अबको बजेटले सुदूरपश्चिम र कर्णालीको सन्तुलन कायम गर्छ : मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेटले अरु प्रदेश सरह सुदूरपश्चिम र कर्णाली प्रदेशको सन्तुलन कायम गरिने बताएका छन् । नेकपा (एमाले) बैतडी–काठमाडौं सम्पर्क मञ्चको नवौं अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतका बजेटमा सुदूरपश्चिम र कर्णालीलाई अन्य प्रदेशभन्दा अनुपातका हिसाबले कम बजेट विनियोजन हुने गरेको बताए । उनले अबको बजेटमा सरकारले केही हदसम्म भए पनि सबै प्रदेशको सन्तुलनता कायम गरिने उल्लेख गरे । सरकारले अहिले देशमा भएका जडीबुटी, उर्जा, पर्यटन, कृषि तथा खानी उत्खननका माध्यमबाट देशलाई समृद्धिको बाटोमा अगाडि लैजान खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले ती सबै कुराको सुदूरपश्चिममा प्रचुर सम्भावना रहेको बताए । उनले सुदूरपश्चिमका स्रोतसाधनको सरकारले उच्चतम उपयोग गर्नेमा जोड दिए । सरकार सहकारीभित्रका समस्या चाँडै सम्बोधन गरेर निजी क्षेत्रसँको सहकार्यमा देशको अर्थतन्त्रलाई चलायमान बनाउन अगाडि बढेको उनको भनाइ छ । मन्त्री भण्डारीले उद्योग मन्त्रालयमा थन्किएर रहेका उद्योग तथा व्यापारसित सम्बन्धित नीति तथा कानुनलाई आफुले कार्यान्वयनको चरणमा लैजान हरसम्भव प्रयास गरिरहेको बताए । कार्यक्रममा उनले आफुले सम्हालेको मन्त्रालयमा पार्टीको नीतिअनुसार शिर निहुरिने कुनै पनि गलत काम नगरी पार्टी र जनताको हितमा सर्वोपरि हित हुने काम गर्ने प्रतिबद्धता जनाए । मन्त्री भण्डारीले भने, ‘पार्टीको नीतिलाई लागु गर्न इमान्दारितापूर्वक काम गर्नेछु ।’ कार्यक्रमको उद्घाटन समारोहमा एमाले केन्द्रीय सम्पर्क सम्पर्क समन्वय कमिटी सचिव इन्द्र भण्डारी, सचिवालय सदस्य तथा बैतडी–काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज प्रेमराज भट्ट, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्द, सुदूरपश्चिम प्रदेशसभा सदस्य जानकी ऐर बम, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष गोविन्द गिरी, एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीलगायतले युवा शक्तिलाई परिचालन गर्दै मिसन २०८४ सफल बनाउनुपर्नेमा जोड दिए ।
काठमाडौं महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ । सेवा सहजताका लागि बिहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको महानगरले जनाएको छ । बेलुकाको समय भने परिवर्तन भएको छैन । यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागु हुने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । थप समयमा काम गर्नका लागि कर्मचारीहरुलाई प्रोत्साहन गर्न ‘काठमाडौं महानगरपालिका कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ । सेवाको गुणस्तरीयता र प्रभावकारिताका लागि अतिरिक्त समयमा समेत कार्य सम्पादन गर्न आवश्यक रहेकोले पदीय जिम्मेवारी वहन गर्न उपलब्ध गराउने स्रोत, साधन सम्बन्धी व्यवस्था मापदण्डले गरेको छ । बिहान १० बजेबाट सरकारी तथा निजी क्षेत्रका कार्यालयमा काम गर्ने कर्मचारीलाई यो व्यवस्थाले महानगरपालिकाबाट सेवा प्राप्त गर्न सहज हुनेछ । बिहान आफ्नो कार्यालय जानु पूर्व महानगरपालिका र अन्तर्गतका विभिन्न कार्यालयहरूबाट सेवा प्राप्त सजिलो होस भन्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयन गरिएको प्रवक्ता मानन्धरको भनाइ छ ।
लगानीका लागि यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
