विकासन्युज

नेपालीमा विद्युतीय चुरोटको लत बढ्दै, महिनामै कराेडौंको हुन्छ आयात

काठमाडौं । नेपालमा विद्युतीय सिगरेट (भेप्स)को प्रयोग बढ्दै गएको छ । भन्सार विभागको तथ्यांकअनुसार प्रत्येक महिना विद्युतीय सिगरेटको आयात बढ्दै गएको देखिन्छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रत्येक महिना विद्युतीय सिगरेटको आयात बढ्दा करोडौं रकम विदेशिने गरेको छ । चालु आर्थिक वर्षको फागुनसम्म करिब ९ करोड १४ लाख ७९ हजार रुपैयाँ बराबरको विद्युतीय सिगरेट आयात भएको देखिन्छ । तथ्यांकले प्रत्येक महिना आयात बढेको देखिन्छ । गत साउनमा करिब २७ लाख ९७ हजार रुपैयाँको मात्रै आयात भएको भेप्स भदौमा दोब्बर बढेर ६५ लाख २६ हजार रुपैयाँको आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै, असोजमा ८६ लाख ७८ हजार, कात्तिकमा १ करोड ७ लाख ४२ हजार, मंसिरमा १ करोड ८ लाख ७ हजार र पुसमा १ करोड १३ लाख ८६ हजार रुपैयाँको विद्युतीय सिगरेट आयात भएको छ । माघ र फागुनमा पनि आयातको परिमाण बढेको देखिन्छ । माघ महिनामा १ करोड ८८ लाख ९१ लाख रुपैयाँको आयात भएको भेप्स फागुनमा बढेर २ करोड १६ लाख ५२ हजार रुपैयाँको आयात भएको विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार नेपालमा चीन, मलेसिया, नेदरल्याण्ड्स, बेलायत, अमेरिका र अष्ट्रेलियाबाट विद्युतीय सिगरेट आयात हुने गरेको छ । सबैभन्दा बढी विद्युतीय सिगरेट भने चीनबाट आयात हुने गरेको विभागले बताएको छ । प्रत्येक महिना भेप्सको आयात बढ्दा नेपालीहरूको लत पनि यसप्रति बढ्दै गएको देखिन्छ । केही महिनाअघि विद्युतीय सिगरेटमै सुन लुकाएर ल्याएको विषय पनि सार्वजनिक भएको थियो । अहिले धेरै रेस्टुराँ, होटल तथा बारहरूमा विद्युतीय सिगरेटको प्रयोग बढेको देखिन्छ । युवायुवतीले यो सिगरेटको प्रयोग गर्ने गरेका छन् । विद्युतयि सिगरेट १५० भन्दा बढी फ्लेबरमा पाइने बुझिएको छ । नागरिकमा विद्युतीय सिगरेटके लत बढ्दै गएको भन्दै केही वर्षअघि भारतीय सरकारले यसको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । नागरिकको स्वास्थ्य हितलाई ध्यानमा राखि भारतले विद्युतीय सिगरेटको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । भारतीय सरकारले ई-सिगरेट र ई-हुक्का सम्वन्धि कानून उल्लंघन गर्नेलाइ पहिलो पटकलाई एक बर्ष र १ लाख सम्मको जरिमाना तोकिएको भएता पनि एक पटक कारबाही भइसकेर फेरी पनि प्रयोग गरेको भेटिएमा ३ बर्षको सजाय तथा ५ लाख सम्मको जरिमानाको व्यवस्था गरेको छ । नेपालमा भने खुल्ला रूपमा प्रयोग हुँदै आएको छ । नागरिकको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषयमा सरकारले कुनै चासो दिन सकेको छैन ।

