विकासन्युज

विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो

काठमाडौं । टोखा नगरपालिकाले विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरुआत गरेको छ । टोखा–९ नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा निर्माण गरिएको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको भवन नगरपालिकाले भत्काएको हो । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले टोखाभित्र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना हटाउने क्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र नयाँबसपार्कको भवन भत्काइएको जानकारी दिए । नगरपालिकाले नयाँबसपार्क नजिक विष्णुमति करिडोरमा निर्माण गरिएका पसलसमेत हटाउन लागेको छ । नयाँबसपार्क पुल नजिक बाँसबाट निर्माण गरिएका ८२ पसल हटाउन लागिएको नगरपालिकाले जनाएको छ । यसअघि टोखाले मनोरथ तीर्थदेखि ग्राण्डी अस्पतालसम्म विष्णुमति किनारामा निर्माण गरिएका संरचना हटाएर करिडोर खोल्ने काम गरिसकेको छ । रासस

उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु

लमजुङ । यहाँको दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अलपत्र परेको दश महिनापछि पुनः निर्माण अघि बढेको छ । गत असारदेखि रोकिएको सडक निर्माण वैशाख दोस्रो सातादेखि सुरु भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनियर विवेक सिग्देलले बताए । उनका अनुसार बारम्बार ताकेता गरी कारबाही प्रक्रिया समेत अघि बढाएपछि निर्माण व्यवसायीले काम थालेको हो । यतिबेला नाली बनाउने, ‘बेस’ हाल्ने र कालोपत्रका लागि क्रसरलाई कच्चा पदार्थ खोज्ने काम भइहेको पूर्वाधार कार्यालयका प्रमुख सिग्देलले जानकारी दिए । सरकारले एक पालिका एक सडक पुर्याउने अभियान अन्तर्गत यो सडक निर्माण सुरु गरिएको हो । यसअघि ठेकेदारले आर्थिकलगायतका कारण देखाएर काम अलपत्र पारेको थियो । यसवर्ष तीन किलोमिटर सडक कालोपत्र हुने पूर्वाधार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको छ । तीन किलोमिटर ‘स्ट्रक्चर’को काम भइसकको छ । त्यस्तै, ग्राभेल, ग्याबिन वाल, मेसिनवालको काम सम्पन्न हुन बाँकी रहेको कार्यालयले जनाएको छ । सडकको बेस बसाउने काम सकिएको छ । पाँच किलोमिटर नाला निर्माण भएको छ । सम्झौता अनुसार विसं २०७९ असार २ गतेभित्र कालोपत्र गरिसक्नुपर्ने भए पनि कोभिडका कारण देखाउँदै निर्माण ढिलाइ भएपछि पुनः विसं २०७९ पुस सम्म म्याद थप गरिएको थियो । थपिएको म्याद भित्र पनि निर्माण सम्पन्न नभएपछि विसं २०८० असार २९ सम्म सम्पन्न गर्न दोस्रो पटक म्याद थप गरिएको थियो । दोस्रो पटक थपिएको म्यादमा पनि काम सम्पन्न नभएपछि पुनः मङ्सिर २८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप भएको हो । उक्त अवधिमा पनि नसकिएको काम अहिले सुरु गरिएको कार्यालय प्रमुख सिग्देलले जानकारी दिए । सडक निर्माणको ठेक्का कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौँले लिएको थियो । विसं २०७७ असार ३ गते भएको सम्झौताअनुसार प्रदेश सरकारको रु २६ करोड २९ लाख ६ हजार दुई सय २५ लागतमा सात दशमलव एक सय २१ किलोमिटर कालोपत्रको ठेक्का लागेको हो । पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका-१ उदिपुरदेखि दोर्दी गाउँपालिका-४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने यस सडकको ‘अस्फाल्ट’ कालोपत्र हुनेछ । सो सडकमध्ये दुई ठाउँमा एक हजार एक सय १३ घनमिटर सडक ढलान र चार सेन्टिमिटरको कालोपत्र हुनेछ । विशेष गरी यस सडकले बेँसीसहर नगरपालिका र दोर्दी गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । रासस

५ वर्षभित्र प्रतिव्यक्ति आम्दानी २ हजार ३५१ डलर पुर्‍याउने लक्ष्य

काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगको १६औं पञ्चवर्षीय योजनामा आर्थिक वर्ष २०८५/०८६ सम्म नेपालीको प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको हो । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले १६औं योजना (२०८१/८२/२०८५/८६) स्वीकृत गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार हाल नेपालीको प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर छ । यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशत रहेकामा १२ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । सरकारले उपभोक्ता मुद्रास्फीति ७.७ प्रतिशत रहेकामा त्यसलाई ५ प्रतिशतमा झार्ने, मानव विकास सूचकांक हाल ०.६०१ रहेकामा ०.६५० पुर्‍याउने, मानव सम्पत्ति सूचकांक ७६.३ रहेकामा त्यसलाई ७८ पुर्‍याउने, आर्थिक तथा वातावरणीय जोखिम सूचकांक २९.७ रहेकामा २४ मा सीमित गर्ने, अपेक्षित आयु (जन्म हुँदाको) हाल ७१.३ वर्ष रहेकामा ७३ वर्षमा विस्तार गर्नेजस्ता लक्ष्य राखेको छ ।

एमाले संसदीय दलको बैठक सुरु

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) संसदीय दलको बैठक सुुरु भएको छ । बुधबार मध्यान्ह नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको दाबीसहित छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडानसहित नेपाली काँग्रेसले संसद बैठक र सडक संघर्ष समेत सुरु गरिरहँदा एमालेले पार्टीको संसदीय दलको बैठक बोलाएको हो । बैठकमा गिरीबन्ध टि स्टेटको जग्गा सरकारको मातहत ल्याउन सर्वोच्च अदालतले आदेश दिएको विषयमा पनि छलफल हुने बताइएको छ । नेपाली काँग्रेसले केपी ओली नेतृत्वको तत्कालीन सरकारले सो जग्गा व्यक्तिको नाममा सट्टा गर्न मिल्ने गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको छ ।

‘बोइङ स्टारलाइनर’ को प्रक्षेपणमा ढिलाइ

काठमाडौं । नासा र बोइङले अब अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा स्टारलाइनर अन्तरिक्ष यानको पहिलो चालक दलको मिसन प्रक्षेपणको लागि मे २१ भन्दाअघि लक्षित नगर्ने एजेन्सीले बताएको छ । यो अन्तरिक्ष यान यसअघि अमेरिकी राज्य फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट मे ६ मा ‘युनाइटेड लन्च एलायन्स’ (यूएलए) एटलस वी रकेटमा प्रक्षेपण गर्ने कार्यक्रम थियो । प्राविधिक समस्याका कारण प्रक्षेपण प्रयास रोकिएको थियो । युएलले टोलीले मे ११ मा एटलस भी रकेटको सेन्टौर माथिल्लो चरणमा तरल अक्सिजन ट्याङ्कीमा दबाव नियमन भल्भ सफलतापूर्वक प्रतिस्थापन गरेको छ । उक्त टोलीले पुनः दबाब र प्रणाली शुद्धीकरण पनि गर्दै नयाँ भल्भको परीक्षण गर्यो । यसले सामान्य रूपमा प्रदर्शन गरिरहेको गर्ने नासाले जनाएको छ । स्टारलाइनर टोलीले एकल प्रतिक्रिया नियन्त्रण प्रणाली थ्रस्टरमा निस्किएको किनारामा पत्ता लागेको सानो हिलियम चुहावट समाधान गर्न काम गरिरहेको छ । थ्रस्टरहरूलाई आगो लगाउन अनुमति दिन स्पेसक्राफ्ट थ्रस्टर प्रणालीहरूमा हिलियम प्रयोग गरिने र यो दहनशील वा विषाक्त हुँदैन । नासा र बोइङले यस समस्यालाई सम्बोधन गर्न अन्तरिक्ष यान परीक्षण र परिचालन समाधानहरू विकास गरिरहेका छन् । उडान परीक्षणले नासाका अन्तरिक्ष यात्री बुच विल्मोर र सुनी विलियम्सलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा लैजानेछ । एजेन्सीको कमर्सियल क्रु कार्यक्रमको एक भागका रूपमा बोइङको स्टारलाइनरलाई अन्तरिक्ष स्टेशनमा प्रक्षेपण गर्ने यो जोडी पहिलो हो । नासाका अनुसार अन्तरिक्ष यात्रीहरूले पृथ्वीमा फर्कनुअघि र दक्षिणपश्चिमी संयुक्त राज्य अमेरिकामा प्यारासुट र एयरब्यागको सहायताले अवतरण गर्नुअघि परिक्रमा गर्ने प्रयोगशालामा करिब एक हप्ता बिताउने छन् । मिशनको सफल समापनपछि नासाले स्टारलाइनर र यसका प्रणालीहरूलाई अन्तरिक्ष स्टेशनमा क्रुड रोटेशन मिशनहरूका लागि प्रमाणित गर्ने अन्तिम प्रक्रिया सुरु गर्ने जनाएको छ । रासस

