सहकारीको रकम हिनामिना : छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक जारी
काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ । संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो । बैठकमा सबै सदस्य सहभागी भए । कार्यदलका अन्य सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् । कांग्रेसका तर्फबाट सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी छन् ।
नेपाल रिको सीईओ बन्न यी पाँच जनाबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को लागि पाँच जनाको नाम सर्टलिष्ट भएको छ । सोमबार बसेको सीईओ छनोट तथा सिफारिस समितिले पाँच जनाको नाम सर्टलिष्ट गरेको हो । समितिकाअनुसार दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्ध काजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा सर्टलिष्टमा परेका छन् । सर्टलिष्टमा परेकाहरूलाई व्यावसायिक कार्यजोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि यही जेठ ११ गते नेपाल पुनर्बीमा कम्पनीको कार्यालयमा बोलाइएको छ । सर्टलिष्टमा परेका भण्डारी नेपाल पुनर्बीमा कम्पनीका निमित्त सीईओ हुन् भने कार्की साबिक बीमा समितिका पूर्वकामु कार्यकारी निर्देशक हुन् । श्रेष्ठ साबिक युनाइटेड इन्स्योरेन्सका पूर्वसञ्चालक हुन् भने भट्टराई साबिक गुराँस लाइफ इन्स्योरेन्सका पूर्वसीईओ र थापा साबिक राष्ट्रिय बीमा संस्थानका पूर्वसहायक प्रशासक र अजोड इन्स्योरेन्सको पूर्वडीसीओ हुन् । तत्कालीन सीईओ शंकरकुमार रायमाझी कार्यकाल पूरा गरेर गत पुस ११ गते बाहिरिएपछि गत फागुन ७ गते कम्पनीले खुल्ला प्रतिस्पर्धाबाट सीईओका लागि आवेदन मागेको थियो ।
पशुपतिको भेटी चोर्ने कोषकै कर्मचारी, ८ जना पक्राउ
काठमाडौं । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, ‘पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ ।’ परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए ।
तीन अर्बमा बन्दै गरेको उदिपुर-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा ढिलाइ
लमजुङ । सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन दुई सय २० केभी उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइनको काम ठप्पप्रायः छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य निर्धारण भएको तीन अर्ब लागतको परियोजनाको काम छ वर्षमा पनि पूरा भएको छैन । हालसम्म ७० प्रतिशतमात्र निर्माण सम्पन्न भएको परियोजनाको उदिपुर-भरतपुर डिभिजन प्रमुख नारायण रेग्मीले बताए । दुई सय २० केभी उदिपुर-मार्कीचोक-भरतपुर ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सन् २०१८ जनवरी १७ देखि थालिएकामा कारोना महामारी र बन कटानीलगायत कारणले पूरा हुन नसकेको उनको तर्क छ । विसं २०८१ साउन १५ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीको म्याद थपिएको छ । आयोजनाकाअनुसार लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म ६७ किलोमिटर प्रसारण लाइन पुर्याउनका एक सय ९९ वटा टावर आवश्यक पर्नेछन् । हालसम्म एक सय २० टावरको फाउण्डेशन तयार भएको छ । गोरखा र तनहुँमा गरी १० हजार दुई सय २५ वटा रुख फडानीको तयारी भएको डिभिजन प्रमुख रेग्मीले बताए । लमजुङमा निर्माण हुने ४५ वटा टावरमध्ये ३२ सम्पन्न भइसकेका छन् । मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको स्वीच यार्डसम्म लाइन पुर्याउन छ किलोमिटरसम्म यही प्रसारण लाइन प्रयोग भएको छ । उदिपुरबाट मध्यमस्र्याङ्दीसम्मको छ किलोमिटर खण्डमा १७ वटा टावर छन् । रासस
मध्यविन्दु नगरपालिकामा ‘हाम्रो खुसी’ पाठ्यक्रम
