क्यूआर कोडमा बाह्र बाजा, प्रवर्द्धनमा लक्ष्मी सनराईज
काठमाडौं । नेपाल कला, साहित्य, भेषभूषा र संस्कृतिमा धनी छ । जात, भाषा, वर्ग, भेष, संस्कृति र संस्कारका हिसाबले एक खुला संग्रहालय हो नेपाल । यहाँ जातीय, भेगीय र भूगोलअनुसार भाषा बोलिन्छ, भेष देखिन्छ, संस्कार पाइन्छ र संस्कृति अपनाइन्छ । यी र यस्ता संस्कृति झल्किने माध्यम झनै मनमोहक र अब्बल छन् । अर्थात्, हाम्रा मौलिक बाजाहरूले आफ्नै विशेषता झल्काउँछन् । तर, पछिल्लो समय हाम्रा गाउँघरमा घन्किने र विभिन्न जातजातीले बजाउने बाजा पनि लोप हुँदै जान थालेका छन् । अहिले तिनै लोप हुन लागेका बाजागाजा विभिन्न संघसंस्थाले संरक्षण र सम्बर्द्धन गर्दै पनि आइरहेका छन् । यस्तै परम्परागत सांस्कृतिक बाजागाजा प्रवर्द्धन गर्ने उद्देश्यले ‘क’ वर्गको लक्ष्मी सनराईज बैंकले बाजागाजासहितको २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । ‘नेपाल बहुसांस्कृतिक, बहुभाषिक, आफ्नै मौलिक परम्परा र सांस्कृतिक विविधताले भरिपूर्ण र समृद्ध छ, युगौंदेखि हाम्रो दैनिक जीवनमा गुञ्जिने मनोरञ्जनको साधन, मेलापात, विशेष संस्कारसहित अन्य विभिन्न पलहरूमा घन्किँदै आएको गीत–संगीत नेपाली पहिचानको अभिन्न अंग हो,’ बैंकले सार्वजनिक गरेको क्यालेन्डरमा उल्लेख छ, ‘हाम्रो कला र संस्कृति विश्वसामु देशको चिनारी बनेको छ । यही विविधताको सुन्दर पक्षलाई निरन्तरता दिनु हरेक नेपालीको दायित्व हो ।’ लक्ष्मी सनराईज बैंकले विगतदेखि नै विभिन्न मौलिक विषयवस्तुलाई आफ्नो क्यालेन्डरमा समावेश गर्दै आएको छ । नेपालका संस्कृतिसँग सम्बन्धित विषयवस्तुलाई संरक्षण एवं सम्बर्द्धन गर्नका लागि यस्ता कार्यहरू गर्दै आएको बैंकले बताएको छ । बैंकका अनुसार क्यालेन्डरमा समावेश गरिएका यी बाजाहरूले संस्कृतिको पहिचान दिन्छ । बैंकले क्यालेन्डरमा समावेश गरेका लोकबाजाका बारेमा नेपाल लोकबाजा संग्राहलय, त्रिपुरेश्वरसँग सहकार्य गरेको हो । यहाँ समावेश गरिएका बाजामध्ये कतिपय हामीले सुनिरहेका छन् भने कतिपय हामीले नसुनेका बाजा पनि छन् । बैंकका अनुसार देशको कला, संस्कृति र मौलिकतासँगसँगै आधुनिक प्रविधि अपनाउने र आफ्नो मूल्–मान्यता नबिर्सिने ‘थिम’ क्यालेन्डरमा समावेश गरिएकाे छ । बाजा कस्तो बज्छ भनेर सुन्नका लागि बैंकले धुनसहितको क्यूआर कोड पनि उपलब्ध गराएको छ । यी लोकबाजाको धुनका लागि बैंकले काठमाडौंलगायत बाहिर जिल्लाबाट पनि कलाकार झिकाएर धुन रेकर्ड गरेकाे हाे । सनराईज बैंकले प्रवर्द्धन गरेका नेपाली मौलिक बाजा यस्ता छन्: गोपाल डन्डी गोपाल डन्डी थारु समुदायले सामूहिक ‘रास नृत्य’ गर्दा एकापसमा ठोक्काएर बजाइने बाजा हो । यो बाजा कडा काठबाट बनेको एक जोडी डन्डी हो । यो बाजा बजाउँदा ट्याक–ट्याक आवाज आउँछ । यसको आवाज निकै मनमोहक सुनिन्छ । यो बाजाको प्रयोग ‘सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल, मेची काली सिंगै ढिक्का, साझा हाम्रो ज्यान नेपाल…’ बोलको गीतमा प्रयोग गरिएको छ । यस गीतमा तारा थापाको स्वर रहेको छ भने शब्द दुर्गालाल श्रेष्ठ र संगीत न्ह्यु बज्राचार्यको छ । केन (ढोलक) किराँत समुदायको यो केन (ढोलक) बाजा काठको ठूलो ढुंग्रोलाई छालाले मोरेर बनाइन्छ । यसको एकातिर भित्रबाट खरी लगाइएको हुन्छ । यसलाई हातले कुटेर बजाइ नाचगानका लागि ताल निकालिन्छ । यो ढोलकको प्रयोग ‘सोई