विकासन्युज

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण टोलीमा को–को छन् ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ६ गते अमेरिका जाने भएका छन् । यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने तयारी भए पनि पछिल्लो निर्णयअनुसार प्रधानमन्त्री स्वयं महासभामा सहभागी हुन लागेका हुन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी असोज ९ गते स्वदेश फर्कने तयारीमा छन् ।  प्रधानमन्त्रीको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका सहसचिवहरू कृष्णप्रसाद ढकाल र कुमारराज खरेल तथा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापा रहनेछन् । त्यस्तै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिव सुभाष शर्मा र प्रदीप परियार तथा प्रधानमन्त्रीका फोटोग्राफर विनय शाक्य पनि भ्रमण टोलीमा रहनेछन् । महासभामा प्रधानमन्त्री शाहले नेपालको तर्फबाट सम्बोधन गर्नुका साथै विभिन्न मुलुकका प्रतिनिधि तथा उच्च अधिकारीसँग भेटवार्ता गर्ने तयारी छ ।  परराष्ट्रमन्त्री खनालले पनि महासभाका क्रममा विभिन्न मुलुकका समकक्षी तथा कूटनीतिक प्रतिनिधिसँग द्विपक्षीय र साइडलाइन भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीको सम्बोधनमा नेपालले भोगिरहेको जलवायु जोखिम, जलवायुजन्य विपद्, जलवायु न्याय तथा अन्तर्राष्ट्रिय सहयोगका विषय उठाउने तयारी गरिएको छ । पछिल्लो समय भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षतिलाई समेत अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी छ । परराष्ट्र सचिव राईसहित मन्त्रालयका अधिकारीहरूले महासभाका औपचारिक कार्यक्रम तथा द्विपक्षीय भेटवार्तामा कूटनीतिक समन्वय गर्नेछन् । न्यूयोर्कस्थित नेपाली स्थायी नियोगले महासभाका कार्यक्रम र उच्चस्तरीय भेटवार्ताको व्यवस्थापनमा समन्वय गर्नेछ । प्रधानमन्त्री शाहको अमेरिका भ्रमण छोटो अवधिको हुनेछ । महासभाको उच्चस्तरीय सत्रमा सम्बोधन गरेपछि उनी असोज ९ गते नेपाल फर्किने तयारीमा छन् । सरकारले अन्तिम प्रतिनिधिमण्डल तथा भ्रमण कार्यक्रम औपचारिक रूपमा सार्वजनिक गरेपछि टोलीमा सहभागी सदस्यको संख्या वा नाममा परिवर्तन हुन सक्नेछ ।

हिमालयन क्यापिटलले प्रधानमन्त्री राहत कोषमा दियो १० लाख १ हजार

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अनुसार उक्त रकममध्ये ९ लाख १ हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट र बाँकी १ लाख रुपैयाँ कर्मचारीको स्वेच्छिक योगदानबाट संकलन गरिएको हो । हिमालयन क्यापिटलले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ । साथै, बेपत्ता नागरिकको सकुशल उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विपद्को समयमा प्रभावित समुदायको साथमा उभिनु सामाजिक दायित्व भएको भन्दै कम्पनीले उद्धार तथा राहतमा खटिएका सम्पूर्ण निकाय र सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।

