१९ मन्त्रीसँग ८९१ तोला सुन र साढे ४ हजार तोला चाँदी, उपहारमा दाईजो
काठमाडौं । नेपाल सरकारका वहालवाला मन्त्रीहरूसँग ८ सय भन्दा बढी तोला सुन रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणहरू अनुसार १९ जना मन्त्रीहरूसँग ८१९ तोला सुन रहेको छ । यस्तै, सोही विवरणमा मन्त्रीहरूसँग ४ हजार ४४१ तोला चाँदी र १० तोला हिरा रहेको तथ्याङ्क छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादव र राज्यमन्त्री हसिना खानको सम्पत्ति विवरण भने सार्वजनिक भएको छैन । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनसँग सुनचाँदी नरहेको विवरण छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ५ तोला सुन रहेको छ । उक्त सुन पैतृक सम्पत्ति रूपमा उल्लेख गरिएको छ । यस्तै, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठसँग ४३ तोला सुन र १.५ केजी चाँदी रहेको छ । यस्तै, ७ थान औँठी, ३ थान सिक्री (हार जस्तो देखिने), ३ जोडा कानमा लगाउने र २ जोडा चुरा (बाला) रहेका छन् । पैतृक तथा उपहार स्वरूप र खरिद गरी उक्त सुनचाँदी जोडेको विवरणमा उल्लेख गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेकलेस, सिक्री, लकेट, टप, ब्रासलेट, औंठी, बाला गरी करिब ८० तोला सुन र चाँदीका भाँडाकुडा सामानहरू गरेर १५.२० केजी चाँदी रहेका छन् । चाँदी प्रतितोला २५० रुपैयाँ र ३ सय रुपैयाँ मूल्य हुँदा खरिद गरेको बताइएको छ । सम्पत्ति विवरण अनुसार अधिकांश बुवाआमाबाट र केही सुनचाँदी गृहमन्त्री लामिछानेकी श्रीमति निकिता पौडेलले खरिद गरेको उल्लेख छ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतसँग विभिन्न समयमा तलब भत्ताबाट खरिद गरेको ५ तोला सुन रहेको छ । चाँदी (भाडाकुडा र सिक्का सहित) उल्लेख गरेको भएपनि परिमाण छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीसँग ३१ तोला सुन र ६० तोला चाँदी छ । पैतृक सम्पत्ति, विवाहको दाइजोबाट उक्त सुनचाँदी प्राप्त भएको उल्लेख छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसँग ६ तोला सुन र ७÷८ तोला चाँदी रहेको छ । तलब भत्ताबाट उक्त सुनचाँदी खरिद गरेको उल्लेख छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग ६ तोला सुन र २ तोला चाँदी रहेको छ । पैतृक तथा उपहार स्वरूप उक्त सुनचाँदीको प्राप्त गरेको उल्लेख छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग २३ तोला सुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहसँग १० तोला सुन र २५ तोला चाँदी रहेको उल्लेख छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग १० तोला सुन रहेको छ । उक्त सुन २०४०, २०५५, २०६० र २०७४ सालमा खरिद गरिएको बताइएको छ । उक्त सुनको खरिद मूल्य ७ लाख ५० हजार रुपैयाँ रहेको छ । स्वआर्जन र छोराको कमाईबाट उक्त सुन खरिद गरेको स्रोतमा खुलाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले श्रीमतिको नोकरी तथा कृषि व्यवसायबाट भएको आम्दानीबाट विभिन्न समयमा ६ तोला सुन खरिद गरेको बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसँग ७५ तोला सुन र २५ केजी चाँदी, खानेपानीमन्त्री राजेन्द्रकुमार राईसँग १० तोला सुन र १ सय तोला चाँदी, रक्षामन्त्री हरिप्रसाद उप्रेतीसँग २५ तोला सुन र सहरी विकासमन्त्री धन बहादुर बुढासँग १५० तोला सुन र ३ सय तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग १५० तोला सुन, १ सय तोला चाँदी, १० तोला हिरा छ । उक्त सुनचाँदी र हिरा २०७४ सालअघि खरिद गरेको र स्रोत व्यापार रहेको छ । खरिद मूल्य अनुसार सुन ८२ लाख २० हजार रुपैयाँ, चाँदी ७४ हजार ५ सय रुपैयाँ र ५ लाख ४० हजार रुपैयाँ गरी ८८ लाख रुपैयाँ बराबर हुन आउँछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग ११ तोला सुन, १ सय तोला चाँदी, १ सेट हिरा, १ सेट हिराको टप रहेको छ । सम्पत्ति विवरण अनुसार १० तोला सुन विवाहको बेला र १ तोला हजुरआमाको शेष पछि प्राप्त गरेको बताइएको छ । चाँदी र हिराको सेट भने विवाहको बेला उपहार पाएको र हिराको टप भने हजुर आमाको शेष पछि प्राप्त गरेको उल्लेख छ । युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठसँग विभिन्न मितिमा खरिद गरेको १५ तोला सुन, ५० तोला चाँदी रहेको छ । वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडीसँग १५८ तोला सुन र १ हजार ४२९ ग्राम चाँदी रहेको छ । सम्पत्ति विवरण अनुसार श्रीमति सावित्री देवी साह सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी र छोरा सुमित कुमारसँग ३५ तोला सुन रहेको छ । यस्तै, बुहारीहरू माधवी भारती २२ तोला सुन र ३३९ ग्राम चाँदी, शालिनी देवीसँग १७ तोला सुन र २७० ग्राम चाँदी र मंजु साहसँग २८ तोला सुन र १७० ग्राम चाँदी रहेको छ । उक्त सुनचाँदी विवाहको समयमा ससुराली र बुवाआमाबाट उपहार स्वरूप प्राप्त गरेको उल्लेख छ । [pdf id=485281]
सरकारले सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दै
काठमाडौं । सरकारले सात प्रदेशमा जेठ १७ गतेदेखि ३० गतेसम्म श्रमाधान रोजगार मेला आयोजना गर्ने भएको छ । मंगलबार सिंहदरबारस्थित श्रम मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने जानकारी दिएको हो । सरकारले सात प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागेको बताएको छ । सरकारले जेठ १७ र १८ कोशी प्रदेश,१९-२० मधेस प्रदेश,२१–२२ गण्डकी प्रदेशको पोखरा,२३-२४ लुम्बीनी,२५-२६ कर्णाली प्रदेशको सुर्खेत,२७-२८ सुदुरपश्चिम प्रदेशको धनगडी र २९-३० बागमती प्रदेशको ललितपुरमा श्रमाधान मेला आयोजना गर्न लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी दिन सकिने बताए । उनले मंगलबारदेखि नै दर्ता खुला भएकाले रोजगारदाता कम्पनीहरू र रोजगारीको खाजीमा रहेका नेपालीहरू जाेडिन सकिने बताए । सरकारको रोजगार बैंकमा रोजगारदाताले खोजेको श्रमिक र रोजगार पाउने अवस्था रहेको उनकाे भनाइ छ । मन्त्री अर्यालले ‘श्रमाधान रोजगार मेला’ गर्ने कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समेत समावेश भएको बताए । उनले श्रमाधान रोजगार मेलामा सातै प्रदेशका प्रदेश सरकार र स्थानीय सरकारको सहयोगको अपेक्षा रहेको बताए । श्रमाधान रोजगार मेला सरकारको सानो प्रयास मात्रै भएको उनकाे भनाइ छ ।
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया पक्राउ
काठमाडौं । कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए । दुइटा नागरिकता भएको प्रकरणमा अदालतबाट पक्राउ पुर्जी पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक-फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो । उनलाई मंगलबार नै धनुषाको जनकपुर लैजाने तयारी प्रहरीको छ ।
काठमाडौंका १ लाख २५ हजार बालबालिकालाई आइपिभि’ खोप लगाइने
काठमाडौं । सरकारले यही जेठ १३ गतेदेखि काठमाडौं जिल्लासहित देशभरिका बालबालिकाका लागि पोलियो रोगविरुद्धको खोप ‘आइपिभि’ अभियान सञ्चालन गर्दैछ । सरकारले यसअघि खोप लगाउन छुटेका देशभरिका १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई उक्त खोप लगाउने उद्देश्यसहित अभियान सञ्चालन गर्न लागेको हो । जनस्वास्थ्य कार्यालय, काठमाडौंले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अभियानका क्रममा काठमाडौं जिल्लाका १ लाख २५ हजार १ सय १७ बालबालिकालाई खोप लगाइने जनस्वास्थ्य अधिकृत तुलसी सुवेदीले जानकारी दिए । उनले काठमाडौंका १ हजार ४ सय २१ विद्यालयका अतिरिक्त ७ सय ८३ खोप केन्द्र स्थापना गरी खोप प्रदान गरिने र अभियानका लागि २ सय ७८ स्वास्थ्यकर्मी र ५ सय ५६ स्वयम्सेविका परिचालन गरिने बताए । नेपालमा सन् २०१० देखि नै पोलियो रोग नदेखिए पनि छिमेकी मुलुक पाकिस्तान र अफगानिस्तानमा पोलियो रोगको संक्रमण देखिएकाले खोप अभियान सञ्चालन गर्नुपरेको जनस्वास्थ्य अधिकृत सुवेदीको भनाइ छ । ‘नेपालबाट ती दुई देशमा आवतजावत भइरहने हुनाले यहाँ पनि संक्रमणको जोखिम रहेको छ । त्यसैले जोखिमलाई मध्यनजर गरी खोप लगाउनुपर्ने अवस्था छ,’ उनले भने । त्यसक्रममा विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाइने छ । कार्यालय प्रमुख अर्जुनप्रसाद सापकोटाले त्यस अवधिमा विश्वबजारमा ‘आइपिभि’ खोपको अभाव रहेकाले बालबालिकालाई खोप लगाउन नपाइएकाले खोप प्रदान गर्न थालिएको जानकारी दिए । उनले खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिमसमेत दिइएको छ । यही जेठ २६ गतेसम्म हुने खोप अभियानमा स्थानीय तहसँग पनि समन्वय गरिएको उनको भनाइ छ । खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) ले ३२ करोड रुपैयाँ बराबरको खोप उपलब्ध गराइसकेको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ ।
ज्योति विकास बैंकले दियो ५ स्वास्थ्य चौकीलाई बेबी वार्मर
काठमाडौं । ज्योति विकास बैंकले ५ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले कर्णाली प्रदेशका ५ विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ। यस अन्तर्गत बैंकले जुम्ला, कालीकोट, मुगु र दैलेख जिल्लास्थित स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरलाई उक्त उपकरण उपलब्ध गराएको बैंकले जनाएको छ । हाइपोथर्मियाको कारण नवजात शिशुको अकालमा मृत्यु हुन नदिन र जीवनरक्षा गर्न विभिन्न स्वास्थ्य चौकीहरूमा बैंकले उक्त मेसिन जडान गरेको हो । हालसम्म विभिन्न चरण गरी देशका विभिन्न ठाउँमा ४३ वटा बेवी वार्मर प्रदान गरेको बैंकले यस चरणमा भौगोलिक रूपले विकट क्षेत्रहरूमा उक्त उपकरण जडान गरेको छ । विशेष गरी दुर्गम क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र सो को कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै उक्त जोखिमलाई न्यूनीकरण गर्ने अत्यन्त संवेदनशील र महत्वपूर्ण उपकरण उक्त स्वास्थ्य संस्थाहरुमा प्रदान गरिएको बैंकले जनाएको छ । हाइपोथर्मिया पश्चात् जीवन जोखिम र उपचारको लागि २ दिन लाग्ने गरी कच्ची सडकको यात्रा गर्नुपर्ने बाध्यतालाई उक्त उपकरणले निर्मूल गर्न थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत सो मेसिनहरू प्रदान गरेको हो । मेसिनहरु जडान पश्चात् जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नं. ०३ स्थित विराट स्वास्थ्य चौकी, कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ०९ स्थित स्वास्थ्य चौकी-चिल्खाया, मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका अन्तर्गतको गुम स्वास्थ्य चौकी, दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नं. ०२ स्थित लाँकुरी स्वास्थ्य चौकी र डुङ्गेश्वर गाउँपालिका वडा नं. ०४, अवलपराजुलस्थित डुङ्गेश्वर आधारभूत स्वास्थ्य तथा सरसफाई सेवा केन्द्रको बर्थिङ सेन्टरमा प्रसूति सेवा लिन आउने प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । अस्पतालहरुमा आयोजित कार्यक्रममा बैंकका विभिन्न पदाधिकारीहरुबाट उक्त स्वास्थ्य चौकीहरुका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिकाबीच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।
महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार छात्रवृत्ति वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंकले जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र सन्तोष कुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था तत्कालिन मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठका छोरा तथा मनकामना दर्शनका निर्देशक राजेश बाबु क्षेष्ठले विद्यालयका पदाधिकारीहरु र बैंक व्यवस्थापनको रोहबरमा छात्र सन्तोष कुमार मण्डललाई हस्तान्तरण गरेका हो । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले पचास हजार रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा बोल्दै राजेश बाबु श्रेष्ठले नेपालमै अवसरहरु रहेको र देशमा उत्पादित जनशक्तिले आफ्नै देशमा रहेर देशको लागि योगदान पुर्याउनुपर्ने विचार व्यक्त गरे । साथै बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आगामी दिनहरुमा छात्रवृत्तिका कार्यक्रमहरुलाई परिमार्जित गर्दै शिक्षा क्षेत्रमा थप टेवा पुर्याउने कुरा बताए । आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
अधिकांश मन्त्रीको घरजग्गा र सुनमा मोह, यी हुन् सबैभन्दा धनाड्य मन्त्री
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेको छ । सार्वजनिक सम्पत्ति अनुसार। अधिकांश मन्त्रीहरूको घरजग्गा र सुनमा लगानी भएको देखिन्छ । कतिपयले सेयर बजारमा पनि लगानी गरेका छन् भने केही मन्त्रीहरूले विभिन्न व्यवसायमा पनि व्यावसायिक साझेदारको रूपमा काम गरेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादव र राज्यमन्त्री हसिना खानको सम्पत्ति सार्वजनिक भएको छैन । कुनको सम्पत्ति कति ? १. पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको विवरण अनुसार प्रधानमन्त्रीसँग सो सम्पत्ति देखिएको हो । यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको खुलाइएको छ । यस्तै, उनको भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ । पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्डसँग पाँच तोला सुन रहेको र उक्त सम्पत्ति पनि पैतृक रहेको उल्लेख गरिएको छ । प्रधानमन्त्री प्रचण्डसँग एभरेष्ट बैंक लिमिटेडसँग २५ लाख नगद मौज्दात रहेको उल्लेख छ । २. रघुबीर महासेठ, भौतिक पूर्वाधार मन्त्री उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठको २ करोड २५ लाख रुपैयाँ नगद रुपैयाँ रहेको छ । मन्त्री महासेठको सम्पत्ति विवरण अनुसार उनीसँग ४३ तोला सुन, १.५ केजी चाँदी रहेको छ । काठमाडौं र ललितपुरको जग्गा बिक्री पैतृक सम्पत्ति बिक्री गरेर सो बराबरको रकम आर्जन गरेका हुन् । साथै उनीसँग ७ थान औँठी, ३ थान सिक्री, ३ जोडा कानमा लगाउने र २ जोडा चुरा (बाला) रहेका छन् । उनकी श्रीमति जुली कुमारी महत्तोको नाममा धुनषा र ललितपुरमा २ वटा घर र विभिन्न ५ ठाउँमा जग्गा रहेको छ । मन्त्री महासेठको नाममा विभिन्न ७ बैंक र श्रीमति महत्ताको विभिन्न नाममा विभिन्न ७ वटा बैंकमा बैंक खाता छन् । यस्तै, महत्ताको स्वामित्वमा गुडविल फाइनान्समा ५ लाख रुपैयाँ, महिला लघुवित्तमा १ करोड रुपैयाँ, कर्पाेरेट बैंकमा २ करोड ५० लाख रुपैयाँ गरी ३ करोड ५५ लाख बराबरको सेयर स्वामित्व रहेको छ । ३. नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको खुलाएका छन् । मंगलबार सम्पत्ति विवरणमा उनले गोरखाको सिरानचोकमा रहेको पैतृक सम्पत्ति २०५८ सालमा नै पार्टीलाई हस्तान्तरण गरिसकेको र त्यो प्रक्रियामै रहेको उल्लेख गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ८ मा उनको नाममा ३ कित्ता जग्गा छ । एउटा कित्ता ३१ रोपनी १५ आना छ, अर्को कित्ता १ रोपनी १० आना र अर्को ५ रोपनी ७ आना छ । त्यसलाई उनले पैत्रिक भनेका छन् र २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र हाल प्रक्रियामा रहेको बताएका छन् । उनीसँग