चिरख्वा हाइड्रोपावरको ‘लक इन’ अवधि वैशाख १० गते सकिँदै
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको ‘लक इन’ अवधि आगामी वैशाख १५ गते सकिने भएको छ । चिरख्वा हाइड्रोपावरले सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आगामी वैशाख १५ गते सकिने भउको हो । कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाइएको ४० हजार कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो । कम्पनीले सार्वजनिक निष्काशनमार्फत निष्काशन गरिएको साधारण सेयर गत कात्तिक १६ गते बाँडफाँड गरेको थियो । उक्त सेयरको लक इन अवधिको समाप्तबारे नेपाल धितोपत्र बोर्डले गत मंसिर २५ गते निर्देशन दिएको थियो ।
अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा
काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई सामान्य वर्षा हुने सम्भावना छ । महाशाखाका मौसमबिद् सरोज पुडासैनीले विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको बताए । ‘हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ, अहिले पनि कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली भएको छ,’ उनले भने, ‘यसअघि देशको पूर्वी क्षेत्रमा वर्षा भए पनि पश्चिमी क्षेत्रमा पानी परेको थिएन, आजदेखि सुदूरपश्चिम र मध्यमपश्चिमका पहाडी भागमा पनि पानी पर्ने सम्भावना छ ।’ महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस प्रदेश र बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ ।
भरतपुर घुम्न आउने पर्यटकले बाघ हेर्न पाउने
चितवन । भरतपुर भ्रमण वर्षमा घुम्न आउने पर्यटकले बुधबारदेखि सहजै बाघ हेर्न पाउने भएका छन् । चितवन राष्ट्रिय निकुञ्जले निर्माण गरेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ ल्याएर सर्वसाधारणका लागि देखाउन लागिएको हो । दुईवटा भाले बाघ केन्द्रमा ल्याएर देखाउन लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको केन्द्रमा बाघ शुभारम्भ गरी सर्वसाधारणका लागि बाघ देखाइने छ । भरतपुर भ्रमण वर्षमा घुम्न आएका पर्यटकलाई हेर्न सहज हुने र निकुञ्जलाई समेत बाघ व्यवस्थापनमा सहजीकरण हुने गरी बाघ देखाउन लागिएको हो । निकुञ्जको मुख्यालय कसरामा थुनेर राखिएका बाघलाई स्थानान्तरण गरेर केन्द्रको खुल्ला खोरमा बाघ देखाउन लागिएको हो । निकुञ्जको मुख्यालय कसरामा चारवटा बाघ रहेका थिए भने सौराहा क्षेत्रमा दुई वटा बाघ रहेका छन् । ती सबै बाघ उद्धार गरी ल्याइएको हो । जिल्लाको माडी, देवनगर, मेघौली, कुमरोज, नवलपुर र बाँकेबाट समस्याग्रस्त बाघ ल्याएर राखिएको थियो । तीनै बाघमध्ये कसरमा रहेका दुइटा भाले बाघलाई देवनगरमा ल्याएर सर्वसाधारणका लागि देखाउन लागिएको हो । भरतपुर महानगरपालिकाको आग्रहमा निकुञ्जले बाघलाई सर्वसाधारण्लाई हर्न मिल्ने गरी देनगरमा ल्याएको हो । महानगर प्रमुख रेनु दाहालले निकुञ्ज घुम्न आउने अधिकांश पर्यटकले बाघ देख्न नपाएको भन्दै अब चाहना राख्ने सबैले देख्न पाउने बताइन् । निकुञ्जभित्र खोरमा थुनेर राखिएका बाघलाई उद्धार केन्द्रमा राखेर पर्यटकलाई देखाउन लागिएको उनको भनाइ छ । उनले भनिन्, ‘पर्यटकलाई केन्द्रमा राखिएका बाघ गैँडाजस्ता जनावर देखाइने छ ।’ यसबाट पर्यटकले हेर्न पाउने र उनीहरूले तिरेको राजस्वले ती जनावर पाल्न सकिने उनको राय छ । महानगरपालिकाले यसको व्यवस्थापनका लागि एक करोड रुपैयाँ खर्च गरेको छ । खोर निर्माण, मचना र सडक निर्माणमा महानगरले सहयोग गरेको हो । भ्रमण वर्षका लागि केन्द्र गन्तव्यस्थलको रूपमा विकास हुने उनले बताइन् ।
