विकासन्युज

नाडाले भन्यो – विद्युतीय सवारी साधनको व्यवसाय प्रभावित

काठमाडौं । सरकारले विद्युतीय सवारी साधनहरुका सम्बन्धमा दिएको सुविधालाई कहिले घटाउने र कहिले बढाउने गर्दा विद्युतीय सवारी साधनहरुको व्यवसाय गर्ने व्यवसायीहरुको व्यवसाय गम्भिर रुपले प्रभावित भएको नाडाले बताएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेटका सम्बन्धमा आफ्नो धारणा राख्दै नाडाले सरकारले विद्युतीय सवारी साधनहरुका सम्बन्धमा पटक पटक संशोधन गरेको भन्दै सरकारको विद्युतिय सवारी साधनलाई सम्बद्र्धन र प्रवद्र्धन गर्ने आसयमा समेत स्पष्टता नभएको देखिएको बताएको हो । सरकारकै नीतिबाट नेपालमै विद्युतिय सवारी साधनहरु उत्पादन गर्न चाहने उद्यमीहरु समेत हतोत्साहित हुँदै गएको नाडाको धारणा छ । धेरै समय अघिदेखि नाडाले विद्युतीय सवारी साधनहरुका सम्बन्धमा विभिन्न नीतिगत सुविधाहरुको सम्बन्धमा एउटा निश्चित र दिर्घकालिन नीति निर्माणका लागि सरकारसंग आग्रह गर्दे आएको थियो । सोही अनुसार सरकारले पनि हरित उर्जालाई उच्च प्राथमिकतामा राख्ने नीतिगत निर्णहरु गर्दे आएको थियो । तर बजेटले विद्युतीय सवारी साधनहरुमा ५ प्रतिशत सडक निर्माण दस्तुर समेत लाग्ने व्यवस्था गरेको र सरकारले विद्युतीय सवारी साधनहरुका लागि पर्याप्त चारजिङ्ग स्टेशनहरुको निर्माण समेत काम नगरेकाले भनाइ र गराइमा ठूलो अन्तर रहेको जनाएको छ । पछिल्ला वर्षहरुमा डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनहरुको बिक्रीमा ठूलो ह्रास आउँदा देशको राजश्वमा प्रत्यक्ष प्रभाव परिरहेको महशुस सरकारले पनि गरिरहेको अवस्थामा सरकारले सवारी तथा ढुवानीका सवै किसिमका साधनहरुमा सडक निर्माण दस्तुर वृद्धि गरिएको नाडाको भनाई छ । त्यस्तै बर्तमान बजेटले एल।सि मार्फत सामान आयात गर्न पनि हतोत्साहित गरेको तथा छिमेकी मुलुकहरु भारत र चीनबाट आयात हुने अटोमोवाइल लगायतका वस्तुहरुमा दिइएको छुट पनि हटाइएको छ । वर्तमान बजेटले लुव्रिकेटिङ्ग आयलमा १ प्रतिशत र बेश आयलमा ०.५ प्रतिशत हरित कर लाग्ने र आयातित हाइड्रोलिक आयल र ब्रेक आयलमा १० प्रतिशत अन्तःशुल्क महशुल लाग्ने नयाँ व्यवस्था गरेको छ । यसबाट निर्माण व्यवसाय झन महङ्गो हुने मात्र नभई सीमा क्षेत्रबाट यसको अनधिकृत आयात समेत बढने भएकोले यस्तो महशुल हटाउन नाडाले अनुरोध गरेको छ । ‘उता बजेटले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुमा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्थाको भने स्वागत गरेको छ । यसले डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनहरुको विक्रीमा केही सुधार आउने अपेक्षा समेत हामीले राखेका छाैँ । साथै सरकारले व्यवसायीहरुको समस्याहरुलाई ध्यानमा राख्दै उधारो रकम उठाउने सम्बन्धमा नयाँ ऐन ल्याउने विषयलाई सकारात्मक रुपमा लिएको छ,’ नाडाले भनेको छ । त्यसैगरी सधै समस्याको रुपमा देखिने गरेको सन्दर्भ मूूल्य सूची नै हटाई पैठारीकर्ताले पेश गरेको विलमूल्यलाई नै मान्यता दिने व्यवस्थाका लागि गरिएको आग्रहको कुनै सुनवाई नगरिएकोतर्फ सरकारको पुनः ध्यानाकर्षण गराएको छ ।

‘जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्य गरौँ’

काठमाडौं । नेपालले जलवायु परिवर्तनका प्रभाव घटाउनेलगायत विश्वसमुदायले भोग्नुपरेका साझा समस्या समाधानका निम्ति विशेष परिस्थितिमा रहेका मुलुकहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घको आयोजनामा एन्टिगुवा र बरबुडाको राजधानी सेन्ट जोन्समा जारी विकासशील साना टापु राष्ट्र (सिड्स) को चौथो सम्मेलनमा सम्मेलनका भागलिने सिलसिलामा सेन्ट जोन्समा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले त्यहाँका परराष्ट्र, कृषि तथा व्यापारमन्त्री एभर्ली पल चेट ग्रीनीसँग बुधबार भएको शिष्टाचार भेटमा उक्त कुरामा जोड दिएकी हुन् । त्यस अवसरमा उनीहरूबीच नेपाल– एन्टिगुवा र बरबुडा सम्बन्धका साथै अन्तरराष्ट्रिय रूपमा अनुमोदन गरिएका विकासका लक्ष्य, दोहा कार्ययोजना तथा विकासशील साना टापु राष्ट्रका निम्ति तयार गरिएको बरबुडा कार्ययोजनाको प्रभावकारी कार्यान्वयबारे छलफल भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । सम्मेलनका क्रममा अल्पविकसित देशहरूको समूहका लागि वैश्विक समन्वय ब्युरोको अध्यक्षका हैसियतमा उनले साना तथा टापु राज्य एवं अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय समुदायको सघन सहयोगमा जोड दिएका थिए । संयुक्त राष्ट्रसङ्घले ‘उत्थानशील समृद्धितर्फको मार्गचित्र’ शीर्षकमा आयोजना गरेको सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगति समीक्षा भएको थियोभने बरबुडा कार्ययोजना अनुमोदन भएको थियो । सम्मेलन आज समापन हुँदैछ । राष्ट्रसङ्घले प्रत्येक दश वर्षमा सिड्स सम्मेलन आयोजना गर्दै आएको छ ।

