अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र, पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि
चीन । चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ । वृद्धि र बलियो मागलाई उत्तेजित गर्ने नीतिहरूले आर्थिक वृद्धिलाई मद्दत गरेको सरकारले जनाएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा जनवरी–मार्चमा वार्षिक आधारमा पाँच दशमलव तीन प्रतिशतले आर्थिक वृद्धि भएको छ । विश्लेषकहरूले चार दशमलव आठ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए । अघिल्लो त्रैमासिकको तुलनामा अर्थतन्त्र एक दशमलव छ प्रतिशतले बढेको छ । चीनको अर्थतन्त्रले कोभिड–१९ महामारीबाट सुधारमा आउन सङ्घर्ष गर्नुपरेको छ । कोभिड–१९ महामारीका कारण मागमा मन्दी र रियल स्टेटमा देखिएको सङ्कटका कारण आर्थिक विकास प्रभावित भएको थियो । चीनले आफ्नो निर्यात मार्चमा अघिल्लो वर्षको तुलनामा सात दशमलव पाँच प्रतिशतले घटेको र आयात पनि कमजोर भएको बताएको थियो । मुद्रास्फीतिका कारण रियल स्टेट क्षेत्रमा देखिएको सङ्कटले सुस्त मागको अपस्फीति दबाबलाई प्रतिबिम्बित गर्दछ । पहिलो त्रैमासिकका लागि औद्योगिक उत्पादन गत वर्षको तुलनामा छ दशमलव एक प्रतिशतले माथि रहेको र खुद्रा बिक्री चार दशमलव सात प्रतिशतको वार्षिक आधारमा बढेको छ । कारखाना र उपकरणमा स्थिर लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा चार दशमलव पाँच प्रतिशतले बढेको छ । अक्सफोर्ड इकोनमिक्सका चिनियाँ अर्थशास्त्री लुइस लूका अनुसार जनवरी–मार्चमा मजबुत वृद्धिलाई ‘व्यापक उत्पादनको राम्रो प्रदर्शन ले सहयोग गरेको छ भने चन्द्र नववर्षको बिदा र नीतिहरूका कारण उत्सवमा बढेको घरेलु खर्चले लगानीलाई बढाउन सहयोग गरेको छ । बेइजिङले अर्थतन्त्रलाई बढाउन चाहेकाले नीति निर्माताहरूले वित्तीय र मौद्रिक नीति उपायहरूको एउटा शृङ्खला जारी गरेका छन् । चीनले सन् २०२४ का लागि करिब पाँच प्रतिशतको महत्त्वाकांक्षी कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि लक्ष्य निर्धारण गरेको छ । यस्तो बलियो वृद्धिले सामान्यतया क्षेत्रभर सेयर मूल्य उच्च पार्ने भए पनि मङ्गलबार वाल स्ट्रिटमा स्टकहरू पछि हटेपछि एसियाली सेयरहरू तीव्ररूपमा घटेको छ । रासस
महासंघका अध्यक्ष ढकालद्वारा धार्मिक पर्यटन पूर्वाधार निर्माणमा जुट्न आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रर्वद्धनामा जुट्न आग्रह गरेका छन् । मंगलबार बाग्लुङ जिल्लाको कालिका मन्दिरमा आयोजित चैत्राष्टमि मेलामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले गण्डक क्षेत्रमा रहेका धार्मिक क्षेत्रमा पर्यटकको आकर्षण रहेकाले पर्याप्त पूर्वाधार विकासमा जुट्नुपर्ने बताएका हुन् । हिन्दु धर्मावलम्बीका लागि वाग्लुङ कालिका पुग्नुपर्ने गन्तव्य बनेको र पन्चकोट लगायत थप गन्तव्यहरु लोकप्रिय भइरहेकाले पनि होटल तथा यातायातका आधुनिक पूर्वाधारमा लगानी बढाउनुपर्ने अध्यक्ष ढकालको भनाइ थियो । पोखरा आउने पर्यटकका लागि पर्वतमा बन्जी तथा अन्य साहसिक स्थलहरूको विकास भएकाले गण्डक क्षेत्रमा साहसिक र धार्मिक पर्यटनलाई एकीकृतरुपमा प्रर्वद्धन गर्न सकिने पनि अध्यक्ष ढकालले उल्लेख गरे । कालिगण्डकी