सिटिजन्स बैंकका ग्राहकले न्यूरो कार्डियोमा छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र बिराटनगर, मोरङ स्थित न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलबीच बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हाे । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले न्यूरो कार्डियो एण्ड म्लटीस्पेसियालिटी हस्पिटलका सेवाहरुमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
गृहमन्त्री लामिछाने र महान्याधिवक्ता पोखरेलविरुद्धको रिट सर्वोच्चमा दर्ता हुने
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आफ्नो प्रशासनलाई आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेशलाई खारेज गर्दै यस्तो रिट निवेदन दर्ता गर्न आदेश दिएको हो । यसअघि सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो । सर्वोच्चको यो आदेशसँगै अधिवक्ता भट्टराईले सर्वोच्चमा पेस गरेको रिट निवेदन आइतबार दर्ता हुने भएको छ । अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाई सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । तल्ला निकायहरूमा अनुसन्धान भएको र हुनसक्ने विषयमा कुनै व्यक्तिले निवेदन दिएको भरमा छानबिन भएको छ वा छैन भनी पत्र जारी गर्दा त्यसको दुरुपयोग हुनसक्ने भन्दै उनले महान्यायाधिवक्ता कार्यालयबाट जारी भएको पत्र बदर र कारबाहीको माग राखेका थिए । साथै, उनले आगामी दिनमा यस्ता पत्र जारी नगर्नु भनी महान्यायाधिवक्ता कार्यालयको नाममा आदेश जारी गर्न पनि माग गरेका थिए । अनि गृहमन्त्री लामिछाने पदमा रहेकाले उनीमाथि सहकारी छानबिनमा कठिनाइ भइरहेको भन्दै छानबिन अघि बढ्नासाथ उनलाई पदबाट हटाउन वा निलम्बनको अवस्थामा राख्न समेत आदेशको माग गरेका थिए ।
कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफले गर्यो ४ लाख सहयोग
काठमाडौं । कृत्रिम हात उत्पादन गर्न सिटिजन लाइफ इन्स्योरेन्सले ४ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले ई-नेबल नेपाललाई कृत्रिम हातको उत्पादन गर्न बुधबार ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त सहयोग कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले इ-नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठ र महासचिव दिनेश राज भण्डारीलाई कम्पनीको प्रधान कार्यालयमा ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । सिटिजन लाइफको यस सहयोगले इ–नेबल नेपाललाई आउदो समयमा समाजमा रहेका बालबालिकाहरुलाई सहयोग गर्न र सकारात्मक परिवर्तन ल्याउनमा केहि मद्दत हुने आपेक्षा कम्पनीले राखेको छ । अपाङ्गताका कारण कुनैपनी बालबालिकले समाजबाट भेदभाव भोग्नु नपरोस र एक सामान्य व्यक्ति सरि विभिन्न काम गर्न सक्षम भई समाजमा सम्मान रुपमा स्थापित गराउने इ-नेबल नेपालको उद्देश्यमा साथ दिन बैंकले सबैलाई अनुरोध गरेको छ ।
मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि रक्षामन्त्री उप्रेती र कांग्रेस नेता लेखकबीच छलफल
महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिका लागि रक्षामन्त्री हरि उप्रेती र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहितको टोलीबीच आज छलफल भएको छ । निर्माणाधीन मझगाउँ विमानस्थलका लागि दक्षिणतर्फ रहेको नेपाली सेनाको केही भाग जग्गा आवश्यक पर्ने भएकाले सोका लागि सहजीकरण गरिदिन कांग्रेस प्रमुख सचेतक लेखकसहितको टोलीले मन्त्री उप्रेतीलाई ध्यानाकर्षण गराएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहनुभएका लेखकको टोलीमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी र बेदकोट नगरपालिकाका नगरप्रमखु भोजराज बोहराको सहभागिता रहेको थियो । लेखकका स्वकीय सचिव जनक भट्टले मन्त्री उप्रेती र प्रधानसेनापति प्रभुराम शर्मासहित भएको छलफल सकारात्मक रहेको बताए । ‘मन्त्री र प्रधानसेनापतिसँगको छलफलका क्रममा उहाँहरूले विमानस्थल स्तरोन्नतिका लागि सहयोग गर्छौ भन्नुभएको छ,’ भट्टले भने,’यो प्रक्रियागत अल्झन फुकाउन नेता लेखक सक्रिय हुनुहन्छ ।’ केही समयअघि स्थानीयले विमानस्थलका लागि मझगाउँस्थित रत्न वाटिका खाली गराएका थिए । विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त गर्नुअघि यहाँ वातावरणीय प्रभाव मूल्यांकन (इआइए) का लागि पहल थालिए पनि उक्त कार्य पूरा नहुँदा निर्माणमा बाधा पुगेको छ । विमानस्थलको दक्षिणतर्फ रहेको रत्न वाटिका र नेपाली सेनाको केही भू(भाग विमानस्थल स्तरोन्नतिका क्रममा प्रयोग गर्नुपर्ने अवस्था छ । ४५ करोड रुपेयाँको ठेक्का दिइएको विमानस्थलको पुनःनिर्माणको काम हाल ३६ प्रतिशत सकिसकेको छ । भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो ।
सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन
काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी गराएका हुन् । उनले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा अप्लाई गरेका थिए । नेपाल क्रिकेट संघ (क्यान) ले आवश्यक सबै प्रक्रिया पूरा गरे पनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो । उनले केही दिन अघिमात्र बलात्कार मुद्दामा अदालतबाट सफाइ पाएका थिए ।
चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान
काठमाडौं । बङ्लादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेरको समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका आठ नेपाली विद्यार्थीलाई भर्ना दिन पत्राचार गरेसँगै समस्या समाधान भएको हो । सोबारे निर्णयको पत्र नेपाल सरकारलाई प्राप्त भएको शिक्षा मन्त्रालयले जनाएको छ । बङ्गलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्नका लागि नेपाल सरकारका तर्फबाट १९ एमबिबिएस र तीन बिडिएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश पठाइएको थियो । नाम सिफारिस गरिएकामध्ये दुई जनाले अन्तिम सूचिका लागि आवेदन दिएका थिएनन् । बङ्गलादेशबाट अन्तिम सूचीमा १२ जनाको मात्रै नाम आएको चिकित्सा शिक्षा आयोगले जनाएको थियो । यसरी सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएकोबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले नेपालस्थित बङ्गलादेशी राजदूतसँग छलफल गरेकी थिइन् । नामावली हेरफेरका सम्बन्धमा परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई ‘कूटनीतिक नोट’ पठाएकामा त्यसको जवाफमा बङ्गलादेशले छुटेका आठ जनालाई समावेश गर्ने निर्णयसँगैको पत्र कूटनीतिक नोटमार्फत जानकारी दिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले विभिन्न कारणले उत्पन्न समस्याले विद्यार्थीमा अन्योलता छाएकोमा सो समस्या समाधान गर्न अहोरात्र खटिने सबैप्रति कृतज्ञता व्यक्त गरेकी छन् । आज सम्बन्धित विद्यार्थीलाई मन्त्रालयमा संवाद गर्दै बङ्गलादेशमा अध्ययन गर्न जाने सबैलाई शुभकामना व्यक्त गरिन् । ‘नयाँ ठाउँमा नयाँ संस्कृतिमा घुलमिल हुन समय लाग्छ । आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल गर्नुहोला । मेहनत गरेर सफल भई स्वदेशको सेवा गर्न फर्केर आउनुहोला’, संवादका क्रममा मन्त्री श्रेष्ठले भनिन् । ‘उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि बङ्गलादेशका महामहिम राजदूत, ढाकास्थित नेपाली दूतावासका महामहिम राजदूत र बङ्गलादेश सरकारलाई धन्यवाद दिन चाहन्छु । यो विषयलाई प्रमुखताका साथ उठाउनुहुने सङ्घीय सदनका सदस्यलाई पनि धन्यवाद छ । विद्यार्थीको गुनासो आएकै दिनदेखि समस्या समाधानका लागि खटिने मन्त्रालयका कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु’, मन्त्री श्रेष्ठले भनिन् । रासस
टिप्ताला नाका खुलाउने तयारी, तिब्बत जान ११५ जनाले लिए अनुमति
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित टिप्ताला नाका खुलाउने तयारी भइरहेको छ । चीन र नेपालको दुई पक्ष समझदारीमा नाका खुलाउन लागिएको हो । गत वैशाखको अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको टोली टिप्ताला नाका पुगेका थिए । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनका तर्फबाट तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारीबीचको समन्वयमा गत वैशाख २५ गते नाका खुलाउने सहमति भएको थियो । चीनका तर्फबाट तयारी पूरा नभएकाले गत वैशाख २५ गते नाका खुलाउन नसकेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उनले भने, ‘चीनको तर्फबाट नाका खुलाउन तयारी पूरा नभएकाले सहमतिअनुसार नाका खुलेन, यही महिनाभित्र खुल्ने गरी तयारी भइरहेको छ ।’ नेपालबाट व्यापारसम्बन्धी अध्ययन गर्नका लागि पहिलो चरणमा ५० जना व्यापारीलाई तिब्बको रिउ प्रवेश गर्न दिने र तिब्बतकालाई व्यापारका लागि अध्ययन गर्न अनुमति दिनेगरी समझदारी भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उनका अनुसार नाका खुल्ने सहमति भएसँगै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने १ सय १५ जनाले तिब्बत प्रवेशका लागि अनुमति लिएका छन् । जिल्ला प्रशासन ताप्लेजुङका अनुसार फक्ताङ्लुङ गाउँपालिकाको–६ लेलेप र फक्ताङ्लुङ–७ ओलाङचुङगोला क्षेत्रका साथै मिक्वाखोला गाउँपालिका-५ पापुङका नागरिक अनुमति लिएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतले कोरोना सङ्क्रमणपछि टिप्ताला नाका बन्द गर्दै आएको थियो । पाँच हजार दुई सय मिटर उचाइको नेपाल–चीनको स्वशासित क्षेत्र तिब्बतको टिप्ताला पुगेको नेपाली अधिकारीको टोलीले नाका सञ्चालन र यातायात सहजताका विषयमा त्यहाँका अधिकारीसँग छलफल गरेको आचार्यले बताए । ओलाङचुङगोला, लेलेप र पापुङमा गरी करिब २४ जना नागरिक नाका बन्दका कारण लामो समयदेखि आफ्नो माइतीघरसम्म जान पाएका थिएनन् । प्रजिअ आचार्यका अनुसार टिप्ताला नेपाल–तिब्बतको महत्वपूर्ण व्यापारिक नाका भएकाले द्विदेशीय व्यापार प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको छ । ‘व्यावसायिक हिसाबले यो नाका महत्वपूर्ण छ,’ उनले भने, ‘यसलाई उपयोग गर्ने गरी सबै पक्षबाट सहयोग र समन्वय जरुरी छ ।’ नाका समयमै खुल्न नसक्दा सीमावर्ती बस्तीका समुदायले सास्ती खेप्दै आएका छन् । आलोचुङगोलामा उत्पादन गरिएको गलैँचा तिब्बती बजारमा बढी मूल्यमा बिक्री हुनेमा लामो समयसम्म नाका बन्द हुँदा यहाँ उत्पादित गलैँची बिक्रीमा समस्या हुँदै आएको स्थानीय बताउँछन् । हिमाली क्षेत्रमा बसोबास गर्ने समुदाय पुख्र्यौली पेसा पशुपालनमा (याक) निर्भर हुँदै आएका छन् । चीनका बजारमा चौँरीयाकहरूको माग अत्यधिक हुने मिक्वाखोला-५ का चौँरीयाकपालक मिलन दोर्जेले बताए। लामो समय चीनतर्फ चौँरीयाक निर्यात हुन नसक्दा आर्थिक संकट समेत आएकाे उनको भनाइ छ ।
स्वास्थ्यमन्त्री यादवले गरे वीर अस्पतालमा छड्के अनुगमन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा छड्के अनुगमन गरेका छन् । बुधबार दिउँसो १ बजे मन्त्रीसहित सचिव डा रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी भएका थिए । मन्त्री प्रदीपले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गरे । त्यसपछि नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझ्न गएका थिए । करिब तीन घण्टाको अनुगमनमा मन्त्री यादवले प्रत्यक्षरुपमा बिरामीलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएका थिए । अस्पतालको अकस्मात कक्ष, ओपिटीमा सबैभन्दा बढी समस्या देखापरेको मन्त्री यादवले बताए । ‘देशभरकै बिरामीको उपचारको केन्द्र रहेको अस्पताल व्यवस्थित हुुनुपर्छ’, उनले भने, ‘कतिपय कक्ष तथा सेवा व्यवस्थित नहुँदा बिरामीले दुःख पाउनुभएको छ । मुख्यतया जनशक्तिको अभाव देखिएको छ, यसले व्यवस्थापनमा समस्या देखिएको हो ।’ मन्त्री यादवले अस्पतालको सेवा थप प्रभावकारी बनाउन जनशक्तिको व्यवस्थापन तुरुन्तै गरिने बताए । शय्या अभावका कारण एउटै शय्यामा महिला र पुरुष राखेर उपचार गरेकोसमेत भेटिएको थियो । अस्पतालमा आएका सर्वसाधारणले सेवासुविधामा भोग्नु परेको समस्या प्रत्यक्ष मन्त्रीसमक्ष राखेका थिए । अस्पतालको औषधि पसलमा घण्टौँ लाइन लागेका सर्वसाधाणलाई मन्त्री यादवले समस्या के छ ? भन्दै सोध्नुभएको थियो । औषधि पसलमा टोकन सिस्टम नहुँदा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले सुनाएका थिए । मन्त्री यादवले औषधि पसलको लाइन व्यवस्थापन गर्न तुरुन्तै टोकन सिस्टम ल्याउन अस्पतालका उपकुलपति डा भूपेन्द्र बस्नेतलाई निर्देशन दिए । त्यस्तै, सर्वसाधारणले स्वास्थ्य बीमामार्फत औषधि नपाएको गुनासो गरेका थिए । डा भूपेन्द्रले अनुगमनकै क्रममा सर्वसाधारणमाँझ औषधि अभाव भएको स्वीकार गर्दै औषधि ल्याउने प्रक्रियामा रहेको र दुई साताभित्र स्वास्थ्य बीमाको औषधि आइपुग्ने जानकारी दिए । ‘औषधीको अभाव छ, हामी स्वीकार गर्छौं’, उनले भने, ‘दुई सातभित्र औषधि अभाव पूर्ति गरेसँगै बीमासम्बन्धी हेर्ने छुट्टै डेस्कको व्यवस्थापन समेत मिलाउने छौँ ।’ मन्त्री यादवले अनुगमनका क्रममा वीर अस्पतालको पछाडि थुप्रिएका प्रयोगविहीन भौतिक सामग्रीको तुरुन्तै व्यवस्थापन गर्न समेत निर्देशन दिएका थिए ।