विकासन्युज

गड्डाचौकी नाका तीन दिन बन्द हुने

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ । ‘उत्तराखण्ड चम्पावत जिल्लासग जोडिए दुई नाका मंगलबार साँझ सवा ५ बजेदेखि बन्द हुने भएको छ,’ कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भने, ‘भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका गरिँदै छ ।’ मंगलबार साँझ ५ः१५ बजेदेखि मतदान समाप्ति हुँदासम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन् । ‘स्वास्थ्य सेवाबाहेक अन्य पूर्ण रुपमा बन्द रहनेछन्,’ उनले भने, ‘त्यसका लागि भारतको चम्पावतमा रहेको मजिष्टे«टले प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।’

पहाडी भू-भागमा चट्याङसहित वर्षा, यी प्रदेशमा हावाहुरीको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने

सान फ्रान्सिसको । टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती गर्न लागेको टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आफ्ना कर्मचारीलाई पठाएको आन्तरिक इमेलमा उल्लेख छ । ‘हामी कम्पनीलाई हाम्रो विकासको अर्को चरणका लागि तयार गर्ने हो भने लागत कटौती र उत्पादकत्व बढाउनका लागि कम्पनीको हरेक पक्षलाई हेर्नु अत्यन्त महत्त्वपूर्ण छ,’ मस्कले उक्त इमेलमा लेखेका छन्, ‘टेस्लाको वृद्धिले ‘केही क्षेत्रहरूमा भूमिका र कार्यहरूको डुप्लिकेसन’ निम्त्याएको छ । यस प्रयासको एक भागको रूपमा, हामीले सङ्गठनको गहन समीक्षा गरेका छौं र विश्वव्यापी रूपमा हाम्रो जनशक्तिलाई १० प्रतिशतभन्दा बढी घटाउने कठिन निर्णय गरेका छौँ । मलाई योभन्दा बढी घृणा गर्ने कुनै कुरा छैन, तर यो गर्नैपर्छ ।’ यसले अर्को विकास चरणको चक्रमा जान, परिवर्तित हुन सक्षम बनाउनेछ-उनले बताएका छन् । १४ हजारभन्दा बढी रोजगारदाताहरूलाई असर पार्न सक्ने कटौती (समायोजन) को योजना विद्युतीय सवारीसाधन उत्पादनका लागि ख्यातिप्राप्त टेस्ला कम्पनीले तीन वर्षमा बिक्रीमा पहिलो वर्ष वार्षिक बिक्री दरमा गिरावट आएको बताएको दुई हप्तापछि सार्वजनिक भएको हो । कम्पनीले सन् २०२४ मा हरेक वर्ष ५० प्रतिशतको वृद्धि दर हासिल गर्ने लक्ष्य राखेकोमा सन् २०२४ मा बिक्री वृद्धि दर ‘उल्लेखनीय रूपमा कम’ हुने चेतावनी दिएको छ । एजेन्सी

८ करोडको कारोबार गर्दै सकियो भक्तपुर औद्योगिक महोत्सव

भक्तपुर । नयाँ वर्ष २०८१ सालका अवसरमा भक्तपुरमा गत चैत २२ गतेदेखि भक्तपुरको सल्लाघारीमा आयोजना गरेको ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०८०र८१’ को सम्पन्न भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सवमा ८ करोड रुपैयाँको कारोबार गर्दै महोत्सव सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । मानवीय दैनिक जीवनमा अत्यावश्यक पर्ने सम्पूर्ण सामान एकै ठाउँमा पाइने गरी आयोजना गरेको महोत्सवमा करिब दुई लाख उपभोक्ताले अवलोकन गरी महोत्सवबाट लाभ लिएको उनले बताए । स्थानीय उत्पादनदेखि देश विदेशका सामानलाई सुपथ मूल्यमा उपलब्ध गराएको भन्दलै उनले १ सय ५० स्टल रहेको महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, अटोमोबाइल, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेकट्रोनिक्स सामानलगायत स्टलबाट उपभोक्ताले लाभ लिएको बताए । महोत्सवमा कृषि तथा हस्तकलाका सामग्रीहरू, भाँडाकुँडाका सामग्रीहरू, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने जानकारी दिँदै बिक्री गरिने सामानहरूमा २० देखि ५० प्रतिशतसम्म छुट दिएको मेलाका संयोजक दीपक थापाले जानकारी दिए । महोत्सवमा फेसन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी प्रदर्शनी, भक्तपुरको मौलिक उत्पादनका प्रदर्शनी, अटोमोबाइल प्रदर्शनीसमेत गरिएको थियो । महोत्सवमा एसियाकै उत्कृष्ट बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादू, बालबालिकाको खेल सामग्रीका साथै दैनिक दर्जनौँ राष्ट्रियस्तरका कलाकारहरूको साङ्गीतिक र हास्यव्यंग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति समेत रहेको उनले बताए । यही वैशाख ३ गते आज नेपाली भाषी भारतीय गायक विपुल क्षत्रीको लाइभ कन्सर्टको समेत आयोजना गरिएको मेला आयोजक संस्थाका निर्देशक सुनिल बज्राचार्यले जानकारी दिए । हरेक दिन ब्यान्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोइङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको आज कन्सर्ट गरेर मनोरञ्जन प्रदान गरेको उनले बताए ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले बढ्यो

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । मंगललबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो । नेपाल आयल निगम लिमिटेडले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थको प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैयाँ ४६ पैसा मूल्य बढेको हो । नयाँ खुद्रा मूल्यअनुसार पेट्रोलप्रति लिटर रुपैयाँ १ सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ १ सय ६१ पुगेको छ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ । यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङका लागि १ सय ७७ रुपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य १ सय ६१ रुपैयाँ कायम गरिएको छ ।

