कोशी र गण्डकीका पहाडी क्षेत्रमा वर्षा हुने, यस्तो छ आजको मौसम
काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागलगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै तथा गण्डकी प्रदेशका पहाडी भू-भागलगायत बाँकी हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यसैगरी आज राति कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने, तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
जुम्लामा ५२ हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती
काठमाडौं । जुम्ला जिल्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व भएको फुजी जातको स्याउको खेती हुने गरेको छ । जुम्लाका ८ वटै स्थानीय तहमा लगाएको ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा स्याउले फल दिने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष ४ हजार ४९७ हेक्टर क्षेत्रफलमा स्याउ बिरुवा रोपिएकामा २ हजार १६५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन भएको छ । यहाँ रेड डेलिसेस, रोयल डेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायत विभिन्न जातका स्याउ फल्ने गरेका छन् । जुम्लामा उच्च घनत्वका गाला र फुजी स्याउको पनि उत्पादन हुने गरेको छ । यस वर्ष मात्र जिल्लाबाट करिब १८ हजार २४५ मेट्रिक टन उत्पादन भएको विकास कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । फुजी स्याउले राम्रो प्रतिफल दिने भएकाले किसान यो स्याउ खेतीमा आकर्षित भइरहेका छन् । जिल्लाका १९ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न रहेका कृषि विकास कार्यालयले जनाएको छ । स्याउ बगैँचामा फूल फुलेर सेताम्मे हाल बगैँचामा स्याउ फुलेर सेताम्मे भएका छन् । ती फूलले यहाँको वातावरण निकै रमणीय देखिन थालेको चन्दननाथ नगरपालिका-५ मा रहेको आँखे कृषि पर्यटन अनुसन्धान उद्योगका सञ्चालक सरोज शाहीले बताए । ‘बगैँचाका स्याउ बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण निकै रमाइलो देखिएको छ । चैत-वैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिकमा पाक्ने गरेको छ,’ उनले भने । शाहीले चन्दननाथ मन्दिरको जग्गा भाडामा लिएर ३ हजार ३०० इटालियन जातको फुजी स्याउ लगाएका छन् । बोटले फल दिन थालिसकेका छन् । राम्रो आम्दानी दिने भएकाले हाल जिल्लाभरि उक्त जातको स्याउ खेती फैलिएको उनको भनाइ छ । हिमा गाउँपालिकाका कृषि उद्यमी गोपाल रोकायाले बगैँचामा बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण मनोरम देखिएको र कुनै समस्या नभए यसपटक राम्रो उत्पादन हुने विश्वास जागेको बताए । जिल्लाको एक नगरपालिकासहित ७ पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । हाल फूल फुलेर स्याउ बगैँचा सेताम्मे भए पनि कालो तुसारोले फूल झारेर समस्या हुने गरेको तिला गाउँपालिका-१ का किसान सरिता रावतले बताए ।
नयाँ सरकार आएपछि सक्रिय बन्यो प्रहरी, एक महिनामै १ हजार १६६ वटा मुद्दा दर्ता
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एक महिना (चैत) को अवधिमा १ हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् । यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरका २ वटा मुद्दामा तीन जनालाई प्रतिवादी बनाई २२ करोड ७५ लाख ९६ हजार ४८८ रुपैयाँको बिगो दाबी गरेर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । यसैगरी, परिसरले हुण्डी कारोबार नियन्त्रणलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउँदै चैत महिनामा ३ वटा मुद्दामा सात जनालाई प्रतिवादी बनाएको छ । उक्त मुद्दामा १ करोड ५६ लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । प्रहरीले नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने २ जनालाई १ करोड १६ लाख रुपैयाँ बराबरको नगद र अन्य सामानसहित पक्राउ गरेको उल्लेख गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिई अभौतिक मुद्रा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । यसैगरी, काठमाडौं महानगरपालिका २६ ठमेलबाट १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरिएको उनले बताए । यस्तै, एक महिनाको अवधिमा हराएका २७३ मानिसमध्ये १५९ जनालाई फेला पारी परिवारको जिम्मा लगाइएको छ । विविरणअनुसार साइबर अपराध तथा ठगीतर्फ कुल २६१ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये अनलाइन सपिङको नाममा भएका ठगीसँग सम्बन्धित एक सय मुद्दा छन् ।
सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण
काठमाडौं । म्याग्दीमा सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत घरमै पुगेर राहदानी उपलब्ध गराउन थालेको हो । नेपाल सरकारले अघि सारेको शासकीय सुधारका एक सय सूचीमध्ये २७ नम्बर बुँदामा उल्लेख भएको घरमै राहदानी उपलब्ध गराउने घोषणालाई कार्यान्वयन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । ‘सरकारी सेवा घरमै उपलब्ध गराउने सरकारको नीतिअनुसार बुधबारदेखि काम सुरुआत गरेका छौँ,’ उनले भने, भने, ‘हुलाक कार्यालयमार्फत राहदानीलाई घरमै पुगेर उपलब्ध गराउन कामलाई निरन्तर जारी राख्ने छौँ ।’ पहिलो दिन बेनी नगरपालिका-२ का चार र वडा नम्बर ६ का दुई जनालाई घरै पुगेर राहदानी उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । बेनी नगरपालिका-२, ज्यामरुककोटको बिमिराबोटका सरस्वती घिमिरे थापाको घरमा पुगेर प्रजीअ आचार्य, जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापा र वडाध्यक्ष यामबहादुर कार्कीले राहदानी हस्तान्तरण गरी सेवाको शुभारम्भ गरेका हुन् । यस्तै, कृषा थापा क्षेत्री, सरस्वती घिमिरे थापा, कियान थापा क्षेत्री र करिश्मा थापा क्षेत्रीले आफ्नै आँगनमा राहदानी प्राप्त गरेका छन् । यसअघि राहदानी लिन सदरमुकाम बेनीसम्म धाउनुपर्ने बाध्यता रहेकामा अब घरमै कागजात प्राप्त हुने भएपछि सेवाग्राहीको समय र खर्च दुवै बचत हुने विश्वास गरिएको छ । घरमै राहदानी प्राप्त गरेपछि सेवाग्राहीहरू निकै खुसी भएका थिए । सेवाग्राही सरस्वतीले भनिन्, ‘पहिले राहदानी लिन बेनी जाँदा दिनभरको समय र गाडी भाडा खर्च हुन्थ्यो । अब घरमै सेवा पुगेपछि दुवै समस्याबाट मुक्ति मिलेको छ । सरकारप्रति भरोसा जागेको छ । यो सेवाले सरकारी सेवा प्रवाहलाई अझ सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने अपेक्षा गरेका छौँ ।’
कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह, छैटौँ पटकका लागि आधार शिविरमा
काठमाडौं । १३ दिनमा तीन पटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुगेकी छन् । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उनले जानकारी दिइन् । श्रेष्ठ यसअघि वि.सं २०८१ को वैशाख ३०, जेठ ६ र १२ गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । दुई हप्ताको छोटो अवधिमा तीन पटक सगरमाथा आरोहण गरेपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उनको नामाङ्कित भएको थियो । १३ दिनभित्रै तीन पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको भन्दै सन् २०२४ मा सिएनएन एथ्लेट्सको उत्कृष्ट सूचीमा आफ्नो नाम अङ्कित गरिएको उनले जानकारी दिइन् । ‘पहिलो पटक २०७५ जेठमा सगरमाथा आरोहण गरेकी थिए, त्यसपछि २०८२ जेठ ४ गते पाँचौँ पटक आरोहण गरेँ,’ श्रेष्ठले भनिन् । उनले ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, अन्नपूर्ण १, धौलागिरि र मनास्लु हिमाल पटक पटक गरी १४ पटक आरोहण गरेर विभिन्न शीर्षकमा कीर्तिमान कायम गरिसकेकी छन् । आरोही श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका-९ आरुटार निवासी हुन् ।
१ हजार २०० वर्ष पुरानो क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग
काठमाडौं । तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै १ हजार २०० वर्षदेखिको इतिहास र महत्त्वलाई उजागर गर्दै विश्वसम्पदा सूचीमा दर्ता गराउन माग गरेको हो । भ्रमण टोलीले चैत २५ देखि ३० गतेसम्म कास्कीको ताङतिङ, कर्पुडाँडा, तप्रोखर्क, क्व्होलासोंथार हुँदै सिक्लेससम्मको पदयात्रा गर्दै त्यहाँको धार्मिक तथा ऐतिहासिक महत्त्वका विभिन्न विषयबारे जानकारी लिएको सङ्घका अध्यक्ष तमुले जानकारी गराए । सङ्घले क्व्होलासांथारमा भएका महत्त्वपूर्ण सामग्रीहरू हराउँदै गएकाले सम्बन्धित निकायले नीति नियम बनाई संरक्षण गर्नुपर्ने माग गरेको छ । क्व्होलासोंथार भ्रमणमा जाने समयमा आकस्मिक उद्धारका लागि हेलिप्याड निर्माण गर्नुपर्ने, त्यस स्थलको प्रचारप्रसार गर्दै विश्वभरका मानिसलाई आकर्षित गर्नुपर्ने, क्होलासोंथार जाने मार्गमा ठाउँठाउँमा खानेपानी, शौचालयजस्ता पूर्वाधार विकास गर्नुपर्ने जनाएको छ । सङ्घका केन्द्रीय महासचिव हर्क गुरुङले क्व्होलासोंथारको ऐतिहासिकता उजागर गर्न सकिएमा त्यो तमु समुदायको मात्रै नभएर राष्ट्रकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुने बताए । सबैको सामूहिक प्रयासबाट यसको प्रवर्द्धन र विकास गरिनुपर्ने उनको भनाइ छ ।
कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने ८ आधार
काठमाडौं । प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने ८ आधार प्रस्तुत गरे । योग विज्ञानदेव संस्कृति विश्वविद्यालय हरिद्वारका पिएचडी शोधार्थी हरि उपाध्यायले आफ्नो प्रस्तुति राख्दै कर्णाली प्राकृतिक तथा आध्यात्मिक हिसाबले आरोग्य हबका रूपमा विकास गर्न सकिने आधार बलियो रहेको बताए । उनले भने, ‘जडीबुटी अर्थात् प्राकृतिक स्रोत, लोक चिकित्सा, योग ध्यान, सामुदायिक जीवन, पर्यावरणीय पक्ष, वैदिक पद्धति, आयुर्वेदक/प्राकृतिक चिकित्सा (सोवा रिग्पा) र खानपान तथा जीवनशैली आरोग्य हब बनाउन सकिने बलिया ८ आधार हुन् । यसका लागि कर्णालीलाई योग ध्यान आरोग्य केन्द्रित गन्तव्य बनाउने, परम्परागत र आधुनिक प्रणालीको समन्वय, स्थानीय स्रोत, संस्कृति र प्रकृतिमा आधारित विकास, दिगो पर्यटन र समग्र आरोग्यतामा योगदान पुर्याउनुपर्दछ ।’ युवा वैज्ञानिक राजेन्द्र विष्टले जडीबुटी र लोक उपचार पद्धतिमार्फत समृद्धिको आधार तयार गरी कर्णालीलाई आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने कार्यपत्र प्रस्तुत गरे । जडीबुटी केवल उपचार मात्र नभई मानिसलाई प्रकृतिसँग जोड्ने जीवन दर्शन भएको बताउँदै उनले योग ध्यान, जडीबुटी उपचार, आध्यात्मिक अभ्यास, स्वच्छ हावा, शान्त वातावरण, जैविक खानपानले पर्यटकलाई अद्वितीय अनुभव प्रदान गर्न सक्ने भएकाले यसलाई आरोग्य पर्यटनका रूपमा विकास गर्नुपर्ने सुझाव दिए । वैज्ञानिक विष्टले भने, ‘कर्णालीका जडीबुटी, लोक उपचार र सोवा–रिक्पा भविष्यका सम्भावनाका स्रोत हुन् । परम्परागत ज्ञान र आधुनिक प्रविधिको समन्वयबाट दिगो विकास गर्न सकिन्छ । तसर्थ, कर्णाली केवल जडिबुटीको भण्डार मात्र होइन, नेपालको हरित अर्थतन्त्र (ग्रिन इकोनोमी) निर्माण गर्ने आधार भूमि हो । यसमा तीनै तहका सरकार र सम्बन्धित सरोकार भएकाहरूको समन्वय र सहकार्य दुवै आवश्यक छ ।’ कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कार्यक्रममा प्रस्तुत सुझावका आधारमा नीति, योजना र कार्यक्रम निर्माण गरेर अगाडि बढ्ने बताए । उनले लुम्बिनी, सुदूरपश्चिम र कर्णालीको धार्मिक पर्यटकीय सडक निर्माणमा पहल गरिने जनाए । मन्त्रालयका सचिव धोलकराज ढकालले आरोग्यताका सन्दर्भमा धेरै कुराको जानकारी भएको र प्रदेश सरकारले आगामी आर्थिक वर्षमा नीतिसहित कार्यक्रम तथा बजेट तर्जुमा गर्न ध्यान दिने बताए । कर्णालीलाई ‘अग्र्यानिक’ प्रदेश बनाउने गरी यसअघि पनि नीति तथा कार्यक्रम ल्याइएको बताउँदै उहाँले अब आरोग्यको केन्द्र बनाउने गरी थप नीति अगाडि सारिने धारणा राखे । अन्तरक्रिया कार्यक्रममा ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय राजयोग प्रतिष्ठान केन्द्र सुर्खेतका ब्रह्माकुमारी विष्णु, विश्व हिन्दू महासङ्घका परमानन्द रेग्मी, इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सस्नेस (स्कुन)का शक्ति विक, सत्य साई केन्द्रका कृष्णमाया पोखरेल र महायोगी शिद्धबाबा अध्यात्मिक प्रतिष्ठानका केन्द्रीय सदस्य ललित भट्टराईले प्रकृति, अध्यात्म, पुरातत्व, संस्कृति, सभ्यता र धर्मको जननी कर्णालीमा सबैलाई आकर्षण गर्ने नीति र कार्यदिशा निर्माण गरिनुपर्नेमा जोड दिए ।
३० रुपैयाँ बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगम अझै ७ अर्ब ८१ करोड घाटामा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्य राति अर्थात् अहिले १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिक तर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्य सूचीअनुसार डिजेल/मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजेल/मट्टितेलको प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दा समेत पेट्रोलमा प्रतिलिटर २.३२ रुपैयाँ, डिजलमा प्रतिलिटर ८७.९९ रुपैयाँ, मट्टितेलमा ३६.७० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१.२५ रुपैयाँ घाटा कायम रहेको निगमले जनाएको छ । पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।