विश्वकर्मा पूजाको दिन जन्मिएका सरोज

काठमाडौं । असोज १ गते अर्थात् श्रम, सीप र कर्मको सम्मान गरिने विश्वकर्मा पूजाकै दिन जन्मिएका पुष्पप्रसाद सिटौला (सरोज) को जीवन र कर्मको यात्रा अनौठो ढङ्गले यातायात क्षेत्रसँग जोडिएको छ । ताप्लेजुङको तत्कालीन फुलबारी गाविसस्थित लेकाली भेडीगोठमा जन्मिएका सिटौला आफ्नो जन्मदिन र विश्वकर्मा पूजा एकै दिन मनाउँदै आफूलाई यातायातकर्मको पुजारी मान्छन् । २०४५ सालको भूकम्पपछि झापाको काँकडभिट्टाबाट ९६ रुपैयाँ भाडा तिरेर बुद्ध ट्राभल्सको बसमार्फत काठमाडौं प्रवेश गरेको उनको यात्रा बागबजारको पुरानो बसपार्कमा मजदुरका रूपमा सुरु भएको थियो । मजदुर जीवनबाटै यातायातको वास्तविक धरातल बुझेका सिटौला विस्तारै व्यवसायी र कुशल संगठनकर्ता हुँदै हाल नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षको सर्वोच्च जिम्मेवारीमा पुगेका छन् ।  २०५५ सालदेखि विभिन्न संघसंस्थामा आबद्ध सिटौलाले २०६३ सालको बुटवल महाधिवेशनबाट लगातार तीन कार्यकाल केन्द्रीय कोषाध्यक्ष, दुई कार्यकाल महासचिव र वरिष्ठ उपाध्यक्ष हुँदै नेतृत्वको शिखर चुमेका हुन् । आफूले लडेका कुनै पनि चुनावमा पराजय नभोगेको दाबी गर्ने सिटौला २०४६ को परिवर्तन, २०६२/६३ को जनआन्दोलन लगायतका राजनीतिक उतारचढावका प्रत्यक्ष साक्षी र सहयात्रीसमेत रहेका छन् । आफ्नो शरीरको रगत-रगतमा यातायात नै बगिरहेको बताउने उनले व्यक्तिगत जीवनभन्दा यस क्षेत्रलाई प्राथमिकता दिँदै प्राकृतिक विपत्ति, महाभूकम्प र कोभिड महामारीजस्ता कठिन परिस्थितिमा पनि यातायात क्षेत्रलाई चलायमान बनाउन निरन्तर संघर्ष गरे ।  यातायातलाई देशको अर्थतन्त्र र विकासको मेरुदण्ड मान्ने सिटौलाले यस क्षेत्रमा अर्बौंको लगानी भइसकेकाले यसलाई सामान्य व्यवसायभन्दा माथि उठाएर उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । राज्यले यातायातको वास्तविक मर्म नबुझेकोमा गुनासो गर्दै उनले सार्वजनिक यातायातको दीर्घकालीन सुधारका लागि अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्नुपर्ने र जीपीएस प्रणाली, अनलाइन टिकटिङ तथा नगदरहित कारोबार जस्ता आधुनिक प्रविधिको प्रयोगलाई व्यापक बनाउनुपर्ने एजेन्डा अघि सारेका छन् ।   ३६ वर्षभन्दा लामो यात्रा पूरा गरिसक्दा पनि नेपालको सार्वजनिक यातायात सहज, यात्रुमैत्री, आरामदायी र सुरक्षित नभएसम्म आफू पूर्ण रूपमा सन्तुष्ट नहुने बताउँदै उनले व्यवसायीको लगानी र मजदुरको रोजीरोटी सुरक्षित गर्दै यातायातलाई प्रविधिमैत्री बनाउन सबैलाई एकताबद्ध हुन आह्वान गरेका छन् । 

सम्पर्कविहीन कर्मचारीका परिवारलाई प्राधिकरणले राहत र निर्वाह रकम दिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विनाशकारी बाढीमा सम्पर्कविहीन भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले राहत प्याकेज दिने निर्णय गरेको हो ।  बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाको कर्मचारी र कामदारहरू सम्पर्कविहीन छन् ।  प्राधिकरणअन्तर्गतमात्रै ४७ जना कर्मचारी र कामदार सम्पर्कविहीन छन् । सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार राहतको पहिलो प्याकेजमा तत्कालका लागि राहतस्वरूप बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारको नजिकको हकवालालाई प्रति कर्मचारीरकामदार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।  दोस्रोमा स्थायी कर्मचारीको नजिकको हकवालालाई प्राधिकरणबाट के कति क्षतिपूर्ति वा के रकम दिने भन्ने सम्बन्धमा अर्को निर्णय नभएसम्मका लागि वा भदौदेखि बढीमा ६ महिनाको लागि सम्पर्कविहीन भएका स्थायी कर्मचारीको नजिकको हकवालालाई बेपत्ता कर्मचारीको तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाह स्वरूप उपलब्ध गराउने निर्णय भएको छ ।