सत्तारुढ दलको साझा संकल्पः शिथिल अर्थतन्त्र उकास्छौं

काठमाडौं । सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । फागुन २९ गते पाँच राजनीतिक दलबीच नयाँ राजनीतिक समीकरण भएसँगै न्यूनतम कार्यक्रम तयार गर्न कार्यदल बनाएको थियो । पाँच दलबीच भएको सात बुँदे सहमतिका आधारमा कार्यदलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ तयार गरेको हो । नीति तथा कार्यक्रममा संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा देखिएका विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहीनता एवं व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । विभिन्न १३ मुख्य क्षेत्रलाई प्राथमिकता राखिएको छ । सरकारले आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसङ्गती मुक्त बनाउने, सार्वजनिक संरचना सुधार गर्ने, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने, काम-रोजगारी-उद्यमशीलता र स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालाई व्यवस्थित गर्ने, भौतिक पूर्वाधार विकास र अन्तर-निकाय समन्वयलाई प्रभावकारी तुल्याउने, ऊर्जा विकास एवं सूचना र सञ्चार नीतिगत व्यवस्था गर्ने विषय न्यूनतम कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी भूमि व्यवस्था, वन-वातारण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन, युवा र खेलकुद, पर्यटन, संस्कृति तथा सामाजिक सद्भाव, महिला सहभागिता, सशक्तिकरण र सामाजिक समावेशीता, सङ्क्रमणकालीन न्याय र दिगो शान्ति र राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीतिलगायत विषय समेटिएको छ । कार्यक्रममा पाँच राजनीतिक दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको उपस्थिति रहेको छ ।

पोखराका घुम्न आउने पर्यटकलाई होटेलमा छुट

गण्डकी । होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । महोत्सवका अवसरमा सङ्घ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २० प्रतिशतसम्म छुट दिने गरी तयारी गरेको सङ्घका अध्यक्ष एवं मूल संयोजक सुवेदीले जानकारी दिए । महोत्सवको तयारीका लागि विभिन्न २१ वटा उपसमिति गठन गरिएको उनले बताएयो । उपसमितिका साथै लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकसमेत तोकिएको छ । सङ्घका उपाध्यक्ष दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । महोत्सव प्रचारप्रसारको मुख्य जिम्मेवारी सङ्घका महासचिव राजेन्द्र ढकाललाई दिइएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई सकारात्मक रुपमा लिएको सङ्घले जनाएको छ । नेपाली कला र मौलिक संस्कृतिको संरक्षण गर्दैै नेपाली नयाँ वर्षलाई उल्लासपूर्ण रुपमा मनाउने उद्देश्यसहित पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म महोत्सव गर्न लागिएको हो । पर्यटन, संस्कृति र खानालाई महोत्सवमा मुख्य जोड दिइने छ ।

मेरोमाइक्रोफाइनान्स लघुवित्तले विद्याथीहरुलाई प्रदान गर्यो वित्तीय साक्षरता तालिम

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाले विद्याथीहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । मेरोमाइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्था लि शाखा कार्यालय लौकहीद्वारा ‘विद्यार्थी संग मेरोमाइक्रोफाइनान्स= अभियान अन्तरगत ग्लोबल मनी विक अवसरमा सुनसरी जिल्लाको कोशि गाउँपालिकाको लौकही बजार स्थीत श्री कोशी माविमा विद्यार्थिहरुलाई १ दिने वित्तीय साक्षरता तालिम मंगलबार सम्पन्न गरेको छ । उत्त तालिममा ६७ जना विद्याथीलाई प्रदान गरिएको थियो । तालिम सचांलन शाखाको शाखा प्रबन्धक सत्येन्द्र प्रसाद यादबले गरेका थिए भने प्रशिक्षण अधिकृत सागर भण्डारीले गर्नु भएको थियो । उत्त तालिममा विद्याथीहरुलाई वित्तीय साक्षरता अन्तरगत बचत, कर्जा, विमा, रेमिटान्स, पारिवारीक बजेट, वित्तीय लक्ष्य निधारण, आधुनिक बैंकिगको बारेमा सिकाइएको थियो ।