कोरिडोरको निर्माणले यो क्षेत्रका धार्मिक गन्तव्यको यात्रा सहज भएकाले बाह्रै महिना कोरला नाका खोल्ने र चिनियाँ पर्यटक भित्र्याउन थप पहल गर्नुपर्ने अवस्था आएको पनि अध्यक्ष ढकालले उल्लेख गरे । काठमाडौंमा चन्द्रागिरिको भालेश्वर मन्दिर, नवलपरासीको मौलाकालिका, बुटवलको कामाख्या देवीको मन्दिर, सुदूरपश्चिम कर्णाली चिसापानीमा जालपादेवी मन्दिरदेखि पूर्वको पाथिभरा देवीको दर्शन सहज बनाउन केबलकार निर्माण गरिरहेको प्रसङ्ग जोड्दै अध्यक्ष ढकालले धार्मिक पर्यटन प्रर्वद्धनमा सबै क्षेत्रको सहयोग भए पर्यटन मार्फत समृद्धि र रोजगारी सृजनामा ठुलो काम गर्न सकिने विश्वास पनि अध्यक्ष ढकालले व्यक्त गरे ।
महालेखापरीक्षकको कार्यालयलाई संघीयता अनुरूप पुनर्संरचना गर्छौं : तोयम राया
काठमाडौं । प्रश्तावित महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको कार्यालयलाई संघीय शासन प्रणाली अनुरूप पुनर्संरचना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार संसदीय सुनवाई समितिको बैठकमा उहाँले आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । रायाले लेखा संपरीक्षणको कामलाई सहज बनाउन, पारदर्शी बनाउन र कम खर्चिलो बनाउन पनि महालेखापरीक्षकको कार्यालय संगठन संघीय ढाँचा अनुरूप अघि बढाउन आवश्यक रहेकाले आफूले सो कामलाई पहिलो प्राथमिकतामा राख्ने बताए । सार्वजनिक लेखा परीक्षणलाई गुणस्तरीय, जवाफदेही र निष्पक्ष बनाई नीतिगत आधार तय गर्ने र लेखा परीक्षणका लागि विद्यमान रणनीतिक योजनाको कार्यान्वयनमा जोड दिने पनि बताए । वित्तीय अनुशासन पालना गर्न, गराउन सरोकारवाला सबै पक्षसँग अन्तरक्रिया, समन्वय, सहकार्य र सम्बन्ध विस्तार गर्ने, पूर्व महालेखापरीक्षक एवं पूर्व कर्मचारीहरुसँग अनुभवको आदानप्रदान तथा सुधारका विभिन्न पक्षमाथि निरन्तर छलफल चलाउने र प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने पनि प्रस्तावित महालेखापरीक्षक रायाको कार्ययोजना रहेको छ । उनले भने, ‘सबभन्दा पहिले स्वतन्त्रता र संस्थागत सुदृढीकरण । यसमा मैले राखेको विषय चाहीँ परिवर्तित संघीय शासन प्रणाली अनुरूप महालेखा परीक्षकको कार्यालयको संगठनको पुनर्संरचना गरिने छ। प्रदेशमा सार्वजनिक लेखा समिति छ । स्थानीय तह दूरदराजमा छन । अब हामी केन्द्रमा मात्रै बसिरहेर त्यो बेरुजु र लेखा सुपरीक्षणको काम गर्नलाई खर्चिलो पनि भएको छ । कठिन पनि भएको छ । र त्यो दूरदराजको समस्या बुझन पनि गाह्रो भएको छ । त्यसकारण यसको पुनर्संरचना गर्नुपर्छ कि भनेर मैले राखेको छु । विज्ञसँग छलफल गरी गुणस्तरीय लेखापरीक्षण प्रतिवेदन तयार पारिनेछ ।’ प्रस्तावित महालेखापरीक्षक रायाले गुणस्तरीय लेखापरीक्षण प्रतिवेदन तयार पार्दा पनि विज्ञहरुसँग परामर्श लिएर अघि बढ्ने पनि बताए ।
एसईईमा सहभागी विद्यार्थीलाई डिम्याट तथा मेरो सेयर खाता खोल्दा छुट