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले ‘हाम्रो खुसी’ पाठ्यक्रम सुरु गरेको छ । चालु शैक्षिक सत्र २०८१ देखि नगरभित्रका कक्षा १ देखि ८ कक्षासम्मका सबै विद्यालयमा हाम्रो खुसी पाठ्यक्रम पठनपाठन सुरु गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताए । ‘विद्यार्थीमा आत्मीय भावनाको विकास र पारिवारिक सम्बन्ध विस्तारका लागि यो पाठ्यक्रम कोशेढुङ्गा साबित हुने हामीले विश्वास लिएका छौँ’, उनले भने। स्थानीय पाठ्यक्रमलाई निरन्तरता दिँदै सबै शिक्षक र विद्यार्थी खुसीसाथ विद्यालय हाताभित्र प्रवेश गर्ने र नगरवासीलाई नै खुसी के हो भनेर जोड्ने गरी ‘हाम्रो खुसी’ पाठ्यक्रम देशमा नै पहिलो पटक सुरु गरिएको नगरप्रमुख अधिकारीले बताए । ‘जीवन, सम्बन्ध, संस्कार, व्यवहार, कर्तव्यनिष्ठता, राष्ट्र प्रेमको भावनादेखि पारिवारिक र सामाजिक सम्बन्धसँग सम्बन्धित विषय पाठ्यक्रमका समावेश छन्’, उनले भने । विभिन्न चरणमा गरिएको अध्ययन, छलफल र अनुसन्धानपछि पाठ्यक्रम तयार गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए । ‘विज्ञ समूहबाट नगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयका शिक्षकलाई अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ’, उनले भने, ‘हाम्रो खुसी पाठ्यक्रम सबै विद्यालयमा एकसाथ सुरु गर्न शिक्षकलाई सक्षम बनाइएको छ ।’ चोरमारास्थित नवजागरण नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद देवकोटाको संयोजकत्वमा पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्र गठन गरी हाम्रो खुसी पाठ्यक्रम तयार गरिएको हो । नेपालमा अहिलेसम्म प्रयोग भएका पाठ्यक्रमभन्दा यो निकै भिन्न र व्यावहारिक रहेकाले उपलब्धिपूर्ण हुने पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रका संयोजक हरिप्रसाद देवकोटाले बताए । ‘कथा र गतिविधिका माध्यमबाट बालबालिकामा विचारशीलता तथा जीवन मूल्य र सम्बन्ध बोध गराउने हेतुले पाठ्यक्रम तयार पारिएको छ’, उनले भने, ‘विद्यार्थीको आनीबानी, संस्कार, बौद्धिक एकाग्रता, सोचको दायराका क्षेत्रमा यस पाठ्यक्रमले सकारात्मक परिवर्तन ल्याउने छ ।’ मध्यविन्दु नगरपालिकाभित्रका सबै शिक्षकलाई पाठ्यक्रमसम्बन्धी तालिम सञ्चालन, खुसी संयोजक तोक्ने, विद्यालय व्यवस्थापन समिति र अभिभावकलाई अभिमुखीकरण तालिमलगायतका काम सम्पन्न गरिएको संयोजक देवकोटाले बताए । मध्यविन्दुमा सामुदायिक र संस्थागत गरी ६४ विद्यालय छन् । ‘हाम्रो खुसी’ पाठ्यक्रम निर्माणसँग सम्बन्धित सबै काम गर्न गण्डकी प्रदेश सरकारले नवपर्वतक कार्यक्रमअन्तर्गत ७६ लाख र नगरपालिकाले ४५ लाख रकम विनियोजन गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए । रासस
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
बागलुङ । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि यही जेठ १३ देखि २६ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको हो । जिल्लाका दश वटै स्थानीय तहमा खोप सञ्चालनका लागि स्वास्थ्य कार्यालय बागलुङले आवश्यक तयारी थालेको जनाएको छ । विकट ग्रामीण भेगका बालकालिकालाई खोपको पहुँचमा ल्याउन तीन सय ३९ स्थानमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले बताए । कुनै पनि बालबालिका आइपिभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित तीन सय ३९ जना स्वास्थ्यकर्मी, छ सय ८९ जना स्वयंसेवक खटाइने प्रमख आचार्यले जानकारी दिए । खोप व्यवस्थापन तथा अनुगमनका लागि ९५ जनालाई खटाइने प्रमुख आचार्यले बताए । स्वास्थ्यकर्मीले विद्यालय, स्वास्थ्यचौकी तथा सार्वजनिक स्थानमा बालबालिकालाई पायक पर्ने ठाउँमा पुगेर खोप लगाउने उनले बताए । खोप अभिायनलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्यचौकीसँग सहकार्य गरिने उनले जानकारी दिए । उनले भने, ‘विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालन गर्न थालिएको हो, नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी छ । सोहीअनुसार बागलुङमा पनि यो अभियान सञ्चालन गर्न थालेका हौँ, सबै ठाउँका बालबालिकालाई यो खोप लगाउने गरी योजना बनाएका छौँ ।’