काठमाडौं । आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ । आयोजना पहिचान भएर पूर्वसम्भाव्यता अध्ययन पूरा भएका तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढिसकेका आयोजनाहरूमा लगानी सम्मेलनमार्फत स्वदेशी तथा विदेशी लगानीकर्ताबाट आशयपत्र आह्वान गर्न लागिएको हो । लगानीका निम्ति आशयपत्र आह्वान गरिने यी २० परियोजनाको विद्यमान अवस्था, लागतअनुमानसहितको विवरण यहाँ प्रस्तुत छ । धुलिखेल मेडिसिटी परियोजना काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिकामा धुलिखेल मेडिसिटी परियोजनालाई विशिष्टिकृत (सुपर स्पेशलिटी) अस्पतालका रूपमा परिकल्पना गरेर प्रस्ताव तयार गरिएको छ । यो परियोजनाको प्रस्तावित लागत ११ अर्ब रुपैयाँ छ । आधुनिक प्रविधिसँगै विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो परियोजना निर्माण गर्ने सरकारको योजना छ । विश्वस्तरीय मेडिकल सेन्टर स्थापना गर्ने र स्वास्थ्य सेवा लिन मेडिकल टुरिजमको हबका रूपमा विकास गर्ने परियोजनाको लक्ष्य छ । यो अस्पतालबाट मुटु, हाडजोर्नी, न्यूरोलोजी, क्यान्सरसम्बन्धी उपचार, कस्मेटिक सर्जरीलगायत विशेषज्ञ सेवा प्रदान गरिनेछ । सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना यो परियोजनाले सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली, कञ्चनपुर र डोटी जिल्लाको यातायात अवस्थालाई सुधार गर्नेछ । परियोजनामा एक सय ७२ बस (६८ डिजेल बस, एक सय चार विद्युतीय बस) तथा ४७ बसबिसौनी प्रस्ताव गरिएको छ । धनगढीबाट चिसापानीसम्म २१ वटा, टीकापुर–लम्कीसम्म चारवटा, गड्डाचौकीबाट अत्तरियासम्म १० वटा र अत्तरियाबाट डोटीसम्म १२ वटा स्टप राखिनेछ । बीच–बीचमा पेट्रोलपम्प र चार्जिङ स्टेशन पनि राखिने छन् । यसको प्रस्तावित लागत ३१ अर्ब १३ करोड रुपैयाँ छ । यो परियोजना निर्माण सुरु भएको तीन वर्षभित्र बनाइसक्ने लक्ष्य छ । सुदूरपश्चिम सार्वजनिक यातायात आयोजनाले यातायात पूर्वाधारमा जोड दिएको छ । यातायात व्यवस्था तथा ट्राफिक जामलाई कम गर्न तथा कमजोर सहरी पूर्वाधारजस्ता विद्यमान चुनौतीलाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेशमा यो परियोजना सुरु गर्ने आयोजना छ । सुदूरपश्चिममा विद्युतीय बस सञ्चालन र यातायात सुविधामा स्तरोन्नति गर्न सन् २०२३ मा पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो । नौमुरे बहुउद्देश्यीय परियोजना जलविद्युत उत्पादन र सिँचाइका लागि नौमुरे बहुउद्देश्यीय आयोजना प्रस्ताव गरिएको छ । यो आयोजनाको लागत ९२ अर्ब रुपैयाँ अनुमान गरिएको छ । कुल दुई सय ८१ दशमलव ०४ मेगावाट उत्पादन क्षमताको यो परियोजनाले तीनवटा जलविद्युत योजनालाई समेटेको छ । परियोजनामा नौमुरे (दुई सय १८ दशमलव ३४ मेगावाट), लामाताल (आठ मेगावाट) र सुरैनाका (५४ दशमलव सात मेगावाट) छन् । कपिलवस्तु सिँचाइ प्रणालीसँगै यसले देउखुरी उपत्यकाको विद्यमान सिँचाइ प्रणालीलाई पनि समेट्छ । यो परियोजनाबाट बाँके जिल्लामा ४२ हजार सात सय ६६ हेक्टर र कपिलवस्तुमा २९ हजार सात सय ३६ हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ । खिम्ती ठोसे शिवालय जलाशययुक्त जलविद्युत् आयोजना एक हजार दुई सय १६ मेगावाट विद्युत् उत्पादन क्षमताको खिम्ती ठोसे शिवालय जलाशयुयुक्त आयोजना दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्छ । यो नेपालका ठूला जलविद्युत् परियोजनामध्येको एक हो । यो आयोजनाको प्रस्तावित लागत अनुमान दुई खर्ब ८९ अर्ब ७७ करोड रुपैयाँ बराबर रहेको छ । हुम्ला कर्णाली जलविद्युत् आयोजना हुम्ला कर्णाली जलविद्युत आयोजनाको विद्युत् उत्पादन क्षमता ६१ दशमलव दुई मेगावाट छ र यो परियोजनाले वार्षिक तीन सय ९० दशमलव २९ गिगावट आवर ऊर्जा उत्पादन गर्न सक्छ । यो परियोजना हुम्लाको नाम्खा गाउँपालिकामा पर्छ । यस गाउँपालिकामा हालसम्म नेपालतर्फबाट सवारीसाधनको पहुँच पुग्न सकेको छैन । यद्यपि, हिल्सामा तिब्बत स्वायत्त क्षेत्र सीमा क्रसिङबाट निर्मित हिल्सा–सिमिकोट सडकखण्ड भने बनेको छ । यो आयोजनाको लागत अनुमान १४ अर्ब ७० करोड रुपैयाँ बराबर रहेको छ । माथिल्लो चमेलिया जलविद्युत आयोजना दार्चुला जिल्लाको अपीहिमाल गाउँपालिकामा रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको विद्युत उत्पादन क्षमता ५३ दशमलव ८५ मेगावाट रहेको छ । वार्षिक तीन सय १९ दशमलव २१ गिगावाट आवर ऊर्जा उत्पादन हुने अनुमान गरिएको यो परियोजनाको लागत ११ अर्ब ९० करोड रुपैयाँ बराबर छ । पाँचखाल विशेष आर्थिक क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाअन्तगर्तको पाँचखाल नगरपालिकामा यो परियोजना आर्थिक विकास र प्रवर्द्धन गर्ने रणनीतिक पहल हो । पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गरेर पाँचखाल क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न, रोजगारीलाई प्रोत्साहन गर्ने निर्यात क्षमता अभिवृद्धि गर्ने लक्ष्य यो परियोजनाको छ । यो परियोजनाको प्रस्तावित लगानी एक अर्ब ५७ करोड छ । २०६९ सालमा नै यसको सम्भाव्यता अध्ययन भइसकेको छ । कवाडीखोला जलविद्युत आयोजना कुल ३० मेगावाट उत्पादन क्षमताको कवाडीखोला जलविद्युत् आयोजनाका लागि ६ अर्ब ४१ करोड रुपैयाँ बराबर लागत अनुमान गरिएको छ । बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताँजाकोट गाउँपालिकामा पर्ने यस परियोजनाले १० वर्षमा लगानीको प्रतिफल दिने अपेक्षा गरिएको छ । सार्वजनिक निजी साझेदारीअन्तर्गतको निर्माण–सञ्चालन–हस्तान्तरण (बुट) मोडलमा यो परियोजना विकास गर्ने प्रस्ताव गरिएको छ । सन् २०२० मा सम्भाव्यता अध्ययन भएको यो परियोजनालाई विद्युत् विकास विभागले सोकेसका लागि प्रस्ताव गरेको हो । परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिसकेको छ । कालीगण्डकी-२ जलाशययुक्त जलविद्युत आयोजना तनहुँ, पाल्पा, नवरपुर र स्याङ्जा जिल्लामा निर्माण प्रस्ताव गरिएको कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत उत्पादन क्षमता ६ सय ५० मेगावाट रहने छ । कुल १ खर्ब ७४ अर्ब ७३ करोड रुपैयाँ बराबर लागत अनुमान गरिएको यो परियोजनाका लागि १० हजार नौ सय ३४ हेक्टर जमिन आवश्यक पर्नेछ । सत्तरी प्रतिशत ऋण तथा ३० प्रतिशत स्वपुँजी रहनेगरी यो आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचा प्रस्ताव गरिएको छ । आयोजनाको पूर्वसम्भाव्यता अध्ययनको काम सकिसकेको छ भने सन् २०२५ सम्ममा वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिसक्ने लक्ष्य राखिएको छ । भारबुङ जलाशययुक्त जलविद्युत आयोजना तीन सय ७७ दशमलव एक मेगावाट उत्पादन क्षमताको ८० अर्ब १२ करोड रुपैयाँ लागत अनुमान गरिएको भारबुङ जलाशययुक्त जलविद्युत आयोजनालाई पनि लगानी सम्मेलनमार्फत आशयपत्र माग गर्न ‘सोकेस’मा राखिएको छ । कुल सय हेक्टर जमिन आवश्यक पर्ने यो आयोजना डोल्पाको ठूलीभेरी नदीमा निर्माण गर्ने प्रस्ताव गरिएको छ । आयोजनाको पूर्वसम्भाव्यता अध्ययनको काम सकिसकेको छ भने सन् २०२४ भित्रै सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि सकिसक्ने गरी विद्युत् विकास विभागले यो परियोजना लगानी सम्मेलनमा सोकेसमा राखेको हो । तोम दोगर बुढीगण्डकी जलविद्युत आयोजना कुल ४० दशमलव ०२ मेगावाट विद्युत् उत्पादन क्षमताको नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाका रूपमा तोम दोगर बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पनि लगानी सम्मेलनमार्फत आशयपत्र मागका लागि सोकेसमा राख्न लागिएको छ । यो जलविद्युत आयोजनाका लागि कुल ८० अर्ब १२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका बन्ने यो आयोजनाको पूर्वसम्भाव्यता अध्ययन विद्युत् विकास विभागले गरिसकेको छ । सुपर बुढीगण्डकी जलविद्युत आयोजना गोरखा जिल्लामा निर्माण प्रस्ताव गरिएको सुपर बुढीगण्डकी जलविद्युत आयोजनामा आशयपत्र आह्वानका लागि विद्युत् विकास विभागमार्फत लगानी सम्मेलनमा सोकेसमा राख्न प्रस्ताव भएको हो । कुल ३४ दशमलव ९३ मेगावाट उत्पादन क्षमता रहेको यो जलविद्युत आयोजनाको लागत ७ अर्ब ३४ करोड रुपैयाँ अनुमान गरिएको छ । पोखरा अन्तराष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र लगानी बोर्डका अनुसार पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र परियोजनाको अनुमानित लागत ३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । लगानी सम्मेलनमार्फत लगानी जुटाउने लक्ष्यका साथ यो परियोजना सोकेसमा राख्न लागिएको छ । प्रस्तावित यस परियोजनाले पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र निर्माण गर्ने लक्ष्य राखेको छ । यो परियोजनामा पाँचतारे होटल, रेष्टुरेन्ट, म्युजियम र बाल उद्यान सञ्चालन गर्ने लक्ष्य राखिएको छ । जुन परियोजनमा पाँच सय जना अटाउन सक्ने एम्फीथिएटर, दुईवटा प्रदर्शनी हल, पाँचतारे होटल (दुई सय कोठा), रेस्टुराँ र फुडकोर्ट, सङ्ग्रहालय र स्मारिका कोठा, बाल उद्यान, तीन हजार मानिस अटाउने सम्मेलन हल, वनभोज क्षेत्र रहने प्रस्ताव गरिने छ । पोखराको प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको र पर्यटकीय अकर्षणको केन्द्रबिन्दु बन्दै गइरहेको सन्दर्भमा पर्यटक बढाउन यस्ता परियोजना सञ्चालन गर्न आवश्यक छ । बोर्डका अनुसार अत्याधुनिक सेवा सुविधा दिन सकिने, सङ्ग्रहालय र सांस्कृतिक आकर्षण, मनोरञ्जनका क्षेत्र, अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोमिटरको दूरीमा रहेको, पर्यावरण अनुकूल डिजाइन र सञ्चालन नै परियोजनाका मुख्य विशेषता रहेका छन् । दैजी औद्योगिक क्षेत्र सम्मेलनमा ‘दैजी औद्योगिक क्षेत्र’ परियोजनाका लागि पनि लगानीकर्ताबाट आशयपत्र माग गर्न लागिएको छ । यो औद्योगिक क्षेत्रको अनुमानित लागत ८ अर्ब ६० करोड रुपैयाँ रहेको छ । औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटडेटले यो परियोजनाको लागत र उद्देश्यको खाकासहित सम्मेलनमा सोकेसका लागि छनोट गरेको हो । सुदूरपश्चिम प्रदेशमा औद्योगिकीकरणका लागि दैजी औद्योगिक क्षेत्र निर्माण प्रस्ताव गरिएको छ । यस औद्योगिक क्षेत्रले औद्योगिक उत्पादन र उत्पादकत्वमा सुधार गर्ने र स्थानीय विशेषज्ञता, उपलब्ध स्रोतसाधनको उपयोग गर्ने र निर्यात प्रवर्द्धन गर्ने लक्ष्य छ । लगानी बोर्डका अनुसार एक सय औद्योगिक प्लट, ठूला सवारीसाधन पार्किङ क्षेत्र, प्रशासनिक ब्लक, हेलिप्याड, पेट्रोलपम्प, तौल स्टेशन, पानी आपूर्ति र फायर फाइटिङ सिस्टम, विद्युतीय प्रणाली जडान गर्ने कार्य यो परियोजनाका लागि प्रस्ताव गरिएको छ । बबरमहल