काठमाडौं । एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो सेयर खाता खोल्दा बम्पर छुट हुने भएको छ । एसईई परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित गरी नेपाल एसबिलाई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले डिम्याट तथा मेरो सेयर खाता खोल्न यही मिति २०८१ जेष्ठ मसान्तसम्मका लागि निम्न बमोजिमका बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ । बैंकका अनुसार यस्ता खाताहरुको सहज पहुँचले विद्यार्थीहरुलाई सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजी बजारमा सहभागिताका साथै वित्तीय शिक्षा र लगानी गर्न विद्यार्थीहरुमा सानै उमेरदेखी जागरुप गर्ने विश्वास कम्पनीले लिएको छ । उल्लेखित छुट सहितका सेवा प्राप्त गर्नका लागि, नेपाल एसबिआई बैंकका शाखाहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्पर्क गर्न सकिनेछ । यस सम्बन्धी थप जानकारीका लागी कम्पनीको वेवसाइटमा हेर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बम्पर छुट सहितका योजनाहरु :
सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट
काठमाडौं । व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया अड्डा’को नयाँ शाखा काठमाडौंको सुन्धारा स्थित सिभिल मलको सातौं तलामा सञ्चालनमा आएको छ । उद्यमी संजोग कोइरालाले सन १०१८ मा नयाँ बानेश्वरबाट सुरु गरेको चिया अड्डा हाल सम्म उपत्यकामा सुन्धारा, नयाँ बानेश्वर, पुतलीसडक, बसन्तपुर, त्रिपुरेश्वर र उपत्यका बाहिर भरतपुरमा गरी ६ ठाउँमा विस्तारमा भएको छ । सिभिलमलमा मनोरम वातावरण(एमबिएन्स) सहित सञ्चालनमा आएको चिया अड्डाको नयाँ आउटलेटमा चिया अड्डाको स्पेसल चिया र रोजेको खाजा बजेटमा पाइने सञ्चालक कोइराला बताउँछन् । विदेशी राष्ट्रहरूमा युवापुस्तामा देखिने कफी कलचरलाई नेपालमा युवापुस्ता आकर्षित गरी चिया संस्कृतिको रूपमा विकास गर्न चिया अड्डा सुरुवात देखिनै लागिरहेको छ। नेपालमा चिया संस्कृतिको प्रवर्धनमा अग्रणी रहेको चिया अड्डाका आउटलेटहरुमा सधैंजसो चिया पारखीहरुको भीड लाग्ने गर्छ ।
सेयर बजार राताम्मे, दुई हजारको बिन्दुबाट झर्यो नेप्से परिसूचक
काठमाडौं । विगत चार दिनदेखि यता सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा सेयर मूल्य मापक नेप्से परिसूचक दुई हजारको बिन्दुबाट पनि तल झरेको छ । मंगलबारको बजारमा परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.७३ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार पौने तीन अर्बको कारोबार भएको बजारमा मंगलबार भने २ अर्ब १० करोडमा सीमित भएको छ । ३१२ वटा स्क्रीप्स कारोबार भएको बजारमा सबैभन्दा बढी गोर्खाज फाइनान्सको सेयर किनबेच भएको छ । फाइनान्सको मंगलबार मात्रै १७ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि करिब १० प्रतिशत अर्थात ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ९०५ रुपैयाँ पुगेको छ । घटेको बजारमा गोर्खाज फाइनान्ससहित एसबिएलको ऋणपत्रमा सर्किट लागेको छ । १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ को मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिथान ११५५ रुपैयाँ पुगेको छ । बजारमा रुरु जलविद्युत परियोजनाको भने सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ५६०.७० रुपैयाँमा झरेको छ । त्यस्तै, बजारमा कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् ।
उद्योगपतिलाई मृत्युपछि सरकारको फोन, भन्यो-‘बाँकी कर तिर्न आउनू’
