विकासन्युज

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

वागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ । अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । ‘नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ’, उनले भने, ‘टोलीको प्रतिवेदन प्राप्त भएपछि काम थालिन्छ ।’ पाइप लाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गरिने छ । मोतिहारी-अमलेखगञ्ज पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७० प्रतिशतभन्दा बढी काम पूरा भएको छ । दोस्रो चरणमा भारतीय आयल निगमले बाराको अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई ‘पेट्रोल ट्याङ्क’, दुई सय ५० किलोलिटर क्षमताका दुई ‘ट्रान्समिक्स ट्याङ्क’, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित ‘लोडिङ वे–रिफिलर’, ‘पम्प हाउस’ र प्रयोगशाला निर्माण गरेको प्रमुख उपाध्यायले बताए । पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमले निर्माण गर्ने सम्झौता भएको छ । एउटै पाइप लाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी खर्च जोगिने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्नेछ । रासस

राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन

काठमाडौं । नवलपरासीको सुनवल नगरपालिकामा पर्ने खोलाहरुमा राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन भएको छ । रातदिन मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा निकासी भइरहेको हो  । अहिले हरेक जसो खोलामा एस्काभेटर, जेसिवी र टिप्परको लाइन देखिन्छ । सबै अवैध रुपमा प्राकृतिक स्रोतको दोहनका लागि पुगेका हुन् । जिल्लाको सुनवल नगरपालिकाले राष्ट्रिय गौरवका आयोजनाका नाममा तुरिया खोला, बिसासय खोला, बडेरा खोला लाई अमानतको नाममा विचौलियाहरुलाई जिम्मा दिइएको पाइन्छ । वातावरणीय प्रभाव मूल्याङ्कन (आइइई) प्रतिवेदनअनुसार ती नदीहरुमा नदीजन्य पदार्थको उत्खनन गर्न ठेक्का लगाइएको भएपनि ती स्थानमा मेसिनको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन भइरहेको छ  । धमाधम एस्काभेटर, जेसिवी र टिप्परहरुले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेका छन् । ती नदीहरुमा सयौँ टिप्परको लाइन दिनहुँ नै देखिन्छ । स्थानीय निकायहरुले नदी अमानत दिँदा मेसिनको प्रयोग गर्ने, नदीजन्य पदार्थ उठाउने सम्झौता गरिएको थियो । तर एस्काभेटरले जातततै नदीमा उत्खनन गरेको पाइएको छ । अवैध उत्खननले सिंचाई कुलोहरू समेत भासिन थालेको स्थानीय किसानको गुनासो छ । नदीको बहाव अर्कैतिर मोडिएर गाउँबस्ती जोखिममा पर्नाका साथै खेतीयोग्य जमिनसमेत जोखिममा परेको स्थानीयवासी बताउछन् । जथाभावी मेसिन प्रयोग हुँदा नदी अर्कैतिर जाने र यसका कारण वर्षा याममा नदी गाउँमा पस्ने जोखिम बढेको स्थानीयको भनाइ छ । आयोजनालाई नगरले अमानतको नाममा खोला त जिम्मा दिएको छ तर विचौलियहरुले ढुवानीको जिम्मा पाएकाले आफ्नै घाटगद्दिमा लाएको पाइएको छ । व्यक्तिको नाममा समेत रसिद काटेको देख्न सकिन्छ । यस विषयमा अनुगमानकारी निकाय मौन छ ।

पर्यटक लोभ्याउँदै जापानको उड्ने कार

काठमाडौं । जापानको टोकियोमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टर बाहिर उड्ने कार प्रदर्शन गरिएको छ । टोकियोमा अत्याधुनिक प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक ‘उडान कार’ ल्याइएको थियो । राजधानीको कोटो वार्डमा रहेको इन्टरनेशनल इभेन्ट टोकियो बिग साइट कन्भेन्सन सेन्टर बाहिर एउटा पार्किङ स्थलमा गाडी जमिनबाट करिव १० मिटर टाढा घुम्दा करिव ५ सय दर्शकहरु थिए । उड्ने सवारी साधनहरू मानव यातायातको अर्को पुस्ताको हिस्सा बन्ने अपेक्षा गरिएको छ । ट्राफिक जामको सामना गर्न र प्रकोपग्रस्त क्षेत्रमा आपूर्तिहरू पु¥याउन प्रभावकारी हुने बताइएको छ । यूएस फर्म लिफ्ट एयरक्राफ्ट इंकद्वारा निर्मित हेक्सा ४.५ मिटर चौडा, २.६ मिटर अग्लो र करिव १९६ किलोग्राम तौल छ ।

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् । संघको आइतबार बिहान सम्पन्न निर्वाचनमा दुई प्रतिस्पर्धीलाई पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । संघको प्रथम उपाध्यक्षमा विनोदजंग केसी, द्वितीय उपाध्यक्षमा हर्कबहादुर लिम्बू, तृतीय उपाध्यक्षमा सेमन्तराज न्यौपाने र महासचिवमा महेशकुमार बस्नेत, सचिवद्वयमा तुलसीराम पुरी र राज लामा, कोषाध्यक्षमा हिमा गुरुङ र सहकोषाध्यक्षमा लिलबहादुर तामाङ निर्वाचित भएका छन् । त्यसैगरी, सदस्यमा देवीप्रसाद गिरी, शालिकराम अधिकारी, दीपककुमार राय, सौरभ आचार्य, विद्यालक्ष्मी बज्राचार्य, अभिनभमानसिंह बस्नेत, राजेश्वर यादव, सविताकुमारी सिंह, रोशना निरौला र महेशकुमार श्रेष्ठ निर्वाचित भएका छन् । संघमा देशभरका चार सयभन्दा बढी व्यवसायी आबद्ध छन् । रासस

