विकासन्युज

दिल्ली संसारकै व्यस्त १० विमानस्थल सूचीमा

काठमाडौं । भारतको दिल्ली विमानस्थल सन् २०२३ का लागि विश्वको व्यस्त विमानस्थल सूचीमा १० नम्बरमा परेको छ । हार्ट्सफिल्ड-ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थल यो सूचीको शीर्ष स्थानमा छ । एयरपोर्ट्स काउन्सिल इन्टरनेसनल (एसीआई) वर्ल्डका अनुसार भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल व्यस्तताका हिसाबले १०औं स्थानमा छ भने दुबई र डालस विमानस्थल क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । सोमबार सूची सार्वजनिक गर्दै एसीआईले सन् २०२३ का लागि विश्वव्यापी कुल हवाई यात्रु प्रक्षेपण ८ अर्ब ५० करोड नजिक रहेको पनि बताएको छ जुन कोरोना महामारी अघिको स्तरभन्दा ९३.८ प्रतिशत र २०२२ को तुलनामा २७.२ प्रतिशतले बढी हो । प्रतिवेदनका अनुसार विश्वका शीर्ष १० व्यस्त विमानस्थलमध्ये पाँचवटा अमेरिकाका छन् । १०औं स्थानमा दिल्ली विमानस्थल रहेको छ जहाँबाट २०२२ मा ७ करोड २२ लाखभन्दा बढी यात्रुले यात्रा गरेका थिए । २०२२ मा दिल्ली नवौं स्थानमा थियो । हार्ट्सफिल्ड-ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थल सूचीको शीर्षमा छ र गत वर्ष १० करोड ४ लाख ६० हजारभन्दा बढी यात्रुलाई सेवा दियो । अधिभोगका हिसाबले यो दुबई अन्तर्राष्ट्रिय विमानस्थलको पछि छ । जसबाट ८ करोड ६९ लाखभन्दा बढी हवाई यात्रु आवागमन गरे । डलास फोर्थ वर्थ अन्तर्राष्ट्रिय विमानस्थल २०२३ मा ८ करोड १७ लाखभन्दा बढी यात्रुले प्रयोग गरेका थिए, जुन सूचीको तेस्रो स्थानमा छ । सूचीमा चौथो स्थानमा लन्डनको हिथ्रो विमानस्थल, पाँचौंमा टोकियोको हानेडा विमानस्थल, छैटौंमा डेन्भर अन्तर्राष्ट्रिय विमानस्थल, सातौंमा इस्तानबुल विमानस्थल, आठौं स्थानमा लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थल र नवौं स्थानमा शिकागोको ओहारे अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । एसीआई विश्वका एयरपोर्टहरूको व्यापारिक संगठन हो । एजेन्सी

भद्रपुर-इलाम-सलकपुर सडक कालोपत्र गरिँदै

झापा । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र भइरहेको छ । उक्त सडकखण्ड अन्तर्गत पाँच किलोमिटर कालोपत्र भइसकेको छ । झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसार हालसम्म सडकको भौतिक प्रगति ४० प्रतिशत भएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको मूल्य अभिवृद्धि कर (भ्याट) सहित २६ करोड ६९ लाख ३३ हजार ८ सय २८ रुपैयाँमा निर्माण कम्पनी कनकाई मोती जेभीले ठेक्का सकारेको हो । इन्जिनियर चौधरीले भद्रपुर–फडानी पुलबाट इँटाभट्टासम्मको १० किलोमिटर सडक निर्माणमा कुनै समस्या नभएको बताए । दुई महिनाभित्रमा सडक निर्माण पूरा हुनेमा आफू विश्वस्त रहेको उनले बताए । इँटाभट्टा बजारबाट उत्तरतर्फको १० किलोमिटर खण्डमा स्थानीयको अवरोधका कारण ढिलो भएको बताए ।

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ । निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको महानगरका उपप्रमुख सुनिता डङ्गोलले बताइन् । सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा जुनसुकै प्रकृतिको निर्माणकार्य सुरु गर्नुअघि नै निर्माणकार्य गर्ने व्यक्ति, निजी क्षेत्र, सङ्घसंस्था, कम्पनी, जुनसुकै निकाय वा ठेक्का प्राप्त गर्ने व्यक्तिले अनिवार्य रूपमा महानगरबाट स्वीकृति लिनुपर्ने उनले बताए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ तथा निर्माणसम्बद्ध कानुन र मापदण्डबमोजिम कारबाही हुने महानगरले शनिबार जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ । ‘यही वैशाख ५ गतेदेखि तोकिएबमोजिमको काम नगर्नेलाई प्रचलित कानुनी व्यवस्थाअनुसार कडा कारबाही गर्नेछौँ,’ उपप्रमुख डङ्गोलले भनिन् ।

वाइवाई चाउचाउले आईपीओ जारी गर्ने

काठमाडौं । नेपालको चर्चित वाइवाई  चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सोमबार समाजिक सञ्जाल एक्समा लेख्दै छिट्टै सर्वासाधारणका लागि आईपीओ जारी गर्ने बताएका हुन् । ‘ ‘तपाईंहरूलाई मनपर्ने चाउचाउको आईपीओ जारी गर्ने योजनामा छौं,’ उनले लेखेका छन्, ‘यो कुरा तपाईंहरूमाझ बाँड्न पाउँदा एकदमै खुसी र उत्साहित छौं ।’