शिखर इन्स्योरेन्समा बाँकी रहेको दाबी भुक्तानी बुझिलिन बीमितलाई आग्रह

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरूलाई बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले बिहीबार एक सूचना प्रकाशन गरी २०८० वैशाखदेखि जेठ २० गतेसम्म परेका बीमा दाबी निवेदन तथा दाबीहरू सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधिबाट दाबी निवेदन प्राप्त भई हालसम्म पनि दाबी फर्छ्यौट नभएको हुँदा बीमितको प्रतिनिधि सम्पर्कमा आई उक्त दाबी रकम बुझिलिन आग्रह गरेको हो । उक्त दाबी लिनका लागि सम्बन्धित बीमितका प्रधिनिधिहरूले कम्पनीले सूचना प्रकाशित गरेको ३० दिनभित्र कम्पनीको केन्द्रीय दाबी विभाग, कम्पनीको प्रादेशिक कार्यालय, शाखा र कम्पनीबाट सम्बन्धित दाबीमा खटाइएका सर्भेयरहरूलाई सम्पर्क गरी उक्त दाबी लिन सक्नेछन् । साथै, कम्पनीबाट हालसम्म बीमितका नाममा दाबी फर्छौट पुर्जामा सही छाप गरी दाबी फर्छौट पुर्जा कम्पनीमा प्राप्त नभएमा तथा सम्पर्कमा नआएमा सम्बन्धित व्यक्तिको दाबी फाइल बन्द गरिने पनि कम्पनीले यसै सूचनामार्फत जनाएको छ ।

जनकनन्दिनी गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता गाउँपालिका घोषणा गरिएको छ । ६ वटा वडाको गाउँपालिकालाई बुधबार पूर्णखोप पालिका घोषणा गरिएको हो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामनन्दन मण्डलले जिल्ला खोप समन्वय समिति धनुषाको सहयोगमा पालिका पूर्णखोप पालिका बनेको बताए । १६ महिनाका बालबालिकादेखि ५९ वर्षसम्मका व्यक्तिलाई सो खोप लगाएर पूर्ण खोप घोषणा भएको हो । लामो समयदेखि यो कार्य तयारी भइरहको थियो ।

काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

काठमाडौं । हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसमसफा रहने छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । काठमाडौं उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मंगलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

हिमालयन बैंकबाट साढे १५ लाख कित्ता संस्थापक सेयर बेचेर बाहिरिँदै ७ जना सेयरधनी

काठमाडौं । हिमालयन बैंक लिमिटेडका ७ जना संस्थापक सेयरधनीले १५ लाख कित्ता बढी सेयर बिक्री गरेर बाहिरिन खोजेका छन् । बैंकका ७ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ लाख ५१ हजार २५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । सेयर बेचेर बाहिरिन खोज्नेमा सेयरधनी अशोक अग्रवाल छन् । उनले आफ्नो स्वामित्वमा रहेको ३१ हजार ६ सय १५ कित्ता सेयर बिक्री गर्न लागेका छन् । यस्तै सुखबहादुर गुरुङले १३ हजार ९२२ कित्ता, राजेन्द्र भक्त श्रेष्ठ १६ हजार ८ सय १३ कित्ता र हरिहरप्रसाद लामिछानेले १६ हजार १ सय ६ कित्ता सेयर बिक्री गर्न लागेका छन् । यसैगरी जीतकुमार श्रेष्ठले २० हजार ४ सय ८१ कित्ता, काशीराम ढकालले ९ सय ४ कित्ता र प्रभा गोयन्का भीमसरीयाले १४ लाख ५१ हजार १ सय ८४ कित्ता सेयर बिक्री गर्न लागेका छन् । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानुन विभागमा आवश्यक कागजातसहित निवेदन पेस गर्न सक्नेछन् । संस्थापक सेयरहरूको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

साना किसान विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट लिमिटेडको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाको ३० हजार कित्ता संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको छ । यो सेयर खरिदका लागि साना किसान सहकारी संस्था र अन्य विद्यमान संस्थापकहरूले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । सेयरको बिक्री प्रबन्धकका रूपमा एनआईसी एशिया क्यापिटल रहेको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले असार १९ गतेभित्र आवेदन दिन सक्नेसछन् । लगानीकर्ताले बबरमहलमा रहेको क्यापिटललको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरू विर्तामोड, इटहरी, बर्दिवास, हेटौँडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान र अत्तिरियामा आवेदन दिन सक्नेछन् ।

कुमारी बैंकको २ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले बिहीबार एक सूचना प्रकाशन गर्दै विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल २ लाख २३ हजार ४५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो । उक्त सेयर संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखिएकाले खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्ने बैंकले जनाएको छ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने र निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।