विकासन्युज

भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई ग्लोबल आइएमइ बैंकले शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी भएको छ । बैंक र हब इन्टरनेशनल एजुकेशनबीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेशन प्रा. लि.का संस्थापक तथा अध्यक्ष उद्धव बहादुर खड्काले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकले हब इन्टरनेशनल एजुकेशन प्रा. लि.ले सिफारिस गरेका विद्यार्थीहरुलाई भारतका विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक वित्तीय दायित्व वहन गर्न आवश्यक शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्नेछ । हब इन्टरनेशनल एजुकेशनमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात् छिटो, सरल तथा सहज रुपमा यो कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ, १ हजार मेगावाट बिजुली उत्पादन

फुङ्लिङ । ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् । ती आयोजनाबाट एक हजार छ सय ५४.५१ मेगावाट बिजुली उत्पादन हुनेछ । मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट एक सय ७८.४२ मेगावाट विद्युत् उत्पादन हुने छ । काबेली खोलामा चारवटा आयोजना निर्माण भइरहेका छन् । ती आयोजनाबाट ९५.४३ मेगावाट बिजुली उत्पादन हुनेछ । यसैगरी, पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुने छ । सोना खोलामा हिमाली हाइड्रोपावरले नौ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ । सिदिङवा गाउँपालिका–१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले ४.६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको छ । रासस

बोल्टका लागि जगदम्बा मोबाइल्स नेपालको आधिकारिक वितरक नियुक्त

काठमाडौं। शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रा.लि.ले भारतीय वेरेबल ब्राण्ड बोल्टसँग विशेष सहकार्य गरेको छ । योसँगै जगदम्बा मोबाइल्स अब नेपालको लागि बोल्टको आधिकारिक वितरक भएको छ । यो सहकार्यले नेपालमा स्मार्टवाच र इयरबड्स्जस्ता वेरेबल उत्पादनहरुको बजारलाई नयाँँ आयाम दिने विश्वास कम्पनीले लिएको छ । यो सहकार्यसँगै अब नेपाली उपभोक्ताहरूको विभिन्न आवश्यकता र प्राथमिकता अनुसारका स्मार्टवाच र टिडब्लुएस् (ट्रू वायरलेस स्टेरियो) इयरबडहरू बजारमा उपलब्ध रहेका छन् । बोल्टका स्मार्टवाच अन्तर्गत रिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडलहरू उपलब्ध रहेका छन् भने टिडब्लुएस् इयरबड्स् अन्तर्गत म्याभरिक, एक्स १० प्रो, के ४५, के ३५, के ६०, एक्स ७० र एक्स ४५ मोडलहरू उपलब्ध रहेका छन् । यी सबै मोडलहरू आजबाट दराज लगायत जगदम्बा मोबाइल्सका आधिकारिक रिटेलरहरुमा आकर्षक मूल्यमा उपलब्ध छन् । २०१७ मा वरुण गुप्ता र तरुण गुप्ताद्वारा सह–स्थापना गरिएको बोल्ट पछिल्लो आइडिसि प्रतिवेदन अनुसार भारतमा २०२३ मा सबैभन्दा छिटो वृद्धि भइरहेको वेरेबल ब्राण्ड हो ।

जापानलाई ३८ अर्ब अमेरिकी डलरको व्यापार घाटा

काठमाडौं । आर्थिक वर्ष २०२३ मा जापानको व्यापार घाटा एक वर्ष अघिको तुलनामा करिव ७० प्रतिशतले घटेर ५.८९ ट्रिलियन येन (लगभग ३८ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । मार्चमा समाप्त भएको आर्थिक वर्षमा निर्यात ३.७ प्रतिशतले बढेर १०२.९० ट्रिलियन येन पुगेको छ । जुन पहिलो पटक १०० ट्रिलियन येनमा पुगेको छ र लगातार तेस्रो वर्ष रेकर्ड उच्च रहेको अर्थ मन्त्रालयको प्रारम्भिक प्रतिवेदनले देखाएको छ । अटोमोबाइल निर्यात, जुन जापानको कुलको लगभग १७ प्रतिशत हो । ३०.२ प्रतिशतले बढेर १७.८८ ट्रिलियन येन पुगेको छ । कमजोर येनले जापानको आयात लागत बढाउने र मुद्रास्फीतिलाई तिब्र पार्दै, नतिजाले वित्तीय २०२२ मा रेकर्ड २२.०६ ट्रिलियन येन घाटा पछि लगातार तेस्रो वर्ष घाटा चिह्नित गरेको छ । बुधबार जारी गरिएको मार्च महिनाको तथ्यांकले देखाएको छ कि जापानले ३६६.५ बिलियन येनको व्यापार वचत दर्ता गरेको छ । जुन तीन महिनामा पहिलो वचत हो । जुन अघिल्लो वर्ष ७५०.९ बिलियन येनको घाटा थियो । मार्चमा निर्यात बढेर ९.४७ ट्रिलियन येन पुगेको छ । जुन एक वर्ष अघिको तुलनामा ७.३ प्रतिशतले बढेको छ भने आयात ४.९ प्रतिशतले घटेर ९.१० ट्रिलियन येनमा पुगेको छ ।