सेबोनले बजेटपछि मात्रै अध्यक्ष पाउने, संयोजक भन्छन्: काबुभन्दा बाहिर गयो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटपछि मात्रै अध्यक्ष पाउने देखिएको छ । राष्ट्रिय योजना आयोगका अध्यक्ष डा. मीनबहादुर श्रेष्ठले अहिले बजेटमा व्यस्त हुनु पर्ने भएकोले सेबोनको अध्यक्ष बजेटपछि मात्रै नियुक्त हुने धारणा राखेका हुन् । सेबोन अध्यक्ष छनोट समितिका संयोजक समेत रहेका उनले विभिन्न कारणले अध्यक्षको नियुक्ति ढिलाई भएको धारणा राखे । उनले यो विषय आफ्नो काबुभन्दा बाहिर रहेको धारणा राख्दै अन्य व्यक्तिको कारणले नै रोकिएको स्पष्ट पारे । ‘सेवोनको अध्यक्ष मेरो कारणले ढिलाइ भएको होइन, मैले जिम्मेवारी लिएर ढिलाइ भएको यो पहिलो पटक हो, बजेट आउनासाथ याे काममा लाग्छौं,’ उनले भने । यस्तै, उनले अर्थमन्त्री, अर्थसचिव परिवर्तन हुँदा पनि यो विषय रोकिएको धारणा राखेका छन् । उनले अहिले सबै बजेट निर्माणमा लाग्दा सेबोनको अध्यक्ष नियुक्तिको विषयले प्राथमिकता नपाएको बताए । ‘अहिले अर्थसचिव बजेटमा लाग्नु भएको छ, सर्ट लिष्टमा परेका पाँच जनाको प्रस्तुति सुन्नका लागि समय दिनुपर्ने हुन्छ, समिति गठन भएपछि पनि म कहाँ ढिला मात्रै पत्र आइपुग्दा पनि समय लाग्यो, यो बिचमा सचिव पनि बाहिर जानु भयो, त्यसपछि मैले पनि बाहिर जानु पर्यो,’ उनले भने, ‘मेरो काबुभन्दा बाहिरको कारणले ढिलाइ भएको हो, धेरै रोकिनु पर्ने अवस्था होइन ।’ बोर्डको अध्यक्षका लागि चिरञ्जिवी चापागाईं, कृष्ण बहादुर कार्की ,बोर्डका कार्यकारी दुई जना निर्देशक डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठको नाम सर्टलिष्टमा परेको छ । आयोगका उपाध्यक्ष डा. श्रेष्ठले १६औं आवधिक योाजनाको विषयमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले सो पत्रकार सम्मेलनमा आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको पनि बताएका छन् । ‘यो योजनाले सबैभन्दा विशेष रुपमा गरेको काम नै समस्यालाई गहिराइमा पुगेर गरिएको अध्ययन हो, अर्थतन्त्र, शासकीय समस्याको पहिचान गरिएको छ,’ उनले भने ।  