कुनै पनि कम्पनीको सेयर वा धितोपत्रहरु नभएको सम्पत्ति विवरणमा खुलाइएको छ । श्रेष्ठले सम्पत्ति विवरणमा बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी छ, यो गाडी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको उल्लेख गरेका छन् । ४. रवी लामिछाने, गृहमन्त्री गृहमन्त्री रवी लामिछानेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । गहृमन्त्री लामिछानेसँग भक्तपुरमा १ रोपनी १ आना र काठमाडौंको गोपीकृष्ण प्रालिमा १० रोपनी जग्गा सम्पत्ति रहेको सार्वजनिक भएको छ । सो सम्पत्ति श्रीमतिको माइतीतर्फबाट पारिवारिक संगोल भएको उल्लेख छ । यस्तै, उनीसँग करिब ८० तोला सुन र २० केजी चाँदीका भाँडाकुडा रहेको उल्लेख छ । यो सम्पत्ति श्रीमती निकिता पौेडलेको आमाबुबाले खरिद गरेको बताइएको छ । यो श्रीमतीको सम्पत्ति भएको विवरणमा उल्लेख छ । यस्तै, रविको ग्लोबल आइएमई र नेपाल बैंकमा खाता छ । ती दुई बैंकमा १ लाख ५५ हजार बचत छ भने श्रीमती पौडेलको नाममा पाँच बैंकमा बचत छ । ती बैंकमा ५ लाख ५८ हजार बढी बचत देखिन्छ । उनीसँग घर निर्माण गर्दाको डेढ करोड रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख छ । उनको श्रीमती पौडेलसँग एक विद्युतीय गाडी रहेको छ भने उनकै नाममा ८ करोड ७५ लाखको गोपीकेष्णमा सेयर स्वामित्व रहेको छ । ५. वर्षमान पुन, अर्थमन्त्री अर्थमन्त्री पुनसँग ३३ लाख ७० हजार ६१८ रुपैयाँ रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग एनएमबी बैंक खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ बचत छ । उक्त रकम प्राप्तिको स्रोत तलब भत्ता रहेको उल्लेख गरिएको छ । अर्थमन्त्री पुनको रोल्पा नगरपालिका ७ मा ८२० वर्ग मिटरमा फेलिएको घर रहेको र उक्त घर पैतृक रुपमा प्राप्त गरेको विवरणमा उल्लेख गरिएको छ । त्यस्तै मन्त्री पुनसँग बा ००१ अ ०००९ नम्बरको सावरी साधन रहेको छ त्यो पार्टीको सम्पत्ति भएको उल्लेख गरिएको छ । ६. बिराजभक्त श्रेष्ठ, खेलकुद मन्त्री युवा तथा खेलकुल मन्त्री विराजभक्त श्रेष्ठसँग १ करोडको सयर रहेको देखिएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनको नाममा एउटा घर, करोड बढीको विभिन्न बैंकको सेयर, र १५ तोला सुन सम्पत्ति देखिएको छ । उनले सो घर पैतृक जग्गा बिक्री गरेर निर्माण गरेको बताएका छन् । उनीसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनको आठ वटा बैंकमा ९० लाख बढी बचत रहेको उल्लेख गरेका छन् । उनले सो रकम स्वआर्जन भएको घोषणा गरेका छन् । नेपाल स्टक एक्सजेञ्जमा विभिन्न कम्पनीको १ करोड बराबरको सेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग २० लाख रुपैयाँ ऋण रहेको पनि सार्वजनिक गरेका छन् । ७. डोल प्रसाद अर्याल, श्रममन्त्री श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग १५० तोला सुन रहेको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उनीसँग १ सय तोला चाँदी र १० तोला हिरा रहेको छ । मन्त्री अर्यालले उल्लेख गरे अनुसार सुनचाँदी र हिराको खरिद मूल्य ८८ लाख ३४ हजार ५ सय रहेको रहेको छ । मन्त्री अर्यालको सम्पत्ति विवरणअनुसार काठमाडौं महानगर १६ मा २८७.