हिम पर्वत हाइड्रोपावरले आइपीओ जारी गर्ने, डाक्यो विशेष साधारण सभा
काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समिति बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित जेठ २७ गते विशेष साधारण सभा डाकेको छ । सभा कम्पनीको मुख्य कार्यालय डब्लुटीसी, त्रिपुरेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्नेछ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा पनि छलफल हुने कम्पनीले जनाएको छ । त्यसैगरी, अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने एजेन्डा पनि रहेको छ ।
देवेन्द्ररमण खनाल बने राष्ट्रिय वाणिज्य बैंकको सीईओ
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको उपकार्यकारी अधिकृत (डीईओ) देवेशप्रसाद लोहनीले जानकारी दिए । खनाल खुला प्रतिस्पर्धाबाट बैंकको सीईओमा नियुक्त भएका हुन् । वि.सं २०६४ भदौमा बैंकमा आवद्ध भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले एमबीए पनि गरेका छन् । बैंकको शाखा कार्यालय, प्रादेशिक कार्यालय, कर्जा विभाग लगायत विभिन्न विभागको जिम्मेजारी सम्हालेका खनालसँग डेढ दशक बढीको बैंकिङ अनुभव छ । पूर्व सीईओ किरण कुमार श्रेष्ठले अवकाश पाएपछि खनालले कामु सीईओको जिम्मेवारी समेत पाएका थिए । बैंकको सीईओ छनोट तथा सिफारिस समितिले ५ जनाको नाम सर्ट लिष्ट गरी बुधबार अन्तवार्ताका लागि बोलाएको थियो । अन्तवार्तामा ३ जनाको नाम सञ्चालक समितिमा पेस गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकको सीईओ बन्न २० जनाले आवेदन दिएका थिए ।
जलवायु परिवर्तन न्यूनीकरणमा स्थानीय तहलाई सवलीकृत बनाउनुपर्नेमा जोड
काठमाडौं । जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहको क्षमता अभिवृद्धि गराउँदै उनीहरूलाई सवलीकृत बनाउन आवश्यक रहेकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलवायु विज्ञको जोड रहेको छ । हिजोदेखि काठमाडौंमा सुरु भएको ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’को आज दोस्रो दिनको ‘स्थानीयरूपमा नेतृत्व अनुकूलनः पहाडदेखि समुद्री पारिस्थितिकीय प्रणाली’ विषयकसत्रमा बोल्दै उनीहरूले स्थानीय तहलाई तालिम दिएर जलवायु परिवर्तनसम्बन्धी क्षमता बढाउनुपर्नेमा जोड दिएका हुन् । खाद्य तथा कृषि सङ्गठन (एफएओ)का नेपाल प्रतिनिधि केन सिमिजुले समावेशीकरणको सिद्धान्तमा आधारित भएर जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका नीतिलाई प्रथामिकता दिनुपर्नेमा जोड दिए । ‘जलवायु परिवर्तनका कारण स्थानीय तहमा भएका असल अभ्यासहरूमा आधारित भई स्थानीय स्रोतसाधनलाई नै केन्द्रमा राखेर काम गर्नुपर्छ’, उनले भने, ‘जलवायु परिवर्तनले निम्तिएका समस्या न्यूनीकरणका लागि जलवायुवित्त पर्याप्त छैन ।’ चिनियाँ विज्ञान प्रतिष्ठान चीनका डा लिनफेङ्ग फानले सबै तहका सरकारका नीति तथा कार्यक्रम र योजना उत्थानशीलतामा आधारित हुनुपर्ने भन्दै जलवायु उत्थानशीलताका गतिविधिमा सक्रिय हुनुपर्नेमा जोड दिए । ‘जलवायुका कारण हिमाली क्षेत्र पहिराको जोखिममा छन्, हिमाली क्षेत्रमा जाने पहिरोहरू धेरै नै जटिल हुनेछन् र ठूलो क्षति निम्त्याउने छन्’, फानले भने, ‘हिमाली क्षेत्रलाई संरक्षण गर्न सके नहुँदा पहिरोको प्रभाव पनि कम हुँदै जानेट । जलवायु परिवर्तनका कारण नदीको बहाव बढिरहेको छ । नदीको बहावलाई यसरी बढ्न नदिने गरी काम गर्नेसम्बन्धी नीति तथा योजना बनाएर अगाडि बढ्नुपर्छ ।’ उनले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका नीतिको प्रभावकारी कार्यान्वयनका लागि परिवेश सुहाउँदो रणनीति आवश्यक रहेकामा जोड दिए । अन्तर्राष्ट्रिय जलवायु क्रायोस्फेयर पहलका निर्देशक डा पाम पियर्सनले अहिले जसरी नै निरन्तर हिमालमा हिउँ पग्लँदै जाने हो भने समुद्री सतहसमेत बढ्दै जाने भन्दै यसले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायहरूलाई बढी असर पुग्ने बताए । ‘हिमालको हिउँ पग्लनुमा जलवायु परिवर्तनको प्रभावले हो भन्ने कुरा स्थानीय तहका विज्ञहरूमा जानकारी नहुनु सक्छ, हामीले बुझाउन सक्नुपर्छ’, उनले भने, ‘अहिले पनि समुद्रको तह बढिरहेको छ, समुद्री सहत बढ्न नदिन हिमालको हिउँ जोगाउन आवश्यक छ ।’ अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थान भारतका प्राकृतिक स्रोत विशेषज्ञ डा गोपाल कुमारले जलवायु परिवर्तन, यसका असर र समाधानका विषयमा सम्बन्धी स्थानीयस्तरमा काम गर्ने संस्थालाई जागरुग बनाउन आवश्यक रहेकामा जोड दिए । ‘हरित पर्यावरणलाई कसरी प्रवर्द्धन गर्ने भन्ने विषयमा हामीले सोच्नुपर्ने छ । जलवायु परिवर्तनले निम्त्याएका समस्या न्यूनीकरणमा स्थानीय सरकारको क्षमता बढाउने किसिमका कार्यक्रम ल्याउनुपर्छ ।’ रासस
बुद्ध जन्मभूमिलाई पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री
लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन् । २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा बिहीबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शनरअवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताएका हुन् । उनले भने, ‘वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्न क्रियाशील छ ।’ नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजनासम्बन्धी प्रस्ताव प्रस्तुत भई वैदेशिक लगानीका लागि विश्व समुदायलाई आह्वान गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले यसले विश्वभरिका बौद्ध धर्मावलम्बीहरूलाई आकर्षण गरी धार्मिक पर्यटन एवं विश्वशान्तिमा गौतम बुद्ध र नेपालको योगदान प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । ‘बुद्धको जन्मभूमि लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषय हुन्छ’, प्रधानमन्त्री दाहालले भने, ‘लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको ‘बर्थिङ सेन्टर’का रूपमा विकास गर्ने र त्यसमार्फत यस क्षेत्र र सिङ्गो देशको पर्यटन प्रवद्र्धनमा उच्च सफलता हासिल गर्ने सम्भावना छ ।’ उनले शाक्यमुनि गौतमबुद्ध शील, समाधि र प्रज्ञाका प्रतिमूर्ति एवं शान्ति, एकता र सद्भावका सामूहिक प्रतीक भएको बताए । ‘पूर्वीय दर्शन र चिन्तन परम्परामा बुद्धको विचार र त्यसको प्रभाव निकै महत्त्वपूर्ण छ’, प्रधानमन्त्री दाहालले भने, ‘मानव सभ्यता र संस्कृतिको विकासमा, ज्ञान निर्माण (आर्जन) र प्रज्ञाको अभ्युदयमा बुद्धको मार्गदर्शन अत्यन्तै प्रभावशाली छ । बुद्धको जन्मले नेपाललाई विश्वमा चिनाउने मात्र नभई धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना समेत उपलब्ध गराएको छ ।’ मौर्यसम्राट अशोकद्वारा निर्मित अशोक स्तम्भको शिलालेखले बुद्धको जन्म लुम्बिनीमा भएको तथ्य अकाट्य रूपमा प्रमाणित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सम्पूर्ण मानव जातिको साझा धरोहर एवं विश्व सम्पदाको महत्त्वपूर्ण अङ्ग पवित्र लुम्बिनीको द्रूत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरूयोजनाको बाँकी कार्य यथाशक्य पूरा गर्न लागिपरेको स्पष्ट पारे । प्रधानमन्त्रीले भने, ‘अन्तर्राष्ट्रिय दातृराष्ट्र तथा सङ्घ संस्थाहरूको समेत सहयोग तथा सहभागितामा सरकारले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयलाई विकासको प्रतिफल दिलाउन प्रयास गरिरहेको छ ।’ बृहत्तर लुम्बिनी विकास परियोजनाको सफल कार्यान्वयनमार्फत उक्त सम्भावनालाई यथार्थमा बदल्न सकिने बताउँदै उनले यस कार्यका लागि प्रस्ताव बनाउन र पहल अगाडि बढाउन लुम्बिनी विकास कोषलाई निर्देशन दिए । लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्धदर्शन र शिक्षाको अझ ठूलो केन्द्र बनाउन सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बौद्धदर्शनको उद्गमस्थल भएको स्पष्ट पारे । उनले भने, ‘यस क्षेत्रलाई अन्तर्राष्ट्रिय बौद्धदर्शन र शिक्षाको केन्द्र बनाउन ठोस योजना अगाडि बढाएको छ ।’ उनले बौद्ध विश्वविद्यालयको समग्र ध्यान बौद्धदर्शनको प्रवर्द्धनतर्फ केन्द्रित गर्न निर्देशन दिए । नेपाल सरकारले सन् २००४ मा दोस्रो विश्व बौद्ध शिखर सम्मेलन आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्रीले तेस्रो शिखर सम्मेलन छिट्टै आयोजना गरिनेसमेत जानकारी दिए ।
सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छ ः बालेन
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंको थायमरुस्थित रत्नकेतु महाविहार पुनर्निर्माण उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मेयर साहले काठमाडौं उपत्यकामा सम्पदाहरूको पुनर्निर्माण गर्दा पुरानो शैलीलाई नै महत्व दिएर बनाउनुपर्नेमा जोड दिए । उनले पुरानो शैलीमा सम्पदाहरूको पुनर्निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभइ झनै बढेर जाने बताए । उनले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने बताए । महानगरपालिका भित्रका सम्पदा पुनर्निर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको उनकाे भनाइ छ । उनले भने, ‘महाविहार बनाउँदा वडाध्यक्षहरूलाई सबै बजेट एकैपटक माग्दा आउँदैन कि भन्ने जस्तो लाग्दो रहेछ, म सधैँ भन्छु, एकै पटक सबै माग्नुस्, एकै पटक यो पनि बनाएको भए हुन्थ्यो, सिंह, सत्तल पनि एकै पटक बनाएको भए हुन्थ्यो, सत्तल पनि पुरानो शैलीमा बन्नुपर्छ, हाम्रो सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा हाम्रो केही व्यापार व्यवसाय घट्ने होइन, झनै बढ्ने हो, हाम्रो सभ्यता बढेपछि व्यापार पनि बढ्छ , सबैको इज्जत पनि बढ्छ, त्यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ ।’ मेयर साहले सम्पदा पुनःनिर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरुसँग आग्रह गरे ।
बिहीबार सुनको मूल्य तोलामा १८ सयले घट्यो
काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुुुसार बुधबार प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबर भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेर तोलामा १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।
मर्जरको तयारीमा वायु सेवा कम्पनी, बजेटमा छुट माग
काठमाडौं । वायु सेवा कम्पनी पनि बैंक तथा वित्तीय संस्थाजस्तै मर्जर तथा एक्विजिसनको तयारीमा लागेका छन् । वायु सेवा कम्पनीहरूको नियामक नागरिक उडड्यन प्राधिकरणले पाँच वर्षमा पाँच वटा जहाज थप्नु पर्ने व्यवस्थासँगै कम्पनीहरु जहाज थप्नुभन्दा कम्पनी मर्जर गरेर अगाडि बढ्ने तयारीमा जुटेका हुन् । त्यसका लागि सरकारसँग छुटको व्यवस्था गर्न माग गरेका छन् । वायुसेवा सञ्चालकहरूले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि सुझाव दिँदै वायुसेवा कम्पनीकाे मर्जरमा छुटको माग गरेका हुन् । वायुसेवा सञ्चालक संघका प्रथम उपाध्याक्ष प्रतापजंग पाण्डेले कम्पनीहरू मर्जर हुँदा छुटको व्यवस्था