एस्ट्राजेनेकाले फ्युजनलाई दुई अर्ब ४० करोड डलरमा खरिद गर्ने

लन्डन । क्यान्सर उपचार सेवाका लागि एस्ट्राजेनेका समूहले कम्पनीको महत्त्वपूर्ण बिस्तारस्वरूप अमेरिकी बायोफर्मा कम्पनी फ्युजनलाई दुई अर्ब ४० करोड अमेरिकी डलरमा खरिद गर्ने भएको छ । एङ्लो–स्वीडिस औषधि कम्पनी एस्ट्राजेनेकाको बिस्तारले केमोथेरापी र रेडियोथेरापीजस्ता परम्परागत पद्धतिलाई थप लक्षित उपचारको साथ प्रतिस्थापन गरेर क्यान्सरको उपचार र बिरामीहरूको लागि परिणामहरू रूपान्तरण गर्ने महत्वाकाङ्क्षालाई पूरा गर्ने उद्देश्यसहित यो बिस्तार सुरू गरेको हो । ‘फ्युजनको स्वामित्व खरिद गर्ने सम्झौता एस्ट्राजेनेकाको लागि एक प्रमुख कदम हो र यो बिस्तारले केमोथेरापी र रेडियोथेरापीजस्ता परम्परागत पद्धतिलाई प्रतिस्थापन गर्दै क्यान्सरको उपचार र बिरामीहरूको सेवालाई सहज बनाउने महत्वाकाङ्क्षालाई पूरा गर्नेछ,’ कम्पनीद्वारा जारी एक विज्ञप्तिमा भनेको छ । रासस

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट दाबी प्रमुख नवराज पराजुलीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् । दुर्घटनामा परेका टेक बहादुर मगरले सानिमा बैंकको एकान्तकुना शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थियो । सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगहरुको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा, ५० हजारको आवधिक जीवन बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बंैकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

संसदीय छानबिन समितिको मागपछि गृहमन्त्री लामिछाने : काँग्रेस दुधले नुहाएको पार्टी होइन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काँग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी समेत गरे । काँग्रेसले पूरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताए । ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि काँग्रेसलाई चुनौति दिए । उनले काँग्रेसलाई ४ वर्ष नै संसद गरिरहने र यही संयन्त्रले ४ वर्ष काम गर्न पाए अहिले संसदमा उपस्थित काँग्रेसका कतिपय सांसदहरु सांसद नै नरहने बताए । चिटिक्क परेर अनियमितता गर्ने काँग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ? भन्दै प्रश्नसमेत गरे । ‘मैले केही भन्नै पर्दैन नि । कामले बोलिरहेको छैन र ? अस्ति नै पो प्रतिपक्षमा थिएँ, बोल्नुपर्ने थियो, भन्नुपर्ने थियो, अब त सरकारमा छौँ, प्रत्येक दिन गरिएको कामले आफैँ बोलेको छ, जस्तो लागेको थियो, तर साथीहरुको प्रश्न त सकिएको छैन जस्तो छ । काँग्रेसले ४ वर्ष संसद अवरुद्ध गरोस्, हाम्रो यो अहिलेको संयन्त्रले ४ वर्ष काम गरोस्, नेपालमा भ्रष्टाचार अन्त्यका लागि सफा भएर, चिटिक्क परेर अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने काँग्रेसले नैतिकता, सुशासन गर्ने ?’, उनले भने । उनले आफूले कामबाट अहिले उठेका प्रश्नको जवाफ दिने पनि बताए ।

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति सम्भव छैनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले परिपक्व प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा पोखिरहेको आरोप लगाए । उनले सरकारभन्दा बाहिर हुने बित्तिकै नेपाली काँग्रेसले आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु नहुने बताउनु भयो । उनले भने- ‘अहिले उहाँहरु सरकारबाट बाहिर हुनुहुन्छ । सरकार भन्दा बाहिर हुने बित्तिकै नेपाली काँग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन । हामी नेपाली काँग्रेसबाट एउटा परिपक्व प्रतिपक्षको भुमिका माग्दछौँ । संसदीय छानबिन समिति कसरी र केका लागि बन्ने ? सम्भव नै छैन ।’ अध्यक्ष ओलीले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न काँग्रेसले संसदीय समितिको माग गरेपनि सम्भव नरहेको बताए ।