१४ वर्ग मिटरमा ३ करोडको घर रहेको छ । यस्तै, मन्त्री अर्याल र श्रीमती अम्बिका केसीको नाममा १२ स्थानमा जग्गा रहेको छ । अर्यालकी श्रीमती केसीको नाममा काठमाडौं र धादिङमा गरेर ६ स्थानमा र अर्यालको नाममा लमजुङ र भक्तपुरमा गरि ६ स्थानमा सम्पत्ति रहेको छ । यी सबै जग्गा ५ करोड २८ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ । सम्पत्ति प्राप्तिको स्रोत निजी कमाइ र व्यापार भएको विवरणमा उल्लेख गरिएको छ । श्रममन्त्री अर्यालको र श्रीमतीको नाममा गरेर विभिन्न बैंकमा २ करोड १८ लाख नगद मौजदात भएको उल्लेख छ । मन्त्री अर्यालसँग विभिन्न ६ वटा संस्थाको सेयर रहेको छ । साविक मेगा बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा) मा १० हजार कित्ता, विग इन्भेस्टमेन्टमा ३५ हजार कित्ता, पिपुल इन्भेस्टमेन्टमा ९ हजार कित्ता, जनसागर सहकारीमा १० हजार कित्ता, सुवर्णभूमि सहकारीमा १ हजार कित्ता र संयम सहकारीमा २ हजार गरि कुल ६७ हजार कित्ता सेयर स्वामित्व रहेको छ । जनसागर सहकारीबाट २ करोड रुपैयाँ, रेशम केसी र सुशिल प्रधानाङ्गबाट ५० लाख रुपैयाँ गरी २ करोड ५० लाख ऋण लिएकोमा १ लाख ५० तिरेको उल्लेख छ । अर्यालको नाममा १ करोड २५ लाखमा खरिद गरेको टोयोटा प्राडो कार र उनकी श्रीमतीका नाममा ४३ लाखमा खरिद गरेको टाटा नेक्सन इभी रहेको छ । ८. सुमना श्रेष्ठ, शिक्षा मन्त्री शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार शिक्षामन्त्री श्रेष्ठको ११ तोला सुन, १०० तोला चाँदी, एक सेट हिराको गहना र १ सेट हिरा रहेको छ । यस्तै, मन्त्री श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा विभिन्न बैंकमा ६ करोड रुपैयाँ नगद बचत रहेको पनि सार्वजनिक गरिएको छ । एनआईसी एसिया बैंकको चाबहिल शाखामा १ लाख १५ लाख र चाबहिलमा नै रहेको एभरेष्ट बैंकमा ३७ लाख रुपैयाँ सम्पत्ति रहेको विवरणमा उल्लेख छ । उनका पति पाबल स्वाकिन्स्किले पारिश्रमिकबाट १ लाख ८९ हजार ७ सय डलर र १ लाख ८० हजार डलर उपहारबापत प्राप्त गरेको उनले उल्लेख गरेकी छिन् । यस्तै काभ्रेमा ८ वर्ग क्षेत्रेफल रहेको ९ लाख ९५ हजार बराबरको जग्गा पनि श्रेष्ठको नाममा रहेको विवरणमा खुलाइएको छ । शिक्षामन्त्री श्रेष्ठलाई उनका बाबुले उपहार दिएको नबिल बैंकमा ७४९ कित्ता सेयरसहित अन्य ३ कम्पनीमा २५ प्रतिशतदेखि ७० प्रतिशतसम्म सेयर रहेको सम्पत्ति विवतरणमा उल्लेख छ । उनले आफ्नो नाममा १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटर र कोसी कोल्याबोको २० लाख मूल्य पर्ने ईभी रहेको पनि उल्लेख गरेकी छिन् । ९. भानुभक्त जोशी, सामान्य प्रशासन मन्त्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीसँग डेढ लाख रुपैयाँ नगद रहेको छ । मन्त्री जोशीको सार्वजनिक सम्पत्ति विवरण अनुसार विभिन्न बैंक खातामा १ लाख ६९ हजार रुपैयाँ नगद रहेको छ । काठमाडौंको किर्तीपुर, बझाङको छविसपाथिभेरा ४ र जयपृथ्वी नगरपालिका ७ मा गरी ३ वटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै, जयराज जोशीको नाममा बझाङका विभिन्न ठाउँमा जग्गा र काठमाडौंमा निर्मला कुमारी कोइरालाको नाममा जग्गा छ । मन्त्री जोशीसँग ३१ तोला सुन र ६० तोला चाँदी रहेको छ । उक्त सुनचाँदी पैतृक सम्पत्ति र विवाहबाट दाइजो प्राप्त भएको जोशीले बताएका छन् । जयलक्ष्मी देवी जोशीको नाममा रंगुन खोलाको ८ लाखको सेयर रहेको छ भने ४३ लाख रुपैयाँ ऋण छ । उक्त ऋणवापत ३ लाख १० हजार रुपैयाँ ब्याज तिरेको विवरणमा उल्लेख छ । १०. शक्तिबहादुर बस्नेत, उर्जा मन्त्री ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग ४५ लाख रुपैयाँ नगद रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले सार्वजनिक गरेको उनको सम्पति विवरणमा उल्लेख भए अनुसार जाजरकोटमा ४ रोपनी १३ आना जग्गा रहेको छ । छोरी संगम बस्नेत र श्रीमती सत्या पहाडीको नाममा उक्त जग्गा रहेको उल्लेख छ । उनीसँग सुन ५ तोला रहेको छ । एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकमा १० लाख तथा बैंक उल्लेख नगरिएको ३५ लाख रुपैयाँ रहेको उल्लेख छ । उनको श्रीमतीको नाममा ६ लाख रुपैयाँको सेयर रहेको छ । ११. बलराम अधिकारी, सहकारी मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३० लाख रुपैयाँ बैंकमा बचत रहेको