सन् नेपाल लाइफका सीईओ अर्याल रिहा
काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्णयअनुसार उनी रिहा भएका हुन् । नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) अर्याललाई सेयर किर्ते गरेको आरोपमा चैत्र १६ गते पुतलीसडकबाट पक्राउ गरेको थियो ।
कृषि जानकारी समेटेर कृषि विकास बैंकले ल्यायो नयाँ भित्ते पात्रो
काठमाडौं । व्यावसायिक तरकारी खेती तथा तरकारी मूल्य शृङ्खलाको सुदृढीकरणमा जोड दिने उद्देश्यसहित कृषि विकास बैंक लिमिटेडले ‘व्यावसायिक तरकारी खेती’ थिममा आधारित २०८३ सालको भित्ते पात्रो सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको पात्रोमा विभिन्न तरकारीहरूको महत्त्व, उत्पादन विधि तथा पोषणसम्बन्धी जानकारी समेटिएको छ । किसान तथा सर्वसाधारणलाई उपयोगी कृषि ज्ञान प्रदान गर्ने लक्ष्यसहित पात्रो तयार गरिएको बैंकले जनाएको छ । पात्रोमा टमाटर, गाजर र आलुजस्ता प्रमुख तरकारीहरूको तस्बिरसँगै खेती प्रविधि, उपयुक्त मौसम, मलजल व्यवस्थापन तथा रोग नियन्त्रणका उपायहरू समावेश गरिएको छ । टमाटर खेतीका लागि आवश्यक तापक्रम र सिँचाइ व्यवस्थापनबारे जानकारी दिइएको छ भने गाजरमा पाइने भिटामिन ‘ए’ को महत्त्व र स्वास्थ्य लाभ उल्लेख गरिएको छ । साथै आलुको उत्पादन वृद्धि गर्न बीउ छनोट र खेत तयारीसम्बन्धी सुझावसमेत समेटिएका छन् । पात्रोमार्फत ‘सरल कर्जा’ र ‘आधुनिक कृषि’ सम्बन्धी सन्देश प्रवाह गर्दै बैंकले कृषकको वित्तीय पहुँच विस्तार गर्न प्रोत्साहन गरेको छ । कृषि ऋणको सहज उपलब्धता, व्यावसायिक खेतीतर्फ आकर्षण तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बैंकको भूमिकालाई पात्रोले स्पष्ट रूपमा प्रस्तुत गरेको छ । समग्रमा कृषि विकास बैंक लिमिटेडको यो भित्ते पात्रो केवल मिति हेर्ने माध्यममा सीमित नभई कृषि ज्ञान र सचेतना फैलाउने प्रभावकारी उपकरणका रूपमा प्रस्तुत भएको छ। आधुनिक प्रविधि अपनाउन किसानलाई प्रेरित गर्दै तरकारी उत्पादन वृद्धि, पोषण सुरक्षा तथा आर्थिक समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
एनआईबीएल इक्विटी पार्टनर्सको गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी सम्झौता
काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्सले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड रुपैयाँ लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विशेष लगानी कोष (एसआईएफ) का रूपमा दर्ता भएको तथा एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको एनआईबीएल इक्विटी पार्टनर्सले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड रुपैयाँको इक्विटी लगानी गरेको हो । गोर्खाज हिमालयन हाइड्रो लिमिटेड कोशी प्रदेशको सोलुखुम्बु जिल्लास्थित सोलुदुधकुण्ड नगरपालिकामा निर्माणाधीन ५.८७५ मेगावाट क्षमताको माथिल्लो जुनबेसी खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी हो । आयोजनाबाट वार्षिक करिब ३५.४३ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ, जसमध्ये करिब ३३ प्रतिशत उत्पादन सुक्खायाममा हुनेछ । आयोजनाले ५.