विकासन्युज

अस्पतालमा ओपीडी दुई सिफ्ट चलाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमा ओपिडी सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिएका छन् । मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरूसँगको छलफलपछि मन्त्री पौडेलले अस्पतालहरूको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन् । उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै अस्पताल र प्रतिष्ठानहरूमा परिपत्र गरेको छ । पत्रको पहिलो नम्बर बुँदामा सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने उल्लेख छ । यस्तै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न पनि पत्रमा भनिएको छ । प्राप्त सुझावका कार्यविधि परिमार्जन गरिने विषय पनि निर्णयमा उल्लेख छ । चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबीच समयको तारतम्य मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्था अन्त्य गर्ने निर्णय मन्त्रालयले गरेको छ । अस्पतालका कतिपय विभागहरूमा पाँच वा सोभन्दा बढी युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदाहुँदै पनि ओपीडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएको भन्दै मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमबाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बीमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविच्छिन्न सेवा प्रवाह गर्ने पनि निर्णय भएको छ । अस्पतालमा सेवाग्राहीको भिड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन (टोकन नम्बर अनुसारको समय जानकारी गराउने), विद्युतीय भुक्तानी प्रणाली लागू गर्नेलगायत निर्णय पनि भएको छ ।

ठूला दल एकै ठाउँमा भए पनि कसैलाई गल्ती गर्ने छुट छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई ठूला दल एमाले र कांग्रेस एकै ठाउँमा उभिएकाले उनीहरूलाई गल्ती गर्ने छुट नभएको बताएका छन् । जनताले सुशासनको अनुभुति गर्ने गरी सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै कोइरालाले अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको राय थियो । ‘अब पनि दुई ठूला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स हुनपनि सक्छ,’ उनले भने । आफ्नो पार्टी सरकारमा छ त्यसैले उनीहरूले गरेका सबै काम ठिक छ भनेर चुप लागेर नबस्न नहुने उनको तर्क थियो । यदि मन्त्रीहरूले गलत काम गरे तिनको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरे । ‘जनभावना विरोधी काम गर्ने छुट प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ,’ उनले भने । बिपी कोइरालाको ४२औं स्मृति दिवसको अवसरमा बिपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौंमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै उनले बिपी कोइरालाको सिद्धान्तअनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिँड्न नसकेको बताए । ‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पूर्वको साथीलाई दुख्थ्यो, पूर्वको साथीको पिडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफूलाई बिपीका अनुयायी भन्छौं, तर स्वार्थमा परेर आफू–आफुमै लड्छौं, बिपीले त यस्तो कहिल्यै सिकाउनुभएन, हिजोको त्यो आत्मियता कहाँ गयो ?,’ कोइरालाले प्रश्न गरे ।

सरकारी निकायमा चार्टर्ड एकाउन्टेण्टको दरबन्दी व्यवस्था गर्न सरकार सकारात्मक छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकाउन्टेण्टका लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् । शनिबार साँझ काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्थाको दशौं परिषद्को शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राज्यका सम्बद्ध निकायहरूमा चार्टर्ड एकान्टेण्टको दरबन्दी राख्ने विषयमा सरकार छिट्टै निष्कर्षमा पुग्ने गरी पहल गर्ने प्रतिबद्धता जनाए । उनले राज्य सम्बद्ध निकायहरूमा अर्थ मन्त्रालय, अर्थ मन्त्रालय मातहतका निकाय, महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकायलगायत अन्य निकायहरूमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रबन्ध गरिने बताए । अर्थमन्त्री पौडेलले राज्यमा सम्बद्ध निकायमा चार्टर्ड एकान्टेण्टहरूका लागि दरबन्दीको व्यवस्था हुनुपर्ने मागमा सकारात्मक रहेको बताए । उनले मुलुकको लेखा प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन चार्टर्ड एकान्टेण्टहरूको महत्वपूर्ण भूमिका रहेको बताए अर्थमन्त्री पौडेलले कर प्रणालीमा सुधार, आर्थिक पारदर्शिता, जवाफदेहिता र कर्तव्यपरायणता मुलुकको उन्नतिको पूर्वशर्त रहेको बताए । उनले आगामी दिनमा कर प्रणाली र लेखा परीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टड एकाउन्टेण्टको विधालाई प्रभावकारी सशक्त र विश्वसनीय बनाउनका निम्ति चार्टड एकाउन्टेण्ट संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरे । उनले चार्टर्ड एकान्टेण्ट संस्थाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरिरहेको उल्लेख गरे । उनले आगामी दिनमा पनि लेखाप्रणालीलाई पारदर्शी बनाउने गरी काम गर्न थप सक्रियता बढ्ने अपेक्षा रहेको बताए ।