प्रशासनिक प्लाजा विभिन्न सरकारी कार्यालय राख्ने लक्ष्यका साथ बबरमहल प्रशासनिक प्लाजा निर्माणका लागि लगानी सम्मेलनमार्फत आशयपत्र माग गर्न लागिएको छ । कुल ३० हजार २१ वर्गमिटरमा फैलिएको यो परियोजना विकासका लागि सहरी विकास मन्त्रालयले प्रस्ताव गरेको हो । यो परियोजनाको अनुमानित लागत १० अर्ब २० करोड रुपैयाँ रहेको छ । महादेव खोला जलाशय निर्माण खानेपानी मन्त्रालयले अध्ययन गरेको यो परियोजनको अनुमानित लागत २ अर्ब ४५ करोड रुपैयाँ छ । जलवायु परिवर्तनको बढ्दो प्रभाव न्यूनीकरण गर्न यो परियोजना सञ्चालन गर्न आवश्यक रहेको अध्ययनमा उल्लेख छ । मुख्यतया खानेपानी र अन्य घरेलु प्रयोजनका लागि पानीको नियमित उपलब्धता सुनिश्चित गर्न सहयोग गर्नेगरी परियोजना सञ्चालन गर्ने लक्ष्य राखिएको छ । महादेव खोला जलाधारलाई संरक्षण गर्दै भक्तपुरस्थित चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका बासिन्दालाई खानेपानीको दिगो उपलब्धता सुनिश्चित गर्ने परियोजनाको लक्ष्य छ । जलाशयको वरिपरि मनोरञ्जनका लागि पूर्वाधार ९नगरकोट फल्स० निर्माण गर्ने लक्ष्य राखिएको छ । कर्णाली चिसापानी वायुऊर्जा परियोजना १० मेगावाट बराबरको ‘कर्णाली चिसापानी वायु ऊर्जा’ परियोजनाका लागि पनि लगानी सम्मेलनमार्फत लगानीका लागि आशयपत्र माग गर्न लागिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अध्ययन गरेको उक्त परियजनाको लागत भने १४ अर्ब ७३ करोड रुपैयाँ छ । नेपालको नवीकरणीय ऊर्जा सम्भाव्यता प्राप्त भएको र यसमा वायु ऊर्जाको हिस्सा न्यून रहेको भन्दै ऊर्जा सुरक्षाको दृष्टिले राष्ट्रिय विद्युत् प्रणालीमा उपयुक्त ऊर्जा मिश्रण अवलम्बन गर्न परियोजना सञ्चालन गर्न उपयुक्त रहेको अध्ययनमा उल्लेख छ । चन्द्रागिरि-चित्लाङ-पालुङ-चितवन द्रुतमार्ग लगानी बोर्डद्वारा अध्ययन भएको यस परियोजनाको अनुमानित लागत २ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित यस दु्रतमार्गले चितवनबाट काठमाडौँ उपत्यका जोड्ने यातायात सञ्जाललाई छिटो र भरपर्दो बनाउने लक्ष्य राखेको छ । सडक पूर्वाधारका क्षेत्रमा लगानीका लागि प्रस्ताव गरिएको ठूलामध्येको यो पनि एक आयोजना हो । जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज लगानी बोर्डद्वारा अध्ययन गरिएको यस परियोजनाको अनुमानित लागत २ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । जनकपुरधामलाई मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तथा त्यस क्षेत्रलाई पर्यापर्यटनका रूपमा विस्तार गर्न यो परियोजना निर्माणको प्रस्ताव गरिएको छ । यसमा सुविधासम्पन्न होटल, सांस्कृतिक गाउँको विकास र सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य छ । जसबाट यस क्षेत्रको सम्पदा, संस्कृति र परम्परा प्रदर्शन हुनुका साथै पर्यटकीय विकासको माध्यम बन्न सकिने अपेक्षा गरिएको छ । परियोजनाको मुख्य लक्ष्य भारतीयलाई आकर्षित गर्नु हो । नेपाल र भारतबीचको धार्मिक सम्बन्धको फाइदा उठाउँदै पर्यटक भित्र्याउने लक्ष्य छ । धौवादी फलाम खानी उत्खनन आयोजना नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका–५ मा रहेको धौवादी खानी उत्खनन गर्ने र वार्षिक करिब पाँच लाख मेट्रिक टन स्टिल बिलेट (फलामको कच्चा पदार्थ) निकाल्ने उद्देश्यका साथ सरकारले यो आयोजना विकासको योजना अघि सारेको छ । यो योजनाका लागि ५१ अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । धौवादी फलाम खानी उत्खननका लागि सन् २०२३ मा