८७५ मेगावाट क्षमताको सम्पूर्ण विद्युत् बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ । उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत तिङ्गला सबस्टेशनमा जोडिनेछ । एनआईबीएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले भने, 'यो लगानी हाम्रो पोर्टफोलियोमा एउटा महत्त्वपूर्ण उपलब्धि हो । यसले साना आकारका जलविद्युत् तथा स्वच्छ ऊर्जाका क्षेत्रमा लगानी गर्ने हाम्रो रणनीतिक लक्ष्यलाई फेरि एकपटक स्पष्ट पारेको छ । यस्ता आयोजनाले स्थानीय ऊर्जा सुरक्षा र आर्थिक विकासमा ठूलो टेवा पुर्याउने हाम्रो दृढ विश्वास छ ।' गोर्खाज हिमालयन हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले भने, 'माथिल्लो जुनबेसी खोला आयोजनाको यस महत्त्वपूर्ण चरणमा एनआईबीएल इक्विटी पार्टनर्ससँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ । यो साझेदारीले आयोजनाको निर्माण कार्यलाई अझ गति दिनेछ र समयमै सम्पन्न गर्न मद्दत पुर्याउनेछ। हाम्रो यो सहकार्यले दुर्गम क्षेत्रमा भरपर्दो विद्युत् आपूर्ति बढाउनुका साथै दिगो तथा स्वच्छ ऊर्जातर्फ नेपालको दीर्घकालीन सोचलाई साकार पार्न सहयोग पुग्ने विश्वास लिएका छौँ ।' आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । यस आयोजनाबाट सन् २०२७ अगस्टदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।
एनआईबिएल सहभागिता फण्डको आकार १० अर्ब पुग्यो
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको ‘एनआईबिएल सहभागिता फण्ड’का इकाईहरू लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको छ । योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट योजनाको आकार वृद्धि स्वीकृत भएसँगै इकाईधनीहरूको इकाई पुनः हितग्राही खातामा जम्मा गरिएको जानकारी दिएको हो । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड विगत १३ वर्षदेखि मर्चेन्ट तथा इन्भेष्टमेण्ट बैंकिङ सेवामा सक्रिय रहँदै आएको छ । कम्पनीले म्युचुअल फण्ड व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापन, डिपोजिटरी सहभागी सेवा, निष्कासन व्यवस्थापन, सेयर प्रत्याभूति तथा सेयर रजिस्ट्रार सेवा प्रदान गर्दै आएको जनाएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रवर्द्धक र एनआइएमबि एस क्यापिटल योजना व्यवस्थापक रहेको ‘एनआईबिएल सहभागिता फण्ड’ नेपाल धितोपत्र बोर्डको सामूहिक लगानी कोष नियमावली, २०६७ अन्तर्गत दर्ता भएको देशकै पहिलो खुलामुखी म्युचुअल फण्ड हो । फण्डले इक्विटी, डिबेन्चर, फिक्स्ड डिपोजिट, ट्रेजरी बिललगायत स्थिर आयमूलक साधनमा लगानी गर्दै प्रतिफल सिर्जना गर्दै आएको छ । २०७६ असार २४ गतेदेखि सञ्चालनमा आएको यो खुलामुखी योजना नेपाल स्टक एक्सचेन्जमा सूचीकृत नभई योजना व्यवस्थापकमार्फत प्रत्यक्ष खरिद–बिक्री गर्न सकिने व्यवस्था रहेको छ । प्रारम्भिक रूपमा ६ अर्ब रुपैयाँ आकार (६० करोड इकाई) रहेको योजनालाई नेपाल धितोपत्र बोर्डको स्वीकृतिअनुसार २०८२ चैत ५ गतेदेखि लागू हुने गरी विस्तार गर्दै १० अर्ब रुपैयाँ (१ अर्ब इकाई) पुर्‍याइएको छ । आकार वृद्धि भएसँगै उक्त फण्ड नेपालका म्युचुअल फण्डहरूमध्ये सबैभन्दा ठूलो फण्ड बनेको कम्पनीले जनाएको छ । बीज पुँजीसम्बन्धी व्यवस्थाका कारण लामो समयदेखि इकाई वृद्धि हुन नसक्दा लगानीकर्ताका इकाई हितग्राही खातामा जम्मा हुन नसकेको अवस्थामा नयाँ निर्देशिका लागू भएपछि इकाईहरू पुनः जम्मा गरिएको कम्पनीले स्पष्ट पारेको छ । लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत आफ्नो खातामा इकाई सफलतापूर्वक क्रेडिट भएको पुष्टि गर्न सक्नेछन् । डिम्याट खातामा इकाई जम्मा गर्न ढिलाइ भएकोप्रति कम्पनीले क्षमायाचना गर्दै लगानीकर्ताले देखाएको धैर्यता र विश्वासप्रति धन्यवाद व्यक्त गरेको छ ।