ढोले सोई…’ बोलको (चण्डी गीत) मा प्रयोग गरिएको छ । यो गीतमा स्वर राजन राई, बेदना थुलुङ, भीषण मुकारुङ र आभा मुकारुङले दिएका छन् भने संगीत राजन राईको हो । गीतको शब्द संकलन पनि राजनकै छ । उर्नी उर्नी धिमाल समुदायको मौलिक लोकबाजा हो । उर्नी नरिवलको गट्टामा छालाले मोरी, एक हात लामो काठमा तार जोडेर बनाइन्छ । यो काजाको तारमा धनुले रेट्दै औंलाले थिचेर सुमधुर धुन निकालिन्छ । यो बाजाको प्रयोग ‘काफल गेडी कुटुक्कै…’ बोलको गीतमा प्रयोग गरिएको छ । यस गीतमा सिन्धु मल्ल र महेश बुढाथोकीको स्वर रहेको छ भने शब्द संगीत पनि महेश बुढाथोकीकै छ । टुङ (यलम्बर) यलम्बर एक प्रकारको बाजा हो । यो हेर्दा बाँसको ढुंग्रो जस्तो हुन्छ । यो बाजा भालुबाँसका दुवै आँख्ला (जोर्नीको गाँठो) नफुटेको गिँडबाट बनाइएको हुन्छ । यो बाजाको बीच भागमा एक अङ्गुल लामो र एक अङ्गुल चौडाइको प्वाल पारिएको हुन्छ । प्वालको दुवैतिर दुइटा तार निकालिएका हुन्छन् । प्वालको ठिकमाथि तारमा बाँसको पातलो पाता अड्याइएको हुन्छ । यो यलम्बर ताल बाजाअन्तर्गत पर्छ । यसको नाम प्रथम किराँत राजा यलम्बरको नामबाट रहन गएको हो भनिन्छ । यो किराँत समुदायमा प्रचलित छ । मुरली मुरली निगालो वा गोपीबाँसको आँख्लाबाट बनाइने, ओठले च्यापी फुकेर बजाइने सुरबाजा हो । मुखले फुक्दै यसको ६ वटा प्वालमा हातका औंलाले चलाइ सुमधुर धुनहरू निकालिन्छ । यो सुरबाजाको प्रयोग प्रायः सबै गीतमा प्रयोग गरिन्छ । सहनाई सहनाई पञ्चेबाजा समूहको प्रमुख जोडी बाजा हो । भाले सहनाईलाई फुक्दै सुर दिइन्छ भने पोथी सहनाईलाई फुक्दै भाखा हालेर बजाइन्छ । यो बाजा निकै परिश्रमी लोक कलाकारहरूले मात्र बजाउन सक्छन् । विशेष गरी एलुमिनियम (सिलाबर) र पित्तलबाट निर्मित सहनाईले आठ वटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धुनहरू प्रस्फुटन गर्दछ । सहनाई नौमती बाजाको प्रमुख आकर्षण हो । मादल मादल नेपालको एक प्रसिद्ध ताल बाजा हो । यो नेपाली समाजको मुख्य बाजा हो । नेपाली समाजका सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ । यो बाजा मगर (नाग) जातिको बाजा मानिन्छ । सबैभन्दा पहिले मादल बजाउने मगर समुदाय हो । यसलाई दुई हातले कुटेर बजाउनुपर्छ । मादल कम्मरमा भिरेर बजाइन्छ । छतिउन, दार तथा खमारीको काठबाट मादल बनाइन्छ । काठमा ढुङ्ग्रो पारेर दुवैपट्टी छालाले मोरेर खरी (मसला) लगाइएको हुन्छ । खरी बनाउँदा काँस र किटको धूलो मिसाइन्छ । यसको एकापट्टी केही सानो, अर्कापट्टी अलिक ठूलो पारेर बनाइएको हुन्छ । ठूलो भागलाई भाले र सानो भागलाई पोथी भनिन्छ । मादल दुई खाले हुन्छन् । पूर्वेली मादल र पश्चिमेली मादल । पूर्वेली मादल आकारमा अलिक ठूलो र पश्चिमेली मादल अलिक सानो हुन्छ । टुङ्ना टुङ्ना काठ र बाँसबाट बनेको हातले बजाउने एक नेपाली तारवाद्य लोकबाजा हो । टुङ्ना बनाउने काठ भने गुराँसको बढी प्रयोग हुन्छ । यो सुरबाजा हो । यो नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा र तामाङ जातिमा बढी लोकप्रिय छ । यो बाजा झन्डै डेढदेखि दुई हातसम्म लामो हुन्छ । यसको शिर भागमा शार्दूलका टाउकाको आकृति कुँदिएको हुन्छ । टुङ्नामा ४ देखि ६ वटा तार जडिएका हुन्छन् । यो बाजा काँधमा भिरेर दाहिने हातले नख्खी र देब्रे हातले तार थिचेर बजाइन्छ । डम्फु डम्फु तामाङ समुदायमा प्रचलित बाजा हो । ठेट