मायाको चिनो प्रदेशकै उत्पादन हुनुपर्ने
काठमाडौं । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गतका सरकारी कार्यालयले कार्यक्रम गर्दा प्रयोग हुने मायाको चिनो, खादा, मालालगायतका सामग्री प्रयोग गर्दा प्रदेशमा नै उत्पादन भएको सामग्री प्रयोग गर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै धनकुटा र उदयपुर जिल्लाको सङ्गममा अवस्थित अरुण र तमोर नदीको सङ्गममा धनकुटातर्फ रहेको किरात सभ्यतासँग जोडिएको खुवालुङ (ढुङ्गा) लाई सांस्कृतिक पर्यटनका रुपमा विकास गर्ने र प्रदेश मन्त्रिपरिषद् बैठक महिनाको एक पटक धनकुटामा बस्ने बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री समशेर राईले जानकारी दिए । मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय धनकुटामा पहिलोपटक मन्त्रिपरिषद् र लगानी बोर्डको बैठक आज बसेको थियो । लगानी बोर्डको बैठकले साँगुरीगढी गाउँपालिकाको भेडेटारमा करोडौँको लगानीमा निर्मित स्काइवाकलाई सम्बन्धित पक्षसँग राजस्व बाँडफाँटको बारेमा आवश्यक छलफल गरेर योजना सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने निर्णय गरेको लगानी बोर्डका कार्यकारी निर्देशक डा सरोज कोइरालाले जानकारी दिए ।
सिटिजन्स बैंकका २ वटा शाखा कार्यालय सर्ने
काठमाडौं । सिटिजन्स बैंकले संचालनमा रहेका शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले काठमाडौंकाे न्यूरोड शाखा र अछामको ढकारी शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो । बैंकका अनुसार काठमाडौं महानगरपालिका २४ मा सञ्चालनमा रहेको न्यूरोड शाखा हालको भवनबाट करिब २ सय मिटरको दूरीमा सर्नेछ । यस्तै, अछामको ढकारी गाउँपालिका १ स्थित रहेको ढकारी शाखा १ सय मिटरको दूरीमा स्थानान्तरण हुने बैंकले जनाएको छ । चैत १८ गतेदेखि स्थानान्तरण भई नयाँ स्थानबाट सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालनमा आउने बैंकले जनाएको छ । साथै, न्यूरोड शाखाबाट प्रदान गरिएको लकर सेवा सुविधाका लागि समेत सोही शाखाबाट सञ्चालन हुने बैंकको भनाइ छ ।
रेमिट्यान्स पठाउने श्रमिकलाई विमानस्थलमा हैरानी नदिन गृहमन्त्री लामिछानेको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न पनि आग्रह गरेका हुन् । अध्यागमन विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैदेखि सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन पनि आग्रह गरे । उनले अध्यागमन सुधारका योजना ल्याउन आग्रह गर्दै उक्त योजनामा मन्त्रालयले सक्दो सहयोग गर्ने विश्वास दिए । केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको सन्दर्भ जोड्दै उनले खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाई जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती रहेको स्वीकार गर्दै उनले प्रयास जारी राख्न अनुरोध गरे । उनले भने, “हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहान्न, भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनुहुन्न, दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला ।” सो क्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाइ र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए । कार्यक्रममा विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे जानकारी गराएका थिए ।
६ महिनाभित्र औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालनमा ल्याउन निर्देशन