शुक्रबार मध्यरातदेखि संघीय संसद् अधिवेशन अन्त्य हुने
काठमाडौं । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न लागेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी पत्रअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम अधिवेशन अन्त्य गरिएको हो । यससँगै प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु सत्र औपचारिक रूपमा समाप्त हुने भएको छ ।
४ हजारभन्दा बढी विद्यार्थी लाभान्वित, फोनपेको वित्तीय शिक्षा अभियान सम्पन्न
काठमाडौं । फोनपेले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गरी सफलतापूर्वक सम्पन्न गरेको छ । ‘स्मार्ट मनी टक्स: बचत, सोच र सुरक्षित निर्णय’ भन्ने मूल सन्देशलाई केन्द्रमा राख्दै सञ्चालन गरिएको अभियानमार्फत युवापुस्तालाई जिम्मेवार वित्तीय व्यवहार, डिजिटल सुरक्षा तथा स्मार्ट आर्थिक निर्णयबारे सचेत बनाइएको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत फोनपेले देशका ६ शहर र ४ प्रदेशमा रहेका १२ वटा कलेजमा १८ सत्र सञ्चालन गर्दै १,०९० भन्दा बढी विद्यार्थीलाई प्रत्यक्ष रूपमा सहभागी गराएको थियो । साथै विद्यालयस्तरमा ९ शहर र ५ प्रदेशका २८ विद्यालयमा कार्यक्रम सञ्चालन गरी ११ दिनको अवधिमा कुल ४,९६१ भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । कार्यक्रमहरूमा मनोरञ्जनात्मक तथा शैक्षिक गतिविधि समावेश गरिएको थियो, जसले विद्यार्थीहरूलाई खर्च व्यवस्थापन, बचतको महत्व र सही वित्तीय जानकारीको पहिचान गर्न सहयोग पुर्याएको बताइएको छ । कलेज तथा विद्यालयमा प्रस्तुत गरिएको नाटकमार्फत दैनिक जीवनका वित्तीय निर्णयहरूको प्रभावलाई सरल र प्रभावकारी ढंगले प्रस्तुत गरिएको थियो । यसै अभियानअन्तर्गत ‘फाइनान्सियल लिटरेसी स्टुडेन्ट भिजिट’ कार्यक्रम पनि आयोजना गरिएको थियो, जसमा ४० भन्दा बढी विद्यार्थीलाई फोनपे कार्यालयमा आमन्त्रण गरी डिजिटल भुक्तानी प्रणाली, वित्तीय सुरक्षा र वास्तविक कार्यस्थल अनुभवबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो । इन्टरएक्टिभ खेल तथा प्रत्यक्ष प्रस्तुतीमार्फत विद्यार्थीहरूलाई डिजिटल वित्तीय प्रणालीबारे थप बुझाइ दिइएको थियो । फोनपेले डिजिटल प्लेटफर्ममार्फत पनि अभियानलाई व्यापक बनाउँदै सामाजिक सञ्जालमा वित्तीय साक्षरतासम्बन्धी स्किट, छोटा भिडियो, विशेषज्ञमार्फत डिजिटल सचेतना सामग्री, युवा लक्षित सामग्री तथा सहभागिता अभिवृद्धि गर्ने अन्तरक्रियात्मक अभियानहरू सञ्चालन गरेको जनाएको छ । संस्थाले वित्तीय साक्षरता अभिवृद्धि गर्दै सुरक्षित, समावेशी र जिम्मेवार डिजिटल अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता दोहोर्याएको छ । 'आजको सचेत निर्णयले भोलिको सुरक्षित भविष्य निर्माण गर्छ' भन्ने सन्देशसहित आगामी दिनमा पनि यस्ता शिक्षामूलक कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको फोनपेले जनाएको छ ।