सम्पत्ति सार्वजनिक गरेका छन् । जसमध्ये १५ लाख छोराको नाममा छ । उनको कपिलवस्तुका विभिन्न स्थानमा २ बिघा जमिन रहेको र ५ कठ्ठा जमिनमा घर रहेको पनि सम्पत्ति विवरणमा देखाएका छन् । यसवाहेक गरिबी निवारमन्त्री अधिकारीले दुई व्यक्तिलाई २५ लाख र २० लाख गरी ४५ लाख ऋण दिएको पनि आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन रहेको सार्वजनिक गरेका छन् । १२. नवलकिशोर साह, वनमन्त्री वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको करिब ४० लाख रुपैयाँ बचत रहेको सम्पत्ति सार्वजनिक गरेका छन् । उनले विभिन्न १२ वटा बैंकको खातामा ४५ लाख ९९ हजार ३६२ रुपैयाँ रहेको उल्लेख गरेको छन् । उनीसँग ५६ तोल सुन रहेको छ भने करिब डेढ केजी चाँदी रहेको उल्लेख छ उनले सम्पत्तिमा बन्दुक (१२ बोर) राइफल रहेको पनि बताएका छन् । उनको १५ स्थानमा ५ बिगाहा बढी जग्गा बताएका छन् भने सप्तरीको विभिन्न ठाउँम घर रहेको बताएका छन् । १३. हितबहादुर तामाङ, पर्यटनमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्री तामाङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ मौज्दात रहेको छ । उनले तलब भत्ताबापत चल सम्पत्तिमा १३ लाख नगद पनि उल्लेख गरेका छन् । यस्तै उनीसँग ६ तोला सुन र ७/८ तोला चाँदी रहेको र ती तलब भत्ताबाट किनेको विवरणमा खुलाइएको छ । त्यसैगरी उनको जन्मस्थान नुवाकोट पञ्चकन्या गाउँपालिका–३ मा १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा पैतृक सम्पत्ति रहेको पनि उल्लेख छ । १४. भगबती चौधरी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्री भगबती चौधरीसँग सुनसरीको दुहबी र काठमाडौंमा गरी २ वटा घर रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार काठमाडौंको घर २ करोड ६७ लाख रुपैयाँमा खरिद गरिएको हो । साथै, मन्त्री चौधरीसँग सुनसरी र दाङ्गका विभिन्न ६ ठाउँमा जग्गा रहेको छ भने २५ केजी चाँदी र ७५ तोला सुन रहेको छ । मन्त्री चौधरीको विभिन्न बैंकमा १८ लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख छ । मन्त्री चौधरी फरवार्ड माइक्रोफाइनान्सकी संस्थापक सेयरधनी हुन् । उक्त लघुवित्तमा चौधरीको २ लाख ४२ हजार १०५ कित्ता सेयर छ भने अन्य कम्पनीहरूमा १ लाख ५० हजार कित्ता सेयर स्वामित्व रहेको छ । उनले नेपाल बैंकबाट ६० लाख रुपैयाँ, इन्भेष्टमेन्ट बैंकबाट ५० लाख र अन्यबाट १ करोड रुपैयाँ ऋण लिएको छ । साथै उक्त ऋण विभिन्न समयमा चुक्ता गरिसकेको बताइएको छ । ४ लाख ६५ हजारको मोटरसाइकल रहेको छ । १५. दामोदर भण्डारी, उद्योग मन्त्री उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । भण्डारीले आफ्नो सम्पत्ति विवरणमा बैतडीको पाटनमा घर र जग्गा रहेको उल्लेख गरेका छन् । सम्पत्ति विवरणमा उनले सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उनले पाटनमा उदय सिंह भण्डारीको नाममा ६ कोठे पुर्ख्यौली घर र २ रोपनी जग्गा रहेको उल्लेख गरेका हुन् । त्यसै गरी कविता भण्डारीको नाममा कञ्चनपुरमा २ कट्ठा जग्गा रहेको रहेको बताएका छन् । त्यस्तै, भण्डारीले श्रीमतीको नोकरी र कृषि व्यवसायबाट खरिद गरिएको ६ तोला सुन रहेको उल्लेख गरेका छन् । त्यस्तै, आफ्नो नाममा एभरेस्ट बैंकमा ८ लाख ६४ हजार ४४६ रुपैयाँ, कविता भण्डारीको नाममा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल बैंकमा क्रमशः १ हजार र ३ लाख ६३ हजार रुपैयाँ रहेको उनले खुलाएका छन् । प्रसिद्ध भण्डारीको नाममा संगम हस्पिटलमा प्रालिमा ८ लाख बराबरको ८ हजार कित्ता सेयर रहेको विवरणमा उल्लेख गरेका छन् । उनले २०७९/०३/०५ मा १० लाख रुपैयाँ ऋण लिएको पनि रहेको बताएका छन् । १६. रेखा शर्मा, सञ्चारमन्त्री सञ्चार मन्त्री रेखा