स्वः दिवाकर गोल्छा काठमाडौं । उद्योग दिवसका दिन चैत २८ गते अर्थमन्त्री वर्षमान पुन नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सभालाई सम्बोधन गर्दै थिए । अर्थमन्त्रालयले कर अधिकृतहरूलाई अत्याधिक कर असुली गर्न टार्गेट दिएपछि कर अधिकृतहरूले पनि करदातालाई अनावश्यक दुःख दिएको उनले बताए । ‘बाबुराम भट्टराई अर्थमन्त्री हुँदा ३३ प्रतिशतले राजस्व वृद्धि भएको थियो, अहिलेसम्मको सबैभन्दा उच्चदरको वृद्धि त्यही हो, पहिला म अर्थमन्त्री हुँदा २४ प्रतिशत राजस्व वृद्धि भएको थियो, राजस्व वृद्धिदर उच्चतम दोस्रो रेकर्ड पनि त्यही हो, यस पटकको बजेटमा ४१ प्रतिशत राजस्व वृद्धिको लक्ष्य राखिएको रहेछ, त्यो असम्भव लक्ष्य हो,’ उनले भने, ‘राजस्व वृद्धिमा असम्भव लक्ष्य राख्ने, कर कार्यालयहरूलाई अत्यधिक वृद्धिको टार्गेट दिने, कर अधिकृतहरूले पनि माथिको दबाब खेप्नुपर्ने समस्या छ, टार्गेट पूरा गर्न कर अधिकृतले करदातालाई अनावश्यक दुःख दिएको, करदाताले अनावश्यक झमेला सहनु परेको गुनासो आएका छन् ।’ अर्थमन्त्री पुनले कर अधिकृतहरूले करदातालाई दुःख दिने गरेको स्वीकारोक्ति सार्वजनिक रूपमा अभिव्यक्त गरेको साता नबित्दै आन्तरिक राजस्व विभागले पाँच वर्षअघि निधन भएका उद्योगपति दिवाकर गोल्छालाई कर तिर्न ताकेता गरेको छ । गोल्छाको २०७५ चैत २६ गते निधन भएको थियो । उनी २०६४ मा गठन भएकाे संविधान सभामा कांग्रेसबाट समानुपातिक सभासद थिए । गाेल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत थिए । बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालयले मृतक गोल्छालाई पटक-पटक फोन सम्पर्क गरेको, एसएमएस गरेको, इमेल गरेको, पत्राचार गरी जानकारी गराएको तर बाँकी कर भुक्तानी नगरेको जनाएको छ । कार्यालयले एक सूचना सार्वजनिक गर्दै गोल्छालाई कर तिर्न आग्रह गरेको र कर नतिरे कानुनबमोजिम कारबाही गर्ने जनाएको छ । श्रीराम सुगर मिल्सले बुझाउन बाँकी कर तिर्न कर कार्यालयले मृत्यु पर्यन्त गोल्छालाई ताकेता गरेको हो । गोल्छाको निधन भएको २ वर्षपछि उक्त कम्पनी पनि बन्द भएको छ । २०७५ चैत २६ गते गोल्छाको निधन भएको थियो । २०७७ साउन १२ गतेदेखि श्रीराम सुगर मिल्स पूणर्रूपमा बन्द भएको छ । गोल्छा अर्गनाइजेसनले २०४९ साल साउन १३ मा श्रीराम सुगर मिल्स सञ्चालनमा ल्याएको थियो । सवा २ अर्ब रुपैयाँ सञ्चित नोक्सान भएको भन्दै गोल्छा अर्गनाइजेसनले उद्योग बन्द गरेको थियो । मिल्सका मुख्य सञ्चालक दिवाकर गोल्छाको निधन भएपछि उनका छोराले अर्को व्यावसायिक घराना विशाल ग्रुपलाई मिल्सको नयाँ साझेदार बनाएका थिए । त्यो साझेदारीबाट पनि काम हुन नसकेपछि गोल्छा अर्गनाइजेसन र विशाल ग्रुपले मिल्स लिलाम गरेको थियो । २०८० साउन पहिलो साता मिल्सको मेसिनरी उपकरण साढे ४३ करोड रुपैयाँमा शिवशक्ति ग्रुपले किनेको थियो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिअन्तर्गत चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिले श्रीराम सुगर मिल्सको स्थलगत निरीक्षणपछि उक्त मिल्स पुनः सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो । आन्तरिक राजस्व विभागले अन्य करिब डेढ दर्जन निजी कम्पनीलाई पनि कर बक्यौता चुक्ता गर्न सार्वजनिक सूचना जारी गरको छ । विभाग अन्तर्गतको मध्यमस्तरीय करदाता कार्यालय