दैजी-जोगबुढा सडक निर्माण कछुवा गतिमा

महेन्द्रनगर । विसं २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको दैजी–जोगबुढा सडकखण्डको काम कछुवा गतिमा अघि बढेको छ । बेदकोट नगरपालिकाको छेलाबाट १३ किलोमिटर सडक निर्माणमा विलम्ब भएको जिल्लास्थित भौतिक पूर्वाधार विकास कार्यालयले पनि स्वीकार गरेको छ । कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त खण्ड निर्माण विगत दुई वर्षयता कछुवा गतिमा छ । यहाँस्थित नार्गाजुन कन्स्ट्रक्सनले रु २१ करोडमा निर्माणको जिम्मेवारी पाए पनि काम भने कछुवा गतिमा भइरहेको उक्त कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारीले जानकारी दिए । ‘काम बन्द नै छैन, तर गति भने निकै सुस्त छ,’ प्रमुख अधिकारीले भने, ‘१३ किलोमिटरमध्ये चार–पाँच किलोमिटर सडक निर्माण अझै उस्तै छ । केही वर्षअघि सडकसँगै पहिरोले नाली, तारजालीलगायत संरचना भत्काएपछि सडकको यो अवस्था भएको हो ।’ उनले सात–आठ किलोमिटर सडक कालोपत्र भए पनि पहिरोले धेरै ठाउँमा क्षति पुर्याएको बताए । दैजीबाट कञ्चनपुरको सिमाना पर्ने लिप्नासम्म २१ किलोमिटर सडकखण्डको निर्माणमा सरोकारवाला निकायले चासो नदेखाएको बेदकोट नगरपालिका–३ का स्थानीय बताउँछन् । बेदकोट नगरपालिका–३ का वडाध्यक्ष मोहनबहादुर गुर्धामीले सडक स्तरोन्नतिका लागि पटक–पटक पालिकास्तरबाट ताकेता हुँदै आएको बताए । ‘प्रदेश सरकारको पनि ध्यानाकर्षण गराएका थियौं,’ वडाध्यक्ष गुर्धामीले भने, ‘काम अघि बढाउँछौँ भनेर ठेकेदारका मान्छे भन्छन् मात्रै, गर्दैनन् ।’ कञ्चनपुरको महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुरा पुग्न एक सय ६५ किलोमिटर दूरी पार गर्नुपर्छ भने महेन्द्रनगरबाट दैजी–जोगबुढा हुँदै त्यहाँ ६५ किलोमिटर पार गरेपछि पुगिन्छ ।

गड्डाचौकी नाका तीन दिन बन्द हुने

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ । ‘उत्तराखण्ड चम्पावत जिल्लासग जोडिए दुई नाका मंगलबार साँझ सवा ५ बजेदेखि बन्द हुने भएको छ,’ कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भने, ‘भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका गरिँदै छ ।’ मंगलबार साँझ ५ः१५ बजेदेखि मतदान समाप्ति हुँदासम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन् । ‘स्वास्थ्य सेवाबाहेक अन्य पूर्ण रुपमा बन्द रहनेछन्,’ उनले भने, ‘त्यसका लागि भारतको चम्पावतमा रहेको मजिष्टे«टले प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।’

पहाडी भू-भागमा चट्याङसहित वर्षा, यी प्रदेशमा हावाहुरीको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने

सान फ्रान्सिसको । टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती गर्न लागेको टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आफ्ना कर्मचारीलाई पठाएको आन्तरिक इमेलमा उल्लेख छ । ‘हामी कम्पनीलाई हाम्रो विकासको अर्को चरणका लागि तयार गर्ने हो भने लागत कटौती र उत्पादकत्व बढाउनका लागि कम्पनीको हरेक पक्षलाई हेर्नु अत्यन्त महत्त्वपूर्ण छ,’ मस्कले उक्त इमेलमा लेखेका छन्, ‘टेस्लाको वृद्धिले ‘केही क्षेत्रहरूमा भूमिका र कार्यहरूको डुप्लिकेसन’ निम्त्याएको छ । यस प्रयासको एक भागको रूपमा, हामीले सङ्गठनको गहन समीक्षा गरेका छौं र विश्वव्यापी रूपमा हाम्रो जनशक्तिलाई १० प्रतिशतभन्दा बढी घटाउने कठिन निर्णय गरेका छौँ । मलाई योभन्दा बढी घृणा गर्ने कुनै कुरा छैन, तर यो गर्नैपर्छ ।’ यसले अर्को विकास चरणको चक्रमा जान, परिवर्तित हुन सक्षम बनाउनेछ-उनले बताएका छन् । १४ हजारभन्दा बढी रोजगारदाताहरूलाई असर पार्न सक्ने कटौती (समायोजन) को योजना विद्युतीय सवारीसाधन उत्पादनका लागि ख्यातिप्राप्त टेस्ला कम्पनीले तीन वर्षमा बिक्रीमा पहिलो वर्ष वार्षिक बिक्री दरमा गिरावट आएको बताएको दुई हप्तापछि सार्वजनिक भएको हो । कम्पनीले सन् २०२४ मा हरेक वर्ष ५० प्रतिशतको वृद्धि दर हासिल गर्ने लक्ष्य राखेकोमा सन् २०२४ मा बिक्री वृद्धि दर ‘उल्लेखनीय रूपमा कम’ हुने चेतावनी दिएको छ । एजेन्सी