गुणस्तर नपुगेपछि ग्लिपिड–१ औषधी बजारबाट फिर्ता गर्न विभगको निर्देशन

काठमाडौं । औषधीको गुणस्तर परीक्षण गर्दा तोकिएको मापदण्ड पूरा नभएपछि ‘ग्लिपिड–१’ नामक औषधि बजारबाट तत्काल फिर्ता गर्न औषधी व्यवस्था विभागले निर्देशन दिएको छ । विभागले राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षणका लागि प्राप्त नमुना परीक्षण गर्दा टाइम फार्मास्युटिकल्स प्रालि, नवलपरासीले उत्पादन गरेको ग्लिपिड–१ औषधीको एक समूह न्यून गुणस्तरको पाइएको जनाएको हो ।  विभागका अनुसार उक्त औषधीमा ग्लिमेपिराइड १ मिलिग्राम रहेको छ । औषधीको समूह नम्बर जीएम–०७०, उत्पादन मिति अप्रिल २०२६ र म्याद सकिने मिति सेप्टेम्बर २०२७ रहेको छ । प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त औषधि संयुक्त राज्य अमेरिकाको औषधी मापदण्डसम्बन्धी पुस्तकको सन् २०२६ को संस्करणमा तोकिएको घुलनशीलता परीक्षणमा निर्धारित मापदण्डअनुसार नभएको पाइएको विभागले जनाएको छ ।  गुणस्तरमा समस्या देखिएपछि विभागले उक्त समूह नम्बर जीएम–०७० को औषधीको बिक्री–वितरण रोक्न तथा बजारमा रहेका औषधी तत्काल फिर्ता गर्न सम्बन्धित उत्पादक तथा व्यवसायीलाई निर्देशन दिएको छ । साथै,. विभागले उक्त समूहको औषधीको सिफारिस, बिक्री–वितरण तथा प्रयोग नगर्न सम्बन्धित सबैलाई सूचित गरेको छ । फिर्ता गरिएको औषधीको विवरण विभागमा पेश गर्नसमेत भनिएको छ । उक्त औषधी मधुमेह नियन्त्रणका लागि प्रयोग हुने ग्लिमेपिराइडयुक्त औषधी हो । विभागले गुणस्तर परीक्षणमा समस्या देखिएको जीएम–०७० समूहको औषधी मात्र बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।

नापी अधिकृत ९ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको माछापोखरीस्थित नापी टोलीका प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई ९ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । छुट जग्गा दर्ताका लागि आवश्यक सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाइदिने भन्दै वलीले सेवाग्राहीसँग घुस मागेको उजुरी परेको अख्तियारले जनाएको छ । उजुरीका आधारमा अख्तियार टंगालबाट खटिएको टोलीले वलीलाई ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई काठमाडौंको टोखा नगरपालिका–५, वसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट भदौ ३१ गते पक्राउ गरिएको अख्तियारले जनाएको छ । वली जिल्ला काठमाडौं, नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुख हुन् । पक्राउ परेका वलीविरुद्ध घुस/रिसवत भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ जना सम्पर्कबिहीन

काठमाडौं । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गतका १९१ सवारीसाधनमा ठूलो क्षति पुगेको छ । महासंघकाका अनुसार बाढीले देशभरका नौ विभिन्न यातायात कम्पनीका सवारीसाधनमा क्षति पुर्याउँदा ती सवारीसाधनका चालक, सहचालक र यात्रु गरी कुल ३४४ जना बेपत्ता भएका छन् ।  बाढीका कारण विभिन्न यातायात कम्पनीहरूले ठूलो भौतिक तथा मानवीय क्षति व्यहोर्नुपरेको छ। महासंघका अनुसार नेपाल अरनिको यातायात सेवा प्रालिका १९ बस, एक मिनिट्रक, दुई जीप र चार कन्टेनरमा क्षति पुग्दा ५० जना मजदुर बेपत्ता भएका छन् ।  यस्तै, नमस्ते पासाङ ल्हामु यातायात प्रालि बालाजुका १९ बस क्षति हुँदा २१ जना बेपत्ता भएका छन् भने भक्तपुर न्यू भिजन यातायात प्रालिका दुई कन्टेनरमा क्षति पुग्दा दुई जना चालक बेपत्ता भएका छन् ।  त्यसैगरी, हिमालयन यातायात कम्पनीका चार ट्रक, १६ कन्टेनर र एक सुमोमा क्षति पुग्दा १० जना चालक बेपत्ता भएका छन् । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिअन्तर्गतका सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरमा क्षति पुग्दा ४५ जना चालक बेपत्ता भएको महासंघले जनाएको छ ।  सबैभन्दा बढी क्षति व्यहोरेको नारायणी यातायात व्यवसायी कम्पनी प्रालिको ५९ ट्रक र कन्टेनरमा क्षति पुग्दा ७० जना बेपत्ता भएका छन् भने नेपाल माइक्रो कम्पनीका नौ वटा माइक्रोबसमा क्षति पुगेको छ । यसैगरी, यात्रुवाहक सवारीतर्फ पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एक बसमा क्षति पुग्दा एक चालक र २२ जना यात्री गरी २३ जना बेपत्ता भएका छन् । यस्तै, धादिङ मण्डली यातायात प्रालिको एक बस बाढीमा पर्दा एक चालक र २५ जना तीर्थयात्री बेपत्ता भएको महासंघले जनाएको छ ।  बाढीले क्षति पुर्याएका सवारीसाधनको उद्धार र बेपत्ता व्यक्तिहरूको खोजतलास जारी छ ।