बबरमहलले मंगलबार सूचना जारी गरी ती कम्पनीलाई कर बक्यौता चुक्ता गर्न भनेको हो । कार्यालयले चार सहकारीसहित १५ कम्पनीलाई बक्यौता कर चुक्ता गर्न १५ दिनको म्याद दिँदै सूचना जारी गरेको छ । बक्यौता कर तिर्न कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था, शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था र क्यापिटल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ गरी ४ वटा सहकारी छन् । यस्तै, करदाता कार्यालयका अनुसार कान्तिपुर कोअपरेटिभको आयकर, लालीगुराँसको आयकर/मूल्य अभिवृद्धि कर (भ्याट), शिखरदीपको आयकर/भ्याट र क्यापिटलको लामो अवधिदेखिको भ्याट बक्यौता छ । त्यसैगरी, डिभाइन स्ट्रिम नेटवर्क प्रालिको भ्याट, आयोकी फ्रेब्रिकोन नेपाल प्रालि, मोतीदान कन्स्ट्रक्सन सेवा प्रालि, रोल्पा सिमेन्ट प्रालि, भूमि इन्फ्रास्ट्रक्चर, लोकेन्द्र इन्टरप्राइजेज, अरनिको सिमेन्ट इन्डस्ट्रिज प्रालि, श्री खानीखोला इन्टरप्राइजेज, त्रिपुरेधर कन्डक्टर उद्योग प्रालि र बराह डिपार्टमेन्ट स्टोरलाई आयकर/भ्याट बुझाउन ताकेता गरिएको छ ।
एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी
तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले आठ करोडको पुँजी सङ्कलन भएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल आठ करोड जम्मा भएको छ। करिब तीन वर्षसम्म समूहले एक, दुई, दश, बीस, पचास र एक सयका दरले क्रमिक रुपमा बचत गर्दै आएको थियो । विसं २०५४ सालमा समूहले सहकारी सञ्चालन गर्ने निर्णय अनुरुप मस्र्याङ्दी आमा बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका थिए । आमा समूहले बचत गर्दै आएको पैसाले सहकारी सञ्चालन गरेपछि अहिले संस्थाको पुँजी आठ करोडभन्दा बढी पुगेको हो । महिलाले सञ्चालनमा ल्याएको उक्त सहकारी गाउँपालिकामै नमुना र अनुकरणीय गर्न योग्य रहेको संस्थाकी लेखा संयोजक बबिता थापाले बताइन् । अहिले सहकारी संस्थामा आठ सयभन्दा बढी शेयर सदस्य छन् । उनले भनिन्, ‘सुरुमा एक रुपैयाँ बचत गर्ने महिलाले अहिले मासिक एक हजार पाँच सयसम्म जम्मा गर्न थालेका छन् ।’ सहकारी संस्थामा कार्यरत सबै कर्मचारी महिला छन् भने लेखा समिति, शिक्षा उपसमिति, ऋण उपसमिति, धितो मूल्याङकन समिति लगायतमा महिलाले नै नेतृत्व गर्दै आएका छन् । धितो राखेर पन्ध्र लाखसम्म ऋण दिन सक्ने अवस्थामा सहकारी पुगेको संस्थाकी अध्यक्ष बास्ना कुमारी मगरले बताइन् । सहकारीले कृषि र उच्च शिक्षा पढ्नका लागि शिक्षा धितोमा १२ प्रतिशत र अन्य शीर्षकका कर्जामा १४ प्रतिशत ब्याज निर्धारण गरिएको छ । गाईपालन, तरकारी, धूप तालिम र घरबास सञ्चालन लगायतमा लगानी गर्ने गरिएको सो संस्थाले जनाएको छ । संस्थाको आफ्नै भवन रहेको छ । तत्कालीन समयमा एक लाख ४६ हजारमा जग्गा खरिद गरी केही नगद खर्च र श्रमदानबाट भवन निर्माण गरिएको लेखा संयोजक थापाले बताइन्। वडामा रहेका आमा समूहले सामाजिक क्रियाकलाप विवाह, व्रतबन्धलगायतका कार्यमा सक्रिय हुँदै आएको छ भने वडाभित्र सीमित रहेको सहकारी संस्थालाई पालिका तहसम्म क्षेत्र विस्तार गरिएको छ । आगामी दिनमा सहकारीलाई गण्डकी प्रदेशस्तरमा लैजाने लगायतका योजना बनाइएको अध्यक्ष मगरले जानकारी दिइन् । रासस