राइटपाथले काठमाडौंसहित देशका प्रमुख सहरमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ गर्दै
काठमाडौं । शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले ‘ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४’ आयोजना गर्ने भएको छ । राजधानीस्थित पुतलीसडकमा रहेको राइटपाथले २९ वैशाख देखि ८ जेठसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ आयोजना गर्ने भएको हो । राइटपथका अनुसार कन्क्लेभ काठमाडौंबाट सुरु भई देशका विभिन्न ठूला तथा मुख्य सहरहरूमा पुग्नेछ । वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौँडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र ८ गते ललितपुरमा कन्क्लेभ हुने तालिका छ । कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शतप्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्ट ह्याम्फरहरूको पनि व्यवस्था गरिएको छ । त्यस्तै, अमेरिकालक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आईएएल्स २ हजार ८१ रुपैयाँमै गर्न सकिने व्यवस्था गरिएको छ । साथै २० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरूलाई विद्यार्थीहरूले एकै छानामुनि भेट्न सकिने राइटपथले जनाएको छ । राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डिसीले भने, ‘युनीभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरूले सत्य तथ्य जानकारी पाउन सकुन् भन्ने नै हाम्रो कार्यक्रमको उद्देश्य हो । विद्यार्थीहरूको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्दत पुर्याउँछ । कतिपयले अफर लेटर हेर्न ढिलाइ गर्नु भएको पनि हामीले पाउने गरेका छौँ ।’ उनले वैशाख ३० गते सम्पन्न हुने भनिएको अफर आगामी जेठ ८ गतेसम्म कायम हुने बताएका छन् ।
टोफिचो ‘तड्का इमली’ बजारमा
काठमाडौं । सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्रान्ड टोफिचाेअन्तर्गत नयाँ टफी ‘तड्का इमली’ बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ‘टेस्टको नयाँ ब्लास्ट’ नारासहित तड्का इमली बजारमा सार्वजनिक गरेको हो । तड्का इमलीमा इमलीको चट्किलो स्वादका साथै चाट मसलाको उत्कृष्ट सम्मिश्रण रहेको छ । तड्का इमलीको बिक्री मूल्य पाँच रुपैयाँमा दुई गोटा कायम गरिएको कम्पनीले जानकारी दिएको छ । यसको नौलो स्वादले ग्राहकहरूको मन जित्न सफल हुने कम्पनीको विश्वास छ ।
५१९ जना प्रहरी निरीक्षकको सरुवा
काठमाडौं । नेपाल प्रहरीले ५१९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा गरेको छ । बुधबार बसेको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा –काज सरुवा गरिएको हो । आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने गरी उनीहरूको सरुवा भएको हो । सूची: [pdf id=482073]
कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभरि आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभरि आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै, तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आज राति देशभरि आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा देशका कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत मुलुकका बाँकी पहाडी भागका केही स्थानका साथै बाँकी तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान विभागले गरेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान
खाँदबारी । विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा दुई सातापछि बुधबार उडान भएको छ । यही वैशाख १० पछि तुम्लिङटारको ‘भिजिविलिटी’ एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो । विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपरको डाँडा देखिनुपर्छ । विमानस्थल खुलेपछि बुद्धएयरको एटिआर ७२ विमानले १६ दिनपछि उडान भरेको हो । उडान भएसँगै सडक यातायातबाट जान नसकेका सङ्खुवासभा र भोजपुर जिल्लाका वृद्धवृद्धा र बिरामीलाई फाइदा पुगेको छ ।
सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त
काठमाडौं । सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कानुनमा विशेगा अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनीसँग अन्तर्राष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ । निर्वाचन सम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत भइन् । उनले काठमाडौं विश्वविद्यालय लगायत विदेशी विश्व विद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । उद्योग तथा वाणिज्य मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा काम गरेकी शर्मासँग विभिन्न आईएनजीओमा समेत संलग्न छिन् ।
दक्षिण कोरियामा चार कार निर्माताले ८ हजार गाडी फिर्ता बोलाए
सोल । दक्षिण कोरियाका चार स्थानीय र विदेशी कार निर्माताहरूले उत्पादनमा त्रुटि भएका कारण करिब ७ हजार ७ सय सवारीसाधन स्वेच्छाले फिर्ता बोलाउने भएको यातायात मन्त्रालयले बुधबार जनाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हुन्डाई मोटरले एभान्टे सेडानसहित पाँचवटा विभिन्न मोडलका ४ हजार १ सय १८ एकाइ फिर्ता बोलाउनेछ । यसमा निकास ग्यास रिसर्कुलेशन (इआरजी) भल्भ पावर युनिटमा त्रुटि देखिएको छ । उक्त त्रुटिका कारण गाडी चलाउँदा इन्जिन रोकिन सक्छ । किया कर्पोरेशनले के–३ सेडानसहित तीनवटा मोडेलका २ हजार ६ सय ५८ एकाइ हुन्डाई गाडीहरू जस्तै उत्पादनमा त्रुटिको लागि फिर्ता गर्नेछ । जगुआर ल्यान्ड रोभर कोरियाले नयाँ रेन्ज रोभर स्पोर्ट पी–३६० जस्ता दुई मोडलका तीन सय २९ एकाइमा रियर लाइट इलुमिनेसन डिभाइसको कमजोर फिक्सेसनको मर्मत गर्नेछ । भक्सवागन समूह कोरियाले टोवारेग ३ ३.० टिडिआई को ६ सय २३ एकाइमा सुधारात्मक कारबाही गर्नेछ । यो मोबाइल अनुप्रयोगहरूमा सफ्टवेयर त्रुटिका कारण रिमोट स्वचालित पार्किङको समयमा खराबी हुन सक्छ । सवारीसाधन मालिकहरूले मर्मत र सेवा केन्द्रहरूमा गएर दोषपूर्ण पार्टपुर्जाहरू निःशुल्क बदल्न सक्छन् । एजेन्सी
पितापुर्खाको सीप पछ्याउँदै मह सिकार
गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार । सिकारीहरु पहिले पितृ र प्रकृतिलाई पुकार्छन् । सिकारका बेला कुनै अप्रिय घटना नहोस् भनेर कामना गर्छन् । सिकारमा १५ देखि २० जनासम्मको सूमह हुन्छ । टोली नेताले सिकारको नेतृत्व सम्हाल्छन् । मुख्य सिकारीलाई ‘भिरौटे’ भनिन्छ । जो पराङमा झुण्डिएर मह काढ्न भिर छिचोल्छन् । ज्यानकै बाजी उठाएर मह काढ्छन् । पहाडी भेगका भिमकाय भिर र पहरामा बर्सेनि गाउँलेहरु यसरी मह सिकारमा रमाउँछन् । पितापूर्खाको छाडेको सीपलाई पछ्याउँदै उनीहरुले मह सिकारको चलन धानिरहेका छन् । मङ्गलबारदेखि मह सिकारमा व्यस्त बागलुङको ताराखोला गाउँपालिका-५ का रतनबहादुर घर्तीले आफूले ३० वर्षदेखि भिरमौरीको मह काढ्दै आएको बताए । ‘हाम्रा बाउबाजेले सिकाएको मह सिकारको ज्ञान र सीपलाई हामीले अँगालेका छौँ’, उनले भने, ‘ हरेक वर्ष ताराखोलामा मह सिकार हुँदै आएको छ ।’ घर्तीका अनुसार ताराखोला(५ को ठूलो भिर र माडो भिरमा धेरै मात्रामा भिरमौरी पाइन्छ । यस वर्ष ठूलो भिर सामुदायिक वन क्षेत्रमा आठ घार भिरमौरीबाट दुई सय ६० लिटर मह काढिएको उनले बताए । ‘मङ्गलबारदेखि जुल्फे सामुदायिक वनमा पर्ने माडो भिरमा मह काढ्न सुरु गरिएको छ’, ५१ वर्षीय घर्तीले भने, ‘१४ घारको मह काढ्न अझ एकरदुई दिन लाग्न सक्छ ।’ ताराखोलाका अन्य भिरमा पनि एक/दुई घार मौरी रहेको उनले बताए । कुनै वर्षमा दुई याममा मह पाइने भए पनि प्रायः वर्षको एकपटक मात्र मह काढ्न मिल्ने घर्तीको भनाइ छ । मह सिकार जोखिमपूर्ण हुने हुँदा जो कसैले सजिलै महको सिकार गर्न नसक्ने जुल्फे सामुदायिक वन उपभोक्ता समूहका सचिव नारायण घर्तीले बताए । ‘मह सिकार साहसिक र उत्तिकै जोखिमपूर्ण पनि हुन्छ, आँट र कौशल भएकालाई मात्र सिकारमा पठाउने गरिन्छ’, उनले भने, ‘ पराङमा झुण्डिएर मह काढ्नुपर्छ, मौरीले आक्रमण गर्ने उस्तै डर हुन्छ ।’ मह सिकारका लागि चाहिने अधिकांश सामग्री लेकाली चोयाँबाट बनाउने गरिन्छ । चोयाँ र काठबाट बनेको पराङ ९भर्याङ० मह सिकारका लागि चाहिने मुख्य सामग्री हो । त्यसकै सहायतामा सिकारीहरु भिरमा पुग्छन् । सुथरी (डोरी), चाका झिक्ने साज, मह राख्ने डाली पनि निगालोको चोयाँबाट बनाउने गरिएको सचिव घर्तीले बताए । ‘पराङलाई रुख र रुख नभएको ठाउँमा ठूलो ढुङ्गामा बाँधेर भिरमा खसालिन्छ, त्यसबाटै सिकारी मौरीको घारनजिक पुग्छन्’, उनले भने, ‘निगालोको टुप्पोमा हँसिया बाँधेर साज बनाइन्छ, त्यसैले काटेर महको चाका घारबाट छुट्टाइन्छ र तलपट्टि डालीमा थापिन्छ ।’ मौरीको टोकाइबाट बच्न जाबोले मुहार छोप्ने गरिएको उनको भनाइ छ । मह निकालेपछि सिकारमा संलग्न र अरु सहभागीलाई बाँड्ने प्रचलन छ । धेरै मात्रामा मह निस्केमा बाहिर बिक्रीसमेत गर्ने गरिएको सचिव घर्तीले बताए । एक लिटर महलाई रु १५ सयसम्ममा बिक्री गर्ने गरिएको छ । ‘संस्कृति र परम्पराका रुपमा घरगाउँमा भिरमहको सिकार हुँदै आए पनि अब यसलाई व्यावसायिक बनाउन जरुरी छ’, सचिव घर्तीले भने । ताराखोलाकै मपेसमा रहेको तीन घार भिरमौरीको मह पनि काढ्ने तयारी भइरहेको जनाइएको छ । ग्रामीण पर्यटन प्रवद्र्धनमा भिरमहलाई जोड्दै आएको गलकोट नगरपालिका(१० रमुवाको सरस्वती युवा क्लबले अहिले ‘मह सिकार महोत्सव’ कै आयोजना गरेको छ । वडा कार्यालयसँग मिलेर क्लबले बर्सेनि मह सिकारको कार्यक्रम आयोजना गर्दै आएको क्लबका अध्यक्ष उदिम घर्तीले बताए । पछिल्लो समय साहसिक मह सिकार पर्यटकीय आकर्षणसमेत बन्न थालेको उनको भनाइ छ । औषधिजन्य गुण र स्वास्थ्यवद्र्धक मानिने हुँदा उपभोक्ताले पनि खोजीखोजी भिर मह प्रयोग गर्छन् । मह सिकार हेर्न र महको स्वाद लिन पनि रमुवामा आगन्तुकको सङ्ख्या बढ्दै गएको अध्यक्ष घर्तीले बताउनुभयो । रमुवाका भिरमा प्रशस्त भिरमौरी पाइने गलकोट(१० का अध्यक्ष भक्तबहादर काउचाले बताए । गाउँलेले पुस्तौँदेखि मह सिकार गर्दै आएको उनको भनाइ छ । ‘अनुभवी सिकारीले रैथाने सीप र प्रविधिमार्फत मह सिकार गर्दै आएका छन् ‘ वडाध्यक्ष काउचाले भने, ‘पछिल्लो समय यसलाई उत्सवकै रुपमा लिन थालिएको छ ।’ महसिकारलाई साहसिक पर्यटनसँग जोड्नुपर्ने उनले बताए । ताराखोला, बडिगाड, गलकोटको रमुवालगायत बागलुङका अन्य ठाउँमा पनि मह सिकार हुँदै आएको छ । गलकोट नगरपालिका(४ निलुवामा पनि केही वर्षअघि ‘मह सिकार महोत्सव’ आयोजना गरिएको थियो । निलुवाको पाँच सय मिटर अग्लो भिरमा पनि रमुवाकै अनुभवी सिकारीले मह काढेका थिए। कास्कीको अन्नपूर्ण गाउँपालिका(७ लान्द्रुकस्थित कोटेसाङमा आउँदो जेठ ८ गतेदेखि १० गतेसम्म ‘मह सिकार महोत्सव’ आयोजना गरिएको छ । पर्यटन प्रवर्द्धनसँगै स्थानीय कला तथा संस्कृतिको संरक्षण हेतु उक्त महोत्सव गर्न लागिएको वडाध्यक्ष भरतमान गुरुङले बताए ।