जोखिमकै बीचबाट सहकार्य र एकताको प्रक्रिया अगाडि बढ्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् । सोमबार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘जोखिमहरू छन् । जहिले पनि रहन्छन् । तर, जोखिमकै बीचबाट परिणाम दिने कुरा मुख्य हो । हामीले सहकार्यको प्रक्रिया अगाडि बढाएका छौँ । जोखिमकै बीचबाट यसलाई अगाडि बढाउनुपर्छ ।’ कार्यक्रममा नेकपाका संस्थापक नरबहादुर कर्माचार्यप्रति श्रध्दाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘नरबहादर कर्माचार्यप्रति हार्दिक श्रध्दाञ्जलि र सम्मान व्यक्त गर्दछु । उहाँ सधै एकताको पक्षधर हुनुहुन्थ्यो । उहाँ विचारमा दृढ हुनुहुन्थ्यो । सरल, निष्ठावान, मिलनसार, विचार जीवित राख्ने प्रेरणाको स्रोत हुनुहुन्थ्यो । पछिल्लोसमय उहाँसँग राम्रो सहकार्य भयो । राम्रो अभिभावकको भूमिका निभाउनुभयो ।’ प्रधानमन्त्रीले एकपटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने बताए । उनले भने, ‘अघिल्लो एकता बचाउन सकिएन, तर एकपटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन । समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ । स्वाधीनताका निम्ति, वामपन्थी सहकार्यका निम्ति, आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ।’ प्रधानमन्त्रीले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको बताए । उनले भने, ‘विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्ने आजको आवश्यकता हो । हामी सबै समाजवादमा सहमत छौँ । विज्ञान प्रविधिको विकास, एआइले मानवीय जीवनमा पार्ने प्रभाव, विश्वका देशहरूको सम्बन्ध, जलवायु परिवर्तन जस्ता विषयको अध्ययन, अनुसन्धान र विश्लेषण जरूरी छ । यी विषयहरूसमेतका आधारमा नयाँ कार्यदिशामा जानुपर्छ। जस्ता कुराहरूलाई नयाँ कोणबाट हेर्नुपर्छ ।’
सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम तयार
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जेन जेड लक्षित कार्यक्रम तयार गरेको छ । नव वर्ष २०८१ सालको आगमन सँगै कम्पनीले नयाँ र अद्वितीय ढङ्गले सेवा ग्राहिहरुलाई सहायता पुर्याउने उद्देश्यका साथ कार्यक्रमहरु तयार पारेको हो । उक्त कार्यक्रमहरु मध्यको एक, जेन जेड अन्तर्गत पर्ने युवा पुस्ताहरुलाई मध्य–नजर गर्दै ‘सिटिजन विथ जेन जेड’ कार्यक्रमहरु सञ्चालन गर्ने, भविष्यका लागि जीवन बीमा र लगानिको महत्व बारे बुझाउने र युवा वर्गहरु आकर्षित हुने कार्यक्रमहरु सञ्चालन गरी उनिहरुलाई सचेत गराउने र चाहिने सहयोग पुर्याउने रहेको छ । सिटिजन आफैमा नेपालको जीवन बीमा कम्पनीहरु मध्धे कान्छो कम्पनीहरुमा पर्दछ । यस कम्पनीमा कार्यरत कर्मचारीहरु पनि धेरै जसो युवा उमेर समूहकै छन् । सायद त्यसैले नै होला यस कम्पनीले सधै जोश र जागरका साथ नयाँ र आक्रमक रणनिती लिएर व्यापार प्रतिसप्रधामा उच्च स्थान हासिल गरी सधै आफुलाई प्रमाणित गर्दै आइरहेको कम्पनीले जनाएको छ । हाल सिटिजनले कम्पनीको आन्तरिक कर्मचारीहरु आकर्षित हुने रचनात्मक र चुनौतीपूर्ण कार्य, आफ्नो कुशलता प्रस्तुत गर्ने अवसर, विभिन्न तालिम र सीप विकास कार्यक्रमहरुमा सहभागी हुने साथै विभिन्न खेल्कुद प्रतियोगिताहरुमा सहभागी हुने अवसर प्रदान गरिरहेको छ । साथै, यसै