सिटिजन्स बैंकले दिन्छ निःशुल्क इ–कम कार्ड, वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक लगायतका योजनाहरु सार्वजनिक गरेको हो । सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत १००० रुपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढिमा १७० रुपैयाँ क्यासब्याक दिइने छ । यसैगरी सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि ५०० रुपैयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा १७० रुपैयाँ क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ । डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधीभरमा इ-कम कार्ड लिन चाहने ग्राहकहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ । त्यसैगरि बैंकले यस योजना अवधिभर ग्राहकहरुका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ । साथै बैंकका निश्कृय मोबाईल बैंकिङ्ग ग्राहकहरुलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुष्ठ १५० रुपैयाँ छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
अमेरिकी सहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द
तेहरान । प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी सहर इलिनोइस, क्यालिफोर्निया, न्युयोर्क र प्यासिफिक नर्थवेस्टमा सडक अवरुद्ध गर्नुका साथै अस्थायीरूपमा देशको सबैभन्दा धेरै प्रयोग हुने विमानस्थलहरू, गोल्डेन गेट, ब्रुकलिन पुल र व्यस्त ठाउँहरूमा यात्रा बन्द गरेका छन् । आयोजकमध्येका एक रिफ्का फालानेले शिकागोमा प्रदर्शनकारीहरूले काँध मिलाएर एक सय ९० लेन अवरुद्ध पारेकोे बताए । उनले प्यालेस्टिनीलाई स्वतन्त्र गर्नका लागि यो विश्वव्यापी आर्थिक नाकाबन्दीको हिस्सा रहेको बताए। प्रदर्शनकारीहरूले गोल्डेन गेट ब्रिजमा सबै सवारी साधन, पैदल यात्री र बाइक ट्राफिकहरू बन्द गरेको र ओकल्यान्डको अन्तरराज्यीय ८८० मा सिमेन्टले भरिएका ५५ ग्यालेन ड्रममा बाँधेर राखेकाले सानफ्रान्सिस्को खाडी क्षेत्रमा ट्राफिक घन्टौँसम्म रोकिएको थियो ब्रुकलिनमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूले ब्रुकलिन ब्रिजमा म्यानहट्टन जाने यातायात अवरुद्ध गरेका थिए । प्रदर्शनकारीले युजिन, ओरेगनका साथै पाँच अन्तरराज्यीय अवरुद्ध गरेर करिब ४५ मिनेटका लागि प्रमुख राजमार्गमा यातायात बन्द गरेका थिए । प्रदर्शनकारीहरूले सबैभन्दा ठूलो ओहेर विमानस्थललाई छनोट गरेका थिए । इजराइल र हमासबीचको युद्धमा तत्काल युद्धविरामका लागि प्रदर्शनकारीहरूले आह्वान गरेका थिए । हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको हमलामा करिब एक हजार दुई सय व्यक्तिको मृत्यु भएदेखि शिकागोमा दैनिकरूपमा युद्धविरोधी प्रदर्शन भइरहेका छन् । गाजा स्वास्थ्य मन्त्रालयले इजराइली आक्रमणमा ३३ हजार सात सयभन्दा बढी प्यालेस्टिनी मारिएको जनाएको छ । मन्त्रालयले आफ्नो गणनामा नागरिक र लडाकुहरू बीचको भिन्नता नराखेको र मृतकमध्ये दुई तिहाइ महिला र बालबालिका रहेको बताएको छ । ओहेर विमानस्थलले सामाजिक सञ्जाल एक्समा यात्रीहरूलाई कार यात्राका साथै यातायातको वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ । ट्राफिक जाममा फसेका केही यात्रु आफ्नो कार छाडेर सामान बोक्दै विमानस्थलतर्फ हिँडेका थिए । शिकागो उड्डयन विभागले १५ मिनेटभन्दा कमको ढिलाइका साथ विमानस्थल सञ्चालनमा आएको जनाएको छ । ओहेरतर्फको ट्राफिक बिहान करिब ९ बजे सञ्चालनमा आएको थियो । सिएटल नजिकै वासिङ्टन राज्य यातायात विभागले प्रदर्शनले सिएटल–टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य सडक बन्द गरेको बताएको छ । सामाजिक सञ्जाल पोष्टहरूले राजमार्गमा उभिएर ब्यानर बोकेका र प्यालेस्टिनी झण्डा फहराएको देखाएका छन् । सडकहरू करिब तीन घण्टापछि खुला भएका थिए । क्यालिफोर्निया राजमार्ग गस्तीका अनुसार गोल्डेन गेट ब्रिज प्रदर्शनमा लगभग २० प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारीहरूले अन्तरराज्यीयमा दुईवटा विन्दुमा उनीहरूलाई पक्राउ गरेका हुन् । रासस