यूएईमा श्रमिक अलपत्र पार्ने कम्पनीलाई कारबाही गर्न सिफारिस
खोटाङ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपाली युवालाई अलपत्र पार्ने मेनपावरलाई कारबाहीका लागि सिफारिस गरेको छ । युएई पठाएर १९ नेपाली युवालाई अलपत्र पार्ने काठमाडौंस्थित मेची इन्टरनेशनल ओभर्सिज प्रालिलाई कारबाही गर्न दूतावासले वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंलाई पत्राचार गरेको हो । ‘नेपाली श्रमिक समस्यामा परेको खबर विभिन्न सञ्चार माध्यमबाट थाहा भएपछि समस्या समाधान गर्न दूतावासले कम्पनी र मेनपावर एजेन्सीसँग सम्पर्क गर्दा हप्ता दिनभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए,’ श्रम सहचारी आविद अन्सारीले लेखेको पत्रमा भनिएको छ, ‘तर अहिले पनि समस्या जस्ताको त्यस्तै रहेको तथा समस्या समाधानका लागि कुनै पनि पहल नगरेको देखिएकाले मेनपावर तथा कम्पनीलाई आवश्यक कारबाही गर्न आदेशानुसार अनुरोध छ ।’ मेची इन्टरनेशनल ओभर्सिजका एजेन्टले क्लिनरको कामका लागि युएईको नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्युरिटी गार्ड सर्भिसेसमा पठाएको तर, कामदार करारनामा अनुसारको काम, तलब र सेवा सुविधा नपाउँदा नेपाली कामदार अलपत्र परेको खबर चैत–१ गते सार्वजनिक भएको थियो । कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका पर्शुराम राई र राजकुमार राई (एकाघरको दाजु/भाइ) सहित १९ जना नेपाली अलपत्र परेको खबर चैत–२ गते राष्ट्रिय समाचार समिति (रासस) मार्फत् सार्वजनिक भएको थियो । खोटाङ्गे दाजुभाइ (पर्शुराम दाजु र राजकुमार भाइ) सँगै अलपत्र पर्नेमा सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारी, नवलपरासीका सुनिल श्रेष्ठ, दैलेखका मनबहादुर शाही, धादिङका तिलकबहादुर सुनार, कपिलवस्तुका मनोज थारु, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुंगे, कालीकोटका जितेन्द्र शाही, मोरङका करन सरदार, तेह्रथुमका लक्ष्मीप्रसाद दुलाल, झापाका मिश्रीलाल दास, सिन्धुपाल्चोकका खड्कबहादुर श्रेष्ठ, उदयपुरका मानबहादुर कार्की, गोरखाका आशबहादुर गुरुङ, मोरङका पदम नेपाल र नुवाकोटका लाक्पा तामाङ रहेका छन् । खाने बस्ने सुविधासहित मासिक युएई दिराम रु एक हजार एक सयदेखि रु एक हजार २०० सम्म तलब पाउनेगरी युएई लगिए पनि खानासहित मासिक ९ सय दिराम र आफ्नै खाना खानेलाई मासिक १०० दिराम दिने व्यवस्था थियो । आफूहरूले एजेन्टलाई जनही १ लाख ९० हजारदेखि २ लाख २० हजार रुपैयाँसम्म बुझाएर युएई पुगेको उनीहरूले बताएका छन् । युएईमा रहेका नेपालका सञ्जय थापा र भारतका नियासले अरु कम्पनीमा काम खोजेर केही दिन काम लगाउने, काम नभेटेसम्म कोठामै राख्ने गरेका थिए । नियमित काम नपाउने र कोठामा आफ्नै खाएर बस्नुपर्ने अवस्था देखेपछि युवा मिडियाको सम्पर्कमा पुगेका थिए । मेची इन्टरनेशनल ओभर्सिज प्रालिका अध्यक्ष राजकुमार चौधरीले सम्झौता अनुसारको सेवा सुविधा उपलब्ध गराउने ग्यारेन्टीका लागि फागुन–७ गते नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्यूरिटी गार्ड सर्भिसेजलाई पत्र पठाएका थिए । तैपनि कामदारको समस्या हल नभएको पीडितमध्येका पर्शुराम राईले बताउँदै आएका छन् । वैदेशिक रोजगार विभागले मेनपावरलाई लिखित जवाफसहित उपस्थित हुन चैत–६ गते निर्देशन दिएको थियो । कामदार करारनामा अनुसारको काम, तलब र सेवा सुविधा नपाएपछि आवाज उठाउँदै विभिन्न मिडियाको सम्पर्कमा पुगेका १९ युवालाई थापाले ‘आफ्नै गल्ती भएको उल्लेख गर्दै भिडियो र कागज’ बनाउन दबाब दिइरहेका छन् । अलपत्र युवाका अनुसार युएईमा सम्झौता अनुसारको काम र दाम नपाई दुःख पाइरहेका कैयौँ नेपाली छन् । उनीहरुको हकहितमा आवाज उठाइदिने कोही छैनन् । चार महिनादेखि आफूहरु युएईमा अलपत्र पर्दासमेत नेपाल सरकारले कुनै चासो नदिएको भन्दै उनीहरू आक्रोशित बनेका छन् । राजकुमार फेब्रुअरी १० तथा पर्शुराम फेब्रुअरी २३ तारिख वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेका हुन् । रासस
६ महिनादेखि कर्मचारीले पाएनन् तलब
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले ६ महिनादेखि तलब पाएका छैनन् । कोरोना भाइरसको महामारीका बेलादेखि कार्यरत आफूहरूलाई स्वास्थ्य निर्देशनालयले नियमितरूपमा काममा लगाए पनि अहिलेसम्म तलब नदिएको कर्मचारीको गुनासो छ । तलब नपाउने यी कर्मचारी करार सेवामा कार्यरत रहेका छन् । कैलालीको त्रिनगर सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले सुदूरपश्चिम प्रदेशका त्रिनगर, गड्डाचौकी, पुलघाट, झुलाघाट, खक्रौलालगायतका सीमानाकाका हेल्थ डेस्कका कर्मचारीले ६ महिनादेखि तलब नपाएको बताए । ‘स्वास्थ्य निर्देशनालयले तलबका लागि बजेट आउँछ, तपाईंहरू काम गर्नुस् भन्छ,’ साउदले भने, ‘आश गर्दागर्दै अहिलेसम्म पनि तलब नपाइएपछि ऋण निकालेर परिवार पालिरहेका छौँ,’ पारिश्रमिक नपाउनेमा त्रिनगर हेल्थ डेस्कका १० कर्मचारीसहित प्रदेशका सबै सीमानाकामा गरी जम्मा २७ कर्मचारी छन् । ‘करारमा कार्यरत कर्मचारीको म्याद थपिएको पनि छैन, निर्देशनालयले काम गर्न खटाएपछि लगनशीलताका साथ काम गरिरहेका छौँ, तलब नपाउँदा अन्योल भएको छ,’ हेल्थ डेस्कका कर्मचारीको भनाइ छ । त्रिनगर हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई सुरुको अवस्थामा कञ्चनपुरको पुनर्वास नगरपालिकाले संघीय सरकारको बजेटबाट तलब खुवाएको थियो । त्यसपछिको समयमा संघबाट बजेट नआए पनि नगरपालिकाले आफ्नै बजेटबाट तलब खुवाएको थियो । कोरोना भाइरसको महामारीको बेला स्वास्थ्यका कर्मचारीलाई दिइएको जोखिम भत्तासमेत यी कर्मचारीले पाएका थिएनन् । त्यति बेला पनि शुद्ध तलबबाहेक अन्य कुनै सुविधा नपाएको कर्मचारीको गुनासो छ । विगतमा देखिएको कोरोनाको महामारीका समयदेखि प्रदेश सरकारले सीमानाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो । हेल्थ डेस्कमा कोरोना भाइरस, एचआइभी, क्षयरोग, मलेरिया, डेङ्गु, कालाजार, स्क्रब टाइफस रोगको नमूना जाँच हुने गरेको छ । यसबाहेक प्राथमिक उपचारको सेवाका साथै सीमामा अलपत्र परेको बेसहारा नागरिकको उद्धारको कामसमेत गर्ने गरिएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा. जगदीश जोशीले बजेटका लागि अर्थ मन्त्रालयसँग स्वास्थ्यसेवा विभागले समन्वय गरिरहेको र विभागले हेल्थ डेस्कका कर्मचारीलाई तलबका लागि बजेट पठाउने अश्वासन दिएको बताए । उनले भने, ‘स्वास्थ्य सेवा विभागले हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई तलब खुवाउन प्रस्ताव गरेको बजेट अर्थ मन्त्रालयले कटौती गरेको रहेछ, अब बजेट रकमान्तर गरेर भए पनि पठाउँछौँ भन्ने जानकारी विभागले दिएको छ ।’
तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
दमौली । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजार रुपैयाँको लागतमा पक्की पुल निर्माण भएको छ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताएका छन् । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा बुधबार तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरूको बैठक हुने उनले बताए । विसंं २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।
सेबोनको नेतृत्व छनोट प्रक्रिया टुंग्याउन अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले धितोपत्र बोर्ड (सेबोन)को नेतृत्व चयन प्रक्रिया छिटो अघि बढाउन अर्थसचिव डा. कृष्णहरि पुष्करलाई निर्देशन दिएका छन् । मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई मंगलबार सम्बोधन गर्दै मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् । ‘लामो समयसम्म धितोपत्र बोर्डजस्तो नियामक निकाय नेतृत्वविही हुनु त्यति राम्रो होइन’, मन्त्री पुनले सचिव पुष्कारलाई निर्देशन दिँदै भने, ‘त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुस् ।’ यस्तै मन्त्री पुनले पछिल्लो समय नियामक निकायले कार्यकारी निकायको शैलीमा कार्यसम्पादन गर्न थालेकामा चिन्ता जनाए । ‘नियामक निकायले कार्यकारीको काम गर्दा पनि पुँजीगत खर्च कम भएको छ । राज्यका कुन निकायले कुन काम गर्ने भन्ने संवैधानिक व्यवस्था छ’, पुनले भने, ‘नियामक निकाय रेफ्रीको भूमिकामा रहने हो । आफैं मैदानमा आएर कसैलाई एलो कार्ड देखाउने र कार्ड देखाउनै नपर्नेलाई कार्ड देखाउने काम नियामक निकायले गर्नुभएन ।’
मायाको चिनो प्रदेशकै उत्पादन हुनुपर्ने
काठमाडौं । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गतका सरकारी कार्यालयले कार्यक्रम गर्दा प्रयोग हुने मायाको चिनो, खादा, मालालगायतका सामग्री प्रयोग गर्दा प्रदेशमा नै उत्पादन भएको सामग्री प्रयोग गर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै धनकुटा र उदयपुर जिल्लाको सङ्गममा अवस्थित अरुण र तमोर नदीको सङ्गममा धनकुटातर्फ रहेको किरात सभ्यतासँग जोडिएको खुवालुङ (ढुङ्गा) लाई सांस्कृतिक पर्यटनका रुपमा विकास गर्ने र प्रदेश मन्त्रिपरिषद् बैठक महिनाको एक पटक धनकुटामा बस्ने बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री समशेर राईले जानकारी दिए । मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय धनकुटामा पहिलोपटक मन्त्रिपरिषद् र लगानी बोर्डको बैठक आज बसेको थियो । लगानी बोर्डको बैठकले साँगुरीगढी गाउँपालिकाको भेडेटारमा करोडौँको लगानीमा निर्मित स्काइवाकलाई सम्बन्धित पक्षसँग राजस्व बाँडफाँटको बारेमा आवश्यक छलफल गरेर योजना सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने निर्णय गरेको लगानी बोर्डका कार्यकारी निर्देशक डा सरोज कोइरालाले जानकारी दिए ।