विकासन्युज

ह्वावे नेपालले घोषणा ग‍र्‍यो ‘सिड्स फर द फ्युचर’ कार्यक्रमका विजेता

काठमाडौं । ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन गरेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रमका विजेता घोषणा गरेको छ । सूचना प्रविधिका प्रतिभाहरूको विकाससँगै अन्तरसामाजिक सम्बन्धका निम्ति कार्यक्रमको आयोजना गरिएको ह्वावेले जनाएको छ । कम्पनीका अनुसार ह्वावेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको प्रतियोगितामा आवेदन दिएका ३०० विद्यार्थीमध्येबाट ३० जनालाई छनोट गरिएको थियो । तीमध्ये निर्णायकमण्डलले गत असार १७ मा गरेको अन्तिम अन्तर्वार्ताको  सूचीमा परेका विद्यार्थीबाट विजेता चयन भएका छन् । कार्यक्रमको शीर्ष स्थानमा रहन सफल विद्यार्थीमा आशिष कार्की, एनजिलिना  घिमिरे, प्रियाँशु शर्मा, साधना पन्थी, समिप अर्याल र समृद्धि कार्की छन् । उनीहरूले अब क्षेत्रीय प्रतियोगितामा भाग लिने ह्वावेले जनाएको छ । आईसीटी सोलुसन प्रदायक ह्वावे नेपालले २५ वर्षदेखि नेपालमा कनेक्टिभिटी विस्तार गर्दै आएको छ । डिजिटल प्रविधिमा विश्वव्यापीरूपमा युवा प्रतिभाहरूको प्रवर्धनका लागि समर्पित ‘सिड्स फर द फ्युचर’ हुवावेको प्रमुख कार्यक्रम हो । कार्यक्रमको स्वतन्त्र निर्णायक मण्डलमा इन्स्टिच्युट अफ इञ्जिनियरिङका डिन प्रा. डा शशिधर राम जोशी, शिक्षा मन्त्रालयका विज्ञान तथा प्रविधि तर्फका सहसचिव इन्दुविक्रम जोशी, सुचना प्रविधिमा महिलाकी अध्यक्ष गुणकेशरी प्रधान, आइएफएनका सह संस्थापक हेमपाल श्रेष्ठ, युनेस्को नेपालकी डिजिटल मिडिया विज्ञ आकृति खरेल, ह्वावे नेपाल कार्यालयका डेटा सेन्टर विजनेस लिडर रोहित चन्द्र शाह रहेका थिए ।

नेपाल टेलिकमले ल्यायो मनसुन अफर

काठमाडाैं । नेपाल टेलिकमले साउन १ देखि लागू हुने गरी मनसुन अफर २०८१ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याउन लागेको टेलिकमले जनाएकाे छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको १९९ रुपैयाँ देखिका कम्बो प्याकेजहरु उपलब्ध हुनेछन् । यस अन्तर्गत १९९ रुपैयाँमा २०० मिनेट अल–नेट भ्वाइस र २ जीबी डाटा सहितको कम्बो १९९ प्याक सञ्चालनमा आउनेछ । सोही अन्तर्गत कम्पनीले २९९ रुपैयाँमा ३०० मिनेट अल–नेट भ्वाइस, ४ जीबी डाटा र २० अन–नेट एसएमएस सहितको कम्बो २९९ प्याक र ४९९ रुपैयाँमा ५०० मिनेट अल–नेट भ्वाइस, ८ जीबी डाटा र १०० अल–नेट एसएमएस सहितको कम्बो ४९९ प्याक उपलब्ध गराउनेछ । प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अनलिमिटेड प्याक अन्तर्गत ६९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डाटा र २०० अल–नेट एसएमएस सहितको सजिलो अनलिमिटेड ६९९ प्याक सञ्चालन हुनेछ । साथै सजिलो अनलिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहकका लागि सुबिधा थप गरी उक्त प्याकहरुलाई अझै आकर्षक बनाइने भएको छ, जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि ३० दिनको समयावधि रहनेछ । डाटा प्याक अन्तर्गत १ दिन देखि २८ दिनसम्म समयावधि रहेका २९ देखि ९९९ रुपैयाँसम्मका १ जीबी देखि १०० जीबी सम्म रिसोर्स सहितका बिभिन्न आकर्षक डाटा प्याकहरु उपलब्ध हुनेछन् । पोस्टपेडमा भने ३७३ रुपैयाँ वा सो भन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिक रुपमा तिनुपर्ने रेन्टल चार्ज पनि प्याकेजमा नै समावेश हुने टेलिकमका प्रवक्ता किशाेर कुमार भट्टले जानकारी दिएका छन् । कम्पनीले अन–नेट अर्थात कम्पनीकै नेटवर्कमा कल गर्न सकिने नयाँ प्याकेजहरु, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल–नेट प्याकेजहरुका साथै ४९ रुपैयाँमा १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डाटा प्याकेज र ५९ रुपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस एवं ५ एमबीपीएस सम्मको अनलिमिटेड डाटा सहितको अनलिमिटेड नाइट कम्बो प्याक तथा १९९ रुपैयाँमा भ्वाइस तथा डाटा सुबिधा सहितको अनलिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध गराउने भएको छ । यसका साथै कम्बो प्याकेज, अनलिमिटेड प्याकेज लगायतका प्याकेज प्रयोगकर्ताका लागि रिसोर्स समाप्त भएको अवस्थामा सजिलै थप गर्न मिल्ने गरी सहुलियत दरमा एड अन प्याकेजहरु समेत सञ्चालन गरिने टेलिकमले जनाएकाे छ । । ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिनेछ ।