सम्भाव्यता अध्ययन भइसकेको छ । सम्मेलनमा विभिन्न क्षेत्रका एक सय ५१ वटा परियोजना प्रस्तुत हुँदैछन् । तीमध्ये सबैभन्दा धेरै ऊर्जा क्षेत्रका ३१ वटा आयोजना छन् । यसैगरी यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषि क्षेत्रका १४, उत्पादन क्षेत्रका पाँच, औद्योगिक पूर्वाधार तथा व्यापार ‘लजिस्टिक’ क्षेत्रका सात, स्वास्थ्य तथा शिक्षा क्षेत्रका तीन, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका दुई, पानी आपूर्तिका चार र सहरी विकाससम्बन्धी छवटा परियोजना छन् । निजी क्षेत्रबाट प्रस्तावित ३१ परियोजना पनि समावेश गरिएको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्सले आइतबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनी विराटकुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३ सय ७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको २ हजार ७ सय ४५ कित्ता गरी ३० हजार १ सय २० कित्ता सेयर बिक्रीमा राखिएको जनाएको छ । इच्छुक संस्थापक सेयरधनीहरूले आजदेखि ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । इच्छुक लगानीकर्ताले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन दिन सक्ने छन् । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने इन्स्योरेन्सले जनाएको छ ।
यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना, लुम्बिनी, मधेस र कोशीमा हावाहुरीको चल्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा अहिले आंशिक बदली भएको तथा बाँकी क्षेत्रमा मौसम सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै, मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा भागमा मौसम सफा रहने छ । गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै, मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा
लुक्ला । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला विमानस्थल) मा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा परेका छन्। बाक्लो तुवालोले भिजिबिलिटी कमजोर हुँदा दुई दिनदेखि उडान प्रभावित भएपछि पर्यटकहरू समस्यामा परेका हुुन् । धेरै यात्रु तीन दिनदेखि जहाजको पर्खाइमा छन् भने कतिपय पैदल हिँडेर काठमाडौं गएका फर्किएका छन् । पथप्रदर्शक आङ्दनु शेर्पाले पदयात्रा सकेर काठमाडौं फर्किने पर्यटकहरू समस्यामा परेका बताए । प्याराडाइज लजका सञ्चालक दावाफुटि शेर्पाले पनि समयमा उडान नहुँदा सगरमाथा आधार शिविरबाट फर्किएका विदेशी पर्यटकहरू दुई दिनदेखि लुक्लामै रोकिएका बताए । विमानस्थलका प्रमुख उमेश पन्थीका अनुसार दैनिक ५४ सम्म उडान भर्ने सो विमानस्थलबाट शुक्रबार जहाजतर्फ कुनै उडान नभएको र शनिबार भने आठ उडान भएका बताए । हेलिकप्टर उडान भने नियमित भइरहेको पन्थीले जानकारी दिए । लुक्ला विमानस्थलमा जहाज उडानका लागि पाँच किलोमिटर भिजिबिलिटी चाहिने गरेको छ । पर्यटकहरू यही विमानस्थल भएर सगरमाथा जाने गरेका छन् भने यहाँबाट दैनिक हेलिकप्टरसहित तीन सय बढी उडान हुने गरेका लुक्लास्थित विमानस्थल कार्यालयले जनाएको छ ।
तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका परियोजना प्रस्तुत गरिँदै
काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज काठमाडौंमा तेस्रो लगानी सम्मेलन हुँदैछ । । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति ९ खर्ब रुपैयाँ बराबरका १ सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका १ हजार ६ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन्भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ । भोलि सोमबार समापन हुने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन् । दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो । उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतको वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल, संयुक्त अधिराज्यको एशिया–प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी ट्रुभेलियन तथा अफ्रिका विकास मामिला राज्यमन्त्री एन्ड्रु मिचेलल, संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास (अङ्कट्याड)का महासचिव रेबेका ग्रेन्सपान र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोग अध्यक्ष लु चाउहुईले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा एसियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष यिङमिङ याङ्, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) का कार्यवाहक उपाध्यक्ष रजत मिश्र, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा प्रमुख वित्त अधिकृत सुप्रतिम दत्ता र अमेरिकी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अतुल केशपले पनि सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, भारतीय कम्पनी सतलज जलविद्युत निगमका अध्यक्ष सुशील शर्मा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका अवसर, त्यसबाट प्राप्त हुने प्रतिफललगायत लगानीका तुलनात्मक क्षेत्रबारे जानकारी दिनेछन् । रासस
धनुषाका १७३ साना उद्योग बन्द, दुई हजार मजदुर बेरोजगार
फाइल फोटो जनकपुर । आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त उद्योग तथा व्यवसाय बन्द भएका हुन् । ती उद्योगमा कार्यरत करिब दुई हजार मजदुर बेरोजगार भएका छन् । उद्योग बन्द हुँदा करोडौँ घाटा भएको छ । कार्यालयबाट प्राप्त विवरणअनुसार उद्योगतर्फ ६० र वाणिज्यतर्फ एक सय १३ उद्योग तथा व्यवसाय बन्द भएको हो । बन्द भएका ती उद्योगहरुको बन्द हुनु अघि उत्पादित सामग्री समेत बिक्री भएको छैन । कार्यालयका सूचना अधिकारी मुकेश कर्णका अनुसार चालु आवको चैत मसान्तसम्म छ सय ६२ वटा नयाँ उद्योग दर्ता भएका छन् । एक हजार छ सय दुई उद्योग नवीकरण भएका छन् । यसैगरी, वाणिज्यतर्फ सात सय ३४ वटा व्यावसायिक फर्म नवीकरण तथा आठ सय ३७ नयाँ व्यावसायिक फर्म दर्ता भएका छन् । उद्योग दर्ता तथा नवीकरणबापत कार्यालयले २४ लाख ११ हजार पाँच सय ३० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । वाणिज्यतर्फ दर्ता र नवीकरणबापत रु ५० लाख तीन हजार सात सय ७० गरी कूल ७४ लाख १५ हजार तीन सय राजस्व सङ्कलन गरेको छ । कोरोना महामारीको विश्वव्यापी असर, बैङ्कको ब्याजदरमा वृद्धि तथा आर्थिक तरलताका कारण उद्योगहरु बन्द भइरहेको घरेलु कार्यालयका प्रमुख किशोरीशरण यादवको भनाइ छ । व्यवसाय बन्द भएपछि बेरोजगारी बढ्नुका साथै जनकपुरमा व्यावसायिक सटरहरु खाली गरी व्यापारी पलायन हुन थालेका छन् । गत आव २०७९/८० मा दर्ता भएका उद्योगहरुमध्ये साना उद्योग पाँच सय ३६, लघु उद्योग पाँच सय ९१ तथा घरेलु उद्योग एक गरी एक हजार एक सय २८ उद्योग दर्ता भई सञ्चालनमा थिए । उद्योगहरुको स्थिर तथा चालु पूँजी रु तीन अर्ब ५५ करोड ८२ लाख ११ हजार नौ सय ९९ रहेको जनाइएको छ । बजेट अभावका कारण घरेलु कार्यालयले समेत सीपमूलक तालिमहरु सञ्चालन गर्न सकेको छैन । रासस