वर्ष देखी विविधतामा एकता पहलका साथै कम्पनी भित्र विभिन्न जात, धर्म र संस्कृतिक परिभाषाका कर्मचारीहरु मध्य विविधतामा समावेशिताको भावना जागाउनका लागी विभिन्न संस्कृतिक कार्यक्रमहरुको आयोजना गराउने तयारी गरेको कम्पनीले जनाएको छ । पछिल्लो समयमा सिटिजन लाइफ, युवा वर्ग लक्षित कम्पनीको डिजिटल सिटिजन अभियान अन्तर्गत, डायनामिक क्युआर पेमेन्ट सिस्टम संचालन लगायत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्राणलिको सुरुवात गर्ने पहिलो कम्पनी हो । अहिलेको प्राविधिक युगमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै यस क्रमलाई अझै सकृय र अप टु डेट बनाउने प्रयासमा छ । जसका लागी कम्पनीको व्यवस्थापन समुहले अनुसन्धान, विकास र प्राविधिमा लगानी बढाउने तय गरेको कम्पनीले जनाएको छ ।
लगानी सम्मेलनअघि ८ कानून संशोधन, लगानीमैत्री वातावरण निर्माण गर्ने प्रयास
काठमाडौं । सरकारले लगानी सम्मेलनलाई केन्द्रित गर्दै अध्यादेशमार्फत् कानून संशोधन गरेको गरेको छ । लगानी सम्मेलन हुन एक साता अगाडि सरकारले अध्यादेश मार्फत् कानून संशोधन गर्ने निर्णय गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट सिफारिस भएपछि अध्यादेश जारी हुने सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । उद्योगमन्त्री दामोदर भण्डारीको प्रस्तावमा सरकारले ८ वटा कानून संशोधन गर्ने निर्णय गरेको हो । सरकारले आगामी वैशाख १६ र १७ गते तेस्रोपल्ट लगानी सम्मेलन गर्दैछ । त्यस अगावै सरकारले कानून संसोधन गरेर लगानीमैत्री वातावरण निर्माणमा सरकारले काम गरिरहेको महसुस लगानीकर्तालाई गराएको हो । यो विषयको माग निजी क्षेत्रले लामो समयदेखि गर्दै आएको थियो । मुख्य सचिव बैकुण्ठ अर्यालको नेतृत्वमा गठन भएको लगानी सम्मेलन कार्यान्वयन समितिले कानुन संशोधन सम्बन्धी तयारी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालिन सचिव एकनारायण अर्यालको संयोजकत्वमा नीति, कानुन तथा संरचनागत सुधार कार्यदल गठन गरेको थियो । उक्त कार्यादलले १० ऐन तथा २ नियमावली संशोधन गर्नु पर्ने प्रस्ताव गरेको थियो । सरकारले औद्योगिक व्यवसाय ऐन २०७६, विशेष आर्थिक क्षेत्र ऐन २०७३, वन ऐन २०७६, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, भूमि सम्बन्धी ऐन २०२१, जग्गा प्राप्ति ऐन २०३४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, वातावरण संरक्षण ऐन २०७६, विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन २०६३, नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन २०५३ संशोधन गर्ने निर्णय गरेको हो । सरकारको यो कदमले निजी क्षेत्र खुसी भएको छ ।
५५ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र
गोदावरी । कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा ५५ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०६२/६३ मा बनाइएको पक्की बाँध २०६४ सालमा आएको बाढीले भत्काएपछि सो आयोजना हालसम्म अलपत्र परेको हो । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय सो सिँचाइ आयोजना निर्माणका लागि हरेक आर्थिक वर्षमा बजेट विनियोजन गर्दै आए पनि पानीको स्रोत सुनिश्चितता नभएका कारण बजेट फ्रिज हुँदै आएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आयोजनाका लागि आव २०७५/७६ मा २० लाख रुपैयाँ र प्रशासनिक खर्चका लागि कैलारी गाउँपालिकाको कार्यालयले एक लाख ५० हजार बजेट रुपैयाँ विनियोजन गरेको थियो । गत आव २०७९/८० मा योजना निर्माणको प्रक्रिया अघि बढाउन प्रदेश सरकारले ६ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि खर्च हुन नसकेर फ्रिज भएको जनाइएको छ । प्रदेश सरकारले गुर्गी सिँचाइ आयोजनालाई बहुवर्षीय योजनाअन्तर्गत प्राथमिकतामा राखेर चालु आवमा १२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आयोजना अघि बढाउन बजेट विनियोजन गरिए पनि पानीको स्रोत सुनिश्चितता नभएकाले सो आयोजना निर्माणका लागि पुनः डिपिआर तयार गर्नुपर्ने जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख अमरबहादुर पालले बताए । उनले सो आयोजनाको डिपिआरका लागि बजेटको माग गरिएको बताउँदै बजेटको सुनिश्चितता भएपछि डिपिआरको काम अघि बढ्ने जानकारी दिए । झण्डै दुई दशकअघि भत्केको बाँध अहिलेसम्म बन्न नसकेपछि किसान नहरको पानी उपभोग गर्नबाट बञ्चित हुँदै आएको गुर्गी सिँचाइ आयोजना सङ्घर्ष समितिका संयोजक कमलप्रसाद चौधरीले बताए । जिल्लाको पुरानो सिँचाइ आयोजनामध्ये गुर्गी सिँचाइ आयोजनाको बाँध २०२६ सालमा तत्कालीन जमिनदार रामदिन महतो, छिमानन्द र देशराज महतोले आफ्ना रैतीमार्फत बनाएको जनाइएको छ । आव २०६२/६३ मा पक्की बाँध बनाइए पनि २०६४ सालमा आएको बाढीले आयोजनाको बाँध भत्काएपछि सो आयोजना अहिलेसम्म अघि बढ्न नसकेको चौधरीको गुनासो छ । आयोजना बन्द भएर नहरसमेत अतिक्रमण भएपछि कैलारीका वडा नं १, २, ५ र ७ वडाका किसानले सिँचाइ अभाव समस्या झेल्दै आएको सङ्घर्ष समितिका संयोजक चौधरीले बताए । मुख्य पेसा खेतीकिसानी रहेको सो क्षेत्रका किसानले आकाशे पानी र बोरिङको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेको छ । जिल्लाकै नमूना रहेको सो योजनाबाट कैलारीका झण्डै छ हजार बढी किसान लाभान्वित हुँदै आएकामा बाढीले योजनाको बाँध भत्काएछि आकाशे पानीको भर पर्नुपरेको किसानको गुनासो छ । उक्त सिँचाइ योजनाबाट एक हजार चार सयभन्दा बढी हेक्टर जमिनमा सिँचाइ उपलब्ध हुँदै आएको जनाइएको छ । रासस
बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो तर सेवा पुगेन
गलकोट । बागलुङमा एक लाख १६ हजार नागरिक स्वास्थ बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०७३ असारदेखि लागू भएको यस कार्यक्रममा नागरिकको आकर्षण थप बढ्दो छ । सो बीमाबाट लाभ लिनका लागि स्वास्थ्य सेवाको पहुँच भने अझै पुग्न सकेको छैन । स्वास्थ्य बीमामा पहुँच पुगे पनि आफ्नै पालिकामा त्यसबाट लाभ लिन नपाएकामा बीमितहरू निराश देखिएका छन् । निसीखोला गाउँपालिका-३ का हुमलाल रेग्मीले आफ्नै पालिकामा निःशुल्क स्वास्थ्य सेवा पाउने आशले स्वास्थ्य बीमा गरे पनि हालसम्म बीमामार्फत औषधोपचार नपाएको गुनासो गरे । हुमलालमात्रै होइन निःशुल्क स्वास्थ्य सेवा पाउने आशमा स्वास्थ्य बीमा गरेका यस पालिकाका १४ हजार तीन ४२ जनामध्ये कसैले पनि आफ्नै घरछेउमा बीमाबाट लाभ लिन सकेका छैनन् । गाउँपालिकाले त सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने अभियान नै सञ्चालन गरेको छ । त्यसका लागि आफ्नै स्रोतबाट पहिलोपटक स्वास्थ्य