५ पालिकाको निर्णय : सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । जिल्लाका ११ पालिकामध्ये पाँच वटा पालिकाले पालिकाभित्र सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेका हुन् । गोरखाको भीमसेन थापा गाउँपालिका, अजिरकोट गाउँपालिका, गोरखा नगरपालिका, धार्चे गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले सूचना जारी गरेर सार्वजनिक पदमा रहेका सबैले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिइसकेका छन् । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारसँगै अभिभावक र बालबालिकाको आर्कषण बढाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्यलगायत सबै सार्वजनिक पदमा रहेका व्यक्तिले बालबालिका सामुदायिक विद्यालयमा पढाउनै पर्ने निर्णय भएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । ‘सामुदायिक विद्यालयलाई व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चिता गर्न सहयोग पुर्याउने उद्देश्यले यस्तो निर्णय गरिएको हो’, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले भने, ‘सार्वजनिक पदमा रहेका व्यक्तिले बालबालिका बाहिर नपठाएपछि अरुलाई पनि सामुदायिक विद्यालयमा पढाउन हौसला पुग्छ ।’ बारपाक सुलिकोट गाउँपालिकाले पनि गाउँसभाको निर्णयबमोजिम सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति लागू गरेको बारपाक सुलिकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोदराज भट्टले जानकारी दिए । बारपाक सुलिकोटले चालु शैक्षिकसत्र २०८१ देखि यस्तो नीति लागू गरेको हो । गाउँपालिकाको यो निर्णयले शिक्षालाई बालमैत्री, गुणस्तरीय, प्रतिस्पर्धी र नजितामुखी बनाउन सहयोग पुग्ने विश्वास भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले व्यक्त गरे । भीमसेन थापा गाउँपालिकाले सवै वडामा सार्वजनिक पदमा रहेका व्यक्तिका बालबालिका कुन–कुन विद्यालयमा अध्ययनरत छन् भन्ने विवरणसमेत पठाउन सबैलाई निर्देशन दिएको उनको भनाइ छ । भीमसेन थापा गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ अभियानसमेत सम्पन्न गरिसकेको छ । रासस