तामाङ भाषामा यसको नाम ‘डाम्बा’ भए पनि ‘डम्फु’ यसको नेपालीकरण भएको नाम हो । डम्फुको आकार गोलो हुन्छ । अनुमानित एक हातको गोलाकार डम्फु काठको घेराको एकापट्टी भेडा–बाख्राको छालाले बेरेर खिल मारेको हुन्छ । अर्कापट्टी खुला रहन्छ । यो देब्रे हातले समाती दाहिने हातका औंलाले पिटेर बजाउने बाजा हो । प्राचीनकालमा पेङ दोर्जेले आफ्नी प्रेमिकालाई खुसी बनाउनका लागि कोइरालोको रुखको घेरामा मृगको छालाले मोरेर ३२ किला ठोकेर डम्फु बनाएका हुन् भन्ने किंवदन्ती तामाङ समाजमा प्रचलित छ । त्यसैले हरेक डम्फुमा बाँसलाई चिरेर बनाएको सानो सानो ३२ किला ठोकेमा मात्र राम्रो स्वर दिन्छ भन्ने मान्यता अहिले पनि छ । धिमे धिमे रुखको बेलनाकार टोड्कोलाई भित्रपट्टि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोरेर बनाइएको ताल बाजा हो । यो बाजा काठमाडौं उपत्यकाका नेवारहरूको सबैभन्दा प्रचलित परम्परागत बाजा हो । बिनायो बिनायो किराँतहरूको परम्परागत बाजा हो । जुन छिप्पिएको मालिङ्गोबाट बनाइन्छ । बाँसको सानो (लगभग ६ इन्च) भाटाको बीचमा खोपेर जिब्रो निकाली दुई छेउमा धागो बाँधेर तथा सुन्दर बुट्टा खोपेर बिनायो बनाइएको हुन्छ । यसरी बनाइएको बिनायोलाई जिब्राको अगाडिपट्टि लामो डोरीलाई झड्कारेर बजाइन्छ । यसरी बजाउँदा विभिन्न भाका निकाल्न बिनायोलाई मुखको दुवै ओठमा राखी भित्रबाट हावाको धक्काद्वारा आएको कम्पनलाई जिब्रोबाट प्रभावित गरिन्छ । यो बाजा किराँत महिलाले आफ्नो चोलोको तुनामा झुण्डाएर बोक्छन् । यसरी बोकेको बिनायोलाई मेलापात वा हाटबजार जहाँ पनि बजाउने गरिन्छ । यो बिनायो बाजामा दुइटा जिब्रो भएको बनाउन छाडिएको छ । सारङ्गी सारङ्गी एक तारवाद्य हो जसलाई बजाउन एक धनु प्रयोग गरिन्छ । सारङ्गी नेपाल, भारत तथा पाकिस्तानको स्थानीय बाजा हो । भारत र पाकिस्तानमा यसलाई हिन्दुस्तानी शास्त्रीय संगीतमा प्रयोग गरिन्छ भने नेपालमा यो मुख्यरूपले लोकगीतसँग प्रयोग गरिन्छ । यसको आवाज मानिसको स्वरजस्तो हुने भएकोले संगीतमा स्वरलाई आलंकारिक रूपले प्रस्तुत गर्न पनि प्रयोग गरिन्छ । लक्ष्मी सनराईज बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड रुपैयाँ छ । साथै, बैंकले २५० सय भन्दा धेरै शाखा कार्यालयबाट सेवा दिइरहेको छ ।
निगमले तिर्यो जहाज खरिदबापतको ५३ करोड
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणबापतको चैत मसान्तसम्मको ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको २०८० चैत महिनाको किस्तावापत पूरा र दुई वाइड बडी जहाजको आंशिक गरी उक्त रकम भुक्तानी गरेको हो । निगमले २०८० चैतसम्मको अवधिमा ५ अर्ब ३६ करोड ६६ लाख ८६ हजार ९ सय ६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ । साथै, निगमले कोभिड–१९ का कारण निगमको व्यापारमा असर रहेकाले सो अवधिको ब्याजको ब्याज, हर्जना र पेनल छुट गरी सहयोग गर्न एवं किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन दुवै कोषलाई अनुरोध गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पोखराको नयाँगाउमाँ प्रभु बैंकको शाखा कार्यालय सञ्चालन