कैलाश हेलिकोप्टरको आम्दानी ७० करोडमाथि, अर्को वर्ष हेलिकोप्टर थप्ने

फाइल फोटो काठमाडौं। कैलाश हेलिकोप्टर सर्भिस लिमिटेडको आम्दानी बढेर ७० करोडभन्दा माथि पुगेको छ । कम्पनीले सन् २०२३ मा ७० करोड २० लाख रुपैयाँ बराबर आम्दानी गरेको हो । २०२२ मा कम्पनीले ४० करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा मात्र ३१ करोड रुपैयाँको व्यापार गरेको इक्रा नेपालले जनाएकाे छ । त्यस्तै, २०२१ मा ३२ करोड १० लाख रुपैयाँ र २०२० मा ३० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख रुपैयाँ रहेको छ । भविष्यमा प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) मार्फत इक्विटी बढाउने योजना कम्पनी छ । सन् २०१७ मा प्राइभेट लिमिटेड कम्पनीका रूपमा स्थापना भएको कैलाश हेलिकोप्टर २०२३ जुलाई ९ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । यसले चार्टर उडान, उद्धार उडान, स्लिङ अपरेसन, सगरमाथा र अन्नपूर्ण आधार शिविरसम्म साहसिक उडान लगायत सञ्चालन गर्दै आएको छ । कम्पनीसँग हाल एयर हेलिकोप्टरमा निर्मित तीन थान हेलिकोप्टर सञ्चालनमा छन् । आगामी २०२५ भित्र थप एक थान यस्तै हेलिकोप्टर ल्याउने योजना कम्पनीले बनाएको छ । कैलाश हेलिकोप्टरमा सातजना लगानीकर्ता छन् । हाल कम्पनीका अध्यक्ष क्याप्टेन आशिष शेरचन हुन् भने प्रबन्ध निर्देशकमा प्रतापजंग पाण्डे छन् ।

मापदण्ड विपरीत सञ्चालनमा रहेका ट्रायल सेन्टरलाई कारबाही गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं उपत्यकामा मापदण्डविपरीत सञ्चालनमा रहेका ट्रायल सेन्टरलाई कारबाहीका लागि निर्देशन दिएको छ । मंगलबार सतर्कता केन्द्रले यातायात व्यवस्था कार्यालयहरूलाई कानुनको अक्षरशः कार्यान्वयन गरेर मात्र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने/गराउने व्यवस्था मिलाई जानकारी गराउन निर्देशन दिएको हो । सवारी चालक अनुमतिपत्र सम्बन्धी प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टरले सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका, २०७४ मा व्यवस्था भएको मापदण्ड पालना नगरी ट्रायल सेन्टर सञ्चालन गरेको पाइएपछि केन्द्रले यातायात व्यवस्था कार्यालयहरूलाई ट्रायल सेन्टरलाई कारबाही गर्न निर्देशन दिएको छ । कारबाही गर्न सतर्कता केन्द्रले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, राधेराधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, ठूलोभर्याङ, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, चाबहिल र यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, एकान्तकुनालाई पत्र लेखेको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका अधिकांश ट्रायल सेन्टरले निर्देशिकामा भएको व्यवस्था तथा मापदण्ड पालना नगरी ट्रायल सेन्टर सञ्चालन गर्दा धेरै परीक्षार्थी फेल हुने गरेको पाइएको पनि केन्द्रको भनाइ छ ।