भारत छिर्दै टेस्ला, टाटा मोटर्सलाई चुनौती

काठमाडौं । विश्वको सबैभन्दा ठूलो इलेक्ट्रिक कार कम्पनी टेस्ला भारत प्रवेश गर्न लागिरहेको छ । टेस्लाका मालिक इलन मस्क छिट्टै भारत भ्रमणको तयारीमा छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने बताइएको छ । यस अवधिमा उनले भारतमा आफ्नो योजना लागु गर्ने खाका प्रस्तुत गर्न सक्छन् । हाल टाटा मोटर्सले भारतमा बिक्री हुने सबै इलेक्ट्रिक कारको ७०.५ प्रतिशत हिस्सा ओगटेको छ । दोस्रो स्थान १२.७६ प्रतिशत एमजी मोटर्सको छ । यसको प्रवर्द्धक चिनियाँ हुन् । महिन्द्रा एन्ड महिन्द्रा ५.७३ प्रतिशत हिस्सासहित तेस्रो स्थानमा छ । अन्य खेलाडीमा हुन्डाई, बीवाईडी लगायत समावेश छन् । टेस्लाको प्रवेशले भारतको इलेक्ट्रिक कार बजारको तस्वीर परिवर्तन गर्ने अनुमान गरिएको छ । दिग्गज अमेरिकी कम्पनी टेस्ला महँगो कार बेच्नका लागि परिचित छ । रिपोर्टका अनुसार टेस्ला कारको मूल्य ६० देखि ७० लाख रुपैयाँसम्म पर्छ । यदि कम्पनीले भारतको नयाँ ईभी नीतिका सर्तहरू पूरा गर्छ भने यसका कारहरूको मूल्य २६ लाखदेखि ४५ लाख रुपैयाँसम्म हुनेछ । यसको मतलब टेस्लाले महँगो कार सेगमेन्टमा हलचल सिर्जना गर्ने छ । पछिल्ला केही वर्ष भारतमा धनीहरूको संख्या तीव्र रूपमा बढेको छ । यस्तो अवस्थामा टेस्लाले यस क्षेत्रलाई आकर्षित गर्न सक्छ । भारतीय बजार धेरै ठूलो छ । मस्कले यसको क्षमता बुझेका छन् । यस्तो अवस्थामा टेस्लाको आगमनले प्रिमियम कार बजार क्षेत्रमा फरक पार्ने निश्चित छ । यद्यपि, जहाँसम्म मिड प्राइस सेगमेन्टको कुरा छ, त्यसमा टेस्लाको आगमनले धेरै फरक पार्ने सम्भावना छैन । २०३० सम्म भारत विश्वको तेस्रो ठूलो बजार भारतीय विद्युतीय बजार अझै परिपक्व छैन । चार्जिङ पूर्वाधार ठूलो चुनौती हो । तर, सरकारले यो चुनौतीलाई समाधान गर्न लागिरहेको छ । भारतीय ईभी कार बजारमा टेस्लाको प्रमुख प्रतिद्वन्द्वी टाटा मोटर्स बन्ने भएको छ । ईभी बजारमा प्रतिस्पर्धा निरन्तर बढ्दै गएको छ । यसले टेस्लाका लागि खतरा निम्त्याउँछ । चिनियाँ उत्पादकहरूले सबैभन्दा सस्तो मूल्यमा ईभी कारहरू बनाएर चुनौती प्रस्तुत गरिरहेका छन् । सन् २०३० सम्ममा भारतीय बजार विश्वको तेस्रो ठूलो ईभी बजार बन्ने अपेक्षा गरिएको छ । पेट्रोल र डिजेलको बढ्दो मूल्य, सरकारी प्रोत्साहन, वायु प्रदूषणको चिन्ता र पूर्वाधारमा सुधार जस्ता कारकहरूले ईभी उत्पादनलाई प्रोत्साहित गरेका छन् । टाटा मोटर्स भारतको सबैभन्दा ठूलो ईभी उत्पादक हो । यसले नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभीसहित विद्युतीय सवारीसाधनको श्रृंखला प्रदान गर्दछ । उही समयमा, महिन्द्रा एन्ड महिन्द्राले भारतमा ईवेरिटो र ट्रेओ जोर जस्ता मोडेलहरू बेच्छ । टेस्लाले प्रिमियम इलेक्ट्रिक गाडीहरू प्रस्तुत गर्छ । यसमा मोडेल एस, मोडेल ३, मोडेल एक्स र मोडेल वाई समावेश छन् । यसले सौर्य प्यानल र ऊर्जा भण्डारण उत्पादनहरू पनि प्रदान गर्छ । एजेन्सी

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । यस सेयरमा सेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुकले आवश्यक कागजातसहित ७ दिनभित्र बैंकको काठमाडौं लाजिम्पाटमा रहेको सेयर शाखामा निवेदन दिन सक्नेछन् । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले यसअघि संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी फागुन ३० गते उक्त सेयर बिक्रीमा ल्याएको थियो ।

सूर्यज्योति लाइफ र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरी कुल ३५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीका अनुसार आगामी वैशाख २१ गते आयोजना हुने कम्पनीको वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरिने छ । यस्तै, प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/०८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । आगामी वैशाख २० गते कम्पनीको वार्षिक साधारण बस्दैछ । उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश पारित गरिनेछ । दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि वैशाख ७ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीमात्रै यी कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सभामा सहभागी हुन पाउनेछन् ।