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबार देखि पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा ३०२ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन यस बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले गरेका हुन् । बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन गर्दै शान्ती शेरचन गौचनले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको प्रकाश परे । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै शाखालाई सफलताको शुभकामना व्यक्त गरे । बैंकको नयाँगाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो । बैंकको नयाँगाउँ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक
गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा एक लाख ४४ हजार छ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत साउनदेखि चैतसम्मको अवधिमा दक्षिण एसियाली मुलुकका ५९ हजार नौ सय ३९ र अन्य मुलुकका ८४ हजार सात सय ३६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । गत चैतमा मात्र दक्षिण एसियाली मुलुकका १६ हजार नौ सय ६९ र अन्य मुलुकका १८ हजार दुई ९६ गरी कूल ३५ हजार दुई सय ६५ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र घुम्न आएको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए । गत असोजमा २८ हजार सात सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । यो वैशाख महिनामा पर्यटक संख्या थप बढ्ने प्रमुख डा कडरियाको अनुमान छ । गत आवको वैशाखमा ३१ हजार नौ सय ५१ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्र आएका थिए । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्रा पर्यटनका लागि सबैभन्दा उत्तम मानिन्छ । ‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर मनाङ, मुस्ताङलगायतका ठाउँ प्रवेश गर्ने आन्तरिक पर्यटकको सङ्ख्या यकीन छैन । ‘एक्याप’का अनुसार सन् २०२३ मा एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । उक्त सङ्ख्या हालसम्मकै उच्च हो । त्यसअघि सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मार्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्य छन् । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता, संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गर्छ । हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा गर्न सकिने ‘एक्याप’ले जनाएको छ । रासस
सुरुङमार्ग हुदैँ काठमाडौं बाहिर जाँदा २३ मिनेट समय बचत हुने
काठमाडौं । नेपालकै पहिलो आधुनिक सुरुङ मानिएको नागढुंगा-नौबिसे सुरुङ मार्गको मुख्य सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । सोमबार जापानी संस्कृति र नेपाली हिन्दु परम्पराअनुसार विशेष पूजाआजा गरेर मुख्य सुरुङ मार्गको ब्रेक थ्रु गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युतीय स्विच थिचेर ब्लास्टिङ गरी सुरुङ ब्रेक थ्रु गरे । सुरुङ ब्रेक थ्रु गरिएसँगै कुल लम्बाई २.७ किलोमिटर (२,६८८ मिटर) रहेकोमा दुई मिटर खन्न बाँकी सुरुङ सकिएको छ । सुरुङ ब्रेक थ्रु गत फागुन २३ गते मिति तय भएको भएपनि स्थानीय अवरोधका कारण खन्ने काम रोकिँदा ब्रेक थ्रु मिति सरेको थियो । देशका अन्य विभिन्न भागबाट काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख नाका मानिने नागढुंगाको २.