‘कण्डक्टर’ले बस चलाउँदा… 

बनियानी । झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को१९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कण्डक्टरले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले प्रहरी समक्ष बयान दिएका छन् । उक्त दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाचिएको थियो भने टाउको र छातीमा चोट गम्भीर चोट लागेको थियो । घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक इलाम माई नगरपालिका–८ का २२ वर्षीय सागर थुलुङ राई र सहचालक विराटनगर महानगरपालिका–२ का १९ वर्षीय दिपेश दर्जीलाई नियन्त्रणमा लिएको छ । बेलबारीबाट उक्त बस शिवसताक्षी नगरपालिका–६ का २७ वर्षीय बसका कण्डक्टर पुण्य सिटौलाले चलाई ल्याउने क्रममा दुर्घटना भएको जनाइएको छ । रासस

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी निर्वाचित, यस्तो बन्यो कार्यसमिति

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका छन् । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरेका हुन् । निर्वाचन अधिकृत उमादेवी प्रसाईँले तीन पद उपाध्यक्षका लागि राजीव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलियाले विजयी भएको जानकारी दिए । यस्तै महासचिवमा बद्रीप्रसाद तिमल्सिना, सचिवमा पुण्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलिया निर्वाचित भएका छन् । सदस्यमा भने कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, विनोद श्रेष्ठ, अमृत थोकर (लामा), सानुकाजी महर्जन, रमेश विश्वकर्मा र बद्रीप्रसाद अर्याल निर्वाचित भएको निर्वाचन अधिकृत प्रसाईँले जानकारी दिए । कुल १५ सदस्यीय कार्यसमितिका लागि हुने मतदानमा १ हजार १९३ जनाले मतदाता रहेकामा १ हजार ३१ मतदाताले मतदान गरेका थिए ।

पशुपतिनाथका चारै ढोका खुला, भक्तजनको घुइँचो

काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका लागि घुइँचो लागेको राससलाई जानकारी दिए । उनले भने, ‘साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको विशेष भीड लागेको छ ।’ आजदेखि साउनभरिमा पशुपति क्षेत्रमा कोटीहोम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा यसपटक भक्तजनको बढी भीड हुने विकास कोषले जनाएको छ । कोषले गत असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको भए पनि साउनमा आउने भक्तजनका लागि सहज होस् भन्ने उद्देश्यका साथ पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताए ।

नेपालकै पहिलो दन्त अस्पताल नेशनल डेन्टलले हकप्रद सेयर बेच्दै

काठमाडौं । नेपालको पहिलो दन्त अस्पताल नेशनल डेन्टल हस्पिटलले हकप्रद सेयर बिक्री गर्ने भएको छ । नेशनल डेन्टलले जगेडामा रहेको १ लाख बढी कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । नेशनल डेन्टल हस्पिटलको वि.सं २०८० असोज १३ गते सम्पन्न साधारण सभाले तत्काल कायम सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीको हकप्रद सेयर बिक्री खुला गरिएको थियो । तर, कम्पनीका सेयरधनीहरूले १ लाख ४ हजार ७७६ कित्ता सेयर खरिद नगरी बाँकी रहेको छ । कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । कम्पनीको एभरेष्ट बैंकको लाजिम्पाट शाखामा रहेको बैंक खातामा रकम जम्मा गरी सेयर खरिद गर्न सक्ने बताइएको छ ।

