड
काठमाडौं । नेपालमा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्ब ५९ करोड ९९ लाख रुपैयाँको काराेबार गरेको छ । कम्पनीले सन् २०२३ मा १२ अर्ब ६४ करोड १० लाख रुपैयाँको काराेबार गरेको थियो जुन सन् २०२२ को तुलनामा ०.९३ प्रतिशतले बढी हो । यस्तै कम्पनीले सन् २०२२ मा १२ अर्ब ५२ करोड ४० लाख रुपैयाँको काराेबार गरेको थियो भने २०२१ मा ८ अर्ब २९ करोड ४० लाख रुपैयाँको काराेबार गरेको थियो । बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी बोटलर्स नेपाल तराई कम्पनी कोकाकोलाको नेपालका लागि आधिकारिक बिक्रेता हो । कम्पनीले साउथवेस्ट एसिया होल्डिङ लिमिटेडसँग सहकार्य गरेर नेपालमा सन् १९७९ देखि बिक्री गर्दै आएको छ । कम्पनीमा ७६ प्रतिशत हिस्सा बोटलर्स नेपालको छ भने गोर्खा ब्रुअरी लिमिटेडको २२ प्रतिशत छ । बाँकी हिस्सा सर्वसाधारणको छ । नेपालमा कोकाकोला उत्पादक बोटलर्स नेपालको दोस्रो तथा सबैभन्दा ठूलो कारखाना भरतपुरको गोन्द्राङमा छ । नेपाली पेय पदार्थ बजारमा ठूलो हिस्सा ओगटेको कम्पनीले अल्पकालीन कर्जाका लागि ३ अर्ब ३७ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको क्रेडिट रेटिङ एजेन्सी इक्राले जनाएको छ ।
मेराे र परिवारकाे छवि धुमिल्याउन खाेजियाे : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत केही दिनदेखि केही सञ्चार माध्यमबाट आफूप्रति लक्षित गरी सुनियोजित रूपमा निरन्तर समाचार सम्प्रेषण र सोही समाचारका आधारमा सामाजिक सञ्जाललगायतमा भइरहेका टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार घिसिङले प्रेस विज्ञप्ति प्रकाशन गर्दै पत्रकारिताको सिद्धान्त, मूल्य र आचारसंहितको उल्लङ्घन गर्दै आफ्नो र परिवारका सदस्यहरू (मुख्य रूपमा दाइ र भाइ) को चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्याउने उद्देश्यले सुनियोजित रूपमा दूषित मनसायका साथ कपोकल्पित ढङ्गले भ्रमपूर्ण समाचारहरू सम्प्रेषण गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रूपमा निहीत स्वार्थका साथ यस्ता समाचारहरू सम्प्रेषण भइरहेको बताएका छन् । यस्तै उनले यस्ता समाचारको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेका छन् । ‘अंशवण्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रूपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन्,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘के मेरा दाइ र भाइले स्वदेशमै व्यापार व्यवसाय नगरी विदेशिनु पर्ने हो ? मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहान्छु, यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायले छानबिन गर्ने नै छन् ।’ नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयकासाथ लगाइएका आरोपहरुको खण्डन गर्ने उनले बताएका छन् । उनले नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति गर्ने, संस्थालाई वित्तीय रूपमा सबल एवम् सक्षम बनाउने, विद्युत, उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरूको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशहरूसँगको विद्युत व्यापार विस्तार गर्नेबाहेक अन्य कुनै आफ्ना व्यक्तिगत नाजायज स्वार्थ नरहेको पनि बताए । स्वच्छ र यथार्थ समाचार वा टिप्पणी शिष्ट र मर्यादित भाषामा प्रकाशित गर्नु सञ्चार क्षेत्रको दायित्व रहेकाे उनकाे भनाइ छ । ‘मेरा विरुद्धमा आफैं न्यायिक निकायजस्तो बनी दोषी करार गर्नु निन्दनीय छ’, उनले भने ‘नेपाल विद्युत प्राधिकरणका हरेक कामकारबाही पारदर्शी रूपमा भइरहेका छन् । र, अझै पारदर्शी रूपमा अगाडि बढाइने छ ।’ उनले ऊर्जा क्षेत्रका योजनाहरू कार्यान्वयन गर्ने निकायको कार्यकारी प्रमुखको रूपमा आफ्नो भूमिका अझै निष्ठापूर्वक, इमान्दार भएर पूरा गर्ने विज्ञप्तिमार्फत प्रतिबद्धता जनाएका छन् ।
कालोसूचीमा राख्न सिफारिस २७ कम्पनीलाई सोधियो स्पष्टीकरण
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका २७ २७ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई सातदिने स्पष्टीकरण सोधेको छ । विभिन्न निकायबाट समयमा काम पूरा नगर्ने निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण मागिएको थियो । उक्त समयमा ती कम्पनीले लिखित स्पष्टीकरण पेस नगरेकाले बिहीबार पुनः ७ दिने अर्को सूचना जारी गरेको हो । सूचनाअनुसार ७ दिनभित्र लिखित स्पष्टीकरण पेस नगरे कार्यालयले सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४१ को उपनियम ४ क बमोजिम कारबाही हुने जनाएको छ ।
राइटपाथले काठमाडौंसहित देशका प्रमुख सहरमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ गर्दै
काठमाडौं । शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले ‘ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४’ आयोजना गर्ने भएको छ । राजधानीस्थित पुतलीसडकमा रहेको राइटपाथले २९ वैशाख देखि ८ जेठसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ आयोजना गर्ने भएको हो । राइटपथका अनुसार कन्क्लेभ काठमाडौंबाट सुरु भई देशका विभिन्न ठूला तथा मुख्य सहरहरूमा पुग्नेछ । वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौँडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र ८ गते ललितपुरमा कन्क्लेभ हुने तालिका छ । कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शतप्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्ट ह्याम्फरहरूको पनि व्यवस्था गरिएको छ । त्यस्तै, अमेरिकालक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आईएएल्स २ हजार ८१ रुपैयाँमै गर्न सकिने व्यवस्था गरिएको छ । साथै २० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरूलाई विद्यार्थीहरूले एकै छानामुनि भेट्न सकिने राइटपथले जनाएको छ । राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डिसीले भने, ‘युनीभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरूले सत्य तथ्य जानकारी पाउन सकुन् भन्ने नै हाम्रो कार्यक्रमको उद्देश्य हो । विद्यार्थीहरूको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्दत पुर्याउँछ । कतिपयले अफर लेटर हेर्न ढिलाइ गर्नु भएको पनि हामीले पाउने गरेका छौँ ।’ उनले वैशाख ३० गते सम्पन्न हुने भनिएको अफर आगामी जेठ ८ गतेसम्म कायम हुने बताएका छन् ।