विकासन्युज

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बंजी नेपाल एडभेन्चरमा छुट हुने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र बंजी नेपाल एडभेन्चरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बालुवाटार–४, काठमाडौं स्थित बैंक र रातोपैरो-१७, पोखरामा स्थित बंजी नेपाल एडभेन्चरबीच बैंकका ग्राहकहरुलाई बंजी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चरको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बंजी नेपाल एडभेन्चर प्रा. लि मा गई एकल बंजी गर्दा १००० रुपैयाँ र जोडी बंजी गर्दा १५०० रुपैयाँ सम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला १७ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै, तेजावी सुन पनि बढेर प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल सरकार र नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ छ । प्रस्तावित ४.७५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४१ करोड नाघ्ने छ ।

बैंकमा काम नगर्ने सीसीटीभी क्यामेरा, संवेदनशील क्षेत्रमा प्रशिक्षार्थी कर्मचारी

काठमाडौं । अन्य क्षेत्रभन्दा बैंकिङ क्षेत्र पारदर्शी हुने भएकाले हरेक कारोबार विश्वसनीय हुन्छन् । ग्राहकका हरेक कारोबार चुस्तदूरूस्त हुन्छन् । साथै, ग्राहकहरूको व्यक्तिगत विवरण र कारोबार पनि गोप्य राखिएको हुन्छ । तर, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक सुपरिवेक्षण प्रतिवेदन २०२२/२३ अनुसार कोर बैंकिङ प्रणाली वा संवेदनशील क्षेत्रमा प्रशिक्षार्थी तथा इन्टर्नहरूलाई काम गर्न खटाइएको पाइएको छ । वार्षिक रूपमा भएका घटनाहरूको अभिलेख राखेर बैंकहरूले आफ्नो व्यवसायिक योजना बनाउनु पर्ने हुन्छ । तर, यस्ता घटनाको प्रतिवेदन तयार गर्ने, आवधिक विश्लेषण गर्ने र व्यवस्थापकीय बैठकमा छलफल गरी उपयुक्त नीति निर्माणको अभाव देखिएको राष्ट्र बैंकको भनाइ छ । केही बैंकहरूले प्रमुख जोखिम सूचकहरूको पहिचान र जोखिम दर्ताका कागजातहरूका लागि उपयुक्त प्रणाली समेत विकास नगरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंकहरूको व्यवस्थापन टिमसँग ऋणका समस्या, ऋण प्रतिबद्धता र आकस्मिक दायित्व, माइग्रेसन लगायत प्रतिवेदन समेत उपलब्ध छैनन् । बैंकको कर्जा नोक्सान प्रावधान प्रणालीमा निष्क्रिय कर्जा (व्यवसाय सञ्चालन नभएको, कोषको दुरुपयोग, कालोसूचीमा राख्ने) गुणात्मक र अन्य मापदण्डहरू क्याप्चर गर्ने पर्याप्त प्रणाली छैन । बैंक खाता खोल्दा फारमहरू पूर्ण रूपमा भरिएका छैनन् भने पीईपी प्रमाणीकरण, स्वघोषणाका फारमहरू फारमहरू हराइरहेका छन् । साथै, लेखापरीक्षकले उठाएका मुद्दाहरूलाई समयमै सम्बोधन नगरेको, वितरण नगरिएका चेक र डेबिट कार्डहरू समयमै नष्ट नगरेको राष्ट्र बैंकको सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख छ । गलत क्रियाकलाप, शंकास्पद कारोबार लगायतका क्रियाकलाप न्यूनीकरण गर्न भिडियो निगरानी प्रयाप्त नभएको राष्ट्र बैंकले जनाएको छ । सीसीटीभी क्यामेरामा ९० दिनभन्दा कम ब्याकअप, ब्लर भिजिबिलिटीका कारण प्याकेट र बन्डलहरू पहिचान गर्न नसकिने, क्यामेरा बिग्रिएको, एन्टिलाइट लोकेशन जस्ता समस्याहरू छन् । कर्मचारी बढुवा नीति प्रभावकारी कार्यान्वयन नभएको, धेरै बैंकहरूको कर्मचारी कार्यसम्पादन मूल्याङ्कन बैंकको मानव संसाधन विनियमले निर्देशित गरेबमोजिम समयमै सञ्चालन नभएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, धेरै बैंकमा थोरै निक्षेपकर्ताहरूको ठूलो रकम निक्षेप रहेको छ । यी निक्षेपकर्ताहरूबाट अचानक रकम निकासी हुँदा बैंकहरूमा चरम तरलता तनाव निम्त्याउन सक्ने राष्ट्र बैंकको भनाइ छ । साथै, राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आकस्मिक कोष योजना तयार नहुँदा तरलता अभाव हुने गरेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार कतिपय बैंकले व्यवसाय निरन्तरता गर्ने योजना समेत बनाएका छैनन् । साथै योजना बनाएका बैंकले व्यवसाय निरन्तरता गर्न डिल गर्न सकेका छैनन् ।

वीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व संकलन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व संकलन गरेको छ। महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा रु १२ करोड ७० लाख ४३ हजार सात सय ८२ संकलन भएको छ। महानगरले दोस्रो धेरै घरबहाल करबाट रु चार करोड ५५ लाख ७५ हजार आठ सय ६७ रहेको छ । महानगरले २४ वटा शीर्षकमा राजस्व संकलन गर्दै आएको छ । वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आवको नौ महिनाको तुलनामा चालु आवमा रु दुई करोड ९५ लाख बढी राजस्व संंकलन गरेको बताए । ‘गत आवको नौ महिनाको तुलनामा यो आवमा राजस्व संकलनमा सुधार देखिएको छ,’ उनले भने । गत आवको नौ महिनामा भने रु ३३ करोड ८० लाख ५४ हजार तीन सय ६० राजस्व संकलन भएको थियो । वीरगञ्ज महानगरले गत आवभरिमा भने रु ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व संकलन गरेको थियो । त्यसैगरी, महानगरले आव २०७८/७९ मा भने रु ५१ करोड २२ लाख २४ हजार चार सय ९० राजस्व संकलन गर्‍याे । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जमा आयोजित सार्वजनिक कार्यक्रममा वीरगञ्जका ठूला उद्योगी व्यवसायीलाई घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गरेका थिए । ‘नेपालको संविधानमा नै घरबहाल कर स्थानीय तहले संकलन गर्ने भनिएको छ,’ उनले भने, ‘ठूला उद्योगले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा कर तिर्दा स्थानीय सरकारको राजस्वमा केही कमी आएको छ। त्यसैले घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गर्दछु ।’ महानगरले चालु आव २०८०/८१ को लागि रु तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ रु दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार र पुँजीगततर्फ रु ६८ करोड ८७ लाख १५ हजार छुट्याइएको थियो । महागरले बजेट तथा नीति कार्यक्रममा चालु आवमा आन्तरिक राजस्वबाट रु एक अर्ब २० करोड ४४ लाख ३० हजार संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । रासस