बीमा गर्ने नागरिकको प्रिमियम बराबरको रकम तिर्ने गरेको छ । यस कार्यले सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउन सघाउ पुगे पनि स्वास्थ्य सेवा पाउन ढोरपाटन नगरपालिकास्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र धाउनुपर्ने बाध्यता रहेको रेग्मीको भनाइ छ । ‘गाउँगाउँमा स्वास्थ्य चौकी, स्वास्थ्य चौकी नभएका ठाउँमा सामुदायिक स्वास्थ्य केन्द्र र गाउँघर क्लिनिक स्थापना गरिएका छन् तर स्वास्थ्य बीमाबाट लाभ लिन धेरै टाढाको बुर्तिवाङ धाउनुपरेको छ’, रेग्मीले भने, ‘चिकित्सकसहितको आधारभूत अस्पताल आफ्नै ठाउँमा सञ्चालनमा आए त हामीले यही ठाउँबाट लाभ लिन पाउथ्यौँ नि !’ निसीखोलाका पूर्णबहादुर चन्दले पनि सामान्य उपचारका गर्न लागि जाँदासमेत स्वास्थ्य बीमाबाट सेवा लिन नपाउँदा आफूहरू निराश भएको बताए । गाउँपालिकाका अध्यक्ष अध्यक्ष सूर्यबहादुर घर्ती भने पालिकामा दस श्ययाको आधारभूत अस्पताल निर्माणको काम अन्तिम चरणमा रहेकाले अब केही महिनामै स्वास्थ्य बीमाबाट लाभ लिने अवस्था बन्ने बताउँछन् । दशवटा स्थानीय तह रहेको बागलुङमा बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका र ढोरपाटन नगरपालिकाका गरी चार पालिकाका नागरिकले मात्रै आफ्नै ठाउँमा सेवा लिने गरेको स्वास्थ्य बीमा बोर्ड बागलुङका दर्ता अधिकारी नारायणप्रसाद पौडेलले बताए । त्यसबाहेक निसीखोला, तमानखोला, बरेङ, बडिगाड, ताराखोला र काठेखोला गरी छवटा गाउँपालिकामा स्वास्थ्य बीमाका प्रथम सेवाबिन्दु नहुँदा त्यहाँका नागरिक सेवा पाउनकै लागि सदरमुकामलगायत छिमेकी जिल्लामा जानुपर्ने बाध्यता रहेको पौडेलको भनाइ छ । स्वास्थ्य बीमाबाट बीमित परिवारलाई एक वर्षसम्म एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको सेवा प्रदान गर्ने व्यवस्था छ । हाल स्वास्थ्य बीमाबाट जिल्ला सदरमुकाममा रहेको धवलागिरि अस्पताल, ढोरपाटनमा रहेका बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, गलकोट नगर अस्पताल, जैमिनीको कुश्मीसेरामा रहेको नगर अस्पतालमा प्रथम सेवाबिन्दुका रूपमा रहेका छन् । रासस
पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव’ बाट सम्मानित
काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मान गरेको छ । नेकपा एमालेद्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सवको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त रुपमा उनलाई सो सम्मान प्रदान गरेका हुन् । नेकपा एमालेका तत्कालीन उपाध्यक्ष भण्डारीले लोकतन्त्र, गणतन्त्र र ३३ प्रतिशत महिलाहरुको राज्यका हरेक निकायमा प्रतिनिधित्व गर्ने सवालमा नेतृत्वदायी भुमिका निर्वाह गरेको भन्दै एमालेले सो सम्मान गरेको हो । भण्डारीले दुई कार्यकाल नेपालको प्रथम महिला राष्ट्रपतिको भुमिका पनि निर्वाह गरेकी थिइन् । समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सो सम्मान प्रदान गरेको भन्दै एमालेप्रति आभार व्यक्त गरेकी छन् ।
एआईको अनुसन्धानलाई समर्थन गर्न विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण
लस एन्जलस । इन्टेलले भविष्यको मस्तिष्कबाट प्रेरित कृत्रिम बौद्धिकता (एआई) को अनुसन्धानलाई समर्थन गर्न विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण गरेको छ । कोड-नाम ‘हाला प्वाइन्ट’ रहेको ठूलो स्केलको न्यूरोमोर्फिक प्रणाली सुरुमा न्यूमेक्सिकोको सान्डिया राष्ट्रिय प्रयोगशालाहरूमा तैनात गरिएको थियो । यसले सूचना प्रशोधनमा मानव मस्तिष्कको नक्कल गर्दछ । हाला प्वाइन्टले १० गुणा बढी न्यूरोन क्षमता र १२ गुणा उच्च कार्यसम्पादन हासिल गर्न वास्तुकलामा सुधार तथा इन्टेलको पहिलो पुस्ताको ठूला–ठूला अनुसन्धान प्रणाली ‘पोहोइकी स्प्रिङ्स’लाई अगाडि बढाउँछ । स्यान्डिया राष्ट्रिय प्रयोगशालाका अन्वेषकहरूले उन्नत ब्रेन–स्केल कम्प्युटिङ अनुसन्धानका लागि हाला पोइन्ट प्रयोग गर्ने योजना बनाएका छन् । यो उपकरण भौतिकी, कम्प्युटर वास्तुकला, कम्प्युटर विज्ञान र सूचना विज्ञानमा वैज्ञानिक कम्प्युटिङ समस्याहरू समाधान गर्नमा केन्द्रित रहने छ । ‘आज एआई मोडेलहरूको कम्प्युटिङ लागत दिगो दरमा बढ्दै गएको छ । उद्योगलाई आधारभूत रूपमा मापन गर्न सषम नयाँ दृष्टिकोण चाहिन्छ’, न्यूरोमोर्फिक कम्प्युटिङ ल्याब इन्टेलका निर्देशक माइक डेभिसले भने, ‘हामीले हाला पोइन्ट विकास गरेका छौँ, यसले उपन्यास मस्तिष्क–प्रेरित सिकाइ दक्षता संयोजन गर्दछ ।’ उनले हाला पोइन्टसँगको अनुसन्धानले ठूलो स्तरको एआई प्रविधिको दक्षता र अनुकूलनतालाई अगाडि बढाउने आशा गरिएको बताए । रासस
कैलाली भन्सार कार्यालयमा नौ महिनामा ५ अर्ब राजस्व संकलन
अत्तरिया । कैलाली भन्सार कार्यालय धनगढीले नौ महिनामा पाँच अर्ब ७३ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म उक्त राजस्व संकलन गरेको हो । कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब १८ करोड ८४ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ३३ करोड एक लाख रुपैयाँ, अन्त शुल्कतर्फ १५ करोड छ लाख रुपैयाँ र अन्यतर्फ एक अर्ब छ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । कार्यालयले चालु आवका नौ महिनामा आठ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ६६ दशमलव ९४ प्रतिशतमात्रै राजस्व संकलन भएको उनले जानकारी दिए । ‘पूँजीगत खर्च कम छ, विकास निर्माणका काम बढेका छैनन्, जसले गर्दा आयात घटेको छ’, उनले भने, ‘बढी राजस्व संकलन हुने वस्तुको आयातमा कमी छ, यसले राजस्व संकलन प्रभावित भएको छ ।’ उनका अनुसार चालु आवको साउनमा ४६ करोड ८२ लाख रुपैयाँ, भदौमा ५१ करोड ९३ लाख रुपैयाँ, असोजमा ६३ करोड १४ लाख रुपैयाँ, कात्तिकमा ६१ करोड ४६ लाख रुपैयाँ र मङ्सिरमा ७३ करोड ३४ लाख रुपैयाँ राजस्व सकंलन भएको छ । त्यस्तै पुसमा ६८ करोड ९० लाख रुपैयाँ, माघमा ६६ करोड ६७ लाख, फागुनमा ६९ करोड एक लाख र चैतमा ७२ करोड १३ लाख रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए । चालु आवमा भन्सार कार्यालयको ११ अर्ब ५८ करोड २४ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य छ । चालु आवका नौ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ४९ दशमलव ५१ प्रतिशत रहेको सूचना अधिकारी खड्काले जानकारी दिए । गत आवमा २०७९/८० मा १२ अर्ब ३० करोड ६६ लाख रुपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा आठ अर्ब २९ करोड ६३ लाख रुपैयाँ राजस्व भएको थियो । त्यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशतमात्रै रहेको कार्यालयले जनाएको छ । रासस