स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकलाई छुट
काठमाडौं । स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई छुट हुने भएको छ । बैंकका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपालबीच दुई पक्षीय समझदारी भएको हो । सो समझदारी पत्रमा प्रभु बैंकको तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रा.लि (स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले ग्राहक वर्गलाई अतिरिक्त लाभ दिने उद्देश्य सहित गरेको यस सम्झौता अन्तर्गत , प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले यो सुविधा उपभोग गर्न पाउने बैंकले जनाएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले कमलादी स्थित वन्डर्स नेपाल प्रा.लि.को स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ । बैंकद्धारा यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौताहरु देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक ईकाइहरुमा समेत भएको जानकारी बैंकले दिएको छ । स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको तीनसय ६० डिग्रीमा द्दश्यावलोकन गरि मनोरजंन लिन सकिन्छ । यस बैंकले विश्वभरबाट रेमिटान्स सेवा दिदै रेमिटान्स खाता मार्फत उच्च व्याजदरमा सेवा दिदै आइरहेको बैंकले जनाएको छ ।
सीप मेला आयोजना गर्दै काठमाडौं महानगर, १५ हजारलाई रोजगारमूलक तालिम दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले यही वैशाख १९ गतेदेखि एक महिने ‘सीप मेला’ आयोजन गर्ने भएको छ । कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौंको समृृद्धि’ अन्तर्गत सीप मेला गर्न लागेको हो । मेलाका लागि कामपाले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गरिएको जनाएको छ । तालिम सञ्चालन र व्यवस्थापनमा महासङ्घले काम गर्नेगरी कामपा सामाजिक विकास विभाग र महासङ्घबीच सम्झौता भइसकेको विभागका निमित्त प्रमुख बिमला कोइरालाले जानकारी दिए ।उनका अनुसार वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना हुने ‘सीप मेला’ बाट १० क्षेत्रका ३६ पेसासम्बन्धी दुई हजार ८१ जनालाई तालिम दिने लक्ष्य राखिएको छ । तालिमका प्रशिक्षक, आवश्यक पर्ने सामग्री तथा उपकरण व्यवस्थापन गर्ने, प्रयोगात्मक प्रदर्शनी गर्ने दायित्व महासङ्घको हुने कोइरालाले बताए । कामपाले स्वीकृत गरेको पाठ्यक्रममा तालिम सञ्चालन हुनेछ । तालिम सकिएपछिको दस्तावेज कामपालाई बुझाउनुपर्ने उनको भनाइ छ । ‘मेलाले, छरिएर रहेका सीपलाई एकीकृत गर्ने र सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्याउने लक्ष्य पूरा गराउन मद्दत गर्नेछ’, प्रमुख कोइरालाले भने, ‘१८ वर्ष उमेर पूरा भएका ५८ वर्षसम्म उमेर समूहका व्यक्तिले तालिममा सहभागी हुन पाउनेछन् ।’ उनका अनुसार १५ हजार व्यक्तिलाई रोजगारमूलक तालिम दिएर पाँच हजारलाई प्रत्यक्ष रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित कार्यक्रम गर्न लागिएको हो । तालिममा १० क्षेत्र निर्धारण ‘अहिले तर्जुमा गरिएका तालिमका क्षेत्रमध्ये हलुका सवारीसाधन एउटा हो । यसमा अटो इलेक्ट्रिक, अटो डेन्ट पेन्ट, अटो एअर कन्डिसन प्रशिक्षण राखिएका छन् । विद्युतीय सवारीसाधनमा मोटरबाइक र स्कुटर रिपेयर तालिम यसअन्तर्गत राखिएका छन्’, प्रमुख कोइरालाले भने । निर्माण क्षेत्रअन्तर्गत सिकर्मी, टाइल एण्ड मार्बल फिटर र इलेक्ट्रिसियन तालिम हुनेछन् । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधाअन्तर्गत चाइनिज, इन्डियन र कन्टिनेन्टल फुड, बेकरीसम्बन्धी, सूचना प्रविधिअन्तर्गत डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सिसीटिभी क्यामरा जडानसम्बन्धी हुने उनले जानकारी दिए । त्यस्तै, मेकानिकलमा रेफ्रिजेरेटर र एसी टेक्निसियन, आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण, टेलरिङ, ब्यूटिसियनअन्तर्गत नेल, मेक अप, आइलेस, हेअर कट एण्ड स्टाइल हुनेछ । नवौँ क्षेत्र इन्टेरियर डिजाइनिङ् हो भने दशौँमा ग्रीन सोलुसन, प्लास्टिक रिसाइक्लिङलगायत छन् । रासस
सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला, सस्तोमा गुणस्तरीय सेवा
काठमाडौं । टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) बाहिर विहानैदेखि लामो लाइन छ । सोमबार झिसमिसेमै यहाँ आइपुगेकाहरुको घाम चर्कँदासम्म पनि पालो आइपुगेको छैन । सोमबार विहानै ६ बजे स्वयम्भूबाट यहाँ आइपुगेकी ५० वर्षीय उमा श्रेष्ठ हातमा टोकन लिएर पालो कुर्दै छिन् । ‘झिसमिसेमै आइपुग्दा पनि लाइन लामो भइसकेको थियो, टोकन लिएर पालो कुरिरहेकी छु’, उनले भनिन् । स्वास्थ्यमा खासै समस्या नभए पनि नजिककाहरुले टेकुको प्रयोगशालामा राम्रो छ भनेपछि परीक्षण गरौँ न त भनेर यहाँ आएको उनले सुनाए । ‘म त नियमित योगा गर्छु । खासै बिरामी पर्दैन । तै पनि शरीरमा कुनै रोग छ कि भनेर स्वास्थ्य परीक्षण गर्न आएकी हुँ’, उनले भनिन् । टोकन लिएर उमा जस्तै पालो कुर्नेमा चाबहिलबाट आएका २७ वर्षीय आशुतोष पौडेल पनि छन् । उनी ‘भिटामिन डी’ र ‘आइरन’ परीक्षण गर्न आएको थियो । ‘म प्रायःजसो परीक्षणका लागि यहीँ आउँछु । यहाँ गराएको जाँचले विश्वस्तरीय मान्यता पाउने रहेछ’, उनले भने,‘केही बेर पालो कुर्नु परे पनि सेवा भने छिटो छ । चिकित्सकले नभने पनि नियमित परीक्षण गराइरहेको हुन्छ ।’ उनले प्रयोगशालाको सेवा राम्रो भए पनि लाइन व्यवस्थापनमा सुधार गर्न सकिने बताउछन् । प्रयोगशालामा विहानैदेखि सेवाग्राहीको घुइँचो बढिसकेको थियो । सेवा लिन कुरिरहेका र सेवा लिइसकेकाहरुको घुइँचो घटेको थिएन । प्रयोगशालाको परीक्षण सस्तो र विश्वासिलो भएकाले सेवाग्राहीको भीड लागेको स्वयम् सेवाग्राहीहरु नै बताउछन् । पकनाजोलबाट ‘होल बडी चेकअप’का लागि आएका ६३ वर्षीय रामराजा धिताल यहाँको परीक्षण विश्वासयोग्य भएको बताउछन् । ‘बुढेसकाल लाग्यो । खुट्टाहरु दुख्छन् । शरीरमा सुगरलगायतका अरु समस्या छ कि भनेर परीक्षण गर्न आएको हुँ’, उनले भने । उनी अरुलाई पनि यहाँ परीक्षणका लागि सुझाव दिनछन्।’ नार्गाजुन नगरपालिका–६ रामकोटकी ४३ वर्षीया एलिना उप्रेती पनि प्रयोगशालाको परीक्षण सस्तो र विश्वासिलो भएकैले यहाँ आएको सुनाए । उनि सरकारले यहाँ विशेष खालका अपाङ्गता भएका व्यक्तिलाई छुटको व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘म मनोसामाजिक अपाङ्गता भएको व्यक्ति हुँ । अरु खालका अपाङ्गता भएकालाई छुट दिने व्यवस्था भए पनि हाम्रो लागि त्यस्तो छैन, अब त्यो हुुनपर्छ ।’पालो पाउन भने धेरैबेर कुर्नु परे पनि सेवा पनि गुणस्तरीय भएको उनको बुझाइ छ । प्रयोगशाला बाहिर देखिएको सेवाग्राहीको भीड र उनीहरुको विश्वासले जनस्वास्थ्य प्रयोगशालाले सेवाग्राहीहरुको मत जितेको प्रष्ट हुन्छ । सन् १९६८ मा स्थापना भएको प्रयोगशालामा हाल दुई सय २८ वटा परीक्षण उपलब्ध छन् । पछिल्लो तीन महिनामा प्रयोगशालामा एक लाख ८५ हजार दुई सय ७५ जनाले सेवा लिइसकेका छन् । प्रयोगशालाका अनुसार आर्थिक वर्ष २०७९/८० मा पाँच लाख ५९ हजार चार सय सातले सेवा लिएका थिए भने १२ लाख ६२ हजार नौ ५० वटा परीक्षण भएका छन् । प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टका अनुसार आईएसओ मान्यता प्राप्त नेपालको एक मात्र सरकारी प्रयोगशाला भएकाले पनि धेरैले रुचाएको र विश्वासिलो मानेका हुनसक्छन् । उनी भन्छन, ‘सस्तोमा गुणस्तरीय सेवा दिएकाले पनि सेवाग्राहीको चाप र घुइँचो देखिएको हो । हामीकहाँ सुगर परीक्षण त रु २५ मै हुन्छ ।’ सेवाग्राहीको चाप बढ्दै गएको र पालो पर्खनुपर्ने ठाउँ साँगुरो भएकाले पनि धेरै सेवाग्राहीबाट यो गुनासो आउने गरेको डा भट्टले बताए । उनले भने, ‘पूर्वाधार बिस्तारमा जोड दिनुपर्ने छ । नयाँ भवन बन्ने क्रममा छ । त्यो बन्यो भने सेवा थप बिस्तार गर्न सकिन्थ्यो । भवन बनिराखेकाले पनि ठाउँ साँघुरो भएको छ ।’ ‘एनपिएचएल’ ले सङ्क्रामक र नसर्ने रोगका लागि विशेष परीक्षण, प्रयोगशालाको अनुगमनको पाटो पनि हेर्छ । डा भट्टले भने,‘सेवा २४सै घण्टा सुरु गर्नुपर्ने सुझाव सेवाग्राहीबाट आउने गरेको छ । अस्पतालमा आधारित प्रयोगशाला नभएकाले आगामी दिनमा नसर्ने रोगको परीक्षणमा बढी केन्द्रित रहने बताउदै डा भट्टले थपे, ‘नसर्ने रोगको भार झन बढेको छ । आगामी दिनमा जटिल खालका रोगहरुको परीक्षण बढाउनेछौँ । क्यान्सरको कतिपय परीक्षण अझै पनि बाहिर पठाउनुपर्ने अवस्था छ ।’ हाल पाँच वटा बुथबाट प्रयोगशालामा सेवा प्रदान भइरहेको छ । दैनिक अधिकतम सात सय र कहिलेकाहीँ एक हजारसम्म सेवाग्राही आउने गरेको उनले सुनाए । बताउछन् प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीका अनुसार एक दिनमा थोरैमा पनि चार सय सेवाग्राहीले आउने गरेका छन् । उनका अनुसार प्रयोगशालामा ज्येष्ठ नागरिक, सुत्केरी, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई छुट्टै बुथ र छुटको पनि व्यवस्था छ । यहाँ आउनेमा सबैभन्दा बढी ‘होल बडी चेकअप’ नै गराउन आउने गरेको उनको भनाइ छ । परीक्षणका लागि बिहान ८ बजेबाट २ बजेसम्म टोकन वितरण हुन्छ । तर सेवाग्राही भने विहान अध्यारोँ छँद यहाँ आउने गरेका छन् । सार्वजनिक बिदाबाहेक आइतबारदेखि शुक्रबारसम्म प्रयोगशालाले सेवा दिँदै आइरहेको छ । शुक्रबार भने विहान ८ देखि दिउँसो १२ बजेसम्म परीक्षण हुन्छ । जैसी भन्छिन, ‘धेरैले लाइन बस्न समस्या भयो भनेर गुनासो गरेको छ । पहिले सेवाग्राही आफैले मेसिनबाट टोकन लिन मिल्ने व्यवस्था राखिएको थियो तर त्यसको दुरपयोग भएको पाइयो । कतिले टोकन नै बेचेको पाइएपछि हाल ८ बजे मात्र हामी आफैँ टोकन दिन्छौँ ।’ उनका अनुसार प्रयोगशालामा अन्यत्र कतै नहुने परीक्षण पनि उपलब्ध छन् । जुन सबै सर्वसुलभ दरमा उपलब्ध रहेको उनको भनाइ छ । निजी प्रयोगशालामा रु १० हजारसम्म पर्ने ‘होलबडी चेकअप’ यहाँ आधाभन्दा सस्तोमा उपलब्ध रहेको जैसीको भनाइ छ । ‘सस्तोमा रु २५ मा हुने परीक्षण पनि छ भने रु ५० हजार पर्ने मिर्गौला प्रत्यारोपणअघि गराइने परीक्षणको सेवा पनि उपलब्ध छ’, उनले भने । रासस
महालेखापरीक्षकमा तोयम राया सर्वसम्मत अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए । प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
सामाजिक विकास कार्यालयमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुमाथि ठूलीभेरी नगरपालिका–३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट प्राप्त भएको रकम अनियमितता गरेको पाइएको छ । आयोगले सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख आचार्य, सव–इञ्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध नौ लाख ९३ हजार नौ सय ४० रुपैयाँ बराबरको बिगो दावी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । रासस
नेपाल एसबिआई बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको छ । बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ । यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।