लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार
काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । काठमाडौं जिल्लाको बौद्धमा रहेका २ शाखा मध्ये गोकर्णेश्वर नगरपालिका वडा न.६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ को थलीमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको बौद्व पिपलबोटको शाखा (हालको स्थान बाट ४०० मिटर) मार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ । स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ ।
२८ निर्माण व्यवसायी एवं आपूर्तिकर्ता कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालयले २८ निर्माण व्यवसायी एवं आपूर्तिकर्तालाई कुनै पनि सार्वजनिक निकायको खरीदमा भाग लिन नपाउने गरी कालोसूचीमा राखेको छ। कार्यालयले आइतबार एक सूचना प्रकाशन गरी विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । कार्यालयले सार्वजनिक गरेको सूतनामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको उल्लेख छ । कार्यालयले ५ वटा निर्माण कम्पनीलाई ३ वर्ष, ४ निर्माण कम्पनीलाई साढे २ वर्ष, ५ निर्माण कम्पनीलाई २ वर्ष, ४ निार्मण कम्पनीलाई डेढ वर्ष, २ निर्माण कम्पनीलाई १३ महिना र अन्य ८ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।
ट्रष्ट माइक्रो इन्स्योरेन्सको साधारणसभा सम्पन्न, आईपीओ निष्कासनको प्रस्ताव अनुमोदन
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रथम साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षतामा भएको साधारणसभाले विभिन्न एजेण्डाहरु पारित गरेको छ । साधारणसभाले सर्वसाधारणका लागि आईपीओ समेत जारी गर्ने प्रस्ताव सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ लेखापरीक्षकको नियुक्ति पारिश्रमिक निर्धारण सहित आगामी चार वर्षका लागि नयाँ बोर्ड नेतृत्वको निर्वाचन समेत गरेको छ । जसअनुसार कम्पनीको अध्यक्षमा पुनः जगत बहादुर पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै अन्य वोर्ड सदस्यहरुमा दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपाने निर्वाचित भएका छन् । यसैबीच कम्पनीले लुम्बिनी प्रदेशका ग्रामिण भेगका सर्वसाधारणलाई बीमाको पँहूचमा ल्याउने उद्देश्यले घुम्ती बीमा सेवा सुरु गर्ने भएको छ । साधारण सभाको उद्घाटन लगत्तै नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापा, कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेल र प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गानाले संयुक्त रुपमा बीमा घुम्ती सेवाका लागि ल्याइएको मोबाइल भ्यानको उद्घाटन समेत गरेका थिए । कम्पनीका उप कार्यकारी प्रमुख विश्वजन थापा श्रेष्ठका अनुसार घुम्ती सेवाले बीमाको पहुँचबाट बाहिर रहेका सर्वसाधारणलाई उनीहरुकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने तथा बीमा दाबी प्रकृयाको बारेमा सचेतना सहितको सेवा कम्पनीले दिने छ ।
सिद्धार्थ राजमार्ग भासियो
वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ तुल्सीभञ्ज्याङमा सिद्धार्थ राजमार्ग भासिएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले तुल्सीभञ्ज्याङस्थित सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको झण्डै ५० मिटर सडक भासिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार गए राति सडक भा सिएको हो । सडक भासिएपछि सवारीसाधन बीच बाटोमै थन्किएका छन् । वर्षा निरन्तर रूपमा भइरहेकाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने क्रम रोकिएको छैन । ग्रामीण क्षेत्रका सहायक मार्ग पनि वर्षासँगै पहिरो आएकाले अवरुद्ध छन् । विद्युत् अवरुद्ध हुँदा सेवाग्राही अन्धकारमा शनिबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा बुटवल पावर कम्पनीका ४० हजार सेवाग्राही मर्कामा परेका छन् । शुक्रबारदेखिको अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । स्याङ्जाको गल्याङस्थित बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला जलविद्युत् आयोजनाको बाँधस्थलमा क्षति पुर्याएपछि शनिबार बिहान ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । आँधीखोलाको माथिल्लो भेगमा भारी वर्षा भएसँगै आँधीखोलामा पानीको सतह बढ्न गई पानी सङ्कलन पोखरीमा ढुङ्गा, गिट्टी, बालुवा भरिएको बुटवल पावर कम्पनी आँधीखोला जलविद्युत् केन्द्र गल्याङका प्रमुख डोल खरेलले बताए । ‘खोलामा पानीको सतह बढिरहेकाले अहिले पानी सङ्कलन गरिएको पोखरी सफा गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘खोलामा पानीको सतह घटेपछि पोखरी सफा गरेर मात्र टनेलमा पानी पठाउँछौँ ।’ गल्याङस्थित आँधीखोलाबाट उत्पादन भएको नौ दशमलव चार मेगावाट विद्युत् स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वी भेगका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मी जिल्लाका केही भेग र पर्वतको केही भेगमा विद्युत् अवरुद्ध छ । स्याङ्जाको वालिङ–६ मिर्दी बजार नजिकै वितरण लाइनको पोल बाढीले ढलाएको छ । मर्मत गर्न प्राविधिक र उपकरण तयारी अवस्थामा राखिए पनि सडक अवरुद्धका कारण सम्भव नभएको उनले बताए । रासस
महाकाली लोकमार्ग बन्द भएपछि यात्रु अलपत्र
खलंगा । बिहीबारदेखि लगातार परेको वर्षाका कारण महाकाली लोकमार्गको खलंगा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । सडक बन्द भएपछि सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् । खलंगा–गोकुलेश्वर सडकखण्डको पनेबाजदेखि ऐरिछानासम्म ठाउँ ठाउँमा पहिरो खसेको छ । पहिराको कारण आइतबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन बाटोमै थन्किएका छन् । दार्चुलाबाट महेन्द्रनगर, धनगढी, काठमाडौँलगायतका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन नसकेका सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए । आज बिहानैदेखि सडक डिभिजन कार्यालय पाटनले पहिरो पन्छाउने काम गरिरहेको छ । लगातारको वर्षाका कारण लोकमार्ग खुलाउन समस्या