साना किसान विकास लघुवित्तले कार बेच्दै
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सवारी साधन (कार) लिलामीमा बिक्री गर्ने भएको छ । लघुवित्तले आफ्नो नाममा रहेको कार लिलामीमा बिक्री गर्ने भएको हो । केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा रहेको सवारी साधन (टोयोटा जिप) जे जस्तो अवस्थामा रहेको छ सोही अवस्थामा स्क्रयाप मूल्यमा बिक्री गर्ने लघुवित्तले जनाएको छ । खरिद गर्न ईच्छुक व्यक्ति तथा कम्पनीले बैशाख २० गतेभित्र बोलपत्र पेस गर्नुपर्ने छ । लघुवित्तका अनुसार बा ३ च ९२९६ नम्बरको रहेको यस जापानीज टोयोटा जीप सन् १९९७ मा बनेको हो । सिलबन्दी दरभाउपत्र प्रस्ताव एक प्रतिको १ हजार रुपैयाँ तिरेर आफूले सकार गरेको मूल्यको १० प्रतिशत रकम जम्मा गर्नुपर्नेछ ।
विश्व युद्ध निम्त्याउँदै, चीन सुन भित्र्याउँदै
काठमाडौं । एकातिर संसार युद्धको डिलमा उभिएको छ । एकपछि अर्को युद्ध भइरहेका छन् । इजरायल र हमासबीचको विवादमा इरान पनि जोडिन पुगेको छ । इरान र इजरायल आमनेसामने छन् । रुस र युक्रेनबीच युद्ध चलिरहेकै छ । मध्यपूर्वमा तनावको बीचमा चीन भने अर्कै ध्याउन्नमा छ । चीनले पछिल्लो १७ महिनामा सबैभन्दा धेरै सुन किनेको छ । विश्वका केन्द्रीय बैंकहरू मध्ये पिपुल्स बैंक अफ चाइनाले आक्रामक सबैभन्दा धेरै सुन खरिद गरिरहेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले पनि उच्च रेकर्ड कायम गरेको छ । सुनको भाउले रेकर्ड वृद्धि गरिरहँदा चीनले भने निरन्तर सुन खरिद गरिरहेको छ । सुन किन्ने मामिलामा चीनले धेरै देशलाई उछिनेको छ । चीनले किन किनिरहेकाे छ सुन ? सन् २०२३ देखि चीन निरन्तर सुन खरिदमा व्यस्त छ । सुन खरिदमा चीनले धेरै देशलाई पछि पारेको छ । सन् २०२२ को तुलनामा २०२३ मा चीनको सुनको भण्डार ११ प्रतिशतले बढेको छ । वर्ल्ड गोल्ड काउन्सिलका अनुसार २०२३ मा चीनको पिपुल्स बैंकले २ सय २५ टन सुन खरिद गरेको छ र त्यसको खरिद क्रम जारी छ । सन् २०२२ सम्ममा चीनको सुनको भण्डार २०२० टन रहेको भए पनि सन् २०२३ सम्ममा चीनको सुनको भण्डार बढेर २ हजार २ सय ३५ टन पुगेको छ । विश्वका विभिन्न भागमा जारी युद्धले विश्व अर्थतन्त्रलाई असर गरेको छ । विश्वका धेरै देशहरू मन्दीको चपेटामा छन् । विश्वको दोस्रो महाशक्ति चीन कोभिड–१९ यता आफ्नो अर्थतन्त्र व्यवस्थापनमा व्यस्त छ । चीनमा जारी रियल इस्टेट संकटले बैंकिङ क्षेत्रलाई घेरेको छ । चीनको सुस्त अर्थतन्त्र र अमेरिकी मुद्रा डलरमाथिको निर्भरता घटाउन चीन अहिले सुरक्षित लगानीतर्फ अघि बढिरहेको छ । सुनलाई सधैं सुरक्षित लगानी मानिन्छ । यस्तो अवस्थामा चीनले सुनमा लगानी बढाएर सुरक्षित लगानीमार्फत अर्थतन्त्रलाई मजबुत बनाउने प्रयास गरिरहेको छ । भूराजनीतिक तनाव बढ्दै गएपछि चीनले सुनमा लगानी गरेर आफ्नो अर्थतन्त्रलाई त्यो दबाबबाट जोगाउन खोजिरहेको छ । धेरै सुन किन्नुको पछाडि चीनको वास्तविक उद्देश्य भूराजनीतिक तनाव र अमेरिकी ब्याजदर कटौतीको सम्भावनाले सुनको माग