भोटेकोसी विपद्को कारण खोज्दै विश्वभरका वैज्ञानिक

काठमाडौं ।  गत भदौ १० गते भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीको विषयमा अन्तर्राष्ट्रिय विज्ञहरूले अनुसन्धान गरेका छन् । २० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरूले गरेको प्रारम्भिक अनुसन्धानअनुसार मानव सिर्जित जलवायु परिवर्तन नै यसको प्रमुख कारण हो । यद्यपि, उनीहरू अझै अनुसन्धानमै छन् । यो क्षेत्र अझै पनि साँघुरो पहाडी उपत्यका हुँदै बग्ने विनाशकारी बरफको चट्टान हिमपहिरोको प्रभावसँग जुधिरहेको छ, जसले सहर, सडक र पुलहरू ध्वस्त पारेको थियो । कम्तीमा १ हजार ३०० जनाको मृत्यु भएको छ भने ५ हजारभन्दा बढी बेपत्ता भएका छन् ।  अहिले प्रभावित क्षेत्रमा उद्धार,  पुनःस्थापना तथा पुन:निर्माणतर्फ अघि बढिरहेका बेला नेपालले ठूलो पुन:निर्माणको चुनौती सामना गर्नुपरेको छ । यसैबीच विश्वभरका वैज्ञानिकहरूले उक्त विपद् कसरी भयो भन्ने बुझ्न अध्ययन गरिरहेका छन् ।  विज्ञहरूका अनुसार अगस्ट २६ मा लाङटाङ लिरुङ हिमालको करिब २ हजार फिट चौडाइको विशाल चट्टान र हिमनदीको भाग छुट्टिएर करिब ७ हजार फिट तल नदीमा खसेको थियो । त्यसबाट निस्किएको ऊर्जा ५.२ म्याग्निच्युडको भूकम्पबाट निस्कने ऊर्जासँग बराबर थियो ।  त्यो यति ठूलो शक्तिका साथ खसेको थियो कि हिउँ लगभग तत्कालै पग्लिएको थियो । प्रवाहले ओसिलो माटो र भग्नावशेष पनि बोकेको थियो र सम्भवतः उपत्यकाको भुइँमा गाडिएको हिउँसँग ठोक्किएको थियो ।  जसले गर्दा बाढीको छाल अझ शक्तिशाली भयो र २० माइलभन्दा बढी यात्रा गर्यो । नेदरल्यान्ड्सको उट्रेट विश्वविद्यालयका पर्वतीय जलविद् वाल्टर इम्मरजेलले यसलाई ‘हिमालयमा भएको अभूतपूर्व विपद्’ भनेका छन् ।  आखिर हिमपहिरो किन गयो ?  विश्वभरका चरम मौसमी घटनामा जलवायु परिवर्तनको भूमिकाको अध्ययन गर्ने नेटवर्क ‘वर्ल्ड वेदर एट्रिब्युसन’ (मा आबद्ध हिमनदी तथा जलवायु वैज्ञानिकहरूको टोलीले बुधबार यसको विस्तृत विश्लेषण सार्वजनिक गर्दै उक्त प्रश्नको जवाफ दिने प्रयास गरेको छ । वैज्ञानिकहरूका अनुसार उक्त विपद् एउटै चरम मौसमी घटनाका कारण भएको होइन । बरु धेरैवटा प्रक्रियाहरू एकैपटक सक्रिय भएका थिए र जीवाश्म इन्धनको प्रदूषणका कारण दशकौंदेखि भइरहेको जलवायु तापक्रम वृद्धिले ती प्रक्रियालाई थप जटिल बनाएको थियो ।  वैज्ञानिकहरूले सन् २०१५ अप्रिलमा गएको ७.८ म्याग्निच्युडको भूकम्पले हिमालको ढलान कमजोर बनाउन भूमिका खेलेको हुन सक्ने बताएका छन् । उक्त भूकम्पले हिमालको दक्षिणी भागबाट चट्टान र हिउँको हिमपहिरो निम्त्याएको थियो । त्यसयता उक्त हिमालमा पहिरो जाने दर बढेको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि वैज्ञानिकहरूले जलवायु परिवर्तनको भूमिका अध्ययन गरे र यसमा धेरै प्रक्रियाहरू एकसाथ सक्रिय भएको पाए । जलवायु परिवर्तनका कारण हिमालयमा ‘शून्य डिग्री’ रेखा अर्थात् वायुमण्डलको तापक्रम शून्य डिग्री सेल्सियस पुग्ने उचाइ प्रत्येक दशकमा ३२० फिटभन्दा बढी माथि सर्दै गएको छ ।  