८ किलोमिटरको दूरी घटाउनेछ । अहिले चलिरहेको सडकमार्ग हुँदै सिस्ने खोला बलम्बु साढे आठ किलोमिटर दूरी छ । सुरुङमार्ग हुदैँ काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौं बाहिर जाँदा २३ मिनेट समय बचत हुने उल्लेख गरिएको छ । आयोजनामा एउटा मुख्य र अर्को उद्धार(रेस्क्यु) गरी दुइटा सुरूङ रहन्छन् । रेस्क्यु सुरुङको लम्बाई २ हजार ५५७ मिटर छ । यो इभ्याकुएसन सुरूङ ब्रेक–थ्रु भइसकेको छ । आयोजनामा तीन वटा अण्डरपास हुनेछन् । हाल तीन वटै पूरा भइसकेको आयोजनाले बताएको छ । त्यस्तै बक्स कल्भर्ट चार वटै निर्माण सकिएको छ । एउटा ओभरपास पनि निर्माण भइसकेको छ । तीन वटै पुल निर्माण सकिएका छन् । फ्लाइओभर निर्माणको काम पनि अन्तिम चरणमा छ । आयोजना विकासका लागि जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो। आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो । सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ (४२ महिना) भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो । आयोजनाको कुल लागत करिब २२ अर्बमध्ये जाइकाले करिब १६.६ अर्व ऋणमार्फत उपलब्ध गराउनेछ ।
सुजल फुड्सले बजारमा ल्यायो ‘चोकोफन जोय’
काठमाडौं । कन्फेक्सनेरी कम्पनी सुजल फुड्स प्रालिले चोकोफन जोय बजारमा ल्याएको छ । चोकोफन जोय नेपालकै प्रथम स्क्वायर मोल्डेड चकलेट हो जुन पर्याप्त मात्रामा न्यूनतम मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ । यसले गर्दा विगतमा विदेशी चकलेटमा निर्भर्तालाई तोडेर नेपालमै अन्तराष्ट्रिय स्तरको सजिलो, सस्तो र उच्चकोटीको चोकोफन जोय चकलेट उपभोग गरी चकलेट को मज्जा लिन सकिन्छ। बर्गाकार आकारमा, कोकाको अनुपम स्वाद र मिठासले भरीपूर्ण चोकोफन जोय स्वादिष्ट छ। चोकोफन जोय मुखमा राख्नन साथ पग्लिन्छ र आनन्द प्रदान गर्दछ। आकर्षक बर्गाकर आकारमा नै यसको अर्को विशेषता हो जुन हेर्दा जो कोहीलाई पनि खाउँ खाउँ लाग्ने कम्पनीको दाबी छ । गुलाबी र बैजनी रङमा प्याकेजिङ्ग गरिएको चोकोफन जोय को डिजाइन अत्यन्तै आकर्षक र प्रिमियम छ भने सुन्दर चम्किलो सुनौलो जोय को फन्टले चोकोफन जोय को प्याकेजिङ्गलाइ अझ बढी उत्कृष्ट र आकर्षक देखायको छ। प्याकको बाहिरी भागमा चकलेटको डीजाइन पनि आकर्षित ढङ्गमा देखाइएको कम्पनीले जनाएको छ । चोकोफन जोय जार र बक्स दुबैमा उपलब्ध छ। दुबैमा उत्पादनका विशेषताहरू स्पष्ट रूपमा देखैएको छ र जार भित्रको उत्पादन पनि सजिलै देख्न सकिन्छ । चोकोफन जोय ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध छ जुन अत्यन्तै आकर्षक छ र यसले उत्पादनलाई सुन्दर र प्रिमियम बनाएको छ । यसको कार्टुन बक्स पनि चम्किलो बैजनी रंगमा उपलब्ध छ। चोकोफन जोय मात्र रु १० को अधिकतम खुद्रा मूल्य मा ८ ग्रामको माउथफुल साइजमा बजारमा सर्बत्र उपलब्ध छ। चोकोफन जोय को उत्पादन संसारकै अत्याधुनिक चकलेट उत्पादन प्रबिधिको प्रयोग गरी औटोमटिक मसिनरीबाट अति स्वस्थकर वाताबरणमा उत्पादन गरिन्छ। अन्तराष्ट्रिय गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चा पदार्थ प्रयोग गरिने यस चोकोफन जोय को गुणस्तर तथा स्वादमा एकरुपता हुन्छ। सुजल फूड्स प्रा लि नेपाल को अग्रणी मिठाइ बनाउने कम्पनी कम्पनी हो, जुन आइएसओ २२०००:२०१८ प्रमाणित छ र यो लक्ष्मी समूहको प्रमुख भगिनी संस्था हो। सुजल फूड्सले बिगत ५० वर्ष देखि अन्तरास्ट्रिय स्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन र बिक्रि वितरण गर्दै आएको छ। कम्पनी को लोकप्रिय ब्रान्डहरुमा चोकोफन, क्रेभ, रसिलो, फ्रेसो, क्यान्डीम्यान र फ्रेसडेन्ट आदि पर्दछन जसले लाखौ उपभोक्ताहरुको बर्सौ देखि मन जित्न सफल रहेको छ। त्यसैगरि चोकोफन जोय को अनुपम स्वाद र मिठासले उपभोक्ताहरुको मन जित्न सफल रही बालबालिका तथा युवाहरुको जीवनको अभिन्न अंगभै धेरै रमाइलो र खुसि प्रदान गर्नेछ भन्ने कुरामा कम्पनी बिस्वस्त छ।
सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा बिस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन् । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्वपूर्ण उपलब्धि भएको बताए । ‘सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता बिस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाङ्ख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने । सुरूङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले ट्राफिक र सडक सुरक्षामा सुधार गरी सङ्घीय राजधानी काठमाडौँ र देशका अन्य प्रमुख सहरबीचको सहज यातायात सञ्जालमा योगदान पुर्याउने बताए । ‘यस सुरूङमार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरूङसम्बन्धी दस्तावेज निर्माण हुनेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले नेपाललाई सुरूङ युगमा पुर्याउन महत्त्वपूर्ण योगदान गर्नेछ ।’ उनले आगामी योजनामा राष्ट्रिय राजमार्गहरूमा सुरूङमार्ग, फ्लाइओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल बिस्तार तथा निर्माण गर्ने सरकारको नीति रहने बताए । नयाँ वर्षको सुरूआतसँगै नेपालकै पहिलो सुरूङमार्गको मुख्य सुरूङको ‘ब्रेक–थ्रु’ गर्ने ऐतिहासिक अवसर प्राप्त भएकोप्रति खुशी व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा क्षेत्रमा हुने गरेको ट्राफिक जाम, उकालो सडक, सडक सुरक्षाका हिसाबले कायम रहेको जोखिम साथै वर्षायाममा हुने पहिरोको उच्च जोखिमलगायतका समस्याहरू समाधान गर्न सुरुङमार्गको कल्पना गरिएको बताए ।
दक्षिण कोरियाको आइसीटी निर्यात मार्चमा पनि वृद्धि
सोल । दक्षिण कोरियाको सूचना र सञ्चार प्रविधि (आइसीटी) उत्पादनको निर्यात स्थानीय रूपमा निर्मित सेमीकन्डक्टरहरूको ठोस मागका कारण लगातार पाँचौँ महिनामा बढेको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । व्यापार, उद्योग र ऊर्जा मन्त्रालयका अनुसार मार्चमा आइसीटी उत्पादन ढुवानी १९ दशमलव चार प्रतिशतले बढेर १८ अर्ब ८२ करोड अर्ब अमेरिकी डलर पुगेको छ । सेमिकन्डक्टर निर्यात गत महिना ३३ दशमलव नौ प्रतिशतले बढेर ११ अर्ब ६९ करोड डलर पुगेको छ । यो लगातार पाँचौँ महिना दोहोरो अङ्कको विस्तार हो । टेलिभिजन र कम्प्युटरका लागि प्रयोग हुने प्यानलको बलियो मागका कारण डिस्प्ले प्यानल ढुवानी १३ प्रतिशतले बढेर एक अर्ब ६२ करोड डलर पुगेको छ भने मोबाइल फोन निर्यात छ दशमलव छ प्रतिशतले बढेर ८८ करोड डलर पुगेको छ । कम्प्युटर र पेरिफेरलहरूको ढुवानी २० दशमलव तीन प्रतिशतले बढेर एक अर्ब दुई करोड डलर पुगेको छ भने सञ्चार उपकरणको निर्यात सात दशमलव एक प्रतिशतले घटेर २२ करोड डलरमा झरेको छ । आइसीटी उत्पादनहरूका लागि आयात एक वर्षअघिको तुलनामा एक दशमलव दुई प्रतिशतले घटेर मार्चमा ११ अर्ब ७० करोड डलर भएको छ । चिप्स, डिस्प्ले प्यानल र मोबाइल फोनका लागि आयात गत महिना बढे पनि कम्प्युटर र पेरिफेरलहरूका लागि आयात भने एकल अङ्कमा घटेको छ । रासस