शर्माको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्ति विवरणमा सञ्चारमन्त्री शर्माको कृष्णध्वज खड्काका नाममा कीर्तिपुर नगरपालिका–७ मा ६ आना जग्गा र साढे २ तलाको घर रहेको उल्लेख गरिएको छ । यस्तै प्यूठानमा कृष्णध्वज खड्का, हरि खड्का र घमानसिंह खड्काका नाममा पैतृक सम्पत्ति रहेको उल्लेख छ । मन्त्री शर्माले सुन ६ तोला र चाँदी २ तोला रहेको र त्यो पैतृक तथा उपहारबाट प्राप्त भएको उल्लेख गरेकी छन् । यसका साथै, मन्त्री शर्माको नाममा राष्ट्रिय वाणिज्य बैंकमा १ लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ बचत छ । सार्वजनिक सम्पत्ति विवरणमा उनले आफू, श्रीमान् र छोरीहरूका नाममा १५ सय कित्ता सेयर रहेको उल्लेख गरेकी छन् । ६५ लाख ऋण, २०७७ साउनमा ३६ लाखमा कार किनेको पनि विवरणमा उल्लेख छ । १७. धनबहादुर बुढा, सहकारी विकास मन्त्री सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौँमा दुई वटा घर रहेको सम्पत्ति सार्वजनिक भएको छ । उनीसँग विभिन्न ठाउँमा जग्गा र प्रशस्त सुनचाँदी र नगद मौज्दात रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरणअनुसार उनको डोल्पामा पैतृक सम्पत्ति रहेको छ भने यसबाहेक श्रीमती हिमालीको नाममा १७ र २० आना क्षेत्रफलको जग्गामा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा दुई वटा घर रहेको छ । यस्तै श्रीमती हिमालीकै नाममा काठमाडौं महानगरपालिका ६ मै अर्को ६ आना जग्गा पनि रहेको छ । यस्तै, उनको १५० तोला सुन र ३०० तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै मन्त्री बुढाको नाममा १५ लाख बैंक मौज्दात रहेको छ भने श्रीमतीको नाममा थप ४५ लाख नगद रहेको छ । १८. हरी प्रसाद उप्रेती, रक्षामन्त्री रक्षामन्त्री हरीप्राद उप्रेतीसँग घरपरिवारका सदस्यको नाममा तीन ठाउँमा घर र दुई ठाउँमा जग्गा रहेको सम्पत्ति सार्वजनिक भएको छ । उनीसँग सर्लाहीमा दुई ठाउँमा ३५ कठ्ठा जग्गा रहेको उल्लेख छ । यस्तै, उनीसँग २५ तोला सुन र एउटा गाडी रहेको छ । १९. राजेन्द्रकुमार राई, खानेपानी मन्त्री खानेपानी मन्त्रीको धनकुटामा एउटा घर र दुई ठाउँमा जग्गा रहेको खुलेको छ । सार्वजनिक सम्पत्ति विवरणअनुसार उनीसँग १० तोला सुन र १०० तोला चाँदी रहेको छ । उनको बैंकमा ५५ लाख रुपैयाँ ऋण रहेको पनि उल्लेख गरेका छन् । २०. ज्वाला कुमारी साह, कृषि मन्त्री कृषि मन्त्री ज्वालाकुमारी साहको बारामा तीन ठाउँमा घर रहेको विवरण सार्वजनिक भएको छ । उनको सो पुख्र्यौली घर रहेको विवरणमा उल्लेख छ । त्यस्तै, ५० लाखमा खरिद गरेको जग्गा, १० तोला सुन र २५ तोला चाँदी रहेको सम्पत्ति सार्वजनिक गरेकी हुन् । बैंकमा ४० हजार रुपैयाँ बचत रहेको सार्वजनिक गरेकी छन् । २१. पदम गिरी, कानुन मन्त्री कानुन मन्त्री पदम गिरीसँग पर्वतको कुस्मामा एउटा घर रहेको छ भने पर्वतमै दुई ठाउँमा पैतृक सम्पत्तिको रुपमा ११ आना जग्गा रहेको छ । उनीसँग २३ तोला सुन रहेको छ भने बैंकमा एक लाख रुपैयाँ बचत रहेको सार्वजनिक गरेका छन् । उनीसँग ५० लाख बराबरको पोखरामा पार्टी प्यालेस रहेको छ । उनको बैंकमा ४० लाख ऋण रहेको पनि सार्वजनिक भएको छ ।
हिरोको ब्राण्ड एम्बेस्डर बने सुशान्त, सुरक्षा र दयाहाङ
काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले नेपाली कला क्षेत्रका तीन व्यक्तित्वहरूलाई ब्रान्ड एम्बेस्डरका रूपमा नियुक्त गरेको छ । नक्साल स्थित स्टेट अफ दी आर्ट शोरुममा एक समारोहकाबीच ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । गायक सुशान्त केसी हिरो एक्सपल्स, अभिनेत्री सुरक्षा पन्त हिरो जुम र अभिनेता दयाहाङ राईलाई हिरो स्प्लेन्डरका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरिएको कम्पनीले जनाएको छ ।