वैज्ञानिकहरूका अनुसार नेपालको उच्च हिमाली क्षेत्रमा रहेको पर्माफ्रस्ट, बरफ, चट्टान, बालुवा र माटोको मिश्रण, जसले जमिनलाई जोडेर राख्न सक्छ । जुन बढ्दो तापक्रमका कारण कमजोर हुँदै गएको छ । विशेषगरी हिमपहिरो भएको उचाइ आसपास यस्तो असर देखिएको छ । इम्मरजेलका अनुसार पर्माफ्रस्ट पग्लिँदा ‘चट्टानको मजबुती घट्छ र थप पानी ढलानभित्र प्रवेश गर्न पाउँछ ।’ हिमनदीमा आएको परिवर्तन अर्को महत्वपूर्ण कारक हो । पछिल्ला दशकहरूमा लाङटाङ–लिरुङ हिमनदीमा उल्लेख्य रूपमा संकुचन आएको छ, विशेषगरी सन् २०१० पछि । यसले ढलानलाई कम स्थिर बनाएको र चट्टानका चिराहरूमा पस्न सक्ने पग्लिएको पानी उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ । अनुसन्धानकर्ताहरूले हिमपहिरो हुनुअघिको मौसमसमेत अध्ययन गरेका थिए । गत शरद् ऋतुमा अक्टोबर र नोभेम्बरको सुरुआतमा उक्त क्षेत्रमा असाधारण मात्रामा हिउँ परेको थियो । त्यसपछिको जुलाई र अगस्ट महिनामा स्थानीय स्तरमा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम दर्ज भएकाे थियाे । यसले ठूलो मात्रामा हिउँ तथा बरफ पग्लिने पानी उत्पादन गरेको हुन सक्ने र त्यसले ढलानलाई थप कमजोर बनाएको हुन सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ । ऐतिहासिक तथ्यांक र जलवायु मोडल प्रयोग गरेर अनुसन्धानकर्ताहरूले उक्त क्षेत्रमा जुलाई र अगस्टको तापक्रम जलवायु परिवर्तनका कारण अहिले करिब १.५ डिग्री सेल्सियस बढी रहेको पत्ता लगाएका छन् । यस क्षेत्रको वार्षिक तापक्रमसमेत २ डिग्री सेल्सियसले बढेको छ, जुन विश्वव्यापी औसत वृद्धिभन्दा उल्लेख्य रूपमा बढी हो ।  तर विश्वव्यापी तापक्रम वृद्धिसँग हिउँ तथा वर्षाको मात्रा बढेको सम्बन्ध भने त्यति स्पष्ट देखिएन। यसको एउटा कारण जटिल र दुर्गम हिमालय क्षेत्रमा मौसमसम्बन्धी तथ्यांक मापन तथा निगरानीमा रहेको कठिनाइ रहेको वैज्ञानिकहरूले बताएका छन् । समग्रमा ‘मानव सिर्जित जलवायु परिवर्तनले विपद्को पूर्वतयारी तथा जोखिम बढाउन भूमिका खेलेकोमा कुनै शंका छैन’ भन्ने निष्कर्ष वैज्ञानिकहरूले निकालेका छन् । इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञानकी प्राध्यापक फ्रिडेरिके ओटोले यस्तो बताएकी हुन् । वैज्ञानिकहरूका अनुसार यो हिमाली ढलान भत्किने घटना आकार, गति र जटिलताका हिसाबले यस क्षेत्रले यसअघि भोगेका घटनाभन्दा मौलिक रूपमा फरक थियो। उनीहरूले कुनै पनि विद्यमान पूर्वसूचना प्रणालीले पर्याप्त समय अगावै चेतावनी दिन नसक्ने बताएका छन् ।  ओटोका अनुसार यो ‘हामीले अनुकूलन गर्न सक्ने सीमाभन्दा बिल्कुलै बाहिरको घटनामध्ये एक’ हो । विश्वले जीवाश्म इन्धनबाट हुने प्रदूषणलाई तीव्र रूपमा घटाउन नसके ‘यस्तै स्तरका थप विपद्हरू अनिवार्य रूपमा देखिनेछन्’ उनले बताएकी छन् ।  (सीएनएन)