भएको उनले बताए । दार्चुलामा चार दिनदेखि पानी परिरहेको छ । भारतले धौलीगंगा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह यसैबीच भारतले उत्तराखण्ड प्रान्तको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्न लागेको जनाएको छ । यही असार २९ गतेदेखि असार ३० गतेसम्म उक्त बाँधका ढोका खोलिने एनएचपीसी लिमिटेड र धौलिगंगा आयोजनाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रमा उल्लेख छ । बाँधको ढोका खोलेका बेला महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । सरसफाइका लागि बाँधको ढोका खोल्न लागिएको उनले बताए । बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने महाकालीमा पानीको बहाव बढ्न सक्ने भएका कारण नदी छेउछाउ नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । यसअघि यही सार १५ गते पनि उक्त बाँधको ढोका खोलिएका थिए ।
जुनमा अमेरिकी बेरोजगारी दर ४.१ प्रतिशतले बढ्यो
काठमाडौं । अमेरिकी रोजगारदाताहरूले जुनमा २ लाख ६ हजार जागिरहरू थपेका छन् । बेरोजगारी दर ४.१ प्रतिशतले बढेको छ । यसले श्रम बजार सुस्त हुन थालेको संकेत गर्छ । अमेरिकी श्रम विभागको श्रम तथ्यांक ब्यूरोअनुसार महिनामा सरकारी, स्वास्थ्य सेवा, सामाजिक सहायता र निर्माणमा रोजगारी प्राप्त भएको छ । कुल गैर–फार्म पेरोल रोजगारी जुनमा २ लाख ६ हजारले बढ्यो, जुन अघिल्लो १२ महिनाहरूमा २ लाख २० हजारको औसत मासिक लाभ भन्दा कम थियो । अप्रिलको लागि कुल गैर–फार्म पेरोल रोजगारीको परिवर्तनलाई ५७ हजारले १ लाख ८ हजारको लाभमा परिमार्जन गरिएको थियो । मेको परिवर्तनलाई ५४ हजारले २ लख १८ हजारको लाभमा परिमार्जन गरिएको थियो । यी संशोधनहरूसँग अप्रिल र मेमा रोजगारी पहिले रिपोर्ट गरिएको भन्दा १ लाख ११ हजार कम छ । फेडरल रिजर्भले ५.२५ देखि ५.५ प्रतिशतको दायरामा बेन्चमार्क ब्याज दर राखेको भएपनि अमेरिकी श्रम बजारले अप्रत्याशित बल देखाएको छ । फेब्रुअरीमा बेरोजगारी दर बढेर ३.९ प्रतिशत पुगेको थियो । जुन दुई वर्षको उच्चतम स्तर हो । मार्चमा ३.८ प्रतिशतमा पुगेको थियो । अप्रिलमा बेरोजगारी दर फेरि ३.९ प्रतिशतमा बढ्यो र मेमा ४.० प्रतिशतमा थियो । ४.१ प्रतिशतको पछिल्लो मापन एक वर्ष अघिको भन्दा धेरै हो । जब बेरोजगारी दर ३.६ प्रतिशत थियो । जुनमा, निजी गैर–फार्म पेरोलहरूमा सबै कर्मचारीहरूको औसत प्रतिघण्टा आम्दानी १० सेन्ट वा ०.३ प्रतिशतले बढेर ३५ अमेरिकी डलर पुगेको छ । विगत १२ महिनामा, औसत घण्टाको आम्दानी ३.९ प्रतिशतले बढेको छ । अटोमेटिक डाटा प्रोसेसिङ (ब्म्ए) ले अमेरिकी निजी क्षेत्रले जुनमा १ लाख ५० हजार रोजगारी थपेको रिपोर्ट गरेको दुई दिनपछि मासिक रोजगारी प्रतिवेदन जारी गरिएको थियो । जुन मार्केटवाचका अनुसार पाँच महिनामा सबैभन्दा सानो वृद्धि हो ।
महाकालीमा पानीको बहाव बढ्यो, सवारीसाधन चलाउन बन्देज
महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिनुभयो । आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ । ‘शनिबार बेलुकी ४ बजेदेखि नै पानीको बहाव बढेपछि बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ’, उनले भने । शनिबार साझँ महाकालीमा एक लाख पाँच हजार क्युसेक पानी मापन गरिएको थियो । बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाउपछि पश्चिमीनाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सूचना जारी गर्दै यहाँका नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । केन्द्रीय विपद् व्यवस्थापन महाशाखाका अनुसार कञ्चनपुर र कैलालीमा भारी वर्षा हुने सम्भावना छ । यहाँ शनिबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ ।
युद्धले लग्यो बिजुली, अँध्यारोमा बाँच्न विवश युक्रेन
काठमाडौं । रुस र युक्रेनको युद्ध जारी छ । युद्ध समाप्त गर्न युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै धारणा सार्वजनिक रूपमा राखेका छैनन् । यद्यपि, युद्ध समाप्त गर्न योजना बनाइरहेका खबरहरू भने बाहिरिरहेका छन् । रुसले लगातार युक्रेनको ऊर्जा क्षमता र प्लान्टमा आक्रमण गरिरहेको छ, जसका कारण युक्रेनका जनता लामो समयदेखि बिजुलीबिना बाँच्न सिकिरहेका छन् । बिजली कटौती र जीवन बारम्बार रुसी हवाई आक्रमणले युक्रेनको पहिले अप्रभावित भागहरू पनि लगभग हरेक दिन घण्टौंसम्म बिजुलीविहीन रहन्छ । ओडेसाको दक्षिणी बन्दरगाह सहरमा बस्ने टेटियाना भन्छिन्, ‘अन्तहीन बिजुली कटौतीले जीवनलाई अत्यन्तै कठिन बनाएको छ, उनीहरूले बिजुली आपूर्ति निर्वाध रहोस् भनेर सुनिश्चित गर्न आवश्यक छ ।’ टेटियानासँग पेट्रोलबाट चल्ने जेनेरेटर छ । यो सधैं चलाउनुपर्छ, तर यसलाई चिसो बनाउन हरेक ६ घण्टा बन्द गर्नुपर्छ । बिजुली कटौतीले मोबाइल फोन कभरेजलाई पनि असर गर्छ, त्यसैले टेटियानाले आफ्नो छोराका लागि एम्बुलेन्सलाई सम्पर्क गर्न पनि कठिनाइहरूको सामना गनुपर्छ । उनको छोरा शारीरिक रूपमा असक्षम छन् । उनको छारालाई सास फेर्न, खान र औषधी लिनसमेत विद्युतीय उपकरणको भर पर्नुपर्छ । टेटियाना भन्छिन्, ‘कहिलेकाहीँ एम्बुलेन्स आउन आधा घण्टा लाग्छ, कहिलेकाहीँ एक घण्टा पनि लाग्छ, यस अवधिमा मेरो बच्चालाई धेरै समस्या हुन्छ र उसको शरीर नीलो हुन थाल्छ ।’ उनी थप्छिन्, ‘यदि मेरो छोरोले अक्सिजन पाएन भने उसको ज्यान जान सक्छ, मसँग बोल्ने शब्द छैन ।’ बिजुली अभावका कारण लाखौं युक्रेनीहरूले वातानुकूलित, लिफ्ट वा जीवन बचाउने उपकरणहरू ठिकसँग प्रयोग गर्न असमर्थ छन् । राष्ट्रिय ऊर्जा कम्पनी युक्रेनर्गोले पछिल्लो तीन महिनामा मात्रै युक्रेनले ९ गिगावाट विद्युत उत्पादन क्षमता गुमाएको बताएको छ । यो फेब्रुअरी २०२२ मा पूर्ण मात्रामा आक्रमण हुनुअघि युक्रेनको क्षमताको एक तिहाइभन्दा बढी हो । युक्रेनर्गोले यो क्षमता नेदरल्यान्ड्स, स्लोभाकिया, लाटभिया, लिथुआनिया र इस्टोनियालाई चरम खपतको समयमा पनि ऊर्जा दिन पर्याप्त रहेको बताएको छ । ‘राज्यको स्वामित्वमा रहेका सबै थर्मल पावर प्लान्टहरू ध्वस्त भएका छन्, हाम्रो देशका सबै जलविद्युत् केन्द्रहरूमा रुसी क्षेप्यास्त्र वा ड्रोन आक्रमणबाट क्षति पुगेको छ,’ युक्रेनर्गोका प्रवक्ता मारिया त्स्तुरियनले भनिन्, ‘जसका कारण लाखौं युक्रेनीहरू पेट्रोल र डिजेल वा ठूला पावर बैंकहरूमा चल्ने जेनेरेटरहरूमा बढी निर्भर हुँदैछन् ।’ राजधानी किभमा पनि विद्युत कटौती युक्रेनको राजधानी किभमा पनि लामो समयदेखि विद्युत कटौती भइरहेको छ । रोकसोलाना २४ तले अपार्टमेन्टमा बस्छिन् । जनता एकजुट भएर अपार्टमेन्टको सुविधा सञ्चालन गर्न रोक्सोलानालाई चुनेका छन् । ‘टावर ब्लकमा बस्न सजिलो छैन किनभने बिजुली कटौतीले पानी माथिल्लो तलामा पुग्न सक्दैन,’ रोकसोलाना भन्छिन्, ‘लिफ्ट पनि चल्दैन, त्यसैले बालबालिका, वृद्ध महिला र अपाङ्गता भएकाले बिजुली कुर्नुपरेको छ, उनीहरू बिजुली आएपछि मात्र बाहिर जाने योजना बनाउँछन् ।’ रोकसोलानाले आफू लगातार ६ घण्टा घरभित्रै बस्नुपर्ने बताइन् । उनी भन्छिन्, ‘हाम्रा वृद्ध महिलाहरू रोटी किन्न पसलमा जान पनि सक्दैनन् ।’ युक्रेनमा अग्लो भवनहरूमा बस्ने बासिन्दाहरू गर्मीमा पनि अपार्टमेन्टमा बस्न बाध्य छन् किनभने बिजुलीबिना, एयर कन्डिसनरहरू पनि चल्दैनन् । अग्ला भवनहरूमा बस्ने मानिसहरू रुसी हवाई आक्रमणबाट पनि बढी जोखिममा छन् । बम आक्रमणबाट जोगाउन बनाइएका ठाउँहरूमा समेत उनीहरू सजिलै पुग्न सक्दैनन् । बम आक्रमणबाट जोगाउन निर्माण गरिएका अधिकांश ठाउँहरू भूमिगत छन् । जापोरिझियाका दन्तचिकित्सक भोलोडिमिर स्टेपानिभ भन्छन्, ‘कहिलेकाहीँ अपोइन्टमेन्टहरू स्थगित गर्नुपर्ने हुन्छ । धेरै पटक यस्तो हुन्छ कि जटिल शल्यक्रिया गर्दा पनि बिजुली जान्छ ।’ यदि शल्यक्रियाको क्रममा बिजुली कटौती भयो भने जेनेरेटर चलाएर शल्यक्रिया पूरा गर्नुपर्ने बाध्यता रहेको स्टेफानिभ बताउँछन् । यस बाहेक उनीहरूसँग अर्को विकल्प छैन, किनकि बिरामीलाई भोलि फेरि आउन भन्न पनि सकिँदैन । टर्चको उज्यालोको सहाराले उपचार डाक्टर स्टेफानिभले बिजुली बन्द हुँदा महत्त्वपूर्ण कम वा जटिल अप्रेसनका लागि हेड टर्च प्रयोग गर्छन् । स्टेफानिभले फ्रन्ट लाइनमा रहँदा सिपाहीहरूको उपचार गर्दा यो विधि सिकेका थिए र अहिले त्यसमा निपुण भएका छन् । उनको फर्मले अझै पनि युक्रेनी सेनाका सदस्यहरूलाई निःशुल्क वा भारी छुटमा उपचार प्रदान गर्दछ । स्टेफानिभ दाँत दुख्ने वा सुन्निने रोगको उपचार बिजुलीविना पनि गर्न सक्ने बताउँछन् । उनी भन्छन्, ‘हामीले बिजुलीविना शल्यक्रिया गर्न सिकेका छौं ।’ यूक्रेनेर्गोकी प्रवक्ता मारियालाई थाहा छ कि धेरै पटक र यति लामो समयका लागि बिजुली काटेकोमा ग्राहकहरू उनको कम्पनीसँग क्रोधित छन् । ‘हामीसँग अर्को विकल्प छैन । हामी युद्धमा छौं, ऊर्जा क्षेत्र रुसी आतंकवादीहरूको लक्ष्य हो र यो किन स्पष्ट छ भने हाम्रो सम्पूर्ण जीवन बिजुलीमा आधारित छ,’ उनी भन्छिन्, ‘उनीहरूको लक्ष्य आफ्नो शत्रुको पावर ग्रिडलाई नष्ट गर्नु हो, त्यसपछि तिनीहरूको अर्थतन्त्र र जीवन हुनेछैन, र, यो त्यो मूल्य हो जुन हामीले आफ्नो स्वतन्त्रताका लागि चुकाएका छौं ।’ बीबीसी