३ वटामात्रै विधेयक पारित गरेर सकियो संसदको हिउँदे अधिवेशन, २४ विधेयक संसदमै

काठमाडौं । विधेयक अधिवेशनको रुपमा लिइने संसदको हिउँदे अधिवेशन ३ वटा विधेयकमात्रै पारित गरेर अन्त्य भएकोमा २४ वटा विधेयकहरु अझै संसदमै रहेको अवस्था छ । गत वर्षको माघ २२ गतेदेखि शुरु भएको प्रतिनिधि सभाको तेस्रो र राष्ट्रिय सभाको पन्ध्रौँ अधिवेशन यही वैशाख २ गते समाप्त भएको हो । अधिवेशनको बीचमा प्रतिनिधि सभा र राष्ट्रिय सभाले ३ वटा विधेयकहरु मात्रै पारित गर्न सफल भएको छ । दुवै सभाले सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ पारित गरेको छ । विधेयक अधिवेशन भनिएपनि विधेयकहरु पारित गर्नमा संसदको सक्रियता भने देखिएन । राजनीतिक दलका सांसदहरु स्वयं संसदले विधेयकहरु पारित गर्न नसकेको भन्दै असन्तुष्ट देखिने गरेका छन् तर उनीहरुले एकअर्काको राजनीतिक दललाई आरोप लगाउने गरेका छन् । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले प्रतिनिधि सभामा ९ वटा विधेयक, प्रतिनिधि सभाको समितिमा १४ वटा विधेयक र राष्ट्रिय सभाको समितिमा एउटा विधेयक रहेको जानकारी दिए । प्रतिनिधि सभामा ९ वटा विधेयक, राष्ट्रिय सभामा शुन्य प्रतिनिधि सभामा हाल ९ वटा विधेयकहरु रहेका छन् । प्रतिनिधि सभामा राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक, २०८०, संघीय निजामती सेवा विधेयक, २०८०, राष्ट्रिय मर्यादा सम्वन्धी विधेयक, २०७९ र विद्युतीय व्यापार विधेयक, २०८० रहेका छन् । त्यस्तै शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक, २०८०, विधायन सम्बन्धी विधेयक, २०८०, बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० र औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक २०८० रहेका छन् । त्यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व(पहिलो संशोधन विधेयक) २०८० पनि प्रतिनिधि सभामा रहेको छ भने राष्ट्रिय सभामा हाल कुनैपनि विधेयक नरहेको संघीय संसद सचिवालयको सहायक प्रवक्ता दशरथ धमलाले बताए । प्रतिनिधि सभाको समितिमा १४ वटा विधेयक, राष्ट्रिय सभाको समितिमा एउटा प्रतिनिधि सभाका समितिहरुमा १४ वटा विधेयक रहेका छन् भने राष्ट्रिय सभाका समितिमा एउटा मात्रै विधेयक रहेको उनले जानकारी दिए । प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग(तेस्रो संशोधन) विधेयक २०७६, भ्रष्टाचार निवारण(पहिलो संशोधन) विधेयक २०७६, संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र निर्माणमुखी सामग्री(व्यवस्था तथा नियमन) विधेयक २०८० रहेको उनले बताए । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, विद्यालय शिक्षा विधेयक २०८०, नेपाल विश्वविद्यालय विधेयक २०७९ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ रहेको बताइएको छ । सुरक्षण मुद्रण सम्बन्धी विधेयक समितिले पारित गरिसकेको अवस्थामा छ । त्यस्तै, कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक छ । अन्तर्राष्ट्रिय सम्वन्ध र पर्यटन समितिमा अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक २०७७ छ । पूर्वाधार विकास समितिमा विद्युत विधेयक २०८० छ । त्यसैगरी, अर्थ समितिमा भन्सार विधेयक २०८० र बैंकिङ कसुर तथा सजाय विधेयक २०८० रहेको प्रवक्ता धमलाले उल्लेख गरे । राष्ट्रिय सभा अन्तर्गतको समितिमा सुरक्षित कारोबार(पहिलो संशोधन) विधेयक २०८० रहेको उनले बताए । संसदीय प्रश्तावहरुको अवस्था यस्तो प्रतिनिधि सभामा दर्ता भएका ३ वटा जरुरी सार्वजनिक महत्वको प्रश्ताव र एउटा संकल्प प्रश्ताव संसद अधिवेशन अन्त्य भएसँगै निष्क्रिय भएका छन् । सवारी दुर्घटनाको कारणहरुका बारेमा छलफल गरी यथाशिघ्र समाधानको उपायको खोजी गर्न भनि दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव छलफल नै नभइ निष्क्रिय भएको छ । त्यस्तै, रसिया र युक्रेन युद्धमा सहभागी गराइनु जघन्य अपराध भएको भन्दै यस सम्बन्धमा प्रतिनिधि सभामा छलफल गरी सरकारको ध्यानाकर्षण गराउने सम्बन्धको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पनि छलफल नभइ निस्क्रिय भएको छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार विवाह गर्नुपूर्व स्थानीय तहले प्रमाणित गरेको नावालिका प्रमाणपत्र पेश गर्ने व्यवस्था गरियोस् भन्ने संकल्प प्रस्ताव र सार्वजनिक पद धारण गरेका पूर्व एवं बहालवाला पदाधिकारीहरुको सम्पत्ति जाँचबुझ गर्न गठित समितिहरुको कार्यान्वयन गर्न एवं त्यस्ता पदाधिकारीहरुको परिवारको नाममा रहेको सम्पत्ति समेत छानविन गरी कारबाहीको दायरामा ल्याइ कारबाही गर्न अत्यावश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पनि निष्क्रिय भएको छ । त्यसैगरी, राष्ट्रिय सभाले संविधान जारी भएको नवौँ वर्षगाँठको सन्दर्भमा आगामी २०८१ असोज ३ गतेसम्म उल्लेखित सम्पूर्ण कानूनहरु बनाई सक्न संघीय संसदको चालु पन्ध्रौँ अधिवेशनभित्रै संसद समक्ष विधेयकको मस्यौदा गरी पेश गर्ने सम्बन्धी संकल्प प्रश्ताव पारित गरेको छ । राष्ट्रिय सभाले निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी संकल्प प्रश्ताव पनि पारित गरेको छ । गत अधिवेशनमा दर्ता भएको राष्ट्रिय सभामा दर्ता भएको सवारी दुर्घटना न्युनिकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रश्ताव भने निष्क्रिय भएको छ । सो प्रश्तावको प्रश्तावक दिलकुमारी रावल थापा पार्वतीको कार्यकाल सकिएर राष्ट्रिय सभाबाट बिदा भएसँगै सो प्रश्ताव निष्क्रिय भएको जनाइएको छ ।