कांग्रेसीहरू पढ्दै पढ्दैनन् भन्ने भाष्य चिर्नुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरू पढ्दैनन् भन्ने भाष्य चिर्न आवश्यक रहेको बताएका छन् । आइतबार ४२ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रिय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसले पढ्दै पढ्दैनन् भन्ने भनाइ रहेको भन्दै पुस्तकालय शुभारम्भ भएसँगै काँग्रेसीहरूले अध्ययन गर्ने बानी बसाल्ने विश्वास व्यक्त गरे । उनले विश्वेश्वरप्रसाद कोईराला राजनीतिदेखि साहित्य लगायतका हरेक कुरामा सक्षम र उनको योगदान अविष्मरणीय रहेको बताए । उनले कोईराला राजनीतिमा आफ्नो जीवनभर आफ्ना सिद्धान्त स्थापित गर्न र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार रहेको व्यक्ति भएको पनि जानकारी दिए । ‘एउटा भन्ने चलन छ, कांग्रेसले पढ्दै पढ्दैन भनेर । बिपी कोईरालाको सम्बन्धमा मैले भन्ने गरेको छु, धेरै ठूलो व्यक्ति हो । राजनीति र साहित्यका साथ साथै धेरै कुरामा उहाँको योगदान छ, राजनीतिमा उहाँ जिन्दगीभर कहिल्यै नथाकेर आफ्नो सिद्धान्त र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार भएको व्यक्ति हो’, उनले भने । सभापति देउवाले पुस्तकालयमा सबैले पढ्ने सहज वातावरण बनाउन आग्रह गरे ।

सुनको मूल्य १३ सयले घट्यो

काठमाडौं । सुनको मूल्य आईतबार प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला एक लाख ४७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार एक लाख ४६ हजार दुई सय रुपैयाँ निर्धारण भएको हो । त्यस्तै शुक्रबार प्रतितोला एक लाख ४६ हजार आठ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४५ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने आज प्रतितोला २० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय १० रुपैयाँ निर्धारण भएको छ ।

कांग्रेसलाई नयाँ बनाउन आफूभित्रका कमजोरी सुधार्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरी सुधार गर्न आवश्यक रहेको बताएका छन्। आइतबार ४२औं बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रिय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्र रहेका कमजोरी पहिचान गर्ने र आफूभित्रकै क्षमता खोज्नुपर्ने बताए । उनले काँग्रेसभित्र पठन संस्कृति छ भन्ने कुराको पुस्तकालय उद्घाटन कार्यक्रमले पनि प्रमाणित गर्ने बताए । पठन संस्कृतिको विकास गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले कांग्रेसले गर्ने बहस आम नागरिकलाई सुचित गर्ने र तथ्यमा आधारित हुनुपर्ने बताए । महामन्त्री थापाले कांग्रेसलाई स्रोत केन्द्रको आवश्यकता रहेको पनि बताए ।

प्रधानमन्त्री ओली नियुक्तिविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई गरिएको नियुक्ति बदर गराउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दा बालकृष्ण ढकालको इजलासमा परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार गरेको नियुक्ति गैरकानुनी रहेको भन्दै तीन जना अधिवक्ताले असार ३१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः उपधारा ३ आकर्षित हुने र यसअनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने दाबी गरिएको छ ।

बंगलादेशबाट १७ नेपाली विद्यार्थी आइतबार स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आइतबार काठमाडौं ल्याइने बताएका छन् । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताएका हुन् । प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनिएको छ, ‘बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।’ प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन् । बंगलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । करिब तीन हजार नेपाली विद्यार्थी बंगलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।