हिमाल वाटर पार्क भिलेजले आईपीओ ल्याउने, कुमारी क्यापिटलसँग सम्झौता
काठमाडौं । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यसका लागि कुमारी क्यापिटल लिमिटेडसँग ‘वे टु लिस्टिङ’ सेवाअन्तर्गत सम्झौता गरेको छ । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेटलाई आईपीओ जारी गरि सूचीकरणको चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडका तर्फबाट सञ्चालक सुनिलकुमार खेतान तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । नेपालको पर्यटन विकासमा टेवा पुर्याई वैदेशिक मुद्राको सञ्चितलाई समेत बढावा दिने उद्देश्यले हिमाल वाटर पार्क एण्ड भिलेज होटल प्रालि भारतीय चेन होटल क्लार्क रिसोर्टको फ्रेन्चाइजअन्तर्गत रहि सञ्चालन भइरहेको छ । सम्बन्धित निकायबाट चार तारेको अनुमति प्राप्त गरी यो होटल सञ्चालनमा रहेको छ । हाल परिवर्तित गण्डक, वहुवरी-१४ विरगञ्ज महानगरपालिकामा अवस्थित यस होटलले सुइट डिलक्स एक्जिक्युटिभ प्रसिडेन्सियल सुइट गरी ६० वटा सुविधा सम्पन्न कोठाहरूका साथै जिम, क्यासिनो, स्विमिङ पुल, ब्याङ्क्विट् हल आदि सहित सेवा प्रदान गर्दै आइरहेको छ ।
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल
म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । पुल निर्माणपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए । नाम्डोक खोलामा ५० मिटर लामो मोटरेबल पुल निर्माण गर्न मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते ६ करोड ३७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले हस्तान्तरणको चरणमा रहेको पुलमा सवारीसाधन सञ्चालन भएको बताए । दुई सय दुई किलोमिटर बेनी–जोमसोम कोरला सडकमा नाम्डोक खोलासहित थप ६ वटा स्थानमा पुल निर्माण भएको छन् । बेनी–जोमसोम कोरला आयोजनाले पाँचवटा पुल निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग ३१ करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । नाम्डोक, लोमान्थाङ, किम्लिङ र भर्मा खोलाको पुल निर्माण गर्न मुक्तिनाथ–अमित जेभीले २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । २० मिटर लामो लोमान्थाङ खोलाको पुलको लागत ४ करोड ६८ लाख २ हजार ६ सय ३८ रुपैयाँ, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत ६ करोड ३० लाख र ८० मिटर लम्बाइको भर्माखोला पुलको लाग ६ करोड ८५ लाख रुपैयाँ हो । कालिका–गजुरमुखी जेभीले २०७६ साल चैतमा ७ करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल पनि निर्माण पूरा भएको छ । सडक विभागले बिओकेआई÷हिमालयन जेभीसँग भ्याटसहित ८ करोड ३० लाख ६८ लाख ४ सय ७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको रघुगंगा गाउँपालिका–१ बेगखोलामा ७० मिटर लामो डबल स्पाम भएको मोटरेबल पुल पनि सम्पन्न भएको छ । बेनी–जोमसोम–कोरला सडक योजना मार्फत १३ वटा पक्की पुल र तीनवटा बेलिब्रिज निर्माण भएका छन् । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङखोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो । विभागको पुल महाशाखाका अनुसार म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०–७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोमस्थित कालीगण्डकीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो । अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङखोलामा बेलिब्रिज निर्माण भएको छ । थासाङ गाउँपालिकाको सेतो खोलामा मोटरेबल पुल निर्माण थालिएको छ । सात ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । पर्वतको मालढुंगाबाट म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३÷७४ देखि सुरु भएको योजनाको हालसम्म ८२ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख ध्रुवकुमार झाले बताए । ६ खण्डमा ८५ किलोमिटर ग्राभेल र तीन खण्डमा विभक्त २२ किलोमिटरमा कालोपत्र भएको छ ।