गर्नुपर्ने माग गरेकाे बताए । उनका अनुसार सरकारले ५ वर्षमा ५ वटा जहाज पुर्याउनु पर्ने बाध्यात्मक व्यवस्था गरेको हुँदा कम्पनीहरूलाई मर्जर तथा एक्विजिशनमा छुट दिनुपर्छ । ‘एयरलाइन्सहरूलाई ५ वर्षभित्र ५ वटा जहाज पुर्याउनुपर्ने बाध्यात्मक व्यवस्था छ । धेरै संख्यामा जहाज मात्रै भित्र्याउँदा अस्वस्थ प्रतिस्पर्धा हुन्छ, अहिले मार्केट पनि सुस्त छ, त्यसैले वायुसेवा कम्पनीहरू मर्जर तथा एक्विजिशन हुँदा छुटको व्यवस्था गरिदिनुपर्छ,’ उनले भने । हाल वायुसेवा कम्पनीहरूको पुँजी १५ करोड हुनुपर्ने व्यवस्था छ । मर्जरका माध्यमबाट पुँजी वृद्धिसँगै सुरक्षाको प्रत्याभूति हुने उनको भनाइ छ । १ प्रतिशत भन्सार दरमा मूख्य स्पेयर पाट्र्स आयात गर्दै आएका छौं । भन्सार दरबन्दीको खुलस्त रूपमा उल्लेख नभएका कारण अन्य भन्ने विषय परिभाषित हुँदा स्पेयर पार्टस् ल्याउँदा साह्रै दुख पाइरहेका छौं । यसलाई स्पष्ट रूपमा उल्लेख गरेर भन्सार दरबन्दीसम्बन्धी १ प्रतिशत शुल्क सबै स्पेयर पार्टसमा लागू हुने भनेर लेख्नुपर्ने । वायुसेवा क्षेत्रमा सबैले लगानी गर्न नसक्ने भएकाले लिजमा ल्याउँदा १० प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने अवस्था छ । यसलाई घटाएर ३ प्रतिशतमा झार्नु पर्ने । टिकेट, स्पेयर, जहाज किन्दा भ्याट लाग्छ । जसले गर्दा हवाई क्षेत्र एकदमै महँगो भएर पर्यटकहरूको आगमन घट्न सक्ने सम्भावना छ । यस विषयमा बारम्बार उठाउँदा पनि समाधान हुन सकेको छैन । आगामी बजेटमा भ्याट नलाग्ने व्यवस्था हुनुपर्ने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ लाख मात्रै पयर्टक भित्र्याउन सकिन्छ । तर, नेपालमा होटलहरूको क्षमता ३५ लाखसम्म भइसकेको छ । त्यसैले निजगढ विमान स्थललाई पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) सञ्चालन गर्नुपर्ने, भारत र चीनसँगका नाकालाई एशियन हाइवेको अवधारणा ल्याएर पर्यटक आगामन सहज बनाउनुपर्ने ।
डा. नूतन शर्मा बी एण्ड बी हस्पिटलमा प्रवेश, अत्याधुनिक आईभिएफ सुरु गर्दै
काठमाडौं । देशकै चर्चित बाँझोपन विज्ञ, टेस्टट्यूब बेबी विशेषज्ञ तथा वरिष्ठ गाइनो ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्माले बी एण्ड बी हस्पिटल प्रालिमा पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गर्ने भएकी छिन् । हालै मात्र थापाथलीस्थित नर्भिक अस्पतालसँगको सहकार्य तोडेकी डा. शर्माले केही विश्वस्तरीय सेवा तथा प्रविधिलाई समेत भित्र्याएर बि एण्ड बी अस्पतालमा आगामी आइतबारदेखि पूर्णकालीन चिकित्सकको रुपमा सेवा सुरु गर्ने तयारी गरेकी हुन् । डा. शर्माले बि एण्ड बी अस्पतालमा प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म (६ दिन) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सेवा दिनेछिन् । नर्भिक छाडेर आफू बी एण्ड बी हस्पिटलमा आबद्ध भएको पुष्टि गर्दै डा. शर्माले देशमै पहिलोपटक रोबोटिक ल्याप्रोस्कोपिक सर्जरी सेवा सुरु गर्न लागिएको समेत बताएकी छिन् । ‘बी एण्ड बी गाइनेक ल्याप्रोस्कोपिक रोबोटिक सर्जरी सेवा सुरु गर्ने नेपालकै पहिलो अस्पताल बन्नेछ’, डा. शर्माले भनिन्–‘केही समयपछि हामीले बी एण्ड बीमै वल्र्ड क्लासको एड्भान्स र अत्याधुनिक आईभिएफ सेन्टर समेत सञ्चालन गर्नेछौं । त्यसको पूर्व तयारी समेत थालिसकिएको छ ।’ नवचिकित्सकहरुका लागि विश्वस्तरीय आईभिएफ ट्रेनिङ इन्स्टिच्यूट समेत सञ्चालन गरिने डा. शर्माले जानकारी दिइन् । ‘त्यस्तो इन्स्टिच्यूटमा युवा चिकित्सक, प्यारामेडिक्स र मेडिक्सहरुलाई बेसिक र एड्भान्स ट्रेनिङ दिइनेछ’, डा. शर्माले भनिन् ।