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् । उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहेका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास/घर बाहिर ननिस्कन आग्रह छ’, भनेको छ । दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ । साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन र इमेलमा सम्पर्क गर्न सकिने जनाएको छ । बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ । त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ । छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ । रासस

२५ करोड लागतमा वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोड रुपैयाँ लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ । निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र काम सुरु भएको हो । ‘सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गर्नुपर्ने हो,’ निर्माणमा संलग्न इन्जिनियर विकास श्रेष्ठले भने, ‘ठेक्काको समयावधि सकिन एक वर्ष बाँकी छ, एक वर्षभित्र जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ काम गरिरहेकाका छौँ ।’ पिलर ठड्याउन पाइलिङ भइरहेको तथा बर्खाअगावै पिलर खडा गरिसक्ने उनले बताए । स्थानीय दुग्ध व्यवसायी शिवचरण रानाले वर्षात्का बेला नदी तर्न नसकेर कलुवापुर हुँदै धनगढी जानुपर्ने अवस्था रहेको उल्लेख गर्दै पुल निर्माणपछि छोटो बाटोबाट एक घण्टाआगावै धनगढी पुग्न सकिने बताए । वडाध्यक्ष नवलसिंह रानाले नदीमा रहेको झोलुङ्गे पुल दुई वर्षअघिको बाढीमा क्षतिग्रस्त भएपछि तिलकी, दुवाहा र दमलपट्टिका बासिन्दालाई नदी तर्न निकै सास्ती खेप्नुपर्ने अवस्था रहेको बताए । ‘नदीमा बनाइएको अस्थायी पुलमा शुल्क तिरेर स्थानीय आउजाउ गर्दै आएका थिए, बर्खामा जोखिम मोल्दै नदी तर्नुपर्ने बाध्यता थियो, पुल बनेपछि त्यो समाप्त हुनेछ ।’ पुल निर्माणका लागि लामो समयदेखि गरेको प्रयास सफल भएकामा खुसी व्यक्त गर्दै उनले भने ।

३७ अर्ब ७३ करोडको ट्रेजरी बिल जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जेठ ८ गते ३७ अर्ब ७३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । कार्यालयले ३७ अर्ब ७३ करोड रुपैयाँमध्ये ३२ अर्ब ७३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ भने ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको ट्रेजरी बिल जार गर्न लागेको हो । यस ट्रेजरी बिलका लागि सोमबार जेठ ७ गते दिउँसो ३ बजे बोलकबोल हुनेछ । कार्यालयले २८ दिनको लागि १० अर्ब रुपैयाँ, ९१ दिनको लागि ७ अर्ब २३ करोड रुपैयाँ, १८२ दिनका लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण तथा ५ अर्बको नयाँ ट्रेजरी र १ वर्षको लागि ७ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुनेछ ।

दोदा बगरमा तरकारी खेती गरेर आकर्षक आम्दानी गर्दै किसान

वेदकोट । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईंकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ । रानाको परिवारका सदस्यले दोदाकै बगरमा तरकारीखेती गर्दै आएका छन् । बगरमा उत्पादित तरकारी बिक्री गरेर उनले घरखर्च जुटाउँदै आएका छन् । ‘दोदाले सबै जमिन लग्यो । अहिले बगरमा खेती गर्छु । सुरुमा घरपरिवमारका लागि मात्र खेती गर्थेँ,’ उनले भने, ‘आकर्षक आम्दानी हुनथालेपछि व्यावसायिक रूपमा तरकारीखेतीमा लाग्यौँ । सिजनमा २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ ।’ उनका श्रीमान् गोरुगाडामा तरकारी राखेर बेच्न गाउँगाउँ डुल्ने गर्छन् । दोदामा उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ । बर्सेनि कटान र डुबान समस्या झेल्ने तटीय क्षेत्रका स्थानीय गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन् । डाँगाजाईंका ४८ वर्षीय मोलसिंह रानाले डेढ दशकअघिको दोदा नदीमा आएको बाढी बिर्सिएका छैनन् । त्यस बेला बाढीले उनको करिब तीन बिघा जमिन बगायो । दोदाको कटान अझै रोकिएको छैन । प्रत्येक वर्ष आउने बाढीले जमिन कटान गरिरहेको छ । मोलसिंह भन्छन्, ‘बर्खामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिएको छ ।’ डाँगाजाईंका किसान नन्दराम रानाले दोदाको बगरमा तरकारीखेती गर्न थालेको दशक बितिसक्यो । विसं २०६४ मा आएको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि त्यहीँ बगरमा तरकारीखेती गर्दै आएको उनी बताउछन् । ‘बर्खामा दोदाको बाढीले सास्ती गर्छ । उर्लेर आउने बाढीले कुन बेला के हुन्छ डराइडराइ बस्नुपर्छ,’ उनले भने, ‘बर्खामा बाढी आउँदा कोही नदी तर्न सक्दैन । उठीबास लगाएको दोदामै दुःख बिर्सिएर जीविकोपार्जनको आशमा खेती गरेका छौँ ।’ दोदा नदीमा करिब पाँच सयभन्दा बढी परिवारले बगरखेती गरेका छन् । बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ । माघदेखि बगरमा खेतीका लागि तयारी गर्ने गरिन्छ । चैत अन्तिम साता बाली तयार भएपछि बिक्री गर्ने गरिएको घुम्नी रानाले बताए । ‘वर्षौँदेखि बगरमा खेती गर्दै आएका छौँ । माघदेखि जेठसम्म बगरमा खेती गर्छौँ, अरु समयमा मजदुरी,’ उनले भने, ‘जङ्गली जनावर र चोरीबाट उत्पादन जोगाउन बगरमा बनाइएको छाप्रोमा बास बस्ने गरेका छौँ ।