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धनकुटास्थित औद्योगिक ग्राम सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए । औद्योगिक ग्रामको आज निरीक्षण एवं अवलोकन गर्दै मुख्यमन्त्री कार्कीले आगामी ६ महिनाभित्र औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालनमा आउने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्णरुपमा सञ्चालन गरेमा पूर्वी पहाडी क्षेत्रको जनजीविकामा सहजता हुने जनाउँदै उनले भने, “यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुन सक्छन् ।” उनले सो अवसरमा औद्योगिक ग्रामका अध्यक्ष तिलक महतलाई औद्योगिक ग्रामभित्र उद्योग सञ्चालनको खाका १५ दिनभित्र तयार पारेर प्रस्तुत गर्न निर्देशन समेत दिनुभएको थियो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले औद्योगिक ग्राम परिसरमा निर्मित २७ मध्ये नौ वटा भवनमा लघु उद्योग सञ्चालनमा रहेको जानकारी दिए । सञ्चालित उद्योगमा ‘स्यानिटरी प्याड’ र खाद्यान्न सामग्री रहेका छन् ।औद्योगिक ग्राम स्थापनाको पाँच वर्ष बितिसक्दासमेत पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । बाउन्न रोपनी क्षेत्रफलमा फैलिएको सो ग्राम सञ्चालनमा आएपछि पूर्वी पहाडको घरेलु तथा साना उद्योगको प्रवद्र्धनमा टेवा पुग्ने बताइएको छ ।
एक वर्षमा ३३ लाखभन्दा बढीको आँखाको उपचार
काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ । सङ्घले ४६औँ नेत्रज्योति दिवसका अवसरमा आज यहाँ पत्रकार सम्मेलन गरी सन् २०२३ मा आफ्नो मातहतका २८ अस्पताल, १५६ आँखा उपचार केन्द्र र ४३ जिल्ला शाखामार्फत् ८ लाख ५ हजार विदेशीसहित ३३ लाख ६ हजार २६ जनाको स्वास्थ्योपचार गरेको स्पष्ट गरेको छ । सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, स्वदेशी तथा विदेशी दातृ निकाय एवं समाजसेवीसमेतको सहयोगमा गरिब तथा असहायलाई प्राथमिकता दिँदै २ लाख ६५ हजार ८८५ जनाको शल्यक्रिया गरेको जानकारी दिए । पहुँच र पैसाको अभावमा कुनै पनि नेपाली आँखा रोगको उपचार गर्नबाट वञ्चित हुनु नपर्ने उल्लेख गर्दै अध्यक्ष पन्तले भने, “सहयोग र सहकार्यको अवधारणाबमोजिम हाम्रो संयन्त्र देशभर क्रियाशील छ, चेतनाको कमीले अझै पनि केही मानिस अस्पताल आउन डराइरहेका छन्, तिनलाई अस्पतालसम्म ल्याउने वातावरण निर्माण गर्न सञ्चारकर्मी मित्रहरूसँग अनुरोध गर्दछु ।” महासचिव भरतबहादुर चन्दले स्थापनाकालदेखि हालसम्म ५१ लाख ३३ हजार ६५९ जनाको शल्यक्रिया उपचारसहित ४ करोड ३६ लाख जना आँखाका बिरामीलाई स्वास्थ्य सेवा दिन सफल अन्धोपनमुक्त नेपालका पक्षमा क्रियाशील सङ्घलाई समाजका सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । नेपालमा ४५ वर्षअघि ५ जनामात्र आँखारोगसम्बन्धी विशेषज्ञ चिकित्सक रहेकोमा अहिले ८०० भन्दा बढीले सेवा प्रदान गरिरहेका छन् । अहिले मित्रराष्ट्र भारत, बङ्गलादेश र भुटानका बिरामीसमेत आँखा उपचारका लागि नेपाल आउने गरेको सङ्घले जनाएको छ । प्रविधिको विकाससँगै करिब २ दशकभन्दा अघि सात दिन लाग्ने आँखाको शल्यक्रिया अहिले जम्मा दुई दिनमा सम्भव हुने भएको छ ।
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटालगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । देव इन्टरनेशन प्रालि उपर राजस्व चुहावट, सरकारी कागजातको नोक्सानी एवं गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । आयोगले भन्सार प्रमुख सापकोटा र भन्सार अधिकृत नकुल शर्मा विरुद्ध ८४ लाख ५५ हजार ६०५ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । यस्तै देव इन्टरनेशन प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेण्टका प्रतिनिधि सरनकुमार खरेलविरुद्ध ८४ लाख ५५ हजार ६०५ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । आयोगले उनीहरुविरुद्ध बिगो बमोजिम कारबाहीको माग गरी मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
भारतमा २७१ अर्बपति, मुम्बईमा बढी धनाढ्य