बढेको हो । सुनको बम्पर रिटर्नले यसको माग बढाएको छ । सन् २०२३ मा सुनले डलरको हिसाबले १४ प्रतिशत प्रतिफल दिएको छ । यी कारणले सुनको भाउ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा पहिलो पटक सुनको भाउ प्रति औंस २३ सय डलर पुगेको छ । वास्तवमा, रिजर्भ मुद्राको रूपमा डलरको प्रभुत्व छ । चीन र अमेरिकाबीचको विवाद कसैबाट लुकेको छैन । चीनले अमेरिकी डलरको काउन्टर खोज्ने प्रयास गरिरहेको छ। चीन डलरमाथिको आफ्नो निर्भरता घटाउन चाहन्छ । यसले विदेशी मुद्रा सञ्चितिलाई विविधीकरण गर्न चाहन्छ, जसका लागि उसले सुनमाथिको निर्भरता बढाएको छ । सुन जम्मा गर्नु भनेको चीनको अर्थतन्त्र जोगाउने प्रयास मात्र होइन, यसले डलरको शक्तिलाई पनि चुनौती दिन चाहन्छ । चीनसँग कति छ सुन ? सरकारी तथ्यांकअनुसार मार्चको अन्त्यमा चीनसँग ७ करोड २७ लाख ४० हजार औंस सुन रहेको थियो । यो वृद्धिपछि चीनको सुन भण्डार १ खर्ब ४८ अर्ब ६४ करोड डलरबाट बढेर १ खर्ब ६१ अर्ब ७ करार डलर बराबर पुगेको छ । सन् २०२३ मा सबैभन्दा ठूलो सुन खरिदकर्ता पिपुल्स बैंक अफ चाइना थियो, यसले ७२ लाख ३० हजार औंस अर्थात करिब २ सय २५ टन सुन खरिद गरेको थियो । एसेन्सीहरूकाे सहयाेगमा
विश्वविद्यालय दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैन : मन्त्री श्रेष्ठ
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताएकी छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा प्राज्ञिक समूहसँगको भेटमा उनले यस्तो बताएकी हुन् । उनले प्राज्ञिक समूहले र प्राध्यापक तथा कर्मचारीहरुले पनि सरकारी सेवामा रहुन्जेलसम्म राजनीतिक दलको सदस्य बन्दैनौँ भन्ने संकल्प गर्न आवश्यक रहेको बताइन् । प्राज्ञहरुको विज्ञता, अनुभवलाई आफूले सम्मान गर्दै सुझावहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाइन् । शिक्षकहरु, कर्मचारीहरु राजनीतिक पार्टीको कुनै कार्यकारीमा बस्नु नहुने बताइन् । राजनीतिक नेतृत्वहरुसँग भेट्दा पनि राजनीतिक दलको सदस्यता दिन पाउनु हुन्न भनेर खबरदारी गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘दलीय राजनीति मुक्त शिक्षा क्षेत्र नभएसम्म यो अगाडि बढ्दैन । हजुरहरुको विज्ञता, अनुभव, नेटवर्क के हो भन्नेमा चाहियो । हाम्रो कानूनले स्पष्ट भन्छ । शिक्षकहरु, कर्मचारीहरु राजनीतिक पार्टीको कुनै कार्यकारीमा बस्नु हुँदैन भन्छ । ऐनमा नभएको होइन, गाह्रो हाउ पार्टमा भइरहेको छ । राजनीतिक दलका नेतृत्वहरुसँग भेट्दा उहाँहरुलाई राजनीतिक दलको सदस्यता दिन पाउनु हुन्न भनेर ऐनमै लेखेको कुरा भनिदिनुस् । कर्मचारी शिक्षकले राजनीतिक दलको सदस्य लिन सक्नुहुन्न ।’ मन्त्री श्रेष्ठले शिक्षा क्षेत्र शिक्षा मात्र नभइ समाजमा चेतना दिने क्षेत्र भएको बताइन् । शिक्षाले राम्रो नागरिक उत्पादन गर्ने बताइन् ।