देशभर ३० प्रतिशत जमिन बाँझो, कृषि क्षेत्रले फड्को मार्न सकेन

काठमाडौं । केन्द्र सरकारले स्थानीय तहसँग कृषि क्षेत्रमा समन्वय गरेर अघि नबढ्दा समग्र कृषिक्षेत्र पछि परेको सरोकारवालाको भनाइ छ । सोमबार खाद्यका लागि कृषि अभियान र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज)ले आयोजना गरेको कृषि नीति तथा कार्यक्रम कार्यन्वयनको चुनौति विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले कृषिजन्य भूमि स्थानीय तहमा बढी रहेको तर केन्द्र सरकारले समन्वय नगर्दा समग्र कृषि क्षेत्रको विकास नभएको बताएका हुन् ।  नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुङ्गानाले सरकारले नीति तथा कार्यक्रम ल्याउँदा स्थानीय तहसँग छलफल नगर्दा कृषि क्षेत्रमा सोचे जस्तो प्रगति हुन नसकेको दावी गरे । ‘सरकारले नीति तथा कार्यक्रम ल्याउँदा स्थानीय तहहरूलाई हेरेर ल्याउनुपर्छ । हामीले नचाहिने ऐनहरू धेरै ल्याउँछौँ र कार्यन्वयन गर्न सक्दैनौँ । त्यसैले कार्यन्वयन हुन सक्ने र गर्न सक्ने ऐन ल्याउन आवश्यक छ,’ उनले भने । ढुङ्गानाले स्थानीय तहका कृषि प्राविधिकहरू फिल्डमा नभएर कार्यालयको काममा व्यस्त भएको दावी गरे । उनले कृषि विकास कार्यालयहरू ज्ञान केन्द्रमा परिणत भएपछि कृषिमा स्थानीय तहको जिम्मेवारी बढेको तर स्रोत साधनहरूको कमी हुँदा स्थानीय तहलाई भार भएको बताए ।  उनका अनुसार यसबीचमा देखिएका समस्या हल गर्नेबारे कतैबाट केही काम भएको देखिएन । स्थानीय तहहरूले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने गरी देशको कृषिलाई अगाडि बढाउने काम थाल्नु आजको आवश्यकता रहेको र केन्द्र सरकारले पनि त्यो खालको सहयोग गर्नुपर्ने उनको भनाइ छ ।  ‘हालको संरचनाबाट त्यो सम्भावना देखिँदैन । प्राविधिक दक्षताबिना अबको कृषि अगाडि बढ्न सक्दैन । सरकारले दिगो रूपमा कृषिको योजना बनाएर जाँदा दराजमा थन्किएका नीति तथा कार्यक्रम कार्यान्वयन नगर्न सहज हुनेछ,’ उनले भने ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव इन्द्रहरी पौडेलले कृषि मन्त्रालयमा अरू मन्त्रालयमा भन्दा कम बजेट जाँदा सोचे अनुरूप कम हुन नसकेको गुनासो गरे । बजेटको आधा रकम रासायनिक मल खरिदमा जाँदा अन्य क्षेत्रमा प्राप्त बजेट दिन नसकेको उनले स्वीकार गरे । कृषि क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना गर्न नसकेसम्म यो क्षेत्रले फड्को नमार्ने समेत उनको दाबी छ ।  ‘कृषि क्षेत्र ठूलो क्षेत्र हो । यस क्षेत्रमा जबसम्म निजी क्षेत्रहरूलाई प्रवेश गराउन सकिन्न तबसम्म यो क्षेत्रमा हामीले प्रगातिगर्न सक्दैनौँ,’ उनले भने ।  पछिल्लो तथ्याङ्कका अनुसार देशभर ३० प्रतिशत जमिन बाँझो रहेको बताउँदै सरकारले कृषि भूमीको खण्डीकरणमा निरुत्सहित गर्न आवश्यक रहेको उनको भनाइ छ ।  ‘पछिल्लो सयम जमिन बाँझो रहनुका मुख्य कारणहरूमा वैदेशिक रोजगारी, सुविधा र रोजगारी तथा उद्यमको लागि अल्पकालिन तथा दिर्घकालिन बसाइ सराईं हुन् । गाउँमा जनसंख्याको घट्दो कारणले कृषि क्षेत्रमा पूर्वाधार निर्माण, मलको अभाव, सिंचाइको समस्या, बजारमा पहुँचको अभाव जस्ता समस्या बढ्दै गएका छन् । यसमा तीनै तहका सरकारहरुले सहकार्य गरेर समस्या हटाउनुपर्छ,’ उनले भने ।  यस्तै कृषि विज्ञ रामबहादुर केसीले अस्थिर राजनीतिका कारण कृषि क्षेत्रको लागि बनेका अधिकांश ऐन, नियमावालीहरू कार्यन्वयनमा आउँन नसकेको दाबी गरे । उनले स्थानीय तहहरूमा कृषि प्राविधिकदेखि उन्नत जातका बिउ विजनहरूको पहुँच नपुर्याउँदा सोच जस्तो उत्पादन हुन नसकेको बताए ।  ‘कृषि पकेट क्षेत्रहरूका लागि प्रत्येक वडामा कम्तीमा पाँच जना विषयगत प्राविधिक राख्नुपर्ने देखिन्छ, जहाँ अहिले एउटै प्राविधिकले सबै कृषि वस्तुको रेखदेख गर्नुपरेको स्थिति छ । यसको समाधान गर्नुपर्छ,’ उनले भने ।  राष्ट्रिय कृषक समूह महासंघ, नेपालका अध्यक्ष पंचकाजी श्रेष्ठले सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा कृषि दशक भनेर घोषण गरेर मन्त्रालयको बजेट नै घटाएको आरोप लगाए । उनले स्थानीयतहहरूले बाँझो जमिनलाई उपयोग गरेर कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन पहल गर्नुपर्ने बताए ।  ‘आजको दिनमा स्थानीय तहमा बाँझो जमिन बढ्दो क्रममा रहेको छ  । त्यसैले सरकारले त्यस्ता जमिनमा कृषि उपजको उत्पादन बढाएर आयातमुखी अर्थतन्त्रलाई नियन्त्रण गर्नुपर्छ,’ उनले भने ।  नेपाल डेरि एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जबसम्म सरोकारवालाहरूले कृषिलाई सम्मानजनक रुपमा हेर्दैनन् तबसम्म यस क्षेत्रका समस्याहरु समाधान नहुने बताए । सरकारको अस्थिर नीतिकाकारण युवा पुस्ताहरु कृषि क्षेत्रमा आर्कषण हुन नसकेको बताउँदै सरकारले ल्याउने नीति स्थिर र कृषि मैत्री हुनुपर्नेमा उनको जोड छ ।  ‘आज भोलि अनुदानमुखी कृषि बढ्दै गयो । अनुदान पाउँदा कृषिमा आकर्षित हुने र नहुँदा यसतर्फ ध्यानन दिने जमात बढ्दै गयो त्यसैले सरकारले दिने अनुदान रोक्न पर्छ,’ उनले भने ।  सरकारले डिडिसीलाई पटकपटक रकम दिएपनि आफूहरुलाई कुनै सुविधा नदिएको बताउँदै किसानलाई दिनुपर्ने भुक्तानी नियमित दिदैँ आएका दाबी गरे ।  खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले सरकारले आजको दिनसम्म वास्तविक किसानको पहिचान नगरेको गुनासो गरे । उनले पछिल्लो समयमा सबै क्षेत्रमा निराशा छाएको भन्दै निराशालाई आशामा परिणत गर्ने गरी काम गर्नु पर्नेमा जोड दिए । उनले युवाहरूलाई कृषि र पशुपालनको माध्यमबाट व्यवसायीक रूपमा स्वदेशमा नै टिकाई राख्ने गरी तीन वटै सरकारहरूले कार्यक्रम ल्याउनुपर्ने बताए ।  नगरपालिकाहरूले व्यवसायीक रूपमा कृषि र पशुपालन गर्नेहरूका लागि सीप र अनुदान दिने जस्ता कार्यक्रमहरू अगाडि बढाउनु पर्ने बताए । कार्यक्रममा बोल्दै अनाजका अध्यक्षकिरण आर्चायले कृषि क्षेत्रमा नीति, नियमावली, ऐनहरू भए पनि कार्यन्वयन नहुुँदा कृषि क्षेत्रमा चुनौतिहरू थपिदैँ गएको बताए । सरोकारवालहरुले सरकारले यस वर्षको नीति तथा कार्यक्रममा २०८१ देखि २०९१ लाई लगानी दशकको रुपमा घोषण गरे पनि लगानी दशकको आसय स्पष्ट नभए पनि यस वर्षको कार्यक्रममा यसका लागि बजेट विनियोजन नगरेको गुनासो छ । 

बाढीले घर बगाउँदा ३ बालबालिका माटोमा पुरिए, एक जना बेपत्ता

काठमाडौं । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा ३ जना बालबालिका पुरिएका छन् । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार ८ वर्षीय हितमाया पुन, ५ वर्षीया धनिसा पुन, ३ वर्षीया मनिसा सार्की पुरिएका र ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएको जानकारी दिए । बाढीले घर बगाउँदा १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, ४ वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएको उनले बताए । नगरप्रमुख केसीले भने, ‘खोलामा लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्न सकिएको छैन । घाइतेलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याउने काम जारी छ । उद्धारका लागि प्रहरी र स्थानीयवासी जुटिसकेका छन् ।ु