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

फाइल फोटो काठमाडौं । सरकारले यही बैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । उनले भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताए । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । उनले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटिने बताए । पोषण शाखा प्रमुख थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने बताए । ‘भिटामिन ए र जुकाको औषधि खुवाउन आएका अभिभावकलाई तपाईंको बच्चाले कुनै खोप लगाउन छुटेको छ कि छैन भनेर महिला स्वयंसेविकाले सोध्ने गर्दछन,’ उनले भने, ‘यदि खोप लगाउन छुटेको हो भने नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउन महिला स्वयंसेविकाले अनुरोध गर्दछन् ।’ सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ । रासस

वर्षा अगावै भूकम्प पीडितलाई स्थायी आवासको व्यवस्था गरियोस् : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रक्रियाको अलमल र ढिलासुस्तीका कारण विपद् प्रभावितहरु आफ्नो अधिकार प्राप्त गर्नबाट वञ्चित नहोऊन् भन्ने विषयमा गम्भीर हुन सम्बद्ध क्षेत्रका अधिकारीहरुसँग आग्रह गरेका छन् । सिंहदरबारमा सोमबार भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१औँ बैठकलाई सम्बोधन गर्दै उनले विपद् न्यूनीकरण, विपद्मा परेकाहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कुनै पनि कारणले ढिला हुन नहुनेमा ध्यानाकर्षण गराए । बैठकमा गृहमन्त्री लामिछानेले भने, ‘प्रक्रियामा सहजताका लागि ध्यान दिन जरुरी छ, निर्णय प्रक्रिया ढिला हुँदा र झन्झटिलो हुने गरेका गुनासाहरु आइरहेकाले कसरी छरितो बनाउने भन्नेमा ध्यान पुगोस् । समयमै कार्यसम्पादन गर्न प्रक्रियागत अलमल र कानुनी जटिलताका कारण प्रभावित नागरिक अधिकारबाट वञ्चित नहोस् ।’ उनले आउँदो वर्षाअघि नै विपद् पीडितहरु घरभित्र बस्न पाउन भन्ने चाहना आफ्नो रहेको जानकारी गराउँदै छरितो ढङ्गले काम अघि बढाउन मातहतका अधिकारीहरुलाई निर्देशन पनि दिए । पछिल्लो समयमा आगलागीका कारण सैनिक र बालबालिकाको निधन भएकामा दुःख व्यक्त गर्दै गृहमन्त्री लामिछानेले कानुनमा रहने लुप होलका कारण प्रभावितलाई थप पीडा हुनेतर्फ ध्यान दिन आग्रह गरे । बैठकमा गृहमन्त्री लामिछानेले पेस गरेका ‘विपद् प्रभावितको निजी आवास प्रबलीकरण, पुनः निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१’ परिमार्जनसहित स्वीकृत भएको छ । कार्यविधिमा हिमपहिरो र खडेरीलाई समेत समावेश गर्ने गरी पारित भएको हो । बैठकमा सहभागी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रभावितहरुको राहत, उद्धार तथा पुनःस्थापनमा समस्या देखिँदै आएको उल्लेख गर्दै त्यसतर्फ चुस्त काम गर्न जरुरी रहेको औँल्याए । उनले विपन्नताका कारण जग्गा जमिन नभएकाहरुको हकमा पनि सरकारबाट उचित व्यवस्थापन गर्न सकिने गरी नीतिनियम बनाउनुपर्नेमा जोड दिए । सो क्रममा गृहसचिव एकनारायण अर्यालले पहिलेकै कार्यविधिमा टेकेर अहिले नयाँ कार्यविधि तयार पारिएको जानकारी दिँदै यसले स्थानीय पालिकामा रिसोर्स नभएको खण्डमा सङ्घीय सरकारले गर्न सक्ने गरी बनाइएको बताए । उनले त्यसको नियमावली कानुन मन्त्रालयमा परामर्शका लागि पुगेकाले एक–दुई दिनभित्रैमा मन्त्रिपरिषद्मा पठाउने जानकारी गराउँदै उक्त नियमावली र कार्यविधिहरु बजेटअघि नै स्वीकृत भएमा तीनवटा सरकारलाई बजेट व्यवस्थापनमा सहज हुने बताए । बैठकले पेस गरिएको पश्चिम नेपालमा गएको भूकम्पबाट क्षतिको अवस्थाका बारेमा अध्ययन प्रतिवेदन, खोज उद्धारका लागि हवाई उद्धारमा लागेको खर्च, मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन साझेदार संस्था परिचालनसम्बन्धी कार्यविधि २०८१ लगायत प्रस्तावहरु स्वीकृत गरेको छ । केही प्रस्ताव भने आवश्यक छलफलपछि अर्को बैठकले स्वीकृत गर्ने गरी बैठक स्थगित गरिएको जनाइएको छ । रासस

नारायणकाजी श्रेष्ठले पाए अर्थमन्त्रीको जिम्मेवारी

काठमाडौं । नारायणकाजी श्रेष्ठलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठलाई अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् । अर्थमन्त्री वर्षमान पुन अनन्त विदेश भ्रमणमा अमेरिका उडेपछि श्रेष्ठलाई जिम्मेवारी तोकिएको हो । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठकमा सहभागी हुन अर्थमन्त्री पुन सोमबार बिहान अमेरिका उडेका छन् । मन्त्री पुन ८ वैशाखमा स्वदेश फर्किने छन् ।