अदालतको आदेशपछि एफएनसीसीआईको निर्वाचन स्थगित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको छ । उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेसँगै चैत २९ गते र ३० गते तय भएको महासंघको ६०औं वार्षिक साधारण सभा तथा अधिवेशन स्थगित भएको हो । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनको संयुक्त इजलासका न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालले अन्तरिम आदेश जारी गरेको हो । अदालतले यसअघि जारी भएको परमादेशअनुसार आवश्यक निर्णय नभएसम्म महासंघको साधारण सभा नगर्न/नगराउन आदेश दिएको हो । अदालतले २०८१ फागुन १६ गतेको परमादेश कार्यान्वयन नभएको अवस्थामा साधारण सभा सम्पन्न हुँदा निवेदकहरूलाई असर पर्ने देखिएको भन्दै उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरेको हो । उक्त आदेशअनुसार अब सम्बन्धित विषयमा अन्तिम निर्णय नभएसम्म महासंघको साधारण सभा तथा निर्वाचन प्रक्रिया अगाडि बढ्न नसक्ने भएको छ ।
केयी नेपालले नयाँ वर्ष लक्षित एक्सचेन्ज अभियान सुरु गर्ने
काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा केयी (Kaiyi) गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी प्रा.लि. र जी.ओ. अटोमोबाइल्स प्रा.लि.ले देशभर तीन दिने ‘केयी एक्सचेन्ज क्याम्प’ सञ्चालन गर्ने घोषणा गरेका छन् । ग्राहकहरूलाई सहज, आकर्षक तथा प्रतिस्पर्धी मूल्यांकनमार्फत आफ्ना सवारी साधन स्तरोन्नति (अपग्रेड) गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त एक्सचेन्ज क्याम्प अप्रिल १० देखि १२, २०२६ (२०८२ चैत २७–२९) सम्म देशभर रहेका आधिकारिक केयी प्रदर्शनी कक्ष (शोरूम)हरूमा सञ्चालन हुनेछ । कार्यक्रममार्फत ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर नयाँ केयी मोडलका गाडी विशेष नयाँ वर्ष अफरसहित खरिद गर्न सक्नेछन् । काठमाडौंमा कार्यक्रम थापाथलीस्थित केयी प्रदर्शनी कक्ष नजिक बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी आगन्तुकहरूले प्रत्यक्ष खाना स्टल (लाइभ फूड स्टल) तथा मनोरञ्जनात्मक गतिविधिसहित उत्सवमय वातावरणको अनुभव लिन सक्नेछन् । नेपालमा किफायती तथा मूल्यअनुसार लाभदायी (भ्यालु–फर–मनी) सवारी साधनको बढ्दो मागलाई सम्बोधन गर्दै आधुनिक आवागमन (मोडर्न मोबिलिटी) मा पहुँच सहज बनाउने लक्ष्यसहित अभियान सुरु गरिएको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले नयाँ वर्ष विशेष नगद लाभ, आकर्षक एक्सचेन्ज बोनस, व्यावसायिक सवारी मूल्यांकन, वित्तीय सुविधा (फाइनान्सिङ), सवारी बीमा सेवा तथा ७ किलोवाट वा ३ किलोवाट क्षमताका चार्जर विकल्प प्राप्त गर्नेछन् । साथै प्रत्येक बुकिङमा जोडीका लागि धुलिखेलस्थित दुसित थानी होटलमा एक रातको निःशुल्क बसाइ प्याकेज प्रदान गरिनेछ । कार्यक्रममा ग्राहकहरूले केयीका इलेक्ट्रिक तथा सहरी कम्प्याक्ट मोडलहरू, केयी ई–क्यूट ०२, केयी ई–क्यूट ०४ र केयी एक्स–३ प्रो ईभीबारे जानकारी लिन र अवलोकन गर्न सक्नेछन् । थप जानकारीका लागि ग्राहकहरूले ९८०१२०२००० वा ९८०१२०११०३ नम्बरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।