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बंजी नेपाल एडभेन्चरमा छुट हुने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र बंजी नेपाल एडभेन्चरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बालुवाटार–४, काठमाडौं स्थित बैंक र रातोपैरो-१७, पोखरामा स्थित बंजी नेपाल एडभेन्चरबीच बैंकका ग्राहकहरुलाई बंजी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बंजी नेपाल ऐडभेन्चरको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बंजी नेपाल एडभेन्चर प्रा. लि मा गई एकल बंजी गर्दा १००० रुपैयाँ र जोडी बंजी गर्दा १५०० रुपैयाँ सम्म सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला १७ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार तोलामा १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै, तेजावी सुन पनि बढेर प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल सरकार र नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ छ । प्रस्तावित ४.७५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४१ करोड नाघ्ने छ ।
बैंकमा काम नगर्ने सीसीटीभी क्यामेरा, संवेदनशील क्षेत्रमा प्रशिक्षार्थी कर्मचारी
काठमाडौं । अन्य क्षेत्रभन्दा बैंकिङ क्षेत्र पारदर्शी हुने भएकाले हरेक कारोबार विश्वसनीय हुन्छन् । ग्राहकका हरेक कारोबार चुस्तदूरूस्त हुन्छन् । साथै, ग्राहकहरूको व्यक्तिगत विवरण र कारोबार पनि गोप्य राखिएको हुन्छ । तर, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक सुपरिवेक्षण प्रतिवेदन २०२२/२३ अनुसार कोर बैंकिङ प्रणाली वा संवेदनशील क्षेत्रमा प्रशिक्षार्थी तथा इन्टर्नहरूलाई काम गर्न खटाइएको पाइएको छ । वार्षिक रूपमा भएका घटनाहरूको अभिलेख राखेर बैंकहरूले आफ्नो व्यवसायिक योजना बनाउनु पर्ने हुन्छ । तर, यस्ता घटनाको प्रतिवेदन तयार गर्ने, आवधिक विश्लेषण गर्ने र व्यवस्थापकीय बैठकमा छलफल गरी उपयुक्त नीति निर्माणको अभाव देखिएको राष्ट्र बैंकको भनाइ छ । केही बैंकहरूले प्रमुख जोखिम सूचकहरूको पहिचान र जोखिम दर्ताका कागजातहरूका लागि उपयुक्त प्रणाली समेत विकास नगरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंकहरूको व्यवस्थापन टिमसँग ऋणका समस्या, ऋण प्रतिबद्धता र आकस्मिक दायित्व, माइग्रेसन लगायत प्रतिवेदन समेत उपलब्ध छैनन् । बैंकको कर्जा नोक्सान प्रावधान प्रणालीमा निष्क्रिय कर्जा (व्यवसाय सञ्चालन नभएको, कोषको दुरुपयोग, कालोसूचीमा राख्ने) गुणात्मक र अन्य मापदण्डहरू क्याप्चर गर्ने पर्याप्त प्रणाली छैन । बैंक खाता खोल्दा फारमहरू पूर्ण रूपमा भरिएका छैनन् भने पीईपी प्रमाणीकरण, स्वघोषणाका फारमहरू फारमहरू हराइरहेका छन् । साथै, लेखापरीक्षकले उठाएका मुद्दाहरूलाई समयमै सम्बोधन नगरेको, वितरण नगरिएका चेक र डेबिट कार्डहरू समयमै नष्ट नगरेको राष्ट्र बैंकको सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख छ । गलत क्रियाकलाप, शंकास्पद कारोबार लगायतका क्रियाकलाप न्यूनीकरण गर्न भिडियो निगरानी प्रयाप्त नभएको राष्ट्र बैंकले जनाएको छ । सीसीटीभी क्यामेरामा ९० दिनभन्दा कम ब्याकअप, ब्लर भिजिबिलिटीका