मंगलबार ७ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । मंगलबार एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्दैछ । बैठकमा नेपाल सरकार (मन्त्रीस्तर) बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरुको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीहरुको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरुको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षहरु) का बारेमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे हुने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा भानुभक्त प्राणी उद्यानको मुआब्जा, जडिबुटी अध्ययन तथा अनुसन्धानका नीतिगत तथा कानूनी जटिलता एवं डढेलो तथा हात्ती आतंक नियन्त्रण सम्बन्धी समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयका मन्त्री/सचिव एवं सम्बन्धित विभागका विभागीय प्रमुखहरु, अर्थ मन्त्रालयका सचिव र सम्बन्धित सरोकारवालाहरुसंग छलफल गर्ने कार्यसूचि रहेको छ । त्यस्तै बिहान ११ बजे नै बस्ने अर्थ समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट कार्यान्वयन सम्बन्धी छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँग छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी बजेट २०८१/०८२ का सम्बन्धमा पूर्वबजेट छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषम छलफल हुनेछ भने बिहान साढे ११ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा प्रश्तावित महालेखा परीक्षकको संसदीय सुनुवाई हुनेछ ।

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

ढोरपाटन । आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो । हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन् । भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको छ । मन्दिरमा आज विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजन आउने गरेका छन् । बागलुङ कालिकाको पूजाआराधना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । धवलागिरि क्षेत्रको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा चैतेदसैँमा हजारौँ भक्तजन आउने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का बताए । नवरात्र सुरु भएदेखि नै दैनिक हजारौँ भक्तजन आएका उनले बताए । मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । चैतेदसैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला पनि चैत ३० गतेदेखि सुरु भएको छ । मेला वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ । ‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन– स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ नाराका साथ यस वर्षको चैतेदसैँ मेला आयोजना गरिएको हो । चैतेदसैँका अवसरमा खुला राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, खुला राष्ट्रिय भलिबल प्रतियोगितालगायतका प्रतियोगितात्मक र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । आयोजकहरूका अनुसार लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख, द्वितीयलाई रु एक लाख र तृतीय हुनेलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ । दोस्रो आकर्षणका रूपमा कालिका कप खुला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । तीन लाख पुरस्कार राशिको उक्त प्रतियोगितामा द्वितीय हुनेले रु एक लाख ५० हजार र तृतीय हुनेले रु एक लाख पाउनेछन् । रासस