काठमाडौं । भारतमा अर्बपति संख्या बढेर २ सय ७१ पुगेको छ । सन् २०२३ मा अर्बपतिको संख्या ९४ ले बढेको छ । यदि यी सबै अर्बपतिको कुल सम्पत्ति जोड्ने हो भने लगभग १० खर्ब अमेरिकी डलरबराबर हुनेछ, जबकि पाकिस्तानको सम्पूर्ण कुल गार्हस्थ उत्पादन (जीडीपी) १५ खर्ब ७० अर्ब डलर छ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी २०२४ को ‘हुरुन ग्लोबल रिच लिस्ट’ मा शीर्ष १० अर्बपतिहरूको सूचीमा परेका एकमात्र भारतीय हुन् । मुकेश अम्बानी एसियाकै धनी रिपोर्टका अनुसार ६६ वर्षीय मुकेश अम्बानीको कुल सम्पत्ति ४० प्रतिशतले बढेर १ खर्ब १५ अर्ब डलर पुगेको छ । तर, सम्पत्ति वृद्धि भए पनि अम्बानी विश्वका शीर्ष अर्बपतिको वरियतामा एक स्थान झरेर १०औं स्थानमा पुगेका छन् । उनी एसियाकै धनी व्यक्ति हुन् । १५औं स्थानमा गौतम अडानी अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका धनी व्यक्तिको सूचीमा १५औं स्थानमा छन् र अर्बपतिहरूको सूचीमा अम्बानीपछिका अर्का भारतीय हुन् । ६१ वर्षीय गौतम अडानीको कुल सम्पत्ति ८६ अर्ब डलर छ । अडानी ग्रुपका कम्पनीहरूको सेयर बढेपछि उनको सम्पत्ति ३३ अर्ब डलरले बढेको छ । सेयर बजारका कारण भारतमा थपिए ९४ नयाँ अर्बपति २०२३ भारतका लागि ‘सुपर मजबुत वर्ष’ रह्यो, किनकि यो वर्ष नयाँ ९४ अर्बपति थपिए । यसो हुनुको कारण हो तीव्र गतिमा बढेको सेयर बजार । यसबाहेक प्रमुख भारतीय उद्योगहरूमा औषधी (३९ अर्बपति), अटोमोबाइल र अटो कम्पोनेन्ट्स (२७) र रसायन (२४) अर्बपति समावेश छन् । रिपोर्टका अनुसार यी अर्बपतिको औसत उमेर ६७ वर्ष छ । मुम्बईमा बस्छन् सबैभन्दा धेरै अर्बपति मुम्बई विश्वको सबैभन्दा छिटो बढिरहेको अर्बपतिको राजधानीका रूपमा उभिएको छ। रिपोर्टका अनुसार सन् २०२३ मा मुम्बईमा २६ नयाँ अर्बपति थपिएका छन् । योसँगै मुम्बई सबैभन्दा धेरै अर्बपति बस्ने सहरको सूचीमा तेस्रो स्थानमा पुगेको छ । महाराष्ट्रको राजधानी मुम्बई एसियाको अर्बपति राजधानी हो । नयाँदिल्ली पहिलो पटक अर्बपतिको संख्याका आधारमा शीर्ष १० मा पुगेको छ । पाम बीच, इस्तानबुल, मेक्सिको सिटी र मेलबर्न पनि हुरुनको शीर्ष ३० सहरहरूमा सामेल छन् । एजेन्सी
प्रभावकारी नियमन र सुपरिवेक्षणका कारण वित्तीय क्षेत्र सन्तोषजनक छ : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रभावकारी नियमन र सुपरिवेक्षणका कारण नेपालको वित्तीय क्षेत्रको समग्र अवस्था सन्तोषजनक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को टोलीसँगको भेटमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । नेपालमा वैदेशिक लगानीको निम्ति वातावरण सहज रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले लगानी स्वीकृति प्रक्रिया र संस्थागत व्यवस्थाबारे भ्रमण टोलीलाई जानकारी गराए । नेपालको पूर्वाधार विकासको लागि आन्तरिक स्रोत अपुग रहेको उल्लेख गर्दै उनले एआईआईबी जस्ता संस्थाले जलविद्युत्, प्रसारण लाइनलगायतका पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकतामा जोड दिए । साथै, नेपालको कुल गार्हस्थ्य उत्पादन, मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति, बाह्य क्षेत्रलगायत मुलुकको वर्तमान आर्थिक स्थितिबारे चर्चा गरे । एआईआईबीको टोली प्रमुख रथनायकेसहित अन्य सदस्यहरूले नेपालमा वैदेशिक लगानीको लागि नीतिगत व्यवस्था, एआईआईबीले लगानी गर्नसक्ने पूर्वाधार क्षेत्र, ऋण स्वीकृति प्रक्रिया र ऋणको ब्याजदरलगायतका विषयमा चासो राखेका थिए । नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नका निम्ति भएका नीतिगत प्रयासबारे पनि जिज्ञासा राखे । कार्यक्रममा नेपालको विकासका प्राथमिकता, पूर्वाधार विकासमा लगानीका अवसरलगायतका विभिन्न विषयमा दुईपक्षीय छलफल भएको थियो । भेटवार्तामा नेपाल राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू डा. नेफिल मातङ्गि मास्के, डा. गुणाकर भट्ट, डा. प्रकाशकुमार श्रेष्ठ, गुरुप्रसाद पौडेलल र एआईआईबी सञ्चालक समितिका सदस्य आरएमपी रथनायकेको नेतृत्वको टोली रहेको थियो । मूलतः एसियाली र अन्य सदस्य मुलुकको दिगो र हरित पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१६ मा एआईआईबीको स्थापना भएको हो । यसको मुख्यालय चीनको बेइजिङमा रहेको छ