कारण प्याकेट र बन्डलहरू पहिचान गर्न नसकिने, क्यामेरा बिग्रिएको, एन्टिलाइट लोकेशन जस्ता समस्याहरू छन् । कर्मचारी बढुवा नीति प्रभावकारी कार्यान्वयन नभएको, धेरै बैंकहरूको कर्मचारी कार्यसम्पादन मूल्याङ्कन बैंकको मानव संसाधन विनियमले निर्देशित गरेबमोजिम समयमै सञ्चालन नभएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, धेरै बैंकमा थोरै निक्षेपकर्ताहरूको ठूलो रकम निक्षेप रहेको छ । यी निक्षेपकर्ताहरूबाट अचानक रकम निकासी हुँदा बैंकहरूमा चरम तरलता तनाव निम्त्याउन सक्ने राष्ट्र बैंकको भनाइ छ । साथै, राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आकस्मिक कोष योजना तयार नहुँदा तरलता अभाव हुने गरेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार कतिपय बैंकले व्यवसाय निरन्तरता गर्ने योजना समेत बनाएका छैनन् । साथै योजना बनाएका बैंकले व्यवसाय निरन्तरता गर्न डिल गर्न सकेका छैनन् ।
वीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व संकलन
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व संकलन गरेको छ। महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा रु १२ करोड ७० लाख ४३ हजार सात सय ८२ संकलन भएको छ। महानगरले दोस्रो धेरै घरबहाल करबाट रु चार करोड ५५ लाख ७५ हजार आठ सय ६७ रहेको छ । महानगरले २४ वटा शीर्षकमा राजस्व संकलन गर्दै आएको छ । वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले महानगरले गत आवको नौ महिनाको तुलनामा चालु आवमा रु दुई करोड ९५ लाख बढी राजस्व संंकलन गरेको बताए । ‘गत आवको नौ महिनाको तुलनामा यो आवमा राजस्व संकलनमा सुधार देखिएको छ,’ उनले भने । गत आवको नौ महिनामा भने रु ३३ करोड ८० लाख ५४ हजार तीन सय ६० राजस्व संकलन भएको थियो । वीरगञ्ज महानगरले गत आवभरिमा भने रु ५७ करोड एक लाख ७३ हजार दुई सय एक राजस्व संकलन गरेको थियो । त्यसैगरी, महानगरले आव २०७८/७९ मा भने रु ५१ करोड २२ लाख २४ हजार चार सय ९० राजस्व संकलन गर्याे । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले वीरगञ्जमा आयोजित सार्वजनिक कार्यक्रममा वीरगञ्जका ठूला उद्योगी व्यवसायीलाई घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गरेका थिए । ‘नेपालको संविधानमा नै घरबहाल कर स्थानीय तहले संकलन गर्ने भनिएको छ,’ उनले भने, ‘ठूला उद्योगले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा कर तिर्दा स्थानीय सरकारको राजस्वमा केही कमी आएको छ। त्यसैले घरबहाल कर स्थानीय सरकारलाई बुझाउन अनुरोध गर्दछु ।’ महानगरले चालु आव २०८०/८१ को लागि रु तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ रु दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार र पुँजीगततर्फ रु ६८ करोड ८७ लाख १५ हजार छुट्याइएको थियो । महागरले बजेट तथा नीति कार्यक्रममा चालु आवमा आन्तरिक राजस्वबाट रु एक अर्ब २० करोड ४४ लाख ३० हजार संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । रासस